माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ ।

बैठकमा विधान अधिवेसनका निष्कर्ष र समसामयीक राजनीतिक विषयमा छलफल हुने नेताहरुले बताएका छन् । 

कांग्रेस महासमिति बैठक : पाँच प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी

ललितपुर । नेपाली कांग्रेसको महासमिति बैठकमा मङ्गलबार पेस भएका पाँच प्रस्तावमाथि छलफल जारी रहेको छ । बैठकमा मङ्गलबार पार्टीका उपसभापति, महामन्त्रीद्वय, प्रवक्ता र लेखा समितिका संयोजकले पेस गरेको पाँच प्रतिवेदनमाथि छलफल जारी रहेको हो । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा चार समूह बनाएर छलफल सुरु गरिएको हो । बैठकमा पार्टीका उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेको लेखापरीक्षण प्रतिवेदन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको हो । वक्ताहरुलाई आफ्नो सुझाव र धारणा राख्न पाँच मिनेटको समय तोकिएको छ । वक्ताहरुले समयको परिधिभित्र रहेर आफ्नो धारणा राखिरहेका छन् । सम्मेलन केन्द्रको मुख्य हल गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फुलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशङ्खुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल भइरहेको पार्टीका प्रचारप्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए । बैठकमा धारणा राख्ने वक्ताहरुले पार्टी सङ्गठनलाई चुस्त, दुरुस्त बनाउन महासमिति सदस्यहरुलाई जिल्ला कार्यसमितिको पदेन सदस्य बनाइनुपर्ने, निर्वाचन अगाडि गठबन्धन गर्न नहुने, अहिलेको गठबन्धनलाई निरन्तर राख्नुपर्ने, पार्टी र जनप्रतिनिधीबीच समन्वय हुनुपर्ने, महिलालाई पार्टीभित्र पदाधिकारीलगायतका पदमा ३३ प्रतिशत अधिकार दिनुपर्नेलगायत धारणा राखेका छन् ।

एमाले केन्द्रीय कमिटी बैठक : आजबाट समूहगत छलफल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा आजबाट समूहगत छलफल सुरु हुने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा आजबाट समूहगत छलफल हुने भएको हो ।  छलफलका लागि नौवटा समूह बनाइएको छ । समग्र केन्द्रीय कमिटीको टिमलाई नौवटा समूहमा विभाजन गरिएको हो । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरूको समूह बनाइएको छ ।   आज बिहान १० बजेबाट समूहगत नियमित छलफल हुनेछ । छलफलपछि आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी केन्द्रीय कमिटीको पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ ।  छलफलमा आएका निष्कर्षलाई केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरी पार्टी नेतृत्वले त्यसलाई सम्बोधन गर्नेछ ।  मंगलबारबाट सुरु बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका थिए ।  ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले राखेका थिए ।  पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरेका थिए । 

प्रचण्ड र ओलीबिच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा(एमालेका नेता केपी शर्मा ओलीबिच मंगलबार भेट वार्ता भएको छ । एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए । उनीहरूबिच शान्ति प्रक्रियाबारे कुरा भएको बताइएको छ । 

एमालेको दस्ताबेजमा चिन्ता -'आर्थिक र यौन आचरणले जनतासँगको सम्बन्ध अलग हुने खतरा बढ्यो'

