लोकमानले दिए नेताहरूको शरीरको वस्त्र उतार्ने धम्की

काठमाडौं, पुस ७ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूमाथि षडयन्त्र भएको बताएका छन्।
सर्वोच्च अदालतमा कालोमोसो दलिएको केहीबेरमै आफ्नो आधिकारीक फेसबुक पेजमा वक्तव्य राख्दै उनले भ्रष्टाचारलाई जरैबाट अन्त्य गर्न खोजेकै कारण आफूविरुद्ध षडयन्त्र भएको उल्लेख गरेका छन्।
उनीमाथि कालो मोसो दलिएको करिब १५ मिनेटपछि फेसबुकमा आएको साढे पन्ध्र सय शब्दको वक्तव्य पोष्ट गरेका छन् ।
वक्तव्यमा कालो मोसोको प्रसङ्ग भने उल्लेख छैन। यो वक्तव्य हेर्दा पहिले नै तयार गरिएको र कालो मोसो दलेपछि वक्तव्य आउनु संयोगजस्तो मात्रै देखिन्छ।
यो वक्तव्य कार्कीविरुद्ध सर्वोच्च अदालतमा रहेको मुद्धामा अन्तिम सुनुवाइ सुरु भएको दिन आएको छ। सुनुवाईकै दिनलाई लक्षित गरेर यो वक्तव्य तयार पारेको देखिन्छ।
वक्तव्यमा उनले लेखेका छन्,’म यतिबेला धेरै तथ्यपूर्ण रहस्यका पोकाहरू खोल्न चाहन्नँ। तर जनताले मागेको र देशले चाहेको उपयुक्त समयमा सम्पूर्ण तथ्य विवरण जनसमक्ष पेश गर्न म हिचकिचाउने छैन।’
उनले चेतावनीको भाषामा लेखेका छन्, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखका रुपमा भ्रष्टाचार नियन्त्रणका निम्ति गरिएका प्रयासलाई अवरोध पुर्याईन्छ भने सचेत नेपाली नागरिकका रुपमा भ्रष्टाचार बिरुध्दको अभियान चलाउनु मेरो स्वभाविक कर्म हुनेछ । त्यसवेला कतिको शरीरमा वस्त्र बाँकी रहला समयले नै बताउने छ।

गाेदावरीमा कसले फाले ८० बढी मरेका गाई ?

कैलाली, पुस ६ । हिन्दूहरुको प्रख्यात तीर्थस्थल कैलाली गोदावरीमा ८० वटा भन्दा बढी मरेका गाई भेटिएका छन् । कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट टीप्परमा ल्याएर सो स्थानमा फालिएको स्थानीयवासीले बताएका छन् । ‘राति १२ बजेपछि टिप्परले बोक्दै गाई फालिएको हो,’ गोदावरीका स्थानीय धर्मसिंह साउदले भने, ‘अधिकांश मरेका र केही मर्न लागेका गाई गरी झण्डै ८० भन्दा बढी गाई मारेर फालिएको छ ।’ मंगलबार अपरान्ह ५ बजे एउटा टिप्परले केही ज्यूँदै गाई छोडेर गएको थियो । ति गाई भकाभक मर्न थालेका थिए । राति मध्यरातमा फेरि अन्य गाईहरुमा पनि फालिएको स्थानीयले बताएका छन् । प्रशासनले सडक विभागका डोजर प्रयोग गरी बिहानैदेखि गाई पुर्ने काम सुरु गरेको छ । गाईलाई कस्तो विष खुवाइएको हो भन्ने अहिले नै यकिन भइनसकेको प्रहरीले बताएको छ । यस विषयमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले प्राररम्भिक चरणमा भिमदत्त नगरपालिकाका टिप्परले गाई फालेको जानकारी आएको बताए । प्रजिअ रिजालले भने, ‘यो विषयमा छानबीन शुरु भएको छ ।’  

