कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपा बस्ने छ।
समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन संयुक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ।फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको महासमिति बैठक पछि पहिलो पटक संयुक्त बैठक बस्न लागेको हो।

सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

महत्वपूर्ण मुद्दामा राजनीतिक सहमतिबाट निकास निकाल्नुपर्छ  : महासचिव गुरुङ

काठमाडौँ  । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले शान्ति प्रक्रियाजस्ता महत्वपूर्ण मुद्दामा राजनीतिक दलको सहमति जरुरी हुने बताएका छन्। काठमाडौँमा आज बेपत्ता योद्धा परिवार समाजले आयोजना गरेको ‘बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया’ विषयक अन्तरक्रियामा उहाँले दलहरुबीच एक मत नहुँदा शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको जिकिर गरे।  आफ्नो पार्टीले प्रयास गरिरहेको तर सम्भव नभएको उल्लेख गर्दै उनले शान्ति प्रक्रियामा सहभागी सबै दलको प्रयासले मात्रै निकास निकाल्न सकिने बताए। विश्वमा शान्ति नचाहनेहरुले चलखेल गरी नेपालमा शान्ति प्रक्रियालाई पूरा गर्न नदिइरहेको गुरुङले उल्लेख गरे। 

परराष्ट्र मन्त्री श्रेष्ठसँग बिमस्टेकका महासचिव पाण्डेको भेट

काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल भ्रमणमा आएका बिमस्टेकका महासचिव इन्द्र मणि पाण्डेले भेट गरेका छन् । मंगलबार मन्त्रालयमा भएको भेटमा बिमस्टेकलाई कसरी बलियो र सशक्त बनाएर अगाडि बढ्ने विषयमा उनीहरुबिच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री श्रेष्ठले नेपाल र बिमस्टेक सहयोगलाई अझै प्रगाढ कसरी बनाउने भन्ने विषयमा आफ्नो धारणा राखेका थिए । नेपालले प्रतिनिधि सभाबाट बिमस्टेक बडापत्र पारित गरेकोमा महासचिव पाण्डेले धन्यवाद पनि दिए । महासचिव पाण्डेले सोमबार परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालसँग पनि भेटवार्ता गरेका थिए । उनीहरुको भेटमा पनि क्षेत्रीय साझेदारीलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो ।   बिम्स्टेकको प्रबुुद्ध समूह बैठकको तयारी चरणमा पाण्डेको नेपाल भ्रमण भएको हो । आगामी जुन २३ देखि २५ सम्म थाइल्याण्डमा बिम्स्टेक प्रबुद्ध समूहको बैठक हुँदैछ । बिमस्टेकमा नेपाल, भारत, भुटान, बङ्लादेश, म्यानमार, थाइल्याण्ड र श्रीलङका जस्ता सात देशका सदस्य रहेका छन् । सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौँ शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरेका थिए । 

पक्राउ पुर्जी जारीपछि सिरोहिया भेट्न कांग्रेस नेताको लर्को

काठमाडौँ । पक्राउ पुर्जी जारी भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न लाइन लागेर पुगेका छन्।  सिरोहियालाई भेट्न पूर्वमन्त्री एनपी साउदसहित दीपक गिरी, रामनाथ अधिकारी, वीरबहादुर बलायर, राजेन्द्र बजगाइँ, चन्दा चौधरीलगायत कान्तिपुर कम्प्लेक्समा पुगेका हुन् । जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध मङ्गलबार पक्राउ पुर्जी जारी गरेको हो। सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो। अदालतले जारी गरेको पुर्जीका आधारमा सरकारले कारबाही अगाडि बढाए आफुहरुले साथ दिने भन्दै कांग्रेसका नेताहरु लर्को लगाएर उनलाई भेट्न पुगेका हुन् ।

