दोलखामा १९ महिनामा २३ वटा मात्र विद्यालय निर्माण

 

एमालेसँग यसकारण विच्कियो मधेसी मोर्चा, एमालेलाई सप्तरीमा कार्यक्रम गर्न रोक

सप्तरी, मंसिर २० । सप्तरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले एमालेलाई कार्यक्रम गर्न बन्देज गरेको छ । आइतबार बसेको मोर्चाको बैठकले यस्तो निर्णय गरेको मोर्चाका संयोजक अमरनाथ मण्डलले प्रेस विज्ञप्ती निकालेर जानकारी दिएका छन् । ‘एक–डेढ वर्ष यता एमाले अध्यक्ष केपी ओली लगायत शीर्ष नेताले मधेस आन्दोलन र मधेसका बारेमा नकारात्मक टिप्पणी गरेकाले एमालेको व्यवहार परिवर्तन नभएसम्म सप्तरीमा उसका कार्यक्रममा निषेध गरिएको उल्लेख छ ।’ । एमालेले मधेस आन्दोलनलाई बदनाम गरेको आरोप लगाइएको छ । एमालेको कार्यक्रम निषेध गर्न मोर्चा आवद्ध दलका नेता कार्यकर्तालाई विज्ञप्ती मार्फत आह्वान समेत गरिएको छ । फाइल तस्वीर

करोडौँ मूल्यको तस्करी गरिएको दाल प्रहरीद्धारा बरामद

वीरगन्ज, मङ्सिर २० । सीमावर्ती भारतको खमिया गाउँबाट अवैधरुपमा तस्करी गरी नेपालतर्फ ल्याइँदै गरेको करोडौँ मूल्य बराबरको मासको दाल आज बिहान पर्सा प्रहरीले समातेको छ । भारत पश्चिमी चम्पारनको खमिया गाउँको बाटो भएर छवटा भारतीय नम्बरको ट्र्याक्टरमा अवैधरुपमा ल्याइरहेको करिब रु एक करोडभन्दा बढी मूल्यको साढे १३ सय बोरामा रहेको करिब ४० हजार किलो मासको दाल पर्सा प्रहरीले आज बिहान ४ बजे समातेको हो । पर्साका प्रहरी उपरीक्षक गोविन्द साहको नेतृत्वमा गएको टोलीले जिल्लाको जानकी नगर–९ बाट सो दाल पक्राउ गरेको हो । सो दाल कस्को हो खुल्न सकेको छैन । समातिएको सो दाल छानबिन गरी भन्सार कार्यालयमा बुझाउने भनेर जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएको छ । रासस

जुवाको खालबाटै होटल सङ्घका अध्यक्ष सहित ७ पक्राउ

सुरुङ्गा (झापा), मङ्सिर २० । होटल व्यवसायी सङ्घ झापाका अध्यक्ष भोला उप्रेतीसहित प्रहरीले गएराति सात जनालाई जुवा खेली रहेको अवस्थामा पक्राउ गरेको छ । विर्तामोडस्थित सन्दिप होटलमा जुवाको खालबाटै उनीसहित एक सहकारी संस्थाका ऋण अधिकृत टङ्क भेटवाललाई पनि प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो । उनीहरुको साथबाट नगद रु एक लाख ७५ हजार बरामद गरेको छ । झापामा लामो समयदेखि जुवा खेलाउँदै आएको विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय विर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको छ । रासस

