विश्वदीपले छाडे बाबुराम

काठमाडौँ । युवा नेता विश्वदीप पाण्डेले पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) परित्यागको घोषणा गरेका छन् । पार्टी अध्यक्ष डा. बाबुराम भट्टराईसँग लामो समय निकट रहेर काम गरेका पाण्डेले पार्टीको प्रचार, प्रसार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारीसमेत सम्हालेका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पाण्डेले पार्टी छाडेको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘आजको मितिदेखि लागू हुने गरी मैले नेपाल समाजवादी पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको छु ।’

कांग्रेसले जे पायो त्यही बोलिराखेको छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस आक्रोश र पीडाका कारण जे पायो त्यही बोलिरहेको टिप्पणी गरेका छन् ।  उनले नेपाली काङ्ग्रेसले मनलाग्दी बोलिरहेको आरोप लगाए । आइतबार प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरुसँग उनले भने, ‘संसद अधिवेशन अन्त्य गर्दैमा कांग्रेस आक्रोशमा आउन आवश्यक छैन ।’ । हिउँदे र बजेट अधिवेशनका बीचमा कम्तीमा १५ दिनको खाली समय राख्नुपर्ने भएकाले यही समय नै हिउँदे अधिवेशन अन्त्यको उपयुक्त समय भएको ओलीको भनाई छ । उनले भने, ‘अहिले अधिवेशन अन्त्य गरेन भने बजेट अधिवेशन, नीति, कार्यक्रम, प्रि बजेट डिस्कसन आदिको कुराहरु, बजेटको तयारी, प्रस्तुति, विभिन्न विधेयकहरुको तयारी छलफल, अनि यो अल्झिएर मात्रै बस्ने कुरा त भएन । अहिले ठीकै हो । यतिबेला बन्द हुनै पथ्र्यो हिउँदे अधिवेशन र अब बजेट अधिवेशन सुरु हुनैपर्छ ।’ ओलीले कांग्रेसको संसदीय समिति मागको कुरा आक्रोश र पीडामात्र भएको टिप्पणी गरे । उनले भने, ‘कांग्रेसले आक्रोश, पीडाले जे पायो त्यही बोलिराखेको छ । यस्तो गर्नुहुँदैन । संसदीय प्रणालीलाई हामीले रक्षा गर्नुपर्छ । त्यसको नर्म्स्, भ्यालुज कसरी अगाडि बढ्ने भन्नेकुराको सीमा हुन्छ, कसरी चल्ने, चलाउने भन्ने कुरा । हाम्रा पुराना यति अनुभव लिएर चल्नुपरेन ? उहाँहरु तर्कमा आउनुहुन्न । ढिपी, जिद्दीमा जानुहुन्छ ।’

हिउँदे अधिवेशनका २३ बैठकमा के भयो संसदीय काम–कारबाही ?

