कतारका राजालाई स्वागत गर्न राष्ट्रपति त्रिभुवन विमानस्थल जाने

काठमाडौं । कतारका राजा शेख तामिम विन हमद अल थानी मंगलबार नेपाल आउने भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका राजा थानी मंगलबार साँझ ५ः३५ मा काठमाडौं ओर्लने छन् । उनलाई विमानस्थलमै पुगेर राष्ट्रपति पौडेलले स्वागत गर्ने तय भएको छ।राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री लगायत उच्च पदस्थले उनलाई स्वागत गर्नेछन् ।

केपीजीलाई विश्वास गर्छु : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति विश्वास रहेको बताएका छन्। नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्दै एकता र सहमतिबाट मात्रै देशमा ठूला राजनीतिक परिवर्तन भएको बताए। उनले भने, ‘क्याबिनेट बैठक लम्बिएपछि म समयमा आउन पाइन, यहाँ जुन भिडियो क्लिप प्रस्तुत भयो सबै त मैले हेर्न पाइनँ।त्यो समीक्षात्मक रिपोर्ट हेरे । मलाई त्यहाँ बस्दै गर्दा कमरेड केपी ओलीले त्यस्तो नकारात्मक टिप्पणी माओवादीको बारेमा खासै गरिएको छैन भन्नुभयो म केपीजीलाई विश्वास गर्न चाहन्छु ।’

हतारिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हौसिएर हतारमा कम्युनिस्ट एकता गर्ने पक्षमा आफू नभएको बताएका छन् । नेपाली कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेको उपलक्ष्यमा एमालेले सोमबार ललितपुरमा आयोजित हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।  ‘हौसिएर हतारमा कम्युनिस्ट एकताको पक्षमा छैनौँ । नेकपा बनाउँदा त्यतिबेला हामी अलि हतारिएर हौसिएछौँ जस्तो भएको छ । कहिले फेरि सहकार्य भएको छ । विगतको तितो यथार्थबाट पाठ सिकेर अगाडि बढ्न आवश्यक छ’, उनले भने ।  यस्तै उनले कम्युनिस्ट पार्टीबिच एकता र सहकार्य हुँदा विगतमा दुई तिहाइ मत ल्याएको स्मरण गर्दै सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एक ठाउँमा आउन आवश्यक भएको बताए ।  ‘जब सम्पूर्ण कम्युनिस्ट शक्तिहरूबिच एकता र सहकार्य भएको त्यतिबेला ठुला उपलब्धि भएका छन् । दुई तिहाइ बहुमत ल्याएका छौँ । जब एक अर्काविरुद्ध विद्वेष फैलाउने काम गरेका छौँ, त्यतिबेला कमजोर भएका छौँ । विगतका तितो यथार्थ सबैले मनन गरेर अगाडि जानु आजको आवश्यक हो’, उनले भने ।  प्रतिक्रान्तिबाट लोकतान्त्रिक गणतन्त्रलाई जोगाउन चुनौती रहेको भन्दै उनले प्राप्त उपलब्धिका लागि सम्पूर्ण गणतन्त्रवादीहरू एक ठाउँमा आउन आवश्यक रहेको बताए ।

