गाई हत्याको बिरोधमा बन्द गराउँदै हिँडेका १५ जना पक्राऊ, दाङको जनजीवन प्रभावित
दाङ पुष १२ । कैलालीको गोदावरीमा अर्धमृत अवस्थामा गाई फालिएकोमा बन्दको आयोजना गर्ने बिभिन्न संघसंस्थाका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गाइहरुको सामूहिक हत्या गरिएको भन्दै दाङका बिभिन्न हिन्दुवादी संगठनहरुले बन्दको आव्हान गरेका हुन । बन्दका कारण दाङमा यातायात, शैक्षिक संस्था, उद्योग, व्यापार व्यवसायच लेका छैनन् । पूर्व पश्चिम राजमार्गमा समेत गाडीहरु चलेका छैनन् भने लामो दूरीका गाडीहरु प्रहरीको सुरक्षा घेरामा पठाइएका छन् ।
प्रहरीले बन्द गराउँदै हिँडेकाहरुलाई बिभिन्न स्थानबाट पक्राउ गरेको छ । सोमबार बेलुका बन्दको आव्हान गरिरहेका ६ जना र मंगलबार बिहान ९ जनालाई नियन्त्रणमा लिएको हो ।
फेसबुकमा साथी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
सुरुङ्गा (झापा), पुस १२ । फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी माटिन एन्थोनी मार्टको भर पर्दा उनी ठगिएकी हुन् । उनीलाई मार्टले आफू युकेमा रहेको र युकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेको पीडित सुष्माले बताइन् । मार्टले आफूसँग रु दुईलाख १९ हजार ठगी गरेको उजुरी गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक अनुसन्धान पछि कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३१ वर्षीय बोदप्रसाद पोखरेललाई पक्राउ गरेको छ । पक्राउ परेका पोखरेललाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई सोमबार बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । उनका अनुसार मार्टले राईलाई फेसबुकमार्फत एभरेस्ट बैंकमा दुई हजार अमेरिकी डलर जम्मा गर्न लगाएको र उक्त रकम पोखरेलले निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मार्टको नाममा नक्कली आइडी बनाएर पोखरेलले उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । रासस
तह वृद्धि गर्न गाविस सचिवको माग
काठमाडौँ, पुस ११ । गाविस सचिवहरूले १४ वर्षसम्म गाविस अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरेकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा गाविस सचिवलाई एक तह वृद्धि गर्न माग गरेका छन् । गाविस सचिवले विभिन्न चुनौतीमा पनि १४ वर्षसम्म स्थानीय निकायमा दोहोरो जिम्मेवारी निर्वाह गरेको भन्दै अब कर्मचारी समायोजन हुँदा एक तह वृद्धि गर्न सरकारलाई आग्रह गरेका हुन् । कतिपय अवस्थामा गाविस सचिवले ज्यानै बाजी राखेर समेत स्थानीय निकाय सञ्चालन गरेको र सोको सम्मान स्वरूप सरकारले कर्मचारी समायोजन गर्ने क्रममा एक तह वृद्धि गरेर गाविस सचिवलाई हौसला प्रदान गर्नुपर्ने गाविस सचिवहरूको भनाइ छ । गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका अध्यक्ष दामोर रिजालले भने– ‘१४ वर्षसम्म गाउँमा बसेर स्थानीय निकायलाई सञ्चालन गर्न गाविस अध्यक्षको समेत भूमिका निर्वाह गरेका गाविस सचिवको एक तह बढुवा गरी सरकारले सम्मान गर्नुपर्छ ।’ उनका अनुसार द्वन्द्वकालदेखि हालसम्म २८ जना गाविस सचिवले ज्यान गुमाएको, भूकम्पपछि गाविस सचिवले सरकार र भूकम्प पीडितबीच पुलको काम गरेको, कर्मचारीको अभावमा एक गाविस सचिवले तीनदेखि पाँचवटासम्म गाविसको जिम्मेवारी बहन गर्दै आएका छन् । यी सबै कुराको मूल्याङ्कन अब सरकारले गाविस सचिवको एक तह बढुवा गरेर गर्नुपर्छ । अहिले भएका गाविस सचिव खरिदार र नासु स्तरका रहेका छन् । हाल कायम रहेका तहबाट एक स्तर वृद्धि गर्नुपर्ने माग उनीहरूको छ । लामो समयसम्म गाविस सचिव सरुवा हुनबाट रोकिएको, गाविस सचिवले नेपालमा भएका सबै मन्त्रालयको काम गर्न बाध्य हुनुपरेको, प्राविधिक, प्रशासनिक, न्यायिक, पञ्जिकाधिकारी र लेखापालको समेत काम गाविस सचिवबाटै गर्नु परेको, गाविस सचिवकै हातबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्दा जोखिम बढ्दै गएको गाविस सचिवहरूको गुनासो छ । गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालका वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्ले भने– ‘गाविस सचिवलाई कि त सरुवा हुने बाटो खुला गरिदिनुपर्छ कि त कर्मचारी समायोजन हुँदा एक तह वृद्धि गर्नुपर्छ ।’ आफ्ना माग सम्बोधन नभएको अवस्थामा भूकम्पसँग सम्बन्धी सम्झौता रोकिन सक्ने, दुई गाविसको जिम्मेवारी नलिने, गाउँ परिषद् नहुने र अध्यक्षको जिम्मेवारी नगर्ने अवस्थामा गाविस सचिव पुगेको उनले स्पष्ट गरे । यसका लागि गाविस सचिवहरूले सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे स्थानीय तहमा कर्मचारी समायोजनका लागि एक कार्यदल बनेको र अहिले उक्त कार्यदलले काम गरिरहेकाले कर्मचारीको एक तह बढुवाका बारेमा अहिले नै केही भन्न नसकिने बताए । गाविस सचिवको समस्या र मागप्रति भने मन्त्रालय सकारात्मक रहेको भन्दै उनले अहिले गाविस सचिवले तल्लो निकायमा रहेर काम गर्नुपर्ने हुँदा त्यहाँ राम्रा र नराम्रो दुवै पक्षको गाविस सचिवले समाना गर्नुपर्ने बताए । मन्त्रालयका अनुसार अहिले देशभर गरी करिब ३५० गाविस सचिवको पद रिक्त रहेका र उक्त गाविसमा नजिकै रहेका गाविसमा कार्यरत सचिवले काम गर्दै आएका छन् ।
माओवादी केन्द्र पाँच नं प्रदेशको नयाँ प्रस्ताव
दाङ, पुस ११ । संसद्मा संविधान संशोधन प्रस्ताव पेस भएपछि विभिन्न पक्षले आन्दोलन गरिरहेका बेला नेकपा (माओवादी केन्द्र) ५ नं प्रदेशले भने नयाँ प्रस्ताव अघि सारेको छ । दाङको घोराहीमा दुई दिनसम्म चलेको प्रदेश समितिको प्रथम बैठकले नयाँ प्रस्ताव अगाडि सारेको हो । बैठकपछि आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी प्रदेशको नयाँ प्रस्ताव अघि सारेको हो । प्रस्तावअनुसार “सरकारले