सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन : मन्त्री गिरी

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सोमबारको प्रतिनिधि सभा बैठक चलाउन सभामुखसँग अर्को विकल्प नभएको बताएका छन् । 

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री गिरीले सभामुखले प्रमुख प्रतिपक्ष लगायतका दलहरूको अवरोधबिना बैठक सञ्चालन गर्नका लागि अन्तिमसम्म प्रयास गरेको बताएका हुन् । उनले सभामुखको सो प्रयास सफल नभएपछि बैठक सञ्चालन गर्नुको विकल्प नभएको जिकिर गरे । 

मन्त्री गिरीले कार्यदलले संसदीय छानबिन समितिको कार्यादेशको सम्बन्धमा छलफल गरिरहेको अवस्थामा नेपाली कांग्रेसले संसद् बैठक रोक्नुपर्ने कारण नभएको बताए । उनले संसदभित्रको समस्याहरूलाई छलफलबाट समाधान गर्नुपर्ने भन्दै देश र जनताको हितको मुद्दा उठाउन नेपाली कांग्रेसलाई आग्रह गरे । उनले स्वार्थ पूरा गर्नेगरी र सत्ताको भर्‍याङ बनाउनेगरी मुद्दा नउठाउन पनि आग्रह गरे ।

मन्त्री गिरीले संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउनका लागि कार्यदलको बैठक भोलि (मंगलवार) बस्ने पनि बताए । 

सडकमा जाने प्रतिपक्षी दलको चेतावनी

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित पाँच वटा विपक्षी दलले आपत्ति जनाएका छन् । प्रतिनिधिसभा भएको नाराबाजीका बिच सभामुखले नियमावलीको धज्जी उडाउने गरी बैठक सञ्चालन गरेको आरोप विपक्षी दलहरुले लगाएका हुन् । बैठकले सहकारी ठगीको बारेमा छानबिन समिति नबनेसम्म संसद् अवरोध जारी राख्ने र संसद् बन्द गरे सडकमा जाने निर्णय गरेको छ।प्रतिपक्षी दलको अवरोधका बिच प्रधानमन्त्री प्रचण्डले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत पाएका थिए ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनः विश्वासको मत प्राप्त गरेका छन् । आज नेपाली कांग्रेसको अवरोधकाबीच भएको मत विभाजनमा प्रधानमन्त्री प्रचण्डले यसअघिको भन्दा बढि सदनको विश्वास प्राप्त गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको सरकारलाई विश्वास छ भन्ने पक्षमा मत र विपक्षमा१५७ मत खसेको हो ।१५८ जना सांसद मतदानमा सहभागी भएकोमा प्रधानमन्त्रीको विपक्षमा भने कसैले मतदान गरेनन् ।एक जना सांसद तटस्थ रहे ।प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा २ बमोजिम चौथो पटक विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दल जनता समाजवादी पार्टी(जसपा)  नेपाल  विभाजन भएसँगै सो पार्टीले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनु  परेको हो । 

कांग्रेसले विश्वासको मत लिन अवरोध गरेर नराम्रो उदाहरण प्रस्तुत गर्यो : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वेलमा नाराबाजी गरिरहेका कांग्रेस नेताहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । “आज बहुत गलत गर्नुभयो,” उनले भने, “यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।”

