देउवा निवासमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच छलफल

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

प्रधानमन्त्री प्रचण्ड शेरबहादुर देउवालाई भेट्न देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन हिजो बस्ने भनेको शीर्ष नेताहरुको बैठक देउवा बिरामी भएका कारण बस्न सकेको थिएन भने आज बैठक बस्ने बताइएको थियो ।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । यसअघि नै सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड देउवा निवास पुगेका हुन् । 

उनीहरुबीच संसद् संचालनका विषयमा कुराकानी भएको बताइएको छ । आजको संसद्मा नीति तथा कार्यक्रममाथि छलफल छ भने केही दिनमा बजेट ल्याउने तयारीमा सरकार छ । यस परिस्थितिमा संसद्को काम कारबाहि अगाडि बढाउन दलिय सहमति बनोस् भन्ने प्रधानमन्त्री प्रचण्डको प्रयास रहेको छ ।

संसद् बन्धक हुन दिँदैनौँ  : उपाध्यक्ष पौडेल

भरतपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले संसद्को अवरोध चाँडै हट्ने बताएका छन्। एमाले चितवनको ११औँ अधिवेशनको शनिबार भरतपुरमा उद्घाटन गर्दै उनले नेपाली कांग्रेसले संसद्को बहुमतलाई बन्धक बनाएकाले त्यसलाई पन्छाएर अगाडि बढ्ने उल्लेख गरे। “कांग्रेसको अवरोधलाई हटाएर भए पनि संसद् बन्धक हुन दिँदैनौँ,” उपाध्यक्ष पौडेलले भने। वि.सं.२०८४ को चुनावसम्म यही गठबन्धन रहने उनले बताए। “कांग्रेससँग प्रतिपक्षमा बसेर निर्वाचन लडेको अनुभव धेरै छैन,” उनले भने, “आगामी निर्वाचनमा हामी बहुमत ल्याउँछौँ।” वर्तमान समीकरण तोड्न अनेक प्रयास भइरहेको उनले बताए । एमालेका अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले संसद् अवरोधले बजेट ल्याउन समस्या हुने बताए । देश आर्थिक संकटमा रहेका बेला मिलेर बजेट ल्याउनुपर्ने उनको भनाइ थियो । “नाराबाजीका बीचबाट बजेट ल्याउनुपर्ने हुनसक्छ । अध्यादेशमार्फत भएर पनि बजेट ल्याउनुपर्ने हुनसक्छ । नत्र संवैधानिक संकट आउँछ,” उनले भने । रासस

शीर्ष नेताको बैठक बस्दै, कार्यादेश टुंग्याउने तयारी

काठमाडौं । सहकारीको बचत अपचलन प्रकरण छानबिनका निम्ति गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूको बैठक बस्दै छ । बैठक आज बिहान बस्न लागिएको हो । शनिबार उक्त विषयमा टुंगोमा नपुगेकाले बैठक आज बस्ने तय गरिएको हो ।  

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि छलफलको कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजे बैठक बस्न लागिएको हो। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ। त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रणसम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूचीमा छ । त्यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रपतिबाट गत जेठ १ गते संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । नीति तथा कार्यक्रममाथि सदस्यहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने कार्यसूची रहेको छ । प्रधानमन्त्री प्रचण्डले उक्त छलफलको त्रममा उठेका प्रश्नहरूको जवाफ दिनेछन् । त्यसपछि सभामुखले प्राप्त संशोधन र नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । यस्तो छ सम्भावित कार्यसूची

संसदीय समितिको कार्यादेश टुंग्याउन शीर्ष नेताको बैठक भोलि बिहान बस्ने

काठमाडौं । संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन बस्ने भनिएको शीर्ष नेताको बैठक शनिबार(आज) बस्न सकेन  शनिबार नै बसेको कार्यदलको बैठकले गोर्खा मिडिया प्रालि र उसले रकम लगेको सहकारीका विषयमा छानबिन गर्ने गरी कार्यादेश (टीओआर) बनाउने समझदारी गरे पनि यसलाई अन्तिम रुप शीर्ष नेताले दिने भनिएको थियो। तर कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्यमा समस्या देखिएको भन्दै नआएपछि प्रधानमन्त्री निवास बालुवाटारमा राखिएको शीर्ष नेताको बैठक बस्न नसकेको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा कार्यदल सदस्य शिशिर खनालले बताए । उनका अनुसार अब अर्को बैठक आइतबार विहान ९ बजे बस्नेछ । शनिबार बसेको कार्यदलको बैठकले कार्यादेशको विषयमा लगभग सहमति जुटाएको र अन्तिम रुप शीर्ष नेताको बैठकले दिने कार्यदलको संयोजन गरेका कानुनमन्त्री पदम गिरीले बताएका थिए ।