सर्वदलीय बैठकमा दलका आआफ्नै अडान

काठमाडौँ, मङ्सिर २० । राष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक अवस्थाकाबारेमा छलफल गर्न बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले आआफ्नै अडान दोहो¥याएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको चार घन्टा लामो छलफलमा सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षका दलले आफ्नै अडान दोहो¥याएको बैठकमा सहभागी नेताले बताएका छन् । संविधान संशोधनको प्रस्ताव व्यवस्थापिका–संसद्मा दर्ता भएपछिको पछिल्लो राजनीतिक अवस्थाका बारेमा बुझ्न र अवगत हुन राष्ट्रपति भण्डारीले छलफलका लागि दलका शीर्ष नेतालाई बोलाउनुभएको थियो । बैठकमा मधेसकेन्द्रित दलका नेताले संशोधनको विधेयक अपुग भएको भन्दै थप परिमार्जनको माग गरेका थिए । संविधान संशोधन र परिमार्जन नभएसम्म वर्तमान समस्या समाधान नहुने भएकाले संशोधन विधेयकमा परिमार्जनको माग गरेको सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिनुभयो । संविधान परिमार्जन नगरी जबर्जस्ती अघिबढे थप सङ्कट र द्वन्द्व निम्तने धारणा राख्दै अध्यक्ष यादवले भन्नुभयो, “संशोधन विधेयकको यथास्थितिमा कुनै पनि निर्वाचन सम्भव छैन । विधेयक परिमार्जन भएर आओस् भन्ने हामीले धारणा राख्याँै ।” मधेसकेन्द्रित दलको मागपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पनि संशोधनको प्रस्तावलाई सहमतिमा परिमार्जन गर्न सकिने आश्वासन दिनुभएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीको आश्वासनले संवाद र सहमतिको बाटो खोलेको उहाँको धारणा थियो । बैठकमा राष्ट्रपति भण्डारीले सबै दल मिलेर वर्तमान समस्या समाधान गर्नुपर्छ भन्ने शुभेच्छा व्यक्त गर्नुभएको थियो । नेकपा (माले)का महासचिव सिपी मैनालीका अनुसार मधेसकेन्द्रित दलका एक नेताले बैठकमा “तत्काल समस्या समाधान गरिएन भने आज त मधेसी गुमाउनु होला तर एकदिन यस्तो पनि आउला मधेस नै गुमाउनुपर्ने हुनसक्छ” भन्नुभयो । बैठकमा नेकपा (एमाले) लगायत प्रतिपक्ष दलका नेताले प्रतिपक्षलाई अलग्याएर एकलौटी रुपमा ल्याइएको संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने माग गरेका थिए । “सीमाङ्कनको हेरफेर गर्ने अधिकार हालको संसद्लाई छैन, त्यसैले संशोधन फिर्ता लिनुपर्छ”– नेता मैनालीले भन्नुभयो । संशोधनका कतिपय कुरा वर्तमान संविधानमा नै भएकाले संशोधन आवश्यक नभएको प्रतिपक्ष दलको धारणा थियो । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद्मा दर्ता भएको विधेयक समस्या समाधानका लागि आवश्यक रहेकाले पारित गर्न आग्रह गर्नुभएको थियो । रासस

एटिएमबाट पैसा चोर्न विदशी सिपालु

अच्युत रेग्मी काठमाडौँ, मंसिर । युरोपेली महादेशका विभिन्न मुलुकका व्यक्ति अत्याधुनिक उपकरण बोकेर नेपाल आउने र विभिन्न बैँकका एटिएमभित्र पसेर मोटो रकम निकाल्ने गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एटिएमकार्ड प्रयोग गरी रकम निकाल्ने अधिकांश विदेशी आपराधिक पृष्ठभूमिका व्यक्ति भएको जनाएको छ । यो क्रम नेपालमा विस २०७१ मंसिरदेखि सुरु भएको हो । अत्याधुनिक उपकरण लिई पर्यटकीय भिसामा नेपाल आउने त्यस्ता व्यक्तिले जमल, असन, ठमेल, दरबारमार्गलगायतका क्षेत्रका विभिन्न बैँकका एटिएममा पसेर मोटो रकम निकाल्ने गरेको ब्यूरोले जनाएको छ । ब्यूरोले हालसम्म विभिन्न बैँकको एटिएमभित्र छिरेर मोटो रकम निकालेको आरोपमा तीन टर्केली, दुई बुल्गेरियाली र चार रोमानियालीसहित नौ युरोपेली नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोले पछिल्लो दुई महिनामा ६ जनालाई पक्राउ गरेकामा सबै आपराधिक पृष्ठभूमिका रहेको प्रहरी निरीक्षक गोविन्द थापाले जानकारी दिनुभयो । कात्तिक ११ गते ठमेलबाट पक्राउ परेका बुल्गेरियाली नागरिक डिमो एटानोशोभ स्टेफानो बुल्गेरियामा नै चोरी गरेको आरोपमा मुद्दा खेपिरहेका थिए । यस्तै कात्तिक १९ मा होटल नेपाल तारा ठमेलबाट पक्राउ परेका गीता हुजुम सन् २००७ मा लागु पदार्थ ओसारपसारमा दुई वर्ष ९ महिना जेल सजाय भोगेका व्यक्ति हुन् । सोही दिन पक्राउ परेका इसोफ मोरारु सन् २०१२ मा इटालीमा मानहानी मुद्दा खेपेका व्यक्ति हुन् भने एलेक्स क्रिष्टियान बुगुल्लान सन् १९९० मा रोमानियाँमा चोरीको आरोपमा तीन वर्ष ६ महिना जेल सजाय भोगेका व्यक्ति हुन् । यसैगरी कात्तिक २५ मा यलो प्यागोडा होटल जमलबाट पक्राउ परेका टर्केली नागरिक मुहारिम उजुम टर्कीमा प्रतिलिपि अधिकार उलङ्घनमा कारबाही परेका व्यक्ति हुन् भने सिलाटिन यावर अवैध हातहतियार, यौनजन्य हिंसा र सरकारी कागजत किर्तेमा जेल सजाय भोगेका व्यक्ति हुन् । ब्यूरोका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक नवराज सिलवाल बैँकिङ कसुरसम्बन्धी कानुन नेपालमा कमजोर भएकाले यस्तो घटना मौलाउँदै गएको बताउँछन् । नेपालको एटिएम संरचना कमजोर र बैँकले बेवास्ता गरेका कारण रकम चोरी हुने गरेको बताए । त्यस्ता व्यक्तिबाट नेपाली, यूरो, अमेरिकन, फिलिपिनोलगायत रु एक करोड भन्दा बढी रकम बरामद गरिएको ब्यूरोले जनाएको छ । ती व्यक्तिबाट विभिन्न कम्पनीको ल्यापटप, मोबाइल फोन, पेनड्राइभ समेत फेला पारेको छ । नेपाली बैँकका खातावालाको रकम नेपाल र भारतका एटिएम बुथबाट मात्र निकाल्न सकिने हुनाले नेपाली बैँकका खातावालको डाटा चोरी गरी नेपालबाटै रकम निकाल्न सकिने हुँदा उक्त समूह नेपालमा सक्रिय रहेको ब्यूरोले जनाएको छ ।