इरानमा शोक मनाउन हजारौं मानिस सडकमा

तेहरान । इरानका राष्ट्रपति इब्राहिम रइसीको हेलिकोप्टर दुर्घटनामा भएको मृत्युको शोकमा हजारौं मानिस सडकमा निस्किएका छन्। उनको अन्त्येष्टि आउँदो बिहीबार जन्मस्थल मसहदमा हुने कार्यक्रम रहेको छ।  उनलाई अन्तिम विदाइका लागि विभिन्न स्थानमा कार्यक्रम गरिँदै छन्। पहिलो कार्यक्रम उत्तर पश्चिम सहर तबरिजमा गर्न लागिएको छ। यसपछि उनको शव कोम प्रान्तमा लैजाने कार्यक्रम छ। त्यसपछि रइसी र विदेशमन्त्रीको शव राजधानी तेहरानमा लगिनेछ। तेहरानमा बुधबार हुने कार्यक्रमका लागि सरकारी बिदा दिइएको छ। बीबीसी

कांग्रेस सम्हालिनुपर्छ : अध्यक्ष ओली

विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सम्हालिनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।  ‘कांग्रेसले आफूलाई समालेर लोकतान्त्रिक अभ्यास, मूल्य, मान्यतामा आउनु पर्छ,’ ओलीले भने । उनले कांग्रेस नमिलेको खण्डमा पनि सरकारले पेलेरै आगामी आर्थिक वर्षको बजेट ल्याउन सक्ने सङ्केत गरे । ‘अहिलेसम्म कसरी बजेट पारित भएको छ ? घेराउ भएको छैन ? हामीले १२ पटक घेराउ गर्दागर्दै नारा लाउँदा लाउँदै पास भएको देख्नु भएको छैन ?,’ सञ्चारकर्मीले अब बजेट कसरी ल्याउनु हुन्छ भनेर सोधेको प्रश्नमा उनले जवाफ दिँदै भने, ‘त्यसबेला त प्रतिपक्षले यसरी हल्ला गर्नु नै हुँदैन भन्नुहुन्थ्यो नि त ।’ आफूहरूले कांग्रेसलाई पेलेर जाने नभनेको तर गत जेठ ५ गते बेलुकाको सहमति ६ गते कांग्रेसले नै उल्ट्याएर अहिलेको परिस्थिति बनेको उनको भनाइ छ । ‘पेलेर जाने होइन । अघिल्ला दिन ५ गते बेलुका सहमति हुन्छ ६ गते तोड्छ । यो कसले तोडेको ? सत्ता पक्षले अर्घेल्याई गरेको हो र ? त्यस्तो इस्यु भए अदालत गए भयो । कांग्रेसले आफूले जे भन्यो त्यही हुनुपर्छ भन्छ । अनि कांग्रेसले आफ्नो तर्फ आफ्नो मतियार भएर आफ्ना निम्ति काम गरेन भने जसलाई पनि मुख छाड्छ, गाली गर्छ, बेइज्जत गर्छ । इज्जत कसैको राख्दैन,’ ओलीले भने, ‘संसदीय छानबिन समिति जेठ ५ गते बेलुका गरेको सहमति अनुसार हो भने बन्छ ।’ उनले अहिलेको देशमा धेरै समस्याहरू देखिएको अवस्थामा एकताबद्ध हुनुपर्नेमा कांग्रेसले सत्ताबाहेक केही कुरा नदेखेको आरोप लगाए । ‘अहिले देशमा धेरै जटिल समस्याहरू छन् । साम्प्रदायिकताको कुरा छ, प्रतिगामी शक्तिहरू हौसिएका छन् । बाह्य हस्तक्षेप बढ्दो छ । यस्ता कुरालाई ध्यानमा राखेर राष्ट्रलाई एक ठाउँमा उभ्याउने, आधारभूत कुरालाई एक ठाउँमा राखेर स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ । त्यो कुरा नेपाली कांग्रेसले बुझ्नै सकेन । उ नबुझी बुढो भयो,’ ओलीले भने, ‘एकछिन सरकारमा नहुँदा बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा एकछिन सत्तामा नहुँदा छटपटिनु र पानीबाट निकालेको बगरको माछा जस्तो भट्याक भट्याक गर्नु । माछाले त गाली, बेइज्जती गर्न जान्दैन । कांग्रेसले त यता भेटे यतै टोक्छ, उता भेट्यो उतै टोक्छ । जता फर्कियो जसलाई देख्यो त्यसैलाई टोक्छ । अचम्मको स्थिति बनाएको छ ।’ कांग्रेस र एमाले मिलेर अगाडि बढ्दा हुँदैन भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘संविधान बनाउन्जेल सहमति गरेर सुशील कोइराला प्रधानमन्त्री बन्नुभयो। त्यसपछि कांग्रेसले एमालेलाई दिने भनेको प्रधानमन्त्री दिएन। त्यसपछि कांग्रेसले राजनीतिमा बेइमानी सुरु गर्‍यो। चलिरहेको सहकार्य, संविधान जारी गरेपछि त्यसलाई स्थिरता र स्थायित्वमा लानका लागि संरचना थिएन, कानुन थिएन। त्यो सहकार्यको आवश्यकता थियो। त्यो हामीले पनि भन्यौँ। हामीले त्यो प्रयास गर्‍यौँ। कांग्रेसले त्यो बाटो नै छोड्यो ।’ कांग्रेससँग मिल्न के का लागि भन्ने प्रश्न रहेको भन्दै उनले थप भने, ‘के का लागि मिल्ने, कसका लागि मिल्ने । स्थिरता भनेको सोचहरूको एकता हो, प्रतिबद्धताको एकता हो। लोकतान्त्रिक मूल्य, मान्यतामा अडिने कुरामा एकता हो। तर, कांग्रेसमा सत्ता, सत्ता र सत्ता भन्दा केहीमा ध्यान छैन । कांग्रेसले अरूको इज्जतमाथि बाहिर बाहिर घुमाई घुमाई हमला गर्छ । हामी बेलमा हुँदा हुँदै दर्जनौँ पटक प्रस्तावहरू पारित भएका छन् । तर, अहिले प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यक्रमलाई पनि रोक्न लाग्नु भयो । त्यसकारण उहाँहरूमा सहमति, सहकार्य, स्थिरता विकास तिर रुचि छैन ।’ ओलीले बेलुका रातभरि डेढ वर्षलाई प्रधानमन्त्री भन्ने त्यो मानेपछि भोलिपल्ट बिहान भ्रष्टाचारी भन्ने तरिका ठिक नभएको बताए ।