जनजाति, मधेसी, थारुलगायतका समुदायलाई समेट्न अघि सारेको संविधान संशोधन प्रस्ताव सही छ, संविधान संशोधन भएको खण्डमा रोल्पा, प्यूठान र अर्घाखाँचीका जनताको मागलाई सम्बोधन गर्न दुईखाले प्रस्ताव अघि सारेका छौँ ।” – प्रदेश इञ्चार्ज वर्षमान पुनले भने । पहिलो प्रस्तावका रुपमा पार्टीको नीतिअनुरुप १० प्रदेश बनाएर यी जिल्ला र आसपासका जिल्लालाई समेटेर आठौँ प्रस्ताव बनाउन हाम्रो अवधारणा आएको उनले बताए । त्यो पनि तत्काल सम्भव भएन भने प्युठान, रोल्पा र अर्घाखाँचीलाई सम्बोधन गर्ने गरी प्रदेश राजधानीका एकाइ राख्नुपर्छ भन्ने आफूहरुको निष्कर्ष उनको भनाई थियो । हाल उच्च अदालतका मुकाम एक ठाउँमा र अन्य ठाउँमा इजलास तोके जस्तै प्रदेश राजधानीबाट हुने सेवा सुविधा दिने गरी यी जिल्लामा राजधानीका एकाइ राख्ने सकिने उहाँको भनाइ थियो । गुल्मी र पाल्पाका माथिल्लो क्षेत्रका बासिन्दाले पहिले नै पोखरा भनिरहेका थिए उनीहरुलाई कुनै समस्या नपर्ने उनको भनाई थियो ।
सौराहामा हात्ती महोत्सव सुरु
चितवन, पुस ११ । चितवनको सौराहामा हात्ती महोत्सव सुरु भएको छ । आजबाट सुरु भएको उक्त हात्ती महोत्सव पुस १५ गतेसम्म चल्नेछ । पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित चितवनको पर्यटकीय नगरी सौराहामा सो महोत्सवलाई परिमार्जनसहित यसपटक १३औँ संस्करणका रुपमा आयोजना गरिएको आयोजक क्षेत्रीय होटल सङ्घ, चितवनले जनाएको छ । महोत्सवको पहिलो दिन बिहान चितवन निकुञ्जको पूर्वी सेक्टरबाट हात्ती तथा विभिन्न जातजातिका झाँकीसहितको ¥यालीले सौराहाको परिक्रमा ग¥यो । ¥यालीमा भजन–कीर्तन तथा बाजागाजा प्रस्तुत गरिएको थियो भने थारु सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । नेपाल आएका पर्यटकको बसाइँ लम्ब्याउने उद्देश्यले क्रिसमस र अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर हात्ती महोत्सव आयोजना गरिएको हो । यस वर्ष सौराहामै पहिलोपटक अन्तर्राष्ट्रिय हात्तीपोलो प्रतियोगितासमेत आयोजना गरिएकाले रौनक बढेको पोलो प्रतियोगिताका संयोजक शङ्कर सैँजुले जानकारी दिए । हात्तीका गतिवधि प्रदर्शन हुने उक्त महोत्सवमा यसवर्ष विभिन्न नौवटा कार्यक्रम सञ्चालन हुने छन् । महोत्सवमा हात्ती फास्टवाक प्रतियोगिता, हात्तीपोलो प्रतियोगिता, हात्तीका छावाबीच रोमाञ्चक फुटबल, हात्ती शङ्गार प्रतियोगिता, गाडा टौड, हात्ती पेन्टिङ, हात्तीको वनभोज, सांस्कृतिक कार्यक्रम र डुङ्गा दौड प्रतियोगिता आयोजना गरिने क्षेत्रीय होटल सङ्घका सचिव राममणि खनालले जानकारी दिए । महोत्सवले हात्ती र मानवबीचको सम्बन्ध प्रगाढ गराउन सहयोग गर्ने र यसबाट पर्यटन प्रवद्र्धन र संरक्षणमा टेवा पुग्ने आयोजकको विश्वास रहेको बताइएकाे छ । बाह्र वर्षअघि सौराहामा हात्ती दौड प्रतियोगिताका रुपमा आयोजना भएको कार्यक्रम विगत केही वर्षदेखि हात्ती महोत्सवका रुपमा आयोजना हुँदै आएको छ ।
फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु
पोखरा, पुस ११ । आसन्न स्थानीय तह वा निकायको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय कास्कीले आजबाट फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु गरेको छ । मतदाता नामावली सङ्कलनका लागि कास्कीमा मात्रै छ टोली खटाइएको कार्यालयका प्रमुख गङ्गाप्रसाद सुवेदीले जानकारी दिए । टोलीले कार्यस्थलमा गएर उमेर पुगेका मतदाताको नाम दर्ता, त्रुटि देखिएको विवरण सच्याउने, मृत्यु तथा बसाइँसराइ गरेका मतदाताको नामावली मतदाता सूचीबाट हटाउनेछ । त्यस्तै दोहोरो मतदाता नामावली भएका मतदाताको नाम एक ठाउँमा राख्ने काम टोलीले गर्ने छन् । पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिका तथा ३२ गाविस भएको सो जिल्लामा खटिएको टोली गाविस कार्यालय तथा नगरपालिकाको वडा कार्यालयमा गई दुई दिनसम्म बसेर नामावली सङ्कलन गर्ने बताइएको छ । कास्कीमा मंसिर मसान्तसम्म दुई लाख २३ हजार ११९ मतदाता रहेका छन् । जसमा पुरुष एक लाख तीन हजार ५६२, महिला एक लाख १९ हजार ५५२ र तेस्रोलिङ्गी पाँचजना रहेको कार्यालय प्रमुख सुवेदीले बताए ।
ज्यान जाला तर उपलब्धी खोस्न दिँदैनौं
काठमाडौं, पुस ११ । प्रधानमन्त्री प्रचण्डले माओ जयन्तीको अवसरमा आफूहरु नेपाली समाजको वर्ग संघर्षको नयाँ स्वरुपमा रहेको भन्दै सो उपलब्धीका लागि नेपाली जनताले निकै दुःख कष्ट भोग्नु परेको भन्दै अब पाएको उपलब्धीलाई कुनै पनि हालतमा फुत्किन नदिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नेपाली समाजको वर्ग संघर्षको नयाँ स्वरुपमा छौं । जनतालार्इ परिवर्तन दिन माओको भूमिका रहेकाले रक्षा प्रयोगबाटै बिकास गर्ने र देश संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकास गर्ने प्रेरणा उनै माओ हुन् ।’ प्रतिपक्षीहरुलाई इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले थपे, ‘अहिलेको राजनीतिलाई विकसित र प्रयोग र रक्षा गर्ने दलालहरुलार्इ परिवर्तन मन परेको छैन ।’ उनले थपे ‘राजा त पद्च्युत भए । उनका वरिपरि घुम्नेलार्इ पनि मन परेको छैन । उनीहरु यो परिवर्तन र उपलब्धी उल्ट्याउने र भाच्नेतिर उन्मुख भएका छन् । तर हामीले त्यसो हुन दिनुहुन्न ।’ माओ दिवसका असरमा उनले आफूहरुले औपचारिक रुपमा यो दिवस मनाउनुमा विशिष्ट अर्थ रहेको बताए । उने भने, ‘देशलार्इ एकताबद्ध गर्नु । जातजाती मधेस पहाड बिचमा विभाजन नभई मधेस पहाड जोड्नु छ र एकता ल्याउनु छ ।’ उनले थपे, ‘कम्युनिस्टले नै एकता गरेका छन् ।’ साम्राज्यवाद र सर्वहारावाद उत्पिडितहरुको बिचमा एकता कायम गर्न कम्युनिष्टहरुले नै अहम भूमिका खेल्ने उनले बताए । उत्पिडनको बिरुद्व समानताको नारा हाइज्याग गर्ने काम गर्ने साम्राज्यवादहरुले गरेको उनले बताए । उनलेउ नेपालमा आत्मानिर्णय, पहिचान समानुपातिक समावेशी नारा माओवादीले ल्याएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो नारा आफ्नो बनाउन खोज्ने ति हिजो पञ्चाएको बेला सरकारमा बस्ने राजासँग मिल्ने काम गरे र आज उनीहरुले नै माओवादीको नारा हाइज्याक गराउन खोजेका छन् ।’ उनले थपे, ‘साम्प्रदायिक दंगा हुनुको कारण पनि त्यही हो ।’ आज दिवस मनाउनुको कारण उत्पीडितको पक्षमा लाग्नु रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब सङ्कल्प गर्ने दिन आएको बताए । देशमा संविधान संशोधनभित्र उत्पीडित समुदायलार्इ अधिकार नदिन प्रयास भएको भन्दै शान्ति प्रक्रियामा आएपछी माओवादीलाई जालीझेली भनिएको स्मरण गरे । दस वर्षपछि फेरि पार्टी एकतामा जोडिएको भन्दै प्रचण्ड र बाबुराम मिल्नुपर्ने उनको चाहना भएको बताए । चीनमा माओको नेतृत्व सम्झिँदै उनले भने, ‘फुट्ने माओवादी हुँदैन । चीनमा माओले पार्टी फुट्न दिएनन् ।’ फुट्नेतिर होइन जुट्नेतिर लाग्नुपर्छ भन्दै अब समाजवाद र साम्यवादमा जान सकिने उनले बताए । उनले भने, ‘हाम्रो जितलार्इ कसैले रोक्न सक्तैन । हामी सबै माओबादीलार्इ एकतावद्ध गर्नु छ ।’
ट्याक्टरले किचेर चालकको मृत्यु
महेन्द्रनगर, पुस ११ । धनुषाको जनकपुर–ढल्केवर राजमार्ग लक्ष्मीनिया सडकखण्डमा गए साँझ आफैँले ट्याक्टर चलाएको क्रममा किचेर क्षिरेश्वरनाथ नगरपालिका–३ का २२ वर्षीय चालक जाहिल राइनको मृत्यु भएको प्रहरीले जनाएको छ । ज१त २८३६ नंको ट्र्याक्टर चलाएर महेन्द्रनगरतर्फ जाँदै गरेका बेला ट्र्याक्टर पल्टिँदा च्यापिएर चालक राईनको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको जनाएको छ ।
जङ्गली जनावरको आतंक, स्थानिय रातभर जागराम
इनरुवा, पुस ११ । सुनसरी सहित तीन जिल्लामा फैलिएर रहेको कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रका स्थानीयवासिन्दा आरक्षबाट निस्कने जङ्गली जनावरको आतङ्कबाट आतङ्कित बनेका छन् । जङ्गली जनावरको आतङ्क र आक्रमणको त्रासका कारण रातभर जागराम बस्नुपरेको सो क्षेत्रका स्थानीयले गुनासो गरेका छन् । आरक्षबाट दैनिकजसो रातको समयमा आउने अर्ना, हात्ती र बँदेलका कारणले स्थानीय रातभर जागराम बस्न बाध्य भएको हरिपुर गाविसका किसन मण्डलले गुनासो गरे । आरक्षमा सोलार फेन्सीको केही क्षेत्रमा व्यवस्था गरेको भए पनि कमजोर तारवारका कारण जङ्गली जनावर निर्वाधरुपमा निस्केर गाउँ पस्ने गरेको र गाउँमा आतङ्क मचाउने गरेको श्रीपुर गाविसका तेजनारायण अरगरीयाले गुनासो पोखे । आरक्षले स्थानीयलाई काठ दाउरा र चरिचरणबाट रोक लगाउने गरेको भए पनि आरक्षले जङ्गली जनावर रोक्न नसकेकोमा आक्रोश पोखेका छन् । आरक्षमा रहेको समस्या समाधान गर्न आरक्ष प्रशासन उदासिन रहेको हरिपुरका सुकुम्वासी टोलका विलेक्षण सदाले बताए । आरक्षले आफ्नो क्षेत्रमा जनतालाई प्रवेश गर्न नदिने तर जङ्गली