एमालेलाई देउवाको प्रश्नः मदनको हत्यारा खोज्न कसले रोकेको छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जननेता मदन भण्डारीको हत्यारा पत्ता लगाउन एमालेलाई चुनौति दिएका छन् । उनले भण्डारीको हत्यारा पत्ता लगाउनुको साटो नेपाली कांग्रेसलाई गाली गर्नमात्र लागेको टिप्पणी समेत गरे । नेकपा एमालेको आयोजनामा जारी हीरक महोत्सव कार्यक्रममा विशेष सम्बोधन गर्न गोदावरीमा उपस्थित भएका पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले आफू मदन भण्डारीको बारेमा राम्रै बोल्नेगरी आएपनि कार्यक्रमको बिचमै कांग्रेसलाई गाली गरेको भन्दै झोक्किन पुगे ।  देउवाले भने, ‘गाली गरेपछि जवाफ त दिनुपर्‍यो, मदन भण्डारी किन मरे भनेर किन भन्न सक्दैन एमाले ? मदन भण्डारीको रहस्यमय मृत्यु खोज्न कसले रोकेको छ ?’  पछि ड्राइभर पनि मारिएको भन्दै उनले मदन भण्डारीलाई आफूले राम्रो नेताका रूपमा चिन्ने बताए ।  उनले प्रश्न गरे ‘मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन ?’ उनले मदनको हत्यारा पत्ता लगाउन कांग्रेसले नरोकेको भन्दै प्रश्न गरे,  ‘कांग्रेसले रोकेको हो ? खोइ पत्ता लागेको हो ? मलाई विरोध र गाली गरेर केही हुँदैन । तपाईहरुले पत्ता लगाउनुपर्‍यो ।’

गोदावरीमा नेकपाको हीरक महोत्सव : गएनन् मावध नेपाल

काठमाडौं । नेकपा स्थापनाको अवसरमा हीरक महोत्सवमा नेकपा एमालेले आयोजना गरेको विशेष समारोह जारी छ। नेकपा स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा ललितपुरस्थित गोदावरीको सनराईज हलमा हीरक महोत्सवको आयोजना गरिएको हो। समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा उपस्थित छन्। त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, नेकपा(माले)का महासचिव सीपी मैनाली, नेकपा एकता अभियानका संयोजक वामदेव गौतमलगायत सहभागी छन्। नेकपा एसका अध्यक्ष माधव नेपाल भने गएका छैनन्।कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’पदकबाट सम्मानित गरिएको छ। 

गण्डकीको मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट न्यायाधीश मल्ल र सुवेदीको इजलासमा

पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा न्यायाधीश सपना मल्ल प्रधान र शारंगा सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ । सभामुखको समेत समर्थन लिएर एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएको र यो संविधान विपरीत हुने भन्दै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले २९ चैतमा सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले खगराज नेतृत्वको सरकारलाई दीर्घकालीन महत्वको निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि यो मुद्दामा विपक्षीहरुसँग ७ वैशाखभित्र लिखित जवाफ माग्दै सर्वोच्चले १० वैशाखदेखि नियमित सुनुवाइ गर्ने आदेश दिएको थियो । सोही अनुसार सोमबारदेखि यो मुद्दामा सुनुवाइ सुरु भएको हो । चैत २५ गते एमाले संसदीय दलका नेता अधिकारीले मुख्यमन्त्रीमा दाबी पेश गर्दा आफ्नो दल र माओवादी संसदीय दलको नेताको समर्थन पेश गरेका थिए । माओवादी संसदीय दलमा हाल सभामुख रहेका धितालको समेत गणना गरिएको र यो संविधान विपरीत हुने कांग्रेसको दावी छ ।

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित भएकी छन् ।  नेकपा एमालेले भण्डारीलाई ‘गणतन्त्र गौरखबाट सम्मान गरेको हो । नेकपा स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा ललितपुरको गोदावरीमा नेकपा एमालेले सोमबार गरेको विशेष समारोहमा उनलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई सम्मान गरे । भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति हुन् । नेकपा एमालेको पूर्वउपाध्यक्षसमेत रहेकी उनी २०७२ साल कात्तिक १२ गतेदेखि २०७४ साल फागुन २९ गतेसम्म पहिलो कार्यकाल र २०७४ फागुन ३० देखि २०७९ फागुन २९ गतेसम्म दोस्रो कार्यकाल राष्ट्रपति बनेकी थिइन् ।

कतारका राजा आउँदा मंगलबार सार्वजनिक बिदा

काठमाडौं । कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि मंगलबार सरकारले सार्वजनिक बिदा दिएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