संसद्‌मा गृहमन्त्री लामिछाने बर्बराउनुभयो :  कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद् बद्री पाण्डेले गृहमन्त्री रवि लामिछानेले सदनमा बर्बराएको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले करोडौं मानिसलाई बरालेको पनि बताए ।  यही जेठ ६ गते बसेको प्रतिनिसभा बैठकमा गृहमन्त्री लामिछानेले आफूमाथि उठेका प्रश्नको जवाफ दिएका थिए । “हामीलाई थाहा छ । यसक्रममा गृहमन्त्रीले बोल्ने काम गनुभयो । हामीले ठानेका थियौँ, गृहमन्त्रीले हामीलाई राम्रै पढाउनुहोला,” उनले भने, “तर, उहाँ रोष्ट्रममा बोल्न उभिनुभएन । बर्बराउनुभयो । लामो समय बर्बराउनुभयो । लामो समय बर्बराउनु भएन करोडौं मानिसलाई बराल्ने काम गर्नुभयो ।”

कांग्रेसको नाराबाजीकाबीच कार्यसूचीमा अघि बढ्यो संसद्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र अवरोधकाबीच प्रतिनिधि सभा बैठक निर्धारित कार्यसूचीमा अगाडि बढेको छ । आ–आफ्नो स्थानमा उभिएका कांग्रेस सांसदहरूले संसदीय छानबिन समिति गठन गर, सहकारी पीडितहरूलाई न्याय दे भनेर नाराबाजी गरिरहेका छन् भने संसद्मा अन्य कामकारबाही पनि सँगसँगै अगाडि बढाइएको छ ।

