प्रहरीले फसाएको पीडितको अारोप

काठमाडौँ, मंसिर २५ । धनमती पुन र राजु विक (रोल्पा), कुमार तामाङ र विमल मगर (काभ्रे) तथा विमल माझी (रामेछाप) लाई झुटो मुद्दा लगाएर गिरफ्तार गरिएको जनाउँदे पीडित आफन्तद्वारा रिहाइको माग गरिएको छ ।

वि.सं.२०७३ भदौ १२ गते गोरू काटेको भनी झुटो मुद्दा लगाएर फसाएको गुनासो गरी आफन्तजन/परिवारले जति सक्दो तिनको चाँडो रिहाइ गर्नुपर्नु माग गरेका हुन् ।

अभियुक्तलाई गिरफ्तार गरी पुर्पक्षका लागि केन्द्रीय कारागार काठमाडौँमा राखिएको छ ।

आदिवासी जनजाति सरोकार सङ्घद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा अभियुक्त तामाङका मामा विकास तामाङले प्रहरीले कुनै प्रमाणबिना आफ्ना भान्जालाई पक्राउ गरेर झुटा मुद्दा लगाएको भन्दै बिना सर्त तत्काल रिहाइको माग गरेको छ ।

अधिकारकर्मी आङकाजी शेर्पा र माइला लामाले घटनामा असंलग्न व्यक्तिलाई पक्राउ गरी दुःख दिएर राज्यले पीडितमाथि अन्याय गरेको भन्दै तत्काल छाडिदिन आग्रह गरेका छन् ।

दुर्गम क्षेत्रमा विद्यालय भवन बनेपछि स्थानीयमा उत्साह

पाल्पा, मंसिर २५ । जिल्लाको पूर्वी भेगमा पर्ने सहलकोट–२ मा नयाँ विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । विकट र दुर्गममा सञ्चालन हुँदै आएको पुरानथर प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै जाँदा पठनपाठनमा निकै समस्या झेल्दै आएका यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् । विद्यालयको भवन जीर्ण भएका कारण न्यून मात्रामा विद्यार्थी सङ्ख्या रहेकोमा अब नयाँ भवन निर्माणसँगै विद्यार्थी अनुपात पनि बढ्ने विद्यालयले जनाएको छ । दुर्गमका बालबालिकालाई गाउँमै सहज वातावरणमा पठनपाठन गरुन् भन्ने उद्देश्यले विद्यालय तथा यहाँका स्थानीयवासीले जापानीज नागरिक, सहलकोट गाविस कार्यालयसँग आर्थिक रकम सहयोग गर्न पहल गरेपछि सो भवन निर्माण गरिएको हो । जापानीज नागरिक तनाका साचिकोको र नाकानो मियोकीबाट रु चार÷चार लाख, सहलकोट गाविस कार्यालयबाट रु दुई लाख १३ हजार ६१५, विद्यालय कोषबाट रु एक लाख ५९ हजार १६२, स्थानीयको जनश्रम दानबाट रु तीन लाख २० हजार २६६ गरी जम्मा रु १४ लाख ९३ हजार ४३ को लागतमा ३/३ कोठाको दुई वटा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिं सारुले बताए । विद्यालयमा हाल सहकोट गाविस १ र २ का ५३ जना विद्यार्थी अध्ययनरत छन् ।

