स्थानीयवासीलाई सुकुम्बासी बनाउन लागिएको भन्दै धर्ना
काठमाडौँ, पुस २५ । सर्वोच्च अदालतले मुआब्जा नदिई सडक विस्तार नगर्नु भनी दिएको अन्तरिम आदेश पालना नभएको भन्दै आज धर्ना र र्याली प्रदर्शन गरिएको छ।
उपत्यकाव्यापी सडक विस्तार पीडित सङ्घर्ष समितिले आज माइतीघर मण्डलामा धर्ना दिई नयाँ बानेश्वरसम्म र्याली प्रदर्शन गरेको हो। सर्वोच्चको आदेशविरुद्ध स्थानीयवासीलाई सुकुम्बासी बनाउन लागिएकाले धर्ना र र्याली गर्नुपरेको समिति अध्यक्ष सुमन सायमीले बताए।
समितिमा उपत्यकाका विभिन्न स्थानका गरी २४ सङ्घर्ष समिति आबद्ध छन्। समितिले यसअघि गत बुधबार उपत्यका बन्दको आयोजना गरेको थियो । शान्तिपूर्ण रुपमा माग राख्दा सम्बोधन नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुनुपर्ने पीडितको चेतावनी छ ।
अवैध यौन गतिविधिमा संलग्न चार भारतीयसहित आठ जना पक्राउ
बनियानी (झापा),पुस २५ । झापाको बिर्तामोडस्थित नयाँ बसपार्कबाट चार जना भारतीय नागरिक र चार जना महिला यौनकर्मीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय रुपेश कुमार, २७ वर्षीय विशाल कुमार, २४ वर्षीय गौरवकुमार रौवन र २९ वर्षीय शिवमकुमार रहेको बताइएको छ । भारतको विहारबाट सिलिगुढी हुँदै उनीहरु नेपाल घुम्न आएका थिए । अवैध यौन गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिर्तामोडको नयाँ बसपार्कस्थित स्वागतम होटलबाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर श्रेष्ठले जानकारी दिनुभयो । इलाका प्रहरीका कार्यालय अनारमनीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् । रासस
पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन आवश्यकः राष्ट्रपति भण्डारी
काठमाडौँ, पुस २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिन माग गरेको छ । पार्टीले उक्त दिन आयोजना गर्न लागेको चियापान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज निमन्त्रणा गर्न शीतलनिवास गएका पार्टीका प्रमुख सचेतक दीलनाथ गिरीको नेतृत्वको समूहले बिदाको माग गरेको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले पृथ्वीनारायण शाहले मुलुकको एकीकरण गरी देशको पहिचान बनाएको बताउँदै राष्ट्रिय एकताका प्रतीकका रुपमा पृथ्वी जयन्तीलाई एकता दिवसका रुपमा मनाउन खाँचो रहेको विचार व्यक्त गरेको प्रमुख सचेतक गिरीले जानकारी दिए । राष्ट्रपति भण्डारीले उक्त दिन सहभागी हुनका लागि छलफल गरी समयमा पार्टीलाई सूचना उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । पार्टीले प्रमुख सचेतक दीलनाथ गिरीलाई राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा संवैधानिक निकाय, राजनीतिक दल, कूटनीतिक निकाय लगायतलाई निमन्त्रणाको जिम्मेवारी दिएको थियो । प्रत्येक वर्ष पृथ्वी जयन्तीका अवसरमा पार्टीले औपचारिक रुपमा एकता दिवस तथा चियापान गर्दै आएको छ । रासस
नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचनः डा महत
