कांग्रेसले मलाई फसाउन सहकारी प्रकरण उचाल्यो : रवि लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा नदिने जिकिर गरेका छन्।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहनुभएका उहाँले सहकारीहरु पीडितहरुको समस्या समाधान गर्न भने आफू तयार रहेको दोहोर्‍याए।

बुधबार इलाममा आयोजित चुनावी सभामा बोल्दै उपप्रधानमन्त्री लामिछानेले नक्कली भूटानी शरणार्थी प्रकरणका भ्रष्टमाथि कारबाही गर्न नसक्ने कांग्रेसले माग्दैमा आफूले पदबाट राजीनामा दिनुपर्ने अवस्था नरहेको बताए । उनले आफूहरु सहकारी पीडितहरुको समस्या समाधानका लागि सरकारमा गएको र त्यो समस्या समाधान गर्न तयार रहेको बताए।

उपप्रधानमन्त्री लामिछानेले काँग्रेसले आफूलाई गलत देखाउन सहकारी गठी प्रकरणलाई उचालेको आरोप समेत लगाए। काँग्रेसले सहकारी पीडितको समस्या भने समाधान गर्न नचाहेको उनको जिकिर थियो।उपप्रधानमन्त्री लामिछानेले विगतमा पुराना पार्टीहरुलाई मत दिएकाले देशको अवस्था बेहाल भएको पनि बताए

महिला लगानीकर्तालाई प्रोत्साहन गर्न मन्त्री चौधरीको आग्रह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला लगानीकर्तालाई प्रोत्साहन गर्न आग्रह गरेकी छन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले बुधबार गरेको हिमालयन हाइड्रो एक्स्पोअन्तर्गत ऊर्जा क्षेत्रमा वातावरण, सामाजिक र सुशासन तथा लैँगिक समताको एकीकरण विषयमा छलफल कार्यक्रममा उनले नेपालमा लामो समयदेखि महिला सशक्तीकरणका निम्ति काम हुँदै आएको बताइन् ।  जस कारण विस्तारै महिलाको सहभागिता सबै क्षेत्रमा वृद्धि हुँदै गएको मन्त्री चौधरीको भनाइ छ ।  हाइड्रोपावर प्रोजेक्ट लामो समयको योजना र बजेट धेरै लाग्ने योजना भएकाले त्यसको सुरुआत गर्न पनि समय लाग्ने गरेको बताउँदै चौधरीले सात मन्त्रालयसँग सम्बन्धित रहेको प्रक्रियागत हिसाबले पनि झन्झटिलो हुँदा लगानीकर्तालाई समस्या हुने गरेको पाइएको बताइन् ।  उनले हाइड्रोपावर प्रोजेक्ट एउटा योजना मात्रै नभएर वन, वातावरण, जैविक विविधता, स्थानीय नागरिकको जनजीवनमा पनि प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले संवेदनशील क्षेत्र पनि भएको बताइन् । ऊर्जा बेचेर नेपाल समृद्ध हुन सक्ने सम्भावना रहेको मन्त्री चौधरीको भनाइ छ ।  ऊर्जा क्षेत्रमा महिला लगानीकर्ता तथा नेतृत्वकर्ता बढाउनका लागि सबैले भूमिका खेल्न आवश्यक रहेको भन्दै उनले ऊर्जा क्षेत्रमा रहेको १६ प्रतिशत महिला सहभागिता वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिइन् ।

