माओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक जारी रहेको छ।

बिहान साढे ११ बजेदेखि सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बैठक बसिरहेको छ।

बैठकमा नीति तथा कार्यक्रम बजेट लगायत समसामयिक राजनीतिक विषयमा छलफल भैरहेको छ ।

समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामन्तवादी संस्कृतिले खडा गरेको रूढीवाद, अन्धविश्वास, अन्धभक्तिलाई पाखा लगाएर समाजवादी संस्कृतिको जग बसाल्नुपर्नेमा जोड दिएका छन्। जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरण आवश्यक भएको बताए।  “संस्कृतिको जग समाज हो । तसर्थ, समाजवादी सांस्कृतिक आन्दोलनलाई उठाउन सामाजिक रूपान्तरणको अहम् भूमिका रहन्छ,” प्रधानमन्त्रीले भने, “जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गरी सङ्ठगित गर्नुपर्छ ।” जनयुद्धकालमा सांस्कृतिक आन्दोलनमा सामाजिक रूपान्तरण र सभ्य समाज निर्माणका लागि सङ्कल्प र पहल लिइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजको आधारभूत तहमा पुगेर रूपान्तरणको पैरबी गर्ने, जनताको जीवनपद्धतिलाई समाजवादी संस्कृतिको आधारविन्दु मानी वैचारिकीकरण गर्नुपर्ने बताए। उनले उत्पादन र श्रम संस्कृतिको विकासका निम्ति स्थानीय क्लबहरूको निर्माण र परिचालन गर्नुजस्ता रचनात्मक क्रियाकलापमा लाग्नुपर्नेमा जोड दिए। “पूर्वीय दर्शन, चिन्तन परम्परा र हाम्रो राष्ट्रिय संस्कृति निकै समृद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन, मानवजातिले विश्वभरि आर्जन गरेका ज्ञान र अनुभवहरू सबैका साझा सम्पत्ति र गौरवसमेत हुन्, यद्यपि हामीले हाम्रो विशिष्टता र मौलिकताको सम्वर्द्धन र विकास गरेर मात्र ज्ञानविज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्छौँ ।” उनले सामन्तवादी संस्कृतिले खडा गरेका रूढीवाद, अन्धविश्वास, अन्धभक्ति एवं साम्राज्यवादी संस्कृतिले खडा गरेको शून्यवाद, उपभोक्तावाद र उत्तरआधुनिकतावादी चिन्तन र दृष्टिकोणका विरूद्ध समाजवादी संस्कृतिको जग बसाल्नु नै आजको मुख्य कार्यभार भएको बताए। “असल संस्कृति समृद्ध जीवनको प्राण हो, साहित्य, कला, नाट्य, गीतसङ्गीत, नृत्य, बास्तुकला जति पनि कलासँग सम्बन्धित विधाहरू छन्, तिनको संरक्षण, संवर्द्धन, विकास र समयानुकूल सुधार र रूपान्तरणको बलमा नै समाजवादी संस्कृतिको जग बसाल्न सकिन्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस दिशामा जनसांस्कृतिक महासङ्घ जस्ता संस्थाहरूले नेतृत्वदायी भूमिका खेल्न सक्नुपर्दछ ।” आन्दोलनमा सांस्कृतिक आन्दोलनलाई दृष्टिकोण निर्माणको प्रश्नसँग नजोडी कलासँग मात्र जोड्ने समस्या रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले श्रम संस्कृतिलाई उपेक्षा गर्ने मनोविज्ञान र संस्कृति क्रमशः बलशाली हुँदै गएकाले राजनीतिकर्मीले सांस्कृतिक आन्दोलनलाई सहायक विषय ठान्ने प्रवृत्तिलाई पराजित गर्न गम्भीर समीक्षा र उपर्युक्त पहल लिन जरूरी रहेको बताए। प्रज्ञा प्रतिष्ठान, सङ्गीत तथा नाट्यकला प्रतिष्ठान, ललितकला प्रतिष्ठान लगायतका बौद्धिक एवं प्राज्ञिक मञ्चहरूमार्फत् परिवर्तनका उपलब्धीहरूको खोज, अध्ययन, अनुसन्धान र प्रकाशन गरी गणतन्त्रका बहुआयमिक उपलब्धीहरू आम जनसमुदायसम्म पुर्‍याउने जिम्मेवारी महासङ्घले लिनुपर्ने प्रधानमन्त्रीको भनाइ छ । वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित अगाडि बढिरहेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले राजनीतिक परिस्थिति र घटनाक्रममा उतारचढावजस्तो देखिए पनि वर्तमान सत्ता समीकरणमा कुनै समस्या नभएको बताए। सरकारले गरेका ऐतिहासिक पहल र महत्त्वपूर्ण उपलब्धीहरू आम जनसमुदायसम्म पुर्‍याई परिवर्तनको पक्षमा जनमत निर्माण गर्न प्रधानमन्त्रीले आग्रह गरे। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा साहित्य, कला र संस्कृतिको क्षेत्रलाई उच्च प्राथमिकता दिँदै सोहीअनुरूप बजेट विनियोजन गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले समुदायसँगको सहकार्यमा पुराना बस्ती भएका स्थानमा संग्रहालय स्थापना गरिने बताए।  कीर्तिपुर, बन्दीपुर, बुङ्‍मती, थिमी, गोरखा, जनकपुर र मटिहानी लगायतका स्थानको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्वर्द्धन गर्न विविध कार्यक्रम सञ्‍चालन गरिने विषय बजेटमा उल्लेख भएको छ । भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाट्य लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवद्र्धन गर्ने, प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने र राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक संग्रहालय निर्माण गर्ने लगायतका महत्त्वपूर्ण कार्यक्रमहरू यस वर्षको बजेटमा समावेश छन् ।   

