सत्ता गठबन्धनले सांसदहरूको अभिमुखिकरण कार्यक्रम गर्दै

काठमाडौँ ।राष्ट्रियसभा अध्यक्षको निर्वाचनको सन्दर्भमा सत्ता गठबन्धनले सांसदहरुको अभिमुखिकरण कार्यक्रम गर्न लागेको छ ।माओवादी केन्द्रको तर्फबाट उम्मेदवार बनेका नारायण दाहाललाई समर्थन गरेका सांसदहरूलाई आज प्रशिक्षण दिने कार्यक्रम रहेको हो ।

संसद भवन नयाँ बानेश्वरमा ९ः३० बजे हुने अभिमुखिकरण कार्यक्रमा सत्ता गठबन्धनका राष्ट्रिय सभाका सांसदहरु प्रशिक्षणमा सहभागी हुने छन् ।

दूरगामी महत्त्वका निर्णय नगर्न गण्डकी सरकारलाई माओवादीको आग्रह

काठमाडौँ । नेकपा मा‌ओवादी केन्द्रले सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दूरगामी निर्णय नगर्न आग्रह गरेको छ । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले गण्डकी प्रदेश सरकार काम चलाउ सरकारमा परिणत भएको भन्दै दीर्घकालीन असर पर्ने निर्णय नगर्न आग्रह गरेको माओवादी संसदीय दलका प्रमुख सचेतक कुसुम बुढा पुनले जानकारी दिइन् । बैठकले तीन बुँदे निर्णय गर्दै कामचलाउ सरकार भइसकेको अवस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न र त्यस्ता कुनै पनि काम कारबाही नगर्न सरकारलाई सचेत गराउने निर्णय गरेको छ । केन्द्रीय गठबन्धनमा फागुन २१ गतेबाट आएको फेरबदलको प्रभाव गण्डकी प्रदेश सरकारको गठबन्धनमा समेत परेको छ ।

तीन प्रदेश प्रमुख पदमुक्त, नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै सरकारले नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।  सरकारले कांग्रेसबाट प्रदेश प्रमुख बनेका गण्डकी, मधेश र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्दै एमालेबाट नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।  सरकारले सुमित्रा भण्डारीलाई मधेश प्रदेश, डिल्लीराज भट्टलाई गण्डकी प्रदेश र नजिर मियाँलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा सिफारिस गरेको हो ।

स्वाथ्यको कारण देखाउँदै रञ्जिताद्धारा नाउपाको बैठक स्थगित

धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै आफैले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेकी छिन् । पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग सुदुरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर विवाद बढ्दै जाँदा उनले केन्द्रीय कार्यसमितिको बैठक बोलाएकी थिइन् । आफ्नो सहमति विना काङ्ग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकारमा सहभागिताको विषयमा असन्तुष्टि जनाएकी श्रेष्ठले सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा केन्द्रीय कार्यसमिति बैठक बोलाएकी थिइन् । तर स्वास्थ्यमा समस्यामा आएको भन्दै उनले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरेकी हुन् ।  पार्टीका संस्थापक रेशम चौधरीको जोडबलमा शुक्रबार नाउपाले कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा थप मन्त्री पठाएको थियो । त्यसमा असन्तुष्ट श्रेष्ठले सरकारबाट फिर्ता हुन निर्देशन दिएकी थिइन् । तर संसदीय दलले सुनुवाइ नगरेपछि केन्द्रीय समिति बैठक बोलाएर सरकारबाट फिर्ता नआएमा पार्टीको विधानअनुसार कारवाही गर्ने उनले चेतावनी दिएकी थिइन् । स्रोतका अनुसार श्रेष्ठले स्वास्थ्य समस्याको कारण देखाए पनि कारवाही तर्फजाँदा पार्टीमा थप समस्या आउने भएपछि आफ्नो पक्षका सांसदलाई पनि सरकारमा पठाएर पार्टी फुट जोगाउने तिर उनी लागेको स्रोतको दावी छ ।  पार्टीबाट धेरै मन्त्री पाएपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वकै सरकारलाई समर्थन गर्नुपर्ने मत बलियो देखिएका कारण श्रेष्ठले बैठक स्थगित गरेको स्रोतको दावी छ । श्रेष्ठ निकट सांसदहरुले नराम्रो सन्देश जाने भन्दै तत्काल फरक निर्णय नदिन सुझाव दिएका छिन् । नाउपाको बैठक स्थगित भएसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राप्रपा र स्वतन्त्र सांसदको समर्थन जुटाएर बहुमत पुर्‍याउने प्रयासलाई निरन्तरता दिएका छन् । ५३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीको दल कांग्रेसका १८ र नााउपाका ७ सांसद छन् । राप्रपा र स्वतन्त्र १/१ सांसदको समर्थन जुटाउन सके शाह नेतृत्वको सरकारको पक्षमा २७ सांसद सहित टुप्लुक्क बहुमत पुग्छ ।  सरकारमा सहभागी हुने र नहुने विषयमा पार्टीका संस्थापक आफ्नै पति रेशम चौधरीसँग चर्को विवाद कायम रहेको नागरिक उन्मुक्ति पार्टीमा फुटको संकट टरिनसकेको जानकारहरु बताउँछन् ।

