२३ वर्षअघि दुई युवतीलाई भारतमा बेच्ने व्यक्ति पक्राउ

मौसमविद् भन्छन्- आज दिनभर पानी पर्न सक्छ

काठमाडौं, पुस १७ । विहानैदेखि धुम्मिएको काठमाडौंमा आज दिनभर पानी पर्नसक्ने मौसमविद्ले जनाएका छन् । काठमाडौं उपत्यकालगायत आसपासका पहाडी जिल्लाहरुमा अहिले मध्यान्हदेखि फाट्फुट्ट पानी परिहरहेको छ । हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । शनिबारदेखि हिमाली जिल्ला ताप्लेजुङ, जुम्ला, रसुवा, दोलखालगायत उच्च पहाडी र हिमाली भेगमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । दोलखाको च्योर्दुङ डाँडामा हिउँ पर्दा पटासे, ठूलोढुङ्गा, काप्ती, हुनुमान्तेलगायत क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

एमालेले नेपाली जनतालाई भारतीय देख्न थाल्यो– नेता पौडेल

तनहुँ,पुस १७ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भारत देख्ने एमालेको सोच गलत भएको बताएका छन् । प्रेस युनियन, तनहुँ शाखाले आइतबार बिहान दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले आफू सरकारमा रहँदा संविधान संशोधन गरेर मधेसी जनताको माग सम्बोधन गर्नुपर्छ भन्ने एमाले सत्ताबाट बाहिरिएपछि एकाएक संशोधनबाट भागेको आरोप लगाए । संशोधनबाट भाग्नु र संसद् चल्न नदिनु भनेको मधेसको उपेक्षा गर्न खोजिएको आभास हुन्छ पौडेलले भने । मधेसका असन्तुष्ट पक्षलाई सबै पार्टी मिलेर समाधान गर्नुको विकल्प छैन भन्दै नेता पौडेलले काँग्रेस, एमाले र माओवादी केन्द्र्र मिलेर नै संविधान जारी गरिएकाले संशोधनका लागि मिल्नु आवश्यक रहेको विचार व्यक्त गरे । देश अहिले फरक मोडबाट अघि बढिरहेको भन्दै नेता पौडेलले स्थानीय निकायको चुनाव जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए । रासस

आज ठूलो भर्याङमा अनुमतिपत्र बनाउने कार्यालयको उद्घाटन

काठमाडौं, पुस १७ । आइतबारदेखि काठमाडौंको ठूलो भर्याङमा सवारी चालक अनुमतिपत्रका लागि नयाँ कार्यालय खुल्दैछ । यस कार्यालयको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले समय १० बजे गर्नुहुने छ । अबदेखि कार्यालयबाट विद्युतीय सवारी चालक अनुमतिपत्र अर्थात स्मार्ट ड्राइभिङ लाइसेन्सको लागि फारम लिने, लिखित परीक्षा दिने लगायत सेवा दिइने यातायात व्यवस्था विभागले जनाएको छ । ललितपुरको एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालय बागमतीले उपभोक्ताको चाप थेग्न नसक्ने भएपछि उपत्यकामा थप तीनवटा कार्यालय खोल्न लागेको छ । काठमाडौंको चावहिल र भक्तपुरको सुर्यविनायकमा पुस २७ गतेदेखि थप कार्यालय पनि उद्घाटन गर्ने तयारी रहेको मन्त्री लेखकका स्वकीय सचिव जनक भट्टले जानकारी दिए । यातायात व्यवस्था विभागका अनुसार नयाँ तीनवटै कार्यालयमा ३६÷३६ जना कर्मचारी रहनेछन् । यस्तै नयाँ कार्यालयबाट लाइसेन्स लिन अनलाइनबाट पनि फारम भर्न सकिने विभागका प्रवक्ता डा.टोकराज पाण्डेले जानकारी दिए ।

अब बलात्कारका घटनामा ७ देखि २० वर्ष जेल सजाय हुने

काठमाडौं, पुष १७ ।  अब बलात्कारका घटनामा कम्तीमा सात वर्ष कैद हुने भएको छ।  बलात्कारमा अब २० वर्षसम्म सजाय हुन सक्नेछ।यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।   सरकारले ल्याएको विधेयकभन्दा उपसमितिले सजायको दरलाई दोब्बर बनाएको हो।  मूल विधेयकमा १० वर्षभन्दा कम उमेर भएकी बालिकाको बलात्कार भएमा दश वर्षको सरकारी प्रस्तावलाई उपसमितिले २० वर्ष बनाएको हो।  उपसमितिले बाल बलात्कारको सजायमा दोब्बर बनाएको हो। विधेयकमा बलात्कार लगायतका घटनामा पीडितलाई पीडकबाट तत्काल भराउन सक्ने अवस्था नभएमा राज्यकोषबाट अन्तरिम क्षतिपूर्ति दिने व्यवस्था पनि गरेको छ।

