बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक गरिने
बैतडी,माघ १० । बैतडीको हाट गाविसलाई बालविवाह शून्य गाविस बनाउनका लागि पहल थालिएको छ । गाविसस्तरीय बालसञ्जाल, किशोरीवृत्त समूह र गाविसस्तरीय बालविवाह न्यूनीकरण समितिले बालविवाह शून्य गाविसको अभियान सञ्चालन गरेको हो । अभियानअन्तर्गत घरदैलो कार्यक्रम गर्ने, अन्तक्र्रिया गर्ने, बालविवाह गर्नेलाई सामाजिक रुपमा बहिष्कार गर्नेलगायतका कार्यक्रम तय गरिएका हाट स्वास्थ्यचौकीका इन्चार्ज विनोदकुमार कुँवरले जानकारी दिए । उनले भने, “बालविवाहले महिलाको समग्र जीवनमा समस्या आउने, शिक्षा ग्रहण गर्न नपाउनेलगायतका समस्या देखिएपछि बालविवाह न्यूनीकरणको अभियान थालिएको होहाटलाई जिल्लाकै नमुना स्वास्थ्य गाविस घोषणा गर्न पनि बालविवाह अन्त्य गर्नुपर्ने भएकाले बालविवाह न्यूनीकरणको अभियान सुरु गरिएको गाविसस्तरीय बालसञ्जालका प्रतिनिधि लालबहादुर भण्डारीले जानकारी दिए । उनले भने “बालविवाह गर्नेको तीनपुस्ते सार्वजनिक स्थानमा टाँस गर्नेलगायतका रणनीति पनि तय गरिएको छ” बालविवाह गर्न कानुनले बन्देज लगाएको भए पनि कतिपय ठाउँमा अझै पनि बालविवाह भइरहेकाले यसको अन्त्यका लागि प्रयास भइरहेको भण्डारीले जानकारी दिए । रासस
पाईप चोरी भएपछि ३६ लाखको सिँचाइ अवरुद्ध
जाजरकोट, माघ १०। सिँचाइ योजनाको पाइप चोरी हुँदा मजकोट–६ का स्थानीय सिँचाइ सुविधाबाट वञ्चित भएका छन् । पिप्से वडारदेखि पल्लाचौर सिँचाइ योजना निर्माण भएको दुई वर्ष नबित्दै पाइप चोरी भएको हो । दुई महिनाअघि मुहानबाट करिब ४०० मिटर लम्बाइ रहेको पाईप चोरी भएको सिँचाइ योजनाका अध्यक्ष मरिमल तिरुवाले बताए । पाइप चोरी भएसँगै यहाँका २०० भन्दा बढी घरधुरी सिँचाइ सुविधाबाट वञ्चित भएकोे बेलपत्री प्रावि मजकोट–६ का प्रधानाध्यापक रामबहादुर नेपालीले जानकारी दिए । गरिबी निवारण कोषको रु ३६ लाखमा निर्माण गरिएको यो सिँचाइ योजना २०७० सालमा निर्माण गरिएको थियो । पाइपमा पानी आएको बेला मजकोट–६ का सबै गाउँलेले जमिनमा सिँचाइ गरी गहुँबालीलगायत बेमौसमी तरकारी बाली लगाएका थिए । पाइप चोरी भएसँगै अहिले लगाएको अन्नबाली सिँचाइको अभावमा सुक्न थालेको प्रअ नेपालीले बताए । पाइप चोरी गर्ने मानिसको खोजीका लागी यहाँका स्थानीयले प्रहरीमा उजुरी गरे पनि प्रहरीले सुनुवाइ नगरेको उनको भनाइ छ । अहिले सिँचाइको सबै पानीबीच जङ्गलमा खेर गएको छ यता हाम्रा जग्गा बाँझै छन्, प्रहरीले साथ देला भनेको तर केही भएन नेपालीले दुखेसो पोखेका छन् । रासस
न्यायाधीश नियुक्तिप्रति थारु कानुन व्यवसायीको आपत्ति