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । विधेयक अधिवेशनको रुपमा लिइने संघीय संसदको २०८० साल माघ २२ गतेबाट शुरु भई आज सकिन लागेको हिउँदे अधिवेशनमा करिव ७० दिनमा ३ वटा विधेयक मात्रै पारित भएको हो । सभामुख देवराज घिमिरेले सो अधिवेशनमा भएको कामको आइतवार प्रतिनिधि सभा बैठकमा संक्षिप्त जानकारी गराउँदै सम्पती शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ सभाबाट पारित भएको बताए। अन्य ६ वटा विधेयकहरु भने सम्बन्धित समितिमा विचाराधीन रहेका छन् । त्यसैगरी संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण मानिएको संघीय निजामती सेवा विधेयक, २०८० माथिको सामान्य छलफल सकिएपछि सो पारित हुन सकेको छैन । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक, २०८० र बैंक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक, २०८० प्रतिनिधि सभामा सभामा प्रश्तुत भएको र अर्को महत्वपूर्ण विधेयक आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० दर्ता मात्र भएको स्थितिमा रहेको बताए । जम्मा ७० दिन चालु रहेको सो अधिवेशनमा संक्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधनका लागि पेश मात्रै गरिएको छ । सभाको यस अवधिमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम २ पटक भएका छन् । त्यसैगरी २ वटा सन्धि सम्झौताहरुमध्ये बिमस्टेक बडा पत्रलाई मिति २०८० चैत्र २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धि सम्झौता सम्बन्धी सामान्य छलफल प्रारम्भ गरिएका छन् । त्यस्तै मिति २०८० फागुन १४ गतेको बैठकमा पेश भएको आर्थिक वर्ष २०८१÷८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रश्ताव बाहेकमाथि २०८० चैत्र १, ५ र ६ र ७ गतेको सभाको बैठकमा छलफल गरिएको पनि सभामुख घिमिरेले जानकारी दिए। सभामुख घिमिरेले भने, ‘प्रतिनिधिसभाको तेस्रो अधिवेशन २०८० साल माघ २२ गते सोमवार प्रारम्भ भई आज २०८१ साल वैशाख २ गते आइतवारसम्म जम्मा ७० दिन चालु रह्यो । जसमध्ये २३ दिनहरुमा २३ पटक बैठक बसी जम्मा ८१ घण्टा ५५ मिनेट संसद कामकारबाहीमा व्यवस्थित भयो । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ५६ को उपनियम ५ को व्यवस्था बमोजिम मिति २०८० फागुन ६ गते र चैत्र ६ गते बैठकहरुमा संचालन भएको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रममा २६ जना माननीय सदस्यहरुले सोधेका प्रश्नको सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए। सभाको पहिलो बैठकमा पेश भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८० लाई मिति २०८० फागुन ६ गते प्रतिनिधि सभाको बैठकले स्वीकृत गरेको थियो ।  त्यसैगरी सभाको पहिलो बैठकमा नेपाल सरकार मन्त्रीपरिषदको निर्णयबाट आएको कार्यविधि थप गर्नेगरी जारी भएको आदेश वेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ४२ को उपदफा २ बमोजिम पेश भएको थियो । मिति २०८० फागुन ३० गतेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको संविधान धारा सयको उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत बहुमतबाट पारित भएको थियो । सभाको तेस्रो अधिवेशनबाट प्राप्त यस अधिवेशनमा प्राप्त २ वटा सन्धि सम्झौताहरु मध्ये बिमस्टेक बडा पत्रलाई मिति २०८० चैत्र २० गतेको सभाको बैठकले अनुमोदन गरेको थियो भने अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धि सम्झौता सम्बन्धि सामान्य छलफल प्रारम्भ भईसकेको छ । त्यसैगरी मिति २०८० फागुन १४ गतेको बैठकमा पेश भएको आर्थिक वर्ष २०८१÷८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेकमाथि २०८० चैत्र १, ५ र ६ र ७ गतेको सभाको बैठकमा छलफल गरिएको थियो । सभाको यस बैठकमा प्रतिनिधिसभामा ५ वटा सरकारी विधेयक दर्ता भएको थियो । जसमध्ये निर्माणमुखि सामग्री व्यवस्थापन तथा नियमन विधेयक २०८० समितिमा विचाराधिन रहेको छ । संघीय निजामती सेवा विधेयक २०८० माथिको सामान्य छलफल समाप्त भएको छ । राजनीतिक दलसम्बन्धि दोस्रो संशोधन विधेयक २०८० र बैक तथा वित्तिय संस्था सम्बन्धि पहिलो संशोधन विधेयक २०८० सभामा प्रस्तुत भएका छन भने आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन विधेयक २०८० दर्ता मात्र भएको स्थितिमा रहेको छ । साथै सभामा उत्पति भएको सम्पती शुद्धीकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धि केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धि राष्ट्रिय सभाबाट गरिएको संशोधनलाई स्वीकार गरी पारित गरेको छ । त्यसैगरी यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको ३ वटा सरकारी एउटा गैरसरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए । जसमध्ये विद्युतीय व्यापार विधेयक २०८० माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकि ३ वटा विधेयक सभामा प्रश्तुत भईसकेको छ । त्यस्तै सभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरु मध्ये अनुगमन तथा मूल्यांकन विधेयक २०७६ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सभाबाट पारित भएको छ भने बाँकि ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधिन रहेका छन् । यसरी सभामा यो अधिवेशनमा कुल ३ वटा विधेयक पारित भएका छन् । त्यसैगरी प्रतिनिधिसभाको चालु अधिवेशनमा माननीय सदस्यहरुबाट दर्ता हुन आएका विभिन्न मन्त्रालयसँग सम्बन्धित ६५ वटा मौखिक र ८ वटा लिखित प्रश्नहरु मध्ये ३२ वटा मौखिक र २ वटा लिखित प्रश्नहरुको उत्तर प्राप्त भएकोमा सभाको २०८० चैत्र २० गतेको बैठकमा ६ वटा मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्य सम्पन्न भयो । यस अधिवेशनमा प्रतिनिधि सभा अन्तर्गतका महिला तथा सामाजिक मामिला समितिको महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन २०८० पेश भयो । सभाको यसअघिवेशनमा प्रतिनिधिसभा सदस्य मञ्जु अन्सारी र संविधानसभा सदस्य केशवकुमार बुढाथोकीको निधन भएकोमा शोक प्रस्ताव पारित भएका थिए ।’ अधिवेशनमा प्रतिनिधि सभाका सांसद मञ्जु अन्सारी र संविधानसभा सदस्य केशवबहादुर बुढाथोकीको निधनमा शोक प्रश्ताव समेत पारित गरिएको थियो।