रास्वपाले संघमा मात्रै उम्मेदवारी दिने

काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम(२ को उपनिर्वाचनमा संघमा उम्मेदवारी दिने तर प्रदेशमा नदिने निर्णय गरेको छ । पार्टी कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले आगामी वैशाख १५ मा हुने इलाम–२  को उपनिर्वाचन उम्मेदवारी दिने निर्णय गरेको उपसभापति डीपी अर्यालले बताए । सोही समयमा बझाङको प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा भने रास्वपाले भाग नलिने निर्णय गरेको छ । एमालेबाट इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्वाङको भदौ २५ गते निधन भएको थियो ।  बझाङको प्रदेशसभा (१) बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ मा सवारी दुर्घटनामा परी निधनपछि उक्त सिट पनि रिक्त छ ।  आजको बैठकमा रास्वपाले उपनिर्वाचनका दल दर्ता गर्ने निर्णय पनि गरेको छ ।

यो सत्तासमीकरण बाह्य शक्तिको दौडधुपबिनै गुपचुप ढंगले निर्माण भयो : प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारूढ प्रमुख घटक नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्तासमीकरण बाह्य हस्तक्षेप बिना बनेको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले नयाँ सत्तासमीकरण कुनै खालको बाह्य शक्तिको दौडधुपबिना नै गुपचुप ढंगले स्वदेशकै प्लेयरहरूले निर्माण गरेको बताएका हुन् । “विगतमा भन्दा तपाईंहरूले देख्नुहुन्छ, यो सहकार्यका निम्ति कुनै बाह्य शक्तिहरूको दौडधुप भएको देखिएन । एकदमै गुपचुप ढंगले धेरैलाई त अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी यो काम भयो,” उनले भने, “भन्नुको तात्पर्यचाहिँ यो स्वदेशकै पात्रहरूले, स्वदेशकै प्लेयरहरूले निर्माण गरेको एउटा सहकार्य हो ।” संकट र निराशालाई चिर्दै अगाडि बढ्ने विषयलाई नयाँ गठबन्धनले केन्द्रविन्दुमा राखेर काम गर्ने उनले बताए । “अब यसलाई दिगो बनाउने, यसलाई सफल बनाउने चुनौती हामीसँग छ । किनभने, देशको परिस्थिति धेरै नै गम्भीर छ,” उनले भने । नेपाली कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखी काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेसँगको सहकार्यका निम्ति तयार भएको उनको भनाइ थियो ।  

प्रधानमन्त्रीले लिखित सहमति गर्नुपर्ने एकीकृत समाजवादीको माग

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीले अघि सारेका मागहरूमा लिखित सहमति जनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेको छ ।  सोमवार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले आफ्ना मागहरुमा लिखित सहमति जनाउन प्रधानमन्त्रीलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए । उनले राष्ट्रिय सभा अध्यक्ष तथा प्रधानमन्त्रीलाई विश्वासको मत दिनका लागि प्रधानमन्त्रीलाई लिखित सहमति जनाउन आग्रह गर्ने निर्णय गरिएको बताए ।  चौधरीले भने, ‘हामीले भनेको केही कुरामा उहाँले लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ। र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ।’

सांसदहरूलाई कांग्रेसले लेख्यो पत्र, पत्रमा के छ ?

