दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन केपी ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले दिल खोलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफ्नो दलका सांसदहरूलाई निर्देशन दिएका छन्।

विगतको अनुचित गठबन्धन फालेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उचित गठबन्धन बनाउन पहलकदमी लिएकाले मनमा कुनै शंका नराख्न उनको भनाइ थियो। 

संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेता ओलीले देश अप्ठ्यारोमा पर्‍यो भन्ने ठानेर प्रधानमन्त्रीले वर्तमान गठबन्धनको पहल गर्नुभएकाले सबैले सहयोग गर्नुपर्ने बताए। 

कांग्रेससँगको गठबन्धनमा प्रधानमन्त्रीको कुर्सी सुनिश्चित हुँदाहुँदै पनि प्रधानमन्त्रीले देशको पक्षमा नयाँ गठबन्धन बनाएको उनको भनाइ थियो। ‘कम्तीमा एक–डेढ वर्ष प्रधानमन्त्रीको कुर्सी सुनिश्चित थियो। तर, देश अप्ठ्यारोमा पर्‍यो भनेर उहाँले यो गठबन्धनको पहल गर्नुभयो। त्यसैले हामी सबैले उहाँलाई खुला हृदयले समर्थन गर्नुपर्छ, सहयोग गर्नुपर्छ।’ उनले भने
दलका नेता ओलीले भोलि प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई विश्वासको मत दिन पनि निर्देशन दिए। उनले प्रधानमन्त्रीलाई विश्वासको मत नदिए देश अक्षमहरूको हातमा पुग्ने बताए। 

‘भोलि प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएन भने संविधानको धारा ७६ को उपधारा २ को च्याप्टर क्लोज हुन्छ र राष्ट्रपतिले प्रमुख पार्टीको नेताको हैसियतले भोलि नै कांग्रेस सभापतिलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुहुन्छ,’ उनले भने, ‘त्यसपछि अल्पमतको, अयोग्य, दृष्टिकोणविहीन, स्वाभिमानहीन, भवितव्यले आइलागेको, कुनै संकल्प नभएको सरकार बन्छ। हामीले त्यस्तो सरकार बन्न दिनुहुँदैन। देशलाई अस्थिरतातर्फ जानबाट जोगाउन प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्छ।’ 

उनले कांग्रेसको दृष्टि सरकारमा मात्र रहने गरेको चर्चा पनि गरे। ‘अर्जुनले चरोको आँखो मात्र देखेजस्तो सरकार मात्र देख्ने, अरू केही नदेख्नेहरू छन्। उनीहरूको अल्पमतको सरकार बन्यो भने देश कता जान्छ ? त्यसैले मनको कुनामा कुनै चित्तदुखाइ नराखी दिल खोलेर विश्वासको मत दिन्छौँ।’  

राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष दाहालले लिए शपथ

काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन् । दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए । दाहालले सत्ता साझेदार चार दलको साथ पाएका थिए ।

यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला १५ निर्णय

काठमाडौँ । नयाँ सत्ता समिकरण बनेपछिको मन्त्रिपरिषद्को बैठक पहिलोपटक फागुन २४ गते र दोस्रो पटक फागुन २८ गते सिंहदरबारमा बस्यो । फागुन २४ गतेको बैठकले दुईवटा र २८ गतेको बैठकले १३ वटा निर्णय गरेको छ ।  समग्रमा पछिल्लो सरकार बनेसँगै सरकारले  विभिन्न १५ वटा निर्णय गरेको छ ।  यस्ता छन् निर्णय 

