भट्टराईले भने-न्यायाधीस नियुक्तिको विवाद झिकेर प्रधानन्यायधीस हटाउने खेल
काठमाडौं, माघ २ । बारका पूर्व उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतकी प्रधानन्यायधीश सुशीला कार्कीलाई विवादमा तान्ने खेल भैरहेको आरोप लगाए। उनले न्यायधीश नियुक्तीलाई लिएर बारले असन्तुष्टि जनाएको कुरामा पनि फेद न टुप्पोको भएको टिप्पणी गरे। उनले भने,‘बारको विज्ञप्ती आयो, तर उसको असन्तुष्टि के मा हो ? प्रक्रियामा हो कि वा व्यक्तिमा हो र ?’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अन्तर कुन्तरमा उहाँलाई विवादमा तान्ने खेल भैरहेको छ, उहाँको नेतृत्वमा साहसिक निर्णयहरु भैरहेका छन्, त्यसलाई बद्नाम गराउने काम भैरहेको छ।’ उनले सर्वाेच्च अदालतमा कार्की प्रधानन्यायधीस भए आएपछि धेरै मुद्याहरुमा साहसिक निर्णय भएकाले उनलाई हटाउने काम हुन थालेको बताए । ‘वहाँलाई जसरी पनि विवादमा तानेर हटाउन खोजिएको छ। यही आधारमा तीन जना सांसदलाई अघि सारेर महाभियोग प्रस्ताव लाउने खेल पनि भइरहेको छ,’ भट्टराईले भने ।
शीतल निवासमा बिहेको चटारो
काठमाडौं – शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाइ जुराइएको खबर आजको कान्तिपुरमा छ । निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमा इन्गेजमेन्ट टिकाटालो भएको थियो । कान्तिपुर दैनिकमा प्रकाशित
बरालडाँडा भगवतीमा माघेसङ्क्रान्ति मेला सुरु
पोखरा, माघ १ । कास्की जिल्लाको सैमराङ गाविस–८ र ९ को बीचमा पर्ने बरालडाँडामा आजदेखि बरालडाँडा भगवती माघेसङ्क्रान्ति मेला सुरु भएको छ । ‘बरालडाँडा भगवती मन्दिरमा जाऔं, भगवती माईको दर्शन गरौं, माघेसङ्क्रान्ति मेलामा रमाऔं’ भन्ने मूलनाराका साथ आयोजना गरिएको सो मेला भोलिसम्म चल्ने छ । बरालडाँडा तमु समाज सेवा समितिको आयोजनामा भएको सो मेलामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम र छेलो हान्ने प्रतियोगिता हुने छन् । पुरुष भलिबल प्रतियोगितामा १३ टोलीले भाग लिएका छन् । प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीलाई क्रमशः रु.२५ हजार र रु। १५ हजार पुरस्कार दिइने मेला व्यवस्थापन समितिका संयोजक चीनबहादुर गुरुङले बताए ।
तीन करोड लगानी गरेर ३६७ घरधुरीलाई खानेपानी
म्याग्दी, माघ १ । बेनी नगरपालिका २ र ३ मा करिब रु तीन करोडको लागतमा ज्यामरककोट, अर्जन, रत्नेचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय म्याग्दीमार्फत निर्माण सुरु भएको आयोजनाबाट भकुण्डे र अर्जमका ३६७ घरधुरी लाभान्वित हुने जनाइएको छ । रु दुई करोड ९८ लाख ७२ हजार २८५ लागत अनुमान गरिएको आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको सवडिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए । आयोजनामा उपभोक्ताको रु ५९ लाख ७४ हजार ४५७ बराबरको नगद तथा श्रमदान सहभागिता रहने कार्यालयले जनाएको छ । गत वर्ष रु दश लाख बराबरको काम भएको आयोजनाका लागि यस वर्ष रु ५५ लाख बजेट प्राप्त भएको छ । बिमीराबोटमा रहेको मुहानमा इन्टेक, ग्राभिटी ट्याङ्की र एक किलोमिटर पाइपलाइन बिछ्याउने काम सकिसकेको छ । मुख्य पाइपलाइन बिछ्याउनका लागि उपभोक्ताले श्रमदान गरेर नाली खन्ने काम गरिरहेका छन् । भकुण्डेमा एक लाख लिटर र अर्जममा पचास हजार लिटर क्षमत्ताको रिजर्भ ट्याङ्की निर्माण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाले बताए । प्रतिसेकेन्ड १.