काठमाडौँ, माघ १० । न्याय परिषद्ले उच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि गरेको सिफारिसप्रति आदिवासी थारु कानुन व्यवसायी समाज नेपालले आपत्ति जनाएको छ । समाजका अध्यक्ष भागवतप्रसाद चौधरीले आज एक विज्ञप्तिमार्फत देशको चौथो जनसङ्ख्या रहेको थारु समुदायवाट न्यायाधीशमा एक जनामात्र सिफारिस हुनु नेपालको संविधानको मर्म विपरित भएको उल्लेख गरेका छन् । न्याय परिषद्बाट त्रुटिपूर्ण निर्णय भएको उल्लेख गर्दै विज्ञप्तिमा सिफारिस नियुक्तिलाई सच्याएर थारु समुदायका वकिलबाट संविधानबमोजिम कम्तीमा चारजनालाई नियुक्त गर्न माग गरिएको छ । रासस
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
सुरुङ्गा (झापा), माघ १० । जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए । घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँस काट्न गएकी लिम्बूलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए । रासस
परिमार्जनबिनाको संशोधन स्वीकार्य छैनः अध्यक्ष ठाकुर
इनरुवा, माघ १०। तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले परिमार्जनबिनाको संशोधन प्रस्ताव मोर्चालाई कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आइतबार कुरा गर्दै अध्यक्ष ठाकुरले हचुवाको भरमा संविधान संशोधन प्रक्रिया अघि बढाउन खोजिए मोर्चा विरोधमा उत्रिन बाध्य हुने उल्लेख गरे । सरकारले मधेसी जनता र मोर्चालाई समेटेर अघि बढ्न चाहन्छ भने आफूहरुका माग समेटेर परिमार्जनसहितको संविधान संशोधन पारित हुनुपर्ने उनको भनाइ थियो । चुनावका लागि प्रमुख तीन दल सहमति नजिक पुगेकोबारे जिज्ञासामा अध्यक्ष ठाकुरले मधेसका मुद्दा सम्बोधनबिना कुनै पनि तहको चुनाव सम्भव नरहेको जिकिर गरे । मोर्चा पर्ख र हेरको अवस्थामा रहेकाले सरकारले लिने कदमपश्चात् ठोस निर्णयमा पुग्ने उनले बताए । रासस
सरकारी वकिलद्वारा आजदेखि देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार
काठमाडौँ, माघ ९ । सरकारी वकिलले उच्च अदालतमा नियुक्ति गरिएका न्यायाधीशको विरोधमा आज देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेका छन् । न्यायाधीश नियुक्तिमा आफूहरुलाई बेवास्ता गरिएको भन्दै सरकारी वकिल र चार कर्मचारी सङ्गठनले आजदेखि देशभरिका न्यायालयमा बहस पैरवी बहिष्कार गरेको निजामती कर्मचारीको आधिकारिक सङ्गठन महान्यायाधिवक्तो कार्यालयका अध्यक्ष गजराज घिमिरेले जानकारी दिए । सरकारी वकिलसहित निजामती कर्मचारीको आधिकारिक टे«ड युनियन, नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले न्यायाधीश नियुक्ति निर्णय सच्याउन माग गर्दै बहस पैरवी बहिष्कार गरेका हुन् । उनले न्यायाधीश नियुक्तिमा सरकारी वकिललाई