काठमाडौं ।नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र पठाएका छन् । आज सोमबार प्रमुख सचेतक रमेश लेखकले सबै सांसदहरूका नाममा पत्र लेख्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विश्वासको मतको विपक्षमा मतदानका लागि ह्वीप जारी गरेका छन् ।  पत्रमा फागुन ३० गते बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा अनिवार्य उपस्थित हुन पनि कांग्रेसले आफ्ना सांसदहरूलाई आग्रह गरेको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ जना सांसद छन्। ‘प्रधानमन्त्री दाहाल प्रचण्डले आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्वीप) जारी गरिएको छ,’ लेखकले ह्वीपमा भनेका छन्।  गत २१ फागुनमा प्रधानमन्त्री प्रचण्डले तत्कालीन नेपाली कांग्रेस नेतृत्वको सात दलीय गठबन्धन त्याग्दै २०७९ पुस १० गते बनेको एमालेसहितको नयाँ गठबन्धन बनाएका थिए ।

राष्ट्रियसभाको अध्यक्षमा दाहाल र शर्माको उमेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षका लागि दुईजनाको उमेदवारी दर्ता भएको छ ।  सत्ता गठबन्धनको तर्फबाट नारायण दाहालले उमेदवारी दिएका छन् । उनको प्रस्तावकमा माओवादी केन्द्रका सांसद गोपीबहादुर सार्की आछामी छन् । समर्थकमा नेकपा एमालेका राष्ट्रियसभा संसदीय दलका नेता देबेन्द्र दाहाल र नेकपा एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टीका मोहम्मद खालिद रहेका छन् ।  नेपाली कांग्रेसले पनि उमेदवारी दर्ता गराएको छ । कांग्रेस सांसद युवराज शर्माले उमेदवारी दर्ता गराएका हुन् । शर्माको प्रस्तावकमा कांग्रेस सांसद आनन्द ढुंगाना  र समर्थकमा किरणबाबु श्रेष्ठ छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शेखर कुमार सिंह समर्थक रहेका छन् । राष्ट्रियसभाको अध्यक्षमा उमेदवारी दर्ताका लागि आज दिउँसो १ बजेसम्मको समय तोकिएको छ । अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ ।  अध्यक्षका लागि दुईजना प्रतिष्पर्धी रहने भएका छन् । सत्ता गठबन्धनका नारायण दाहालसँग प्रष्ट  बहुमत देखिन्छ ।

फुटको संघारमा पुगेको नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक टीकापुरमा बस्दै

टीकापुर । सुदुरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर फुटको संघारमा पुगेको नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक टीकापुर बस्दैछ ।  नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि ब्यूँतिएको नाउपाको संस्थापक केन्द्रीय समितकोे बैठक टिकापुरमा बस्न लागेको हो । सोमबार दिउँसो १ बजे कैलालीको टीकापुरमा नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा संस्थापक केन्द्रीय समितिको बैठक बस्नेछ । अल्ममतमा रहेको कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा रेशमको जोडबलमा तीन मन्त्री थपिएपछि नाउपाभित्र रेशम र रञ्जिताबीच तीव्र मतभेद देखिएको छ।  पतिपत्नीसमेत रहेका रेशम र रञ्जिताको शक्ति संघर्षका कारण नाउपामा विवाद चुलिएको छ। नाउपा अध्यक्ष श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन र मन्त्री फिर्ता लिन संसदीय दललाई निर्देशन दिएपनि रेशमको निर्देशनमा सुदूरपश्चिमका केही सांसदले रञ्जिताको निर्देशन पालना गरेका छैनन् । समानान्तर अभ्यास गरिरहेका रेशमले मन्त्रीहरुलाई फिर्ता नहुन अर्को निर्देशन दिएपछि नाउपा फुटको संघारमा पुगेको छ।  पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रम र निर्वाचन आयोगको निर्णयलगायत विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा छलफल हुने बताइएको छ। नाउपामा संस्थापक केन्द्रीय कार्यसमित २१ सदस्यीय छ। टीकापुरमै भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष चयन भएका रेशमलाई निर्वाचन आयोगले अयोग्य ठहर गर्दै श्रेष्ठलाई अध्यक्षमा पुनःस्थापित गरेको थियो। बैठकका लागि अध्यक्ष रञ्जिता, नेता रेशम लगायत केन्द्रीय सदस्य टीकापुरमा जमघट भइरहेका छन्।