तेस्रो लिङ्गीलाई सीप र रोजगारीको दिन जोडदार माग

भद्रपुर, मंसिर २५ । घर तथा समाजमा अपहेलित भइरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकले जीविकोपार्जन गर्न र समाजमा स्थापित हुन सीप तथा आयमूलक तालिम माग गरेका छन् । झापाको भद्रपुरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकप्रति समाजमा रहेको भ्रम हटाउने सम्बन्धमा सरोकारवाला निकायबीच एक दिने अन्तक्र्रिया कार्यक्रममा सो धारणा राखेका हुन् । लिङ्गको अस्पष्टताले गर्दा जीवनमा धेरै कठिनाइ व्यहोरिरहेको र यसैका कारण घर, समाजबाट बाहिर आएर आफ्ना सङ्गठन खोज्दै दिन बिताइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँहरुले रोजगारको सुनिश्चिता राज्यले गरी दिनुपर्ने माग गरे । तेस्रो लिङ्गी प्रेम थापाले आफू पुरुष भएर जन्म लिएको तर पछि लिङ्गमा आएको परिवर्तनले आफ्नो जीवनमा नै परिवर्तन ल्याइदिएकाले अहिले म महिला भन्न रुचाउँछु भने। उनले मेरो आवाज महिलाको जस्तो छ, धेरै कुरा महिलासँग मिल्दोजुल्दो भएकाले महिला भएर नै बसिरहेको अवस्थामा आयआर्जनका निम्ति हामीलाई राज्यले भरपर्दो तालिमको व्यवस्था गर्नुपर्ने कुरामा जोड दिए। यस्तै, तेह्रथुम घर भएका कमला गुरागाईंले जुङ्गा र दाह्री आएको बताउँदै आफूसँग दुवै लिङ्ग भएकाले समाज र घरबाट एकलिएको जानकारी दिए । अर्की कमला विमला श्रेष्ठले आफू गरिब भएको घरमा अन्य सदस्यको विवाह भइसक्दा आफ्नो बारेमा चर्चा हुन लाग्दा मात्र समाजका मानिसले तेस्रो लिङ्गी भएको थाहा पाएकाले बिना आयको एकलो जीवन बिताउन गाह्रो भएकाले सरकारले आयमूलक तालिम दिएर स्थापित गराउनु पर्ने कुरामा जोड दिएका छन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले वर्तमान संविधानले सबै किसिमको विभेद अन्त्य गरेकाले सबैको हक अधिकार सुरक्षित रहेको बताउए ।

बढ्दो चिसोका कारण विद्यालय बन्द

पर्सा, मंसिर २५ । पर्सा जिल्लामा अत्याधिक चिसो बढ्दै गएपछि त्यहाँका जनजीवन प्रभावित हुन थालेका छन् । यसरी चिसो बढ्दै गएपछि त्यहाँका धेरैजसो विद्यालयहरु आजदेखि बन्द भएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेको अध्यक्षतामा दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्न निर्णय गरेको हो । लगातार छ दिनदेखिको शीतलहर र त्यसबाट बढ्दै गएको चिसोबाट बालबालिका बिरामी हुन थालेपछि एक साताका लागि जिल्लाका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रजिअ घिमिरेले जानकारी दिए । बढ्दै गएको चिसोका कारण सर्वसाधारणको दैनिकी समेत प्रभावित भएकाले सर्वसाधारणलाई राहत दिन उपमहानगरपालिका, नगरपालिका तथा गाविसमा आगो ताप्न काठको प्रबन्ध मिलाउन सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको प्रजिअ घिमिरेले बताएका छन् । बैठकले जिल्लामा रहेको अस्पताल तथा स्वास्थ्य चौकीलाई बढ्दो शीतलहरबाट प्रभावित भई बिरामी हुने जिल्लावासीको औषधि उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालयलाई समेत निर्देशन गरिएको छ । लगातार छ दिनदेखि लागेको कुहिरो र लगातार चल्ने बतासका कारण तापक्रम झदै गएपछि बारा पर्साको जनजीवननै प्रभावित भएको छ । बढ्दो चिसोका कारण कोल्ड डाइरिया, ज्वरो, रुघाखोकी र स्वासप्रस्वासका बिरामीको सङ्ख्या बढेको छ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा खासगरी जिल्लाको ग्रामीण भेगबाट बालबालिका तथा वृद्धवृद्धा बढी बिरामी भई अस्पताल भर्ना भएको चिकित्सकले जनाएका छन् ।