गठबन्धन हामीले बनायौं, मान्छेहरू चीनले गर्‍यो भन्दैछन्  : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओलीले गठबन्धन भत्काएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आशा बढाएको बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देशलाई बरबाद पार्ने गठबन्धन आफूहरूले मेहनत गरेर फुटाएको तर केही मान्छेहरु चीनले फुटाएको भन्दै हिडेको बताए । बैठकलाई सम्बोधन गर्दै उनले भने -'यो समीकरण हामीलाई सरकारमा जान हतारोले होइन । देशको बर्बादी टुलुटुलु हेरेर बस्न गाह्रो भयो। मैले तपाईंहरुलाई भनेको थियो यो गठबन्धन खरानीको डल्लो हो जे गरे पनि फुट्छ भनेर। गठबन्धनमा हुनेवालाहरूको उन्माद थियो। देशको लागि खरानीको डल्लो फुट्नुपर्थ्यो फुट्यो। यो परिवर्तन हामीले गरेका हौँ। त्यसको जस त दिनुस्। यति सानो कुरालाई कहाँ चीन पुर्‍याइरहेको छ। यस्तो खालको कुरा नगर्नुस्। हामीले यति धेरै मेहनत गरेपछि यसको जस हामीलाई दिनुस्।' उनले पार्टीको भूमिका फेरिएपछि भन्दै नयाँ परिस्थितिपछि जिम्मेवारी बोध भएर अघि बढ्ने बताए ।

सरकार फेरिने बित्तिकै मिटरब्याज पीडितको सुनुवाइ भयोः ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकार परिवर्तन हुने बित्तिकै मिटरब्याज पीडितहरूको माग सुनुवाइ भएको बताएका छन्। संसदीय दलको मंगलबार बसेको बैठकमा उनले मिटरब्याज पीडितको समस्या समाधान भएको बताए ।  ‘आरती साहको परिवारको पीडा सुन्दैन सरकार। बरू उनलाई दुव्यर्वहार गर्छ, यस्तो स्थितिमा देश पुगेको थियो। देशलाई सरकार परिवर्तन हुनेबित्तिकै कति हप्ताको यात्रा पूरा गरेर मेची र महाकालीबाट काठमाडौं आएका मिटरब्याज पीडितहरूको द्वन्द्व सरकारले सुनिरहेको थिएन’ उनले भने, ‘सरकार परिवर्तन हुनेबित्तिकै त्यो समस्या समाधान भयो। चार बुँदे सहमति भयो। उहाँहरू घर फर्किनुभयो,’  उनले सरकारले गाडीको बन्दोबस्त गरेर घर पठायो होला भन्ने विश्वास व्यक्त गरेका छन् । उनले सरकार गतिहीन ढंगले चलेको, आर्थिक वृद्धिदर हासिल गर्न नसकेकाले परिवर्तन गर्नुपरेको बताए । ‘दुनियाँले देख्ने–बुझ्ने गरेर एमालेले अर्थमन्त्रालयको नेतृत्व लिन्छ भन्दा सेयर बजार दुईपल्ट, तीनपल्ट, एकै दिनमा ब्रेक लगाउनुपर्‍यो । भोलिपल्ट एमालेले नलिने भने भने स्वाट्टै झरेर माइनसमा जाने अवस्था देखियो,’ उनले भने।  अध्यक्ष ओलीले भोलि हुने प्रधानमन्त्रीको विश्वासका लागि संसदमा हुने मतदान प्रक्रियामा दिल खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिन पार्टीका सांसदहरुलाई निर्दशन पनि दिएका छन् । अध्यक्ष ओलीले प्रधानमन्त्रीले अहिले राम्रो काम गरेको बताए । ‘प्रधानमन्त्रीले पहिले एकदम नराम्रो काम गरेको हुनसक्छ, तर अहिले एकदम राम्रो काम गर्नुभयो’, एकडेढ वर्ष आफ्नो पदका लागि कुनै खतरा नभए पनि गठबन्धन बदल्ने निर्णय गरेको भन्दै उनले भने, ‘अनुचित गठबन्धन छोडेर उचित गठबन्धन बनाउन पहलकदमी लिनुभयो ।’ प्रधानमन्त्रीले विश्वासको मत नपाए देश दुर्घटनामा जाने उनले बताए ।उनले भने,  ‘बेष्ट अप्सन हो कि होइन भन्ने छोडिदिऊँ, यतिबेला अर्को कुनै अप्सन छैन । 