गोरखा पुनःनिर्माण बल्ल सुरु

गोरखा, पुस ६ । गोरखाका बारपाकसहित अन्य गाउँमा गत वैशाख १२ गते भूकम्प गएको २० महिनापछि पुनःनिर्माणले गति लिएको छ । रु.५० हजारका दरले निजी घर बनाउन पहिलो किस्ता बुझेका भूकम्पपीडितले धमाधम भूकम्प प्रतिरोधी घर निर्माण गरिरहेका छन् । बर्खाका बेला अवरुद्ध बनेका ग्रामीण सडक हिउँद लागेसँगै सञ्चालन हुँदा पुनःनिर्माणको सामग्री ढुवानीमा सहज भएको छ । अधिकांश भूकम्प पीडितले ढुङ्गा, गिट्टी, बालुवा, छड, सिमेन्टको प्रयोग गरी पिल्लर राखेर घर बनाएका छन् । भूकम्पले पिल्लर भएका घरमा कम क्षति पुर्याएको देखेका भूकम्प पीडितले ढुङ्गा, माटो, काठको जोडाइले बन्ने घरभन्दा पिल्लर सहितको पक्की घर निर्माण गरिरहेको बारपाक गाविसका सचिव चेतप्रसाद अम्गाईंले जानकारी दिए । बारपाकको ४ देखि ९ वडाका भूकम्प पीडितले धमाधम घर निर्माण रुपमा अघि बढाएका छन् । वडा नं.५ का ४० घरधुरीका भूकम्प पीडित भूकम्प गएदेखि नै विस्थापित भई वडा नं ४ को सार्वजानिक जग्गामा बसेपनि उनीहरुलाई राख्ने जग्गा खोजी गर्न नसकिएको अम्गाईंको भनाइ छ । भूकम्पले छियाछिया भएको बस्तीमा घर बनाएर ढुक्कसँग बस्न सक्ने अवस्था नरहेको विस्थापित भूकम्प पीडित उत्तम बिकले बताए । वडा नं १ को पोखरी, २ को स्नान र मान्द्रे–५ को दलित बस्तीमा घडेरी अभाव हुँदा त्यहाँका भूकम्प पीडितले घर बनाउने जग राख्न पाएका छैनन् । ‘सरकारले घर बनाउन पैसा दिनुपूर्व हामीलाई सुरक्षित ठाउँ खोजेर स्थानान्तरण गर्नुपर्ने हो तर गरेन’, उनले भने, ‘बस्न अयोग्य भनेकै ठाउँमा घर बनाउँदा फेरि अर्को प्रकोपको पीडा खेप्नुपर्ने भयो ।’ बारपाकमा अहिले करिब एक सय ७० वटा घर निर्माणका क्रममा छन् । यी घर पहिलो किस्ता रकम लिएपछि निर्माण सुरु भएका हुन् । भूकम्पले घर भत्के पनि ७८ जनाले रकम पाएनन् । एक हजार दुई सय ९४ जनाले पहिलो किस्ता रकम बुझेको सचिव अम्गाईंको भनाइ छ । ‘अनुदान पाउने सूचीमा नाम निस्केका २० जना बारपाकीलाई अनुदान रकम दिन बाँकी छ’, अम्गाईंले भने– ‘विदेशमा रहेका अनुदान लिन आएनन् ।’ २७ जना बेलायती भूतपूर्व सैनिकका परिवारलाई ब्रिटिस वेयलफेयरले घर बनाइदिएको उनको भनाइ छ । बारपाक–४ का जितबहादुर घलेका अनुसार भूकम्प पीडितले धमाधम घर बनार्इ रहेपनि निर्माण सामग्री ढुवानी गर्दा ज्यादै महँगो परेको छ । लाप्राकका समाजसेवी मारर्सिङ गुरुङले भने– ‘लाप्राकमा भूकम्प त बल्ल आएजस्तो पो भएको छ । गुप्सीबाट कुम्लोकाम्लो बोकेर गाउँले अहिले यत्रतत्र डाँडामा बस्न आए ।’ लाप्राकमा ६ सय १४ घरधुरी भूकम्पपीडित छन् । भूकम्प गएको दिनदेखि स्थानीयवासी भुमे सामुदायिक वनको जग्गामा बस्दै आएका थिए । मन्त्रिपरिषद्को बैठकले गुप्सीको जग्गा घडेरीका रुपमा भोग चलन गर्न पाउने गरी लाप्राकीलाई दिने निर्णय गरिसकेको छ । घडेरी खार्ने काम सुरु भएपछि अब छिट्टै घर, विद्यालय, स्वास्थ्यचौकी, गाविस भवन, खेलकुद मैदानलगायत संरचना निर्माण हुने भन्दै लाप्राकी खुसी छन् । श्रीनाथकोट–३ डाँडागाउँमा ८१ ओटा भूकम्प प्रतिरोधी घर निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गरिसकिएको छ । कोरियाको कम्युनिटी चेष्ट अफ कोरिया र बेटर वल्डको आर्थिक सहयोगमा अनुग्रह सामुदायिक विकास केन्द्रले जनजाति र दलित समुदायका भूकम्प पीडितलाई रु चार लाखका दरले लगानी गरी घर निर्माण गरिदिएको अनुग्रहका अध्यक्ष साधुराम नेपालीले बताए । जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीका अनुसार भूकम्पले भत्काएका चार सय ९४ ओटा विद्यालयमध्ये अहिलेसम्म चार मावि, चार निमावि सहित २९ ओटा विद्यालय पुनः निर्माण भएको छ । विद्यालय पुनः निर्माण गर्ने सम्झौता गरेका भारतीय दूतावास, चिनियाँ दूतावास, हिमानी ट्रस, जाइका, असल छिमेकी नेपाल, पोखरालगायत संघसंस्थाले समयमै विद्यालय भवन निर्माण सुरु नगर्दा विद्यार्थीलाई टहरोमा राखेर पठनपाठन गर्नुपर्ने बाध्यता छ । ‘विद्यालय बनाउन सम्झौता गर्ने तर भवनको शिलान्यास पनि नगर्ने संघसंस्थालाई छिटो काम सुरु गर्न भनेका उहाँले जानकारी दिए । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीका अनुसार भूकम्पले क्षति पुगेका ५२ स्वास्थ्य संस्थामध्ये श्रीनाथकोट, घ्याल्चोक, भुम्लिचोक र घैरुङ स्वास्थ्यचौकी भवन मात्रै पुनः निर्माण सकिएको छ । यस्तै युनिसेफ, आइएमसीलगायत सङ्घसंस्थाले स्वास्थ्यचौकी भवन बनाउने सम्झौता गरे पनि अहिलेसम्म निर्माण गरेका छैनन् । ‘स्वास्थ्यचौकी भवन निर्माण सुरु नगरेका संघसंस्थालाई पत्र काटेर छिटो भवन बनाउन निर्देशन दिएको छु’, पराजुलीले भने । जिल्ला विकास समितिका योजना अधिकृत शतिशकुमार भट्टराईका अनुसार गोरखाका ५८ हजार पाँच सय २४ पीडितमध्ये ५२ हजार पीडितका खातामा पहिलो किस्ताको अनुदान रकम पठाइसकेको छ । पहिलो किस्ता बराबरको निर्माण कार्य भएपछि दोस्रो किस्ता वितरण गर्ने भन्दै उहाँले घर निर्माणका क्रम बढेको बताए ।

