मन्त्रीको शपथ लिँदै पदम, हितबहादुर र डीपी

काठमाडौं । नयाँ गठबन्धनबाट तीन मन्त्रीले शपथ लिने भएका छन् । 

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार एमालेबाट पदम गिरी, नेकपा (माओवादी केन्द्र)बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डोलप्रसाद अर्याल (डीपी)ले शपथ लिने भएका हुन् । 

यी तीन मन्त्रीले आज दिउँसो ५ बजे राष्ट्रपति कार्यालयमा शपथ लिने भएका छन् । स्रोतका अनुसार तीनैजना विनाविभागीय मन्त्री बन्न लागेका हुन् । 

‘बदाम खाको सुन्तला छोडाको, कुरा मिल्यो पुरानो जोडाको’

नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेसँगै यो तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ

संसद बैठक २४ गतेसम्म स्थगित

काठमाडौं । सत्ता गठबन्धनमा फेरबदल आए सँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरेको हो ।  विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सचिवालयले जनाएको छ ।  कांग्रेस नेतृत्वको गठबन्धन तोडेर माओवादी केन्द्रले एमाले लगायतका दलहरूसँग सहकार्य अघि बढाएका छन् । नयाँ गठबन्धनको मन्त्रिपरिषद आजै गठन गर्ने तयारी छ । 

बालुवाटारमा प्रचण्ड, ओली र रविसहितका नेता छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेबीच छलफल जारी छ । अहिले बालुवाटरमा छलफल भइरहेको छ ।  छलफलमा एमालेका महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, गृहमन्त्री एंव माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, माओवादीका उपमहासचिव वर्षमान पुन सहभागी छन् ।  प्रधानमन्त्री प्रचण्डले आज मएमाले, माओवादी, रास्वपा, जसपा समेतलाई सरकारमा सामेल गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका छन्  । यद्यपि, यसको औपचारिक घोषणा हुन भने बाँकी छ । 

मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री, एमाले र रास्वपालाई सहभागी गराउने

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन  हुने भएको छ ।  प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा समेतलाई सरकारमा सामेल गर्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेका हुन् ।   त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउँदै छन् ।

एमाले र रास्वपा सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गर्ने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक भर्खरै सम्पन्न भएको छ ।  बैठकमा विकसित राजनीतिक परिस्थितिको विषयमा छलफल भएको एक नेताले जानकारी दिए । बैठकले एमाले र रास्वपा सहभागी गराई मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको छ ।

पर्वतका पदम गिरी एमालेबाट सरकारमा जानेः को हुन् गिरी ?

नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुनप्रसाद जोशीलाई प्रतिनिधि सभा निर्वाचनमा लगातार दुई पटक हराएका गिरी पर्वत जिल्लाबाट दोश्रो पटक मन्त्री बन्न लागेका छन्।

नयाँ मन्त्रिपरिषद् आजै पुनर्गठन हुने

काठमाडौं । गठबन्धन भत्किएसँगै नयाँ मन्त्रिपरिषद आजै गठन हुने भएको छ ।  नेपाली काङ्ग्रेस सँगको गठबन्धन भत्किएसँगै माओवादी केन्द्र, एमाले, स्वतन्त्र पार्टी सहितको नयाँ गठबन्धन सरकार आजै गठन हुने भएको हो ।  त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्का सबै मन्त्रीलाई हटाउँदै छन् । स्रोतका अनुसार, अहिलेका सबै मन्त्री हटाउने र सानो आकारको मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी भएको छ । नयाँ मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक एक जना मन्त्री बन्दैछन् ।

बालुवाटारमा ४ दलको बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा ४ दलको बैठक बस्ने भएको छ ।  सोमबार बिहान १०ः३० मा बालुवाटारमा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको बैठक बस्न लागेको हो ।  बैठक नयाँ सत्ता समीकरण बनाउने विषयमा केन्द्रीत हुनेछ ।नयाँ समिकरणको तयारी गरेका ४ दलले आ-आफ्नो दलको सचिवालय बैठक सम्पन्न गरी बैठक बस्न लागेका हुन् ।