विकट गाउँका आठ सय घरमा ‘एक घर एक धारा’

फलेवास (पर्वत), १७ पुस । व्यवस्थित सहरबजार जस्तै यहाँको एक गाउँमा पनि घर घरमै धारा विस्तार गरिने भएको छ । उत्तरी पर्वतको माझफाँट गाविसका ८०० घरधुरीमा ‘एक घर एक धारा’ विस्तार गरिने भएको हो । गाविसमा सञ्ंचालित पुङ्दीखोला खानेपानी तथा सरसफाइ आयोजनामार्फत गाउँका ३ देखि ७ नंसम्मका वडा गरी पाँच वटा वडाका सबै घरधुरीमा खानेपानीका धारा निर्माण भइरहेको छ । अहिलेसम्म उक्त आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतले जनाएको छ । अहिलेसम्म कुवा वा धाराको अव्यस्थित र स्वच्छ पानी पिउनबाट वञ्चित बनेका मल्लाजवासीहरु अब भने लाभान्वित हुने भएका छन् । जिल्लाकै दोस्रो ठूलो योजनाका रुपमा रहेको उक्त खानेपानी आयोजना विस्तार भएपछि प्रत्येक घरमा आवश्यकताका आधारमा धारा जडान हुनेछ र उपभोक्ताले युनिटको आधारमा पैसा तिर्नु पर्ने छ । उक्त पानी झन्डै १२ किलोमिटर टाढा रहेको पुङ्दीखोलाबाट ल्याउन लागिएको हो । अहिले आयोजनाको काम धमाधम भइरहेको छ । २०६७÷६८ बाट सुरु भएको योजना पाँच वर्षमा सम्पन्न हुनेगरी क्रमागत रुपमा सञ्चालन भएको थियो । रु चार करोड ९३ लाखको लागतमा निर्माण हुन लागेको उक्त योजनामा स्थानीयवासीले झन्डै रु ३९ लाख बराबरको श्रमदान गरेका छन् । पाइपलाई विस्तार र विभिन्न ट्याङ्की निर्माणमा स्थानीय श्रमदानसमेत गरिरहेका छन् भने ८० जनाभन्दा बढी मजदुर क्रियाशील रहेको निर्माण व्यवसायी गिरिजा तिवारीले जानकारी दिनुभयो । चालु आवभित्रमा सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको तिवारीले जानकारी दिनुभयो । योजनाको लागतअनुसार बजेट कम भएको र भिरालो जमिनमा काम गर्नुपर्दा असहजता पैदा भएको उहाँको भनाइ छ । एक घर एक धारा विस्तार गर्ने सरकारकै नीतिअनुरुप बृहत् खानेपानी योजनामा समेटिएको उक्त योजनाको काम द्रुत गतिमा भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो । उहाँका अनुसार योजनालाई चालु आवभित्रै सम्पन्न गर्नका लागि यस वर्ष रु ८० लाख विनियोजन भएको छ । योबाहेक पर्वतको फलेवासमा रु सात करोडको लागतमा बृहत् फलेवास खानेपानी योजना पनि विगत दुई वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको छ । उक्त योजना निर्माण सम्पन्न भएपछि माझफाँट गाविसका सबैजसो घरधुरी लाभान्वित हुने अपेक्षा कार्यालयले लिएको छ । जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको उक्त गाविसमा यो खानेपानी योजना निर्माणपश्चात् नमुनाकै रुपमा लिन सकिने उहाँ बताउनुहुन्छ । घर घरमा धारा जडान गर्नका लागि आवश्यक खर्च पनि स्वयम् उपभोक्ताले तिर्नुपर्ने भएको छ । अहिले उक्त योजना व्यवस्थापन समितिले एक धारा बराबर रु सात हजार तोकिसकेको छ । सदरमुकाम कुश्माबजारमा प्रतिधारा जडान शुल्क रु ३० हजारभन्दा बढी रहेका बेला ग्रामीण क्षेत्रमा विस्तार गर्न लागिएको योजनामा तत्कालका लागि रु सात हजार तोकिएको समितिका अध्यक्ष लालबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबै उपभोक्ताको सहभागितामा धाराको मूल्य तोकिएको हो । रासस तस्वीरः वल्र्ड नाइबर्स क्यानाडाको साइटबाट