पीडितलाई सहयोग

सल्यान, मङ्सिर १९ । वागचौर नगरपालिका–७ सानागाडाकोटको अमृता शाहीको श्रीमान् गमाएको १५ दिन बित्दै घरमा आगलागी भएकी महिलालाई सहयोग हस्तान्तरण गरिएको छ। उनलाई स्थानीय खरीबोट बजारवासीले खरिबोट बजार व्यवस्थापन समितिको अगुवाइमा राहत स्वरुप चामल, नुन तेल, लत्ताकपडा तथा भाँडाकुडा दिएको छ । पीडित शाहीको आर्थिक अवस्था ज्यादै कमजोर भएकाले समुदायमा मानवीय भावना जगाउन सहयोग गरिएको समितिका अध्यक्ष खुमराज बुढाथोकीले जानकारी दिएको छ ।

टिपरको ठक्करबाट मृत्यु

पोखरा, मंसिर १९ । पृथ्वी राजमार्ग अन्तर्गत पोखरामा आज बिहानै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पृथ्वीचोकस्थित चाइना पुलमा ग १ ख ४३५० नं को टिपरले ग २ प १०६६ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा पोखरा–१८ खाल्टे मसिनाका १९ वर्षीय असिम गुरुङ रहेका छन् । दुर्घटनापछि गम्भीर घाइते भएका गुरुङलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेजमा पुर्याएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । टिपर चालक फरार रहेको र प्रहरीले निजको खोजी गरिरहेको बताइएको छ । गुरुङको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा,  मङ्सिर १९ । पृथ्वी राजमार्ग अन्तर्गत पोखराको पृथ्वीचोकस्थित चाइना पुलमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ग १ ख४३५० नं को टिपरले ग २ प १०६६ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा पोखरा– १८ खाल्टे मसिनाका १९ वर्षीय असिम गुरुङ सख्त घाइते भई तत्काल उपचारार्थ गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचार गर्दागर्दै मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । टिपर चालक फरार रहेको र प्रहरीले निजको खोजी गरिरहेको बताइएको छ । गुरुङको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । रासस  