एमाले चितवनको ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनको ११ औँ जिल्ला अधिवेशनको लोगो सार्वजनिक गरिएको छ । आगामी जेठ १०, ११ र १२ गते एमाले चितवनको अधिवेशन हुँदैछ । सार्वजनिक लोगोमा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा लेखिएको छ । लोगोमा सूर्य चिन्ह, एमालेको लोगो, कम्युनिष्टको झण्डा, एकसिंगे गैंडा, हात्ती, चितवनको नक्सा र हिमालको दृश्यलाई समेटिएको छ । उक्त लोगोमा नेपाली र अंग्रेजी दबै भाषामा ११ आंै जिल्ला अधिवेशन १०–१२ जेठ २०८१, नेकपा (एमाले), चितवन लेखिएको छ । अधिवेशनका लागि एक महिना अघिदेखि नै तयारी थालिएको हो । अधिवेशनको खुला सत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहभागी गराउने गरी एमाले चितवन लागेको छ । अधिवेशन सम्पन्न गर्न एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा ४ सय ९९ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । त्यसैगरी विभिन्न उपसमितिहरु समेत बनेका छन् । मूल व्यवस्थापन समितिमा पार्टी जिल्ला कमिटी, पालिका कमिटी एवम् जन संगठनका जिल्ला कमिटी, नगर कमिटी पदाधिकारी र चितवन भूगोलमा कार्यक्षेत्र रहेका प्रदेश र केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरु समावेश गरी ४ सय ९९ जना बनाइएको अध्यक्ष न्यौपानेले जानकारी दिए । अध्यक्ष रामप्रसाद न्यौपानेको संयोजकत्वमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखन समिति समेत बनाइएको छ । त्यसैगरी उपाध्यक्ष कमलराज पाठकको संयोजकत्वमा आर्थिक प्रतिवेदन उपसमिति, सचिव प्रकाश खनाल ‘शैलेश’ को संयोजकत्वमा खाद्य तथा आवास व्यवस्थापन उपसमिति, उपसचिव प्रकाश ढुंगानाको नेतृत्वमा प्रचारप्रसार उपसमिति, कार्यालय सचिव श्याम विष्टको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, उपसचिव चन्द्रकान्त न्यौपानेको संयोजकत्वमा अग्रज सम्मान उपसमिति बनाइएको छ । यी लगायत अधिवेशन सम्पन्न गर्न विभिन्न विभागीय उपसमितिहरु समेत बनाइएको छ । २०८० सालसम्म नवीकरण भएका करिब १२ हजार संगठित सदस्यहरुबाट चयन गरेर करिव ७०० जनालाई जिल्ला अधिवेशन प्रतिनिधिका रुपमा सहभागी गराइने अध्यक्ष न्यौपानेले जानकारी दिए । एमालेले प्रत्येक ३/३ वर्षमा जिल्ला अधिवेशन गर्ने गरेको छ ।

संयुक्त वाणिज्य परिषद् स्थापनाका लागि महासंघ र कतार चेम्बरबीच सम्झौता

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना हुने भएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै पक्षबीच सम्झौता भएको हो।  कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ।  सम्झौतासँगै तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ। संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु रहेको हो। नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्ने बताइएको छ। खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।  यसैगरि पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ।  परिषद स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् ।  ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने।  महासंघ अध्यक्ष ढकालले परिषदका मार्पmत थप सहकार्यका लागि थप काम गरिने बताए । ‘कतारको तिव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ,’ उनले भने। यसैगरी महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत,  पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सजिलो हुने बताए। यस्तै, महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ। नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे।  यो सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो। महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको थियो । त्यसयता दुइ चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आएका छन्।

नेपाल र कतारबीच ६ वटा समझदारीमा हस्ताक्षर

दुईदेशबीचका महान्यायाधिवक्ता कार्यालयसम्बन्धी, कूटनीतिक तालिम र अध्ययन, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईटा सम्झौता भएका छन्।

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

काठमाडौँ। नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच आज भेटवार्ता भएको छ। कतारी अमिर र प्रधानमन्त्री प्रचण्ड नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबिचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनुका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भएको छ ।होटेल सोल्टीको अतिविशिष्ट कक्षमा भएको भेट वान टु वान भेटवार्तापछि द्विपक्षीय वार्ता हुनेछ वार्तामा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने बताइएको छ ।  

गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएको रिटमा सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।   सभामुखसहितको हस्ताक्षरमा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई गत चैत २५ मा मुख्यमन्त्री बनाइएको भन्दै नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले चैत २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। 

प्रधानमन्त्रीसँगको भेट र द्विपक्षीय वार्तापछि आजै स्वदेश फर्किंदै कतारका अमिर

काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज द्विपक्षीय वार्ता हुने भएको छ।  दुई दिने नेपाल भ्रमणका लागि हिजो नेपाल आएका उनले आज प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्न लागेका हुन् ।आज १०ः३० बजे बिहान दुई देशका प्रतिनिधिमण्डलको भेटवार्ता गर्ने कार्यतालिका रहेको छ। कतारी अमिर र प्रधानमन्त्री प्रचण्डनेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचारविमर्श हुनका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । वार्तापछि उनीहरूको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रिय समाचार समिति (रासस) र कतार न्यूज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ । दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । कतारी अमिरको सम्मानमा प्रधानमन्त्री प्रचण्डले दिवाभोजको आयोजना गर्नेछन् । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजै स्वदेश फर्कने छन् । अमिर अलथानी आज दिउँसो २ बजे कतारको दोहाका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको छ । यसअघि हिजो अमिरले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेट गरेका थिए । राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा राजकीय भोजको आयोजना गरेका थिए। 