फेसबुक निर्देशनकै भरमा नागरिकलाई सडकमा उभ्याउन मिल्दैन  : सभापति खतिवडा

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मापसे गर्‍यो यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको भएको टिप्पणी गरेका छन्।सञ्चारकर्मीहरूसँग कुरा गर्दै कानूनी राज्य कसैको सनकका भरमा नचल्ने बताए। उनले भने, ‘हामीले संविधान निर्माण गर्‍यौँ। सबै जात, धर्म र वर्गको अधिकार पनि स्थापित गरेका छौँ।कानुनी राज्यको परिकल्पना पनि गरेका छौँ। कानुनी राज्य भनेको कसैको सनकका भरमा जतिखेर जे पायो त्यही निर्णय गर्ने होइन।’ अहिले सडकमा केही मान्छेहरूलाई कुनै मन्त्रीको निर्देशनमा कुनै उपप्रधानमन्त्रीको निर्देशनमा बिहानदेखि बेलुका ठिंग्याएर बिनाकानून राख्ने प्रवृत्ति गलत भएको बताए। उनले भने, ‘मापसे गर्‍यो भनेर सडकमा ठिंग्याएर राख्नु मान्छेको वैयक्तिक अधिकारमाथिको हनन हो।यो बारेमा छलफल अगाडि बढाउनुपर्ने जरुरी हामीले देखेका छौँ।अहिले कानूनी राज्य भनेको राणा शासन होइन।फेसबुकबाट निर्देशन दिने अनि कानून विपरीत नागरिकलाई सडकमा उभ्याउने काम गलत छ। यो पद्धतिविरुद्ध हामीले आवाज उठाउनुपर्नेछ। हामी यसबारेमा बैठक राख्छौँ।’ गृहमन्त्री लामिछानेको निर्देशनमा मापसे गरेका र सडक नियम मिचेकाहरूलाई कारबाही स्वरूप ट्राफिक स्वयमसेवकका रूपमा परिचालन गर्न निर्देशन दिएका थिए।

रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ फेरि स्थगित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर गरिएको रिटमाथिको सुनुवाइ आज पनि स्थगित भएको छ । यो रिटमाथि न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको थियो ।  उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेकोमा निवेदकको तर्फबाट आजको सुनुवाइ स्थगित गरिएको हो ।  न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा आफैले बहस गरेका थिए । उनले बुधवार सोही कुरा राखेर हेर्न नमिल्ने बारे जिज्ञासा राखेका पनि थिए । तर न्यायाधीशले भने आफू नियुक्ति अघिको विवाद नहेर्ने र नियुक्ति पछिको हेर्ने जवाफपछि सुनुवाई स्थगित गराइएको थियो । यसअघि बुधवार पनि पोखरेलकै इजलासमा पेशी तोकिएकोमा स्थगित गर्ने निवेदन दिएर हटाइएको थियो ।  सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यस विरुद्ध रिट दायर भएको हो । अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको यो रिट सुरुमा दरपिठ भएको थियो । सर्वोच्च प्रशासनले दरपिठ गरे पछि भट्टराईले इजलासमा पुगेर दरपिठ बदर गराएका थिए । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले दर्ता गर्नु भनी आदेश गरेपछि जेठ १४ गते रिट दर्ता भएको थियो । रिटमा गृहमन्त्रीमाथि ठगीको आरोप लागेकाले निलम्बन गर्नुपर्ने माग समेत गरिएको छ ।

संवैधानिक परिषद्को निर्णयमा प्रधानमन्त्री सहमत हुनुपर्ने

काठमाडौं । संवैधानिक परिषद्‌को कुनै पनि निर्णयमा प्रधानमन्त्रीको सहमति अनिवार्य हुनुपर्ने भएको छ । संसदको राज्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी विधेयक सर्वसम्मतले पास गर्दै यस्तो व्यवस्था गरेको हो ।  विधेयकममा सर्वसम्मतिबाट निर्णय हुन नसकेमा संबैधानिक परिषदको अध्यक्ष (प्रधानमन्त्री) र तत्काल बहाल रहेका मध्ये कम्तिमा ५० प्रतिशत सदस्यको बहुमतबाट निर्णय गरिने उल्लेख छ । विधेयकमा सरकारले ल्याएको प्रस्ताव सर्बसम्मत पारित भएको हो । यसअघि समितिमा भएको छलफलमा नेकपा एमालेले अध्यक्ष (प्रधानमन्त्री) को सहमति अनिवार्य गर्न नहुने मत राखेको थियो । लामो समयसम्म यही अडान लिएको एमालेले बिहीबार आफ्नो अडान छाडेपछि सहमति भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा हुने संवैधानिक परिषमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने व्यवस्था छ ।  यस्तै, नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भई काम गर्ने व्यवस्था छ ।

बजेटबारे आएका प्रतिक्रियाले साँच्चै म सर्प्राइजमा छु : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू सर्प्राइज भएको बताएका छन् । बजेट सन्तुलन र व्यवहारिक आएको भन्दै निजी क्षेत्र अरू विज्ञ तथा राजनीति पार्टी र तिनका नेताहरूले समेत तारिफ गरेकाले आफू साँच्चै सर्प्राइज भएको बताए ।  'बजेट के हुने हो? सांसदबाटै आउने हो कि अध्यादेशमा जाने हो? ठुलो चिन्ता थियो । तर, सांसदबाटै ल्याउन पाइयो । खुसी कुरो हो । बजेट सांसदभन्दा बाहिरबाट ल्याउने कुरा राम्रो थिएन । यसमा प्रधानमन्त्री ज्यूले ठुलो कसरत गर्नुभयो र वातावरण सहज भयो । यसका लागि म प्रधानमन्त्री ज्यूलाई र सम्पूर्ण राजनीतिक पार्टीहरूलाई धन्यवाद दिन चाहन्छुु ' अर्थमन्त्री पुनले भने । बिहीबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले बजेटले केही करका दर वृद्धि गरेकाले स्वार्थ समूह निजी क्षेत्रले मन दुखाए पनि सकेसम्म सन्तुलित र सर्वस्वीकार्य बजेट बनाएको दाबी गरे । बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने गरी एकीकृत गरिएको अर्थमन्त्री पुनले बताए ।