के हुँदैछ बालुवाटारमा ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक वालुवाटारमा बसिरहेको छ ।  बैठकमा विकसित राजनीतिक परिस्थितिको विषयमा छलफल भैरहको छ । बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक राखिरहँदा बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक ठाकेर नेताहरुसँग छलफल गरेका छन् । उनी बैठक  सकेर सिधै नयाँ राजनीतिक घटनाक्रमका विषयमा निर्णय लिने अधिकारसहित बालुवाटार लागेका हुन्  । राजनीतिक सरगर्मीले माहोल तातेको अवस्थामा बालुवाटारमा नयाँ समिकरणबारे छलफल बाक्लिएको हो ।

सुखानी सहिदका परिवारसँग भेट, कम्युनिष्ट एकताको पहल थालेका छौं  : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुखानी सहिदका परिवारसँग भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान प्रधानमन्त्रीले सहिद सप्ताहका अवसरमा उनीहरुलाई भेट गरेका हुन् । तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा हत्या गरेको थियो । आजको भेटमा ती सहिद परिवारका सदस्यहरु विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए । कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउन सुरु गरिएको छ । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ ।’ फागुन २१ गते अर्थात् आज सुखानी हत्याकाण्ड भएको दिन हो । सुखानीको जङ्गलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा एक साता सहिद सप्ताह मनाइएको छ ।

रास्वपामा लामिछाने लिए सचिवालय बैठकबाट आवश्यक निर्णय लिने अधिकार

काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा निर्णय लिने अधिकार सभापति रवि लामिछानेलाई दिइएको छ ।  सोमबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट सभापति एवं संसदीय दलका नेता लामिछानेलाई सो अधिकार दिइएको हो । बैठकमा सभापति लामिछानेले समसामयिक राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए ।  त्यसपछि राजनीतिक घटनाक्रमका विषयमा सबैसँग छलफल गर्ने अधिकार लामिछानेलाई दिइएको रास्वपा स्रोतले जानकारी दियो ।

माओवादी केन्द्रको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएको हो । बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री प्रचण्डले शीर्ष नेताहरुबीच भइरहेको छलफल र नयाँ राजनीतिक घटनाक्रमका विषयमा नेताहरुलाई जानकारी गराउने छन् ।  

बालकोटमा एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक जारी छ ।  बिहान ७ बजेदेखि अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बैठक बसिरहेको हो । बैठकमा टीआरसी विधेयक लगायतका विषयमा छलफल हुने बताइएको छ ।

सत्ता गठबन्धनको बैठक सोमबार बिहान ८ बजे  बस्दै

संक्रमणकालीन न्यायसम्बधी छलफल हुने

गठबन्धनमा कुनै समस्या छैनः सिंह

काठमाडौं, २० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनभित्र कुनै समस्या नदेखिएको बताएका छन् । चितवनको रत्ननगरमा आइतबार भएको कार्यक्रममा सिंहले तत्काल गठबन्धनमा कुनै समस्या नभएको बताए ।  उनले गठबन्धनको राजनीतिमा इमान्दारिताका साथ अगाडि बढ्‍नुपर्नेमा जोड दिए । फरक प्रसङ्गमा उनले लोकप्रिय हुने नाममा पार्टीलाई कमजोर बनाउन नहुने पनि बताए । पार्टीभित्र केही असन्तुष्टि रहे पनि यी तमाम असन्तुष्टिको समाधान गर्दै जानुपर्नेमा उनले बताए। ‘अरूलाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट भागेर अगाडि बढ्न खोज्ने प्रवृत्ति बढ्दै गएकोले कांग्रेस सचेत हुनुपर्छ,’ सिंहले भने, ‘कांग्रेस ठूलो पार्टी भएकोले आन्तरिक जीवनलाई पनि व्यवस्थापन गर्नुपर्छ।’ उनले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनीबाट धेरै कुरा सिक्न सकिने पनि बताए । सिंहले नेतालाई मात्र गाली गरेर नहुने पनि बताए। उनले पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्नुपर्ने बताए।