जोखिम उठाएरै भए पनि कम्युनिस्ट शक्तिहरू एकतामा जानैपर्छ : प्रधानमन्त्री प्रचण्ड

ललितपुर। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन्। सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।प्रधानमन्त्रीले भने, ‘जोखिमहरू छन्। जहिले पनि रहन्छन्। तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो। हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ। जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ।’ कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रध्दाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘‘नरबहादर कर्माचार्यप्रति हार्दिक श्रध्दाञ्जलि र सम्मान व्यक्त गर्दछु। उहाँ सधै एकताको पक्षधर हुनुहुन्थ्यो। उहाँ विचारमा दृढ हुनुहुन्थ्यो। सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लोसमय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’’ प्रधानमन्त्रीले एकपटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए। उनले भने, ‘‘अघिल्लो एकता बचाउन सकिएन, तर एकपटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन। समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ। स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ।’’ प्रधानमन्त्रीले विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्नु आजको आवश्यकता भएको बताए।उनले भने, ‘‘विश्व समाजवादी क्रान्तिको मौलिक विचार र कार्यदिशा खोज्ने आजको आवश्यकता हो। हामी सबै समाजवादमा सहमत छौँ। विज्ञान प्रविधिको विकास, एआइले मानवीय जीवनमा पार्ने प्रभाव, विश्वका देशहरूको सम्बन्ध, जलवायु परिवर्तन जस्ता विषयको अध्ययन, अनुसन्धान र विश्लेषण जरूरी छ। यी विषयहरूसमेतका आधारमा नयाँ कार्यदिशामा जानुपर्छ। जस्ता कुराहरूलाई नयाँ कोणबाट हेर्नुपर्छ।’’

उपनिर्वाचनमा करिब १७ सय कर्मचारी खटिने

काठमाडौं । वैशाख १५ मा इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटिने भएका छन् ।  निर्वाचन आयोगले उपनिर्वाचनलाई स्वच्छ, निश्पक्ष र भयरहित ढंगले सम्पन्न गर्न भन्दै उपनिर्वाचनमा खटिने कर्मचारीको नियुक्ति प्रक्रिया अघि बढाउन निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।  आयोगले प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइएको जनाएको छ । उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् । यस्तै, बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्र अनुसार इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने व्यवस्था गरिएको छ ।  उपनिर्वाचनमा परिचालन हुने जनशक्तिको नियुक्ति निर्वाचन अधिकृतको कार्यालयले गर्ने कानुनी व्यवस्था छ । 

शिक्षक महासंघको महाधिवेशन आज सुरु हुँदै

काठमाडौं। नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आज सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने घोषणा गरेको छ । महासंघको विधानविपरीत एक पक्षीय ढंगले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै संगठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासंघको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि संगठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।

नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताएका छन्।   नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति र आन्दोलनका निम्ति सकारात्मक वातावरण बनाउने राजनीतिक अभिभावक भएको बताए। “उहाँको ‘नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान’ स्थापना भएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कर्माचार्यको सम्मान र सम्झनामा ललितपुरको महालक्ष्मीस्थानमा नरबहादुर कर्माचार्य स्मृति बहुप्राविधिक शिक्षालय स्थापना भएको छ।” दिवंगत कर्माचार्यले विसं २००५ देखि प्रजातन्त्र सङ्घमा आवद्ध भएर राणाविरोधी आन्दोलन र  मजदुर आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने चार जना संस्थापकमध्ये एक भएको स्मरण गरे।  चिनियाँ जनक्रान्ति र भारतको तेलङ्गाना किसान विद्रोहबाट प्रेरित कर्माचार्यले कम्युनिस्ट पार्टीको गठनपश्चात मजदुर सङ्गठन स्थापना गरेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए। उनले मजदुर आन्दोलनको उत्थानका निम्ति निरन्तर सक्रिय कम्युनिस्ट नेता कर्माचार्यले पार्टी र जनप्रतिनिधिको भूमिका सँगसँगै पूरा गर्नुभएको बताए। निष्कलङ्कित, विवादरहित, सादगी र मिलनसार नेता कर्मचार्याले समन्वय र समझदारीका लागि सदा प्रयत्नशील रहनु भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सिद्धान्तनिष्ठ, क्रान्तिप्रतिको विश्वास, क्रान्तिकारी स्पिरिटप्रतिको लगाव भएको नेता भएको बताए।