बैतडी, पुस २५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन जिल्ला शाखा बैतडीले आज गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा महतले स्थानीय तह पुनःसंरचना आयोगले प्रतिवेदन बुझाइसकेकाले नयाँ संरचनाअनुसार स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । “संविधान कार्यान्वयनका लागि पनि स्थानीय निर्वाचन आवश्यक छ”– उनले भने, “यसका लागि सरकारले चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।” संसद् अवरुद्ध गर्नु गैरलोकतान्त्रिक चरित्र भएकाले सबै विषयको छलफल संसद्बाटै हुनुपर्नेमा उनले जोड दिए । “लोकतन्त्र र संसदीय प्रणालीमा विश्वास गर्ने पार्टीले संशोधन विधेयकको बारेमा संसद्मै छलफल हुन दिनुपर्छ,” उनले भने, “पारित गर्ने या नगर्ने संसद्ले तय गर्छ, संसद् अवरुद्ध गरेर एमालेले अलोकतान्त्रिक चरित्र देखाएको छ ।” संविधान संशोधनका विषयमा असहमति भए संसद्बाटै बहुमत देखाएर अस्वीकृत गर्न एमालेलाई डा महतले चुनौती दिए । “संशोधन विधेयकका बारेमा सबै पार्टीभित्र मत भिन्नता हुन सक्छ तर यसको छिनोफानो आन्दोलनबाट नभएर संसदीय प्रक्रियाबाटै हुनुपर्छ ।” रासस
चितुवाको आक्रमणबाट चार घाइते
भीमदत्तनगर, पुस २४ । कञ्चनपुरको भीमदत्तनगरपालिका– १ भाषी गाउँ पसेको चितुवाको आक्रमणबाट एक प्रहरीसहित चार जना स्थानीय बासिन्दा घाइते भएका छन् । आज भाषी खोलामा रहेको चितुवाले आक्रमण गर्दा वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रहरी हवल्दार शङ्करदत्त मिश्रसहित घाइते भएका छन् । घाइते हुनेमा भाषीमा डेरा गरी अध्ययन गर्ने गणेश भाट, बेदकोट नगरपालिका–८ का लाल सार्की र मोहनसिंह विष्ट छन् । घाइते चारै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । ‘चितुवा हेर्न गाउँलेको भीड लागेको छ ।’ घाइते प्रहरी हबल्दार मिश्रले भने– ‘गाउँलेलाई चितुवा भएकोतिर नजान भन्दै गर्दा चितुवा आएर आक्रमण गर्यो ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चितुवा नियन्त्रणका लागि निकुञ्जबाट हात्तीसहितको टोली भाषी पुगेको जानकारी दिए । त्यसका साथै निकुञ्ज कर्मचारी, प्रहरी र स्थानीयवासी चितुवा नियन्त्रणमा लागिपरेको भए पनि अझै नियन्त्रणमा आइसकेको छैन । रासस
सामजिक सञ्जालमार्फत आएको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही
काठमाडौं, पुस २४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत नागरिकले पठाएका उजुरीलाई अध्ययन गरी कारबाही थालेको छ । ट्राफिक प्रहरीको मोबाइल एप्स, फेसबुक, ट्विटर, भाइबर लगायत सामजिक सञ्जालमार्फत सर्वसाधारणले गरेको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही सुरु गरिएको छ । लेन अनुशासन पालना नगर्ने, सडकमा जथाभावी रुपमा सवारी पार्किङ गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने निजी तथा सरकारी साधनको तस्विर खिचेर ट्राफिक प्रहरीको सामाजिक सञ्जालमा पठाउने बित्तिकै महाशाखाले उक्त सवारी धनीलाई बोलाएर आवश्यक सोधपुछ गरी कारबाही गर्ने गरेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले जानकारी दिए । उनले भने– ‘दैनिक दुई दर्जनभन्दा बढी उजुरी महाशाखामा आउने गरेका छन् तीमध्ये आवश्यक अध्ययन गरेर ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारबाही गरेका छौं ।’ उनले दैनिक पाँचदेखि सात वटा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी धनीमाथि कारबाही गरिएको बताए । महाशाखाले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई रु एक हजार जरिवाना गर्दै आइरहेको छ । रासस
