कांग्रेसले सुशासनको कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका हुन् । 

एउटा पुरक वा ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने कांग्रेस दुधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्याङ्कन गरेको लामिछानेले बताए । लामिछानले कांग्रेसलाई चार बर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिदै सो अवधिमा आफुहरुको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । 

उनले संसदमा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाइ सम्मान गर्ने भन्दै छानविन आयोगको बिषय संसदको अधिकारको कुरा भएको जिकिर गरे ।  

जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र सम्पन्न हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन् ।  प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई उपलब्ध गराइने जानकारी दिए ।  काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन दिइसकेको बताए । “त्यस क्षेत्रमा २०३२र३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समयमा यातायात पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरणलगायत कारणले साविकमा नापजाँच हुँदा र अहिलेको अवस्थामा फरक हुन आएको कारण दर्तामा समस्या देखिएको रहेछ ।”  उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुईवटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा संरचना निर्माणका लागि विश्विद्यालय अनुदान आयोगको सिफारिस समेतका आधारमा मित्रराष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको बताए । सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्तरूपमा कार्यान्वयनका लागि नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण तथा बङ्गलादेशका तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले  दुई देशबीचको सचिवस्तरीय बैठकको निर्णयानुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको स्पष्ट पारे ।

सुशासनको सवालमा कुनै सम्झौता हुन्नः प्रधानमन्त्री

सुशासनको सङ्कल्प लिएर आफूले सरकारको नेतृत्व गरेदेखि नै ठूलाठूला भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिना लगायतका काण्डहरूको छानबिन भइरहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस कार्यलाई अझै प्रभावकारी बनाइने बताए ।

उजुरी गर्नेबित्तिकै मन्त्री बन्न नपाए सबै खाली हुन्छः ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कसैविरूद्ध उजुरी पर्ने बित्तिकै त्यो मान्छे मन्त्री बन्न नपाउने हो भने नेपालमा कोही मन्त्री बन्न नसक्ने बताएका छन्। मंगलबार धनगढीमा गरिएको पत्रकार भेटघाटमा उनले उजुरी जो कसैलाई पर्न सक्ने भन्दै त्यही आधारमा मन्त्री बन्न नपाउने तर्क गर्न नमिल्ने बताए । ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरूद्ध पोखराको सूर्यदर्शन सहकारीको पैसा अपचलनमा उजुरी परेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाएको प्रश्नका सन्दर्भमा यस्तो जवाफ दिएका हुन्। उनले भने, ‘उजुरी दर्ता त एकछिन तपाईंको नाममा अर्काले दर्ता गरे के हुन्छ ? उजुरी दर्ता गर्नेबित्तिकै मन्त्री हुन नपाउने हो भने नेपालमा मन्त्री नै खाली हुन्छ। संसद खाली हुन्छ। सबै खाली हुन्छ। सबैलाई लगेर उजुरी हालिदिए भइहाल्यो नि !’  ओलीले गम्भिर अपचलनको विषयमा प्रभावित पार्न नहुने बताए । उनले भने ‘काङ्ग्रेसका झन्डा हालेर अख्तियारमा बयान दिइरहनुभएको छ। मुद्दा एकपछि अर्को छ, यस्तो अवस्थामा तपाईंहरू मन्त्रीको पद लिइरहेर छानबिन, अनुसन्धान र न्यायमा प्रभावित गर्न नखोजेर किनारामा बस्नुस् ।’ ओलीले सानो अबगाल आउँदा, बोली चिप्लिएका भरमा पनि राजीनामा दिएको प्रसंग सम्झिए ।  उनले भने ‘बोली चिप्लिएका भरमा हामीले शेरबहादुर तामाङलाई राजीनामा गराएका थियौं। एउटा भनाइ चिप्लिएको भरमा गोकुल बाँस्कोटालाई राजीनामा गराएका थियौं। भनाइ चिप्लिएको हो, त्यसमा केही पनि थिएन ।’

सिंहदरबार बाहिर प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता नियन्त्रणमा

काठमाडौं । नेपाली कांग्रेसनिकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु काठमाडौंको सिंहदरबार बाहिरबाट पक्राउ परेका हुन् । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ? लगायतका व्यानर बोकेर सिंहदरबार बाहिर प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले प्रदर्शन गर्न निषेध छ ।