२ लिटर पानी आपूर्ति हुने आयोजनाबाट सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए । भकुण्डे र अर्जममा विसं २०३१ सालमा निर्माण भएको आयोजनाबाट खानेपानी आपूर्ति हुँदै आएको छ । पर्याप्त खानेपानी आपूर्ति नहुँदा स्थानीयवासीलाई समस्या भएको छ । नयाँ आयोजनामा एक घर एक निजी धारा हुने जनाइएको छ । उपभोक्ता समितिले सक्रियता देखाएर समयमै काम हुन सकेमा यसवर्ष सम्पन्न गर्नेगरी थप बजेट माग गर्न सकिने खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयले जनाएको छ ।
हर्षाेल्लासका साथ माघी पर्व मनाइँदै
धनगढी, माघ १ । पश्चिम तराईका जिल्लामा बसोवास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । थारू चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउनका लागि तीन दिनअघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन् । वर्षभरी गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरियालगायतका पदमा क–कसलाई छनोट गर्ने भन्ने विषयमा बस्तीमा एक–आपसमा छलफल हुन थालेका छन् । यी पदमा सकभर सहमति गर्ने र सहमति हुन नसके निर्वाचनद्वारा छनोट गर्ने गरिन्छ । थारुका घर–घरमा तीन दिनअघिदेखि नै सुगुर र बंगुर काटेर मासुको जोहो गर्ने गरेका छन् । घरकै अनाज प्रयोग गरी जाँड, ढिक्री, अन्दी रोटी, अन्दी भात तयार गर्न यतिखेर थारु महिलाको व्यस्तता बढेको छ । यसरी तयार पारिने खानाका परिकार सामूहिक रुपमा खानपिन गरी टोल टोलमा रमाइलो गर्ने चलन यो समुदायमा रहेको छ । माघेसङ्क्रान्तिको अघि पछि गरी चार–पाँच दिनसम्म मनाइने यो पर्वका बेला प्रत्येक गाउँको मूलघरमा भेला भई खानपिन गरेर रमाइलो गर्ने, प्रत्येक घरमा अंशवण्डा सम्बन्धी काम गर्ने, वर्षभरीमा गाउँमा काम गर्दा भएका कमी कमजोरी सच्याउने प्रतिबद्धता गर्ने गरिन्छ । पर्वका बेला आ–आफ्ना विवाहिता छोरीबहिनीलाई घरमा बोलाई दक्षिणाको रुपमा निसराउ अर्थात् नुन र चामल दिने प्रचलन पनि छ । मकर सङ्क्रान्तिको अवसरमा पहाडी समुदायका घरघरमा भने बिहान पकाइने खाना पहिले कागलाई दिएर खाने परम्परागत छ । कागलाई यमराजको दूत र खबर आदानप्रदान पक्षीका रुपमा लिइने विश्वासमा बिहान ‘का…कौवा’ भन्दै घरपरिसरमा टपरी वा पातमा खाना राखेर दिने गरिएको जानकार लेखराज ओझाले बताएको छ । यस बाहेक सङ्क्रान्तिको आज तरुल पिँडालुलगायतका कन्दमूल उसिनेर खाने गरिन्छ ।
ठेकेदार बेपत्तापछि भवन निर्माण अलपत्र
सोलुखुम्बु, माघ १ । ठेकेदारको बेवास्ताका कारण सोलुखुम्बुको स्वास्थ्य र वन कार्यालयको भवन निर्माण कार्य नौ महिनादेखि अलपत्र परेको छ । जिल्ला स्वास्थ्य कार्यलयको फाप्लुमा निर्माण हुँदै गरेको भवन र जिल्ला वन कार्यलयको भवन गत वैशाख महिनादेखि नै निर्माण कार्य रोकिएको हो । निलगिरि निर्माण सेवा प्रालिले ठेक्कामा लिएको भवन आगामी महिना हस्तान्तरण गरिनुपर्ने भए पनि दुवै भवन आधा निर्माण गरी अलपत्र छाडिएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गाको बजेटमा निर्माण भइरहेको ती भवनको ठेकेदारका बारेमा सहरी विकास कार्यालयलाई समेत जानकारी छैन । वैशाख १८ गतेदेखि सम्पर्कविहीन भएको ठेक्केदार कम्पनीका मानिस अहिलेसम्म सम्पर्कमा नआएको सहरी विकास तथा भवन निर्माण कार्यलयका प्रमुख सुवास बस्नेतले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको भवन रु दुई करोड ३८ लाखमा ठेक्का सम्झौता भएको हो भने जिल्ला वन कार्यलयको भवन रु.