स्वर्ग जाने बाटो सहज हुने भन्दै गाउँको बाटो बनाउन तातिए ९२ वर्षीय वृद्ध

सोलुखुम्बु, मङ्सिर २५। चौलाखर्क–८ सोलुखुम्बुका ९२ वर्षीय भीमबहादुर बस्नेतले सामाजिक सुरक्षा भत्ताबापत पाएको रकमबाट गाउँमा पाँच किलोमिटर गोरेटो बाटो मर्मत तथा सरसफाइ गराएका छन् । बस्नेतले गत वर्ष प्राप्त गरेका एक वर्षको सामाजिक सुरक्षा भत्ताबापतको रकम रु १२ हजार खर्च गरेर खाजाको व्यवस्था गरी स्थानीय युवामार्फत बाटो मर्मत तथा सरसफाइ गरेका हुन् । स्थानीय मानबहादुर बस्नेतका अनुसार वृद्धले खाजाको व्यवस्था गर्छु तिमीहरु बाटो मर्मत गर भनेपछि गाउँका ३० भन्दा बढी युवायुवती मिलेर बाटो मर्मत गरेका हुन् । उनीहरुसँग वृद्ध बस्नेत पनि कोदालो लिएर बाटो मर्मत गर्न निस्कएका थिए । गाउँका मानिस आवातजावात गर्ने तथा बालबालिका हिमगङ्गा उच्च मावि जाने सो बाटो जीर्ण बनेकाले मर्मत गर्नुपर्छ भन्दै वृद्ध भीमबहादुरले गत वर्ष गाउँ परिषद्मा बजेट माग गरेका थिए तर बजेट प्राप्त नभएपछि गत वर्ष मासिक रु एक हजारका दरले प्राप्त गरेको भत्ता खर्च गरेर युवामार्फत बाटो मर्मत गरेका हुन् । बाटो मर्मत पछि वृद्ध बस्नेतले भन्नुभयो “यस वर्ष त झनै महिनाको रु दुई हजार भएको छ, अर्को वर्षसम्म बाँचे भने यो वर्षको रु २४ हजार पनि गाउँमा बाटो सजिलो बनाउन खर्चन्छु ।” बस्नेतले गाउँमा बाटो बनाउँदा पछि आफू स्वर्ग जाने बाटो सहज हुने विश्वास व्यक्त गरे। रासस  

जाडोले जनजीवन प्रभावित

धनगढी, मंसिर २४ । पछिल्लो केही यता मध्यपश्चिममा बढेको हुस्सु र कुहिरोसंगै चलेको शीतलहरकार र कठ्याङ्ग्रिने जाडोले त्यहाँको जनजीवन प्रभावित बनेको छ । कैलालीलगायतका जिल्लाहरुमा दिनहुँ घाम नदेखिने गरी लाग्ने हुस्सु र शीतलहरका कारण बढेको जाडोले वृद्धवृद्धा, विद्यालयका छात्रछात्रा र मुक्तकमैया प्रभावित बनेका हुन् । जाडो बढेकाले न्यानोका लागि आगो ताप्न दाउरा अभावको समस्या सर्वसाधारणले झेलिरहेका छन् । शीतलहर अझै केही दिन यथावत् रहेमा गोलभेँडा, आलु तोरी लगायतको हिँउदे बालीमा डढुवा रोगको सङ्क्रमण देखिने कृषि प्राविधिकले बताएका छन् । विगत चार दिन अघिसम्म न्यूनतम तापक्रम १५ डिग्री सेल्सियस आसपास रहेकामा न्यूनतम् तापक्रम बढ्दै जाँदा हिजोआज ८ डिग्री सेल्सियसको आसपास पुगेको अत्तरियास्थित जल तथा मौसम विज्ञान कार्यालय प्रमुख राममणि मिश्रले बताए । निरन्तर लाग्ने हुस्सुका कारण आकासबाट देखिने अवस्था कम भएकाले हवाई उडान समेत प्रभावित हुने गरेको विमानस्थल कार्यालयका प्रमुख छविसिं ठकुल्लाले जानकारी दिए ।