प्रधानमन्त्री प्रचण्डप्रतिको विश्वास थप बढेको छ : उपाध्यक्ष विष्णु पौडेल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार प्रतिको विश्वास थप बढेर गएको बताएका छन् ।सोमबार प्रधानमन्त्रीको विश्वासको मतबारे छलफलमा भाग लिँदै सत्तारुढ दलका सांसद पौडेलले सो कुरा बताएका हुन् ।  सांसद पौडेलले सत्ता नपाएको बेचैनीलाई त्यागेर आफ्नो भूमिकामा पुनर्विचार गरी प्रधानमन्त्रीको पक्षमा मतदान गर्न कांग्रेसलाई आग्रह गरे ।  सरकार परिवर्तन गर्ने प्रयास माकुराको जालो जसरी च्यातिएको बताए। उनले माकुराको जालो च्यातिएपछि कांग्रेसले संसद्‌मा अहिले क्रिया प्रतिक्रिया देखाइरहेको आरोप लगाए ।  उनले विश्वासको मत लिने प्रक्रियालाई समेत अवरुद्ध गरेर कांग्रेसले कस्तो लोकतान्त्रिक व्यवस्था चाहेको भन्दै उनले आक्रोश पोखे ।  उनले  बोल्दै गर्दा कांग्रेसका सांसदहरूले बेल घेरा गर्दै निरन्तर होहल्ला र नाराबाजी गरेका थिए ।

कानुनभन्दा माथि कोही छैन भन्ने भाष्य स्थापित भएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताएका छन् ।विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताए।  “अहिले सुशासनका क्षेत्रमा आशा जागेको छ । पछिल्ला दिनमा लोकतन्त्र कता कता नेतातन्त्रजस्तो देखिँदै गएको थियो,” प्रधानन्त्री प्रचण्डले भने, “ राजनीतिक नेतृत्व कानुनभन्दा माथि भएको डरलाग्दो वैचारिकी बनिरहेको थियो । त्यसले समग्र व्यवस्थामाथि नै अविश्वास र घृणा बढाइरहेको थियो । तर भुटानी शरणार्थी, ललिता निवास, बाँसवारी, बाल मन्दिर, सुनकाण्ड लगायतका प्रकरणमा सरकारको निर्भिक र निष्पक्ष कारवाहीले जनतामा लोकतन्त्र र त्यसको शक्तिप्रति ठूलो भरोसा जागेको छ ।” सरकारले सबैजसो मोर्चामा सार्थक उपलब्धि र गौरव हासिल गर्दागर्दै पनि जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि देशमा देखिएको चुनौतीलाई सम्बोधन गर्न सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री प्रचण्डले भने, “सुरूदेखिको निरन्तर सहयात्राका लागि जसपा नेपालप्रति आभारी छु । सरकारलाई समर्थन वा विरोधको उसको राजनीतिक अधिकारको पनि म सम्मान गर्छु । तर राष्ट्रका चुनौतीहरूको सामना गर्न फेरि पनि मिलेर अगाडि बढ्न आग्रह गर्छु ।” नीति तथा कार्यक्रम पेश गरिसक्नुभएको र बजेटको छलफल चलिरहेको अवस्थामा आफूले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताउनुभयो ।  “सार्वभौम संसदको लामो समय लिन चाहन्नँ । यत्ति भन्छु, प्रधानमन्त्रीका रूपमा मैले संसदको पहिलो सम्बोधनमै प्रतिवद्धता जनाएको थिएँ”, प्रधानमन्त्री प्रचण्डले भने, “म आज सरकारका उपलब्धिहरूको रिपोर्ट कार्डकै आधारमा यो सम्मानित संसदको विश्वासको मत माग्दछु ।” सोह्रौं आयोजनाका लक्ष्यहरू हासिल गर्न संसद र सरकारले धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारका दीर्घकालिन प्रतिबद्धताहरू सम्मानित संसदको साथ र सहयोग बिना पूरा हुन नसक्ने बताए।  “आगामी दशक तीव्र विकासको दशक भनेका छौँ । त्यसका लागि बृहत छलफल र साझा राष्ट्रिय दृष्टिकोण चाहिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “भारत र बङ्गलादेशससँग विद्युत् व्यापार सम्झौता भइसकेको र चीनसँग पनि निर्यातको सम्भावना बढिरहेका बेला गेमचेञ्जर ठूला विद्युत् आयोजनामा धेरै काम गर्न बाँकी छ ।” उनले समष्टिगत आर्थिक परिसूचकहरू त सकारात्मक भए, तर अर्थतन्त्रलाई पूर्ण गतिशील बनाउन सरकार र संसदले एकीकृत प्रयास आवश्यक रहेको बताए। “म आज यो सार्वभौम संसदसँग केवल विश्वासको मत माग्दिनँ, देशमा देखिएको निराशा चिर्न सार्थक साथ र सहयोग माग्छु,” प्रधानमन्त्री प्रचण्डले भने, “लोकतन्त्रले जगाएको सामाजिक र राजनीतिक चेतनालाई लोकतन्त्रकै विरूद्ध प्रयोग गर्ने प्रयासविरूद्ध संसदको हस्तक्षेप माग्दछु ।” सङ्घीयताको वास्तविक कार्यान्वयन र शान्ति प्रक्रियाको तार्किक निष्कर्षका लागि पनि आफूले विश्वास पाउनुपर्ने बताउँदै प्रधानमन्त्रीले भने, “नागरिक राज्यसँग ठोकिने सबै विन्दुमा शासकीय सुधारका लागि म कृतसङ्कल्पित छु ।” उद्यमशीलताका माध्यमबाट आर्थिक उन्नति र रोजगारीका लागि नीतिगत गाँठाहरू फुकाउन संसदको हस्तक्षेप गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले निरपेक्ष गरिबीको रेखामुनि रहेको ठूलो सङ्ख्यालाई सम्मानपूर्ण जीवनसम्म लैजान एकीकृत प्रयास आवश्यक रहेको बताए।  व्यवहारिक र नीतिगत सुधारमा सरकारले लिएको अग्रसरताले लगानीकर्तामा एकदमै सकारात्मक प्रभाव परेको उल्लेख गर्दै प्रधानमन्त्रीले कतारका राजा, जापानका विदेशमन्त्री लगायतका उच्चस्तरीय भ्रमणबाट राष्ट्रको प्रतिष्ठा र अन्तर्राष्ट्रिय आयाम फराकिलो भएको बताए।  “जलवायु परिवर्तनमा अब नेपालले पर्वतीय देशहरूका तर्फबाट विश्वव्यापी नेतृत्व गर्ने अवस्था बनेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “पर्यटक आगमनमा कीर्तिमान कायम भएको छ । रासायनिक मलदेखि पाठ्यपुस्तकसम्मको अभावका समाचार अब इतिहास भएका छन् ।”

विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड (प्रत्यक्ष प्रशारण)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांग्रेसको अवरोधका बिच विश्वासको मत लिँदै छन् । अहिले संसद्मा नेपाली कांग्रेसले नारा लगाइ रहेको छ भने सरकारले विश्वासको मत लिने प्रक्रियामा अगाडि बढेको छ ।

कांग्रेसको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो। सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए।   

कांग्रेस सांसद्‌हरूद्धारा वेल घेराउ

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको वेल घेराउ गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेसका सांसदहरूले नाराबाजी गरिरहेका छन् । उनीहरूले सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेका छन् । सभामुख देवराज घिमिरेले बसेर संसद्को कारबाही अघि बढाउन सहयोग गर्न आग्रह गरिरहेका छन् ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौँ । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा छलफल गर्न सोमबार बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।  प्रधानमन्त्री पुष्पकमल प्रचण्डले प्रतिनिधि सभाबाट आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । उक्त विश्वासको मतसम्बन्धी पेस भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन पर्ने व्यवस्था छ । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभा नियमावली २०७९ को नियम १५५ बमोजिम आजको बैठकमा त्यससम्बन्धी प्रस्ताव पेस गर्ने  सङ्घीय संसद्को आजको सम्भावित दैनिक कार्यसूचीमा उल्लेख छ  । सभामुखबाट उक्त प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गर्नेछन् । विश्वासको मतसम्बन्धी प्रस्तावमाथि सभाको निर्णय सदस्यको दस्तखतसहितको मत विभाजनद्वारा हुनेछ । सङ्घीय संसद्को चौथो अर्थात् बर्खे अधिवेशन गत वैशाख २८ बाट सुरु भएको हो । संसद्को संयुक्त बैठकमा यही जेठ १ गते आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ भने प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ ।