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा चारवटा कार्ययोजना प्रस्तुत भएका छन् ।  बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिका विषयमा गहनतम विश्लेषणात्मक, संश्लेषणात्मक आफ्नो अहिलेको राजनीतिक घटनाक्रमको बारेमा समीक्षासहितको राजनीतिक विश्लेषण प्रस्तुत गरेका थिए । त्यस्तै, पार्टीव्यापीरूपमा ०८१ को वैशाखदेखि सञ्चालन हुने पार्टीको शुद्धीकरण तथा सुदृढीकरणसम्बन्धी कार्ययोजना पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पार्टी निर्माणका सन्दर्भमा देखिएका समस्याहरुलाई कार्यान्वयन गर्ने र समायानुकूल पार्टी निर्माण गर्ने खालको एउटा विषय पार्टीका उपाध्यक्ष विष्णु पौडेलले राखेका थिए ।  त्यस्तै, पार्टीको संगठनात्मक कामको समीक्षाको विषयमा महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेका जनसरोकार र जनदबाबको कार्यक्रमको खाका प्रस्तुत गरे ।  प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल गर्नका निम्ति समग्र केन्द्रीय कमिटीको टिमलाई नौ वटा समूहमा विभाजन गरिएको छ । पार्टी स्थायी कमिटीको एउटा समूह, सात प्रदेशका सात समूह र बाँकी एउटा समूह उपत्यका विशेष समन्वय कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन, विभागहरू रहेको छ ।   प्रस्तुत गरिएका कार्ययोजना र प्रस्तावहरूमाथि छलफल भोलि १० बजेबाट सुरु हुने एमालेले जनाएको छ । आर्थिक र यौन आचरणले जनतासँगको सम्बन्ध अलग हुने खतरा बढ्यो एमालेले पार्टीभित्र आर्थिक र यौन आचरण मौलाएको भन्दै यस्तो प्रवृत्तिले समग्र पाटीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको जनाएको छ । बैठकमा प्रस्तुत शुद्धीकरण र पार्टी सुदृढिकरणसम्बन्धी दस्ताबेजमा भनिएको छ  ‘हामीले आर्थिक सामाजिक क्रियाकलाप, यौन आचरण र नैतिक दृष्टिले गल्ती गर्नेहरुलाई सम्बन्धित कमिटीमा छलफलको कार्यसूची र कारबाहीको विषय नबनाउँदा यस्तो प्रवृत्ति प्रोत्साहित हुन पुगेको छ’।

कांग्रेस महासमिति बैठकमा पाँच वटा प्रतिवेदन पेस, बुधबारदेखि समूहगत छलफल हुने

ललितपुर  । नेपाली  कांग्रेसको महासमिति बैठक दोस्रो दिन मंगलबार दिनभर ललितपुरको गोदावरीमा जारी रह्यो । मंगलबारको बैठकमा पाँच प्रतिवेदन पेस भएका छन् । जसमा गठबन्धनका सकारात्मक विषयका साथै २०८४ को निर्वाचनमा गठबन्धन नगर्नेदेखि सरकारमा रहेका मन्त्रीहरूको कार्यशैलीबारेका विषय समेटिएका छन् ।  सुरुमा उपसभापति तथा उपप्रधान तथा रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरे । त्यसपछि  महामन्त्री गगन थापाले सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन, कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रतिवेदन र लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन गरे ।  सोमबारदेखि सुरु भएको कांग्रेसको महासमिति बैठकमा मंगलबार पेस गरिएका प्रतिवेदनमा बुधबारदेखि चारवटा हलमा विभिन्न समुह बनाएर छलफल हुनेछ । गोदावरी हलमा कोशी र सुदूरपश्चिम प्रदेश, कोन्ज्योसोम हलमा लुम्बिनी प्रदेश, भातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिहरु, फूलचोकी हलमा बागमती र गण्डकी प्रदेश र विशंखुनारायण हलमा मधेस र कर्णाली प्रदेशको समूहगत छलफल हुनेछ । कांग्रेसको महासमिति बैठक फागुन १० गतेसम्म सञ्चालन हुने छ । 

केन्द्रीय सदस्यलाई ओलीले भने-'अलिकति बैठकमा अनुशासन राखौँ न हो'