मिटरब्याज पीडितले यसरी दिन सकिन्छ उजुरी

काठमाडौं । सहमति कार्यान्वयन र मिटरव्याज पीडितको गुनासो सुन्नका लागि सरकारले उजुरी र निबेदन संकलनको काम सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय, फोन तथा इमेलको माध्यमबाट पीडितले उजुरी र निबेदन दिन पाउने भएका हुन्।  सरकारले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। अधिकृतस्तरको कर्मचारीको नेतृत्वमा डेस्क स्थापना गर्न गृह मन्त्रालयले निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्ति निकालेर सिडियो कार्यालयसँगै गुनासो र उजुरी संकलनका लागि अन्य व्यवस्था गरिएको जानकारी दिएका हुन्। विज्ञप्ति अनुसार डेस्कमा खटिने कर्मचारीहरुको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर, मोबाइल नम्बर तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न पनि भनिएको छ। साथै मिटरब्याज पीडितहरुका गुनासो सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जिवी जीएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति समेत तोकिएको छ। मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी गुनासो दर्ताका लागि सम्पर्क गर्न सकिने नम्बर र इमेल ठेगाना पनि सार्वजनिक गरिएको छ। उजुरी तथा गुनासो संकलनका लागि भाइबर र ह्वाट्सएपमा म्यासेज पठाउन ९८५१३६०६०३ नम्बर तोकिएको छ भने फोन नम्बर ०१–४२११२५७ र टोल फ्री नम्बर १११२ मा पनि सम्पर्क गर्न सकिने भनिएको छ। [email protected]  मा पनि इमेल पठाउन सकिने गृह मन्त्रालयले जानकारी दिएको छ।

सत्ता गठबन्धनको 'साझा संकल्प' दिउँसो २ बजे सार्वजनिक गरिने

यसलाई गठबन्धनका पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् ।

सरकारलाई सफल बनाउन लाग्नुपर्छ  : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारलाई सफल बनाउन लाग्नुपर्ने बताएका छन्। ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा आज जनसङ्गठन समन्वय संयन्त्रको बैठकलाई सम्बोधन गर्दै उनले सरकारलाई राष्ट्रिय हित, विकास, सुशासन र सामाजिक न्यायका पक्षमा प्रभावकारी बनाउने ढङ्गले लाग्नुपर्ने बताए। उनले देशको विकास र जनतामा देखिएको निराशालाई आशामा बदल्नका लागि नयाँ सत्तासमीकरण बनाइएको बताए। नयाँ सत्ता साझेदारीसँगै देशलाई नयाँ गति दिनुपर्छ भन्ने नीतिका साथ सबैलाई विश्वासमा लिएर अगाडि बढ्न चाहेको उल्लेख गर्दै उनले पार्टीका जनवर्गीय सङ्गठनले पनि सरकारलाई जनतासँग जोड्ने काममा योजनाबद्ध रुपमा काम गर्नुपर्ने बताए । महासचिव पोखरेलले सत्ता समीकरण, सत्ता गठबन्धन नभई दलहरुबीचको सहकार्य भएको उल्लेख गरे। “देश परिवर्तनका लागि काम गर्न चाहने पाँच राजनीतिक दलबीच सत्ता साझेदारीको सहयात्रा भएको हो,” उनले भने, “हामीले यसलाई गठबन्धन भन्दा पनि नयाँ सत्ता समीकरण भनेका छौँ।” बैठकमा पार्टीका स्थायी समिति सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले जनसङ्गठनलाई नयाँ ढङ्गबाट लैजानुपर्नेमा जोड दिए। बैठकमा पार्टीका सबै जनसङ्गठनका इञ्चार्ज तथा अध्यक्षको सहभागिता रहेको थियो।

माओवादी पदाधिकारी बैठक, के गर्ला निर्णय ?

