संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्ने छ । 

बैठकमा नेपालको परराष्ट्र नीति, परराष्ट्र मन्त्रालय तथा मन्त्रालय अन्तर्गतका निकायबाट भएका कामकार्बाही, आर्थिक कुटनीति, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

संसद् बैठक अगाडि प्रतिपक्षी दलहरू छलफलमा

काठमाडौं । संसद् बैठक बस्नुअघि प्रतिपक्षी दलहरू छलफलमा जुटेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बसिरहेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जानकारी दिए।  बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङ, लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका प्रतिपक्षी दलका नेताहरू सहभागी छन्। सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । सोही क्रममा बिहीबार संसद् बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका हुन् । उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । 

सुनचाँदी हालसम्मकै उच्च मूल्यमा कारोबार

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भएको छ । यसअघि गत साताको बिहीबार जेठ ३ गते एक लाख ४० हजार रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख ४० हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ९१० रुपैयाँमा कारोबार भइरहेको छ । गत बिहीबार चाँदी प्रतितोला एक हजार ८०५ रुपैयाँ हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो ।

प्रहरी जवानको हत्या आशंकामा पाँचजना पक्राउ

काठमाडौं । प्रहरी जवान युवराज घिमिरेको हत्या आशंकामा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार शंकास्पद अवस्थामा भेटिएको थियो । ‘डिउटी’ सकेर घर फर्किंदै गर्दा मनमैजुमा घिमिरेको हत्या भएको थियो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

लुम्बिनी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका-१३ स्थित झोलुंगे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अर्घाखाँचीबाट बुटवलतर्फ बिरामी लिएर आउँदै गरेको लु १ ज ५३१ नम्बरको एम्बुलेन्सले बुटवल-१३ झोलुंगे पुल नजिकै ठक्कर दिँदा आज बिहान बुटवल(११ देवीनगरकी ५६ वर्षीया कमला नेपालीको मृत्यु भएको हो। एम्बुलेन्सको ठक्करबाट अन्य दुईजना महिला घाइते भएका छन् । एम्बुलेसको ठक्करबाट घाइते कमलालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। देवीनगरकै ५५ वर्षीया हरिकला नेपाली र ३५ वर्षीया झुपा ठटराई घाइते भएका छन्। उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।एम्बुलेन्स चालक अर्घाखाँचीको पाणिनी गाउँपालिका(७ का नारायणबहादुर  मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

लोकप्रिय