कर्णालीका लागि प्रधानमन्त्रीका यी १० घोषणा

सुर्खेत, म‌ंसिर २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेत जिल्ला लगायत समग्र कर्णाली क्षेत्रको आर्थिक उन्नति र विकासका लागि बिभिन्न बुँदामा कार्ययोजना बनाएक छन् । बिहिबार कर्णाली एक्सपो २०७३ अन्तराष्ट्रिय मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक बर्षको वजेट मार्फत  कर्णालीका जनताको बिकाशको लागि बिभिन्न कार्यक्रम व्यवस्था गर्ने बताएका हुन् । उनले बताएका १० कार्यक्रम यस्ता छन् । १.हुम्लाको सदरमुकाम सिमिकोटलाई उत्तरी नाका हिल्सासंग जोडने सडक निर्माण सम्पन्न गर्न नेपाली सेनाद्धारा निर्माणाधिन खुलालुलैफु कालीकोटवाट सिमीकोटसम्मको सडकका लागि बजेट व्यवस्था भई सकेको छ । डोल्पा सदरमुकामलाई एकवर्ष भित्र र हुम्ला सदरमुकामलाई दुई बर्ष भित्र सडक सन्जालमा जोडिने कार्यक्रम रहेको छ । २.कर्णाली लगायतका विभिन्न भौगालिक क्षेत्रमा जैविक विविधताको संरक्षण, राराताल क्षेत्रमा पर्यापर्यटन विकास तथा जडीबुटी प्रशोधन र व्यवसायिक उत्पादन बृद्धिका लागि ज्ञान शीप प्रविधी र अनुदान उपलव्ध गराइनेछ । सार्वजनिक निजी साझेदारीमा सुर्खेतमा जडीबुटी र जुम्लामा स्याउ प्रशोधन केन्द्र स्थापना गरिनेछ । ३.कर्णाली लगायतका हिमाली र उचच पहाडी क्षेत्रमा आवासीय विद्यालय विस्तार गरिने नीति रहेको छ । यसको कार्यान्वयनका लागि पहल गर्नु हुनेछ । ४.अछाम, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, दैलेख, क्षेत्रलाई समेटेर पर्यटनको एकिकृत विकासका लागि कुसेमुसे चाखुरे पर्यटन एकिकृत विकास कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ। यसमा समवद्ध सवैले पहल गर्नका लागि आग्रह गर्दछु । मैले याहा उल्लेख गरेका वाहेक पनि धेरै कार्यक्रमहरु बजेट तथा कार्यक्रममा परेका छन । सरकारी निकाय र तपाई निजी क्षेत्रका संघ संस्थाहरुले पहल गरी कार्यान्वयनमा ल्याउन आग्रह गर्दछु । अन्य तपाईहरुले सुझाव गरेका र माग राखेका तपसिलका कार्यक्रमहरुलाई तपसिल बमोजिम सम्वोधन गर्न चाहान्छु ।   १) कर्णाली क्षेत्रको प्रवेश विन्दुको रुपमा रहेका सुर्खेतमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा बिशेष योजना तथा कार्यक्रम मार्फत सम्वोधन गरिनेछ । साथै प्रदेश नं. ६ को लगानीका सम्भावनाहरुलाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने तथा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक प्रकया आरम्भ गरिनेछ । यस क्षेत्रमा संभाव्यताका आधारमा सिमेन्ट कारखाना लगायतका कारखाना स्थापना गर्न प्रोत्साहन गरिनेछ । २) सुर्खेत—नेपालगञ्ज रत्न राजमार्गलाई दुई लेन बनाउने सम्वन्धमा र सुर्खेत —सल्यान—दांग सडकको स्तरोन्नति गरी डबल लेन बनाउन आवश्यक प्रक्रिया शुरु गरिनेछ । त्यस्तै गरी सुर्खेत दैलेख हुँदै महाबु कालिकोट जुम्ला डबल लेन सडक निर्माण कार्यको आवश्यक प्रकृया थालनी गरिनेछ । ३) सुर्खेत लगानी वर्ष २०७३ द्धारा प्रस्ताव गरिएका ठूला लगानीका क्षेत्रहरुमा राष्टिय तथा अन्तर्राष्टिय लगानी भित्र्याउनका लागि नेपाल सरकारका तर्फबाट ठोस पहल गरिनेछ । ४) सुर्खेतको विद्युत प्रशारणलाई १३२ केभीए विद्युत प्रशारण लाईनमा अविलम्ब जोडने माग सम्वोधन गर्न आवश्यक प्रकृया थालनी गरिनेछ । ५) विभिन्न कारणले रोकिएका चौकुने सिमेन्ट कारखाना तत्काल संचालनमा ल्याउन पहल गरिनेछ । माथिल्लो कर्णाली जलविद्युत आयोजना संचालनमा प्रकृयामा रहेको छ । नलसिड.गाड जलविद्युत सञ्चालनका ल्याइनेछ । सरकारका तर्फबाट सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको विस्तृत संभाव्यता अध्ययन गरि आगामी नीति तथा कार्यक्रमहरुमा समावेश गरिनेछ । ६) विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेटोल पदार्थ उत्खनन् प्रक्रिया अविलम्ब अगाडि बढाइने । ७) मुगुको रारा ताल, डोल्पाको शे फोसुण्डो, दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथलगायत यस क्षेत्रमा पर्यटन लगानी आकर्षण गर्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याइने छ । ८) चीनसंग जोडिएका कर्णालीका मुगुको गमगढी– नाक्चेनाङ्ला, हुम्ला सिमिकोट–लिमी–लाप्चा, हुम्ला सिमिकोट–हिल्सा र डोल्पा दुनै– धो–मुरिम्ला नाकाखोल्न पहल गरिने छ । ९) हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्र संगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग उपलव्ध गराइने छ । जाजरकोट र कालिकोटमा प्रशस्त पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापनाका संभाव्यता अध्ययन गरी सो को आधारमा आवश्यक व्यवस्था मिलाईने छ । १०) एक प्रदेश एक मेडिकल कलेजको अवधारणा अनुरुप यस आर्थिक बर्षमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिनेछ, सबै प्रदेशमा पोलिटेक्निकल इन्ष्टिच्यूट स्थापना गरिनेछ ।