प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा जाऔँ : सीके राउत

कास्की । जनमत पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सांसद डा.सीके राउतले राजनीतिक स्थायित्वका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गरिनुपर्ने बताएका छन्। मधेस–कास्की सम्पर्क समाज पोखराको प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले समाजवादउन्मुख भनेर संविधानमा व्यवस्था गरिए पनि राजनीतिक प्रणालीका कारण स्थायित्व कायम हुन नसकेको बताए। “वर्तमान संवैधानिक व्यवस्थाबाट मुलुकले राजनीतिक स्थिरता पाउने देखिँदैन। स्थायी सरकारका लागि प्रधानमन्त्री, सातै प्रदेशका मुख्यमन्त्री र न्यायालयसम्म प्रत्यक्ष निर्वाचित नेतृत्वको व्यवस्था हुनुपर्छ, तब स्थायित्व र परिवर्तनको अनुभूति गराउने गरी विकास गर्न सकिएला,” उनले भने। अध्यक्ष डा.राउतले राजनीतिक अस्थिरताकै कारण नेपालमा विदेशी लगानी भित्रन नसकेको र वैदेशिक लगानीबिना ठूला आयोजना विकास गर्न नेपालको स्रोतले भ्याउने अवस्था नभएको बताए। उनले समाजवादी प्रणालीबाट मात्र देशलाई निकास दिन नसकिने निष्कर्षसहित आफ्नो पार्टीले नौलो गणतन्त्रका रूपमा सामाजिक लोकतन्त्रको विषय उठाएको उल्लेख गरे । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तेजकुमारी पौडेलले माओवादी आन्दोलनबाट स्थापित व्यवस्थाले जातीय तथा लैंगिक विभेद न्यूनीकरण भएको जिकिर गरिन् । उनले अब हरेक नेपालीलाई समान अधिकार दिने गरी पार्टी अगाडि बढेको बताइन् । नेपाली कांग्रेस कास्कीका नेता बाबुराम गिरीले देशमा देखिएको आर्थिक संकटलाई समाधान र नेपालको युवा जनशक्तिलाई नेपालमा नै परिचालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए। रासस

सत्तापक्ष र प्रतिपक्ष राखेर कार्यादेश टुंग्याउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक सहमति नजिक पुगेको छ । कार्यदलमा जुटेको सहमतिलाई अन्तिम रुप दिन प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षी दुबैसँग बालुवाटारमा छलफल गरिरहेका छन्। कार्यादेश निर्धारण गर्न गठित कार्यदल बैठक कानून मन्त्रालयमा बसेको थियो तर विषयको टुग्गो लगाउन प्रधानमन्त्रीले कांग्रेस र सत्ता पक्षका शीर्ष नेतासँग बालुवाटारमा छलफल गरिरहेको कानून मन्त्री पदम गिरीले बताए । कार्यदलको बैठकमा सहकारी र कम्पनीको नाम उल्लेख गर्ने, तर गृहमन्त्री रवि लामिछाने व्यक्तिमा नजानेगरी छलफललाई निष्कर्षमा पुर्याउन लागिएको हो। यसका सहमति नजुटेपछि शीर्ष नेताहरूबिच छलफल गरेर सहमति जुटाउन प्रधानमन्त्रीले पहल गरेको प्रधानमन्त्रीको सचिवालयको भनाइ छ । प्रधानमन्त्रीसँगको बैठकमा कार्यदलका कानूनमन्त्री गिरी, कांग्रेस सहमहामन्त्री जीवन परियार, संसद् ज्ञानेन्द्रबहादुर कार्की, एमाले प्रमुख सचेतक महेश बर्तौला र रास्वपाबाट शिशिर खनाल पिन सहिभाग छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता कृष्ण सिटौला सहभागी छन् । यस्तै सत्ता पक्षबाट एमालेबाट उपप्रधान तथा भौतिक पूर्वधानमन्त्री रघुवीर महासेठ,सांसद विष्णु पौडेल सहभागी छन् ।  यस्तै, माओवादीबाट अर्थमन्त्री वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे  सहभागी छन् । बैठकमा एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी छैनन् । देउवालाई सन्चो नभएको बताइएको छ भने ओलीले पौडेल र महासेठलगायतलाई पठाएका छन् ।

कम्पनीको नाम तोकेर संसदीय समिति बनाउन ‘सहमति’ !

काठमाडौं । सहकारीको रकम अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलमा कम्पनीको नाम उल्लेख गरेर समिति बनाउने गरी सहमति बनेको बताइएको छ। शनिबार सिंहदरबारमा बसेको कार्यादलको बैठकमा यस्तो सहमति जुटेको बताइएको हो । यद्यपी, शीर्ष नेताहरूबीचको बैठकपछि मात्र अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बनाइने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनका अनुसार, शीर्ष नेताहरूको बैठक आजै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। शीर्ष नेताहरूको बैठकपछि मात्र संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने उनले जानकारी दिए ।

सहमतिका लागि जुटे कार्यदल सदस्य

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने भनिएको संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसेको हो। कार्यदलको बैठक यसअघि पनि पटक–पटक बसेको थियो । तर, सदस्यहरूले आफ्नो दलीय अडान कायमै राख्न सहमति हुन सकेको छैन। 

सहकारी छानबिनसम्बन्धी समितिको कार्यादेशमा सहमति जुट्छ : पदम गिरी

पर्वत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीको रकम हिनामिनासम्बन्धी छानबिन गर्ने संसदीय समितिको कार्यादेश र क्षेत्राधिकारमा आइतबारसम्ममा सहमति जुट्ने बताएका छन्।   गृहजिल्ला पर्वत आएका मन्त्री गिरीले नेपाल पत्रकार महासंघ पर्वत शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यादेशसहित समिति बन्नुपर्ने प्रमुख प्रतिपक्षी दलको अडानका कारण समिति गठनमा विलम्ब भएको बताए। उनले सत्तापक्ष र प्रतिपक्ष लचिलो भएर टुंगोमा पुग्नुपर्नेमा जोड दिए ।  उनले आइतबारको संसद् बैठक अघि नै सहमति हुने र संसद्का कामकारबाही सञ्चालन हुने बताए। बचतकर्ताको हिनामिना भएको रकम फिर्ता गर्ने प्रावधानसहित सहमति गर्नुपर्नेमा सत्तापक्ष सकारात्मक रहेको उनले बताए।   उपप्रधान तथा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रतिपक्षी दल आफ्नो अडानबाट पछि हटिसकेको भन्दै मन्त्री गिरीले अपचलन गर्ने कम्पनी वा सहकारीको नाम भने लेख्न सकिने बताए । उपप्रधान तथा गृहमन्त्री दोषी हो वा होइन भन्ने कुरा छानबिनपछि मात्र पुष्टि हुने भएकाले कुनै व्यक्तिको नाम तोकेर जाँदा गलत नजिर स्थापित हुने उनको भनाइ छ।   मन्त्री गिरीका अनुसार आइतबार संसद्बाट नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याएर पारित गरिने र १५ गते बजेट ल्याउने तयारीमा सरकार जुटेको बताए।  उनले सरकार संसद्लाई छलेर अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेको स्पष्ट पारे।  “जेठ १५ गते जसरी पनि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक बाध्यता छ, यसमा प्रतिपक्षी दलले पनि सहयोग गर्नुपर्छ”, उनले भने। रासस

सहकारी प्रकरण  कार्यदल बैठक बस्दै, सहमतिको सम्भावना के छ ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तय गर्न गठित कार्यदलको बैठक आज पनि बस्दैछ।बैठक दिउँसो ३ बजे कानून, न्याय र संसदीय मामिला मन्त्रालयमा बस्ने कार्यदल सदस्य तथा एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । समिति गठनको क्षेत्राधिकारका बारेमा कार्यदलमा पटक पटक छलफल भए पनि सत्ता पक्ष र प्रतिपक्षबीच उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने लगायतको नाम उल्लेख गर्ने वा नगर्ने विषयमा सहमति हुन सकेको छैन। यसअघि हिजो अपराह्न बालुवाटारमा भएको शीर्ष नेताहरु सम्मिलित बैठकले आजको कार्यदल बैठकमा सत्तापक्ष र प्रतिपक्षबाट आ–आफ्ना प्रस्ताव पेस गर्ने सहमति भएको छ ।शीर्ष नेताहरु सम्मिलित बैठकमा कार्यदलको तर्फबाट अहिलेसम्म भएका छलफल र प्रगतिका बारेमा एमाले मुख्य सचेतक महेश बर्तौलाले ब्रिफिङ गरेका थिए । प्रमुख प्रतिपक्ष दल सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेकाले उनको नामै किटेर उनी संलग्न सहकारी तथा संस्थामा छानबिन हुनेपर्ने माग राख्दै आएको छ भने सत्ता पक्ष व्यक्ति केन्द्रित समिति बन्न नसक्ने अडानमा छ।यद्यपी कानुन मन्त्री पदम गरीले कांग्रेस लचिलो भएको र छिट्टै सहमतिमा पुगिने विश्वास व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उक्त प्रकरणमा संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसदका दुवै सदन चल्न नदिने अडान राख्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

बालुवाटारको छलफल सकारात्मक

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठकमा छलफल सकारात्मक भएपनि भने भएन।  शुक्रबार टीओआरमा सहमति खोज्न बसेको बैठकमा सकारात्मक छलफल भएको नेताहरुले बताएका हुन्।यद्यपि बैठक सकारात्मक भएको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए।   उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिए भने सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।  

प्रधानमन्त्रीसँग एम्नेस्टी इन्टरनेसनलका महासचिवको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग एम्नेस्टी इन्टरनेसनलकी महासचिव अग्नेष्ट कालामार्डले आज शिष्टाचार भेट गरेका छन्।  प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच सङ्क्रमणकालिन न्याय एवं मानवअधिकारसम्बन्धी विविध विषयमा छलफल भएको हो। भेटमा प्रधानमन्त्री प्रचण्डले मानवअधिकारको संरक्षण र प्रवर्द्धनमा नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै मानवअधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रि जिम्मेवारी पूरा गर्न नेपाल सधैँ प्रयत्नशील रहेको स्पष्ट पारे। उनले संसद्मा विचाराधिन रहेको सङ्क्रमणकालिन न्यायसम्बन्धी मस्यौंदा विधेयक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला पक्षलाई विश्वासमा लिएर अगाडि बढाइने बताए।  सो अवसरमा महासचिव कालामार्डले नेपालको शान्ति प्रक्रियालाई निष्कर्षमा पर्‍याउन प्रधानमन्त्री प्रचण्डले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै सङ्क्रमणकालिन न्यायसम्बन्धी कानुन छिट्टै निर्माण हुने र शान्ति प्रक्रिया टुङ्गिने विश्वास व्यक्त गरे ।

बालुवाटारमा शीर्ष दलको बैठक जारी

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूको बैठक जारी छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, रमेश लेखक सहभागी छन् ।   सहकारीको बचत रकम अपचलनबारे गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश तयार पार्न गठित कार्यदलमा आएका प्रस्तावबारे छलफल गर्न लागिएको बताइएको छ।  प्रतिपक्ष नेपाली कांग्रेस समितिको कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गर्नुपर्ने अडानमा छ। सत्तापक्ष रविको नाम किटान गर्न नहुने अडानमा छ। दुवै पक्षको आ–आफ्नो अडानका कारण सदनको गतिरोध अन्त्य हुन सकेको छैन्। जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताका विषयमा पनि बैठकमा छलफल हुन लागेको बुझिएको छ।  

कांग्रेस सभापति देउवा र एम्नेष्टी इन्टरनेस्नलकी महासचिव कालामारबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल भ्रमणमा रहेकी एम्नेष्टि इन्टरनेस्नलकी महासचिव डा। आग्नेस कालामारले भेट गरेकी छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासँगको भेटमा संक्रमणकालीन न्याय, प्रेस स्वतन्त्रता र सीमान्तकृत समुदायको अधिकारको विषयमा उनले चासो राखेकी थिइन्।

राष्ट्रपति पौडेल जुन दोस्रो साता जेनेभा र जर्मनी भ्रमणमा निस्कने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को वार्षिक उत्सवलाई सम्बोधन गर्ने भएका छन् । राष्ट्रपति पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमणका क्रममा जुन दोस्रो साता जेनेभामा हुनेछन् । जेनेभामा आयोजना हुने आइएलओको वार्षिक उत्सवमा उनले जुन १३ मा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । आईएलओको वार्षिक उत्सवमा सहभागितापछि पौडेल जर्मनी हुँदै जुन १८ मा स्वदेश फर्किने कार्यक्रम रहेको छ । सरकारले भ्रमण कार्यक्रम औपचारिक रूपमा स्वीकृत भने गरिसकेको छैन ।