एक करोड २९ लाखमा सम्झौता भएको थियो । दुवै भवनको आधा काममात्रै सकिएको छ । दुवै कार्यालयको भवन निर्माण अवधि दुई वर्ष तोकिएको थियो । ठेक्केदार बेपत्ता भएपछि स्थलगत रुपमा खटिने कामदारले समेत पारिश्रमिक पाएका छैनन् । सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख बस्नेतले भने ठेकेदार बेपत्ता भएपछि खोजीका लागि ठेक्का कम्पनीले कारोबार गर्ने नेपाल बङ्गलादेश बैंकमा खाता रोक्का गर्न निवेदनसमेत पठाइसकेको बताए । भवन निर्माण नहुँदा जिल्ला स्वास्थ्य कार्यालय भाडाको भवनमा छ भने वन कार्यालयले इलाका रेन्जपोस्टको साँघुरो भवनमा काम गरिरहनुपरेको जिल्ला वन कार्यलयका प्रमुख मेघराज रायले बताए ।
घिउचाकु दलेर नारायण मेला सुरु
भक्तपुर, माघ १ । माघे सङ्क्रान्तिका अवसरमा आज यहाँका नारायण मन्दिरमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुललगायत खाएर मनाइने यस पर्वका दिन आज तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । ती मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवतीले प्रसादका रुपमा नारायण देवताको नाइटोमाथिको घिउचाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको घिउचाकु खाए छोरी प्राप्त हुने जनविश्वास छ । नेवारी भाषामा ‘घ्यचाकु सल्हुँ’ भनिने आजको दिन भक्तपुरका चाँगुनारायण, आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । आज नुहाइधुवाइ गरी जिउमा तेल घसेर घिउचाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने ह्रष्टपुष्ट हुने धार्मिक मान्यता छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ । आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले विभिन्न परिकार चढाई विशेष पूजा गरेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । रासस
घुम्ती शिविरबाट पाँच सयलाई नागरिकता
चौतारा, माघ १ । सेवाग्राहीलाई गाउँघरबाटै सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको ठोकर्पा गाविसमा आयोजित एकीकृत घुम्ती शिविरबाट पाँच सय ३८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । जिल्लास्थित सरकारी कार्यालयद्वारा बिहीबार आयोजित शिविरबाट ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी र लिसङ्खुसहित पाँच गाविसका बासिन्दालाई विभिन्न सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । टाढाटाढाबाट आएका सेवाग्राहीलाई ध्यानमा राखी चिसोको समेत पर्वाह नगरी राति ९ बजेसम्म बसेर सेवा प्रदान गरिएको कामु प्रजिअ अन्तरबहादुर सिलवालले बताए। रासस
नेपाल पत्रकार महासङ्घको सदस्यता छानबिन गर्न माग
