आज हिरक जयन्ती मनाउँदै एमाले,शीर्ष नेताहरू सहभागी हुने

आज हिरक जयन्ती मनाउँदै एमाले,शीर्ष नेताहरू सहभागी हुने

काठमाडौँ। नेकपा एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सव मनाउँदै छ । पार्टी स्थापनाको ७५औँ वर्षको अवसरमा एमालेले हिरक महोत्सव मनाउन लागेको हो  ।

एमालेले हिरक महोत्सवमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगात विभिन्न दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरेको छ।

हिरक महोत्सवको अवसरमा एमालेले पूर्वराष्ट्रपति एवं पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव पदकबाट सम्मान गर्न लागेको छ।

शनिबार र आइतबार ललितपुरको गोदावरीमा बसेको पार्टीको महाधिवेशन प्रतिनिधि परिषद् बैठकलो पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान गर्ने निर्णय गरेको थियो ।कार्यक्रम दिउसो १२ बजे ललितपुर गोदावरीमा हुनेछ ।

नर्सहरूको सेवा–सुविधा सुधार गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएका छन्।चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नर्सहरूको सेवा–सुविधा सन्तोषजनक एवं एकरूपता नभएकाले त्यसलाई सुधार गर्नुपर्ने बताए। “नर्सहरूको सेवा–सुविधामा एकरूपता छैन, निजी अस्पताल, निजी नर्सिङ कलेज, नर्सिङ होमहरूमा  सरकारको न्यूनतम पारिश्रमिकसरह सेवा सुविधाको सुनिश्चिता हुनुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारीको व्यवस्थाका निम्ति आवश्यक नीतिगत प्रबन्ध गरिनेछ।” पछिल्लो समय स्वास्थ्य सेवा प्रवाह र सेवा विस्तारका क्षेत्रमा नेपालले महत्त्वपूर्ण प्रगति गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म नेपालमा अनमीदेखि विद्यावारिधिसम्म पढ्ने नर्सहरूको आकर्षण बढ्दो क्रममा रहेको बताए।  “नर्सिङ क्षेत्रमा देखिएको आकर्षणले यस क्षेत्रमा राम्रो सम्भावना र भविष्य रहेको छ भन्ने देखाएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको उचित व्यवस्थापन र युगानुकूल विकासका निम्ति वैज्ञानिक नीति, योजना र कार्यक्रम तर्जुमा गर्नुपर्ने जिम्मेवारी थपिएको छ ।”  नेपालका अस्पतालहरूमा नर्स विरामीको अनुपातअनुसार दरवन्दी कायम नभएकाले नर्सहरूको कार्यभार बढिरहेको विषयबारे सरकार जानकार रहेको बताउँदै प्रधानमन्त्रीले अर्थतन्त्रका आन्तरिक र बाह्य दुवै सूचकहरूमा सकारात्मक परिवर्तन आइरहेकाले निकट भविष्यमा नर्सहरूको सेवासुविधा र दरबन्दीको विषयलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।  नर्सिङ सेवामा कार्यरत प्राविधिक जनशक्तिले लामो समयसम्म ‘इन्टर्न’मा काम गर्नुपर्ने र जागिर पाएका नर्सहरूको पनि पारिश्रमिक न्यून रहने अवस्थाको अन्त्य हुनुपर्ने बताउँदै प्रधानमन्त्रीले ग्रामीण र दूरदराजमा काम गर्ने नर्सहरूका लागि प्रोत्साहनका कार्यक्रमहरू ल्याउनुपर्नेमा जोड दिए।  उनले कार्यस्थलमा काममा विभेद हुने गरेको र वर्षौं काम गर्दासमेत नर्सिङ पढ्दाको खर्च उठाउन मुस्किल हुनेजस्ता समस्या भोग्नु परिरहेको समस्यालाई क्रमशः सम्बोधन गर्दै जानेगरी नीतिगत व्यवस्था गरिने बताए।

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा.चिरञ्जीवी नेपालको राजीनामा स्वीकृत भएको छ। नेपालले दिएको राजीनामा राष्ट्रपतिले आइतबार स्वीकृत गरेका कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए। यस विषयमा राष्ट्रपति स्वयंले बोलाएर उनीसँग सोधपुछ गरेका थिए।

कामिरिताले तोडे आफ्नै रेकर्ड,  चुमे २९औँ पटक सगरमाथाको चुचुरो

काठमाडौं । कामीरिता शेर्पा २९औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्।  सबैभन्दा धेरै पटक सगरमाथाको चुचुरोमा पुगेको आफ्नै रेकर्ड तोड्दै शेर्पा आज बिहान ७ बजेर २५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको  आधारशिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।  उनले  गत वर्ष एउटै सिजनमा दुई पटक सगरमाथाको शिखर पुगेका थिए। सोलुखुम्बुको थामे गाउँका कामीरिताले सन् १९९२ बाट सगरमाथा आरोहणको यात्रा थालेका थिए। ५४  वर्षीय शेर्पाले सगरमाथाका साथै माउन्ट केटु, चोयु, ल्होत्सेलगायतका हिमालसमेत आरोहण गरिसकेका छन्। 

संसद सञ्चालनको प्रयास : कांग्रेस नेताहरुसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग छलफल सुरु गरेका छन् । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै निरन्तर संसद अवरुद्ध गर्दै आएको अवस्थामा प्रधानमन्त्रीले कांग्रेस नेताहरुसँग छलफल सुरु गरेका हुन् । संसदमा जारी अवरोध, कांग्रेसका माग, सरकारको नीति तथा कार्यक्रम पेस गर्नेलगायतका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवालगायतका नेताहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले छलफल गरिरहेका छन् । नेपाली कांग्रेसले बजेट अधिवेशन सुरु भएको दिन शुक्रबारको संसद बैठक अवरुद्ध गरेको थियो ।सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बढाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको मागमा सत्ता पक्ष सहमत नहुँदा संसद चल्न सकेको छैन । जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भइरहँदा छानबिन समिति गठनमा दुवै पक्ष आ–आफ्नो अडानमा अडिग रहेपछि प्रधानमन्त्रीले समस्याको समाधान खोज्ने प्रयास गरेका हुन् ।

लोकप्रिय