विराटनगरमा प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोशी प्रदेशको विराटनगर पुगेका छन् ।सरकारले आजदेखि सुरु गर्ने  ‘श्रमाधान रोजगार मेला’मा सहभागी हुन् प्रधानमन्त्री विराटनगर पुगेका छन् । विराटनगर एयरपोर्टमा ओर्लिए लगत्तै प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारे। बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको प्रचण्डको भनाइ थियो। ‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो। तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ’, बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले भने। उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने उनको दाबी थियो। ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन। अहिले हाम्रो जेछ त्यही हुन्छ’, प्रचण्डले भने। अर्को प्रसंगमा प्रचण्डले बजेटमा कोशी प्रदेशलाई प्राथमिकता दिइएन भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे। ‘यसमा गलत प्रचार भएको छ। तर, कोशीलाई आवश्यकताअनुसार पर्याप्त बजेट र कार्यक्रम आएको छ’, प्रचण्डले भने, ‘कम भयो भन्ने कुरा सही होइन। बजेटमा जति आएका छन् त्यतिमात्रै पनि होइन । वक्तव्यमा सबै कुरा आएका पनि हुँदैनन्।’ उनले आगामी आर्थिक वर्षको बजेटमा धेरै कुरा नयाँ आएको उल्लेख गर्दै प्रचण्डले कृषि दशकको कुरा आफैँमा नयाँ कुरा भएको बताए। यस्तै रोजगारी सिर्जना गर्ने जस्ता विषय पनि बजेटमा आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो आर्थिक स्थिति र राजनीति परिस्थिपित हेर्दा सन्तुलित बजेट आएको छ।’ उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गतिविधिप्रति आफूलाई सञ्चारकर्मीको धारणा जान्न मन लागेको समेत बताए।

देउवा निवासमा सत्ता पक्षका माधवसहित विपक्षी गठबन्धनको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज ४ दलको बैठक बसेको छ।  मधेस प्रदेशको सरकारबारे छलफल गर्न कांग्रेस, जसपा नेपाल, लोसपा र सत्तारुढ एकीकृत समाजवादीका नेताबीच छलफल भएको हो।  छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागीता रहेको थियो।  यस्तै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र देउवाबीच पनि आजै छुट्टै छलफल भएको थियो। वर्तमान राजनीतिक अवस्था र मधेस सरकार गठनका बारेमा छलफल भएको बताइएको छ। 