अर्थतन्त्रलाई लयमा फर्काएको निवर्तमान अर्थमन्त्री महतको दावी

काठमाडौं । निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतले प्रचण्ड नेतृत्वको सरकारले अर्थतन्त्रलाई लयमा फर्काएको बताएका छन् ।  आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उनले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गरे । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा। महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।  डा. महतले आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर आफूले सजगताका साथ काम गरेको बताए । उनले भने, ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ ।’ उनले सरकारले प्राप्त गरेका सबै उपलब्धी कांग्रेसकै कारण सम्भव भएको जिकिर पनि गरे ।  आफू परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर) मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको उनले बताए । 

जनमतले उपनिर्वाचनमा उम्मेदवार उठाउने

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले उपनिर्वाचनमा उम्मेदवार उठाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय बानेश्वरमा बसेको सचिवालयको बैठकले १५ वैशाखमा हुने उपनिर्वाचनमा पार्टीबाट उम्मेद्वार उठाउने निर्णय गरेको हो ।  १५ गते इलाम २ मा प्रतिनिधिसभाको र बझाङ (१) मा प्रदेशसभाको उपनिर्वाचनमा हुँदैछ । बैठकले नयाँ गठबन्धनमा सहभागी नहुने र सरकारलाई पनि समर्थन नदिने निर्णय गरेको पार्टीका राष्ट्रिय प्रवक्ता शरद सिंहले जानकारी दिए । यस्तै सप्तरीमा गत ८ माघमा भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदन छलफल गरी निर्देशित प्रक्रिया अघि बढाउने निर्णय पनि जनमत पार्टीले गरेको छ ।

