काम लागेन काङ्ग्रेसको ढोक्साः एमालेकै समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्दै सोडारी

धनगढी । नेपाली काङ्ग्रेसले समर्थन गरेर ढोक्सा थाप्न खोजेपनि सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेसको ढोक्सा खेर गएको छ । लामो रस्साकसीपछि नेकपा एमालेकै समर्थनमा एकीकृत समाजवादीका संसदीय दल नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन्।

सोडारीले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी (नाउपा) र एक जना स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।

एमालेले सोडारीलाई समर्थन गर्न सुरुमा अनिच्छा देखाए पनि काङ्ग्रेसले समर्थन गर्ने देखेपछि गठबन्धन जोगाउनका लागि अन्तिममा समर्थन गर्न तयार भएको नेताहरूले बताएका छन्।

एकीकृत समाजवादीका सांसद प्रकाश रावलले हस्ताक्षरको काम भैरहेको र एमालेले पनि समर्थन गर्ने तय भएको जानकारी दिए ।

सोडारीलाई नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षले भने समर्थन नगर्ने भएको छ।

रेशम पक्षले समर्थन नगरे पनि २७ जना पुग्ने भएकाले सोडारीले बहुमतका आधारमा दाबी पेस गर्न लागेका हुन्।

अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई संसदीय दलको नेता तोकेर प्रदेश सभामा जानकारी गराइसकेकाले कैलाशलाई नै संसदीय दलको नेता मानेर पत्र लेख्ने तयारी भएको गृहकार्यमा संलग्न नेताहरूले जानकारी दिए।

सभामुख भीमबहादुर भण्डारीले पनि नाउपामा संसदीय दलको विधान कार्यान्वयनमा नआइसकेको अवस्थामा सम्बन्धित पार्टीको अध्यक्षले कैलाश चौधरी संसदीय दलको नेता तोकेको जानकारी प्रदेश सभा सचिवालयमा प्राप्त भइसकेको जानकारी दिए।

लुम्बिनीमा मन्त्रिमण्डल बिस्तार, आजै साँझ शपथको तयारी

रुपन्देही । नेकपा एमालेसँग भएको सहमति कार्यान्वयन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल बिस्तार गरेका छन् ।  सरकारमा सहभागी तीन साना दलको असन्तुष्टिका बीच मुख्यमन्त्री महराले मन्त्रिमण्डल विस्तार गरेका हुन् । माओवादीले एमालेसँग भएको पूर्वसहमति अनुसार एमालेबाट मन्त्रीको नाम तय भएपछि आजै सपथ हुने तयारी छ । बुधवार संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै विहीबार मुख्यमन्त्री महराले मन्त्रिमण्डल बिस्तार गरेका हुन् । सहमतिअनुसार एमालेले ५, माओवादीले मुख्यमन्त्रीसहित थप २, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय पाएका छन् । विस्तारित मन्त्रिमण्डलमा एमालेका चेतनारायण आचार्य आर्थिक मामिला तथा योजना मन्त्रालय, माओवादीका दीपेन्द्र पुन स्वास्थ्य र भण्डारीलाल अहिरले कृषि मन्त्रालयको जिम्मेवारी पाएका छन् । संसदीय दलका उपनेता आचार्यले पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा गएका हुन् । बाँकी ६ जना दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुन कुमार केसी, भूमिश्वर ढकाल, र रत्नबहादुर खत्रीले विना विभागीय मन्त्रीका रूपमा शपथ लिने तयारी छ । उनीहरूको बिहीबार साँझ ५ बजे शपथको तयारी भएको प्रदेश प्रमुख कार्यालयले जानकारी दिएको छ ।

कांग्रेस सभापति देउवा र माधव नेपालबीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। कांग्रेस केन्द्रीय सदस्य नारायण खड्काको निवास गल्फुटारमा बुधबार साँझ भेटवार्ता भएको एक नेताले जानकारी दिए। बैठकमा नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन समर्थन दिने सहमति भएको बुझिएको छ। बैठकमा  नेकपा एकीकृत समाजवादी र कांग्रेसबीच सहकार्य  गरेर अगाडि बढ्ने विषयमा पनि छलफल भएको नेताहरुको दाबी छ ।

डा. शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत

काठमाडौं । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले शाक्यलाई बिहीबार राष्ट्रियसभा सदस्यमा नियुक्त गरेका हुन् ।   राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा उनलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  शाक्यलाई मन्त्रिपरिषद् बैठकले मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।  राष्ट्रिय सभाका तीन सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा २०७५ पुस १६ गते शाक्य इजरायलका लागि राजदूत नियुक्त भएकी थिइन्। मनोनीत कोटामा यसअघि एमालेकै विमला राई पौडेल थिइन् । उनको ६ वर्षे कार्यकाल फागुन २० गते पूरा भएको थियो ।

कोशी प्रदेशसभा बैठक बस्दै, नयाँ सरकार गठनको बाटो के होला ?

विराटनगर । कोशी प्रदेशमा राजनीतिक अनिश्चितताकाबीच आज प्रदेश सभाको बैठक बोलाइएको छ।कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले र माओवादीका ५२ सांसदको माग बमोजिम बिहीबार दिउँसो १ बजेलाई प्रदेशसभाको बैठक आह्वान गरेका हुन् । मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्र र एमालेले फिर्ता लिएपछि बढेको राजनीतिक अन्योलताले निकास पाउने छाट अहिलेसम्म देखिएको छैन् । मुख्यमन्त्री कार्कीले आफुलाई हटाउने प्रावधान संबिधानमै नभएको दाबी गर्दै आएका छन् ।तर अर्कोतर्फ एमाले र माओवादी केन्द्रले भने समर्थन फिर्ता लिएपछि सरकार स्वतः अल्पमतमा पर्ने र प्रदेश सभामा विश्वासको मत लिनुपर्ने वा अर्को सरकार गठनको बाटो खुला गरिदिनुपर्ने बताउँदै आएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा ५ अनुसार आफू मुख्यमन्त्री बनेकाले पुनः विश्वासको मत लिन नपर्ने दाबी गर्दै आएका छन् ।एक पटक विश्वासको मत लिएपछि दुई वर्षभित्रै राजीनामा माग्नु असंवैधानिक भएको उनको तर्क छ । अर्को मुख्यमन्त्री बन्ने प्रावधान संबिधानमै नभएको उनको जिकिर छ । कांग्रेसका कार्की एमालेको समर्थनमा गत असोज २७ मा मुख्यमन्त्री बनेका थिए। तर एमाले र माओवादीले गत चैत २६ गते मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए । केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै नयाँ सत्ता समीकरणमा रहेका दलहरु कार्कीलाई हटाउने उपाय खोजिरहेका छन् । अल्पमतमा परेका मुख्यमन्त्रीले राजीनामा नदिएपछि एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव दर्ता गरेका छन् । एमाले र माओवादी केन्द्रले कोशी प्रदेशसभामा परिमार्जनसहितको संकल्प प्रस्ताव सदनमा पेस गर्ने बताएका छन् । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेशप्रसाद उप्रेती र एमालेका प्रदेशसभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको प्रस्ताव पेस हुने भएको छ । एमाले–माओवादीले वैशाख ३ गते प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए ।  संकल्प प्रस्तावमा ‘चैत्र २६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेशसभाको बैठकमा आफूमाथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेशसभाको बैठकबाट माननीय मुख्यमन्त्रीज्यूलाई निर्देशन गरियोस्’ भन्ने उल्लेख छ । ‘बहुमत सांसदले समर्थन फिर्ता लिएकोले नियमित कार्यबाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेशसभाको बैठकबाट निर्देशन गरियोस्’ भन्नेसमेत सो प्रस्तावमा उल्लेख छ ।

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेस गर्ने आज अन्तिम दिन हो। आज साँझ ५ बजेसम्म दाबी पेस गर्ने समयसीमा रहेको छ।  यसअघि पेस गरिएका दुवै दाबी अस्वीकृत भएपछि प्रदेश प्रमुखले थप दुई दिनको समय दिएका थिए। उक्त दुई दिनको समय आज साँझ सकिनेछ।  सोमबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए । तर दुईमध्ये कसैका पक्षमा पनि बहुमत सदस्य देखिएका थिएनन् । 

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज सिंहदरबारमा बस्दै छ । बैठक दिउँसो ४ः ०० बजे बस्ने बताइएको छ । बैठकमा लागनी सम्मेलनको तयारीका विषयसँगै समसामयीक विषयमा छलफल र निर्णय हुने बताइएको छ ।

राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच शीतल निवासमा भेट

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । बुधबार अपराह्न शीतल निवास पुगेर प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेटवार्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । सरकारले लगानी सम्मेलनलाई लक्षित गरेर विभिन्न अध्यादेश ल्याउने तयारी गरेको छ । भेटघाटका अवसरमा विषयमा समेत छलफल हुने बताइएको छ । 

८४ मा विप्लवको पार्टी पनि चुनावमा

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २०८४ सालको आम निर्वाचनमा भाग लिने भएको छ । केन्द्रीय कार्यालय कपिलवस्तुमा बुधबारदेखि जारी नेकपा नवौं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकअघि बसेको पोलिटब्यूरो बैठकले आगामी निर्वाचनमा भाग लिने ऐजेण्डालाई पारित गरेको हो । आजदेखि सुरू बैठकमा महासचिव विप्लवले ‘पार्टीलाई आन्तरिक रूपले सुदृढ गरौैं, समाजवादको लागि फराकिलो मोर्चा निर्माण गरौं’ शीर्षकको राजनीतिक प्रस्ताव र ६ महिने योजना सहितको प्रस्ताव पेस गरेका छन् । बैठकमा विप्लवले विद्यमान व्यवस्था अन्तर्गत हुने चुनाव पनि आन्दोलन र क्रान्तिकै मोर्चा हुने उल्लेख गरेका छन् । सम्बोधन गर्ने क्रममा उनले चुनावलाई कार्यनीति र रणनीतिको रूपमा विभाजन गरेर बुझ्ने कम्युनिस्ट आन्दोलनको पुरानो चलनले अब काम नगर्ने बताएका छन् ।

महासचिवको नेतृत्वमा माओवादीको टोली चीन प्रस्थान्

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङको नेतृत्वको जम्बो टोली चीन प्रस्थान गरेको छ।  गुरुङको नेतृत्वमा अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की ,जगत बिएस, गीता गहतराज, ईश्वरचन्द्र ज्ञवाली, गायत्री गुरुङ, दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव, कृष्णकुमार अधिकारी,ओमनाथ ढुंगाना,प्रतिक कार्की,प्रकाशचन्द्र पाण्डेय,राजन पौडेल,रोशन रिमाल,मणिकुमार साम्पाङ,रुपा महर्जन श्रेष्ठ र सावित्राकुमारी शर्मालगायतका नेताहरु चीन प्रस्थान गरेका हुन् ।  उनीहरु आज बिहान र दिउँसो दुई वटा उडानबाट २० मीनेटको अन्तरमा सिचुआन प्रान्तको छन्तु प्रस्थान गरेका छन् । सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जना गएका हुन् ।    वैशाख १५ गतेसम्म माओवादी टोली चीनमा रहने छ।  उनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले निम्तो दिएको हो ।  

ऐन परिमार्जन गरेर अधिकार स्थापित गर्छौं : मन्त्री चौधरी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले ऐन, नियमावली परिमार्जन गरेर महिला, बालबालिका, ज्येष्ठ नागरिक, बालबालिका तथा यौनिक अल्पसङ्ख्यकको अधिकार स्थापित गरिने बताए। बुधबार इलाम जिल्लामा लघुवित्त वित्तीय संस्थामा क्रियाशील महिला प्रतिनिधिहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताएका हुन्। उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकको पक्षमा काम गर्न केही ऐन, नियमावली परिमार्जन गरेर काम गर्ने तयारी गरेको बताए। मन्त्री चौधरीले आफू महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, यौनिक अल्पसङ्ख्यकहरूको क्षेत्रमा काम गर्ने जिम्मेवारीमा रहेको भन्दै संवेदनशील विषयको नेतृत्व गर्ने जिम्मेवारी रहेको बताए। उनले चेलीबेटी बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धी नीति ल्याउन लागेको बताए। कार्यविधि बनाएर ७५३ वटै स्थानीय तहमार्फत लागू गरिने उनले बताए। त्यस्तै जेलमा परेका बालबालिकाहरूका लागि काम गर्दै आएको मन्त्री चौधरीले बताएका हुन् ।

वामपन्थी शक्ति मिलेर मात्रै विकास र समृद्धिको बाटोमा अग्रसर हुन सकिन्छ : मन्त्री ज्वाला