काठमाडौंमा एक्कासी वर्षा, चिसो बढ्यो

काठमाडौं, पुस १६ । काठमाडौंको बालाजु, धर्मस्थली, थली, कपन, बालकोट लगायतका ठाउँमा वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत देशका पश्चिमी तथा मध्य क्षेत्रमा अहिले मौसम बदली भइरहेको छ । पश्चिमी वायुका कारण मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अझै दुई दिनसम्म मौसममा यस्तै बदली हुने पूर्वानुमान गरिएको मौसमविद सुभाष रिमालले जानकारी दिए । तर ठूलो पानी भने नपर्ने उनले बताए । पानी परेपछि चिसो पनि बढ्दै छ ।

वैतडीमा अधिकारकर्मीबाटै महिलामाथि निर्घात कुटपिट

काठमाडौं, पुस १६   । वैतडीमा अधिकारकर्मींबाटै एक महिला निर्घात कुटिएकी छन् । नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला सञ्जालकी जिल्ला सचिव कान्ता चन्दको कुटाइबाट गुरुखोलाकी माधवी भट्ट गम्भीर घाइते भएकी हुन् । कुटपिटबाट भट्टको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । घाँटी र कम्बरमा लागको चोटका कारण उनी हिँड्न नसक्ने स्थितिमा छन् । उपचारको क्रममा उनको टाउकोमा पाँच टाँका लगइएको छ । बाख्रा बारीमा पसेको निहूँमा चन्दले भट्टलाई कुटपिट गरेकी थिइन् । चन्दाले भने आफूलाई अनेक आरोप लगाएका कारण सहन नसकेर कुटेको वताएकी छन् । जिल्ला प्रशासन कार्यालयले घटनालाई निन्दनीय भनेको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

माछा मार्न गएका लावतीको करेन्ट लागेर मृत्यु

इलाम, पुष १६ । करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ । महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । रासस

नयाँ वर्षमा नेपाली टोपी दिवस मनाउन आग्रह

काठमाडौं, पुष १६ । विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अङ्ग्रेजी नयाँ वर्ष मनाउन तेस्रो अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस आयोजकले आह्वान गरेका छन् । यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताए । शताब्दीऔँदेखि प्रयोग भइरहेका विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् २०१४ जनवरी १ देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ । रासस

