सरकार गिराने खेलमा लाग्दैनौं : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विसं। २०८४ सालसम्म नेपाली कांग्रेस प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कांग्रेसले चुनावमा पाएको मतअनुसार सरकारमै रहनुपर्ने भए पनि केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए । 

कांग्रेसले विसं। २०८४ सम्म सरकार बनाउन र गिराउन कतै आँखा नलगाउने उनको भनाइ छ । महामन्त्री थापाले प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्न भने नहुने बताए । 

कांग्रेस संसद्को ठूलो दल र संविधान निर्माण गर्दा नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको महामन्त्री थापाको भनाइ छ । उनले संविधानमा केही कुरा संशोधनका लागि अन्य राजनीतिक दलसँग कुराकानीमा रहने बताए । 

महामन्त्री थापाले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठमाथि अभद्र टिप्पणी गरेको आरोप लगाए । उनले ओलीले महिला भएकै कारणले स्त्रीदोषी अभिव्यक्ति दिएको बताए । 

महामन्त्री थापाले पार्टीका विषयमा छलफल गर्ने परिपाटी पुनः विकास गर्न जरुरी रहेको बताए । उनले काठमाडौं कांग्रेसले ‘रिभाइभ’ गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै नयाँ राजनीतिक दल भन्दैमा दोषबाट मुक्त गर्न नमिल्ने बताए ।

मधेशका मुख्यमन्त्रीसँगै १३ मन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले १४ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।जनमतका सिंहले शपथलगत्तै नियुक्त गरेका १० मन्त्री र ३ राज्यमन्त्रीलाई पनि शपथ गराइएको हो । मन्त्रीहरूलाई प्रदेश प्रमुख सुमित्रा भण्डारी र राज्यमन्त्रीलाई मुख्यमन्त्रीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । नयाँ मन्त्रीहरूमा नेकपा एमालेबाट सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्री, शत्रुधनप्रसाद सिंह स्वास्थ्य तथा जनसंख्यामन्त्री, राजकुमार लेखी शिक्षा तथा संस्कृतिमन्त्री र प्रमोद जैसवाल खेलकुद तथा समाज कल्याण मन्त्री नियुक्त भए । नेकपा एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री र बेची लुंगेली ऊर्जा तथा सिंचाइमन्त्री । यी दुवैजना अघिल्लो सरकारमा पनि मन्त्री थिए । त्यस्तै नेकपा माओवादी केन्द्रबाट भरतप्रसाद साह अर्थमन्त्री र यूवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री नियुक्त भए । उनी दुबैजना पनि शपथग्रहण गरे । नेपाल समाजवादी पार्टीकी विमला अंसारी गृह सञ्चार तथा कानून मन्त्री र नागरिक उनमुक्ति पार्टीकी उर्मिलादेवी सिंह श्रम तथा यातायातमन्त्रीको शपथ लिएकी छन् । उनी दुवैजना पार्टीको एक्ली सांसद हुन् । यस्तै तीनजना राज्यमन्त्री पनि नियुक्त गरिएको छ । एमालेबाट स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा शारदादेवी थापा र शिक्षा तथा संस्कृति राज्यमन्त्रीमा केशव राय तथा जनमतकी रञ्जु खंगलाई विना विभागीय राज्यमन्त्री नियुक्त गरिएको हो ।

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमतका सतिशकुमार नियुक्त

काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।  नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनमतलगायत दलको समर्थनमा मुख्यमन्त्री बनेका उनी गएको निर्वाचनमा सप्तरीको २(१) बाट निर्वाचित भएका थिए ।