भेदभाव र पक्षपात गरेकाले निर्णय नसच्याउँदासम्म आन्दोलन जारी राख्ने बताए । उनले न्याय परिषद्ले न्यायाधीश नियुक्तिमा गल्ती स्वीकार गर्नुपर्ने र अब यस्ता गल्ती नगर्ने प्रतिबद्धता आए मात्र आन्दोलन स्थगित गरिने बताए । सरकारी वकिल समाजका कार्यवाहक अध्यक्ष नारायण पौडेलले ७५ जिल्लामा रहेका अदालतमा सरकारी वकिलका तर्फबाट गरिने बहस पैरवी बहिष्कार गरिएको बताए । रासस
राँगाको आक्रमणबाट मृत्यु
सप्तरी, माघ ९ । कविलासा गाविसमा राँगाको आक्रमणबाट आज ७१ वर्षीय वच्चिलाल यादवको मृत्यु भएको छ । कविलासा गाविस– ७ निवासी यादवलाई घर नजिकै गहुँ खातमा गहुँ खान आएको राँगालाई धपाउने क्रममा आक्रमण गरिएको इलाका प्रहरी कार्यालय पातोले जनाएको छ । राँगाको आक्रमणबाट घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
संवेदनशील विषयमा ध्यान पुर्याउन स्रष्टासँग आग्रह
काठमाडौँ, माघ ९ । मनोहरा साहित्य समाजको नियमित कार्यक्रम अन्तर्गत सोह्रौँ शृङ्खलामा दश कविले दुई दुई कविता वाचन गरेका छन्। राम विनय र विशिष्ट अतिथि प्राज्ञ बूँद राना तथा टिप्पणीकर्ताका रुपमा अतिथि हरि गौतम तथा कवि तथा गीतकार जसध्वज गुरुङले सभापतित्व गरेको थियो । कार्यक्रममा रामबहादुर पहाडी, जय छाङ्छा, नारायण तिवारी, छविरमण सिलवाल, गोविन्द नेपाल, अनिल पौडेल, श्यामबहादुर भावुक, भुवनराज सिवाकोटी, रत्ननिधि रेग्मी शुक्राचार्य र डिल्लीराज अर्यालले कविता वाचन गर्नु भएको थियो । वाचित कवितामाथि टिप्पणी गर्दै हरि गौतमले कविताका विशेषता, सरलता, त्यसले पार्ने प्रभाव बारेमा उल्लेख गरे । त्यस्तै बुँद रानाले भैरहवा लगायत तराईका फाँटहरुलाई अहिले अमनचैनको अवस्था नभएकाले संवेदनशील विषयमा ध्यान पु¥याउन स्रष्टालाई आग्रह गरे। साहित्यकार राम विनयले मनोहरा साहित्य समाजको कार्यक्रमले निरन्तरता पाओस् भन्ने कामना गरेको थियो । साहित्यकार जसध्वज गुरुङ, मुखाले रेग्मी र शीतल गिरीले स्रष्टाहरुको सदैव सहभागिताको अपेक्षा गरे ।
नेपालमा अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन हुने, सुरू भयो चार महिने अभियान
काठमाडौँ, माघ ९ । काठमाडौँमा अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन हुने भएको छ । विश्वका बौद्धिक व्यक्तिहरूलाई काठमाडौँमा उपस्थित गराई सम्मेलन गर्न लागिएको हो । नेपाललाई बनाऔं अध्ययन, अनुसन्धान र अन्वेषणको थलो’ भन्ने नारासहित माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय बुद्धिजीबी संगठनले सम्मेलनको लागि चार महिने ‘राष्ट्रिय बौद्धिक अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । संगठनको शनिबार सकिएको केन्द्रीय समिति बैठकले