काठमाडौँ, माघ १ । क्रान्तिकारी पत्रकार महासङ्घले नेपाल पत्रकार महासङ्घमा विधानले व्यवस्था गरेबमोजिम योग्य हुँदाहुँदै पनि आस्थाका आधारमा सदस्यता लिनबाट ठाउँठाउँमा बञ्चित गरिएको आरोप लगाएको छ । महासङ्घका अध्यक्ष इन्द्र राउतले आज विज्ञप्ति जारी गर्दै आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर गैर पत्रकारलाई महासङ्घको विधानविपरीत सदस्यता दिइएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ– “सर्वदलीय र सर्वपक्षीय एउटा अधिकार सम्पन्न छानबिन आयोग गठन गरी थपिएका नयाँ सदस्य र पुराना सदस्य, जो प्रत्यक्ष/परोक्षरुपले पत्रकारिता पेसासँग संलग्न छैनन्, त्यस्तालाई महासङ्घको सदस्य खारेज गर्न विशेष माग गर्दछौँ ।” माग पूरा नभए आफ्नो सङ्गठनले चरणबद्ध सङ्घर्षको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ । रासस
मिति सकिएको सामान बेच्नेलाई जेल सजाय हुनुपर्छ – मन्त्री बोहरा
काठमाडौँ, माघ १। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको नैसर्गिक अधिकारको संरक्षण र सम्वद्र्धन गर्न उपभोक्ता संरक्षणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्नुपर्ने भएको छ । अनुचित व्यापारिक क्रियाकलापलाई निवारण गरी स्वच्छ बजार संरक्षण गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार तथा हानिनोक्सानीबापत क्षतिपूर्ति उपलब्ध गराउन सो कानुन संशोधन र एकीकरण गर्नुपर्ने भएको हो । नेपाल कानुन आयोगले शुक्रबार आयोजना गरेको कार्यक्रममा ‘उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथिको छलफलमा आपूर्तिमन्त्री दीपक बोहराले अखाद्यय वस्तु बेच्नेका लागि कडा कानुनको व्यवस्था गर्नुपर्ने बताए । “व्यक्ति हत्या गरेबापत २० वर्ष जेल बस्नुपर्छ, मिति सकिएको सामान बेच्नेलाई पनि त्यस्तै सजाय हुनुपर्छ, त्यो पनि जेल सजाय हुनुपर्छ, त्यसपछि मात्र उत्पादक तथा बिक्रेता सचेत हुन्छन”– मन्त्री बोहराले थपे । मन्त्री बोहराले सामग्रीको छ महिना समय बाँकी रहँदा वस्तु आयात गर्न बञ्चित गर्नुपर्ने र तीन महिना बाँकी रहँदा सिलबन्दी गर्नुपर्ने व्यवस्था कानुनी रुपमा गर्नुपर्नेमा जोड दिँदै कानुनी रुपमै नियन्त्रण जरुरी भएको बताए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले सातवटै प्रदेशमा उपभोक्ता अदालत खोल्नका लागि प्रधानमन्त्री कार्यालयमा छलफल भइसकेको बताए । आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले कार्यान्वयन गर्न सकिने खालका कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै अहिले निर्माण गरेका कानुन ३०÷४० प्रतिशत मात्र कार्यान्वयन भएको टिप्पणी गरे । आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले सबै सुझावलाई समेटेर उपभोक्ताको विषयमा बृहत् छलफल गरी विधेयकलाई अन्तिम रुप दिइने जानकारी गराए । रासस
क्रान्तिकारीलाई लाग्याे चुनाव,उपत्यकामा खटिने यी हुन्, ९ जना कमाण्डर