डेलिभरीमा सुधार गरेर प्रदेशलाई बलियो बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनतालाई राम्रो डेलिभरि दिएर मात्र सङ्घीयता बलियो हुने बताउँदै त्यसका लागि सबैले सकारात्मक पहल लिनुपर्ने बताएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीले भने, अन्तरप्रदेश व्यवस्थापिका मञ्च बनाएर संसदको भूमिका प्रभावकारी बनाउन जुन भूमिका खेल्नुभएको छ, यो महत्त्वपूर्ण छ। आवधिक रूपमा यस्ता छलफलहरू जरूरी छ। सरकारले मञ्चका निष्कर्षहरूलाई गम्भीरतापूर्वक लिनेछ। अधिकतम सम्बोधनको प्रयास गर्नेछ। छलफलका क्रममा प्रधानमन्त्रीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको बताउँदै जनतालाई राम्रो डेलिभरि दिनुपर्ने बताए। उनले भने हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउने, संविधानको प्रभावकारी कार्यान्वयन गर्ने पक्षका हौँ। यहाँ सङ्घीयताका विरोधीहरू प्रदेशमाथि आक्रमण गरेर व्यवस्थामाथि अनास्था फैलाउने कोशिसमा छन्। त्यस्तो प्रवृत्तिलाई हामीले निरूत्साहित गर्नुपर्छ। जनतालाई राम्रो डेलिभरि दिएर प्रदेश र स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ। प्रधानमन्त्रीले सङ्घीय निजामती ऐन र प्रहरी समायोजनको काम छिटो निष्कर्षमा पुर्‍याउन आफूले पहल गरिरहेको बताए। उनले भने, 'सङ्घीय निजामती सेवा ऐन संसदबाट छिटो पारित गराउन र प्रहरी समायोजनको काम टुंगाउन मैले पहल गरिरहेको छु। यो निष्कर्षमा पुगेपछि प्रदेश र स्थानीय तह बलियो हुन्छ। सङ्घीयतामाथि प्रश्न उठाउनेहरू कमजोर हुन्छन्।' छलफलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, सञ्चार तथा सूचना प्रविधि मन्त्री, कानुनमन्त्री, प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, सातै प्रदेशका सभामुख र उपसभामुख, नेपाल सरकारका मुख्यसचिव लगायत उपस्थित थिए ।

छानबिन समिति बैठक बस्दै, कार्यविधिमा छलफल हुने

काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको बैठक आज बस्दै छ । दिउँसो ३ बजे सिंहदरबारमा बस्ने बैठकमा कार्यविधिलगायत विभिन्न विषयमा छलफल हुने छ ।  बुधबार बसेको समितिको बैठकले कार्यविधिको मस्यौदा ल्याउने जिम्मा सचिवालयलाई दिएको थियो ।  सहकारी बचतमा देखिएको अपचलनको छानबिन गर्न भन्दै जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति बनाएको थियो। समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ । 

माओवादीले सामाजिक अभियन्तासँग अन्तरक्रिया गर्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को समाजकल्याण विभागले ‘सामाजिक न्याय, सुशासन र समृद्धि’को अभियानलाई केन्द्रमा राखेर सामाजिक अभियन्तामाझ बृहत्तर अन्तरक्रिया एवं भेलाको आयोजना गर्दै छ ।  भेलको उद्घाटन पार्टी अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज ११ः३० बजे काठमाडौंमा गर्ने छन् । सामाजिक अभियान्ताको राष्ट्रिय भेला तथा अन्तर्कृया जेठ २५ र २६ गते संचालन गरिने छ । काठमाडौँ आयोजना गरिएको भेलामा देशभरबाट तीन सयभन्दा बढी सामाजिक अभियन्ता सहभागी हुने विभागका प्रमुख सत्या पहाडीले जानकारी दिइन् ।  ‘सामाजिक न्याय, सुशासन र समृद्धिको यात्रा, सामाजिक अभियन्ताको अर्थपूर्ण सहभागिता र हाम्रो प्रतिबद्धता’ नारामा आधारित भेलाले काठमाडौँ घोषणापत्र जारी गर्नेछ । भेलाबाट सरकारले तय गरेको सामाजिक रुपान्तरणको अभियानमा सामाजिक संघसंस्थालाई सहभागी गराउने र सरकारको नीति नियमभित्र रहेर आमसामाजिक अभियन्ताले राजनीतिक परिवर्तनको यात्रामा गरेको योगदान सँगसँगै बुझ्न पाइने प्रमुख पहाडीको भनाइ छ । भेलामार्फत सामाजिक सङ्घसंस्थालाई पार्टीको धारणा बुझाउने र माओवादी केन्द्रले सामाजिक संस्थालाई कसरी हेरेको छ भन्ने विषयमा प्रष्ट परिने उनले बताइन्।

