बाँकी पुरै कार्यकाल प्रचण्ड प्रधानमन्त्रीः एमाले

काठमाडौं । नेकपा एमालेले बाँकी रहेको पुरै कार्यकाल हालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै हुन सक्ने बताएको छ । 

शुक्रबार एमाले पार्टी कार्यालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा एमालेका महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् । 

उनले भने, ‘कतिपयले आलोपालो प्रधानमन्त्री भनेका छन् । तर हामी यो सरकारले राम्रो काम गर्छ भने यसलाई निरन्तरता दिन तयार छौ भनेर भनिराखेका छौँ ।’ 

महासचिव पोखरेलले आफुहरुको चिन्ता मुलुक, जनता र राष्ट्रको भविष्यप्रति भएको बताए ।

उनले गणतन्त्र र लोकतन्त्रको सुदृढीकरणका सवालमा सबै पक्षसँग एमाले मिलेर जान तयार रहेको समेत बताए । 

मुलुकलाई ओरालो यात्राबाट सुरक्षित यात्रामा डोर्‍याउने कुरा नै प्राथमिकता भएको भन्दै महासचिव पोखरेलले लोकतन्त्रमाथि सङ्कट आएका बेला कांग्रेससँग पनि मिलेर काम गर्नुपर्छ भनेर भनिरहेको बताए ।  

नेता पोखरेलले प्रदेशहरूमा देखिएको अस्थिरता राष्ट्रिय राजनीतिमा भएको कोर्स करेक्सनको प्रभाव भएको टिप्पणी गरे ।

केन्द्रको राजनीतिक समीकरण अनुसार नै प्रदेश सरकारहरू बनेपछि मात्र मुलुकले स्थायित्व प्राप्त गर्ने पोखरेलको भनाई छ ।

हसिना खानद्धारा प्रतिनिधिसभा सदस्यको शपथग्रहण

काठमाडौं । जनता समाजवादी पार्टीकी हसिना खानले प्रतितिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । समानुपातिकतर्फबाट सांसद बनेकी खानले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी हुन् । शुक्रवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले उनलाई शपथग्रहण गराएका हुन् ।  मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको ०७९ फागुन १३ मा निधन भएपछि रिक्त स्थानमा मञ्जु सांसदान मनोनीत भएकी थिइन् ।  उनको पनि चैत ४ गते निधन भएपछि रिक्त स्थानमा हसिनाको नाम सिफारिस गरिएको थियो । 

सत्ता समीकरण परिवर्तन हुँदैनः झलनाथ खनाल

मोरङ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस भएर नै नयाँ समीकरण बनेको भन्दै यो परिवर्तन नहुने स्पष्ट पारे । उनले पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नु सामान्य भन्दै भएको छलफलकै आधारमा सत्ता गठबन्धनमा कुनै समस्या नपर्ने बताए । उनले भने, “वामपन्थीहरुको एकताबाट मुलुकमा समृद्धिका लागि कम्युनिस्टबिच एकता जरुरी छ । यो आजको आवश्यकता पनि हो । यसमा कुनै दुईमत छैन ।” उनले कोशी प्रदेशलगायत अन्य प्रदेशमा नयाँ सरकार निर्माण सुरु भइसकेको समेत बताए ।  नेता खनालले पार्टीले कोशी प्रदेशमा मुख्यमन्त्री पदको माग नगरेको उल्लेख गरे ।   कोशी प्रदेश सरकारमा अल्पमतमा परेका मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिनु केही राजनीतिक र संवैधानिक समस्या भएको उनले बताए । उनले यो सङ्क्रमणको समय भएकाले छिट्टै समाधान हुनेमा विश्वास व्यक्त गरे । उनले निर्वाचन प्रणालीमा परिमार्जन गर्नुपर्ने धारणा समेत राखे । 

एमालेले विशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा एमालेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ३ बजे बिशेष पत्रकार सम्मेलनको आयोजना गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।  पत्रकार सम्मेलनमा शनिबारबाट सुरु हुने पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकको तयारी, सहभागी हुने पाहुना, कार्यक्रमको फरम्याट लगायतका विषयमा जानकारी दिने बताइएको छ ।  यस्तै, प्रदेश सरकार गठनका विषयमा पनि एमालेले पत्रकार सम्मेलनमा आफ्नो धारण राख्ने भएको छ ।

