छब्बीस बुँदे घोषणापत्र जारी गर्दै प्रहरी र सरकारी वकिलको सम्मेलन सम्पन्न
काठमाडौँ, माघ १७ । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको प्रथम राष्ट्रिय सम्मेलन २६ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।
यही माघ १४ गतेदेखि सुरु भएको सम्मेलनको समापनका अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले विज्ञान र प्रविधिको विकाससँगै अपराध अनुसन्धानमा पनि जटिलता थपिएको हुँदा रोकथामका लागि प्रयास हुनुपर्ने बताउनुभयो ।
उहाँले अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलको क्षमता विकास र नयाँ प्रविधिको विकास गर्नका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
गृहमन्त्री निधिले विधिको शासन कायम गर्नका लागि संविधान कार्यान्वयनमा सबैले ध्यान दिनुपर्नेमा जोड दिँदै हिमाल, पहाड तराईका सबै मानिसले संविधानप्रति अपनत्व महसुस गर्न आग्रह गर्नुभयो ।
उहाँले तीनै निकायको निर्वाचन गर्न आवश्यक भएकाले निर्वाचनका लागि सबै तयार हुनुपर्ने जरुरी भएकोसमेत बताउनुभयो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले अनुसन्धानमा अनुसन्धान गर्ने प्रहरी र अभियोजन गर्ने सरकारी वकिलबीच समन्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
नयाँ प्रविधिको विकाससँगै अपराध पनि नयाँ देखिँदै गएको हुँदा सत्यलाई न्यूनीकरण गर्नका लागि अपराधसंहिता निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।
सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले सुशासनका लागि विधिको शासन, नियम कानुनको पालना इमान्दारीपूर्वक गर्नुपर्ने बताउनुभयो । महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारवादी मुद्दा हार्दा सरकारी वकिल र अनुसन्धान गर्ने प्रहरी दुवैको हार हुने मात्र नभई राज्यको समेत हार हुने भएकाले गम्भीरतापर्वूक ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी र वकिल ज्यादा नजिकभन्दा पनि व्यावसायिकतालाई ध्यान दिएर भयरहित, शान्ति र न्यायका लागि काम गर्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल बार एसोसिएसनका अध्यक्ष खम्मबहादुर खातीले अनुसन्धान गर्ने प्रहरी, अभियोजन गर्ने सरकारी वकिलसँग बार सहकार्य गरेर जान तयार रहेको उल्लेख गर्नुभयो ।
सम्मेलनले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको बृहत् हकहित गर्ने उद्देश्यसहित २६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
घोषणापत्रमा अपराधीकरणलाई कानुन दायरामा ल्याउनुपर्ने, अपराधलाई राजनीतिकरण हुनबाट निरुसाहित गर्नुपर्ने, यातनालाई निरुसाहित गर्नुपर्ने, अपराधविरुद्ध सहज रुपमा काम गर्ने वातावरणको सिर्जना गर्नुपर्ने, बढ्दो विद्युतीय अपराधलाई न्यूनीकरण गर्नुपर्नेलगायत रहेका छन् ।
दलहरुबीचको सहजकर्ता हो नयाँ शक्ति : नेता देवकोटा
बेनी, माघ १६। नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले आफ्नो पार्टीले संविधान कार्यान्वयनमा सहजकर्ताको भूमिका खेल्ने बताएका छन् । म्याग्दीको बेनी पत्रकारसँग कुरा गर्दै उनले सरकारले संविधान संशोधन, चुनाव घोषणा र दलहरुबीच आपसी विश्वास जित्न पनि नसकिरहेको अहिलेको अवस्थामा नयाँ शक्ति पार्टीले सबै राजनीतिक दलबीच सहमतिका लागि सहजकर्ताको भूमिका खेल्ने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नगरेसम्म मुलुकले सहज निकास पाउन नसक्ने बताउँदै उनले भने, – “राजनीतिक व्यवस्थाका विरुद्ध सबैसँग लड्ने समय सकिएको छ, अब अवस्थाका विरुद्ध लड्नुपर्ने समय आएको छ ।” प्रवक्ता देवकोटाले विगत लामो समयपछि प्राप्त संविधानको कार्यान्वयन हुनुपर्नेमा जोड दिदैं नयाँ शक्तिको चाहना संविधान कार्यान्वयन होस् भन्ने रहेको स्पष्ट पारे ।