प्राविधिक अध्ययनमा विद्यार्थीहरुको आकर्षण बढ्दो

पाल्पा,  मङ्सिर १९ । ग्रामीण क्षेत्रका विद्यालयमा प्राविधिक विषयका कक्षा सञ्चालन हुन थालेसँगै विद्यार्थी प्राविधिक अध्ययनप्रति आकर्षित भएका छन् । कक्षा ९ देखि प्राविधिक विषय अध्ययनका लागि बाहिरी जिल्लाका विद्यार्थी यहाँ अहिले अध्ययन गर्नेहरु बढ्दैछन् । छिटो रोजगारी पाउने उद्देश्यका साथ प्राविधिक विषय गर्र्न जिल्ला बाहिरदेखि पाल्पा आउने विद्यार्थीको चाप बढेको हो । प्राविधिक विषय अन्तर्गत, कृषिबाली विज्ञानको अध्ययन पाल्पाका ग्रामीण भेगका विद्यालयमा सञ्चालन गर्ने क्रम बर्सेनि बढेको हो । स्वास्थ्य, कम्प्युटर, कृषि, पशु, इन्जिनियरिङ, नापी जस्ता प्राविधिक विषय यहाँ अध्ययन हुन्छ । पहिलो वर्षको कक्षामा ४० र दोसो वर्षको कक्षामा ४० जनाले अध्ययन गर्छन् । कृषिबाली विज्ञानका कक्षा ग्रामीण भेगका विद्यालयमा मात्र सञ्चालित छन् । छहरा गाविसस्थित नवदीप माविमा कृषिबाली विज्ञान अध्ययन गर्नका लागि रोल्पा, रुकुम, जाजरकोट, गोरखालगायत जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएको अध्यक्ष श्रीकृष्ण आत्रेयले बताए । पालुङमैनादी गासिवस्थित प्रभात माविमा कृषिबाली विज्ञान विषय सञ्चालनमा आएपछि पाल्पासहित रुकुम, रोल्पा, सल्यान, गुल्मी, अर्घाखाँचीलगायत जिल्लाका ४० विद्यार्थीले अध्ययन गर्ने अवसर पाएको विद्यालयका प्रअ रमेश भट्टराईले बताए । विद्यालयका सल्लाहकार समितिका अध्यक्ष डुलबहादुर कुँवरले कृषि विषयको अध्ययनले रोजगारीका अवसर प्राप्त हुने र देशलाई आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। रासस  

सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन

बैतडी, मङ्सिर १९  । छाउपडीको अन्त्यका लागि बैतडी जिल्लामा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन गरिएको छ । महिला हिंसाको अर्को रुप मानिने छाउपडी कुप्रथा अहिले पनि समाजमा व्याप्त रहेकाले यसको अन्त्यका लागि काम गर्ने उद्देश्यले सञ्जाल निर्माण गरिएको हो । इन्द्रसरा खड्काको अध्यक्षतामा शनिबार सात सदस्य राष्ट्रिय छाउपडी महिला सञ्जाल गठन गरिएको हो जसमा पार्वती भट्ट, सरस्वती भट्ट, मीना चन्द, जानकी बोगटी, अम्बिका भण्डारी, लक्ष्मी विष्ट र वसन्ती भट्ट छन् । बैतडी जिल्लालगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा अझै पनि महिनावारी भएका बेला अलग्गै बस्नुपर्ने र दूध, दही खान नहुने परम्परा रहेको छ । छाउपडीले घरमा बस्दा देवता रिसाउँछ भन्ने पुरातनवादी सोचले महिलाले विभिन्न किसिमका समस्या सहेर बस्नुपरेको छ । जिल्लामा गठन भएको यो समितिले छाउपडीका बारेमा सचेतना फैलाउने कार्य गर्ने जनाइएको छ । रासस  

