राष्ट्रिय सभा अध्यक्ष सहित २० सदस्यको आज बिदाइ

काठमाडौं, २० फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदहरुको पदावधि आज सकिएको छ।

रिक्त २० मध्ये १९ जना सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने एक जना मन्त्रिपरिषदको सफारिसमा राष्ट्रपतिले नियुक्त गर्नेछन्।

राष्ट्रिय सभाको कार्यकाल सकिएकाहरुको विदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत कार्यक्रम आज हुँदै छ। विदाइ र स्वागतको अनौपचारिक कार्यक्रम बेलुका साढे ६ बजे सिंहदरबार नजिकैको बुटिक होटेल बसेरामा आयोजना गरिएको बताइएको छ।

नवनिर्वाचित सदस्यहरुको शपथ ग्रहण भने सोमबार बिहान साढे १० बजे संसद भवनको ल्होत्से हलमा हुने भएको छ। राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने छिन्।

२०७४ सालमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएर ६ वर्ष कार्यकाल पूरा गरेर विदा हुनेहरुमा सबैभन्दा धेरै नेकपा एमालेका ९ जना सदस्यहरु छन्। उनीहरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल (पार्वती), कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई छन्। यस्तै, एमालेकै कोटामा राष्ट्रपतिबाट मनोनित विमला राई पौड्यालको कार्यकाल पनि आज सकिएको छ।

त्यस्तै नेपाली कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ गरी चार सांसदहरू पनि राष्ट्रिय सभाबाट बिदा भएका छन्। माओवादी केन्द्रका खिमलाल देवकोटा, विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा विदा भएका छन्।

नेकपा एकीकृत समाजवादीका नन्दा चापाई, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिला कुमारी पनि राष्ट्रिय सभा सदस्यबाट विदा भएका छन्।

पीडितलाई न्याय हुने गरी टिआरसी विधेयक पास हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, १९ माघ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितलाई न्याय हुने गरी नै टिआरसी विधेयक पास गरिने बताएका छन् । शान्ति प्रक्रियालाई निष्कर्ष  पुर्याउन सरकार प्रयत्नशील रहेको भन्दै उनले पीडितले न्याय पाउने गरी विधेयक पास गर्न लागिएको बताए ।  शनिबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीहरूसँगको भेटमा उनले सरकारले सुशासनको पक्षमा थप नयाँ योजना तयार पारेको पनि बताए । श्रेष्ठले भ्रष्टाचार विरुद्धको अभियानले निरन्तरता पाउने भन्दै राष्ट्रियताको विषयमा देश गम्भीर अवस्थामा बताए ।  उनले व्यवस्थाविरुद्ध  उठेका आवाजविरुद्ध सचेत हुन आवश्यक रहेकोमा जोड दिए । उनले भने, ‘व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था तात्त्विक भिन्नता आउन सकेको छैन। विकास निर्माणले अपेक्षित गति लिन नसकेकोले  जनतामा निराशा छाएको छ। अब प्रतिगमन मुर्दावाद भनेर  व्यवस्थाको रक्षा हुँदैन ।  सामाजिक न्यायको क्षेत्रमा काम गरेर जनताले त्यसको अनुभूत गर्ने गरी काम गर्नुपर्छ ।’ युवाहरू बिदेसिने र पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको  भन्दै श्रेष्ठले  रेमिटेन्स आयो भनेर खुसी हुने अवस्था नरहेको बताए । युवाहरूमा दुर्व्यसनीको सिकार हुने क्रम बढेकोले  सरकारले अब देशैभर हरेक पालिकामा  रिह्याब सेन्टर  खोल्ने अभियान  चलाउने तयारी गरेको उनले जानकारी दिए ।

