संयुक्त वाणिज्य परिषद् स्थापनाका लागि महासंघ र कतार चेम्बरबीच सम्झौता

संयुक्त वाणिज्य परिषद् स्थापनाका लागि महासंघ र कतार चेम्बरबीच सम्झौता

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल–कतार संयुक्त वाणिज्य परिषद् स्थापना हुने भएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै पक्षबीच सम्झौता भएको हो। 

कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानी ले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ। 

सम्झौतासँगै तीव्र आर्थिक वृद्धि भइरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद् स्थायी संयन्त्र बनेको छ। संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु रहेको हो।


नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषदले प्रभावकारी भूमिका खेल्ने बताइएको छ। खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिवुटि, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषदले प्रभावकारी भूमिका निर्वाह गर्नेछ । 
यसैगरि पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषदले काम गर्नेछ। 

परिषद स्थापनापछि दुइ चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राखेका छन् ।  ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ,’ कतार चेम्बरका अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले भने। 

महासंघ अध्यक्ष ढकालले परिषदका मार्पmत थप सहकार्यका लागि थप काम गरिने बताए ।

‘कतारको तिव्र आर्थिक बिकासबाट फाइदा लिन परिषदले निरन्तर काम गर्नेछ,’ उनले भने।

यसैगरी महासंघ अध्यक्ष ढकालले परिषदको स्थापना पछि नेपालको जल विद्युत,  पर्यटन पूर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सजिलो हुने बताए।

यस्तै, महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नवीकरण भएको छ। नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा विन जसिम अल थानीले हस्ताक्षर गरे। 

यो सम्झौता पनि कतारका अमीर शेख तमीम विन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्प कमल दाहालको उपस्थितिमा नै भएको हो। महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको थियो । त्यसयता दुइ चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आएका छन्।

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। बागमती प्रदेश मन्त्रिपरिषद बैठकले नेवाः (नेवारी) र तामाङ भाषालाई व्यवहारिकरुपमा सरकारी कामकाजको प्रयोगमा ल्याइएको अवसरमा आज प्रदेशमा सार्वजनिक बिदा दिने घोषणा गरिएको हो। वैशाख १२ गतेको निर्णयअनुसार आज बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। काठमाडौँको वसन्तपुरमा आज एक समारोहको  आयोजना गरी प्रदेशभित्र सरकारी कामकाजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई  शुभारम्भ गर्ने प्रदेशका संस्कृति पर्यटन र सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै भाषा सरकारी कार्यालयमा प्रयोगमा ल्याइने लिपिको कार्यान्वयन घोषणा कार्यक्रमको बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ।  

चोरेको एक तोला सुन निलेपछि...

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका - १ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार, गएको चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए। परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यसक्रममा योङ्याको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरिएको थियो। तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स - रे गरिएको थियो। एक्स - रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। “निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,” सूचना अधिकारी कुशवाहाले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो। चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जिल्ला अदालतले वैशाख २३ गते (हिजो) प्रतिवादी योङ्यालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी रकम जम्मा गर्न नसपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहाले बताए। रासस

अर्थतन्त्रको जग बलियो बनाउने गरी नीति तथा कार्यक्रम ल्याउँछौं : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको बताएका छन्। नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँग आइतबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । अर्थतन्त्र सङ्कटोन्मुख  छैन, चलायमान पनि हुन नसकेको बताउदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताएका छन्। “अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन,” प्रधानमन्त्रीले भने, “अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको छ ।” मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्नका लागि सरकारले प्रयास गरिरहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको धारणा राखे।   नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल प्रचण्डको ध्यानाकर्षण गराएको छ। सो अवसरमा चेम्बरले वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायतका सुझाव दिएको हो।  “विगतमा लिएका सङ्कुचित नीतिहरूका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, सेयर बजारको सङ्कुचन, घरजग्गा कारोबारमा सुस्ततालगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।” अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ । आयकर ऐन २०५८ का अधिकांश  प्रावधानहरू स्पष्ट नहुँदा  अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूत प्रभावी दायित्व देखा परेको भन्दै अन्त्य गर्न चेम्बरले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ । यस्तै घरजग्गा खरिद बिक्रीका क्रममा विगतको सम्पत्तिको स्रोतलाई मान्यता नदिएर चालु नाफाको स्रोतलाई नै मान्यता दिने मालपोत कार्यलयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ । भेटमा चेम्बरले सहकारी क्षेत्रमा देखिएको बेथिति अन्त्यका लागि अविलम्ब पहल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ । सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरू पीडित भएका छन्, सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान हुनु पर्दछ, चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीलाई कुनै जरिबाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने माग चेम्बरले राखेको छ ।  यस्तै, करका कारण विवादित मुद्दाहरूको यथाशीघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरको छ । 

प्रधानमन्त्री कार्यालयको प्रतिबद्धतापछि रूसी सेनाका परिवारद्धारा अनसन स्थगन

काठमाडौं ।  रुसी सेनामा आवद्ध नेपालीहरू परिवाजन र अभियान्ताहरुले १७ दिन देखि जारी राखेको अनसन स्थगन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सक्रियता र पहलमा लामो समयदेखि जारी अनसन स्थगित भएको हो ।  विगत १७ दिन देखि ३ जनाको आमरणअनसन र अन्य रिले अनसनमा बसेका थिए । रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ भन्दै बसेको अभियान्ता तथा परिवारको अनसन/मागबारे सहमति जुटाउन  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका जनसंपर्क विज्ञ बुद्धि जिसी सक्रिय थिए। त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेले एक विज्ञप्ति जारी गर्दै रुसी सेनामा आवद्ध नेपालीहरूको उद्धार, लगायतका विषयमा अभियान्ता तथा आफन्तजनहरूले उठाएका मागहरूबारे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका थिए । साथै, आफन्त तथा अभियान्तका मागहरूप्रति सरकारले कुटनीतिक पहल गरिरहेको र उक्त पहललाई सार्थक निष्कर्षमा पुऱ्याउन थप पहल गर्ने प्रतिबद्धता जनाउँदै उक्त विज्ञप्तिमार्फत अनसन स्थगित गर्न आग्रह समेत गरिएको थियो ।  प्रधानमन्त्री कार्यालयले  उद्धार, लगायतका विषयमा भैरहेको पहललाई सार्थक निष्कर्षमा पुऱ्याउन थप पहल गर्ने प्रतिबद्धता गरेपछि अनसन हाललाई स्थगित भएको प्रधानमन्त्रीका जनसंपर्क विज्ञ जिसीले जानकारी दिए ।लामो समयदेखि अनसनरत अभियान्तालाई प्रधानमन्त्री कार्यालयका सचिव पाण्डेले जुस खुवाएर अनसन तोडाएका हुन् ।

लोकप्रिय