संयुक्त युवा, विद्यार्थीले थप आन्दोलन गर्ने घोषणा

काठमाडौँ,  मङ्सिर २४ । संयुक्त युवा तथा विद्यार्थी संगठनले संविधान संशोधन प्रस्तावको विरोधमा थप आन्दोलन घोषणा गरेका छन् । व्यवस्थापिका–संसद्का संशोधन प्रस्ताव दर्ता लगत्तै आन्दोलित भएका उनीहरुले आज युवा सङ्घ नेपालको कार्यालयमा पत्रकारसम्मेलन गरी थप आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले प्रस्तावको विरोधमा शुक्रबारदेखि सोमबारसम्म विभिन्न आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । अनेरास्ववियुका अध्यक्ष नबिना लामाका अनुसार शुक्रबार नयाँ बानेश्वरमा खेलाडीको प्रदर्शन, शनिबार वैदेशिक हस्तक्षेप रोक्नका लागि परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने, आइतबार माइतीघरदेखि नयाँ बानेश्वरसम्म दौड जुलुस र सोमबार संशोधनका विपक्षमा सडक बहस गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ । उनले संशोधनले देश विघटन गराउने भएकाले नेपाललाई एउटै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बनाउनका लागि आन्दोलन गर्नु परेको बताइन् । युवा सङ्घका अध्यक्ष राजीव पहारीले संशोधन विधेयकले नेपालको राष्ट्रिय अखण्डतामाथि आँच आउने भएकोले राष्ट्र बचाउनका लागि आन्दोलन गर्नु परेको बताउनुभयो । उहाँले विधेयक फिर्ता नभएसम्म आन्दोलन जारी राखिने जानकारी गराए । पत्रकारसम्मेलनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका अध्यक्ष निरज लबजुले संशोधनले मुलुकको स्थापित सामाजिक सद्भावलाई बिथोल्ने भएकाले प्रस्ताव फिर्ता लिनुपर्ने बताए । रासस

गठबन्धन तथा थरूहट थारूवान्द्वारा कैलाली बन्द

कैलाली,  मङ्सिर २४ । सङ्घीय गठबन्धन तथा थरूहट थारूवान् सङ्घर्ष समितिले आज कैलाली बन्द गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारले ल्याएको अपूरो संविधान संशोधनको विरोधमा व्यापार, व्यवसाय, उद्योग, शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी संस्था तथा यातायात एक दिनका लागि बन्द गरिदिन अनुरोध गरिएको एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । सङ्घीय गठबन्धन तथा थरूहट, थारूवान् सङ्घर्ष समिति कैलालीका कार्यवाहक अध्यक्ष कृष्णकुमार चौधरीले बन्दको अवज्ञा गरी भएको क्षतिमा स्वयम् व्यवसायी वा राज्य जिम्मेदार हुनेसमेत बताएका छन् । बन्दमा अति आवश्यकीय सवारीसाधन एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, पत्रकार, कूटनीतिक नियोगलाई भने छुट गरेको बताइएको छ । रासस