राप्रपा कार्यसम्पादन समितिको बैठक आज पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार पनि बस्दैछ । बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए । बैठक शनिबार पनि बसेको थियो । तर नेताहरूबिच विवाद हुँदा बैठकमा निर्णायक छलफल हुन सकेको छैन ।  बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नवीन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ । बैठकका निष्कर्ष आज )सोमबार) नै सार्वजनिक गरिने राप्रपाले जानकारी दिएको छ ।

नेकपा एस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको बैठक बस्दैछ ।  बिहान ११ बजे सिंहदरबारमा बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राजनीतिक परिस्थिति, प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत र राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा छलफल हुने भएको छ ।

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, उपनिर्वाचनबारे छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्न लागेको हो । आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । यस्तै, बैठकमा प्रदेशसभातर्फ बझाङ–१९१० मा हुने उपनिर्वाचनका विषयमा पनि छलफल हुनेछ । यसअघिको निर्वाचनमा प्रदेशसभामा उम्मेदवारी नदिएको रास्वपाले उपनिर्वाचनमा उम्मेदवारी दिने वा नदिने भन्ने विषयमा पनि केन्द्रीय समितिमा छलफल गर्न लागेको हो । रास्वपाले इलाम–२ मा हुने उपचुनावका लागि यसअघि नै ६ जना सांसद पठाएर जनभावना बुझ्ने काम गरिसकेको रास्वपाले जनाएको छ । जसका लागि कमाण्डरका रुपमा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई त्यसतर्फ पठाएको थियो । नेकपा एमालेका सांसद सुवास नेम्वाङको गत भदौ २६ गते निधन भएपछि इलाम–२ र बझाङ प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि ती क्षेत्रमा उपनिर्वाचन हुन लागेको छ ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने

काठमाडौं । नेपाली कांग्रेसले युवराज शर्मालाई राष्ट्रियसभा अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको छ । संसदीय दल कार्यसमितिको बैठकले बाँकेका शर्मालाई अध्यक्षको उमेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा अध्यक्षको निर्वाचन मंगलबार हुँदै छ । सोमबार उमेदवारी मनोनयको कार्यतालिका छ । अरू दललाई पनि शर्माको पक्षमा मतदान गर्न आह्वान गर्ने निर्णय भएको रमेश लेखकले जानकारी दिए ।

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाललाई उमेदवार बनाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा अध्यक्षको उमेदवार चयन गरेको छ । बालुवाटारमा आइतबार बसेको पदाधिकारी बैठकले मनोनीत राष्ट्रियसभा सदस्य नारायण दाहाललाई उमेदवार बनाउने निर्णय गरेको महासचिव देव गुरुङले जानकारी दिए । दाहाल पार्टीका स्थायी कमिटी सदस्य हुन् । दाहाल ०७८ फागुन २५ गते राष्ट्रियसभामा मनोनीत भएका हुन्। उनको कार्यकाल अब चार वर्ष बाँकी छ । सत्ता गठबन्धनको सहमति अनुसार अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमालेले पाउने उल्लेख छ । सोही अनुसार माओवादीले अध्यक्ष उमेदवार टुंग्याएको हो । राष्ट्रियसभा अध्यक्षको मनोनय सोमबार दर्ता हुँदै छ । मंगलबार निर्वाचन हुँदै छ ।  

राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित, हेर्नुहोस् तालिका

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ । आइतबार संघीय संसद् सचिवालयले फागुन २९ गतेका लागि तय गरिएको निर्वाचनको तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ । मंगलबार बिहान ११ः९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइनेछ । हेर्नुहोस् तालिका