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक जारी छ । आजदेखि च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । सोही क्रममा बैठकमा सहभागी सदस्यको मोबाइल बजेपछि अध्यक्ष ओलीले अनुशासनको पालना गर्न निर्देशन दिएका छन् ।  बैठकमा मोबाइल स्वीचअफ गर्न आफूले भनेको भन्दै उनले यसलाई बेवास्ता नगर्न र अनुशासनको पालना गर्न भनेका हुन् । ‘मैले साथीहरुलाई मोबाइल स्वीचअफमा राख्न आग्रह गरेको छु । किन, एकछिन मोबाइल नहुँदा केही हुन्छ र ? मसँग मोबाइल छैन त भएको छ त, चलेको छ त,’ ओलीले कडा स्वरमा भने, ‘कराउन दिने हो, मुख बन्द नगर्ने हो भने त मेरो मोबाइल पनि कराउन जान्दछ होला नि । अलिकति बैठकमा अनुशासन राखौँ न हो ।’  

कांग्रेस महासमिति बैठकमा सहभागिताबारे उत्पन्न विवाद समाधान

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागिताका विषयमा उत्पन्न विवाद समाधान भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट विवादको समाधान निकालिएको  हो । महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको संघीय निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा अहिले बैठकमा सहभागी गराउने निर्णय गरिएको छ ।  “१४औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएर महासमिति सदस्यको निर्वाचन नभएको वा सर्वसम्मत हुन नसकेको वा कारणवश टुंगो लाग्न नसकेको संघीय निर्वाचन क्षेत्रका हकमा फागुन ७–१० का लागि आयोजित महासमिति बैठकमा भाग लिने गरी योपटकका लागि ती क्षेत्रका महाधिवेशन प्रतिनिधि सबैलाई आमन्त्रित रूपमा बैठकमा सहभागी गराउने निर्णय गरियो । ती स्थानहरूमा निर्वाचन समितिले यथाशीघ्र महासमिति टुंग्याउनेछ,” बैठकको १ नम्बर निर्णयमा उल्लेख छ । महासमिति बैठकमा आमन्त्रण गरिने निर्वाचन क्षेत्र र जिल्लाहरू– १.बारा क्षेत्र नम्बर–३ २.पर्सा क्षेत्र नम्बर–१ ३.सोलुखुम्बु ४.खोटाङ ५.धादिङ क्षेत्र नम्बर–१ ६.दोलखा ७.ओखलढुंगा ८.काठमाडौं क्षेत्र नम्बर–५ ९.दाङ क्षेत्र नम्बर–३ १०.कञ्चनपुर क्षेत्र नम्बर–१ ११.बागलुङ क्षेत्र नम्बर–२ १२.सिन्धुली क्षेत्र नम्बर–२ यस्तै, नेतृत्व परिवर्तन भएका भ्रातृसंघ र शुभेच्छुक संस्थाका अध्यक्षसहित तीनजनालाई महासमिति सदस्यका रूपमा सहभागी गराउने निर्णय गरिएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । भ्रातृसंस्थाहरू– १.नेपाल विद्यार्थी संघ २.नेपाल महिला संघ ३.नेपाल तरुण दल ४.नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ ५.नेपाल लोकतान्त्रिक खेलकुद संघ ६.नेपाल किसान महासंघ ७. नेपाल थारु संघ ८.राष्ट्रिय लोकतान्त्रिक अपांग संघ ९.नेपाल प्रजातन्त्र सेनानी संघ १०.नेपाल दलित संघ ११.नेपाल भूतपूर्व सैनिक संघ १२.नेपाल मुस्लिम संघ शुभेच्छुक संस्थाहरू– १.नेपाल ट्रेड युनियन कांग्रेस २.नेपाल शिक्षक संघ ३.नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन ४.सेन्टर फर डेमोर्क्याटिक इन्जिनियर्स नेपाल ५.प्रजातन्त्रवादी चिकित्सक संघ ६.नेपाल प्रेस युनियन “नेपाली कांग्रेसको १४औँ महाधिवेशनपश्चात् अधिवेशन सम्पन्न गरेका विदेशस्थित नेपाली जनसम्पर्क समितिको हकमा विधानबमोजिम महासमिति सदस्यको रूपमा सहभागी गराउने निर्णय गर्दछ,” बैठकको ३ नम्बर निर्णयमा उल्लेख छ । ललितपुरको गोदावारीमा सोमबार उद्घाटन गरिएको महासमिति बैठकमा आज पाँच प्रतिवेदन प्रस्तुत गरिँदै छ । प्रतिवेदनमाथि आजैदेखि छलफल सुरु गरिनेछ ।