जनावर गाउँ पसेर बाली खाने, कुल्ची दिने, नष्ट गरी दिने गरेको भए पनि त्यसलाई रोक्न ध्यान नदिएको श्रीपुर गाविसका धमेन्द्र मेहताको भनाइ रहेको छ । अहिले आरक्षमा सुराक्षर्थ खटिएका सेनाले महिलालाई अभद्र व्यवहार गर्ने र प्रतिवाद गरे पक्रेर रु ५०० जरिवाना तिराउने गरेको स्थानीयको गुनासो छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केका जङ्गली जनावरले यो हप्ता मात्रै दुई वटा घरमा क्षति पु¥याउनुका साथै गहुँ, तरकारी र केराको बेटमा क्षति पुर्याएको श्रीपुरका श्यामनारायण खेरवारले गुनासो पोखे । सुनसरीका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई स्थानीयले आरक्षबाट सुरक्षित बनाइदिन र आरक्षको घाँस दाउरा सहज पाउने वातावरण सिर्जना गरी दिन आग्रह गरेका छन् । प्रजिअ पौडेलललाई स्थानीयले जङ्गली जनावरबाट जोगाइ दिन र क्षतिको क्षतिपूर्ति दिन तथा आरक्षमा रहेको विकृति अन्त्य गर्न माग गरेका छन् । आरक्षमा रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति विहीन रहेको र जनता र आरक्षाको समन्वय अभावका कारण केही समस्या रहेको पाइएको प्रजिअ पौडेलले बताउनु हुँदै समस्या सामाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी आरक्षणका संरक्षण अधिकृत श्यामकुमार शाहले यहाँ धेरै समस्या रहेको स्वीकार गर्दै समाधानको प्रयासमा आरक्ष लागेको बताए । रासस
विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछःबिजुक्छे
भक्तपुर, पुस ११ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशको सार्वभौमिकता र अखण्डतालाई जोगाउन नेपाली जनता सचेत हुनुपर्ने बताएका छन् । नेपाल क्रान्तिकारी किसान सङ्घको छैटौँ भक्तपुर जिल्ला सम्मेलनको आइतबार दत्तात्रयमा उद्घाटन गर्दै उनले भने – “विदेशी हस्तक्षेप र चलखेलको प्रतिरोध गर्न नेपाली जनता सचेत हुनुपर्दछ ।” अध्यक्ष बिजुक्छेले किसानले राम्ररी खेती गर्न जानेर मात्र नपुग्ने बताउँदै देशको नीति निर्णयबारे पनि किसानले जानकारी राख्नुपर्नेमा जोड दिए । नेपाल क्रान्तिकारी किसान सङ्घका अध्यक्ष एवम् सांसद डिल्लीप्रसाद काफ्लले किसानको हकहितबारे सरकारले चासो नदिँदा उनीहरु कृषि पेसाबाट टाढिँदै गएको र युवा देश छोडेर विदेसिएको बताउँदै क्रान्तिकारी भूमिसुधार लागू नगरेसम्म मुलुकमा उत्पादकत्व नबढ्ने धारणा व्यक्त गरे । नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ र नेक्राकिसङ्घका जिल्ला अध्यक्ष गोविन्द दुवालले किसानको हितका सम्बन्धमा कुनै पनि सरकारले स्पष्ट र प्रभावकारी नीति नबनाउँदा उनीहरुको उन्नति प्रगति हुन नसकेको बताए । यसअघि परम्परागत बाजागाजासहित भक्तपुर नपा–१७ भर्वाचोबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै दत्तात्रय पुगेको थियो । रासस
२० महिनामा ४१ हजार घर निर्माण, प्राधिकरण नेतृत्व फेर्न दबाब ?