बालविवाह न्यूनीकरण अभियानका लागि सांसद टोली रोल्पामा

लिबाङ (रोल्पा), मङ्सिर   १९। जिल्लामा बालविवाह न्यूनीकरण गर्न भन्दै शनिबार सांसदको टोली रोल्पामा आइपुगेको छ । ‘बाल विवाह अन्तका लागि हाम्रो सामूहिक प्रयास’ भन्ने मूल नाराका साथ सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्नका लागि संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च (एनएफपिपिडी) नेपालका अध्यक्ष एवम् नेपाली काँग्रेसका सांसद महालक्ष्मी उपाध्याय डिना, सांसद सरिता प्रसार्इं र सांसद अमरसिंह पुन रोल्पा आएका हुन् । शनिबार आयोजित कार्यक्रममा सांसद डिनाले धार्मिक तथा सामाजिक मूल्य मान्यता, पारिवारिक दबाब, गरिबी, बेरोजगारी, अशिक्षा, बाल श्रम, छोरा र छोरीबीचको लैङ्गिक विभेद जस्ता विकृति र विसङ्गतिले समाजमा बालविवाह हुने गरेको बताइन् । उनले बालविवाहले किशोर–किशोरीको शिक्षा, स्वास्थ्य तथा सामाजिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रको विकासमा नकारात्मक असर पार्नेहुँदा नेपालमा बिहावारीसम्बन्धी भएका कानुनी व्यवस्थाका बारेमा सबैलाई सचेत गराउनुपर्ने बताइन्  । कार्यक्रमका सहभागीले जिल्लामा बालविवाह न्यूनीकरणका लागि भएका प्रयास र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा बृहत् छलफल गरेका थिए । हाल जिल्लामा बालविवाह न्यूनीकरणका लागि जिविस, गाविस, महिला तथा बालबालिका कार्यालय, युएनएफपिए, जिल्ला बालकल्याण समिति, सेभ द चिल्ड्रेन, हुरेक र एचफरएललगायतका सरोकारवालाको समन्वयमा २३ गाविसमा बालविवाह न्यूनीकरण अभियान सञ्चालनमा रहेको छ । रासस  

दाेलखामा स्नातक तहमा बुद्धिष्ट कलेज सञ्चालन

दोलखा, मङ्सिर १८ । आजदेखि दोलखा जिल्लाको जिरीमा संचालन हुन लागेको जिरी कलेजको एक समारोहमा उद्घाटन गरिएको छ । मानविकी विषयमा स्नातक तहको अध्ययन गराउने उद्देश्यका साथ यो कलेज सञ्चालनमा ल्याएका हुन् । सो अवसरमा जिरी बुद्धिष्ट कलेजका प्रमुख इन्द्रबहादुर खड्काले लुम्बिनी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो कलेज दोलखाको पहिलो बुद्धिष्ट कलेज भएको बताउँदै फरक पाठ्यक्रम सहित आएको यो कलेजमा भोलिबाट कक्षा सञ्चालन हुने जानकारी दिएको छ । कलेजमा अध्ययन गर्नका लागि कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

रारा तालमा ढुङ्गा चढेर घुम्न पाइने !