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आउनुभएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ यहाँ रात्रिभोजको आयोजना गरेका छन्। सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको छ ।  रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै,रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो ।  कतारका अमिर अल थानी राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आज अपराह्न त्रिभुवन विमानस्थलमा अवतरण गरेका थिए । राष्ट्रपति पौडेलले विमानस्थलको अतिविशिष्ट कक्षमा उनको स्वागत गरे । कतारका अमिर विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए। शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका अमिरसहितको प्रतिनिधिमण्डलबिच द्विपक्षीय भेटवार्ता भएको छ। बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ । रासस

राष्ट्रपति पौडेल र कतारका अमिरबिच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी बिच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता शुरु भएको छ । सो भेटमा आपसी हित र चासोबारे छलफल हुने जनाइएको छ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले फेरि स्वागत गरेका थिए ।  भेटवार्तामा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्। साथै सो भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डलको समेत सहभागिता छ ।  राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुगेका हुन् । राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा पनि स्वागत गरेका थिए ।  राष्ट्रपति पौडेलसँगको भेटवार्ताका लागि विमानस्थलबाट कतारका अमिर शीतल निवास पुगेका हुन् ।   कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । कतारका अमिरको भ्रमणका अवसरमा सरकारले मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  कतारका अमिर थानी आजै साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रीभोजमा सरिक हुने कार्यक्रम छ ।

०८४ को चुनाव, मिसन समाजवादः विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले ०८४ को निर्वाचनलाई मिसन समाजवादका रूपमा लिनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा भएको केन्द्रीय प्रतिनिधि समिति बैठकमा उनले चुनाव पनि संघर्षको एउटा मोर्चा भएको बताए ।  ‘चुनाव राजनीतिक संघर्षको एउटा मोर्चा हो । यसलाई नयाँ मोर्चाको रूपमा लिएर अघि बढ्नुपर्छ । ०८४ को चुनावलाई मिसन समाजवादका रूपमा बुझेर यसलाई समाजवादको लडाइँको मोर्चाका रूपमा अगाडि बढाउनुपर्छ’ उनले भने । विप्लबले संविधान संशोधन गरेर नेपाली विशेषताको समाजवाद स्थापना गर्ने बहस चलाउनुपर्नेमा जोड दिए । चुनावलाई पनि समाजवादका लागि प्रयोग गर्नुपर्ने भन्दै उनले सबै ढोका खोलेर लड्ने पार्टीको रणनीति भएको बताए । उनले माओवादी धारलाई रूपान्तरण गर्दै एकतामा ल्याउन नेकपाले निर्णायक भूमिका खेल्नुपर्ने बताए । हालै भएको नेकपाको केन्द्रीय समितिको बैठकपछि बसेको केन्द्रीय प्रतिनिधि समितिको बैठकमा महासचिव विप्लवको राजनीतिक प्रस्ताव र ६ महिने पार्टीको आगामी योजनाबारे छलफल भएको बताइएको छ ।

कतारका राजा काठमाडौँमा

काठमाडौं। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौँ अवतरण भएका छन् । उनी मंगलबार अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।  काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले कतारका राजा विमानस्थलमा अवतरण भएको र उनलाई त्यहीँ सेनाको सलामीसहित सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिए ।  कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल पनि विमानस्थलमा पुगेका छन् ।  बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहाँको भ्रमण सकेर काठमाडौँ आएका हुन् ।  अमिरले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम छ । सोल्टी होटेलमा विभिन्न राजनीतिक भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना गरेका छन् । सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरू पनि सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्डसँग बुधवार १०ः३० बजे द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै विभिन्न सम्झौता पत्रमा हस्ताक्षर हुनेछ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम पनि छ । अमिर शेख बुधबार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कतारी राजा शेख बंगलादेशको भ्रमण सकेर नेपाल प्रस्थान

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरेका छन्।  द पेनिन्सुला कतारका अनुसार ढाका विमानस्थलबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं प्रस्थान गरेका हुन् ।  राजा शेखलाई बंगलादेशका विदेशमन्त्री डा. हसन महमदसहितका सरकारी अधिकारीले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् ।  त्रिभुवन विमानस्थलका अनुसार उनी क्यूएएफ ६ उडानबाट अपराह्न ४ः४० बजे विमानस्थल अवतरण गर्ने तालिका छ। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जाँदैछन् ।