फोटोसहितको मतदाता नामावली संकलन कार्यक्रम

खोटाङ, पुस ६ । जिल्ला निर्वाचन कार्यालय खोटाङले फोटोसहित मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्न एक महिने कार्यक्रम सञ्चालन गर्ने भएको छ । १६ वर्ष उमेर पुगेका नेपाली नागरिकको फोटोसहितको मतदाता नामावली सङ्कलन तथा यसअघि नाम दर्ता गर्न छुट भएका मतदाताको दर्ता, गलत विवरण भरिएका मतदाताको अद्यावधिक गर्नका लागि निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न लागेको हो । आगामी पुस १४ देखि माघ १४ गतेसम्मको अवधिमा जिल्लाका ७२ गाविसमा टोली खटाएर फोटोसहितको मतदाता सङ्कलन तथा अद्यावधिकका काम गरिने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । खत्रीकाअनुसार जिल्लामा करिब ७५ हजार मतदाताको नामावली दर्ता गर्न बाँकी रहेको अनुमान गरिएको छ । मतदाता नामावली सङ्कलनसँगै अद्यावधिक गर्नका लागि १२–१२ गाविसको ६ वटा क्लष्टर बनाइएको निर्वाचन अधिकारी खत्रीले जानकारी दिए । निर्वाचनको टोली प्रत्येक गाविसमा दुई–दुई दिन बसेर फोटोसहितको मतदाता नामावली सङ्कलनका काम गर्ने जनाइएको छ ।

तेह्रथुममा भीषण आगलागी, दश घर जलेर नष्ट, आगो नियन्त्रण बाहिर

तेह्रथुम, पुस १ । तेह्रथुमको संक्रान्ति बजारमा भिषण आगलागी भएको छ । उक्त आगलागीबाट अहिलेसम्म १० घर जलेर नष्ट भएका छन् । संक्रान्ति बजारमा स्थानीय अग्नि सेढार्इंको घरबाट शुरु भएको आगलागी अहिले बाटोको दुबैतर्फ फैलिएको छ । आगो नियन्त्रणका लागि सशस्त्र र नेपाल प्रहरी तथा स्थानीयवासिन्दाले प्रयास गरिरहेको भएतापनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगो निभाउका लागि दमकल तथा पानीको पनि अभाव भएपछि आगो झन्झन् फैलिँदै गएको अञ्चल प्रहरी कार्यालयको प्रमुख सफल पोर्तेलले जानकारी दिएका छन् । हाल जिल्ला प्रहरी कार्यालय पाँचथरबाट दमकलसहित थप प्रहरी माग गरिएको पनि उनले बताए । आगो तीव्र रुपमा फैलिँदै गएपछि स्थानीय वरिपरिका घरबाट सामानहरु निकाल्ने काम पनि भइरहेको छ ।

सोलारको माइनस प्लस तार जुध्दा घर जलेर ध्वस्त

जाजरकोट, पुस १। जाजरकोटमा सोलारको माइनस प्लस तार जुधेर आगलागी हुँदा त्यहाँको एक घर जलेर ध्वस्त भएको छ । जिल्लाको रामीडाँडा गाविस–८, छेडास्थित एक दलित परिवारको घरमा बच्चाले सोलारको तार चलाउँदा सो दुर्घटना भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिए । जीतबहादुर परियारको घरमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा र घर पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वारेकोटले जनाएको छ । अर्काको कपडा सिलाएबापत दिएको अन्नले दैनिक छाकटार्दै आएका यो परिवारलाई आगलागीपछि विचल्ली भएको छ ।

हतियारधारी भारतीय लागुऔषधसहित नेपालमा पक्राउ

गौशाला, पुस १ । भारतीय सीमावर्ती जिल्ला महोत्तरीबाट दुईजना हतियारधारी भारतीय नागरिकलाई लागुऔषधीसहित नेपाल प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम जलेश्वरबाट सशस्त्र प्रहरीले गाँजा, चरेस र घरेलु हतियारसहित उनीहरुलाई बिहीबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहारको सीतामढी जिल्लाको सुरसण्ड सहरका २५ वर्षीय छोटु डन भन्ने आनन्दकुमार दुबे र २० वर्षीय आशिषकुमार ठाकुर रहेका छन् । सशस्त्र प्रहरी बल, बिओपी, मलिवाराबाट सशस्त्र प्रहरी निरीक्षक गोविन्द पोखरेलको नेतृत्वमा खटिगएको सशस्त्र प्रहरी टोलीले जिल्ला सदरमुकाम जलेश्वरको खैराचोकमा भारतबाट बिआरबी ३८२४ नंको मोटरसाइकलमा चढी आएका दुवै युवकलाई पक्राउ गरेको थियो । सशस्त्र प्रहरीले पक्राउ गरेका दुवैको साथबाट चार पोका गाँजा, तीन पोका चरेस, ७५ किलोग्राम चिनी, एक थान चक्कु र दुई हजार १५५ भारतीय तथा एक हजार ३६० नेपाली रुपैयाँ बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक पोखरेलले बताए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको पोखरेलले बताए ।