यस्तो छ राष्ट्रियसभा अध्यक्ष नारायण दाहालको राजनीतिक यात्रा

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदका लागि मंगलबार भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार भएका नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदवार दाहाल नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएका युवराज शर्मालाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । दाहालले ३९ मत पाउँदा प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए। को हुन् नारायण दाहाल  कुलप्रसाद दाहाल र आमा देउरूपा दाहालको पहिलो सन्तानका रूपमा नारायणप्रसाद दाहालको जन्म विक्रम सम्वत् २०१२ साल चैत्र १६ गते कास्की जिल्लाको ढिकुरपोखरीमा भएको थियो । उनी सानै छँदा विक्रम सम्वत् २०१९ सालमा उनको परिवार कास्कीबाट चितवन बसाई सरेको थियो । उनले माध्यमिक तहसम्मको शिक्षा चितवन शिवनगरको नारायणी माध्यमिक विद्यालयबाट पूरा गरे । उनले सानैदेखि राजनीतिमा रूची राख्दथे । त्यसैले अध्ययनसँगै राजनीतिमा पनि उनी सक्रिय भए । विभिन्न प्रभावका कारण उनी विद्यार्थी राजनीतिमा कम्युनिष्ट पार्टीको भातृ संगठनमा जोडिए। २०२७ साल जेठ १ गते विद्यार्थी दिवसको अवसरमा अनेरास्ववियूको सदस्यता लिएका थिए । अध्ययनकै क्रममा दाहालले २०३१ सालमा नेपाल कम्युनिष्ट पार्टी पुष्पलाल समूहको सदस्यता लिए । त्यस लगत्तै उनी पार्टी संगठनमा पनि सक्रिय हुन सुरु गरे । राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाएको पञ्चायती व्यवस्थामा कम्युनिष्ट पार्टीमा विभाजन भएर धेरै घटकहरू निर्माण भइरहेका थिए । सोही क्रममा २०३४ सालबाट दाहाल फेरि मोहनविक्रम सिँहको नेतृत्वमा रहेको नेकपा मशालमा आबद्ध हुन पुगे । दाहालले २०३६ सालमा स्नातक तहको अध्ययन पूरा गरेका थिए । त्यस समयमा उनी पार्टीको क्षेत्रीय कमिटिको पदाधिकारी तहको जिम्मेवारीमा पुगिसकेका थिए । त्यसपछि भने उनी पार्टीको पूर्णकालीन सदस्यमा रहेर काम गर्ने गरी भारतर्फत लागे । उनले भारतमा रहेको पार्टीको भातृ संगठनको सचिवमा जिम्मेवारी पनि प्राप्त गरे भने पार्टीको मुखपत्र नेपाली एकता प्रकाशनको जिम्मेवारी समेत पाए । पार्टी संगठनको विभाजनको क्रममा २०४८ सालसम्म आइपुग्दा उनी प्रचण्डको नेतृत्वमा बनेको नेकपा (एकताकेन्द्र मसाल) र २०५१ सालमा निर्माण भएको माओवादीमा रहेका थिए । उनले १८ वर्षसम्म अखिल भारत एकता समाजको सह(सचिव, कोषाध्यक्ष, सचिव हुँदै महासचिवको संगठनात्मक जिम्मेवारीमा रहेर काम गरे । सोही क्रममा उनले ३ वर्षसम्म माओवादी पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन (रिम) को दक्षिण एसियाली शाखा कमिटिमा समेत भूमिका प्राप्त गरे । जसले गर्दा उनको दक्षिण एसिया र विश्वका माओवादी नेतृत्वहरूसँग समेत द्विपक्षीय विचार आदानप्रदान गर्ने अवसर मिल्यो । भारतमा नै बसेर पार्टीको सक्रिय राजनीतिकै क्रममा उनले प्रवास संगठनको अध्यक्ष बनेर लामो समयसम्म काम गरेका थिए । सोही क्रममा उनले २०५७ सालमा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पनि पाए । नेपालमा २०५२ सालदेखि सशस्त्र युद्धको सुरुवात गरेको माओवादीमाथिको निगरानी भारतमा पनि बढाइएपछि भने २०५९ सालदेखि दाहालले भारतमा पनि भूमिगत भएर पार्टीको गतिविधि गरेका थिए । २०६० सालदेखि भने दाहाल नेपाल फर्किएर भेरी(कर्णाली क्षेत्रमा तीन जिल्लाको कमाण्डर भएर काम गर्न सुरु गरे । त्यसको केही समयमा उनले केही समयपछि आफ्नै जन्म जिल्ला कास्कीको इन्चार्जको रूपमा पनि केही समय काम गरे । दाहालले माओवादीले नामाकरण गरेको ताम्सालिङ राज्य र नेवा राज्यको पदाधिकारी तहमा रहेर पनि काम गरे । माओवादी पार्टीमा आएको विभाजनको क्रममा उनी सधैँ नै पुष्पकमल दाहाल ‘प्रचण्ड’को लाइनमा उभिने गर्दथे । त्यसैले उनी अध्यक्ष नजिकको नातेदार सम्बन्धसँगै प्रचण्डको विश्वास पात्रसमेत बन्न सफल भए । ०६२/६३ सालको जनआन्दोलनपश्चात नेपालको राजनीतिमा नयाँ मोडको सिर्जना भयो । ०६३ साल वैशाख ११ गते पूर्व राजा ज्ञानेन्द्रले सम्बोधनमार्फत् ०५९ सालमा विघटन भएको संसदको पुनःस्थापना गरे। त्यसपछि सात राजनीतिक दल र माओवादीको बीचमा भएको समझदारीअनुरुप २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा दाहालले चितवन क्षेत्र नम्बर ३ बाट टिकट पाएर निर्वाचन जित्न पनि सफल भए । दाहालले २०७० सालको निर्वाचन भने पराजित भए । पछिल्लो समयमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर बनेको देउवा नेतृत्वको गठबन्धन सरकारले उनलाई राष्ट्रपति मार्फत् मनोनित गराई राष्ट्रिय सभा सदस्य बनायो । अहिले दाहालका श्रीमती दुर्गादेवी पौडेलसहित दुई छोरा (समिर र दिनेश दाहाल) र एक छोरी (कल्पना दाहाल) गरी पाँच पारिवारिक सदस्य रहेका छन् । माओवादी सशस्त्र युद्धको क्रममा दाहालका दुई छोरा र बुहारीहरू समेत पूर्णकालीन भएका थिए । अहिले पनि दाहालको सम्पूर्ण परिवार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा युद्ध र शान्तिका सबै राजनीतिब मोर्चामा सक्रिय रहँदै आएका छन् ।