अन्तर्राष्ट्रिय बौद्धिक सम्मेलन गर्ने निर्णय गरेको संगठनका अध्यक्ष नरेश भण्डारीले जानकारी दिए । चार महिनासम्म चल्ने अभियानले अन्तर्राष्ट्रिय स्तरको बिचार गोष्ठी(बौद्धिक सम्मेलन आयोजना गर्नका लागि आधारशिला खडा गर्ने,अन्तर्राष्ट्रिय बामपन्थी वुद्धिजिवी संगठनहरुसँग भाइचारा सम्बन्ध स्थापित हुने र विश्वभरका बौद्धिक व्यक्तिहरुसँगको विचार आदान–प्रदानले नेपालमा संभावनाको खोजीलाई सहयोग पुग्ने अध्यक्ष भण्डारीले बताए । संगठनको वैठकले माघ २२ गते ७५ वटै जिल्लामा बौद्धिक अभियान अभियानको उद्घाटन गर्ने निर्णय गरेको अध्यक्ष नरेश भण्डारीले बताए । ०७४ बैशाख १५ र १६ गते राष्ट्रिय सम्मेलन आयोजना गर्ने, अन्वेषण प्रतिष्ठान स्थापनार्थ बिधेयक दर्ता गर्ने, अन्तर्रा्ष्ट्रिय स्तरको बौद्धिक सम्मेलन आयोजना गर्ने, माक्र्सवादको बिकासका लागि बहस थाल्ने र अनुसन्धानात्मक कार्यहरूमा जोड दिने लगायतका निर्णय गरेको अध्यक्ष भण्डारीले बताए ।
विद्यालयलाई सहयोग हस्तान्तरण
दमक, माघ ९ । झापाको दमक–१० स्थित न्यू होराइजन होस्टेलले जिल्लाका चारवटा विद्यालयका विपन्न विद्यार्थीलाई रु ५० हजार सहयोग प्रदान गरेको छ । होराइजनले आफ्नो १५औँ वार्षिकोत्सवका अवसरमा गरिब, असहाय र जेहेन्दार विद्यार्थीको अध्ययनका लागि उक्त सहयोग गरेको हो । होस्टेलको अगुवाइमा हालै अति विपन्न, बिरामी र असहाय विद्यार्थीको घर र विद्यालयमा पुगी स्थलगत अध्ययन गरेर छनोट गरिएका विद्यार्थीको शैक्षिक निरन्तरताका लागि सो सहयोग हस्तान्तरण गरिएको होस्टलका संस्थापक तथा निर्देशक अजितलाल दासले बताए । यसरी सहयोग प्राप्त गर्ने विद्यार्थीमा शिवसताक्षी भानु मावि कक्षा ११ मा अध्ययनरत गङ्गा घिमिरे, आदर्श मावि कोरोबारीमा कक्षा ८ मा अध्ययनरत लखिमुनी किस्कु, दमक–१३ स्थित पशुपति संस्कृत माविमा कक्षा ६ मा अध्ययनरत विर्सिखा केरुङ (लिम्बू) र दमक–१० स्थित मेची बोर्डिङ स्कुलमा अध्ययनरत रीमा राई रहेको छ । उच्च मावि तहमा अध्ययनरत भएकाले घिमिरेलाई भने रु १४ हजार र अन्य तीनजनालाई रु १२ हजारका दरले सहयोग प्रदान गरिएको हो । आगलागीबाट घर नष्ट झापाको दमक–१५ स्थित सुकुम्बासी टोलमा गएराति आगलागी हुँदा एउटा घर जलेर नष्ट भएको छ । सुमित्रा कार्कीको घरमा आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कार्कीको घरसहित घरमा रहेका लत्ता कपडा तथा अन्नपात जलेको थियो । घरमा के कारणले आगो सल्किएको भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । स्थानीयवासी र दमक नगरपालिकाको दमकलले आधा घन्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।
यसकारण बन्छन् बालकहरु गाडीका खलासी !