देशमा राजतन्त्र फर्काउने कुरा सम्भव छैन् : सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशमा राजतन्त्र फर्काउने कुरा सम्भव नरहेको बताएका छन् । आइतबार काठमाडौंमा स्व.सूर्यबहादुर थापाको नवौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभापति देउवाले अहिलेकै व्यवस्थालाई सुदृढीकरण गरेर जानुपर्ने बताउँदै विगतमा बन्दुक उठाएकाहरुले पनि अहिले बहुदलीय व्यवस्था मानेर आएको उल्लेख गर्दै बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यक रहेको बताए। सभापति देउवाले भने, ‘बहुदलीय व्यवस्था मात्रै होइन, हुँदाहुँदा राजा नै गए । अब ती राजा पनि मरे । उनका छोराछोरीहरु सबै मरे । अर्को राजा आएपछि त झन उ चाहीँ आफैँ गए । उनी पनि अहिले टिक्न नसकेर हट्नुप¥यो । त्यसैले यस्तो यो अहिलेको यो नेपालमा गणतन्त्र आएको छ, यद्यपि राजा फर्काउनुप¥यो भनेर मान्छेहरु हिँड्दैछन् । राजा फर्किन्छ भन्ने होइन । यही व्यवस्थालाई अझ समयको स्वीकार्य बनाएर लैजाऔँ । धेरै कुराहरु सुधार गर्न पनि सहमति हुनुपर्छ, दुई तिहाई चाहिन्छ । केही समस्या र कमी कमजोरी रहन्छन् भनेपनि सुधार गरेर जाऔँ । तर अब राजा फर्काउने कुरा असम्भव कुरा देख्छु मैले । यो व्यवस्थालाई सुदृढीकरण गर्दै जानुपर्छ । हिजो बन्दुक उठाएकाहरु पनि अहिले बहुदलीय व्यवस्थालाई मानेर आएको छ । युद्धलाई सबैले छोडेको छ । त्यसकारण को सरकारमा छ, को छैन भन्दा पनि महत्वपूर्ण कुरा बहुदलीय व्यवस्थाको सुदृढीकरण आवश्यकता छ । बलियो बनाउन आवश्यकता छ ।’ कार्यक्रममा सभापति देउवाले बहुदलीय व्यवस्था ल्याउनका लागि स्व।थापाको महत्वपूर्ण भुमिका रहेको बताए।

संघीय संसद्को अधिवेशन अन्त्य

काठमाडौँ । संघीय संसद्को चालु अधिवेशन अन्त्य भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्यका लागि पठाएको पत्र वाचन गरेर आइतबार राति १२ बजेदेखि स्वतः अन्त्य हुने गरी प्रतिनिधिसभा बैठक अन्त्य गरिएको हो ।

सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीले पाउने भएको छ । बालुवाटारमा आज भएको शीर्ष नेता बीचको छलफलमा आफ्नो पार्टीलाई मुख्यमन्त्री दिने औपचारिक सहमति भएको नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् । बैठकमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि दाबी पेश गर्ने अन्तिम दिन यस्तो सहमति भएको हो । नाउपा अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मुख्यमन्त्रीका लागि दावी पेश गरिने जानकारी दिइन् । चौधरी कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद हुन् ।

सरकार गैरजिम्मेवार भएको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसले सरकार जवाफदेहिताबाट भागेर गैरजिम्मेवारीपूर्वक प्रस्तुत भएको निष्कर्ष निकालेको छ ।  आज आइतबार बसेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठकले सरकारले संसद अधिबेशन अन्त्य गरेर गैर जिम्मेवार बनेको आरोप लगाएको हो । सहकारी संस्थाको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग सम्बोधन गर्नुको साटो संसद अधिवेशन अन्त्य गरेर सरकार भागेको काङ्ग्रेसको आरोप छ । बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सरकार जवाफदेही बन्नुको साटो तानाशाही बन्न खोजेको बैठकको निश्कर्ष रहेको सुनाए । लेखकले भने, ‘सरकारले सदनमा बहुसंख्यक सदस्यहरुले उठाएको विषयबारे गम्भीर, सार्थक गरी निष्कर्षमा पुग्नुपर्नेमा जनताको सरोकारको विषयमा बेवास्ता गर्दै संसदबाट भाग्ने काम गरेको छ ।’ संघीय संसदमा  विपक्षी दलहरुले सहकारीमा बचत भएको रकम हिनामिना, अपचलन, दुरुपयोग र ठगी भएको विषय उठाउँदै आएका छन् ।  कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि छानबिन माग गर्दै संसद अवरुद्ध गरेको थियो । गत शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार मध्यराति १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसबारे छलफल गर्न आइतबार बिहान संसद भवनको ल्होत्से हलमा बसेको कांग्रेस संसदीय दलको बैठक बसेको हो ।  काङ्ग्रेस बैठकले, सरकारले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै अप्रत्यासित र असामयिक रुपले संघीय संसदको चालु अधिवेशन अन्त्यको सिफारिस गरेको आरोप लगाएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने जनाइएको छ । बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरो पढेर सुनाउनेछन् । चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नेछन् । त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची पनि छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।सरकारले यो अधिवेसन अन्त्य गर्ने निर्णय गरेको छ । त्यसैले आजको बैठक यस अधिवेसनको अन्तिम बैठक हुनेछ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेकका नेताहरुले बताएका छन् । यस्तै, सरकारले संसद्को चालु अधिवेशन आज रातिबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सन्दर्भमा छलफल हुने बताइएको छ ।

एमालेले सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्नेछ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा बस्दैछ ।

कांग्रेसले आइतबार बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबारलाई बोलाएको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आइतबार बिहान ७ः३० बजे र संसदीय दलको बैठक सोही दिन बिहान ८ः ०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्ने भएको छ । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरिसकेको छ भने भने अन्तिम बैठक आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ । सो बैठक अघि कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ 