काठमाडौं। पूर्वमन्त्री प्रकाश ज्वालाले विकास निर्माणसँग जोडिएका कानुन परम्परागत भएकाले तिनमा सामयिक परिवर्तन आवश्यक भएको बताएका छन्। नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव ज्वालाले विगतमा सूचना प्रविधिको उच्चतम प्रयोग नभएको अवस्थालाई ख्याल गरेर बनाइएका सार्वजनिक खरिद ऐनजस्ता कानुन अहिलेका सन्दर्भमा पुरानो भइसकेकाले त्यस्ता कानुनका आधारमा सहज रूपमा काम गर्न नकिने अनुभव सुनाए। लागतभन्दा आधा दरमा बोलपत्र दिँदा पनि कम मूल्यका आधारमा स्वीकृत हुने स्थिति, विभिन्न अन्तरमन्त्रालय समन्वय, रुख कटान, जग्गा प्राप्ति, घरटहरा हटाउने झमेलाले समय बढी व्यतित हुने गरेकाले समन्वय र सहयोग बढाउनुपर्नेमा उनले जोड दिए। उनले समग्रमा आयोजनाका लागि पर्याप्त बजेट नहुने, अनियमितता हुने, कार्यक्रमको निरन्तरता र प्राथमिकतामा हेरफेर हुने समस्या देखिएको बताए। पूर्वमन्त्री ज्वालाले व्यक्तिगत स्वार्थमा नेताहरू केन्द्रित हुने प्रवृत्तिले मुलुकमा विकास, समृद्धि र सुशासनका अपेक्षा पूरा हुन नसक्ने भन्दै वामपन्थी, राष्ट्रवादी र प्रगतिशील शक्ति मिलेर काम गरेमा समाजवादको लक्ष्य पूरा गर्ने क्रममा विकास र समृद्धिको बाटोमा अग्रसर हुन सकिन्छ भन्ने आशा पुनः पलाएको स्थितिमा राजनीतिक स्थिरतामा जोड दिनुपर्ने बताए। विकासका माध्यमबाट समाजवादको बाटोमा अग्रसर हुन वामपन्थी, प्रगतिशील शक्तिहरूको पुनः सहकार्य हुनुलाई सकारात्मक मान्दै उनले संविधानमा उल्लेखित समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पनाबमोजिम आर्थिक, सामाजिक परिवर्तनको अभियानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्। नेता ज्वालाले राजनीतिक स्थायित्व र विकासका लागि विद्यमान संघीय प्रणाली र निर्वाचन प्रणालीमा पनि पुनरावलोकन गर्नुपर्छ भन्दै सरकार वा मन्त्री परिवर्तनपिच्छे सचिवहरू परिवर्तन गर्ने, आयोजनाको प्राथमिकीकरण हेरफेर गर्नेजस्ता कार्यले जनअपेक्षाअनुसार परिणाम दिन नसकिने बताए। एकै व्यक्ति कति पटक मन्त्री, सांसद वा जनप्रतिनिधि बन्ने भन्ने सवालमा पनि स्पष्ट भएर संविधान संशोधन गर्नुपर्ने खाँचो उनले औँल्याए। प्रतिनिधिसभा, अर्थ समितिका पूर्वसभापति ज्वालाले बजेट निर्माण गर्दा कसरी उत्पादन क्षेत्रमा लगानी बढाउन सकिन्छ, बढीभन्दा बढी रोजगारीका अवसर कसरी सिर्जना गर्न विधि निर्माणलाई प्राथमिकतामा राखेर मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने गरी बजेट केन्द्रित हुनुपर्ने विचार व्यक्त गरे। ‘राजस्व संकलन बढाउने, स्रोतसाधन बढाउने तथा योजना आवश्यकता र प्राथमिकताका आधारमा वर्गीकरण गरिनुपर्ने आवश्यकता छ। विगतमा अगाडि बढाइएका अधुरा योजनालाई सम्पन्न गराउने, मुलुकको अर्थतन्त्रलाई थप चलायमान बनाउने, उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गर्ने र जनतालाई सेवा सुविधा दिने नयाँ योजना छनोट गरी बजेटको सुनिश्चितता गरिनुपर्छ,’ उनले भने। सबै कामको आधार कानुन भएकाले संघीयता कार्यान्वयनसँग सम्बन्धित संघीय निजामती सेवा ऐन, संघीय शिक्षा ऐनलगायत कानुनलाई संसद्बाट जतिसक्दो चाँडो पारित गर्नुपर्ने बताए। -रासस