जुम्ला, माघ ९ । जुम्लाबाट काठमाडौँ छुटेको डिलक्स बस रारालिही गाविस जुम्लाको सीतानगर बजारमा रोकियो । बसको ढोकाबाट सानो बालक यात्रु खोज्न फुत्त बाहिर निस्क्यो र कराउँदै भने– काठमाडौ, काठमाडौँ ! च्यातिएको पाइन्ट, कलेटी परेका ओठ, जाडोले खुम्चिएको शरीर, मैलो टिसर्ट लगाएका उनी, कालीकोट फोइ महादेव गाविसका १२ वर्षीय बालक किशोर बुढा । सानो उमेरमै खलासी काम गर्दै आएका किशोरले काठमाडौँका लागि बस नजिक पुगेका यात्रुको सामान बडो कठिन तरिकाले हुटमा राखेर पुनः यात्रु बोलाउन ठूलो स्वरले कराउन थाले । अपत्यारिलो काम गर्ने बालक किशोरको यस्तै देखिन्थ्यो दैनिकी । त्यस्तै, जुम्ला–नाग्म हुँदै सुर्खेतका लागि छुटेको बसमा यात्रु बोलाउँदै थिए, जुम्ला नराकोट गाविस घर भई खलासीको काम गर्दै आएका अर्का बालक राजबहादुर थापा । उनी पनि वर्षले १४ काटेका थिएनन् । तर पनि आफूलाई १३–१४ वर्ष भन्न रुचाएनन् उनले । पछिल्लो समयमा कर्णालीका प्रायजसोः आमा बाबुविहीन असहाय, टुहुरा र गरिब घरपरिवारका बालबालिका विभिन्न सवारी साधनमा खलासी होस् या उद्योग कलकारखानामा मजदुरका रूपमा होस्, भारयुक्त काम गर्दै आएका छन् । यो मजदुरी गर्नु उनीहरूका लागि रहर नभई बाध्यता बन्दै आएको छ । खलासी काम गर्ने यी दुवै बालकलाई गाडी लाइन सास्ती हुन्छ भन्ने राम्रोसँग थाहा छ । यात्रुको रुखो बचन, राम्ररी खान, आराम गर्न र सुत्न नपाउनु, गाडी मर्मतमा हुने कठिनाइले कहिलेकाहीँ उनीहरूलाई दिक्क बनाउँछ र यो लाइन नै छोडुँ जस्तो लाग्छ । तर फर्केर जानु नै कहाँ छ र उनीहरूलाई ? आमाबुबा नभएका उनीहरूका लागि गाडी गाँस, बास दुवै भएको छ । पढ्ने रहर मनभरि भए तापनि जीवन धान्नका लागि खाने गाँस, लगाउने कपाससमेत आफ}+ले जोहो गर्नुपर्ने बाध्यताले अब पढ्ने मोह पनि घटिसकेको छ, उनीहरूको । खलासी काम गर्ने दुवै बालक बुढा र थापाले भने– “दिनभर गाडीको ढोका ठोक्दै हाम्रा दिन बित्छन् । गाडीमा यात्रुले गर्ने दुर्व्यवहारले मन दुखेर घरको याद झलझली आउँछ, यस्तो दुःख किन गरौँ जस्तो मनमा विचार आउँछ । आखिर घरमा जाउँ संरक्षण गर्ने पनि त कोही छैन । भोको पेटको आगो निभाउन सहेरै काम गर्दै आएका छौँ ।” फोहाेर शरीर, थाकेको ज्यान, भोको पेटले पढ्ने कुरालाई सोच्नै नसकेको र यो असम्भव भइसकेको उनीहरूको भनाइ थियो । पेटकै लागि गाली खाएर काम गर्दै आएको र सके गाडी चालक बनेर देखाउने उनीहरूले बताए । जोखिमपूर्ण काम गर्ने बुढा र थापा त प्रतिनिधि बालक मात्र हुन् । दर्जनौँ बालबालिका कठिन श्रममा संलग्न छन् । यसरी श्रममा संलग्न अधिकांश बालक आफ्नो सही उमेर दिन पनि चाहँदैनन् । १८ वर्षभन्दा मुनिकालाई कानुनले कुनै पनि श्रम गर्न दिँदैन भन्ने कुरा सामान्यतः उनीहरूलाई थाहा छ । ११ वर्ष उमेर भएका बालबालिकाले पनि १६ वर्ष उमेर पुगेको