सव–स्टेसनमा समस्या उत्पन्न हुँदा विद्युत् आपूर्तिमा समस्या
काठमाडौं, पुस २४ । नेपाल विद्युत् प्राधिकरणको स्युचाटार सव स्टेसनमा समस्या उत्पन्न भएका कारण राजधानीको केही स्थान र काभ्रेपलान्चोकको बनेपालगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले स्युचाटारमा जडित १३२/६६ केभी प्रसारण लाइनले प्रवाह गर्ने ३६ एमभीए क्षमताको ट्रान्सफर्मरको बुकोल्ज रिलेमा अचानक प्राविधिक गडबडीले समस्या उत्पन्न भएको जानकारी दिए । प्राधिकरणको प्राविधिक टोली समस्या समाधानमा जुटिरहेको जानकारी दिँदै प्रवक्ता अधिकारीले सो समस्याका कारण चावहिल, भक्तपुर, बनेपा, पाटन, स्युचाटार लगायतका फिडरसहित अन्य स्थानमा ‘रोटेसन बेसिस’ मा कम्तीमा ३० मिनेटका दरले विद्युत् आपूर्ति बन्द हुने बताए। सो समस्याका कारण २० मेगावाट बराबरको विद्युत् आपूर्तिमा समस्या आएकाले प्राधिकरणले क्षमायाचना समेत गरेको र केही समयभित्रै समस्या समाधान हुने समेत उनले जानकारी दिए । रासस
ज्यामरुककोट समाजको अध्यक्षमा कार्की निर्वाचित
काठमाडौं, पुस २४ । ज्यामरुककोट समाज नेपालको अध्यक्षमा राम कार्की निर्वाचित भएका छन् । शनिबार भएको प्रथम अधिवेशनबाट कार्कीको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन भएको हो । अधिवेशनको उदघाटन बयोबृध्दा ज्यामरुके छोरी मनु मल्ल शाहले गरेका थिए । समाजको वार्षिक प्रतिवेदन अध्यक्ष कार्कीले प्रस्तुत गरे । आर्थिक प्रतिवेदन सचिव दिर्घ रिजालले प्रस्तुत गरे । समाजका सदस्य ईन्जिनियर बिनायक शर्माले स्वागत मन्तव्य राखे । अधिवेशनमा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व प्रमुख कृष्ण थापा, सामाजसेवी चन्द्र बहादुर घिमिरे, सिनियर कृषि बैज्ञानिक टिका कार्की, ज्यामरुककोट समाज नेपाल उप–समिति बाग्लुङ का कोषाध्यक्ष अनुप रिजाल, अर्जुन उच्च माविका हेडमास्टर शिवकुमार खत्रीले शुभकामना दिए । ज्यामरुककोट समाज का सल्लाहकार विश्व बम मल्लले अधिवेशनमा उपस्थित भएका अतिथिहरुलाई धन्यबाद दिएका थिए । कार्यक्रम सञ्चालन प्राध्यापक बालकृष्ण शर्माले गरेका थिए । नव निर्वाचित कार्यसमिति अध्यक्षः राम कार्की उपाध्यक्षः भीम सापकोटा उपाध्यक्षः सुरत बम मल्ल सचिवः बालकृश्ण षर्मा कोशाध्यक्षः दिर्घा शर्मा सह–सचिवः हर्क सापकोटा सदस्यहरूः बद्री सापकोटा भविन्द्र कुँवर अर्जुन ब. मल्ल भावना मल्ल राणा सन्तोष सापकोटा दुर्गा थापा अनिल कार्की राजन घिमिरे कुशुम मल्ल कृष्णकाली कार्की थापा अशोक मल्ल जगत घिमिरे रेणु घिमिरे केसी प्रकाश विक योगेन्द्र थापा
सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, राजमार्ग अवरुद्घ