काठमाडौँ, मङ्सिर १९ । ‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो ।’ कुन्ती मोक्तानले गाएको उक्त गीतको परिणाम ढिलै भएपनि आन्तरिक तथा बाह्य पर्यटकले अन्ततः तालमा डुङ्गा चढ्न पाउने भएका छन् । नेपाल सरकार कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घले मुगु जिल्लालाई ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ मा आबद्ध गरेपछि सर्वसाधारणलाई शुल्क लिएर रारा तालमा डुङ्गा चढ्न अनुमति दिइएको छ। जिल्लालाई पर्यटकीय गन्तव्य स्थानका रुपमा विकास गर्ने योजना अनुरुप पहिलोपटक सर्वसाधारणका लागि शुल्क लिएर डुङ्गा सञ्चालन गरिएको कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताएमका छन् । ओभीओपी कार्यक्रम मुगु जिल्लामा पाँच वर्षसम्म लागू हुन्छ । नेपाल उद्योग वाणिज्य महासङ्घ र मुगुस्थित नेपाल उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समितिको कार्यालय र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा गत महिनादेखि तालमा डुङ्गा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको हो । यसअघि तालमा शुल्क लिएर डुङ्गा चलाउन पाइँदैनथ्यो । अहिले तीनवटा डुङ्गा सञ्चालनमा आएका छन् । डुङ्गाबाट रारा ताल घुम्दा प्रतिडुङ्गा रु ७०० शुल्क तिर्नुपर्छ भने डुङ्गामा पाँचदेखि सात व्यक्ति बस्न सक्छन् । नेपाल सरकार कृषि विकास मन्त्रालय तथा नेउवा महासङ्घ÷कृषि उद्यम केन्द्रको सहकार्यमा आव २०६३÷६४ देखि सार्वजनिक निजी साझेदारी अवधारण अन्तर्गत एक गाउँ एक उत्पादन कार्यक्रम लागू भएको छ । हाल कर्णाली अञ्चलको मुगु जिल्ला सहित ३३ र ४३ नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । मुगु जिल्लालाई एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत पर्यटकीय जिल्लाका रुपमा विकास गर्ने उद्देश्य अनुरुप ताल्चा गाविसको कार्की वडा राराको मुर्मा, तिनाको झ्यारीमा होमस्टे सञ्चालनको अन्तिम तयारी भइरहेको छ । ओभिओपी कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन र बसोबासमा सुविधा दिने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याउन लागिएको कृषि उद्यम केन्द्रका संयोजक श्रेष्ठले बताएको छ। रारा ताल कर्णाली अञ्चलको मुगु जिल्लामा् अवस्थित छ । उक्त ताल नेपालको सबैभन्दा ठूलो हो । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा छ । १०.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त तालको लम्बाइ पाँच किलोमिटर र चौडाइ ३.२ किलोमिटर तथा गहिराइ १६७ मिटर छ । रारा राष्ट्रिय निकुञ्जमा कस्तुरी, रतुवा आदि वन्यजन्तु पाइन्छ । नेपालको राष्ट्रिय पक्षी डाँफे र अन्य चराचुरुङ्गी पनि पाइन्छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । राराताल आसपास क्षेत्रमा जेठदेखि असोज महिनामा विभिन्न फूलले ढाकिएको पाइन्छ । जसले रारा तालको दृश्यावलोकनलाई लोभ्याउँछ । राराको अर्को थप विशेषता विश्वको अन्यत्र नपाउने असला (हिमाली) माछा तालमा पाइन्छ । तालको पानीमा सैपाल हिमालको साथै सिस्ने र कन्जिरोवा हिमालको छायाँ देखिन्छ । सुर्खेत–जुम्ला मोटर बाटो खुलेपछि स्थल मार्गबाट रारा जान दुई दिन लाग्छ । हवाई मार्ग नेपालगन्जबाट ४५ मिनेटमा र तालचा विमानस्थलबाट दुई घन्टाको पैदल हिँडेर रारा ताल पुगिन्छ । अहिले दैनिक झन्डै एक सय आन्तरिक तथा बाह्रय पर्यटकले सो क्षेत्रको भ्रमण गर्ने गरेको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढाले बताएको छ । ओभिओपी कार्यक्रम लागू भएपश्चात् होमस्टे सञ्चालनमा गृहिणीको व्यस्तता, युवाले ट्रेकिङ, हाइकिङ तथा ओइटरको काम र स्थानीयस्तरमा पाइने खाद्यान्नको बिक्री वितरणबाट मुगुका किसानको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ । कालीकोटको रातो मार्सीधान, जुम्ला, हुम्ला, डोल्पामा पाइने सिमी, आलु फापर र कोदो यहाँका किसानको मुख्य उत्पादन हो । सरकारले जुम्लादेखि रारासम्म जाने बाटोलाई कालोपत्रे गर्ने हो भन्ने पर्यटकको आगमनमा वृद्धि हुन्छ भने रोजगारीका लागि भारतको काला पहाडतर्फ जाने युवाको पलायन समेत रोकिन्छ, नेपाल उद्योग वाणिज्य महासङ्घ अञ्चल प्रतिनिधि नरवीर रावतले भनेका छन् ।

कर्मचारीहरुद्वारा तलब कटाएर दलित अपाङ्गलाई राहत

जाजरकोट, मंसिर १५। यहाँको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलब कटाएर दलित अपाङ्गलाई सहयोग गरेका छन् । जिल्लाको अति विकट नायक वडा– ३ गाविसका अति गरिब परिवारका विद्यार्थी २६ वर्षीय मोहनीलाल कामीलाई रु ५८ हजार ५०० सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्र विक्रम शाहीले जानकारी दिएको छ। पहल कार्यक्रममा काम गर्ने १७ जना कर्मचारीको आफ्नो तलबबाट कटाएर अपाङ्ग भएका विद्यार्थी मोहनीलाललाई सो रकम शनिबार हस्तान्तरण गरिएको हो । मोहनीलालले रकमकै अभावमा भेरी ज्ञानोदय क्याम्पसमा परीक्षाको रकम तिर्न नसक्दा बिएड प्रथम वर्षमै रहन बाध्य भएका थिए । रकम भएको भए उनले अहिले बिएड तेस्रो वर्षमा अध्ययन गर्दै रहेका थिए। मासिक फिस, परीक्षा शुल्क तिर्न नसक्दा बिएड प्रथम वर्षमै रहन बाध्य भएको मोहनीलालको भनाइ छ । मोहनीलाल आफू त अपाङ्ग हुनुहुन्छ नै ,उनका भाइ सुरेन्द्र कामी र बहिनी विजश्वरी कामी समेत अपाङ्ग भएका कारण आमाबुवाले उचित हेरचाह गर्न नसकेको मोहनीलालको भनाइ छ। अरु अपाङ्ग भएका भाइबहिनी विद्यालयको मुखै देख्न पाएका छैन्न मोहनीलालले भनेका छन् । “दैनिक अर्काको मजदुरी गरेर गुजरा चलाउने यो कामी परिवार छोराछोरी सबै अपाङ्ग भएपछि निकै चिन्तित भएको मोहनीलालका बुबा सुरेन्द्र कामीले बताएको छ ।” सबै जन्मजात अपाङ्ग भएको उनको भनाइ छ । ‘काम गरेर खाने हामी गरिब त्यसमा पनि समुदायमा कसरी अपाङ्ग छोराछोरीलाई हुर्काउने हामी दुखीलाई कसले हेर्छ’ र मोहनीलालकी आमा पम्फा कामीले दुखेसो पोखेका छन् ।