ठगी प्रकरणमा बैंकर पक्राउ गरेकोमा निजी क्षेत्रको विरोध

काठमाडौं, १८ फागुन । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर ऋण दिने बैंकरहरु पक्राउ परेको घटनामा निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले विरोध जनाएका छन् । जनता र बैंकको करिब ७ अर्ब अपचलन गर्ने चौलागाईंलाई मिलेमतो गरी कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको विरोधमा निजी क्षेत्र उत्रिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै घटनामा प्रत्यक्ष संलग्न नभएका व्यक्तिहरुलाई पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेकै आधारमा पक्राउ गरेको दाबी गरेका छन् । विद्यमान कानुनी व्यवस्था, नियमनकारी निकायका नीति तथा निर्देशनमा रही काम गरिरहेका बैंकरलाई निजहरुले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै पहिले थुन्ने अनि सुन्ने भन्ने मनसायबाट अभिप्रेरित भई दुःख दिन खोजिएको जारी विज्ञप्तिमा उल्लेख छ । घटनामा प्रत्यक्ष संलग्न नभएकालाई पक्राउ गर्दा बैंकरहरुको कार्यदक्षतामा आँच आउने, निर्णय गर्न नसक्ने एवम् मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्न सक्ने उनीहरुले बताएका छन् । अनुसन्धान गर्दा दोषी देखिए कारबाही गर्नुपर्ने विज्ञप्तिमा भनिएको छ । ‘बैंकिङ क्षेत्रजस्तो संवेदनशील क्षेत्रमा भइरहेको पछिल्ला गतिविधिले सकारात्मक परिणाम दिने भन्दा नकारात्मक असर बढी पार्नसक्नेतर्फ सचेत हुन सम्बन्धित सबै पक्षलाई अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ । बैक तथा वित्तीय संस्थाहरुले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन एवम् नेपाल राष्ट्र बैंकले समय समयमा जारी गरी आएका नियामकीय निर्देशनभित्र रहेर बैंकिङ कारोबार गर्दै आइरहेको जारी विज्ञप्तिमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुमा कुनै पनि लगानी सम्बन्धी निर्णय गर्दा सबै कर्मचारी तथा सञ्चालक समितिले तोकिएको सिद्धान्त, विधि एवम् नियमकै पालना गरी असल नियतबाट कार्य गर्ने गरेको बुझाइ रहेको विज्ञप्तिमा उल्लेख छ । ‘व्यवसाय बिग्रिएको अवस्थामा कर्जाको जोखिम बढ्ने सामान्य कुरा हुने र त्यस्तो अवस्थालाई दृष्टिगत गरी बैंक वित्तीय संस्थाहरुले नियामकीय निर्देशानुसार नै जोखिम व्यवस्थापन वापत रकम छुट्याउँदै आएका छन् । सो संसारभरिकै सर्वमान्य बैंकिङ सिद्धान्त तथा कार्यविधि रही आएको छ,’ विज्ञप्तिमा उल्लेख छ । नेपाल राष्ट्र बैंकको नियमनमा रहेको र बैंक वित्तीय संस्थाले प्रवाह गरेका कर्जाको मूल्यांकन सोही अनुसार नै हुनुपर्ने ती संस्थाहरूको माग छ । ‘राष्ट्र बैंकले समय समयमा बैंक तथा वित्तीय संस्थाहरुको स्थगगत तथा गैरस्थलगत निरीक्षण गर्ने लगायत वित्तीय विवरण प्रकाशित गर्न छुट्टै स्वीकृति दिने कार्यविधिसमेत बनाई कम्पनीहरुको वित्तीय अवस्थालाई नियमन गर्दै आएको छ । नियामक संस्थाले आफ्नो जिम्मेवारी उचित तरिकाले निर्वाह गरी बैंक तथा वित्तीय संस्थाहरुलाई उचित मार्गदर्शनसमेत दिइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ । यद्यपि, मानवीय त्रुटि वा कसैले गलत मनसाय वा नियतले काम गरेको अवस्थामा सो कार्यमा संलग्न पदाधिकारीलाई प्रचलित कानुन बमोजिम कारवाही हुनुपर्छ भन्नेमा निजी क्षेत्र स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ । देउराली सहकारीका अध्यक्ष चौलागाईं र उनका कम्पनीलाई ऋण दिँदा बैंकिङ कसुर गरेको आरोपमा १५ फागुनमा नेपाल प्रहरीको कन्द्रीय अनुसन्धान ब्युरोले १० जना बैंकरलाई पक्राउ गरेको थियो । त्यसअघि १८ असोजमा देउरालीका अध्यक्ष चौलागाईंलाई पक्राउ गरिएको थियो । सहकारी ठगीको अनुसन्धान गर्दै जाँदा बैंकहरुले समेत मिलेमतोमा चौलागाईंलाई धितो मूल्यांकनभन्दा अत्यधिक धेरै कर्जा प्रवाह गरेको देखिएकाले बैंकरहरु पक्राउ गरेको प्रहरीको दाबी छ । सहकारीको घोटाला छानबिन गर्दै जाँदा वाणिज्य बैंकका सीईओहरु नै पक्राउ परेको घटना नेपालमा पहिलो हो । हाल प्रभु बैंकमा गाभिएको तत्कालीन सेञ्चुरी बैंकले रविन्द्र चौलागाईं, उनका आफन्त र कम्पनीलाई १ अर्ब १४ करोड मूल्यको धितोमा २ अर्ब ११ करोड कर्जा प्रवाह गरेको सीआईबीले जनाएको छ । यो धितो मूल्यांकनभन्दा ९७ करोड बढी हो । राष्ट्र बैंकको नियमअनुसार कर्जा प्रवाह गरेको भए करिब ४५ करोडमात्रै कर्जा प्रवाह हुनसक्ने अवस्था देखिन्छ । यसरी सेञ्चुरी बैंकले धितोअनुसार कर्जा दिनसक्ने सीमाभन्दा करिब ५ गुण बढी ऋण दिएको देखिएको र यसरी अनियमित रुपमा कमसल धितोमा कर्जा प्रवाह बैंकका सीईओ तथा कर्मचारीहरुको मिलेमतो स्पष्ट रुपमा देखिएकाले उनीहरुलाई पक्राउ गरेको सीआईबीको दाबी छ ।

ढुक्क भए हुन्छ, सत्ता गठबन्धन दायाँबायाँ हुँदैन : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दायाँबायाँ नहुने दाबी गरेका छन् । भरतपुर भ्रमण वर्षमा सहभागी हुन चितवन पुगेका सभापति देउवाले राष्ट्रियसभा अध्यक्षको विषयलाई लिएर गठबन्धन केही नहुने बताएका हुन् । फागुन २९ गते हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्र दुवैले उम्मेदवारी दिने बताइरहेका छन् । सोही विषयलाई लिएर सत्ता गठबन्धन फेरबदल हुने आशङ्का भइरहेका बेला देउवाले गठबन्धनमा त्यसले कुनै फरक नपार्ने प्रस्टीकरण दिएका हुन्। सभापति देउवाले भने, ‘गठबन्धन केही पनि हुँदैन । कति भन्नु भनिसकेँ त मैले ? गठबन्धन निरन्तर जान्छ । ढुक्क भए हुन्छ।’ सभापति देउवाले गठबन्धन निरन्तर जाने र त्यसमा ढुक्क हुन आग्रह समेत गरे । देउवाले राष्ट्रियसभा अध्यक्षबारे सरसल्लाह भैनसकेको भन्दै छलफल गरेर टुङ्गोमा पुग्ने बताए ।

समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

“१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन् । भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन् । यी देशका लागि महत्त्वपूर्ण उपलब्धीहरू हुन् ।”- प्रधानमन्त्री प्रचण्ड

पर्यटन प्रवर्द्धनमा भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने प्रधानमन्त्रीको विश्वास