बैतडी, पुस २४ ।मौसममा एक्कासि आएको परिवर्तनले वर्षासँगै गएराति बैतडीलगायत सुदूरपश्चिममा हिमपात भएको छ । जिल्लाका उच्च लेकाली भाग दशरथचन्द राजमार्गको अनारखोली, खोडपे, सतबाँझ, मुस्याचौर, देहिमाण्डौलगायत श्रीकोट, ग्वाल्लेक, शिवनाथ गाविसको केही भू–भागमा पनि हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो । हिमपातले बैतडीको दशरथचन्द राजमार्ग र जयपृथ्वी राजमार्ग अवरुद्घ हुँदा गएरातिदेखि गाडी नै चल्न सकेका छैनन् उहाँले भन्नुभयो – “राजमार्गमा डेढफिटसम्म हिउँ परेको खबर आएको छ” केही बेरपछि जेसिवी डोजरले हिउँ पन्छाइ राजमार्ग खुलाइने प्रहरीले बताएको छ । राजमार्ग अवरुद्घ हुँदा बैतडीबाट डडेल्धुरा, धनगढी, महेन्द्रनगर, काठमाडाँै र जिल्ला भित्रिने दर्जनौँ गाडी तथा यात्रु सडकमै अलपत्र परेका छन् । यस्तै हिमपातले सुदूरपश्चिमका भीमदत्त राजमार्ग, केआई सिंह राजमार्ग, जयपृथ्वी राजमार्गलगायतका सडकखण्ड अवरुद्घ भएको बताइएको छ । वर्षासँगैको हिमपातले अत्यधिक चिसो बढेपछि जनजीवन पनि प्रभावित भएको छ । चिसोले बढीजसो बालबाललिका र वृद्घवृद्घा प्रभावित भएका छन् । लामो समयपछि वर्षा भएपछि किसान भने हर्षित भएका छन् । वर्षा नहुँदा हिउँदे बाली सुक्न लागेकामा चिन्तित भएका किसान वर्षापछि हर्षित भएका हुन् । रासस File Photo
बागमतीमा फोहोर फाल्नेलाई बीस हजार जरिवाना
काठमाडौं, पुस २३ । उपत्यकाका प्रमुख नदी सफाइ गर्ने क्रममा आज तिलगङ्गास्थित बागमती किनारमा फोहोर फाल्दै गर्दा चार पसल र एक होटल गरी पाँचलाई कारबाही गरिएको छ । अन्नपूर्ण मिठाई पसल गौशाला, तिलगङ्गाका प्रेम श्रेष्ठ फर्निचर पसल, अरुण शर्मा सिसा पसल र चिकेन हाउस तिलगङ्गाका कामदारलाई फोहोर फाल्दै गर्दा पक्राउ गरी जनही रु पाँच हजारका दरले रु २० हजार जरिवाना गरिएको काठमाडौँ महानगरपालिका नगर प्रहरीका प्रहरी नायब निरीक्षक बद्रीमान नगरकोटीले बताए । ‘फोहर फाल्दा रङ्गेहात पक्राउ परेका शिवशंकर होटल जयबागेश्वरीका कामदार जरिवाना रकम रु पाँच हजार ल्याउँछु भनी गएकामा जरिवाना बुझाउन नआई फोनबाट जरिवाना तिर्दिन जे सक्नुहुन्छ गर्नुस्, भनेपछि महानगरीय प्रहरी वृत्त गौशालाको सहयोगमा सञ्चालक प्रज्वलमान श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ’– उनले भने । फोहोरमैला ऐनअनुसार सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई स्थानीय निकायले रु.पाँच हजारदेखि रु.एक लाख ५० हजारसम्म जरिवाना र छ महिना जेलमा राख्न पाउने व्यवस्था गरिएको छ । प्रत्येक शनिबारझैँ आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । बागमती सफाइको एक सय ९१ औँ हप्तामा आज तिलगङ्गा क्षेत्रमा सफाइ गरी छ मेट्रिक टन फोहोर व्यवस्थापन गरेका छन् । स्वतः स्फूर्तरुपमा सफाइमा उपस्थित भएकालाई दुई समूहमा विभाजन गरी एक समूहले सफाई र अर्को समूहले तिलगङ्गा क्षेत्रका घरघरमा छिरेर जनचेतनामूलक अभियान सञ्चालन गरेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले राससलाई जानकारी दिए । तिलगङ्गा क्षेत्रका घरदैलोमा गई नदीमा फोहोर नफालौँ, फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिक पर्ने स्थानमा सहभागी बनौँ भनी जागरणमूलक कार्यक्रम गरिएको उनले बताए । रुद्रमती सफाइको १५० औँ हप्तामा आज बूढानीलकण्ठदेखि बुद्धनगरसम्म १० स्थानमा सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिएको छ । आजको विशेष कार्यक्रमको शुभारम्भ स्वास्थ्यमन्त्री गगनकुमार थापाले बूढानीलकण्ठ मन्दिर परिसरमा गरिएको थियो । कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री थापाले रुद्रमतीलाई उपत्यकाको पहिलो सफा नदी बनाउन सबै जुट्नुपर्ने बताए । यो अभियानमा आफ्नो पनि साथ र सहयोग रहने उनको भनाई रहेको थियो । सफाइ अभियान सुरु हुनुअघि योग शिक्षकद्वय डा.राजु अधिकारी र किशोर साहीले योग प्रशिक्षण दिएका छन् । सफाइमा मुख्य सचिव डा.सोमलाल सुवेदी, पूर्वसचिव किशोर थापा, प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा लगायतले सफाइ अभियानको नेतृत्व गरेको थियो । रुद्रमतीका १० स्थानबाट तीन मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, चारुमती मित्र समूह, भण्डारेश्वर व्यवस्थापन समिति, महानगरपालिकाका ७, ९ र ३३ वडा कार्यालय लगायतको सक्रियता रहेको थियो । विष्णुमती सफाइको १२४ औँ हप्ताका अभियन्ता पनि आज रुद्रमतीमै केन्द्रित भएको अभियानकर्मी विजेन्द्र लामाले जानकारी दिए । बूढानीलकण्ठस्थित विष्णुमती मुहानमा सफाइ गरी एक मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको उनले बताए । रासस
महायज्ञमा एक करोड भन्दा बढी सङ्कलन
पाल्पा, पुस २३ । गङ्गा माध्यमिक विद्यालय रामपुरमा सञ्चालन भइरहेको श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञमा रु.एक करोड २६ लाख २६ हजार ६६४ बराबरको जग्गा र रकम संकलन भएको छ । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उदेश्यले आयोजना गरिएको सो महायज्ञमा पाँचौं दिनसम्म रु ३२ लाख ८४ हजार ७८१ नगद र रु ९३ लाख ४१ हजार ८८३ बराबरको जग्गा दान संकलन भएको लेखासमिति संयोजक खगेन्द्र न्यौपानेले बताए । अहिलेसम्म ६ सय मुरी धान सङ्कलन भएको छ । महायज्ञका अवसरमा अहिलेसम्म २० जनाले तुलादान गरेका छन् । गत पुस १८ गतेबाट सञ्चालन भएको महायज्ञ आउँदो पुस २५ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा पण्डित नारायणप्रसाद न्यौपानेको मुखारविन्दबाट संगीतमय शैलीमा कथा वाचन भइरहेको छ । रासस
काठमाडौ–भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र
भक्तपुर, पुस २३ । स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चारवटा ठूला पुल निर्माण अलपत्र परेको छ । चारमध्ये तीन वटा ठूला पुल काठमाडौँ–भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल हो । भक्तपुर र काठमाडौँ जोड्ने मनोहरा खोला गोठाटार हरहर महादेव पुल निर्माण विगत छ वर्षदेखि स्थानीयले अवरोध पुर्याएकै कारण निर्माण सुरु हुुन नसकेको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए । कुल रु.चार करोड ८५ लाखमा निर्माण सम्पन्न गर्ने गरी २०६६ पुस २४ गते सम्झौता भएलगत्तै ठेकेदार कम्पनीले पुनःनिर्माणका लागि आवश्यक निर्माण सामग्रीसहित काम सुरु गरेकै दिन पुल निर्माण हुुन नदिने भन्दै गोठाटार र मध्यपुर थिमिका बासिन्दाबीच झडप भएको थियो । मनोहरा खोलाले धार परिवर्तन गर्दा गोठाटारवासीको जग्गा थिमि क्षेत्रमा पसेकाले २०२१ सालकै नापीअनुसार खोलाको धार कायम गरेर पुल निर्माण गर्नुपर्ने गोठाटार बासिन्दाको माग थियो भने यसरी धार परिवर्तन गर्दा वर्षौदेखि थिमिका बासिन्दाले शव जलाउने घाटसमेत भत्काउनुपर्ने भएपछि यसमा थिमिको बासिन्दाले असहमति जनाउँदै खोला अहिले बगेकै स्थानमा पूल बनाउनुपर्ने माग गरेका थिए । काठमाडौँ गोठाटार र भक्तपुरको ठिमीका बासिन्दाबीच झडप भएपछि हालसम्म यो पुल निर्माण अलपत्र परेपनि सरकारले हरेक वर्ष बजेट छुट्याउने गरेको छ । कार्यालयका प्रमुख अधिकारीले भने, ‘यसवर्ष पनि सरकारले रु २० लाख छुट्याएको छ, पुल निर्माणका लागि दुवै पक्षसँग पटकपटक छलफल गर्दा पनि प्रगति हुन सकेको छैन, त्यसैले पुल निर्माण अलपत्र परेको हो ।’ यता काठमाडौँको इन्द्रायणी र भक्तपुरको चाँगुुनारायण जोड्ने मनोहरा–इन्द्रायणी पुल निर्माण अन्तिम चरणमा पुगेपछि स्थानीयले अवरोध गरेका छन् । २०६८ साल असार २७ गते निर्माण सम्झौता भएको उक्त पुुलको निर्माण कार्य हाल ८६ प्रतिशत सम्पन्न भएपछि नदी नियन्त्रणको काममा स्थानीयले अवरोध पुर्याएपछि पुल निर्माण सम्पन्न गर्ने काम अलपत्र परेको छ । कुल रु.चार करोड ५५ लाखमा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि स्थानीयले काम अवरोध गरेपछि काम सम्पन्न नै नगरी ठेकेदार कम्पनी लामा बिल्डर्स साल्पा शेर्पा जयबाबा गोरखा जेभीले काम छाडेर जान खोजेको कार्यालयले जनाएको छ । त्यस्तै भक्तपुुरको चाँगुनारायण र काठमाडौँको ब्रम्हखेल जोड्ने चाँगुनारायण–ब्रम्हखेल खोला पुुल निर्माण कार्य सुरु भएपछि रोकिएको छ । २०७० साउन ४ गते रु तीन करोड ९४ लाखमा पुल निर्माण सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीसँग सम्झौता भएर काम सुरु गरेपछि खोलामा कडा ढुङ्गा निस्किएको र इन्द्रायणीतर्फका बासिन्दाले खोला क्षेत्रमा पर्ने जग्गामा पुलको जग हाल्न नदिएपछि निर्माण कार्य अलपत्र परेको छ । कार्यालय प्रमख अधिकारीले भने– ‘काठमाडौँतर्फ जगको तीनवटा पिलर हालियो, भक्तपुरतर्फ काम गर्दा कडा ढुङ्गा आएपछि डिजाइन नै परिवर्तन गरेर काम भइरहेको छ, तर इन्द्रायणी तर्फका स्थानीयले जग्गा छोड्न नमानेपछि पुल निर्माण बाधा आएको छ ।’ त्यसैगरी मध्यपुर ठिमी नगरपालिका र अनन्तलिङ्गेश्वर नगरपालिका जोड्ने हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते–दधिकोट पुल निर्माणको अन्तिम चरणमा बाधा आएको छ । २०६९ असार २५ गते रु तीन करोड ९२ लाखमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेर कामै नगरी सम्पर्कमा नआएको ठेकेदार कम्पनीका विरुद्ध कार्यालयले कारबाहीको सूचना जारी गरेपछि काम सुरु भएको थियो । उक्त पुलको हाल स्ट्रक्चर निर्माण कार्य सम्पन्न भएको जानकारी दिँदै कार्यालय प्रमख अधिकारीले स्थानीय निकायले पुल र दधिकोटतर्फको सडकको सीमाङ्कन नगरिदिँदा काम सम्पन्न गर्न समस्या आएको जानकारी दिए । यसैबीच विभिन्न अवरोधका बीच चाँगुनारायण–साँखु जोड्ने मनोहरा खोला पुल निर्माण सम्पन्न भएको छ । २०६६ साल असार २५ गते सम्झौता भएर पटक–पटक समय थप गर्दै निर्माण भएको सो पुल हालै निर्माण सम्पन्न भएको उहाँले जानकारी दिए । रासस
धादिङमा जीपको ठक्करबाट एक जनाको ज्यान गयो
धादिङ, पुस २३ । धादिङमा जीपले ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । काठमाडौंबाट मनाङका लागि छुटेको बा १५ च ४४८२ नम्बरको जीपले नौविसे ४, कानाकोटमा ठक्कर दिँदा अन्दाजी ६५ वर्षका सानु थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीय बासिन्दाले धादिङ–नौबिसे सडकखण्ड अवरुद्ध गरेका हुन् । प्रहरीले बल प्रयोग गरेर भएपछि बाटो खुलाउने प्रयास गरिरहेको छ प्रहरीले ठक्कर दिने जीप चालकलाई पक्राउ गरेको छ । सांकेतिक तस्वीर