यसकारण भयो भोजपुर उडान बन्द

भोजपुर, मङ्सिर २४ । भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्सातले गर्दा रोकिएको काम मङ्सिर २४ गते अर्थात् आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए । कालोपत्रको कामका लागि ४० भन्दा बढी कामदार र इन्जिनियर काममा खटाइसकिएको छ भने आवश्यक निर्माण सामग्रीसमेत जुटाइसकिएको छ । विसं २०३६ यता सञ्चालनमा आएको एक मात्र विमानस्थल स्तरोन्नति र कालोपत्रको काम ३ वर्षअगावै ०७१ असारमा सुरु भएको थियो तर भूकम्प, नाकाबन्दी र बर्सातमा सडक हिलाम्मे भएर ढुवानी समस्या भएपछि म्याद गुज्रिएको ६ महिना बितिसक्दासमेत काम सम्पन्न हुन सकेको थिएन । पाँचसय ४५ मिटर लम्बाइ र २० मिटर चौडाइ रहेको विमानस्थल आगामी फागुन २५ गतेसम्मका लागि बन्द हुन लागेको हो । कालिका प्यासिफिक जेभी कन्सट्रक्सनले रु पाँच करोड २१ लाखमा निर्माणको जिम्मेवारी लिएको छ । चाँडै कालोपत्र सकिने र नियमित उडान हुने अपेक्षा स्थानीयवासीले गरेका छन् । रासस

महोत्तरीमा शीतलहर सुरु

गौशाला,  मङ्सिर २४ । तराईका विभिन्न जिल्लामा बढ्दै गएको चिसोसँगै महोत्तरीमा पनि जोरसोरले शीतलहर शुरु भएको छ । करिब एक सातादेखि जिल्लामा चिसोले आफ्नो रुप देखाए पनि आजदेखि झरी झै‌ं शीतलहरको वर्षा हुन थालेको छ । बाक्लो हुस्सु, चिसो हावा र शीतलहरको बीच जिल्लाको जनजीवन निक्कै प्रभावित भएको छ । शीतलहरको कारण गाउँबस्ती तथा सहरबजारमा मानवीय चहलपहलमा कमी आएको छ भने सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । बिहीबारदेखि जिल्लामा सूर्यसमेत देखापरेको छैन भने जाडो अब सहन नसकिने भएर ठाउँठाउँमा स्थानीयवासीले आगो तापेर बस्नुपरेको छ । शीतलहरसँगै बढेको चिसोले जिल्लाका मानिसका साथै वस्तुभाउ र बालीनाली पनि प्रभावित भएको छ । यस शीतलहरका कारण विशेषगरी सडकमा बसी माँगी खाने, बौलाहा र अति गरिब व्यक्ति बढी प्रभावित भएका छन् । तर अहिलेसम्म चिसोकै कारण महोत्तरीमा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएका छन् । रासस