संसद् बैठक सुरु, कांग्रेसको विरोध जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । संसद् बैठक सुरु भएको छ । बैठकमा कांग्रेसले विरोध जारी राखेको छ ।

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत धनुषाले उनको नाममा पक्राउ पुर्जी जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा नागरिकता दुरुपयोगको उजुरी परेको थियो । १६ वैशाख २०८१ मा प्रहरीमा परेको जाहेरीमा सिरोहिया गैरनेपाली नागरिक रहेको र नागरिकताको दुरुपयोग गरिरहेको आरोप थियो। आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले आफूमाथि धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो।

पूर्वमन्त्री गोविन्दराज जोसीको भ्रष्टाचार मुद्दामा फैसला हुँदै

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोसीको मुद्दामा अन्तिम सुनुवाइ हुँदै छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा यही जेठ १ गतेदेखि हेर्दाहेर्दैमा राखिएको मुद्दामा मंगलबार(आज) फैसला आउने सम्भावना रहेको छ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले २०५९ सालमा अनुसन्धान थालेकोमा २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जोसीलाई तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको बिगो कायम गर्दै मुद्दा दायर गरेको थियो। जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप पत्नी सविता पन्त, जेठीसासु दिदी चोलाकुमारी पन्त, सासु नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो। तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले मुद्दा खारेजी गरेपछि जोसीले सफाइ पाएका थिए। त्यसविरुद्ध अख्तियार र जोसीको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले ०७० भदौ १२ मा झगडिया झिकाउने आदेश गरेका थियो।

सहकारी प्रकरण : कार्यदलको बैठक फेरि बस्ने सहमति

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन बसेको कार्यदलको बैठक सम्पन्न भएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सुरु भएको बैठकमा कांग्रेस र रास्वपाका पछिल्ला प्रस्तावमाथि छलफल भएको हो । छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको बताउँदै उनको नाम उल्लेख गर्दै छानबिनका लागि समिति बनाउनुपर्ने अडान राखेको थियो भने रास्वपाले रविको नाम उल्लेख गर्न चाहेको थिएन।अब बिचको बाटो पहिल्याएर अगाडि बढ्ने गरी छलफल अगाडि बढेको हो।

संसदीय छानबिन समितिको कार्यादेश तय गर्न कार्यदलको बैठक बस्दै

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक आज बस्दैछ।बैठक बिहान ९ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने जनाइएको छ। शनिबार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरे पनि क्षेत्राधिकारका विषयमा कुरा नमिल्दा बैठक विनानिष्कर्ष टुंगिएको थियो।संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच सहमति बन्न सकेको छैन् । नेपाली कांग्रेसले समिति बनाउँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनका दल भने मुद्दा केन्द्रीय भएर टोओआर टुंग्याउनुपर्ने अडानमा रहेका छन् । गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य छन् । सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद वैठक अवरुद्ध गर्दै आएको छ भने अवरोधकाबीच सदनले आफ्नो काम अगाडि बढाएको छ।

उपेन्द्रको पार्टी फुटविरुद्ध रिटको पेसी आज

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल फुटविरुद्धको रिटको पेसी आजलाई तोकिएको छ । जेठ २ गते उक्त रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।  न्यायाधीश विनोद शर्माको इजलासले निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो । सर्वोच्चले आयोगलाई निर्णयसहित उपस्थित हुन आदेश जारी गर्दै आजका लागि पेसी तोकेको थियो । 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदन अर्थात् प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बोलाइएको छ भने राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।  प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र पढेर सुनाउने, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, सभामुख घिमिरेले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई जेठ १ गते गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।  त्यसैगरी राष्ट्रियसभा बैठकको कार्यसूची पनि सार्वजनिक भएको छ। बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रबारे जानकारी गराउने, मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ।  अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने, प्रधानमन्त्री प्रचण्डले जेठ १ गते राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई भएको सम्बोधनको प्रति टेबुल गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  अध्यक्ष दाहालले राष्ट्रपतिबाट संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० पेस गर्ने र विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार ९पहिलो संशोधन०, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।