भनेर ढाँट्छन् । बालश्रम शोषण र अधिकार हनन भयो भन्दै अधिकारकर्मीहरूले कामबाट छुटाउने तर आफ्नो जीवनका लागि राज्यले अर्को व्यवस्था नगर्दा समस्यामा पर्ने गरेकाले ढाँट्नु परेको उनीहरूको दुखेसो छ । नेपालको संविधान–२०७३, भाग ३ को मौलिक हकको धारा ३९ को उपधारा -४ मा भनिएको छ,…कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै जोखिमपूर्ण काममा लगाउन पाइने छैन । संविधानमा उल्लेख गरिएका यी यस्तै व्यवस्थाका विषयमा निश्चित नागरिकबाहेक अरूलाई राम्रोसँग थाहा हुँदैन, ग्रामीण भेकमा । संविधानले दिएको अधिकारका बारेमा न उनीहरूलाई जानकारी छ न त उनीहरूको अधिकार राज्यले सुनिश्चित गर्न त्यस्तो कुनै स्पष्ट मापदण्ड तयार गरेको पाइन्छ । अधिकारबाट वञ्चित भएका बालबालिकाको बालअधिकार सुनिश्चितताका सवालमा अधिकारकर्मीहरूले आवाज निकालेको त पाइन्छ । यद्यपि पेस गरिएका प्रतिवेदनको कार्यान्वयन सरकारले गर्न नसक्दा अधिकारकर्मीहरू आफ्नो प्रयास लत्याइएको बताउँछन् ।
तीन वर्षदेखि फरार रहेका अभियुक्त पक्राउ
बनेपा, माघ ९ । करिब तीन वर्षदेखि बैंकिङ कसुरमा फरार रहेका ५० वर्षीय बनेपा नगरपालिका–११ निवासी प्रकाश केसीलाई प्रहरीले बनेपाबाट शनिबार पक्राउ गरेको छ । तत्कालीन पुनरावेदन अदालत पाटनले उनलाई बैंकिङ कसुर मुद्दामा तीन वर्ष कैद र रु.पाँच करोड २५ लाख जरिवाना हुने ठहर गरी फैसला गरेकामा फरार रहेकाले पक्राउ गरी कार्यान्वयनका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए । उनलाई २०७१ साल वैशाख २९ गते कैदसहित जरिवानाको फैसला सुनाइएको थियो ।
माइक नभएपछि विमान स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनुपर्ने बाध्यता
सोलुखुम्बु, माघ ९ । नेपालकै व्यस्त विमानस्थलको सूचीमा पर्ने पर्यटकीयस्थल लुक्लामा रहेको तेञ्जिङ हिलारी विमानस्थलमा माइकिङ सुविधा नहुँदा यात्रु समस्यामा पर्ने गरेका छन् । पर्यटकीय मौसममा एकै दिनमा ८०÷९० वटासम्म उडान भर्ने सो विमानस्थलमा एकैपटक तीन÷चारवटा विमानले यात्रु चढाइरहेका हुन्छन् । यस्तो बेलामा आफू चढ्ने विमानको पहिचान गर्न नसक्नु, जहाज कतिबेला आउँछ, कतिबेला जहाजमा चढ्नेजस्ता सूचना नपाउँदा टर्मिनल भवनमा पर्खिरहेका यात्रु समस्यामा पर्ने गरेका हुन् । एकजना पर्यटन गाइड ल्हाक्पा नुरु शेर्पा भन्नुहुन्छ – “दुई चारवटा जहाज बसेका हुन्छन्, आफू कुनमा जाने हो सोध्दै दौडनुपर्छ, टर्मिनलमा पसेदेखि कर्मचारीलाई सोधिरहनुपर्छ, चर्पी जाँदा पनि कतै जहाज छुटिहाल्छ कि भन्ने डर हुन्छ ।” बिहानको समयमात्र उडानका लागि उपयुक्त रहेको सो विमानस्थलमा सबैजसो उडान कम्पनीले एकै समयमा उडान भर्छन्, यस्तो अवस्थामा विमानस्थलको टर्मिनलमा सयौँको भीड हुन्छ तर आफूले यात्रा गर्ने विमानमा कतिबेला चढ्ने भन्ने कुराको जानकारी नदिँदा आफूले