बाह्रबिसे–तातोपानी सडक स्तरोन्नतिमा चीन तयार : राजदूत सोङ

सिन्धुपाल्चोक । नेपालका लागि चिनियाँ राजदूत छन सोङले बाह्रबिसे–तातोपानी सडकखण्डको स्तरोन्नतिका लागि चीन तयार रहेको बताएका छन् । मितेरी पुलसम्म पुग्ने सडक र नाका व्यवस्थापनबारे चिनियाँ राजदूतका पदाधिकारीसहित तातोपानी भन्सार कार्यालयमा बुधबार बेलुका भएको सर्वपक्षीय छलफलमा राजदूत छनले उक्त सडक स्तरोन्नति गर्न चीन तयार रहेको बताए । नेपालले पनि सडक सुधारका लागि बजेट विनियोजन गरेको सन्दर्भमा दुवै देशले मिलेर बाटो बनाउन सकिने उनको भनाइ छ । राजदूत छनले पहिरो खसेको स्थान तथा सडकका अन्य भागको अध्ययनका लागि चिनियाँ प्राविधिक आउने जानकारी दिए । उनले चीनबाट अत्याधुनिक उपकरण ल्याएर निर्माणमा सघाउने बताए । सिन्धुपाल्चोकको क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटाले उक्त सडक स्तरोन्नतिका लागि एक अर्ब २० करोड विनियोजन गरेको जानकारी दिँदै दुवै देशले मिलेर काम गर्न प्रस्ताव गरेको बताए । छलफलमा सडक डिभिजन कार्यालय दोलखाका प्रमुख अर्जुन श्रेष्ठले नेपालले तयार गरेको सडक स्तरोन्नतिको विस्तृत परियोजना प्रतिवेदन प्रस्तुत गरेका थिए । छलफलमा प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार डा। रुपक सापकोटा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनोर्बु शेर्पा, स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दल, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, भन्सार कार्यालयका प्रमुख, डिभिजन सडक कार्यालयका कर्मचारीको उपस्थिति थियो । विसं २०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका २०८० भदौ १५ गतेदेखि खुलेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत असोजमा भएको चीन भ्रमणका क्रममा उक्त नाका पुग्ने सडकको स्तरोन्नति चीनले गरिदिने विषयमा भएको सहमतिका सन्दर्भमा चिनियाँ पक्षसँग पटकपटक छलफल भए पनि कार्यान्वयन हुन सकेको छैन । यद्यपि बुधबारको छलफलमा चिनियाँ पक्षबाट सकारात्मक जवाफ आएको थियो ।

कान्तिपुरका अध्यक्ष सिरोहिया रिहा

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् । बुधबार जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रको आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हाजिर जमानीमा हिरासतबाट मुक्त गरेको हो ।

संसद्का ६ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।  महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो १ बजे बस्नेछ ।  बिहान ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।   शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । बैठक साढे १२ बजे बस्नेछ ।  सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छैन । 

नेपालको उपलब्धिबाट विश्वले सिक्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्माओलीले नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्ने बताएका छन् । महिला भेलालाई बुधवार काठमाडौँमा सम्बोधन गर्दै उनले छोटो अवधिमा नेपालमा धेरै उपलब्धि भएको बताएका हुन् । व्यवस्था परिवर्तन भए पनि अवस्था उस्तै रहेको भनेर गलत शब्दावली प्रयोग भइरहेकोमा उनले असन्तुष्टि पोखे । ‘अवस्था जहाँको त्यही भएको गलत शब्दावलीको प्रयोग भइरहेको छ । व्यवस्था परिवर्तन भयो अवस्था जहाँको त्यही छ भनेका छन् । भर्खर जन्मेका केटाकेटीले के देख्नु । अवस्था कहाँ थियो, कहाँ आइपुग्यो भनेर । कति सङ्घर्ष र अवस्था पार गरेर यहाँ आइपुगेको छ । कुन बलिदानले यहाँ आइपुगेको छ । त्यो देखेको छैन अवस्था उस्ताउस्तै भनेका छन् । कहाँ उस्ताउस्तै छ रु नेपालको उपलब्धिबाट अन्य देशले सिक्नुपर्छ । प्रजातन्त्रको लामो इतिहास पार गरेकाले पनि उपलब्धि गरेका छैनन् । उनीहरू सङ्घर्षरत छन्’, ओलीले भने ।  उनले महिलाको प्रतिनिधित्वलाई संविधानमै ३३ प्रतिशत कायम राखिएको बताए । समानताको हकमा नेपालभन्दा विश्वका अन्य मुलुक धेरै पछि रहेको ओलीले जिकिर गरे ।