चितवन, १८ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्द्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार भरतपुरमा गरिएको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न कार्यक्रम महत्त्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको बताए । विशिष्ट पाहुनाहरूबाट एक सय ५० वर्षदेखि चितवनका जङ्गलमा शिकार यात्रा गरेको इतिहास रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा सर्वप्रथम जङ्गल सफारीको सुरूवात टाइगर टपले मेघौली नजिक चितवनबाट भएको स्मरण गरे । उनले भने, “यी सबै आधारहरूले ‘भरतपुर भ्रमण वर्ष २०२४’ ले आफ्नो लक्ष्य हासिल गर्नेमा विश्वस्त हुन सकिन्छ ।” पछिल्लो ७ वर्षको अवधिमा भरतपुर महानगरपालिकाले विकासको मोडेलमा सिङ्गो देशलाई नै नेतृत्व गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्डले एक दशकअघिको भरतपुर र वर्तमानको भरतपुरमा आम जनसमुदायले गुणात्मक परिवर्तनको अनुभूति गरेको बताए । प्रधानमन्त्रीले गौरवका आयोजनाहरू रिङ्गरोड, सिक्स लेन रोड, तटबन्धन, सिटि हल, गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला, विमानस्थल, नारायणी ‘सी–बीच’ मोडल तथा विभिन्न पूर्वाधारहरूको निर्माण प्रक्रिया सम्पन्न भइसक्दा भरतपुरले नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । उनले देशको अर्थतन्त्र र विकास मोडलमा ‘रोलमोडल’ कायम गर्ने बताए ।  “विविध प्राकृतिक सम्पदाले समृद्ध चितवनको भरतपुर महानगरपालिका नेपालकै उत्कृष्ट स्थानीय सरकारको सूचिमा अग्रसर महानगरपालिका हो,” प्रधानमन्त्री प्रचण्डले भने, “कृषि, सहकारी, उद्योग, पर्यटन जस्ता क्षेत्रहरूलाई आर्थिक विकासको आधार बनाएर निरन्तर आर्थिक समृद्धि हासिल गरिरहेको यस महानगरपालिकामा पार्क, संग्रहालय, विमानस्थल, रिङरोड, लिङ्करोड, हुलाकीमार्ग, पूर्व–पश्चिम राजमार्ग, होटल, रिसोर्ट जस्ता पर्यटन विकासका लागि प्रशस्त पूर्वाधारहरू रहेका छन् ।’ चितवन देशकै मुख्य आर्थिक केन्द्रका रूपमा विकास हुँदै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “जैविक विविधता प्राकृतिक सुन्दरता र स्वच्छ वातावरण प्रवर्द्धन गर्दै पर्यटन विकासमा निरन्तर अग्रसर यस महानगरपालिकामा एकातर्फ पर्या–पर्यटन, वन्यजन्तु, खेल, स्वास्थ्य, कृषि, धार्मिक पर्यटन आदिको क्रमिक विकास भएको छ ।” अनुपम प्राकृतिक सम्पदाले सम्पन्न महानगरपालिकामा निकुञ्ज, सामुदायिक वन, ताल, नदी, सूर्योदय, सूर्यास्त, पहाड, हिमश्रृङ्खलाको दृश्यावलोकन एवम् समथर तराईको भू–भागको दृश्यावलोकन लगायतका प्राकृतिक आकर्षणहरू रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ऐतिहासिक स्थलहरू, गढी, दरबार, सङ्ग्राहलय, पार्क, धार्मिक स्थलहरू, मानवनिर्मित २२ वटा आकर्षण पर्यटकीय गन्तव्यहरू रहेको बताए । पर्यटन विकासबाट सामाजिक तथा आर्थिक परिवर्तन ल्याउन कोरोना कहरबाट पिल्सिएको पर्यटन व्यवसायलाई उकास्न भरतपुर महानगरपालिकाको प्रतिष्ठा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा वृद्धि गर्न प्राकृतिक, सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक सम्पदाहरूको प्रचार प्रसार गरी पर्यटकको सङ्ख्या र बसाई अवधि वृद्धि गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा पहिलोपटक आयोजना गर्न लागेको यस बृहत प्रवर्द्धनात्मक अभियान ‘भरतपुर भ्रमण वर्ष २०२४’ पर्यटन प्रवर्द्धनमा एउटा ऐतिहासिक कदम भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । दिगो विकासबाट आर्थिक समृद्धि प्राप्त गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक बताउँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुनेमा विश्वस्त व्यक्त गरे । 

सम्पत्ति शुद्धीकरण विधेयक दुबै सदनबाट पारित

काठमाडौं, १८ फागुन । राष्ट्रिय सभाबाट सम्पत्ति शुद्धीकरण अर्थात मनि लाउण्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । जसलाई सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । यो विधेयक यसअघि २४ माघ २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । २७ माघ २०७९ मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक शुक्रबार राष्ट्रिय सभाबाट समेत पारित भएसँगै संघीय संसदको दुबै सदनबाट पारित हुन पुगेको छ । अब राष्ट्रिय सभाबाट पारित भएको सन्देश प्रतिनिधि सभामा जानेछ । राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधि सभाबाट स्वीकार भएको खण्डमा सभामुखबाट प्रमाणित भएर प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ जान्छ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रुपमा लागू हुने व्यवस्था छ ।  