टिकट लिएको कम्पनीको काउण्टर अगाडि कुरेर बस्नुपर्ने बाध्यता रहेको अर्का पर्यटन गाइड एकवीर कुलुङले बताउनुभयो । उहाँका अनुसार पर्खेर बस्नुपर्दा विदेशी पर्यटकले दिक्क मान्नुपरेको र कतिपय अवस्थामा सामान छुट्नेसमेत समस्या रहेको छ । माइकिङ सुविधा नहुँदा उडान भर्ने विमान कम्पनीलाई पनि उस्तै समस्या पर्ने गरेको छ । तारा एअरलाइन्स लुक्लाका इन्चार्ज फुनुरु शेर्पा भन्नुहुन्छ – “यसले हामीलाई पनि समस्या पर्ने गरेको छ, कुनैबेला विमान उड्ने बेलामा पनि हराएको यात्रु खोज्दा हैरान हुन्छ, विमान स्टार्ट भइसकेपछि यात्रु खोजेर ल्याउनुपरेको थुप्रै घटना भएका छन्”, केही वर्षअघि माइकिङ सेवा थियो तर पछि प्राविधिक समस्या आएकोे भन्दै नागरिक उड्डयन प्राधिकरणको कार्यालय लुक्लाले यो सेवा रोकेको हो । प्राधिकरणले समस्या समाधानको पहल भइरहेको बताए पनि वर्षौंदेखि सो विमानस्थलमा यात्रुले समस्या भोगिरहेका छन् । रासस
बीर शमशेरको पालामा बनेको ढल भत्काएपछि…
काठमाडाैं, ९ माघ । राणा प्रधानमन्त्री श्री ३ वीरशमशेरकालीन असनको ढल मर्मतसम्भार गर्न भन्दै जथाभाबी भत्काउँदा अहिले राजधानीको यो पुरानो बजार हिँडिनसक्नु गरी दुर्गन्धित भएको छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ– यो बजारको मुख्य गल्ली सम्पदा मार्गमा जथाभाबी सात फिट गहिरो खाल्टो बनाइएको छ । महानगरले ढल थुनिएको भन्दै बिनायोजना ४(५ ठाउँमा ठूल्ठूला खाल्टा खनेपछि पुरानो ढल भेटिएको छ । उक्त पुरानो ढलमा वीरशमशेरकालीन इँट भेटियो तर महानगर र स्थानीयले यो ऐतिहासिक पक्षको बेवास्ता गरे । महानगरपालिका ३० असन बजारको ढल अहिले भताभुंग पार्दा यो ऐतिहासिक र पुरानो बजार सुनसान बन्न थालेको छ । करिब डेढ सय वर्षअघि निर्माण गरिएको ढल महानगर र राज्यका निकायले समयमा मर्मत नगर्दा अहिले ठप्पजस्तै भएको छ । मर्मतसम्भार भन्दै पुरानो ढल जथाभाबी खन्दा असन नै दुर्गन्धित बनेको काठमाडांै महानगरपालिकाका पूर्वमेयर तथा पूर्वमन्त्री पीएल सिंहले बताए । ‘ढल बाहिर बगेपछि ऐतिहासिक असन बजार प्र्रभावित भयो तर नयाँ योजना ल्याउन नसक्दा, मर्मत र पुनर्निर्माण गर्न नसक्दा र स्थानीयले पुराना सम्पदालाई बेवास्ता गर्दा ढल अलपत्र बनेको छ’, सिंहले भने । इन्जिनियरले ऐतिहासिक स्थलको संरक्षणमा चासो नदिई नयाँ योजना ल्याउनु विकासका नाममा विनास हुने उनको आरोप थियो । पुरातात्विक स्थल जोगाउन सोचेर काम गर्नुपर्ने तर पुर्खाले गरेको कामलाई भत्काउँदा इतिहास मेटिएको भन्दै उनले दुखेसो पोखे । बन्द भएको भन्दै महानगरले एक महिनायता बिनायोजना जथाभाबी सडकसडकमा प्वाल पारेर ढल निकालेको छ । जम्मा एक लाख पचास हजार रुपैयाँको न्यून बजेटले असन बजारको पूरै ढल मर्मतसम्भारका नाममा खनिएपछि बजार पूरै दुर्गन्धित बनेको हो । ‘खन्न सुरु गरिएको