अकोराबको अध्यक्षमा खतिवडा निर्वाचित
काठमाडौं, पुस २३ । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) का अध्यक्षमा सुवास खतिवडा निर्वाचित भएका छन् । काठमाडौंमा भएको संघको १२ औँ साधारणसभा तथा छैटौँ अधिवेशनबाट तीन वर्षीय कार्यकालका लागि उनी निर्वाचित भएका हुन् । उनले एक सय ४२ मत ल्याई किशाेरजंग थापालाई पराजित गरेका हुन् । उनका प्रतिद्वन्द्वी थापाले एक सय ३२ मत ल्याए । कुल दुई सय ८७ मतदातामध्ये दुई सय ७६ जनाले मतदान गरेका थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला) मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस) मा निमेष कर्ण र उपाध्यक्ष (जनजाति) मा अर्जुनकुमार राई विजय भएका छन् । सङ्घका महासचिवमा गोविन्द देवकोटा, सचिवमा वन्दना दनुवार र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भए । खतिवडासहित २१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको निर्वाचन समितिका सदस्य नेत्र केसीले जानकारी दिए । यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजङ्ग थापा, धुव्रराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णवहादुर विक विजयी भए । त्यस्तै सात प्रदेश समितिका अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र दीर्घराज उपाध्याय निर्वाचित भएको छ । प्रदेश अध्यक्ष संघको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ । अधिवेशनको शुक्रबार सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले उद्घाटन गरेका थिए । रासस
सिंहदरबारलाई जनताकाबीचमा लैजाने प्रयास जारी छः ऊर्जामन्त्री
पर्सा, पुस २३ । ऊर्जामन्त्री जनार्दन शर्माले सिंहदरबारभित्र जनताका काम नगर्ने र पन्छाउने प्रवृत्तिले देश विकास नभएको बताएका छन् । पर्सा जिल्लाको ठोरीमा विद्युतीकरणको शुक्रबार उद्घाटन गर्दै उनले सिंहदरबारलाई जनताकाबीचमा लैजाने प्रयास आफूले गरेको बताए । ‘नेपालको पानी जनताको लगानी अभियानमा लामबद्ध हुन’ उनले सबैलाई आग्रह गरे। सो अवसरमा ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले ठोरीको विद्युतीकरणले समग्र पर्साको विकासमा सहयोग पुग्ने विश्वास गरे । ऊर्जा सचिव अनुपकुमार उपाध्यायले विद्युत् चोरी नियन्त्रण गर्न जनताको साथ आवश्यक रहेको बताए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केही समयमै ठोरीको विद्युत् भार कटौती अन्त्य गर्ने बताए । रासस
समयभित्रै पुनःस्पस्टीकरण पेस गर्ने ज्ञवालीको भनाइ
काठमाडौँ, पुस २३ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पुनःस्पष्टीकरण पेस गर्न भनी पठाएको पत्र आफूले प्राप्त गरेको जानकारी दिएका छन् । ज्ञवालीलाई उद्धृत गर्दै प्राधिकरणबाट जारी प्रेस नोटमा भनिएको छ, “मैले यसअघिको स्पष्टीकरणमा उल्लेखित प्राधिकरणको समन्वयमा सम्बद्ध निकायद्वारा विभिन्न प्रतिकूलता र चुनौतीका बीच भए गरिएका कार्य प्रगति र नतिजाको वस्तुगत अवस्था तथा आधारका साथै प्राप्त पत्रमा उल्लेखित विषयका सम्बन्धमा तोकिएको समयावधिभित्र थप स्पष्ट पार्ने छु । रासस