राष्ट्रियसभा बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठक संसद भवन नयाँ वानेश्वरमा जारी छ । बैठकमा मा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आउँदा दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै सांसदलाई समय उपलब्ध गराएका छन् । आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले ६ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराएका हुन् । संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदा हुन लागेका छन्।  राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजंग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरी पदावधि पुरा गरी बिदा हुन लागेका हुन् ।

एमाले ‘मिसन ८४’ मा छः अध्यक्ष ओली

विराटनगर, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन् ।  ‘मिसन ८४’ अर्थात् विसं २०८४ मा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ । बुधबार विराटनगर पुगेका पूर्वप्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्तो बताएका हुन् । उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र लागेको आरोप पनि लगाए । साथै अध्यक्ष ओलीले नेपाली कांग्रेस ठूलो पार्टी भएर पनि मुलुकको विकासमा समयानुकूल अघि बढ्न नसकेको टिप्पणी गरे । पूर्वप्रधानमन्त्री ओलीले भ्रष्टाचारको आरोप लागेका सरकारी ओहोदामा रहेकाहरुले राजीनामा दिएर सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्नुपर्नेमा जोड दिए । उनले प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा यथोचित विकास नहुनु दुःखद भएको भन्दै सरकार मुलुकको विकास र सुशासनमा जनताको मागअनुसार अघि बढ्न नसकेको आरोप लगाए । फरक प्रसङ्गमा उनले एमाले सत्य निरुपण तथा मेलामिलाप विधेयक पारित गर्ने पक्षमा रहेको पनि स्पष्ट पार्नुभयो ।

आगामी निर्वाचनमा माओवादी एक्लै चुनाव लड्ने

काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रले आउँदो निर्वाचनमा एक्लै चुनाव लड्ने भएको छ।  बुधबार काठमाडौंको पेरिसडाँडास्थित पार्टी कार्यालयमा बसेको स्थायी कमिटी बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।  नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म भएको महासमिति बैठकले गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको विषय पनि स्थायी कमिटी बैठकमा छलफल भएको थियो।  त्यसबारे उनले अब आउने निर्वाचनमा एक्लै लड्ने तयारी भइरहेको बताएका हुन्। ‘अब आउने चुनावमा पार्टीले स्वतन्त्र रूपमा एक्लै प्रतिस्पर्धा गर्ने भनेर भनेका छौं,’ उनले भने, ‘यो विषय कार्यनीतिक विषय हो, रणनीतिक होइन। तर हाम्रो पार्टीले एक्लै प्रतिस्पर्धा गर्नेगरी तयारी गर्नुपर्छ भनेर भनिएको छ।’  यस्तै बैठकले राष्ट्रिय सभा अध्यक्षमा पार्टीबाट उम्मेदवारी दिने निर्णय पनि भएको छ ।   

प्रधानमन्त्री संसदीय समितिको छलफलमा सहभागी हुने

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज संसदीय सिमितिको छलफलमा सहभागी हुने भएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको छलफलमा प्रधानमन्त्री सहभागी हुने भएका हुन् ।  बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा समितिले सरकारलाई दिएका निर्देशन र ध्यानाकर्षण गराएका विषयहरूको हालसम्मको अवस्थाकाबारेमा जानकारी लिने कार्यसूची छ । यसका साथै समितिको निरन्तर छलफलबाट पहिचान गरिएका सवालहरूका सम्बन्धमा छलफल गरिने समितिको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

बुधबार सम्पन्न सो पार्टीको स्थायी कमिटी बैठकले फागुन अन्तिम साता हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीले उम्मेदवारी दिने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