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले अध्यक्ष नरेन्द्र न्यौपानेको संयोजकत्वमा ५४५३ सदस्यीय स्ववियु मूल निर्वाचन परिचालन समिति बनाएको छ। सो समितिमा क्रान्तिकारीको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिहरुका सबै सदस्यहरुका साथै देशभरका सबै इकाई अध्यक्षहरु सदस्य रहनेछन्। बागबजारस्थित क्रान्तिकारी कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा क्रान्तिकारीले मुलुकका सबै प्रमुख क्याम्पसहरुको चुनाबी कमाण्डर समेत तोकेको छ। पौष २७ र २८ गते काठमाडौंमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले आसन्न फागुन १४ गते हुने स्ववियु निर्वाचनलाई स्वागत गर्दै पुर्ण रुपमा चुनावमा होमिने निर्णय गरेको क्रान्तिकारी अध्यक्ष नरेन्द्र न्यौपानेले बताए। न्यौपानेले उपत्याकाका क्याम्पसमा चुनावको माहोल बनारउन कमाण्डर ताेकेको बताए । त्यस्तै त्रिभुवन विश्वविद्यालयमा रामचन्द्र अधिकारी, पुल्चोक क्याम्पसमा अनिल शर्मा, मिनभवन क्याम्पसमा रञ्जित तामाङ, त्रिचन्द्र क्याम्पसमा मदन अर्याल, पशुपति क्याम्पसमा जितेस योञ्जन तोकिएका छन्। त्यस्तै कोटेश्वर क्याम्पसमा रुद्र विष्ट, पाटन क्याम्पसमा गंगाराम तिमल्सिना, पब्लिक युथमा पुरन केसि, सानोठिमी क्याम्पसमा वीरेन्द्र बस्नेत लगायत छन् । २०६५ सालयता हुन नसकेको स्ववियु निर्वाचन २८ वर्षे उमेरहद सहितको मिश्रित निर्वाचन प्रणालीका आधारमा पहिलो पटक हुन लागेको हो। क्रान्तिकारीले सो निर्वाचनका लागि विभिन्न उपसमिति समेत बनाएको छ। उम्मेदवार छनौट उपसमितिमा नरेन्द्र न्यौपाने, आर्थिक उपसमितिमा अनिल शर्मा, स्वयंसेवक उपसमितिमा रामचन्द्र अधिकारी, घोषणापत्र उपसमितिमा मदन अर्याल, वार्ता तथा तालमेल उपसमितिमा रञ्जित तामाङ छन् । त्यस्तै प्रचारप्रसार उपसमितिमा सुरेन्द्र बस्नेत, अनुगमन उपसमितिमा रुद्र विष्ट, सम्पर्क तथा समन्वय उपसमितिमा जितेस योञ्जन, संगठन परिचालन उपसमितिमा वीरेन्द्र बस्नेत लगायत छन्। स्ववियु तयारीलाई घनिभुत बनाउने सन्दर्भमा पौष १० गतेभित्र सातैबटै प्रदेशमा प्रदेश स्तरीय स्ववियु सम्बन्धी वृहत कार्याशाला गोष्ठी समेत गरिसक्ने अखिल (क्रान्तिकारी)का प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी गराए ।
नेता कँडेलले दिए ५० महिलालाई पोशाक
परासी, पुस २९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले आमा समूहका ५० महिलालाई पोशाक वितरण गरेका छन् । नवलपरासीको जहदास्थित मझेरी आमा समूहका ती ५० जना सदस्यहरुलाई नेता कँडेलले पोषाक प्रदान गरेका हुन् । आमा समूहलाई पोशाक वितरण गर्दै नेता कँडेलले समाज परिवर्तनमा महिला पुरुषको समान हक रहेको बताएका छन् । यस आमा समूहले उक्त क्षेत्रका सामाजिक कुरिती र अपराधहरुलाई न्युनिकरण गर्नमा सहयोग गर्ने अपेक्षा राखेको उनले बताए । उनले भने, ‘जसरी यसका सदस्य पोशाकमा झल्किनेछन्, त्यस्तै यस क्षेत्रको सामाजिक र संस्कृति झल्काउनमा पनि तपाईहरुको महत्वपूर्ण सहयोग रहने आश गरेको छु ।’ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व गृहराज्य मन्त्री देवेन्द्रराज कँडेलको प्रमुख अतिथ्यितामा आमा समूहकी अध्यक्ष रेवती बरालको अध्यक्षता रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि एवं नेपाली कांग्रेस जिल्ला सभापति विष्णु लामिछाने, नेका पुर्व उपसभापति दिपप्रसाद लोहनी, गाविस सचिव गणेश पौडेल स्थानिय समाजसेवी दिपक बराल लगायतले मन्तब्य राख्नु व्यक्त गरेका थिए । ९ महिना अगाडी गठन गरिएको यस आमा समूहले बालबालिका तथा जेष्ठनागरिकलाई मनोरन्जन एवं शान्तिपूर्ण वातावरण दिनका लागि लागिपरेको छ । जहदामै एक पार्क निर्माण गर्ने योजना बनाएको र हाल त्यही निर्माण कार्यमा जुटेको समूहकी अध्यक्ष रेवती बरालले बताइन् । ८ कट्टा सार्वजनिक जग्गामा सो पार्क निर्माणका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरुबाट ७० हजार रुपियाँ संकलन गरिएको र जग्गाको तारबार र वृक्षारोपण समेतको कार्य भइसकेको उनले बताइन् ।