पाल्पामा दुईदिने आमहडताल

पाल्पा,  पुस १। आमहडतालका कारण आज बिहानदेखि यहाँको जनजीवन प्रभावित भएको छ । २४ घन्टे आमहडताल कारण आज बिहानैदेखि सवारीसाधन, शौक्षिक संस्था, पसल खुल्न सकेका छैनन् । पाँच नम्बर प्रदेश अलग गर्न नहुने माग राखेर सङ्घर्ष समितिले शुक्रबार र शनिबार पुनः पाल्पा बन्दको आह्वान गरेको छ । मङ्सिर १४ देखि २५ गतेसम्मको बन्दले जनजीवन कष्टकर बनेपछि बन्द फिर्ता लिएका थिए । पाल्पा जिल्लालाई तराईबाट अगल गरी प्रदेश नम्बर ४ मा राख्ने सरकारको प्रस्तावप्रति पाल्पाका नेपाली काँग्रेस, नेकपा (एमाले) नेकपा माले, राप्रपा, जनमोर्चा नेपाललगायतका दल तथा पाल्पा उद्योग वाणिज्यसहितका सङ्घसंस्था आन्दोलनमा उत्रिएका हुन् । नेकमा (एमाले) पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार सरकारले ५ नं प्रदेश विभाजन गर्ने प्रस्ताव फिर्ता नलिँदासम्म आन्दोलनका कार्यक्रम जारी रहनेछ । आन्दोलनकारीले बिहीबार साँझ पाल्पा जिल्ला सदरमुकाम तानसेनसहितका स्थानमा ५ नम्बर प्रदेश विभाजन गर्न नहुने भन्ने नारा लगाउँदै मसाल जुलुस निकालेका थिए । रासस

ट्याक्टरले किच्दा बालिकाको मृत्यु

बैतडी, पुस  १ । ट्याक्टरले किच्दा अछाममा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धमाली–५ नारखोलाकी आठ वर्षीया मनिसा विक रहेको प्रहरी निरीक्षक गणेश महतले जानकारी दिनुभयो । बिहीबार कमलबजारबाट बेलखेततर्फ गइरहेको भे१त ७५०२ नं ट्याक्टरले नारखोला भन्ने स्थानमा पैदल हिँडिरहेकी बालिकालाई किच्दा घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । ट्याक्टर चालक दैलेख घर भएका धनबहादुर विक फरार रहेको र ट्याक्टरलाई इलाका प्रहरी कार्यालय कमलबजारले नियन्त्रणमा लिएको छ । बालिकाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र कमलबजारमा राखिएको छ । फरार चालकको खोजी जारी रहेको छ । रासस

शिशु हत्या गर्ने देवर भाउजू थुनामा

फलेवास (पर्वत),  पुस  १ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ वर्षीया मीना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवरभाउजू हुन् । मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको आरोपित मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनुभएको छ । आरोपित मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले आफ्नै भाइ विजयराज र श्रीमती मीनाविरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत गत कात्तिक ४ गते किटानी जाहेरी दिनुभएको थियो । रासस