आमाको जन्मदिनमा भावुक बाबुराम

काठमाडौं । आफ्नी आमाको जन्मदिनमा भावुक हुँदै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् । आफ्नी आमा धर्मकुमारी भट्टराईको जन्मदिनको अवसरमा पूर्व माओवादी नेता समेत रहेका भट्टराईले आफ्नी आमाको तस्वीर सहित राखेको स्टाटसमा साढे चार सय बढि कमेण्ट आएका छन् । दिवंगत भैसकेकी आमाको सम्झनामा भट्टराईले भाबुक हुँदै संस्कृत श्लोक सहित स्टाटस राखेका छन् । उनको स्टाटसमा भनिएको छ ‘“जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी!” ( आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्!) आमा हामीबाट सदाकालागि विदा हुनुभएको आज ( फागुन १६ गते) १८ बर्ष पूरा भएछ! तपाईंको स्मृति सदासर्वदा हामीसंग रहिरहनेछ, आमा! सादर नमन !! ( फोटोः पहिलो, २०३० सालतिर म चण्डीगढमा पढ्दैगर्दा; दोश्रोः २०५२ सालमा जनयुद्धको शुरूवातनिम्ति भूमिगत हुन परिवारबाट विदा लिंदा! भूमिगतकालमै आमा २०६२ फागुन १६ गते वित्नुभएछ; हामी २०६३ असार २ गते वालुवाटारमा खुला भयौं! आमाको अन्तिम वाक्य “ बाबुरामलाई भेट्न पाइनॅ” थियो भन्ने सुन्दा अहिले पनि आॅसु थाम्न गाह्रो हुन्छ!)’  आफुलाई जन्मदिने आमाप्रति समर्पित भट्टराईको स्टाटसमा प्रतिक्रिया दिनेले भने अनौठो अनौठो टिप्पणी गरेका छन् । स्टाटसमा धेरै जसो कमेण्टहरु श्रद्वाञ्जलीका देखिएपनि केहि कमेण्टहरुमा पश्चाताप गर्न र केहि कमेण्टहरुमा माओवादीमा एकाकार हुन सुझाब छन् ।  केशब दुवाडीले लेखेका छन् ‘आमाको नियमित श्राद्ध गर्नु होला, पुत्रस्य परमोधर्म पित्र्युत्धार समोनहि’ यस्तै, प्रकाश न्यौपाने किरणले सुझाब दिएका छन् –‘विचार र आस्था राखेकै कारण धेरै नेपालीले ज्यान गुमानुपर्ने , जेल हिरासत र अंगभङ् हुनुपर्ने संगिन घडी स्मरण गराउनु भो , माओवादी आन्दोलनले राजनितिक परिवर्तन गरायो अन्य सामाजिक , आर्थिक , सांस्कृतिक आदी परिवर्तन खसै हुन सकेन , आवश्यकताको प्रतिबद्धनामा पुन एकपटक जोखीम उठाउनेहरु एक भएर अगाडि बढ्नुपर्ने अनिवार्य आवश्यकता बनेको छ , आसा र अपेक्षाको आँसु बगाउँदै ज्यान गुमाउने आमाप्रति भावपुर्ण श्रद्धान्जली ।’  निरज भट्टले भने यस्तो भनेका छन् –‘नालायक छोरा भएपछि यस्तै हो, आमा प्रती हाम्रो सम्मान छ’ । कमेण्टमा पूर्ण रानाभाटले टिप्पणी गरेका छन् –‘हो क्यारे तर वाहीरी देशको एजेण्ट वनेर देस त वर्वादी वनाइहाल्नु भो’ । यस्तै, एष्ट्रो हरिसरणले कमेण्ट गरेका छन् –‘आमाको त्याग र तपाईँको त्यागको परिणाम सकारात्मक होस्, तपाईँ जति क्षमतावान व्यक्ति हो, जति तपाईँमा शक्ति छ त्यसको दुरुपयोग भईरहेको जस्तो लाग्छ, व्यक्तिगत स्वार्थबाट माथी उठेर काम गर्नुहोस् तपाईँका दिन अझै सक्किएका छैनन्। तपाईँ विद्वानको पंक्तिमा हुनुहुन्छ तर तपाईँका अभिव्यक्ति हेर्दा मूर्ख जस्तो लाग्छ। जे कुरा छ तपाईँ भित्र निस्वार्थ त्यस्तै देखिने प्रयास गर्नुहोस्।’  विज्ञान मान सिंह ठकुरीले प्रशंसा गर्दै लेखेका छन् –‘आमालाई उच्च सम्मान, छोरो जन्मिनु तपाई जस्तो पो त ! बाबुरामलाई घरपरिवार पाल्नकै निम्ति जागिरको लागि प्रमाणपत्रको लोभै नमानी एउटा लयमा ल्याउन नसकेको देशको अवस्थाका लागि लडाइँ लड्ने आट गर्नु महान विचारक हो । नयाँ थेउरी तपाईबाट आसा गर्न सकिन्छ ।’  राजेन्द्र पन्तले सुझाब दिएका छन् –‘सबैको आमाले त्यसै भन्नुभएको थियो होला,,स्कुलबाट फर्कदा म आमालाइ आज तलब बुझेर मिठा खानेकुरा र नयाँ कपडा ल्याइदिन्छु भनेर ,,,,,तर अपहरणमा परेर छोराको बीभत्स हत्या भयो रे भनेको सुन्दा बिचरा ती बुढी आमाले कसरी सहेर बस्नुभयो होला,,,,त्यो सम्झनुहोला’ जनकजङ शाहीले कमेण्ट गरेका छन् –‘हार्दिक श्रद्धाञ्जली आमा तपाई जस्तै महान सोच भएको आमाहरुको कारण आज हामी स्वतन्त्र छौ ’  क्रान्तिलाई धोका दिएको भन्दै रानी शाह भन्छिन् –‘आमा प्रति हार्दिक श्रर्दासुमन, आमाले सम्म भेट्न पाउनु भएन, देशको लागि जनयुद्द लड्नु भो तर त्यसलाइ निस्कर्स मा पुर्याउन सक्नु भएन , बिचैमा साथ छोड्नु भो, क्रान्तिलाइ धोका दिनु भो, धोकेवाज हो तपाइ, हामि तपाइ सङ्ग सन्तुस्ट छैनौ ।’ बढि सामाजिक सञ्जालको प्रयोग गर्ने नेताहरुमा डाक्टर बाबुराम भट्टराई पनि पर्दछन् । स्रोतका अनुसार उनले आफुले राखेको स्टाटसमा आएका कमेण्टहरु पनि पुरै पढ्छन् । तर त्यसका सुझाब मान्ने वा नमान्ने भन्नेमा दोहोरो जवाफ दिएको पाइदैन । 