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धि’ संकल्प प्रस्ताव पारित

काठमाडौै । ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितासम्बन्धि’ संकल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकमा सो प्रस्तावमाथि छलफल भई सर्वसम्मति पारित भएको हो । संकल्प प्रश्तावमा नागरिकले खर्चको अभावमा ज्यान गुमाउनु नपरोस् भनेर सरकारलाई सचेत गराइएको छ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभाबाट पारित सो संकल्प प्रश्ताव तत्काल कार्यान्वयनमा लैजान नेपाल सरकारलाई निर्देशन दिए।त्यसैगरी उनले सरकारले सो प्रश्ताव कार्यान्वयन गरे÷नगरेको अनुगमन गर्न सभा अन्तर्गतको विषयगत समितिलाई सचेत पनि गराए। बैठकमा सो संकल्प प्रस्ताव सांसद कमला पन्तले पेश गरे भने सांसद पन्त प्रस्तावक रहनुभएको सां संकल्प प्रश्तावमा कृष्णप्रसाद पौडेल, जितजंग बस्नेत, शारदादेवी भट्ट, नारायणदत्त भट्ट, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, भुवनबहादुर सुनार, विष्णुबहादुर विश्वकर्मा, मनरुपा शर्मा, दुर्गा गुरुङ, शोनाय ग्याल्जेन शेर्पा, जयन्तिदेवी राई, मायाप्रसाद शर्मा, मदनकुमारी साह, गरिमा, भगवती न्यौपाने, किरणबाबु श्रेष्ठ, कृष्णबहादुर रोकाया, आनन्दप्रसाद ढुंगाना, पदमबहादुर परियार र मृगेन्द्रकुमार सिंह यादवले समर्थन गरे ।

काँग्रेसका कारण संसद् अधिवेशन अन्त्य गर्नुपर्‍यो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले संसद् सञ्चालन गर्न नदिएका कारण चालु संसद अधिवेशन अन्त्य गर्नुपरेको बताएका छन्। शुक्रबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संसद् अधिवेशन अन्त्य र सुरु हुने क्रम जारी रहने बताएका हुन्। प्रधानमन्त्री प्रचण्ड र ओलीबीच आज समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो।“अधिवेशन अन्त्य हुन्छ । फेरि अर्को सुरु हुन्छ । यस्तै हुन्छ,” सरकारले विजनेश नै नपाएर अधिवेशन गर्ने तयारी गरेको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, “कांग्रेसले चल्न नदिएर ।”  आजै मन्त्रिपरिषद् बैठक बस्दै छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २ गते राति १२ बजेबाट संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ।

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत

पक्षमा ४८ मत पाएका महराको विपक्षमा कांग्रेसका २७ र जनमोर्चाका १ सांसद उभिए भने राप्रपा ४ र लोसपाका ३ सांसद अनुपस्थित भए ।

यस्ता छन् चैत ३० गतेको मन्त्रिपरिषद् बैठकका पाँच निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्यो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा संवत् २०८० चैत ३० गते बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय लिएको छ । नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बैठक पछि आज पाँच वटा निर्णय सार्वजनिक गरेकी छिन् । यस्ता छन् २०८० चैत ३० गतेको मन्त्रीपरिषद बैठकका निर्णयहरू  १. कानुन,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऎन, २०७१ को दफा ३ बमोजिम दुबै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न देहायको सिफारिस समिति गठन गर्ने :  क. सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्री ओमप्रकाश मिश्र - अध्यक्ष  ख. राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा निजले तोकेको सो आयोगको सदस्य- सदस्य  ग. मानव अधिकारवादी, मनोविज्ञानवेत्ता, कानुनविद, विधि बिज्ञानवेत्ता, द्वन्द्वविद, समाजशास्त्री, महिला अधिकारकर्मी वा शान्ति प्रक्रियामा संग्लन व्यक्तिहरु मध्येबाट देहाय बमोजिमका सदस्यहरु -   सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री जगदीशप्रसाद शर्मा पौडेल - सदस्य   डा. अर्जुनकुमार कार्की - सदस्य    श्री स्टेला तामाङ - सदस्य  २. कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई नेपालको राष्ट्रिय फलको रुपमा मान्यता दिने ।  ३. परराष्ट्र मन्त्रालयको प्रस्तावमा सयुक्त राज्य अमेरिकाको ओहोयो राज्यको लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदुत पदमा नियुक्त गर्ने ।  ४. संसदको चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।  ५. राष्ट्रियसभामा रिक्त रहेको सदस्यमा डा. अन्जान शाक्यलाई मनोनयन गर्न सम्माननीय राष्ट्रपतिज्यू समक्ष सिफारिस गर्ने ।

वैशाख २ गतेदेखि संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । २०८१ वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको शर्माले बताइन् ।