पाँचवटा प्रतिवेदनहरूमाथि आजबाट समूहगत रूपमा छलफल सुरू हुने

काठमाडौं । नेपाली कांग्रेस महासमिति बैठकमा आज पाँचवटा प्रतिवेदन प्रस्तुत हुने भएको छ । प्रतिवेदनमाथि आजैबाट छलफल सुरू हुनेछ ।  बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवं उपसभापति पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव र महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गर्नेछन् ।  प्रवक्ता डा. प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन तथा लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।  ती प्रतिवेदनहरूमाथि समूहगत रूपमा छलफल हुनेछ । समूह विभाजन गरेर छलफल हुने कांग्रेसले जनाएको छ । 

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक दश गते बस्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बिहीबार बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको छ ।  पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायत विषयमा छलफल हुनेछ ।  

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ ।  एमालेको सातौँ केन्द्रीय कमिटी बैठक फागुन ८ गते (आज) देखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । एमालेले केन्द्रीय कमिटी बैठकको ६ वटा कार्यसूची तय गरेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । बैठकमा समग्र पार्टीको सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।  कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’ तथा समसामयिक प्रस्ताव छन् । 

कर्णालीको विकास बिना देशको विकास सम्भव छैन : माओवादी उपमहासचिव शर्मा

काठमाडौं । कर्णाली उत्सव कुडा कर्णालीकाको पाचौं संस्करण सोमबार सम्पन्न भएको छ । शनिबारबाट सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यानमा सुरु भएको उत्सव सम्पन्न भएको हो । उत्सवको समापन गर्दै माओवादीका उपमहासचिव जर्नादन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण विषयमा भइरहेको बहस र सबैलाई जागरुप र सचेत बनाउँने पहल कदमीको लागि संरक्षक केवल भण्डारी सम्पूर्ण आयोजक टिमलाई बधाई दिए । कर्णाली एक सभ्यता भएको उनले बताए । नेपाली भाषको जननी पनि कर्णाली भएके उनले बताए । कर्णालीले एैतिहासिक विरासत बोकेको बताए । पूर्व गृहमन्त्री समेत रहेका उनले भने , ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात र जडा र बोक्राहरुलाई , यहाँका नदि ताल , हिमाल , पहाड , खोच , वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ ।’ यहाँको विकास मोडेर यहिँ भएको र सबैको कार्यभार यहिँ बताए । उनले बताए । अब कर्णालीको परिभाषा फेर्न आवश्यक रहेको उनको भनाई थियो । कर्णालीको विकास बिना देशको विकास सम्भव छैन । उनले भने , ‘कर्णालीका दलितहरुको मुक्ती नभइकन कर्णालीको विकास हुदैँन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी भोगिरहेको उत्पिडन भोगिरहेका छन् । यसको अन्त गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ  । ’ कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उनले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाचो छ । बाटो बनाउँनु मात्र विकास नभएको उनले बताए । अब हाम्रो देशमा बाटो नभएको गाउँ कतै भेटिएला कि नभेटिएला भन्ने चिन्ता व्यक्त गरे । कर्णाली उत्सव संयोजक कमल लम्सालले विगतका चार वर्ष झैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताए । लोकतान्त्रिक ढंगले कुरामानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउँले बताए । कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको यनले बताए । उत्सवलाई सहयोग सबैलाई उनले धन्यवाद पनि ज्ञापन गरे । उत्सवमा पहिलो दिन प्रकोप र पुननिर्माणका विषयमा छलफल भयो । दोस्रो दिन समाज , साहित्य र विकासका विषयमा छलफल केन्द्रित भयो । तेस्रो दिन लोकतन्त्र र सुशासनका विषयमा छलफल भयो । कर्णालीको बारेमा गन्थन , मन्थन र चिन्तन यो उत्सवमा हुने गरेको छ ।

वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गरौँः गुरुङ

काठमाडौं, ७ फागुन। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले  कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।  ललितपुरको गोदावरीमा कांग्रेसको महासमिति बैठकलाई सम्बोधन गर्दै नेता गुरुङले जनताको मन जित्ने हो भने कांग्रेसका वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । उनले त्यसो गर्ने हो भने आगामी चुनावमा कांग्रेस पहिलो पार्टी बन्न सक्ने पनि बताए । ‘वडाध्यक्षदेखि मन्त्री समेतको सम्पत्ति छानबिन गर्ने प्रस्ताव यो महासमितिमार्फत पास गरौँ’, गुरुङको प्रस्ताव छ । त्यस्तै उनले क्रोनी क्यापिटलिजमका कारण आर्थिक सुशासन कायम हुन नसकेको पनि बताए । उपसभापति गुरुङले नेपाली राजनीतिमा देखिएको क्रोनी क्यापिटलिजमको प्रभाव नेपाली कांग्रेसमा समेत पर्दा सही बाटो पहिल्याउन नसकेको हो कि भन्ने आफूलाई लागेको बताएका छन् ।  ‘क्रोनी क्यापिटलिजमका कारण नेपालमा नेताहरु व्यापारी र व्यापारी नेताजस्ता देखिए’, गुरुङले भने, ‘अबका दिनमा हामीले क्रोनी क्यापिटलिजमको विरुद्धमा एक ठाउँमा उभिएर अघि बढ्न सक्नपर्छ ।’ कानुन मन्त्री समेत रहेका गुरुङले क्रोनी क्यापिटललिजमकै कारण आर्थिक सुशासन कायम गर्न नसकिएको स्वीकार गरे । उनले जबसम्म मुलुकमा भ्रष्टाचार रहन्छ तबसम्म भुइमान्छेलाई माथि उठाउन नसकिने भन्दै तलका मानिसलाई माथि उठाउन पनि नसकिने बताए ।

गठबन्धन गर्ने नगर्ने परिस्थितिमा निर्भर रहन्छः देउवा

काठमाडौं, ७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने कुरा तत्कालिन परिस्थितिमा निर्भरह हुने बताएका छन् ।  ललितपुरको गोदाबरीमा सोमबार सुरु भएको महासमिति बैठकलाई सम्बोधन गर्दै उनले भोलिका दिनमा हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने विषय तत्कालीन परिस्थितिमा निर्भर रहने बताएका हुन् । चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्री गगन थापाको प्रस्ताव प्रति संकेत गर्दै उनले यस्तो बताएका हुन् ।  महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा भने अरु चुनाव चिह्नमा मत दिन लगाउँदा कांग्रेसका कार्यकर्ता मात्र होइन, समर्थक समेत असन्तुष्ट रहेको भन्दै अब कुनै पनि चुनावमा गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने प्रस्ताव गरिएको छ । यसमा संस्थापन पक्षका नेताहरुले आपत्ति जनाएपछि प्रतिवेदनमा सहमति जुट्न सकेको छैन । उद्घाटन समारोह सकिएपछि फेरि छलफल गर्ने भनेर गोदावरी पुगेका देउवाले उद्घाटन समारोहमा मञ्चबाटै महामन्त्री थापालाई जवाफ दिएका छन् । देउवाले भने, ‘भविष्यमा राजनीतिक गठनबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा तत्कालीन परिस्थितिमा निर्भर हुने हुँदा पार्टीले तत्कालीन परिस्थितिअनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायतको ठोस मूल्यांकनमा त्यसैबेला निर्णय लिनसक्ने छ ।’ उनले अहिलेको गठबन्धन पनि संविधान रक्षाका लागि कांग्रेसकै पहलमा बनेको बताए । प्रतिनिधिसभा विघटन गर्ने, अस्थिरता ल्याउने, गणतन्त्र कमजोर बनाउने गतिविधि भएपछि कांग्रेसले पहल लिएको भन्दै देउवाले भनेका छन्, ‘निर्वाचनपूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो । आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक एजेण्डाका रुपमा लिएका छौं ।’ महासमितिमा पेश हुने सबै दस्तावेजले यसलाई आत्मसाथ गरेको समेत उनले बताए । सभापति देउवाले अगाडि भने, ‘वर्तमान गठबन्धन संविधान रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ ।’ गठबन्धन नगर्ने संकल्प गर्नुपर्ने महामन्त्रीको प्रस्तावतर्फ संकेत गर्दै उनले मिश्रित निर्वाचन प्रणालीका कारण एउटै पार्टीले मात्र बहुमत ल्याउने अवस्था कम रहेको बताए । आगामी दिनमा तीनै तहमा कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी सुदृढ बनाउन समेत देउवाले आग्रह गरे ।

‘देशभित्रै सम्भव छ’ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, फागुन ७। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक जनशक्तिको पलायनलाई रोक्न देशभित्रै सम्भव छ भन्ने सकारात्मक भाष्यको निर्माण गर्न जरूरी रहेको बताएका छन्। सोमबार दिउँसो समाजवादी मोर्चासम्वद्ध समाजवादी मञ्चले आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। कार्यक्रममा प्रधानमन्त्रीले बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्ने कार्यभारलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘‘आजको हाम्रो प्रमुख बहस भयावह रूपमा देखापरेको बौद्धिक पलायनलाई रोक्न विश्वबजारमा प्रतिस्पर्धी र गुणस्तरीय जनशक्ति उत्पादन गर्नु हो। त्यसका निम्ति आम नागरिकमा ‘‘देशभित्रै सम्भव छ’’ भन्ने सकारात्मक भाष्य निर्माण गर्न आवश्यक छ। गुणस्तरीय, प्रतिस्पर्धी, नवप्रवर्तनमुखी शिक्षाको विकासमा गुणात्मक प्रगति हासिल गर्ने आधार र उपायहरूको खोजी गर्नु हाम्रो महत्वपूर्ण कार्यभार हो।’’ प्रधानमन्त्रीले शैक्षिक क्षेत्रमा गुणात्मक सुधार ल्याउन विश्वविद्यालयहरूमा दण्ड–पुरस्कार र मेरिटोक्रेसीमा जोड दिइएको बताए। प्रधानमन्त्रीले भने, ‘‘मैले विश्वविद्यालय लगायत शैक्षिक संस्थाहरूमा ‘मेरिटोक्रेसी’का आधारमा नियुक्ति गर्ने, शैक्षिक क्षेत्रमा दण्ड र पुरस्कारको व्यवस्था गर्ने घोषणा गरेको छु, त्यसको कार्यान्वयन पनि हुँदैछ। यसले राजनीतिक तथा शैक्षिक नेतृत्वप्रति आम नागरिक र विद्यार्थीको विश्वास पुनर्जागृत हुने मैले अपेक्षा गरेको छु।’’

महासमितिमा पेश गर्ने प्रस्तावमा जनसम्पर्क समितिको आपत्ति

काठमाडौं ।  नेपालको जेठो र लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको सोमबारदेखि सुरु हुन लागेको  महासमिति बैठक प्रति धेरैले चासो देखाएका छन् । १४ औं महाधिवेशनका बेला नीतिगत वहस नगरेको नेपाली कांग्रेसले अहिले नीतिका विषयमा छलफल गर्नका लागि महासमिति बैठकलाई नीति अधिवेशनको संज्ञा पनि दिएको छ । देश विदेशबाट गरेर झण्डै २५ सय महासमितिको बैठकमा सहभागी हुँदै छन् । नेपाली कांग्रेस प्रवाशमा गठन भएको पार्टी हो । २००३ साल माघ १२ गते बीपी कोइरालाले भारतको कोलकत्तामा नेपाली कांग्रेसको पार्टी स्थापना गरेका थिए । नेपालमा राणा शासनविरुद्ध संघर्ष गर्न स्थापना भएको पार्टीले नेपालका सबै आन्दोलनहरुमा निर्णायक र नेतृत्वदायी भूमिका पनि निर्वाह गरेको छ । प्रवासबाट स्थापना भएर देशको जेठो र लोकतान्त्रिक तथा तीन तहमै पहिलो शक्तिको रुपमा रहेको नेपाली कांग्रेसले विधि र विधानका साथै नीति र नियम बनाउने संघारमा उभिएको छ । नेपाली कांग्रेसलाई युग र जनमुखी बनाउन तथा सबैलाई अटाउने अभियान लिएको बताए पनि यसले अहिले आएर फेरि प्रवाशमा रहेका कार्यकर्ताको चित्त भने दुखाएको छ । पार्टीका उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रस्ताव गरेको दस्तावेजलाई आधार मान्ने हो भने प्रवाशमा बस्ने नेपाली कांग्रेसका कार्यकर्ताहरुको चित्त बुझेको छैन । नेपाली कांग्रेसले प्रवाशमा संगठनविस्तार गर्दा जनसम्पर्क समिति बनाएको छ । अहिले विदेशमा जनसम्पर्कसमितिहरु ३८ वटा रहेका छन् । महासमितिमा पेश गर्ने प्रस्तावमा जनसम्पर्कसमिति नभएका देशहरुमा विस्तार गर्ने कुरा गरिएको छ ।  यसैगरी अन्तर्राष्ट्रिय महासंघको पनि परिकल्पना गरिएको छ । तर, महाधिवेशन र महासमितिमा जनसम्पर्क समितिबाट प्रतिनिधित्व गराउने कुरा र अधिकार दिने विषयमा अनुदार बनेको जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले बताए । उनले भने ‘अहिलेको अवस्थामा विदेशमा रहेका नेपालीहरुलाई संगठित गर्नका लागि उदार हुनुको साटो अनुदार भएको पाइयो, यस्तो भयो भने कांग्रेसको संगठन गर्न निकै अप्ठेरो छ ।’ यसैगरी विगतमा जनसम्पर्क समितिका सभापतिहरु विधान अनुसार आमन्त्रित केन्द्रीय सदस्य हुन्थे । तर अहिले त्यो प्रावधान पनि हटाउने गरी प्रस्ताव आएको छ । जनसम्पर्क समिति अमेरिकाका सभापति तथा पूर्व आमन्त्रिक केन्द्रीय सदस्य आनन्द विष्टले यस्तै तरिका हो भने किन र केका लागि कांग्रेसको संगठन गर्ने भन्ने प्रश्न उब्जिएको बताए । यसैगरी जनसम्पर्क समितिका बेल्जियमका पूर्व सभापति गंगाधर गौतमले अन्य पार्टीहरुले प्रवास ९विदेश०मा संगठन विस्तारका लागि आक्रामक रणनीति बनाइरहेका बेला नेपाली कांग्रेसले बाहिर खुला जस्तो देखाए पनि व्यवहारिकरुपमा गलत प्रस्ताव ल्याएको बताए । जनसम्पर्क समिति जापानका पूर्व सभापति नारायण सुवेदीले पनि महाधिवेशनमा विगतमा ५ सय सदस्य बराबर ७ जना विदेशबाट महाधिवेशन प्रतिनिधि सहभागी हुने व्यवस्था रहेकोमा अहिलेको प्रस्ताव पारित भए यो संख्या पनि घट्ने र यसले झनै संगठन विस्तार गर्ने योजना सफल नहुने बताए । जनसम्पर्क समितिका सभापतिहरु अहिले काठमाडौंमा आन्तरिक छलफलमा रहेका छन् । उनीहरुले महासमितिको बैठकमा संयुक्तरुपमा प्रस्ताव पेश गर्ने तयारी गरिएको पनि जानकारी दिएका छन् । आफूहरु पार्टीको सिपाई भएकाले अधिकार खुम्च्याएर भन्दा पनि बढी दिएर क्रियाशील गराउनुपर्छ भन्ने पक्षमा रहेको पनि जनसम्पर्क समितिका सभापतिहरुको एकमत रहेको छ ।