नेकपा एसले पार्टी सदस्यता परीक्षण गरी प्रमाणीकरण गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका नेताहरूको सदस्यताका साथै प्रतिनिधिको संगठित सदस्यको सदस्यता परीक्षण गरी प्रमाणिकरण गर्ने भएको छ। पार्टी मातहतका कमिटीले प्रदान गरेको सदस्यता एवं नवीकरणका सबै प्रक्रियाको प्रमाणीकरण गर्न लागिएको महासचिव घनश्याम भुसालले जानकारी दिए। यही वैशाख १५ गतेभित्र सम्बन्धित सदस्यको शुल्कसहितको नवीकरण कागजात, नामावली विवरण केन्द्रमा पठाउन सबै कमिटी, विभाग, फाँटलाई निर्देशन दिएको उनको भनाई छ । भुषालले भने, ‘१५ गतेपछि प्रदान गरिएका र नवीकरण गरिएका सङ्गठित सदस्यलाई आसन्न १० औँ महाधिवेशनका लागि समावेश गरिने छैन ।’ पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको समय सीमा अगावै सिफारिस गरेका नामावलीलाई पार्टी केन्द्रीय सङ्गठन विभागले वैशाख ३० गतेसम्म प्रमाणीकरण गरी सम्बन्धित निकायमा विवरण पठाउने उनले जानकारी दिए। तल्लो तहबाट प्रमाणीकरणका आधारमा प्रतिनिधि चयन गरिने र त्यसो गर्दा सबै कमिटीले सम्बन्धित नेताहरूको संगठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्यांनका आधारमा प्रतिनिधिको सिफारिस गर्ने उनले बताए । भुषालले पार्टीको महाधिवेशन समीकरणमा आएको परिवर्तन, आन्तरिक तयारीको कमी, आसन्न उपनिर्वाचनलगायत कारणले सरेको स्पष्ट पारे। जेठको दोस्रो साताका लागि तय भएको नेकपा समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने तय भएको छ।

आज सुशासन समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बस्ने बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा नेपाली सेनाले बनाउँदै गरेको द्रुतमार्ग र अन्य सडक सम्बन्धमा छलफल हुने कार्यसूचीमा उल्लेख गरिएको छ ।

गण्डकीको प्रदेशसभा बैठक बस्दै, कांग्रेस र राप्रपाले बहिष्कार गर्ने तयारी

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफरिसमा आज दिउसो ३ बजेदेखि आरम्भ हुनेगरि बैठक आह्वान गरेका हुन् । गत चैत २५ मा मुख्यमन्त्रीमा एमालेका नेता खगराजअधिकारी नियुक्त भएका छन् । बहुमतसहित मुख्यमन्त्रीमा दाबि गर्नेक्रममा सभामुखलाई समेत समावेश गरेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।  उनको नियुक्तिको विषयमा कांग्रेसले हालेको मुद्दामा सर्वोच्च अदालतले बैशाख १० गते पूर्ण सुनुवाई गर्ने भन्दै दीर्घकालमा असर पर्ने कुनै निर्णय नगर्न अन्तरिम आदेश दिएको छ। सर्वोच्चको अन्तिम फैसलापछि मात्र उनको सरकारको भविष्य तय हुने भएको छ। तर मुख्यमन्त्री अधिकारीले भने सर्वोच्चको सुनुवाई अघि नै विश्वासको मत लिने तयारीमा लागेपछि यसको कांग्रेसले विरोध गर्दै आएको छ । विश्वासको मत लिने गरि बैठक बोलाइएको भएपनि अहिलेसम्म मुख्यमन्त्री अधिकारीले आजको बैठकमा विश्वासको मत लिने बारे प्रदेश सभालाई जानकारी नदिएको बुझिएको छ। अर्को तर्फ नेपाली कांग्रेसले भने प्रदेश सभाको बैठक बोलाइएकोप्रति आपत्ति जनाउदै गैरसंवैधानिक भनेको छ। कांग्रेस र राप्रपाले आजको बैठक बहिष्कार गर्ने तयारी गरेको बताइएको छ ।

नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटीको बैठक

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो । पार्टीको दशौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना गर्ने तयारी गरेको छ । बैठकले महाधिवेशनलाई केन्द्रित गरी वैशाख २६ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पोलिटब्युरो बैठक वैशाख २७ गते तथा २८ र २९ गते केन्द्रीय कमिटीको बैठक काठमाडौंमा बस्ने तय भएको छ । जेठ ९ गतेसम्म सबै कमिटीहरूमा महाधिवेशनका लागि प्रस्तुत मस्यौदा दस्तावेज पठाइसक्ने निर्णय पनि भएको छ । जेठ १० गते देखि जेठ ३२ गतेसम्म मस्यौदा दस्तावेजहरूमाथि सबै कमिटीले आफ्नो कार्यक्षेत्रमा पार्टी संठित सदस्यहरूलाई सहभागी गराई छलफल आयोजना गर्नेछन् । असार १ गते सबै क्षेत्रमा प्रतिनिधि छनोट गर्ने र असार ५ गतेभित्र महाधिवेशन प्रतिनिधिको फोटोसहितको विवरण र निर्धारित शुल्कसहित पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।

भारतमा लोकसभा निर्वाचन आजबाट सुरु, २१ राज्यमा मतदान हुँदै

काठमाडौं । भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान आज हुँदैछ । यस चरणमा २१ राज्य र केन्द्र शासित प्रदेशका १०२ सिटमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ । आज भारतका २१ राज्यसहित केन्द्र शासित प्रदेशका १०२ लोकसभा सिटका लागि मतदान हुन लागेको हो। सात चरणमा निर्वाचन हुने भए पनि पहिलो चरणमा १०२ सिटमा मतदान भएपछि कसको सरकार बन्ने भन्ने रूपरेखा तय हुनेछ। १०२ लोकसभा सीटहरूमा कुल १६२५ उम्मेदवारहरूले प्रतिस्पर्धा गर्दैछन् । पहिलो चरणमा नरेन्द्र मोदीको मन्त्रिपरिषद्का आठ सदस्य, तीन पूर्व मुख्यमन्त्री र एक पूर्व राज्यपाल सहभागी छन् । पहिलो चरणमा अरुणाचल प्रदेश, असम, बिहार, छत्तीसगढ, मध्य प्रदेश, महाराष्ट्र, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड, राजस्थान, सिक्किम, तमिलनाडु, त्रिपुरा, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाल, अण्डमान निकोबार, जम्मु कश्मीर, लक्षद्वीप, पुडुचेरीमा मतदान हुनेछ। पहिलो चरणमा उत्तर प्रदेशका आठ सिट, पश्चिम बंगालका तीन सिट, विहारको ४ सिट, जम्मु कश्मिरको एक सिट, मध्य प्रदेशको ६ सिट, महाराष्ट्रका पाँच सिट, असमको पाँच सिट, त्रिपुराको एक सिट, छत्तीसगढको एक सीट, राजस्थानका १२ सिट, मणिपुरमा दुई सिट, तमिलनाडुका सबै ३९ सिट, उत्तराखण्डमा पाँच सिट, अरुणाचल प्रदेशको दुई सीट, मेघालयको दुई सिट, मिजोरम, नागाल्याण्ड, पुडुचेरी र सिक्किमका एक एक सिटमा आज मतदान हुँदै छ । अण्डमान र लक्षद्वीपको एक एक सिटमा पनि आज मतदान हुँदै छ ।

सत्ता समीकरणमा केही समस्या छैन : रवि लामिछाने

काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रदेशको कारणले संघीय सत्ता समीकरणमा केही समस्या नभएको बताएका छन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सिंहदरबारमा छलफल पछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् ।