संवैधानिक नियुक्ति सम्बन्धी रिटको सुनुवाइ आज

काठमाडौं, १६ फागुन । अध्यादेश मार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्ति बदर गर्न माग सहित दर्ता गरिएको रिटको बुधबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ । बुधबारको संवैधानिक इजलासमा उक्त रिटमाथि सुनुवाइका लागि साप्ताहिक पेसी तोकिएको हो ।  बुधबारको संवैधानिक फाँटको पहिलो सूचीमा संवैधानिक नियुक्तिसम्बन्धी रिट माथिको सुनुवाइ रहेकाले बुधबारबाट उक्त रिटमा निरन्तर सुनुवाइ हुन सक्ने रिट निवेदक मध्येका ओमप्रकाश अर्यालले जानकारी दिए । २०७७ मङ्सिर १ गते सर्वोच्च अदालतमा दर्ता भएको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइका लागि बुधबार साप्ताहिक पेसी तोकिएको हो । यसअघि लगातार तीन पटक उक्त मुद्दा हेर्न नभ्याउनेमा परेको थियो ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेश मार्फत संशोधन गरी विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका ५२ जना पदाधिकारी तथा सदस्यहरूको नियुक्ति बदरको माग गर्दै रिट परेको थियो । अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी, समृत खरेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो । त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने २०७९ फागुन ३ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि २०८० भदौ २७ र मङ्सिर २० गतेको पेसीमा पनि ती रिटहरू हेर्न नभ्याउनेमा परेको थियो ।  रिटमा संवैधानिक नियुक्ति लिएका ५२ जना, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्का सदस्य आदिलाई विपक्षी बनाइएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासमेतलाई विपक्षी बनाई दायर रिटमा प्रधानन्यायाधीशले नै हेर्न मिल्ने कि नमिल्ने भन्ने विषयमा समेत रिट परेपछि सो मुद्दा पछाडि धकेलिएको थियो  । संवैधानिक इजलासले अध्यादेशमा संशोधन गरी गरिएको नियुक्ति संविधानसम्मत नभएको ठहर गरेमा नियुक्ति लिएका सबै पदमुक्त भई नयाँ प्रक्रियाको थालनी हुनेछ ।