एकताकलीलाई हात्ती सुन्दरीको ताज, शृङ्गारमा उत्कृष्ट पुनम

रत्ननगर (चितवन), पुष १५  । ओँठमा लाली छ, नङमा पालिस । खुट्टामा रङकै पाउजु । सलक्क परेको शरीरमा विभिन्न आकृतिका फूलका बुट्टा । विभिन्न रङ्ग भरेर नङ आकर्षक पारिएको छ । अनुहारमा देखिएको पुत्ला पनि मनै लोभिने । क्याटवाक हेर्दै उपाधि जित्ने खालकी देखिएकी ३० वर्षकी एकताकली नभन्दै सुन्दरीको ताज पहिरिन सफल भइन् । दुःख गरेरै सुन्दरी बनाएर ल्याएको बताउने उनका माहुत जेवरलाल पासवान भन्छन्, “नभन्दै जित्यो, खुसी छु ।” निर्णायक डा कमल गैंरे, किरण रिजाल र परमानन्द गर्गले भनेका कुरा एकताले काटिनन् । बसाउँदा समेत सजिलै बसिन् भने भुइँमा झरेको लठ्ठी टिप्नदेखि दर्शकलाई नमस्कार गर्नसमेत एकताले सहजै मानिन् । सबै कुराले ‘परफेक्ट’ हुँदा एकताले ‘ब्युटी’को ताज उचालेकी निर्णायक सदस्य किरण रिजालले बताए । उनले ८३ अङ्क प्राप्त गरिन् । चितवनको सौराहामा जारी हात्ती महोत्सवका क्रममा बिहीबार भएको हात्ती सुन्दरी प्रतियोगितामा पाँच हात्तीलाई उछिन्दै एकताकलीले सुन्दरीको ताज पहिरिएकी हुन् । सुन्दरी प्रतियोगितामा १५ वर्षकी पुष्पाकली ७३ अङ्कको साथमा फस्ट रनरअप भइन् भने ११ वर्षकी सेल्फीकली ६९ अङ्कका साथ सेकेन्ड रनरअफमै चित्त बुझाइन् । एलिसा र बिजुलीकली भने पहिलो चरणबाटै बाहिरिएकी सुन्दरी प्रतियोगिता उपसमितिका संयोजक दामोदर रेग्मीले बताए । सेल्फीका लागि पहिलो अनुभव हो भने अन्य दुई हात्ती विगतमा पनि सहभागि थिए । अहिले उनीहरु हात्ती दौड र पोलोमा पनि सहभागी छन् । निर्णायक संयोजक डा कमल गैरे हात्तीको क्याटवाक, हाउभाउ, बानीबेहोरा, घाउ छ कि छैन, माहुतले भनेको कति मान्छ सबै कुरालाई मूल्याङ्कन गरेर सुन्दरी छनोट गरिएको बताउँछन् । हात्ती शृङ्गारतर्फ पुनमकलीले बाजी मारेकी छिन् । सुन्दरकली र पिङ्कीकलीलाई पछि पार्दै पुनमले शृङ्गारको उपाधि जितिन् । हात्तीका माहुतले हात्तीमा बुट्टा भरेर आकर्षक बनाएपछि पुनम विजेता बनेकी शृङ्गार कार्यक्रम संयोजक योगेश अधिकारीले जानकारी दिए । आज सकिने महोत्सवअन्तर्गत आज फाइनल चरणको हात्ती दौड, हात्तीपोलो र हात्तीका छावाको फुटबल हुने क्षेत्रीय होटल सङ्घका महासचिव राममणि खनालले जानकारी दिए । । रासस

शैक्षिक संस्थाको भौतिक सम्पत्ति संरक्षण गर्न राष्ट्रपतिको सुझाव

काठमाडौँ,  पुष १५ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वविद्यालय र शैक्षिक संस्थाको भौतिक सम्पत्ति संरक्षणका लागि सरकारलाई गम्भीर बन्न सुझाव दिएकिी छन् । त्रिविका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहकुलपति एवम् शिक्षामन्त्री धनीराम पौडेल, त्रिविका उपकुलपति तथा पदाधिकारीसँग बिहिबार राष्ट्रपति कार्यालयमा भएको भेटमा उनले सो सुझाव दिएकी हुन् । राष्ट्रपति भण्डारीले शैक्षिक संस्थाको भौतिक सम्पत्ति निजी क्षेत्रलाई भाडामा लगाउने र गैरसरकारी सङ्घ संस्थालाई उपभोग गर्न दिनेजस्ता कार्य रोक्नुपर्ने भन्दै भौतिक सम्पत्तिको उपयुक्त रुपमा संरक्षण र उपयोग गर्ने योजना बनाउन आवश्यक रहेको बताएको उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । नयाँ विश्वविद्यालय खोल्दा पुराना विश्वविद्यालयको सम्पत्ति बाँडचँड गर्ने परिपाटीको अन्त्य गर्दै नयाँ विश्वविद्यालयलाई भौतिक पूर्वाधारका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने पनि उनले बताए । त्रिभुवन विश्वविद्यालयको ४२ औँ दीक्षान्त समारोहको अवसर पारेर भएको सो भेटमा प्रधानमन्त्री प्रचण्डले त्रिभुवन विश्वविद्यालयलगायत शैक्षिक संस्थाको शैक्षिक र भौतिक पूर्वाधारको विकासका लागि सरकार तयार रहेको बताए । भेटमा त्रिविका पदाधिकारीले विश्वविद्यालय अन्तर्गतका अनुसन्धान केन्द्रलाई बलियो बनाउन आवश्यक रहेको बताएको जनाएको छ । रासस