गृहमन्त्रीको सम्बोधन र संसदबारे छलफल गर्न काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक अहिले बिहान ९ बजे बस्दैछ । सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको काँग्रेसले अब संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन सोमबार बिहान ९ बजे संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाएको हो ।  बैठकअघि सभापति एवम् दलका नेता शेरबहादुर देउवाले संसदीय दल कार्यसमितिमा छलफल गर्ने बताइएको छ । काँग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएकोमा आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए ।  कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधन, अब सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्नेछ। गृहमन्त्रीको सम्बोधन लगत्तै आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले भने संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताइसकेका छन् ।  संसदीय छानबिन समिति बनाउन विषयमा सत्तापक्ष र प्रतिपक्षबीच शनिवारै सैद्धान्तिक सहमति भइसकेको छ । तर आइतबारको समितिको कार्यक्षेत्रका विषयमा भने सहमति हुन सकेन । काँग्रेसले गृहमन्त्री लामिछानेलाई नै तोकेर समग्र सहकारीको छानबिन गर्नुपर्ने अडान लिएको छ भने सत्ता पक्षले व्यक्ति वा निश्चित संस्था नतोकीकन मुद्दा केन्द्रीति भएर सहकारीको छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

संविधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार विश्वासको मत लिंदै

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकका लागि संसद् सचिवालयले आठवटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । कार्यसूचीको पाँच नम्बरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने उल्लेख छ ।  संविधानको धारा १०० को उपधारा २ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गर्ने । र उक्त प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूचीमा उल्लेख छ । 

रविले बोलेसँगै प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभा वैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बोलेलगत्तै कांग्रेस सांसदहरुले फेरि सांसद अवरोध गरेका छन्। रविले बोलेर सक्नासाथ आ-आफ्नो आसनमा बसेका कांग्रस संसदहरु फेरि आसनबाट उठेका थिए तर सभामुखले संसद् बैठक स्थगित गरिदिएका हुन् । सभामुख देवराज घिमिरेले आजका सबै कार्यसूचीहरु खारेज गरिएको बताए । उनले आजको बैठक यत्तिकै स्थगित गरेका छन् । अर्को बैठक जेठ ७ गते बस्ने तय भएको छ ।

रवि लामिछानेको खुलासा -'कांग्रेसले डेढ वर्षका लागि प्रधानमन्त्रीमा अफर गरेको थियो'

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले आफूलाई डेढ वर्षका लागि प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले गृहमन्त्री बन्नुभन्दा अघिल्लो रात आफूलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको र आफूले नमानेपछि भोलीपल्टदेखि संसद् बन्द गरेको बताएका छन् । उनले सो प्रस्ताव नगरेको भन्न सभापति शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।

संसद्‌मा जवाफ दिँदै गृहमन्त्री रवि लामिछाने (लाइभ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अहिले प्रतिनिधिसभा बैठकमा जवाफ दिइरहेका छन् । सहकारीको बचत अपचलनमा लामिछाने संलग्न रहेको भन्दै विपक्षी दलहरूले निरन्तर आरोप लगाएपछि उनले त्यसबारे स्पष्ट पारिरहेका हुन् । उक्त प्रकरण छानबिनका निम्ति विपक्षी दलहरूले संसदीय समिति गठनको माग गरिरहेका छन् । दलहरूबीच छानबिन समिति बनाउने सहमति पनि भइसकेको छ । तर, त्यसको कार्यादेशका बारेमा दलहरू टुंगोमा पुग्न सकेका छैनन् । प्रमुख प्रतिपक्षी नेपाल कांग्रेससहितका दलहरूले उक्त विषय उठान गरी संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएका छन् । लाइभ भिडियो हेर्नोस्–