खाडी मुलुक जाने कामदारमाथि बढ्दाे ठगी

काठमाडौँ, मंसिर २३ । मलेसियामा रोजगारीका लागि जाने नेपाली कामदारसँग विभिन्न नाममा बढी रकम उठाउने कार्यमा संलग्न वान स्टप सेन्टर (ओएससी), आइएससी लगायत संस्थाको काम कारबाही तत्काल रोक्न संसदीय समितिले दिएको निर्देशन दुई हप्ता बित्दा समेत कार्यान्वयन हुन सकेको छैन । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको गत मंसिर ९ गते बसेकोे बैठकले ती संस्थाको गतिविधि अवैधानिक भएको ठहर गर्दै तत्काल रोक्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । समितिको निर्णयमा ‘नेपाल सरकारको अनुमति बिना मलेसिया जाने नेपाली कामदारसँग आइएससी, वान स्टप सेन्टरलगायतका नाममा अनधिकृत ढङ्गले रकम असुल्ने कम्पनीको काम कारबाही तत्काल रोकी छानबिन गरी कानुनअनुसार कारबाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई निर्देशन दिने’ भनिएको छ तर निर्देशन दिएको दुई हप्ता बित्दा समेत ती संस्थाले आफ्ना गतिविधि जारी राख्दै दिनहुँ सयौँ व्यक्तिबाट रकम उठाउने कार्य जारी राखेका छन् । मलेसियाका लागि प्रवेशाज्ञा शुल्क रु ७०० मात्रै भए पनि ओएससीले प्रवेशाज्ञाका लागि कामदारबाट राहदानी सङ्कलन गरेको र केही शब्द लेखेकै भरमा रु छ हजार ७०० उठाइरहेको छ । यसअघि मलेसियाको प्रवेशाज्ञाका लागि रु ७०० मात्रै तिर्नुपर्नेमा तीन वर्षअघि भिएलएन नेपाल नामक कम्पनीले प्रवेशाज्ञाका लागि राहदानी र कागजपत्र सङ्कलन गर्ने भन्दै थप रु तीन हजार २०० लिएर नेपालीबाट तीन हजार ९०० असुल्न सुरु गरेको थियो। सो रकममा समेत वृद्धि गरी गत भदौ ३० गतेदेखि ओएससीको नाममा कामदारबाट थप दुई हजार ८०० उठाउन थालिएको छ । त्यस्तै, आइएससी नामको अर्को संस्थाले पनि गत भदौ ३० गतेदेखि नै महाराजगञ्जमा कार्यालय स्थापना गरी कामदारको औँठाछाप लिएको नाममा प्रतिकामदार रु तीन हजार २०० थप असुलिरहेको छ । वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव रोहन गुरुङले बायोमेट्रिक, माइग्राम, भिएलएन, ओएससी लगायतका नाममा बिचौलियाले मलेसिया जाने कामदारमाथि वार्षिक करिब रु एक अर्ब ३९ करोड थप आर्थिक व्ययभार पारिरहेको बताएका छन् ।उनले भने– ‘समितिको निर्देशनपछि हामीले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई भेट्यौँ । उनीहरुले ती संस्थालाई कारबाही हुने भन्दै छानबिनको जिम्मा महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाई दिइएको छ भन्नुभयो, तर अझै कारबाही भएको छैन ।’ गृहमन्त्रालयका सहसचिव कृष्णबहादुर राउतले मलेसिया जाने कामदारबाट बढी रकम असुल्ने एजेन्सीमाथि कारबाही थाल्न समितिले निर्देशन दिएपछि मन्त्रालयले सम्बन्धित सबै पक्षसँग छलफल गरिसकेको जानकारी दिएका छन् । उनले भने– ‘सरोकारवालासँगको छलफल सकियो, अब एक–दुई दिनमा यसबारे प्रतिवेदन तयार हुन्छ ।’ संसदीय समितिले नेपाल सरकारको सम्बन्धित निकायको पूर्व स्वीकृति बिना जिएसजी सर्भिसेज नेपाल प्रालि, भिएलएन नेपाल प्रालिलगायतका कम्पनी दर्ता गर्ने कार्यमा संलग्न कर्मचारीलाई समेत कानुनबमोजिम कारबाही गर्न उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । तीन वर्षअघि नेपाली कामदार मलेसिया जान प्रवेशाज्ञाका लागि रु ७०० र स्वास्थ्य परीक्षणका लागि रु दुई हजार ६०० मात्रै तिर्नुपथ्र्याे । बिचौलियाको चलखेल र सरकारी उदासीनताका कारण सो रकममा उल्लेख्य रुपमा वृद्धि हुँदै अहिले रु १७ हजार पुगेको छ । मलेसियाको सरकारले नभई निश्चित स्वार्थ समूहले विभिन्न नामका एजेन्सी खडा गरी यो रकम वृद्धि गरेका हुन् ।