अपाङ्गता भएका बालबालिका गरिबीको रेखामुनी

काठमाडौं, मङ्सिर १८। अपाङ्गता भएका व्यक्तिको २५ औँ अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज प्रभातफेरिको आयोजना गरिएको छ । ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविष्य’ भन्ने मूल नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा मूल समारोह समितिले सुरु भएको प्रभातफेरि प्रदर्शनी मार्गस्थित भृकुटी मण्डपदेखि सुरु भएर पद्मोदय मोड, पुतली सडक हुँदै पुनः भृकुटीमण्डपमै पुगेर कोणसभामा परिणत भएको थियो । सो अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले अपाङ्गताको सवालमा संविधानमा व्यवस्था भएका अधिकारको कार्यान्वयनका साथै अपाङ्गता सम्बन्धी ऐनलाई संसद्बाट पारित गर्नका लागि सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । अपाङ्गताको क्षेत्रमा स्वास्थ्य मन्त्रालयले गर्नसक्ने कामका लागि सो क्षेत्रको अध्ययन गर्न मन्त्रालयले सम्बन्धित क्षेत्रलाई समेटेर समिति गठन गर्ने तयारी गरिरहेको मन्त्री थापाको भनाइ छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गता भएका व्यक्तिको पक्षमा सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान र प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । सन् २०१५ मा नेपालका ५९ जिल्लाका चार हजार घरधुरीमा अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सम्बन्धी गरिएको एक वृहत अध्ययनले समेत शिक्षा, स्वास्थ्य र रोजगारीलगायत न्यूनतम आधारभूत अधिकारमा अपाङ्गता भएका व्यक्तिको पहुँच अत्यन्त न्यून रहेको देखाएको छ । शिक्षा विभागको तथ्याङ्कअनुसार विद्यालय बाहिर रहेका कूल विद्यार्थीमध्ये झन्डै ८५ प्रतिशत अपाङ्गता भएका बालबालिका रहेका छन् । नेपालको राष्ट्रिय जनगणना २०६८ र योजना आयोगले त्यसै सेरोफेरोमा गरेको नेपालीको जीवनस्तर अध्ययन प्रतिवेदनले पनि कूल जनसङ्ख्याको २ देखि ३ प्रतिशत मानिसमा अपाङ्गता रहेको देखिन्छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २००६ र अपाङ्गता सम्बन्धी १० वर्षे राष्ट्रिय नीति तथा कार्ययोजनालगायत विभिन्न नीति भए पनि त्यसको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन । कुल अपाङ्गता भएका व्यक्तिको सङ्ख्याको झन्डै ८० प्रतिशत हिस्सा अल्प विकसित वा विकासोन्मुख मुलुकमा छ भने विकासोन्मुख मुलुकभित्र पनि अधिकांश अपाङ्गता भएका व्यक्ति गरिबीको रेखामुनी रहेका छन् । अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसलाई अपाङ्गता भएका व्यक्तिका अधिकारलाई विश्वभर एकसाथ उठान गर्ने, वर्षभरिका कामलाई समीक्षा गर्ने, अपाङ्गता भएका व्यक्तिको अधिकारका सवालमा जनमानसमा चेतना तथा जानकारीको अभिवृद्धि गर्ने र आगामी दिनमा त्यस क्षेत्रमा गरिने कामको बारेमा प्रतिवद्धता जनाउने दिनको रूपमा मनाइँदै आएको पाइन्छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९९२ देखि विश्वमा यो दिवस मनाउन सुरू गरिएको हो ।