काठमाडौं । सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बसेको छ ।  बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ। साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ । माओवादी केन्द्रले चैत्र १५ देखि १५ दिन तराई मधेस जनजागर अभियान वैसाख १५ देखि १५ दिन हिमाल पहाड जनजागर अभियान सञ्चालन गर्ने तय गरेको थियो । सो अभियान केही समय पछाडि सार्ने पनि निर्णय गर्नेछ ।

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । यसैगरी, बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘भन्सार विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल जारी रहने सचिवालयको कार्यसूचीमा उल्लेख छ ।

नयाँ गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ दलहरूले साझा न्यूनतम तयार गरी मङ्गलबार सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार दिउसो २ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।  नेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र) सहित ६ दलको सहकार्यमा फागुन २१ गते सुरु भएको नयाँ गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यसैबिच मङ्गलवार बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको प्रमको सचिवालय जनाएको छ ।  

प्रहरीको विकल्प सुधारिएको प्रहरीः गृहसचिव अर्याल

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरीलाई निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए  कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको बताए ।  नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको भन्दै गृहसचिव अर्यालले भने, “समग्र गृह प्रशासनलाई समसामाहिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौं । जनताहरू पनि सन्तुष्टि भएका अवस्था छैनन् । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”   गृहसचिव अर्यालले मुलुकको आन्तिरक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाएको खण्डमा नागरिकहरूले स्वतन्त्रता पूर्वक आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना भई आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।  प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकासमा सांगठनीक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने उनले बताए । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोही अनुरूपमा सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।  गृहसचिव अर्यालले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताए ।  नैतिकवान र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उनले भने, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।”  कार्यक्रममा गृहसचिव एकनारायण अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०र०८१, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग १ र भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गरे  ।  सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरिवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताए ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  

पूर्व सभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि महरालाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्‍याइएको हो । भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । 

नेविसंघले गृहमन्त्री लामिछानेको पुत्ला जलायो

काठमाडौं । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । नेविसंघ पशुपति क्‍याम्पस इकाइ समितिको अगुवाईमा सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी समेत गरिएको छ । उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग पनि गरेका छन् ।  प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरेका छन् ।

रुसी सेना र युक्रेनी नियन्त्रणमा रहेका नेपालीलाई फिर्ता ल्याउन क्रियाशील छौं :  परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा संलग्न भई युक्रेनमा बन्दी बनाइएका नेपालीलाई स्वदेश फर्काउन सरकार क्रियाशील रहेको बताएका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले रुसी सेनामा रहेका र युक्रेनमा बन्दी बनाइएकालाई नेपाल फर्काउन क्रियाशीलता बढाएको बताएका छन्। आफूले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रुसी विदेशमन्त्रीसँग कुराकानी गरेको र नेपालका लागि रुसी राजदूतसँग पटकपटक छलफल गरेको श्रेष्ठले बताए। 'युक्रेनमा बन्दी भएका युद्धबन्दीका बारेमा यस मन्त्रालयले पहिला नै नामहरू सार्वजनिक गरिसकेको छ।हिजोमात्र रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनमा बन्दी बनाइएकामध्ये पाँच जनाको नाम र फोटो फेरि सार्वजनिक भएको छ,' उनले भने, 'नेपाल सरकारको निरन्तर कूटनीतिक प्रयासपछि यो सम्भव भएको छ ।मन्त्रालय यथाशीघ्र उहाँहरूलाई नेपाल फर्काउनका लागि उच्च प्राथमिकताका साथ क्रियाशील छ।' रुस सरकारले त्यहाँको सेनामा भर्ना भई मृत्यु भएका नेपाली परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको र अहिले पनि त्यहाँ कार्यरत रहेका नेपालीलाई फिर्ता पठाउन तयार भएको श्रेष्ठले जानकारी दिए ।मन्त्री श्रेष्ठले भने- 'रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्कन चाहनेलाई करार रद्द गर्न आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ।त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यस बारेमा रुसमा रहेको नेपाली दूतावासले निरन्तर फलोअप गरिरहेको छ।' रुस र युक्रेनको बीचमा जारी युद्धमा रुसको पक्षबाट सेनामा रहेका नेपालीका समस्या समाधान गर्न सरकार तयार रहेको र क्रियाशील भइरहेको श्रेष्ठले बताए ।

सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)क सांसद मन्जु शर्मा अन्सारीको निधन भएकामा राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित गरिएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित गरिएको हो । अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरिएको छ । उनीप्रति श्रद्धाञ्जलीस्वरूप सभाका सदस्यले एक मिनेट मौन धारण गरे । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भने, “संघीय संसद् प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्दछु । वि।सं। २०२० साल माघ १९ गते जन्मनुभएकी प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा राष्ट्रियसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । स्व। अन्सारी जनता समाजवादी पार्टी, नेपालबाट विक्रम संवत् २०७९ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । यो बैठक स्व। अन्सारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।” राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ ।