टिओआरमा सहमति खोज्न दुवै पक्ष आन्तरिक छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर) बारे बालुवाटारमा बिहान बसेको बैठक निष्कर्षविहीन भएपछि अबको रणनीति तय गर्न सत्तापक्ष र विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन्।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारूढ दलबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एंव रास्वपा सभापति रबि लामिछाने बालुवाटारमै छलफलमा जुटेका छन् भने कांग्रेसका हालका पदाधिकारी र पूर्व पदाधिकारीहरू बूढानीलकण्ठमा जुटेका छन् ।

त्यसपछि साँझ ५ बजे तीन शीर्ष नेताहरूबीच वार्ता हुने भएको छ। प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच वार्ता हुने भएको हो। 

सोमबार बिहान सत्तारूढ दल र विपक्षी दलका नेताहरूसँग छुट्टाछुट्टै र संयुक्त रूपमा प्रधानमन्त्रीले गरेका छलफल दुवै पक्ष आफ्नो अडानबाट पछि नहट्दा निष्कर्षमा पुग्न सकेन। कांग्रेसले गृहमन्त्री लामिछानेको नाम टिओआरमै किटेर जानुपर्ने अडान छाडेन भने सत्तारूढ दलहरू त्यसमा तयार छैनन्। 

आफ्नो मागअनुसार टिओआर बनाएर छानबिन समिति गठन नभएसम्म सदन नखुलाउने कांग्रेसको अडान छ, जसकारण आगामी आर्थिक वर्षको बजेट कसरी आउने भन्नेमै अन्योल कायम छ। यद्यपि सरकारले सदनबाटै बजेट ल्याउने बताएको छ । सरकारलाई जेठ १५ अर्थात् भोलि बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता छ।

प्रधानमन्त्री प्रचण्डले आज सहमति जुट्ने विश्वास नीति तथा कार्यक्रम पारित गर्दाको संसद् बैठकमा व्यक्त गरेका थिए । सोही अनुसार सहमति कायम गर्न प्रधानमन्त्री प्रयासरत छन् ।

कार्यादेशबारे आन्तरिक छलफल गर्न कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समितिको कार्यादेशबारे आन्तरिक छलफल गर्न वर्तमान र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।  बैठकले पछिल्लो राजनीतक परिस्थितिबारे साझा धारणा बनाउने बताइएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज दिउँसो ३ बजेका लागि बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री जीवन परियारले बताए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सत्ता गठबन्धनका नेताहरूसँग बालुवाटारमा भएको छलफलपछि कांग्रेसले आन्तरिक गर्न लागेको हो। 

टीओआरबारे जुटेन सहमति, शीर्ष नेताहरू फेरि बस्ने

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बालुवाटारमा बसेको बैठक बिनानिष्कर्ष सकिएको छ । आजै दिउँसो ३ बजे शीर्ष नेताहरूको बैठक बस्ने र बिहानको छलफल कुनै टुंगोमा नपुगेको एक नेताले जानकारी दिए । सहमति जुटाउन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता र प्रतिपक्ष दलका नेतासँग एकल र सामूहिक छलफल समेत गरेका थिए । बैठकमा प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेताहरू रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, जीवन परियार सहभागी थिए ।

माओवादी मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा मातृका यादव

काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेसी राष्ट्रिय मुक्ति मोर्चाको इन्चार्जमा उपमहासचिव मातृका यादवलाई चयन गरेको छ।  माओवादी केन्द्रका महासचिव देव गुरुङले यादवलाई मोर्चाको फ्याक्सन इन्चार्जको जिम्मेवारी दिइएको भन्दै मातहतका कमिटीमा सर्कुलर पठाएका छन्।  यस्तै ज्येष्ठ कम्युनिस्ट मञ्चका केन्द्रीय सदस्य निमानन्द रिजाललाई लुम्बिनी प्रदेशबाट बागमती प्रदेशमा स्थानान्तरण गर्ने निर्णय भएको कार्यालयले जनाएको छ।  यस्तै प्रवास समन्वय समितिको सिफारिस अनुसार गोरखाको पालुङ्गटार नगरपालिका वडा नं– २, का प्रवास समन्वय समितिका सदस्य इन्द्रराज भट्टराईलाई गण्डकी प्रदेश समितिको सदस्यको रूपमा स्थानान्तरण गरिएको छ। यस्तै लुम्बिनी प्रदेश समितिका सदस्य विष्णु थापा (दाब) लाई कर्णाली प्रदेश समिति सदस्यको रूपमा कर्णाली प्रदेशमा स्थानान्तरण गरिएको छ।

सत्ता र प्रतिपक्षसँग छुट्टाछुट्टै संवादमा प्रधानमन्त्री

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाइने संसदीय समितिको कार्यादेश (टीओआर)तय गर्न बैठक जारी छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बैठक बसेको हो। यहीबीच प्रधानमन्त्री प्रचण्डले सहमतिको विन्दु खोज्न भन्दै सत्ता र प्रतिपक्ष दलका नेतासँग छुट्टाछुट्टै संवाद समेत गरिरहेका छन् ।

कार्यदलसहित शीर्ष नेताको बैठक जारी

काठमाडौँ । सहकारीको रकम अपचलन, हिनामिना र अनियमितताका सन्दर्भमा संसदीय छानबिन समिति गठनको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेतासहित कार्यदल सदस्यको संयुक्त बैठक जारी छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सुरु भएको हो ।  बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत कांग्रेसका शीर्ष नेता सहभागी छन् । त्यसका अलावा रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि बालुवाटार सहभागी छन्। शीर्षसहित कार्यदलका सदस्य बसेर छानबिन समितिको कार्यादेशमा रहेका विमतिलाई सहमतिमा लैजाने नेताहरूको विश्वास छ।  ‘सम्भवतः आज सहमति हुन्छ। सहमति गर्दा पीडितलाई न्याय दिने गरी र बचतको सुरक्षा गर्ने गरी नै भाषा शब्द प्रयोग हुन्छ’, एमाले प्रमुख सचेतक तथा कार्यदल सदस्य महेश बर्तौलाले भने, ‘हामी सहमति हुनेमा विश्वस्त छौँ तर कांग्रेसको कोर्टमा बल छ।’ यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो । तर कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम तोक्ने तथा नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेपछि र सत्ता पक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया लम्बिएको थियो ।

सहकारीको मुद्दा बोकेर सदनबाट सडकमा कांग्रेस

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानबिन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ सङ्गठनहरू नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको छ। उक्त कार्यक्रममामहामन्त्री विश्वप्रकाश शर्मा, गगन थापा, राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरू प्रदर्शन स्थलमा पुगेका छन् ।

बजेट अगाडि संसदीय समितिका लागि सहमति बन्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने विश्वास व्यक्त गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् । उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए। उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आइतबार साँझसम्ममा समझदारी हुनसक्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘मैले केही दिनदेखि लगातार राजनीतिक दलसँग, प्रतिपक्ष दलका नेताहरूसँग छलफल गरिराखेको छु। यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ। हामी सहमति र समझदारीको धेरै नजिक पुगेको महसुस गरेका छौँ। आज बिहान मात्रै पनि मैले नेपाली कांग्रेसका सभापति लगायतका नेताहरूसँग बुढानीलकण्ठमा नै पुगेर सहमतिको प्रयास गरेको छु। मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ। अहिले भर्खरै रास्वपाको तर्फबाट स्वर्णिम वाग्लेले छानबिन समिति बनाउन हामीलाई आपत्ति छैन भन्नुभएको छ। संसदीय छानबिन समिति बनाउने कुरामा सबैको सहमति भई नै सकेको छ। अब त्यसको टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गर्दा मलाई लाग्छ आज बेलुकासम्म वा भोलि बिहानसम्म समझदारी हुनसक्छ।’ उनले संसदीय समिति गठनमा सहमति भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतिको नजिकै पुगेको जानकारी दिए ।

काँग्रेस सत्ता समीकरण भत्काउने चलखेलमा छ : महासचिव पोखरेल

काठमाडौं। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले काँग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन्। आइतबार झापामा दोस्रो विर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।  उनले मुलुकमा अहिले अस्थिरता रहेको बताए। उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए। महासचिव पोखरेलले नेपाली काँग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए। उनले आफू सरकारमा पुग्नका लागि काँग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गरे। संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताए। महासचिव पाखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा (एमाले)ले जुटाउन नसकेको बताए।  उनले मिसन ०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रुमपा स्थापित गर्नुपर्ने बताए। अरुको सहारा बिना नेकपा(एमाले)को नेतृत्वमा स्थिर सरकार बनाउन आवश्यक रहेको बताए। 

संघीय संसद्‌मा मंगलबार दिउँसो १ बजे बजेट प्रस्तुत गरिने

काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)आगामी मंगलबार दिउँसो १ बजे संघीय संसद्‌मा प्रस्तुत गरिने भएको छ ।  आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुतका निम्ति मंगलबार दिउँसो १ बजे संघीय संसद्को  संयुक्त बैठक आह्वान गरिएको जानकारी दिए ।  प्रतिपक्षी दलका सांसदको विरोधबीच आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिएपछि उनले समय निर्धारण गरिएको जानकारी दिएका हुन् । अघिल्ला वर्षहरूमा अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै आएको थियो ।  

वार्षिक नीति तथा कार्यक्रम पारित

काठमाडौं । नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए । प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीकाबीच प्रतिनिधिसभा बैठकले नीति कार्यक्रम बहुमतले पारित गरेको हो ।  नीति कार्यक्रम पारित भएपछि सभामुख देवराज घिमिरेले दुवै सदनको संयुक्त बैठक यही जेठ १५ गते दिउँसो १ बजेका लागि आह्वान गरेको जानकारी दिए ।

नीति तथा कार्यक्रमले निराशा चिर्छ, कांग्रेसले ताली बजाउनुपर्छ : विष्णु पौडेल

काठमाडौं । प्रमुख सत्तारूढ नेकपा एमालेका सांसद विष्णु पौडेलले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई प्रतिपक्षी नेपाली कांग्रेसले ताली बजाएर स्वागत गर्नुपर्ने बताएका छन्। पूर्वअर्थमन्त्रीसमेत रहेका उनले सरकारको नीति तथा कार्यक्रमको विरोधमा कांग्रेसले वेल घेरेर नारा लगाउनुभन्दा ताली बजाएर समर्थन गर्नुपर्ने बताए। उनले भने, ‘यो नीति तथा कार्यक्रमले निराशा चिर्ने र नागरिकमा आशा जगाउने काम गरेको छ। नीति तथा कार्यक्रमले राष्ट्रिय स्वाधिनताको रक्षा र नागरिक मैत्री शासनमा जोड दिएको छ। करदातालाई व्यावसायिक लागत घटाउने, बैंक, लघुवित्त र सहकारीका समस्या सम्बोधन गर्ने छ।’ उनले नीति तथा कार्यक्रमले सहकारी क्षेत्रका समस्या समाधान गर्ने विशिष्ठीकृत नियमक निकाय गठन गरेर समस्या समाधान गर्ने दृष्टिकोण अगाडि सारेको बताए।

प्रतिनिधिसभा बैठक, नीति कार्यक्रम पारित गर्ने तयारी (प्रत्यक्ष प्रसारण)

काठमाडौं। प्रतिनिधिसभा बैठक एक घण्टा ढिलोगरी सुरुभएको छ। आजको बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरिए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो विरोध जारी राखेको छ। 

संसद्‌मा कांग्रेसको नाराबाजी

काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठकमा नाराबाजी गरेको छ । 

इच्छुकको सम्झनामा प्रेस सेन्टरको प्रभातफेरि

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी निकटका पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालले प्रभातफेरि आयोजना गरेको छ। वरिष्ठ पत्रकार तथा कवि कृष्ण सेन इच्छुकको सम्झनामा सेन्टरले आज काठमाडौंको बबरमहलमा प्रभातफेरी आयोजना गरेको हो।   सो कार्यक्रममा बोल्दै (माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले देशलाई वैज्ञानिक समाजवादमा लैजानु अहिलेको कार्यभार रहेको बताएका छन् । २२ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले इच्छुकले देखेका सपना अझै पूरा नभएको बताए ।  कृष्ण सेन राजनीति पत्रकारिता गर्ने नेता भएको कारण उनी राजनीतिमा स्पष्ट रहेको उनले बताए । कृष्ण सेनको बारेमा अध्ययन अनुसन्धान हुनुपर्ने भन्दै उनले यसमा सरकारले पनि सहयोग गर्नुपर्ने बताए ।  उनले इच्छुकका विचार स्थापित गर्न सकिए समाजवाद परिष्कृत भएर आउने बताए । सरकारको प्रवक्ता तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आफ्नो राजनीति गुरु पत्रकार सेन रहेको बताइन् ।  राजनीतिमा आइ परेका समस्याको समाधान गरी आफूहरूलाई उत्साहित गर्ने गरेको बताउँदै उनले विभिन्न मोर्चामा सेनसँग सहकार्य गरेको बताइन्।पत्रकार सेन निष्ठा र आस्थाको धरोहर रहेको बताउँदै उनले नेपाली सेनाबाट चरम यातना पाएको कुरा अहिले सम्झना आइरहेको बताइन्।गोपनीयता भङ्ग गरेको भन्दै सेनाले पत्रकार सेनलाई यातना दिएर हत्या गरेको मन्त्री शर्माले बताइन्।  कार्यक्रममा नेपाल प्रेस युनियन, प्रेस चौतारी, समाजवादी प्रेस संगठन लगायतका प्रतिनिधिहरुको पनि सहभागिता थियो। प्रभातफेरि प्रेस सेन्टरको केन्द्रीय कार्यालय बबरमहलबाट सुरु भएर माइतीघर घुम्दै बबरमहलमै आएर सभामा परिणत भएको थियो।   पत्रकार कृष्ण सेनलाई तत्कालिन राजा ज्ञानेन्द्रको शासन कालमा ललितपुरबाट पक्राउ गरेर महेन्द्र पुलिस क्लबमा यातना दिएर मारिएको थियो।

शान्तिप्रक्रियाका बाँकी काम चाँडो टुङ्ग्याउनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शान्तिप्रक्रियाका बाँकी कामलाई जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएकी छिन् । २२औँ कृष्णसेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले जतिसक्दो चाँडो सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत शान्तिप्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताइन् ।उनले शान्तिप्रक्रियासँग सम्बन्धित विषयलाई राजनीतिक मुद्दा बनाउन नहुने बताइन् । शान्तिप्रक्रियाका बाँकी कामलाई कुनै व्यक्ति, पार्टी वा पार्टीका नेताको मात्रभन्दा पनि समग्र मुलुकको शान्ति प्रक्रियाको रूपमा हेरिनुपर्ने बताउँदै उन यो समग्र राज्यसत्ताको चासोको विषय भएकाले जतिसक्दो चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिइन् ।