काठमाडौं, भूकम्पपछिको पुनर्निर्माणलाई अगाड बढाउने अख्तियारीसहितगठन भएको पुनर्निर्माण प्राधिकरणको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ । भूकम्पपीडितहरुलाई राहत तथा नवनिर्माणको कामलाई गति दिन सरकारले बारम्बार निर्देशन दिँदा समेत काम अगाडि नबढेपछि नेतृत्व नै फेर्ने दबाब सरकारमाथि परेको छ । सरकारले प्राधिकरणका निर्देशकलाई यसअघि नै स्पष्टीकरण सोधि सकेको छ । सार्वजनिक भएका तथ्यांक अनुसार, भूकम्पले अति प्रभावित १४ जिल्लामा ६ लाख २६ हजार परिवारको घर ध्वस्त भयो । भूकम्पको २० महिना बितिसक्दा पनि मश्किलले ४१ हजार ३ सय ११ घर पुनर्निर्माण भएका छन् भने १७ हजार १ सय घर निर्माण भइरहेका छन् । ६ लाख पीडित रहेको १४ जिल्लामा यति थोरै काम हुनुले प्राधिकरणको नेतृत्व र संरचना नै फेर्नुपर्ने माग उठेको हो । प्रधानमन्त्री निर्वाचित भएलगत्तै प्रचण्डले भूकम्प पीडितले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ हेलिकप्टर मार्फत भएपनि ४५ दिनभित्र वितरण गर्न निर्देशन दिएपनि यो पूर्णरुपमा लागु भने हुन सकेन । हालसम्म पीडितहरुले पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ ४ लाख ५८ हजार पीडित मात्र पाएका छन् । अझैं १ लाख ६८ हजार घरधुरीले पहिलो किस्ता पाएका छन् । १४ जिल्लामा पुष ८ गतेसम्म ५ लाख ४३ हजार १ सय ७ घरधनीले अनुदान सम्झौता गरेका छन् । त्यसमध्ये ४ लाख ५८ हजार ५ सय ९२ घरधनीले अनुदान लिईसकेको प्राधिकरणले जनाएको छ । त्यस्तै भूकम्पले कम प्रभावित १७ जिल्लामा सर्वेक्षणको काम अघि बढेको बढाईएको जानकारी दिएको छ । १४ जिल्लामा २ सय विद्यालय, २ सय स्वास्थ्य केन्द्र, १५ वटा पुरातात्विक सम्पदाको पुननिमार्ण सकिएको जनाएको छ । पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ वितरण गर्नत सकस ब्यहोरेको प्राधिकरणले दोस्रो किस्ता बापतको डेढ लाख वितरणमा कस्तो सकस होला भन्ने धेरै पीडितको गुनासो छ । प्राधिकरणका अनुसार दोस्रो किस्ता पीडितलाई उपलब्ध गराउन करिब १ खर्ब रुपैयाँ लाग्नेछ । १४ जिल्लाका ६ लाख २६ हजार ३६ घरधुरीलाई डेढ लाख रुपैयाँको दरले उपलब्ध गराउँदा ९३ अर्ब ९० करोड ५४ अर्ब रुपैयाँ खर्च लाग्ने प्राधिकरणको भनाई छ । दोस्रो किस्ता डेढ लाख रुपैयाँका लागि मन्त्रिपरिषद्बाट पारित भएपछि वितरण गरिने प्राधिकरणले जनाएको छ ।
५ सयको बाजी थाप्दा मर्स्याङ्दीमा बेपत्ता
लमजुङ, पौष १० मर्स्याङ्दी नदीले बगाउँदा आईतबार बेसीशहर नगरपालिका–७ का ४० वर्षका राजु घिमिरे बेपत्ता भएका छन् । साँढे १२ बजेको समयमा साथीसंग पाँच सय रुपैयाँको बाजी थापेर को पहिले ? नदी पार गर्ने भन्दै मस्र्याङ्दीमा पौडी खेल्ने क्रममा उनी बेपता भएको स्थानीयलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक समिरचन्द्र खरेलले टेलिफोनमार्फत जानकारी गराउनुभयो । उहाँका अनुसार राजुसंगै पौडी खेलेका पदम घिमिरे भने बाहिर निस्कन सफल भएका छन् । ‘रानीकुवामा रहेको घाटसम्म गाउँबाटै पानी लैजाने भन्दै पाईप बिच्छ्याउँने क्रममा गर्मी भयो भन्दै साथीसंग बाजी थापेर नदीमा पौडी खेल्ने क्रममा घिमिरे बेपत्ता भएको बुझिएको छ, प्रहरी, सेना र स्थानीय उनको खोजी कार्यमा जुटेका छन्,’ डिएसपी खरेलले भन्नुभयो । खरेलका अनुसार बेपत्ता राजु एक सामुदायिक विद्यालयका शिक्षक हुन् ।
हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
राजविराज, पुस १०। हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ । स्थानीइ भारदह– ९ स्थित भलुवामा जङ्गली हात्तीको आक्रमणबाट ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ । केही दिनयता सो क्षेत्रसहित जिल्लाको पूर्वी भेगका भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर, घोघनपुर लगायत ठाउँमा दिनहुँ हात्ती आएर आतङ्क मच्चाउने गरेको बताइएको छ ।
‘गौ’ मारिँदा सडकमा राप्रपा
कैलाली, पुस १० । ‘गौ’ मारिएको विरोधमा सुदूरपश्चिम बन्दको घोषणा गरिएको छ । गत बुधबार भीमदत्त सडकखण्ड अन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुतेमा १४ वटा गाई र ११ वटा गोरुलाई विष खुवाएर हत्या गरिएको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका हिन्दूवादी संघसंस्थाहरुले सुदूरपश्चिमका जिल्लाहरुमा बन्द आह्वान गरेका छन् । दोषीलाई कारवाहीको दवाव स्वरुप बन्दकर्ताले र्यालिसमेत निकालेका छन् । उनीहरुले सुदूरपश्चिम बन्दको घोषणा गरेका हुन् । कैलालीमा बन्दको प्रभाव परेको भएपनि अन्य जिल्लाहरुमा भने बन्दको खासै प्रभाव देखिएका छैनन् । सडकमा छाडा छोडिएका गाई गोरुलाई कञ्चनपुरको बेदकोट नगरपालिकाले गाडीमा हालेर उक्त स्थानमा छाडेको थियो । गाई गोरु बोक्न प्रयोग गरिएको ट्रक र त्यसका चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आवश्यक अनुसन्धान भइरहेको र दोषीउपर कारवाही हुने जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
उदयपुर सिमेन्ट कारखाना किन निजीकरण गरिन लागेको ?
विराटनगर, पुस १० । नेपाल कारखाना श्रमिक संघले औद्योगिक व्यवसाय सम्बन्धी ऐनमा भएको ‘श्रमिक विरोधी’ दफा खारेजीको माग गरेको छ । यहाँ आज सङ्घद्वारा आयोजित पत्रकार सम्मेलनमा गत असोजमा संसदबाट पारित औद्योगिक व्यवसाय सम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्न बनेको विधेयक २०७१ को दफा ४७ का उपदफा ६ र ७ को व्यवस्थाप्रति संघको आपत्ति रहेको जानकारी गराएको छ । संघका केन्द्रीय अध्यक्ष धीरेन्द्रकुमार सिंहले उक्त ऐनमा भएको दफाले श्रमजीवी ट्रेड युनियनको अधिकार सम्बन्धी मौलिक हकलाई बन्देज गरेको र त्यो अन्तर्राष्ट्रिय श्रम संगठनको आधारभूत महासन्धि ८७ को विपरीत रहेको बताउँदै बन्द हड्तालका समयमा ‘नो वर्क नो पे’अर्थात् काम नगरेको दिनको पारिश्रमिक नपाउने व्यवस्था खारेज हुनुपर्ने माग गरे । संघका केन्द्रीय सदस्य गोपाल मिश्रले सरकारद्वारा सञ्चालित उदयपुर सिमेन्ट कारखानाको उत्पादनमा निरन्तर रुपमा वृद्धि भइरहे पनि पनि सरकारले निजीकरण गर्न लागेको जनाउँदै आपत्ति जनाए ।
अज्ञात समूहद्वारा स्कुलमा आगजनी
फलेवास (पर्वत), १० पुस । दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा अज्ञात व्यक्तिको समूहले गएराति आगजनी गरेका छन् । राति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो । आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन् । सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि विद्यालयमा पुगेको उक्त चोरको समूहले नै आगजनी गरेर भागेको स्थानीय प्रहरी चौकीले जनाएको छ । आगलागीबाट २०२८ देखि २०६० साल सम्मका महत्वपूर्ण आर्थिक तथा अन्य कागजात जलेर नष्ट भएको स्थानीयवासी प्रेम भुसालले जानकारी दिनुभयो । सिम्बॉलिक फ़ोटो