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, पक्षमा ३९ मत

काठमाडौं । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेको राष्ट्रियसभा सदस्य सदस्य संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको अध्यक्ष चयन भएका छन् । कुल उपस्थित सांसदहरुको मत ५६ रहेको थियो । राष्ट्रियसभा अध्यक्षका निम्ति सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का नारायण दाहालले ३९ मत प्राप्त गरे भने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा १७ मत प्राप्त गरे ।

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बानेश्वरस्थित संसद्को ल्होत्से हलमा बस्ने प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।  

दाहाल र शर्मालाई राष्ट्रियसभा अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

काठमाडौं । राष्ट्रियसभाका सदस्य गोपीबहादुर सार्कीले अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल र नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले युवराज शर्मालाई राष्ट्रिय सभाको अध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अध्यक्षमा निर्वाचित गर्न दाहाल र शर्मालाई प्रस्ताव गरिएको हो । राष्ट्रियसभाका सदस्य गोपीबहादुर सार्कीले सत्ता गठबन्धनका साझा उमेदवार दाहालका पक्षमा मतदान गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदलाई पनि आग्रह गरे । “नेपाली कांग्रेसका र अरु माननीय सांसदहरूलाई उहाँलाई मतदान गरिदिनुहुनु आग्रह गर्दछु,” उनले भने ।  सांसद सार्कीले नयाँ समीकरण अहिलेको आवश्यकताअनुसार भएको बताए । “देशमा भएका वामपन्थी शक्तिहरू, परिवर्तनकारी शक्तिहरूको बीचमा नयाँ ढंगको समीकरण हुँदै राजनीतिक स्थायित्वतर्फ देशलाई लाने, सुशासन कायम गर्ने, आर्थिक समृद्धि हुँदै समाजवादको दिशातर्फ जाने प्रतिबद्धता जाहेर गरेका छौँ । समीकरण गरेर अघि बढेका छौँ । परिस्थिति बदलियो,” उनले भने । उनले समीकरण बदलिनु उचित, जायय र समयको माग भएको दाबी समेत गरे । काँग्रेस सांसद शर्माले २०२४ सालदेखि नै नेपालको राजनीतिक गतिविधिमा संलग्न भएकाले उनलाई सो पदमा निर्वाचित गराउन उपयुक्त हुने सांसद  काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले बताए ।

एकीकृत समाजवादीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताबीच भएको छलफलमा त्यस्तो सहमति जुटेको हो । आफूहरू प्रधानमन्त्रीलाई विश्वासको मत दिन र राष्ट्रियसभा अध्यक्ष पदमा सत्ता गठबन्धनतर्फका उमेदवारका पक्षमा मतदान गर्न सहमत भएको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । बालुवाटार बैठकपछि गठबन्धनका नेताहरूले नयाँ बानेश्वरस्थित संसद्को ल्होत्से हलमा सांसदसहित छलफल गरेका थिए । यसअघि, एकीकृत समाजवादीका नेताले आफ्ना मागमा प्रधानमन्त्रीले लिखित सहमति नगरे विश्वासको मत नदिने चेतावनी दिएका थिए । सरकारमा एकीकृत समाजवादीका तर्फबाट दुई मन्त्री सहभागी छन् ।

राष्ट्रिय सभामा दाहाललाई विजयी गराउन पाँच दलको अपिल

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा नयाँ सत्ता समिकरणका लागि सहयात्रा गरेका दलहरुका साझा उम्मेदवार नारायण दाहाललाई एकताबद्ध भएर विजयी गराउन पाँच दलले अपिल गरेका छन् । मंगलबार संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दल एमाले, माओवादी, एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरूको बैठकले दाहाललाई विजयी गराउन अपिल गरेका हुन् ।  बैठकपछि पत्रकारहरुसँग माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भने, ‘राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा गठबन्धन दलहरू एकताबद्ध भएर मत दिन अपिल गरेको छ । राष्ट्रिय  कार्यभार पुरा गर्न हामीले राष्ट्रिय सभालाई सही ढंगले सञ्चालन गर्न साझा उम्मेदवार दिएका छौँ । त्यसलाई समर्थन गरेर विजयी गराउन भनेर अपिल गरिएको हो ।’ बैठकमा माओवादीका अध्यक्ष प्रचण्डसहित एमालेका अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा राष्ट्रिय सभा संसदीय दलका नेता मृग्रेन्द्र यादवले आ–आफ्ना धारणा राखेका थिए । उनले यो सरकार खालि सरकार बनाउनका निम्ति मात्रै पुनर्गठन नगरिएको पनि बताए । श्रेष्ठले यो सरकार निश्चित उद्देश्यका साथ पुनर्गठन गरिएको भन्दै सामाजिक आर्थिक रूपान्तरण र समृद्धिका विन्दुमा पुर्‍याउने सरकारको कार्यभार भएको बताए । उनले भने, ‘त्यो कार्यभार यसअघिको सरकार मार्फत पुरा गर्न सकिएन । त्यही उद्देश्यलाई केन्द्रविन्दुमा राखेर यो सरकार पुनर्गठन गरिएको हो ।’ उनले पाँच दलबिच लिखित सहमति भइसकेकाले कुनै समस्या  नभएको दावी गरे । 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिन रास्वपाले ह्वीप जारी गरेको छ। प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् । संसदीय दलको बैठक बसेर संसद बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री प्रचण्डको पक्षमा विश्वासको मत दिन सांसदहरुलाई निर्देशन दिएको रास्वपाका महामन्त्री मुकुल ढकालले जानकारी दिए। रास्वपा उपप्रधान एवम् गृहमन्त्रीसहित ४ मन्त्रालय लिएर सरकारमा सहभागी छ ।

सही कामका लागि आदेश नकुर्न नेपाल प्रहरीलाई गृहमन्त्रीको अपिल

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले गैरकानुनी काममा संलग्न जो कोहीलाई कारबाही गर्न आदेश नकुर्न नेपाल प्रहरीलाई अपिल गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले देशभरका सम्पूर्ण राष्ट्रसेवक प्रहरीलाई अपिल भन्दै सही काम गर्नका लागि कुनै आदेश कुर्न नपर्ने उल्लेख गरेका छन् । उनले भनेका छन्– ‘देशको कुनै पनि भागमा कुनैपनि व्यक्ति वा समुहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारवाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन। ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो। तपाईंले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरि काम गर्नुहोस् । मेरो शुभकामना छ। जय नेपाल (पार्टीवाला होइन, देशवाला)’

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकमा वर्तमान तथा पूर्व पदाधिकारीहरुलाई बोलाइएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्षी दलको रुपमा सांसदले खेल्नुपर्ने भूमिकाका विषयमा छलफल हुनेछ । सत्ताबाट बाहिरिएपछि कांग्रेस सभापति देउवाले पार्टीभित्र र सरकारमा नगएका दलहरुबीचको छलफललाई तिव्रता दिँदै आएका छन् ।