‘छक्का पञ्जा’ पाइरेसी गरेका आरोपितले गरे आत्महत्या
काठमाडौं, पुस २९। चर्चित चलचित्र ‘छक्का पन्जा’को पाइरेसी गरेको आरोप लागेका एक युवकले हिजो साँझ आत्महत्या गरेका छन् । नवलपरासी घर भई हाल काठमाडौं–९ भिमसेनगोला बस्दै आएका २५ वर्षीया कृष्ण सुवेदीले बिहीबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन् । उनले आफ्नो डेरामा सिलिङमा रहेको फ्यानमा गलबन्दीको पासो लगाएर आत्महत्या गरेका हुन् । मर्नुअघि उनले कागजमा आफ्नो मृत्युको दोष कसैलाई नदिन र आफ्नो बैंक खातामा रहेको एक लाख रुपैयाँ आफ्नी बहिनीलाई दिनु भनिएको छ । सुवेदीको शवलाई उनका परिवारले बुझेका छन् । नवलपरासीबाट परिवार आएपछि मात्रै शुक्रबार विहान मुचुल्का गरिएको छ र शव आफन्तले बुझेको प्रहरीले जनाएको छ । केही समयअघि मात्रै चलचित्र पाइरेसीबारे उनीसहित चार जनालाई अनुसन्धानका क्रममा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो । समान्य सोधपुछपछि उनी पाइरेसीमा संलग्न नभएको प्रमाणित भएपछि उनी रिहाई भएका थिए ।
जटिल बन्दै नेपालमा बालविवाह !
नेपालगन्ज, पुस २९ । बालविवाह गर्नुहुन्न भन्ने जति नै नारा लगाउँदै हिँडेपनि नेपालमा भने बालविवाह जटिल बन्दै गइरहेको छ । प्रत्येक वर्ष नेपालमा १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कुल बालविवाह सङ्ख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलका अनुसार १० देखि १४ वर्ष उमेरका ११ लाखभन्दा बढी बालिकाको प्रत्येक वर्ष विवाह हुने गरेको छ । यसैगरी, नेपालमा प्रत्येक वर्ष कुल जनसङ्ख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ । बालविवाह नेपालको एक जटिल समस्या भएका कारणले यसको प्रभाव सबै क्षेत्रमा पर्ने हुँदा सम्बद्ध सरकारी तथा गैरसरकारी निकायले अनुगमन, जनवकालत तथा नागरिक शिक्षा र चेतनाको कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने अधिकारकर्मीहरुको ठहर छ ।
संशोधन प्रस्ताव पारित गराउन मोर्चा र सरकारबीच सहमति
काठमाडौं, पुस २९ । सरकारले संसदमा टेबल गराएको संविधान संशोधन प्रस्तावलाई पारित गराउन मधेसी मोर्चाले सहमति जनाएको छ । शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’को आब्हानमा बालुवाटारमा बसेको मोर्चा र सरकारबीचको बैठकले संशोधन प्रस्ताव पारित गराउन मोर्चाले सहयोग गर्ने सहमति भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । कांग्रेसका सभापति शेरबहादुर देउवा, उप–प्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि माओवादी केन्द्रका रामबहादुर थापा, मातृका यादव सहित मधेसी मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयश त्रिपाठी सहित बसेको बैठकले छिटो भन्दा छिटो संशोधन प्रस्ताव पारित गराएर चुनावमा जानुपर्ने सहमति भएको उनले जानकारी दिए ।