देशको समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरले देशको समृद्धिका लागि सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिएका छन् । लोकतन्त्र दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले नेपालमा विभिन्न समयमा भएका प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । सभामुख घिमिरले सन्देशमा लोकतन्त्रले नै अधिकारमुखी, समावेशी र सन्तुलित विकासका लागि आधार प्रदान गर्ने उल्लेख गरेका छन् । उनले भने, ‘जनमुखी लोकतन्त्र नै वास्तविक लोकतन्त्र हो, यसलाई सार्वजनिक नीति, योजना, कार्यक्रम र तिनको कार्यान्वयनमा उतार्न जरुरी छ, नेपालको लोकतन्त्रको रक्षा र प्रवर्द्धनमा नेपालको संसद्ले विगतदेखि नै उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।’ विसं २०६२–६३ को आन्दोलनपछि राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य भएको दिनको सम्झनामा २०६५ सालदेखि वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

आज १८औँ लोकतन्त्र दिवस

काठमाडौं । १८औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।वैशाख ११ गते, २०६२/०६३ को जनआन्दोलन सफल भई लोकतन्त्र स्थापना भएको सम्झनामा आज यो दिवस मनाइन्छ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मागअनुसार विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए।तानाशाही व्यवस्था अन्त्य भएर जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । त्यसअघि तत्कालीन राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीनजनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन जनयुद्धमा सहभागी नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो । विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाउँदै आइएको छ । जुन दिन संसद् पुनःस्थापना भयो यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्न पुग्यो। विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गर्यो। यसलाई नेपाली म्याग्नाकार्टा समेत भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो । विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भएर आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ ।  संविधानसभा मार्फत संविधान निमार्ण र त्यसपछि संघीय व्यवस्थामा देश गएको छ। तीन तहको सरकार बनेका छन्। गाउँगाउँमा अधिकार पुगेका छन्।परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ। 

कतारका अमिर शेखको नेपाल भ्रमण आज : ९ वटा सम्झौताको तयारी

काठमाडौं । कतारका शेख तमिम बिन हमाद अल थानी ८० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउँदै छन् । थानी दिउँसो साढे ४ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ ।उनलाई अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल लगायतले स्वागत गर्नेछन् । उनी दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आउन लागेका हुन् । कतारको प्रतिनिधिमण्डलमा १० जना कतारी मन्त्रीसमेत सहभागी हुनेछन् । खाडी राष्ट्रहरूबाट नेपालमा हुन लागेको यो हालसम्मै सबैभन्दा उच्चस्तरको भ्रमण हो । कतारका अमिरको भ्रमणपछि अन्य खाडी राष्ट्रका राष्ट्रध्यक्ष तथा सरकार प्रमुखहरूलाई पनि नेपाल ल्याउन सहज हुने विश्वास लिइएको छ ।  कतारका अमिर थानी बंगलादेश हुँदै नेपाल आउन लागेका हुन् । उनी दुईदिने बंगलादेशको भ्रमणको सिलसिलामा सोमबार ढाका पुग्नेछन् । कतारका अमिरको बंगलादेश भ्रमणको बेला कतार र बंगलादेशबीच ६ वटा सम्झौतापत्र र ५ वटा समझदारीपत्रमा हस्ताक्षर हुने बंगलादेशका मिडियाले उल्लेख गरेका छन् ।  आज बंगलादेशको ढाकाबाट कतारका अमिर थानी काठमाडौं आउनेछन् । कतारका अमिरको नेपाल भ्रमणका समयमा नेपाल र कतारबीच सुरुमा नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने तयारी गरिएको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।राष्ट्रपति पौडेलले अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने बताइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ। वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् भने कतारबाट सरकारी टोली नेपाल आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ । यस्तै सम्झौताका मस्यौदाहरू आदान प्रदान पनि भइसकेको मन्त्रालयले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुनेछ । यसैगरी, कूटनीतिक कर्मचारीलाई तालिम दिने विषयमा पनि सम्झौता हुने भएको छ । यस्तै, कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ । सम्झौतामा कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी) मार्फत आउने बताइएको छ । नेपालमा अहिलेसम्म यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन । यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुनेछ।उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका छ ।  सम्झौतापछि कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने मन्त्रालयले विश्वास गरेको छ । मन्त्रालयका एक अधिकारीका अनुसार भ्रमणको अवसरमा सम्झताका लागि विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ ।  यस्तै केही श्रम सम्झौता पनि हुने बताइएको छ ।  कतारका अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेपनि अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।