समाजवादको आधार निर्माणको अभियानमा सहभागी हुन् अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेका छन् । भ्लादिमिर इल्यिच लेनिनको १५४ औं जन्मजयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले देशका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामवद्ध हुन तथा समाजवादको आधार निर्माणको ऐतिहासिक अभियानमा सहभागी हुन अपील गरेका हुन् । पछिल्लो समय वामपन्थी, देशभक्त तथा प्रगतिशील शक्तिहरूबीच सहकार्यका साथ सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यमा अग्रसर भइरहेका बताउँदै प्रधानमन्त्री प्रचण्डले सत्ता समीकरण, सहकार्य र सहयात्रा हुँदै एउटै कम्युनिस्ट केन्द्रको साझा सपना र सङ्कल्पलाई सार्थक तुल्याउनेछ विश्वास समेत व्यक्त गरेका छन् । कम्युनिस्ट एवं वामपन्थी शक्तिहरूको साझा सङ्कल्प, सहकार्य र एकताको आधारमा मात्रै देशमा विद्यमान चुनौतीहरू सम्बोधन गर्दै आशाको रक्तसञ्चार सिर्जना गर्न सम्भव भएको प्रधानमन्त्री प्रचण्डको भनाई छ । यस्तो छ प्रधानमन्त्री प्रचण्डद्धारा व्यक्त शुभकामना

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान १० बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् ।  बैठकले सङ्घीय संसद्को बजेट अधिवेशन आह्वानका लागि समेत सिफारिस गर्ने जनाइएको छ । त्यस्तै, बैठकले अन्य नियमित निर्णयहरू समेत गर्नेछ ।  बैठकमा मंगलबारबाट हुने कतारका राजा अमिरको नेपाल भ्रमणका बारेमा छलफल गरिने मुख्य एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबारदेखि दुई दिने नेपाल भ्रमणमा आउँदै छन् । कतारका राजाले नै नेपालको भ्रमण गर्न लागेको यो पहिलो पटक हो । भ्रमणमा श्रम सम्झौतालाई नेपालले प्राथमिकतामा राखेको छ । 

आज हिरक जयन्ती मनाउँदै एमाले,शीर्ष नेताहरू सहभागी हुने

काठमाडौँ। नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सव मनाउँदै छ । पार्टी स्थापनाको ७५औँ वर्षको अवसरमा एमालेले हिरक महोत्सव मनाउन लागेको हो  । एमालेले हिरक महोत्सवमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगात विभिन्न दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरेको छ। हिरक महोत्सवको अवसरमा एमालेले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्न लागेको छ। शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकलो पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान गर्ने निर्णय गरेको थियो ।कार्यक्रम दिउसो १२ बजे ललितपुर गोदावरीमा हुनेछ ।

कतारका अमिर शेखको नेपाल भ्रमणः ९ वटा सम्झौताको तयारी

काठमाडौं । कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने निश्चित भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको छ । मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका हुन् । उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने बताइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् भने कतारबाट सरकारी टोली नेपाल आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ । यस्तै सम्झौताका मस्यौदाहरू आदान प्रदान पनि भइसकेको मन्त्रालयले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुनेछ । यसैगरी, कूटनीतिक कर्मचारीलाई तालिम दिने विषयमा पनि सम्झौता हुने भएको छ । यस्तै, कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ । सम्झौतामा कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी) मार्फत आउने बताइएको छ । नेपालमा अहिलेसम्म यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन । यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुनेछ । सम्झौतापछि कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने मन्त्रालयले विश्वास गरेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणको अवसरमा सम्झताका लागि विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ ।  यस्तै केही श्रम सम्झौता पनि हुने बताइएको छ ।  कतारका अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेपनि अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।