६ महिनापछि गण्डकीको संसद बैठक बस्दै

पोखरा, १६ फागुन । गण्डकी प्रदेश सभाको हलमा ६ महिनापछि संसद बैठक चल्दैछ । गत असोज ११ गते अघिल्लो अधिवेशन अन्त्य भएको थियो भने बुधबारदेखि विधेयक अधिवेशन सुरु हुन लागेको हो । संसदको पुराना फेरेर नयाँ स्वरुपका कुर्ची टेबल हालिएको छ । करिब १४ लाख रुपैयाँ बराबरको कुर्ची टेबल फेरेर बनाइएको भवनमा हिउँदे अधिवेशन बोलाइएको छ । कार्पेट पनि नयाँ फेरिएको संसद सचिवालयले जानकारी दिएको छ । सरकारले बिजनेस दिन नसकेकै कारण ६ महिनादेखि प्रदेश सभा बैठक बस्न नसकेको हो । विधायन अधिवेशनका लागि सरकारले केही विधेयक तयार पारेको जनाएको छ भने प्राइभेट फार्म दर्ता ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । यी दुवै विधेयक संसदमा पेस गर्ने तयारी छ । यसैगरी विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउविजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पनि संसदमा पेश हुने कार्यसूची तय भएको  संसद सचिवालयका उपसचिव तथा सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सरकारले बिजनेस नदिएकै कारण संसद चल्न नसकेको प्रमुख प्रतीपक्ष दल नेकपा एमालेले पनि आवाज उठाउँदै आएको छ । ६ महिनादेखि सांसद नचल्दा सांसदहरु समेत काम विहीन बनेका थिए । पछिल्लो समय समितिका बैठक भने बसिरहेको सार्वजनिक लेखा समितिका सभापति सुधिर पौडेलको भनाइ छ ।

माओवादीमा राष्ट्रियसभा अध्यक्ष नछोड्न दबाब,  निर्णय भोलि

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने धारणा राखेका छन् ।  मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा निर्वाचनबारे आ–आफनो मत राख्दै अध्यक्ष पद भने पार्टीले छाडनु नहुने मत राखेका हुन् ।  माओवादी स्थायी कमिटीका नेताहरूले राष्ट्रियसभा अध्यक्ष पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  त्यसैगरी, बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल गरिएको छ । प्रवक्ता सापकोटाका अनुसार बैठकमा कांग्रेस महासमिति बैठकमा प्रस्तुत गठबन्धनसम्बन्धी धारणाका बारेमा पनि नेताहरूले प्रतिक्रिया दिएका थिए ।  प्रवक्ता सापकोटाले भने, 'हामीले प्रस्तुत सबै एजेन्डाहरूको बारेमा वृहत छलफल गर्‍यौं । तर फेरि त्यो निष्कर्षमा पुगिसकेको छैन । निर्णय भइसकेको छैन । छलफलको विषय तिनै हुन्, जो मैले पहिलेनै प्रस्तुत गरिसकेको छु । सबभन्दा मुख्य चाहिँ कार्य विभाजनको विषय थियो । पार्टी अभियान सञ्चालन र त्यस्तै गरेर आगामी योजनाका बारेमा आज वर्तमान राष्ट्रिय परिस्थितिबारे पनि अलिबढी छलफल भयो । यसमा राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ । अधिकांशले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ । हालै सम्पन्न नेपाली कांग्रेस महासमिति बैठकमा चलेको चर्चाहरूको बारेमा पनि छलफल भयो ।' माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (बुधबार) पनि बोलाइएको छ ।