मधेसमा सरकार गठन गर्ने समयसीमा आज सकिँदै

जनकपुर । मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।  प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।  “संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मिति २०८१/०२/२५ गते शुक्रबार बिहान १० बजेभित्र मधेस प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न अनुरोध छ,” विज्ञप्तिमा भनिएको थियो । 

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडौं। बिहीबार बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ ।  २०८१ जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः १. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउनुहुने । २. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने । ३. हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने । ४. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा श्री पदम ओलीलाई नियुक्त गर्ने । ५. मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने । ६. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राईलाई तोक्ने । ७. जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने । ८. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने । ९. ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने । १०.  भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेशिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी एघार जना राजदूतलाई फिर्ता बोलाउने ।

१६औं योजना लक्ष्य, हेर्नुहोस् पूर्णपाठ

काठमाडौं । राष्ट्रिय योजना आयोगले १६औं योजना सार्वजनिक गरेको छ । जारी योजनामा सरकारले वार्षिक २५ लाख पर्यटक आगमन पुग्ने अनुमान सहित १६औं योजनाको लक्ष्य तय गरेको छ । राष्ट्रिय योजना आयोगका अनुसार आर्थिक वर्ष २०८५/८६ सम्म वार्षिक पर्यटक आगमन २५ लाख पुग्ने अनुमान गरिएको छ । आव २०७९/८० मा ८ लाख २० हजार पर्यटक आएका थिए । अबको ५ वर्षमा यस्तो आगमन तीन गुणाले बढ्ने आयोगको अनुमान छ । आयोगका अनुसार यस अवधिमा पर्यटकको औसत बसाइ अवधि १५ दिन प्रतिपर्यटक पुग्ने अनुमान छ । अहिले यस्तो बसाइ अवधि औसत १३.१ दिन प्रतिपर्यटक छ ।अहिले नेपाल आउने पर्यटकले प्रतिदिन ४०.५ अमेरिकी डलर खर्च गरिरहेको देखिएको छ । यसलाई बढाएर ८५ प्रतिशत पुर्‍याउने लक्ष्य १६औं योजनाले लिएको छ । कुल गार्हस्थ उत्पादन (जीडीपी)मा पर्यटन क्षेत्रको योगदान ७ प्रतिशत पुर्‍याउने लक्ष्यसमेत १६औं योजनाले लिएको छ । अहिले पर्यटनको योगदान जीडीपीमा २ प्रतिशतमात्र छ । यस अवधिमा द्विपक्षीय हवाई सेवा सम्झौता भएका मुलुक संख्या ४८ पुर्‍याउने लक्ष्य छ । हेर्नुहोस् पूर्णपाठ   

अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन

काठमाडौं । अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसम्बन्धी सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएको छ। बिहीबार प्रतिनिधिसभा बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरेको हो।  त्यसअघि बैठकमा उक्त सम्झौतामाथि छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले सम्झौताका कारण मुलुकलाई हुने लाभका बारेमा जिज्ञासा राखेका थिए । सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न अन्तर्राष्ट्रिय सौर्य गठबन्धनमा सम्झौता भएको जानकारी दिए। सम्झौमा हस्ताक्षर गर्ने क्रममा पर्याप्त राष्ट्रिय हितलाई ध्यान दिइएको र मुलुकलाई थप कुनै आर्थिक दायित्व नथपिने बताए। मन्त्री बस्नेतले सम्झौताकै कारण ऊर्जा उत्पादनमा नेपाललाई कुनै बाधा नपर्ने स्पष्ट पारे। ऊर्जा मिश्रणको अवधारणाबाटै सौर्य ऊर्जाबाट मुलुकलाई सुक्खायाममा आवश्यक पर्ने विद्युत् पूर्ति गर्न सकिने भन्दै उनले पहिलो प्राथमिकता भने जलविद्युत् नै रहेको बताए।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक जारी छ ।बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए)को स्थापनासँग सम्बन्धितसम्झौताको प्रावधानमाथी सदनमा छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । त्यस्तै, आइएसएको स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, अर्थमन्त्री वर्षमान पुनले “बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । यसैगरी, विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने, “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८० लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