मतदाता नामावली सङ्कलन अभियान सुरु

भक्तपुर, मंसिर ३० । आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय भक्तपुरले गाउँ गाउँमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सुरु गर्ने भएको छ । कार्यालयले पुस १ गतेदेखि माघ ५ गतेसम्ममा गाउँ गाउँमा फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिएका छन् । जिल्लाका छवटा नगरपालिकाको सबै वडा कार्यालयमा दुई दिनका दरले ९३ स्थानमा नामावली सङ्कलन केन्द्र राखेर मतदाताको नामावली सङ्कलन तथा अद्यावधिक गरिने उनले बताएका छन् । विसं २०७० को संविधानसभाको निर्वाचनअघि एक लाख ४९ हजार ५५८ मतदाता रहेकोमा हाल एक लाख ६३ हजार ५१० जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

हात्तीले लियो एकको ज्यान

पर्सा, मंसिर ३० । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । वनबाट आएको हात्तीले निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीमाथि आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले उनीमाथि आक्रमण गरेको थियो । चौधरीको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्तीलगायत जङ्गली जनावरको आक्रमणले निकुञ्जनजिकका वस्तीहरु मारमा पर्ने गरेका छन् ।

जाडो छल्न आगो बाल्दा छ लाख बराबरको क्षति

इनरुवा, मंसिर ३० । सुनसरीको सीमावर्ती क्षेत्र घुस्की–६ मा जाडो छल्न आगो बाल्दा सोही आगोले विकराल रुप लिएपछि छ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय जुलफकार मियाँको घरबाट सल्केको आगोले चार परिवारका पाँच घर जलेर नष्ट हुँदा रु छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । राति बालेको आगोले एक घुरबाट सल्केर स्थानीयवासी मजलुम मियाँ, एमजुन खातुन, इम्तियार मियाँसहितको पाँचवटा घर जलेर नष्ट भएको हो । आगलागीबाट टिनको छानो भएका पाँचवटा घर, घरमा रहेका विभिन्न सरसमान, लत्ताकपडा र अन्नपात गरी रु ६ लाख बराबरको धनमाल जलेर नष्ट भएको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिएका छन् । हाल भने आगलागीलाई स्थानीयवासी र प्रहरीले सामूहिक रुपमा नियन्त्रणमा लिएका थिए ।

कैलालीमा बसाइँ सराइ हुनेक्रम बढ्दो

धनगढी, मङ्सिर ३० । कैलाली जिल्लामा पछिल्लो केही वर्षदेखि विभिन्न ठाउँबाट बसाइँ सरी आउनेको जनसङ्ख्या बढ्दै गएको छ । जिल्ला विकास समितिको कार्यालय, पञ्जीकरण फाँटमा दर्ता भएको तथ्याङ्कअनुसार, पछिल्लो नौ वर्षको अवधिमा कैलाली जिल्लामा अन्यत्रबाट बसाइँ सरी आउनेको जनसङ्ख्या एकलाख ६० हजार पाँचसय ६० पुगेको छ । यो अवधिमा बसाइँ सरी आउनेको ५४ हजार एकसय ६९ वटा नयाँ घर दर्ता भएको छ । जिल्लाबाट अन्यत्र बसाइँ सरी जानेको सङ्ख्या भने ६५ हजार सातसय ४७ रहेको छ । पञ्जीकरण फाँटका प्रमुख नित्यानन्द जोशीले देशकै सबैभन्दा बढी मानिसको बसाइँ सराइ हुने जिल्लाका रुपमा सम्भवतः कैलाली पर्नसक्ने बताए । “कैलाली जिल्लामा नेपालका ७५ जिल्लाका अलावा आसाम र बर्माबाट समेत नेपाली आएर बसेका छन्”, जोशीले भने—“गाविस वा नगरपालिका कार्यालयमा दर्ताको प्रक्रिया पूरा नगरी बसाइँ सराइ गर्नेको सङ्ख्या योभन्दा बढी हुन सक्छ ।” पहाडी क्षेत्रमा हुने बाढीपहिरोको समस्या, बाह्रै महिना पुग्ने गरी खाद्यान्नको अभाव हुने लगायतका कारण सहजजीवन निर्वाहका लागि विभिन्न अवसरको खोजी गर्दै तराईका जिल्लामा बसाइँ सराइ गर्नेहरु बढ्दै गएको जनाइएको छ । जिल्लामा सबैभन्दा बढी दुई वर्षअघि ३३ हजार नौजना बसाइँ सरी आएको तथ्याङ्कमा उल्लेख छ । विसं २०६४ मा जिल्लामा बसाइँ सरी ११ हजार नौसय १७ जना आएकामा २०७२ सालमा आएर यो सङ्ख्या बढेर १६ हजार ६ सय ६ जना बसाइँ सरी आएका छन् । बसाइँ सरी जानेको सङ्ख्याभन्दा बसाइँ सरी आउनेको सङ्ख्यामा वृद्धि हुँदै गएका कारण जिल्लाको जनसङ्ख्या पनि त्यही अनुपातमा बढ्दै गएको छ । बढ्दो जनसङ्ख्याका कारण बन क्षेत्रको जग्गा अतिक्रमण हुने समस्या रहेको मात्र नभई जिल्लाको खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीका रुपमा बिक्री गर्नेक्रम पनि बढ्दो छ । यसरी बसाइँ सरी आउनेले खासगरी पूर्व—पश्चिम राजमार्गको आसपास, सहरबजार क्षेत्र र सुविधायुक्त ठाउँमा घरघडेरी जोड्ने गरेको देखिन्छ । विसं २०६८ सालको जनगणनाअनुसार कैलालीको जनसङ्ख्या सातलाख ७५ हजार सातसय नौ रहेको छ । रासस  

भारतीय वृद्ध मृत फेला

तनहुँ,  मङ्सिर ३०। तेस्रो डुम्रे सांस्कृतिक महोत्सवमा पिङ राख्न आएका एक भारतीय वृद्ध बुधबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले दिएको जानकारीअनुसार भारतको अलिगढ जिल्ला सादगढी घर भएका ६० वर्षीय क्षेत्रपाल मृत अवस्थामा फेला परेका हुन् । बन्दीपुर नगरपालिका–४ स्थित सांस्कृतिक भवनअगाडि सडक किनाराको नालामा मृत अवस्थामा फेला परेका वृद्धको दमौली अस्पतालमा शवपरीक्षण गरी आफन्तजनलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । वृद्धको मृत्युको कारण खुल्न नसकेकाले अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । रासस  

कोल्टीको बजारबाट २७ हजार किलो जडीबुटी पक्राउ

बाजुरा, ३९ मङ्सिर । उत्तरी बाजुराको कोल्टीका विभिन्न बजारबाट अवैधरुपमा सङ्कलित करिब २७ हजार किलोग्राम जडीबुटी प्रहरीले बरामद गरेको छ । स्थानीयवासीहरुले अवैधरुपमा सामुदायिक वन र राष्ट्रिय वनहरुबाट सङ्कलन पुर्जीभन्दा बढी सङ्कलन गरी बजारमा लुकाएर राखेको अवस्थामा २७ हजार १८० किलोग्राम विभिन्न जडिबुटी बरामद गरी इलाका वन कार्यालय कोल्टीमा बुझाएको बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताउनुभयो । स्थानीयवासीले दिएको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले आज ती स्थानमा छापा मारेर जटामसी, चिराइतो र कटुकी जस्ता जडीबुटी बरामद गरेको हो । यता, जिल्ला वन कार्यालय बाजुराका जिल्ला वन अधिकृत बेसेन्द्रराज सुवेदीले अवैधरुपमा सङ्कलित जडीबुटीको पूर्जी छानविन गर्न बाँकी रहेकाले यसबारे अहिले नै केही भन्न नमिल्ने बताउनुभयो । जिल्लाका कोल्टी, विच्छ्या रुगिन, दहकोटलगायतका गाविसबाट जडीबुटी सङ्कलन हुने गरेको छ सिम्बालिक फ़ोटो