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । संविधान धारा १६८ को उपधारा ३ अनुसार बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई नियुक्त गरेका हुन् । यस उपधारामा संसदमा सहभाथी सबै भन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्री नियुक्त हुने पाउने व्यवस्था छ । सोही अनुसार पाण्डे नियुक्त भएका हुन् । २७ सीटले काँग्रेस संसदमा सबैभन्दा ठूलो दल हो । पाण्डे यसअघि पनि मुख्यमन्त्री बनिसकेका छन् । वर्तमान सत्ता गठबन्धनबाट गण्डकीमा मुख्यमन्त्री बनेका एमाले नेता खगराज अधिकारीले संविधानबमोजिम प्रदेशसभामा बहुमत पुर्‍याउन नसकेपछि प्रदेशसभामा उपस्थितको बहुमतको आधारमा भन्दै सभामुख कृष्णप्रसाद धितालले विश्वासको मत पाएको घोषणा गरेका थिए । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत अवैधानिक रहेको ठहर गर्दै ४८ घण्टाभित्र संविधानको धारा १६८ (३) बमोजिमको मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो । पाण्डेले आज वेलुका ५ बजे शपथ लिने कार्यक्रम छ ।उनलाई प्रदेश प्रमुख भट्टले पद तथा गोपनियताको शपथ खुवाउनेछन् ।

गृहमन्त्री विरुद्ध रिटको सुनुवाइ स्थगित

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदन आज सुनुवाइ नहुने भएको छ।  महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत विपक्षी बनाइएको रिट सुनुवाइ गर्न आज (बुधबार) सर्वोच्च अदालतका न्यायाधीश सुनीलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको थियो।  निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न माग गर्दै निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो।  महान्यायाधिवक्ता पोखरेलले गृहमन्त्री लामिछानेलाई सहकारी ठगी प्रकरणमा ‘क्लिन चिट’ दिएको भन्दै अधिवक्ता अनुपम भट्टराईले रिट दर्ता गराएका छन्।  अनुसन्धान गर्ने निकाय गृह मन्त्रालयकै नेतृत्वमा लामिछाने भएकाले उनलाई पदबाट निलम्बन गरी सहकारी ठगीको छानबिन हुनुपर्ने रिटमा माग गरिएको छ। सहकारी प्रकरण छानबिनका लागि मंगलबार मात्र संसदीय छानबिन समिति गठन गरिएको छ ।

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

न्युयोर्क । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग मंगलबार भेट गरेकी छन्। भेटका अवसरमा नेपाल र राष्ट्रसंघको बीचमा सहकार्य, नेपालले अल्पविकसित देशबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशमा जाने योजना, राष्ट्रसंघले नेपालको विकासमा खेलेको भूमिकालगायतका विषयमा छलफल भएको न्युयोर्कस्थित स्थायी नियोगले जनाएको छ। भेटका अवसरमा जलवायु परिवर्तनलगायत बहुपक्षीय चासोका विषयमा छलफल भएको बताइएको छ। सचिव लम्सालले वरमुडामा आयोजित चौथो अन्तर्राष्ट्रिय विकासशील साना टापु राष्ट्रहरूको सम्मेलनमा नेपालको तर्फबाट भाग लिन यहाँ आएकी हुन्।  सोही सम्मेलनको साइड लाइन बैठकमा सचिव लम्सालले महासचिव गुटेरेससँग शिष्टाचार भेट गरेकी हुन् । रासस

एमाले चितवनको अध्यक्षमा पाठक निर्वाचित

चितवन । नेकपा एमाले चितवनको अध्यक्षमा कमलराज पाठक निर्वाचित भएका छन्। पार्टीको ११औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। आज बिहान सम्पन्न मतगणनाअनुसार उपाध्यक्षमा श्यामकुमार विष्ट, सचिवमा प्रकाश ढुङ्गाना, उपसचिव (खुला)मा मीनबहादुर परियार तथा उपसचिव (महिला) तर्फ ज्वाला पुरी वन निर्वाचित भएका छन्। प्रमुख निर्वाचन अधिकृत जगन्नाथ भण्डारीका अनुसार मतदानमा कुल सात सय २९ मत खसेको थियो। अधिवेशनमा जिल्लाका सातै पालिका, पार्टीको जनवर्गीय सङ्गठन, सम्पर्क मञ्चलगायतबाट गरी सात सय ३२ र मनोनित २९ गरी जम्मा सात सय ६१ प्रतिनिधि सहभागी थिए।