जनमतका सिंहले मधेशको मुख्यमन्त्रीमा दाबी पेस गर्दै

जनकपुरधाम । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गरिँदै छ।एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा जनमतका सतिस कुमार सिंहले दाबी पेस गर्न लागेका हुन् । मधेसमा जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेस गर्ने तयारी छ । जनता समाजवादी पार्टी (जसपा)नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेस गर्न आह्वान गरेकी छिन्। प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएकी छिन् ।

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को बैठक बस्दैछ । आज मंगलबार अपरान्ह ४ बजे मन्त्रिपरिषद बैठक बस्न लागेको हो । आज ४ बजे मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको एक मन्त्रिले जानकारी दिए। 

शपथको तयारीमा मोदी प्रचण्डलाई निम्तो

काठमाडौं । तेस्रो कार्यकाल भारतीय प्रधानमन्त्रीको शपथ लिने तयारीसँगै नरेन्द्र मोदीले छिमेकी देशका नेताहरूलाई निम्तो दिएका छन्।शनिबार शपथको तयारी भएको छ । त्यसअघि बुधबार मोदी राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए)बाट नेता चुनिएका छन्। लोकसभा चुनावमा एनडीएलाई २९३ सिट मिलेको छ। एनडीएकन सबै घटक दलले आफ्नो समर्थन पत्र सुम्पिएपछि मोदी तेस्रो पटक प्रधानमन्त्रीका लागि शपथ लिने तयारीमा जुटेका हुन्। शपथ ग्रहण समारोहलाई भव्य बनाउने तयारी सुरू भइसकेको छ। जसमा विदेशी नेतालाई निम्तो दिइएको हो।जसमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि छन् । उनले बुधबार नै मोदीलाई बधाई दिइसकेका छन् । बुधबार नै दुई नेताबीच टेलिफोन संवाद भएको छ। मोदीले प्रचण्डसँगको टेलिफोन संवादपछि दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने वचन दिएका छन् ।उनले प्रचण्डलाई धन्यवाद दिँदै हार्दिकताका लागि आभार व्यक्त गरेका छन् । दुईजनाले भारत र नेपालबीच गहिरो र बहुआयामिक साझेदारीलाई बढावा दिनका लागि आफ्नो साझा प्रतिबद्धताबारे चर्चा गर्दै आपसी सम्बन्धमा सकारात्मक गति बनाइराख्न सहमत भएको पनि जनाएका छन् । उता, बंगलादेश, श्रीलंका, भुटान र मरिशसका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि दिल्ली बोलाइएको छ। प्रचण्डसहित उनीहरूलाई पनि बिहीबार लिखित निम्तो पठाउने तयारी मोदीको सचिवालयले गरेको छ । यसअघि तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न लागेको भन्दै नेपालसहित ७५ देशका नेताले मोदीलाई बधाई दिइसकेका छन् ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, मन्त्री बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतालाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० तथा ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने छन् । यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको ‘राष्ट्रियसभामा उत्पत्ति भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव गर्ने कार्यक्रम छ । साथै ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८०’ पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे सिंहदरबामा बस्नेछ । बैठकमा खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन, २०८० का सुझाव सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गर्ने कार्यसूची रहेको छ ।