नेपाल प्रेस काउन्सिलद्धारा दृष्टि साप्ताहिकसंग स्पस्टिकरण माग

काठमाडौं, मंसिर २३ । नेपाल प्रेस काउन्सिलले दृष्टि साप्ताहिकसंग प्रकाशित समाचारप्रति स्पस्टीकरण माग गरेको छ । प्रेस काउन्सिलले एक पत्र काट्दै दृष्टि साप्ताहिकको समाचारमा ‘आइजी बनाउँछु भन्दै रकम असुल्दै ’ र ‘प्रचण्डका १९ सल्लाहाकार’ विषयको समाचारमा प्र्रधानमन्त्रीको स्वकीय सचिवालयका कर्मचारीको चरित्र हत्या प्रयास भएको भनी प्रधानमन्त्रीको स्वकीय सचिवालयका कर्मचारीबाट उजुरी दर्ता भएको र सो विषयमा के भएको हो भनी दृष्टि साप्ताहिकलाई ७ दिनभित्र  स्पस्ट जवाफ दिन आदेश दिएको छ । प्रधानमन्त्रीको स्वकीय सचिवालयमा कार्यरत दलबहादुर विकले मंसिर २१ गते ती दुई शिर्षकका समाचार कपोकल्पित, भ्रामक र चरित्र हत्या गर्ने खालको भन्दै समाचार छापिएको ठाउँमा क्षमायाचानासहितको खण्डन र आवश्यक कारवाहीको लागि प्रेस काउन्सिलमा उजुरी गरेका थिए ।

मानव अधिकार उल्लङ्घनका ६४ घटना

भोजपुर,  मङ्सिर २३ । भोजपुरमा मानव उल्लङ्घनका ६४ घटना सार्वजनिक गरिएको छ । आज अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), भोजपुरले सदरमुकाममा आयोजना गरेको एक कार्यक्रममा यस्तो बताइएको हो । सन् २०१६ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा हत्या १०, बलात्कार १५, बहुविवाह दुई, घरेलु हिंसा १३, दुव्र्यबहार पाँच, कुटपिट ११, धम्की पाँच, बालविवाह एक, यातना एक र जबर्जस्ती एक गरी ६४ वटा घटना घटेको इन्सेक प्रतिनिधि किरण राईले जानकारी दिए  । कार्यक्रममा बोल्ने अधिकांश वक्ताले वैदेशिक रोजगारीको कारणले बढी हिंसा निम्तिएको बताएका छन् । कार्यक्रममा अर्धवार्षिक पूर्वसमीक्षाको कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो । रासस

राप्रपाका पूर्वकेन्द्रीय सदस्य बस्नेतको निधन

काठमाडौँ,  मङ्सिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य हरिकुमार बस्नेतको अर्बुद रोगका कारण ७१ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार निधन भएको थियो भने बुधबार दाहसंस्कार गरियो । तारकेश्वर नगरपालिका–१५ (साविक धर्मस्थली–९) निवासी बस्नेत विगत आठ महिनादेखि घाँटीको क्यान्सरबाट पीडित थिए। अस्वस्थताका कारण उहाँ राप्रपा (नेपाल)सँगको एकता कार्यक्रममा भने सहभागी हुन सकेका थिएनन् । उनी नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दनिकट मानिन्थे । कानुन व्यवसायी र समाजसेवीसमेत रहेका बस्नेत काठमाडौँ जिल्ला विकास समितिका पूर्व सदस्य पनि थिए। उनका दुई श्रीमती, तीन छोरा र दुई छोरी छन् । रासस

ट्र्याक्टरको ठक्करबाट महिलाको मृत्यु, चालक फरार

गौशाला, मङ्सिर २३ । महोत्तरी जिल्लाको धिरापुर गाविसमा बुधबार ट्र्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मटिहानी–५ बस्ने प्रगास यादवकी पत्नी ४२ वर्षीया पुकारीदेवी यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए । वनबाट आफ्नो घर जाँदै गरेकी यादवलाई धिरापुरबाट मटिहानीको विग्ही नदीमा माटो लिन जाँदै गरेको ज १ त २३०९ नंको ट्र्याक्टरले धिरापुर–९ स्थित बाटोमा पछाडिबाट ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते महिला यादवलाई उपचारका लागि भारत विहारको मधवापुर सहरमा लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी उपरीक्षक उपाध्यायले बताए । घटनापश्चात् प्रहरीले ट्र्याक्टर नियन्त्रणमा लिएको छ भने चालक फरार भएको र उनको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस