पार्टी विभाजन भएपछि उपेन्द्र यादव नेपाल फर्किंदै

पार्टी विभाजन भएपछि उपेन्द्र यादव नेपाल फर्किंदै

काठमाडौं । पार्टी विभाजनको सूचना पाएपछि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव विदेश भ्रमण छोट्याएर आज काठमाडौं फर्किने भएका छन् । 

उनी कतारको राजधानी दोहाबाट आज राति काठमाडौं प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

स्वास्थ्यमन्त्री समेत रहेका यादव गएको हप्ता अमेरिका भ्रमणमा गएका थिए । अमेरिकामा पाँच दिन र कतारमा दुई दिन उनको कार्यक्रम थियो ।

उनी अमेरिकाबाट कतार आएकै दिन जसपाका अशोक राई नेतृत्वको समूहले अलग पार्टी दर्ता गर्न आइतबार निर्वाचन आयोगमा निवेदन दिएको थियो । शुक्रबार अमेरिका उडेका यादव स्वदेश नफर्कदै राई, नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठले दल विभाजन गरेका थिए ।

सो सूचना पाएलगत्तै अध्यक्ष यादव कतारका कार्यक्रम रद्द गरी काठमाडौं फर्किन लागेको उनको सचिवालयले जानकारी दिएको छ । 

अध्यक्ष यादव आज राति ११ बजे पछि काठमाडौं आइपुग्ने बताइएको छ । 

पार्टी विभाजनपछि उपेन्द्र यादव पक्षका नेताहरु आन्तरिक र अनौपचारिक छलफलमा जुटेका छन् । जसपाका प्रवक्ता मनिष सुमनले पार्टी अध्यक्ष यादव काठमाडौं फर्किएपछि औपचारिक बैठक बसेर पार्टी विभाजनबारे छलफल गर्ने बताए ।

सहकारी प्रकरणको छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक सुरु भएको छ ।  कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक सुरु भएको हो । कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहेका छन् । बैठकमा कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीपनि सहभागी भएका छन् । कार्यदलले आज कार्यादेश बनाउनेछ । सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत भएका थिए ।कांग्रेसले गृहमन्त्री लामिछाने मुछिएको सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आएको थियो ।

बागमती प्रदेश प्रिबजेटमाथि आजबाट छलफल

हेटौँडा । बागमती प्रदेश सरकारको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आज आइतबारबाट छलफल सुरु हुने भएको छ । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले गत मङ्गलबार प्रदेश सभाको बैठकमा विनियोजन विधेयक २०८१ का सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्ताव बाहेक प्रस्तुत गरेका थिए ।   प्रदेश सरकारको सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि छलफल गर्न बिहान ११ बजेका लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ । मन्त्री थपलियाले यसअघि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा पेस गर्दै प्रदेश सरकारको सीमित साधन र स्रोतको अधिकतम उपयोग हुने गरी सन्तुलित बजेट निर्माणलाई प्राथमिकता दिने बताएका थिए। यसै अधिवेशनमा अवधिमा प्रिबजेटको छलफलपछि प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम र बजेट ल्याइने भएको छ ।

संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै छ । कार्यदल सदस्य तथा रास्वपा सांसद शिशिर खनालका अनुसार कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय सिंहदरबारमा बैठक बस्न लागेको हो । उनका अनुसार अब केहीबेरमा बैठक सुरू हुनेछ । बैठकले संसदीय समितिको टीओआर तयार पार्ने बताइएको छ । सत्तारुढ दल र प्रतिपक्षी दलबीच शनिबार दिउँसो भएको पटक पटकको छलफलपछि संसदीय छानबिन समिति बनाउने सहमति जुटेको थियो । तर समिति कस्तो बन्ने, जिम्मेवारी के के हुने जस्ता विषयमा सहमति भइसकेको छैन । कार्यदलमा कानुनमन्त्री पदम गिरी, एमाले प्रमुख सचेतक बर्तौला, कांग्रेस सहमहामन्त्री जीवन परियार र रास्वपा सांसद खनाल छन् । कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै संसदीय छानबिन समितिको माग गर्दै संसद् अवरुद्ध पार्दै आएको छ ।

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ। त्यस्तै, सभामुखले प्रतिनिभिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननी सदस्यहरूको मनोनयन गर्नेछन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजनीतिक दलसम्बन्धी विधेयक २०८० लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । सहकारीको बचत अपचलन प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रसले संसदीय छानबिन समिति बनाउनुपर्ने भन्दै संसद् अवरुद्ध गर्दै आएको थियो । शनिबार बसेको शीर्ष नेताहरूको बैठकले समिति बनाउने निर्णय गरेको छ ।उक्त सहमतिसँगै आजको बैठक नियमित रुपमा नै संञ्चालन हुने बताइएको छ ।

लोकप्रिय