प्रम स्वकीय सचिव प्रकाशका बारेमा प्रकाशित समाचारविरुद्ध उजुरी

काठमाडौं, पौष १४ । प्रधानमन्त्री प्रचण्डका स्वीकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारविरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी परेको छ । राजधानीबाट प्रकाशित हुने ‘नेपाल समाचारपत्र’को ब्यानर समाचारका रुपम प्रकाशित “महतोको लगानी शंकाको घेरामा, प्रधामन्त्री पुत्रलाई रसरङ्गमा भुलाएर अवैध धन्दा चलाईंदै” भन्ने समाचारले दाहालको मानमर्दन भएको भन्दै उजुरी परेको नेपाल प्रेस काउन्सिलले जनाएको छ । प्रम कार्यालय स्वकीय सचिवालयमा कार्यरत् दल बहादुर बिकका तर्फबाट दर्ता भएको उजुरीमा प्रकाशित समाचार अत्यन्तै गलत, भ्रामक, कपोकल्पित र एकपक्षीय ढंगले प्रवाह भएको उल्लेख छ । “स्वकीय सचिव प्रकाश दाहालको चरित्र हत्या गर्ने तथा प्रधानमन्त्रीलाई बदनाम गराउने कुत्सित मनसाय र योजनामा उक्त समाचार प्रकाशित गरिएकोमा शंका छैन” उजुरीमा भनिएको छ । उजुरीमा सम्बन्धित व्यक्तिको प्रतिक्रियासम्म नराखि कुनै तथ्य, प्रमाण र पुष््ट्याइबिना कसैको बदनाम गराउने नियोजित उद्देश्यका साथ एकपक्षीय ढंगले प्रकाशति समाचार आचार संहिता २०७३ विपरित रहेकोले कडा कारवाही गर्नुका साथै प्रकाशित स्थानमा नै क्षमा याचनासहितको खण्डन तत्काल प्रकाशित गर्न अनुरोध गरिएको छ ।

यी हुन शिक्षा पत्रकारिता पुरस्कार पाउने पत्रकार

काठमाडौं, पुस १४ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा संयुक्त रुपमा प्रदान गरिने ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७’ यस पटक दुई जना पत्रकारलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठकले रु. ७५ हजार राशीको यो पुरस्कार अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं)लाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले पाँच विकास क्षेत्र र उपत्यकालाई १ क्षेत्र मानी ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल (राजधानी दैनिक, इलाम) र अम्मर खड्का (नागरिक दैनिक–सुनसरी), मध्यमाञ्चलबाट दिवाकर भण्डारी ९अन्नपूर्ण पोष्ट–बारा० र ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), पश्चिमाञ्चलबाट बसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) र कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) गरी ५ क्षेत्रमा सुयक्तरूपमा प्रदान गरिएको छ भने उपत्यकाबाट लिलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं)लाई प्रदान गर्ने निर्णय भएको छ । बैठकले उपत्यकासहित ६ क्षेत्रका २/२ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७२’ पूर्वाञ्चलबाट शेखर ढकाल (रेडियो नेपाल–सुनसरी) र सरिता राई (रासस–भोजपुर) मध्यमाञ्चलबाट मायामितु न्यौपाने (रेडियो वीरगञ्ज–पर्सा) र मनिका झा (अन्नपूर्ण पोष्ट दैनिक–धनुषा), उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–काठमाडौं) र आस्था केसी (रातोपाटी डटकम–काठमाडौं)लाई प्रदान गरिएको छ । त्यस्तै पश्चिमाञ्चलबाट वीरेन्द्र केसी (कान्तिपुर–अर्घाखाँची), लक्ष्मण पोखरेल (दैनिकपत्र दैनिक– रुपन्देही), सन्तोष गौतम (नवविकल्प साप्ताहिक–म्याग्दी), मध्यपश्चिमाञ्चलबाट गोविन्द केसी (नागरिक दैनिक–दैलेख), दीपबहादुर घर्ती (कमाण्डरपोष्ट दैनिक–जाजरकोट) र ईश्वर अधिकारी (काक्रेविहार दैनिक–सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट बसन्तप्रताप सिंह (कान्तिपुर दैनिक–बझाङ), शेरबहादुर ऐर (अनुमोदन दैनिक–कैलाली) र टंकबहादुर कुँवर (विन्तीपत्र साप्ताहिक–कैलाली) गरी संयुक्तरुपमा प्रदान गर्ने निर्णय मूल समितिले गरेको छ। त्यस्तै उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिने ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ तर्फ पुर्वाञ्चलबाट पूर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), मध्यमाञ्चलबाट रेडियो मकवानपुर (मकवानपुर) र रेडियो रसुवा (रसुवा)लाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । त्यस्तै उपत्यकाबाट रेडियो सगरमाथा १०२ः४ (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी १०७ः४ (बाग्लुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्तरुपमा रेडियो धनगढी ९०ः५ (कैलाली) र रेडियो अमरगढी ९७ः४ (डडेलधुरा)लाई प्रदान गरिएको छ । रु. २० हजार राशीको यो पुरस्कारको लागि महासंघको क्षेत्रीय संयोजकहरुको संयोजकत्वमा गठित शिक्षा विभागका प्रतिनिधिसहितको समितिले गरेको सिफारिसबमोजिम नतिजा सार्वजनिक गरिएको हो । यसैगरी बैठकले राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पत्रपत्रिकातर्फ युगबोध दैनिक (दाङ) र आजको शिक्षा साप्ताहिक (काठमाडौं)लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ भने टेलिभिजनतर्फ हिमशिखर टेलिभिजन (झापा)लाई प्रदान गरिएको छ । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । महासंघ पुरस्कृत सबै पत्रकार तथा सञ्चारमाध्यमलाई हार्दिक बधाई ज्ञापन गर्दछ । उक्त पुरस्कारहरू २०७३ पुस १९ गते मंगलबार दिउ“सो महासंघ केन्द्रीय कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा वितरण गरिने महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एकै परिवारका पाँच दृष्टिविहीन विचल्ली