यस्ता छन् आजको मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । आजको बैठकले सरकारले राष्ट्रिय मानव अधिकार आयोगको सचिवमा मुरारीप्रसाद खरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। बिहीबार मन्त्रिपरिषद्को बैठकले खरेललाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। त्यस्तै, बैठकले दुई सचिवको बढुवा पनि गरेको छ । बैठकले सचिवमा केदारनाथ शर्मा र बैकुण्ठबहादुर अधिकारीलाई बढुवा गर्ने निर्णय गरेको हो । संवत् २०८१ साल वैशाख ६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशको प्रमुख सचिव पदमा सहसचिव श्री गोविन्द बहादुर कार्कीलाई कायम मुकायम मुकरर गरी प्रदेश प्रमुख सचिवको पदमा कामकाजमा खटाउने । २. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा स्वास्थ्य सेवा विभागको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने । ३. नेपाल लेखापरीक्षण सेवाको समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री बैकुण्ठ बहादुर अधिकारीलाई बढुवा गर्ने । ४. नेपाल प्रशासन सेवा समूहीकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा श्री केदारनाथ शर्मालाई बढुवा गर्ने । ५. राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा मुरारी प्रसाद खरेललाई नियुक्त गर्ने ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारी नियुक्त, शपथ आजै लिने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२)बमोजिम सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।  बिहीबार दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै सोडारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। सत्तारुढ दलहरु एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उनले दाबी पेस गरेका हुन्। गत मंगलबार मुख्यमन्त्रीका लागि पेस गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले  मुख्यमन्त्रीमा दाबी पेश गर्न आज साँझ ५ बजेसम्मको समय दिएका थिए।मुख्यमन्त्री सोडारीले आजै शपथ लिनेछन् ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली सिंहदरबारमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकलगत्तै प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो । झापाबाट काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् ।  भेटमा समसामयीक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

मधेस सरकारमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

वीरगन्ज । मधेस प्रदेशका नव नियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा प्रदेश प्रमुख सुमित्रा सुवेदीले शपथ ग्रहण गराएकी हुन् ।  चौथो पटक विश्वासको मत लिएपछि थपिएका तीन मन्त्री र एक राज्यमन्त्रीको शपथ खुवाएका छन्। माओवादीका युवराज भट्टराईलाई उद्योग वाणिज्य तथा पर्यटन  र संसदीय दलका नेता भरत साहलाई विना विभागीय मन्त्रीमा शपथ लिएका छन्।  यसैगरी, एकीकृत समाजवादीका बेची लुंगेलीलाई पनि विना विभागीय मन्त्रीमा शपथ खुवाइएको छ। त्यस्तै गृह राज्यमन्त्रीमा नेकपा एमालेको तर्फबाट शारदा थापाले शपथ  लिएकी छन्।  नव नियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सुवेदीले शपथ खुवाएकी थिइन् भने गृह राज्यमन्त्री थापालाई मुख्यमन्त्री सरोजकुमार यादवले शपथ खुवाएका थिए ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेकपा एसका सोडारीद्धारा दाबी पेश

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीले दाबी पेश गरेका छन् । एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नाउपाको रन्जिता पक्षका सांसदको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । प्रदेश प्रमुख नजिर मियाँले आज सम्मको लागी दलहरूलाई दाबी पेश गर्ने समय दिएका थिए ।

कोसी प्रदेशसभामा परिमार्जित संकल्प प्रस्ताव पेस, के छ प्रस्तावमा ?

विराटनगर ।कोसी प्रदेशसभाको बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पुरानो संकल्प प्रस्तावलाई परिमार्जन गरेर प्रस्ताव पेस गरेका छन्। बिहीबार बसेको बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले संकल्प प्रस्ताव पेस गरेका हुन्।  सभामुख अमरबहादुर बिष्टले आफ्नो भनाइ राख्दै सभामा संकल्प प्रस्ताव पेस गर्न भण्डारीलाई समय दिएका थिए । सो भन्दा अगाडि बिष्टले प्रदेश प्रमुखबाट मन्त्री परिषद्को जिम्मेवारी हेरफेर र प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुलको नियुक्तिबारे सदनलाई जानकारी गराए। बैठकमा एमाले प्रमुख सचेतक भण्डारीले सरकालाई दिएको समर्थन फिर्ता भइसकेको भन्दै मुख्यमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताए । एमाले प्रमुख सचेतक भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित प्रस्ताव सदनमा पेस भएको हो ।    परिमार्जित संकल्प प्रस्तावमा ‘चैत २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।  मुख्यमन्त्रीलाई दिएको समर्थन बहुमत सांसदले फिर्ता लिइसकेको अवस्थामा सरकारको नियमित कार्यबाहेक दीर्घकालीन महत्वका कुनै निर्णय नगर्ननगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस् भन्ने समेत सो प्रस्तावमा उल्लेख छ ।