थियो । पैसा सकिएको भन्दै बन्द गरे । हामी चकित प¥यौं’, ज्याठा ठमेल पर्यटन समितिका संयोजक योगेशकुमार खड्गीले भने । दुर्गन्धले बजारमा पर्यटकदेखि बटुवासमेतको आवतजावत महिना दिनदेखि पातलिँदै गएको खड्गीले बताए । राज्यले दरबारस्क्वायर क्षेत्रमा पर्यटक भिœयाउने मुख्य मार्गका रूपमा घोषणा गरेको सम्पदा मार्ग नै ढलमय बनेको छ । ढल पुनर्निर्माण र मर्मतका लागि महानगरपालिका र सम्पदा विभागमा हारगुहार गरे पनि कुनै चासो नदिएको उनको भनाइ छ । इतिहास जोडिएको ढलको अस्तित्व नै समाप्त भएको भन्दै उनले यसमा चासो दिन माग गरे । व्यस्त बजारमध्ये एक मानिने असन बजार दुई वर्षयता ढल पुरिएर केही घरमा निकास नै बन्द भएको छ । कुनाटोल, इनवालटोल, गोसीफल मार्ग, भमलुचोक, ज्वालामाई मार्ग, ज्याठा ठमेल, असन चोक र आसपासका गल्लीमुनि बग्ने ढल बन्द भएका छन् । अहिले ढल सडकमा बग्दा जनजीवन अस्तव्यस्त बनेको छ । ‘सडकमा हिँड्ने अवस्था छैन । जबर्जस्ती पसल खोलिए पनि सेवाग्राही नआएपछि समस्या भएको छ’, असन टोलसुधार समितिका अध्यक्ष अमूल्य मानन्धरले भने । ढल बन्द भएको जानकारी लिखित रूपमा काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङलाई गराए पनि कुनै पहल नभएको गुनासो उनले पोखे । स्थानीयले ढलको समस्या असन बजार पर्ने काठमाडौं क्षेत्र नम्बर ६ का सांसद भीमसेनदास प्रधानलाई माघ ३ गते स्थलगत रूपमै देखाए पनि समधानको प्रयास नभएको गुनासो पोखे । सांसद प्रधानले काठमाडौं महानगरपालिकाका निर्माण प्रमुख उत्तरकुमार रेग्मीलाई तत्काल काम गर्न भनेपछि उनीहरूबीच चर्काचर्की भएको स्थानीयले बताए । ‘तर ऐतिहासिक ढल जीर्णोद्धारका विषयमा शब्दसमेत उच्चारण भएन’, ती स्थानीयले भने ।
प्रधानमन्त्रीले गरे रमजानलाई सम्मान
काठमाडौं, माघ ८ । अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा योगदान गर्ने एक मानवअधिकारवादीलाई प्रधानमन्त्रीले सम्मान गरेका छन् । मानव अधिकार समिति कतारका नेपाली प्रतिनिधी प्रो. मोहम्मद रमजान अलि मियाँलाई शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सम्मान गरेका हुन् । सामाजिक र अन्तर्राष्ट्रिय मानव अधिकारको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै मुस्लिम मुक्ति मोर्चा नेपालले उनलाई सम्मानित गर्ने निर्णय गरेको थियो । रमजानले कतारको कानुन नेपाली भाषामा अनुवाद गरेर पुस्तक तयार गरेका छन् । रमजानले कतारको संसोधित ऐन, २०१५ पनि नेपाली भाषामा अनुवाद गरिसकेको बताए । रमजानले कतारमा समस्यामा परेका नेपालीको उद्दारमा समेत महत्वपुर्ण सहयोग गर्दै आएको उनले जानकारी दिए । उनी मानव अधिकार समिति कतारमा सन् २०१४ देखि नेपाली प्रतिनिधीका रुपमा कार्यरत छन् । रमजानलाई यसअघि कतार सरकार र विभिन्न संघ संस्थाले समेत सम्मान गरेका छन् ।


>