राजविराज, पुस १४ । सरकारबाट पाउने सेवा र सुविधा नपाउँदा जिल्लाको गम्हरीया प्रवाहा गाविस–४ स्थित पटी टोलमा एकै परिवारका पाँच दृष्टिविहीन व्यक्ति विचल्लीमा परेका छन् । एउटै परिवारका ५० वर्षीय शम्भु मण्डल, उनका ४५ वर्षीय भार्इ शिवनारायण मण्डल र उहाँकी ४० वर्षीया श्रीमती गीतादेवी मण्डल, ४२ वर्षीया बहिनी जयकलादेवी मण्डल र एक छोरासहित पाँचै जना अपांगता भएका व्यक्तिले सरकारबाट पाउने सेवा सुविधा नपाएको गुनासो गरेका छन् । दृष्टिविहीन पाँचै जनालाई जीवनयापन गर्न समस्या भइरहेको बताएको छ । दृष्टिविहीन शम्भुको दुई छोरा र दुई छोरी छन् भने शिवनारायणको दुई छोरा र एक छोरी तथा जयकलाको दुई छोरा र एक छोरी रहेका छन् । राज्यबाट पाउने सेवा र सुविधाबाट वञ्चित भएपछि छोराछोरीलाई पालनपोषणमा निकै समस्या भएको पीडित शम्भुले बताए । उनीहरुले २०६७ देखि २०७१ असारसम्म राज्यबाट पाउनु पर्ने सेवा र सुविधा पाए पनि पछिल्लो दुई वर्षयता कुनै सुविधा नपाएको गुनासो गरेका छन् । सरकारले अहिले पूर्ण अपांगता भएकालाई रातो कार्ड र सामान्य अपांगतालाई हरियो कार्ड दिने व्यवस्था गरेको छ । रातो कार्ड पाउन सरकारी कार्यालय, सगरमाथा अपांग संघलगायतका विभिन्न निकायमा आफू महिनौँ दिनसम्म धाउँदा पनि कुनै सुनुवाइ नभएको उनीहरुको गुनासो छ ।

सात किलो सुनसहित राजधानीबाट युवक पक्राउ

काठमाडौं, पुस १४ । सात केजी अवैध सुनसहित एकजना चालकलाई प्रहरीले राजधानीको कलंकीबाट पक्राउ गरेको छ । रसुवाबाट धादिङको बाटो हुँदै काठमाडौं आउने क्रममा हाईलक्स गाडीमा लुकाइराखेको सो मात्रामा सुनसहित चालकलाई पक्राउ गरिएको महानगरिए प्रहरीले जनाएको छ । चिनियाँ बाटो हुँदै रसुवाको केरुङबाट उक्त सुन नेपाल भित्र्याउन लागिएको हुनसक्ने अनुमान प्रहरीले लगाएको छ । तर यति धेरै सुन कसको हो र कसलाई दिन ल्याइएको हो भन्ने कुरा भने अझैसम्म खुलेको छैन । महानगरीय अपराध अनुसन्धान विभागको टोलीले त्यतिका परिणाममा सुन पक्रेको हो । जसको बजार मूल्य करिब साढे तीन करोड रुपैयाँ हुन्छ ।