नेकपा एमाले चितवनको जिल्ला अधिवेशन जेठ १० गतेदेखि हुने

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)चितवनको ११ औँ जिल्ला अधिवेशन आगामी जेठ १० देखि गर्ने निर्णय गरिएको छ । जिल्ला कमिटी बैठकले जेठको १०, ११ र १२ गते अधिवेशन गर्ने निर्णय गरेको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपि शर्मा ओलीलाई सहभागी हुन अनुरोध गर्ने निर्णय समेत बैठकले गरेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् । मूल व्यवस्थापन समितिमा पार्टी जिल्ला कमिटी, पालिका कमिटी एवम् जन संगठनका जिल्ला कमिटी, नगर कमिटी पदाधिकारी र चितवन भूगोलमा कार्यक्षेत्र रहेका प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु समावेश गरी ४ सय ९९ जना बनाइएको अध्यक्ष न्यौपानेले जानकारी दिए । अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति समेत बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति बनाइएको छ । यी लगायत अधिवेशन सम्पन्न गर्न विभिन्न विभागीय समितिहरु समेत बनाइएको छ । २०८० सालसम्म नवीकरण भएका करिब १२ हजार संगठित सदस्यहरुबाट चयन गरेर करिव ७०० जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले प्रत्येक ३र३ वर्षमा जिल्ला अधिवेशन गर्ने गर्दछ । त्यसैगरी जिल्ला कमिटी बैठकले नेकपा एमाले चितवनले सुरु गरेको ‘जनतासँग एमाले अभियान’ लाई बैशाख १० गतेसम्म लम्बाएको छ । फागुन १५ बाट अभियान सुरु भएको थियो । बिस्तारै अधिवेशनको माहोल तात्दै गएको चितवनमा पार्टीलाई सुदृढ गर्न र मिशन ८४ लाई सफल बनाउन मिलेर नेतृत्व चयन गर्नुपर्ने आम कार्यकर्ताले धारणा व्यक्त गरिरहेका छन् । कार्यकर्ताको धारणाभन्दा बाहिर जान नसकिने नेतृत्व तहले बताइरहेका छन् ।

अदालतको अवहेलना गरेको दाबीसहित गण्कीका मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा पूरक रिट

पोखरा । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध सर्वोच्चमा पुरक रिट दर्ता गराएका छन्।उनले मंगलबार  मुख्यमन्त्री अधिकारीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा पूरक रिट दर्ता गराएका हुन् ।  पूर्व मुख्यन्यायधिवक्ता चिरञ्जीवी शर्मा पौडेलका अनुसार सर्वोच्चले नै सरकारलाई कामचलाउ भन्दै दीर्घकालीन प्रकृृतिका कार्य नगर्न आदेश दिएको अवस्थामा कार्यकारी अधिकार प्रयोग गरि नियुक्ति गरिनु अदालतको अवहेलना हो । सर्वोच्चले  दीर्घकालीन महत्वका निर्णयहरू नगर्नू भन्ने आदेश दिए पनि मुख्यमन्त्रीले यहीबीचमा महान्यायाधिवक्ता र योजना आयोगका उपाध्यक्ष नियुक्त गरिसकेका छन् ।उनले लमजुङका एमाले नेता कृष्ण अधिकारीलाई मुख्य न्यायाधिवक्ता तथा तनहुँका श्रीकान्त खतिवडालाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेका छन्।   सर्वोच्चको पेसी अगावै विश्वासको मत लिने तयारी मुख्यमन्त्री अधिकारीले गरिरहेका छन्।   

नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुमा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बसिरहेको छ। कपिलवस्तुस्थित शिवगढीमा केन्द्रीय कार्यालयमा बैठक बसिरहेको हो। बैठकले पार्टीको ६ महिनाको समीक्षा, आगामी योजना, पछिल्लो राजनीति, वामपन्थी शक्तिबिच एकता तथा ध्रुवीकरण लगायत विषयमा लिनेछ। बैठकमा महासचिव नेत्रविक्रम चन्दले २० पृष्ठको राजनीतिक दस्ताबेज पेस गरेका छन्।  केन्द्रीय समिति बैठकअघि विप्लवले तीन स्थायी समिति र पोलिटब्युरो समिति बैठक बोलाएका थिए ।