विचल्लीमा परे बालबालिका
जाजरकोट, माघ १६। जाजरकोट ढिमे–२ मालुबेलामा डोल्पाका चार बालबालिका विचल्लीमा परेका छन् । डोल्पा फुलचिङ खदाङका बाबु बुद्धिबहादुर बुढाको हत्या भएको र आमा रतनकली कामीले दोस्रो बिहे गरेर गएपछि उनीहरु विचल्लीमा परेका हुन् । अज्ञात व्यक्तिले छ वर्षअघि बाबुको हत्या गरेको र एक वर्षअघि आमा रतनकलीले डाँडागाउँ ७ चाउले चौरमा बिहे गरेर गएपछि चार वर्षीय अनिल, छ वर्षीय रेखा, आठ वर्षीय चन्द्रा र १० वर्षीय पार्वती बिचल्लीमा परेका हुन् । द्वन्द्वकालमा (माओवादी) पार्टीका कार्यकर्ता हुँदा अन्तरजातीय विवाह गरेका उनीहरू–९ वर्षदेखि ढिमेको मालुबेलामा बस्दै आएका थिए । बाबुको हत्या भएको पाँच वर्षसम्म आमा रतनकलीले मजदुरी गरेरै छोराछोरीको लानपालन गरेको स्थानीय जगत मल्लले बताउनुभयो । जग्गा–जमिन, घरबास केही नहुँदा ३० वर्षीय रतनकलीले छोराछारीको लालनपालन गर्न नसक्ने अवस्था आएपछि दोस्रो विहे गर्न बाध्य भएको मल्लले बताउनुभयो । ‘ती बालबालिकाको आफन्त छन् वा छैनन्, कसैले वास्ता गरेका छैनन’ उनले भने– ‘चारै भाइबहिनीलाई डोल्पा घर छ, छैन भन्ने पनि थाहा छैन।’ उनीहरुका लागि प्रमुख समस्या भनेको नै गाँस, बास र कपासको हो, उहाँले भन्नुभयो– गाउँमा अर्काको गोठाला गरेर उनीहरू पेट पाल्न बाध्य भएका छन् । गरिबीका कारण नाबालक नातिनातिनाको लालनपालन गर्न नसकेको ७० वर्षीय हजुरआमा देवी कामीले बताइन् । ‘मागेर कसरी लालनपालन गर्ने रु’ उहाँले भन्नुभयो– ‘कमाइ गर्ने कोही नहुँदा समस्या भएको छ । गोठाला गरेर गाँसबास र लत्ताकपडा जुटाउनुपरेको छ । पठनपाठनको व्यवस्था मिलाउन सकिएको छैन ।’ घरको आर्थिक अवस्था कमजोर रहेकाले समस्या भएको उनको भनाइ छ ।
सहिद स्मारक पुगेर प्रधानमन्त्रीले दिए शहीदहरूलाई श्रद्धाञ्जली
काठमाडौँ, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लैनचौरमा रहेको सहिद स्मारकमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद सप्ताहको अन्तिम दिन आइतबार प्रधानमन्त्रीले शहीदको शालिकमा फूलमाला अर्पण गरेका हुन् । सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै शहीदको सम्झना गरे। सोही अवसरमा नेपाली सेनाले शहीदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो । काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ ।
भारतले दशगजामैं बनायो पक्की सडक र नाला
गौशाला, माघ १६ । भारतले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा दसजगामै पक्की सडक र नाला निर्माण गरेको छ । जिल्ला प्रशासन कार्यालय, महोत्तरीका अनुसार भारतीय पक्षले मटिहानी गाविस–८ स्थित दसगजा क्षेत्रमा ७ दशमलव ३१ मिटर दसगजा मिचेर पक्की सडक र नाला निर्माण गरेको हो । सीमाक्षेत्रको दसगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दसगजा मिचेर पक्की संरचना निर्माण गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए । भारतीय पक्षले दसगजा मिचेर भौतिक संरचना निर्माण गर्न लागेको सम्बन्धी गत पुस २३ गते नै जानकारी पाएपछि सशस्त्र बेस क्याम्प मटिहानीले सो संरचनाको विरोध गरी काममा अवरोध खडा गर्दै रोक लगाएको थियो । तर पुनः भारतले सबै मान्यता र सम्झौतालाई लत्याउँदै तीन साता नबित्दै दसगजामा सडक र नाला निर्माण गरेको सशस्त्र प्रहरी उपरीक्षक, प्रकाश श्रेष्ठले बताए । भारतले यसरी दसगजामा बनाएको पक्की सडक र नालाको महोत्तरीका प्रजिअ यादवसहितको सुरक्षा निकायले स्थलगत निरीक्षण गरेको छ भने यसबारे भारततर्फका मधुवनी जिल्लाका डिएम र सशस्त्रका कमाण्डरसँग समन्वय गरी निर्माण गरिएको संरचना भत्काएर मिचिएको दसगजा क्षेत्रलाई खाली गराउन प्रयास भइरहेको जनाइएको छ ।
पाँच वर्षभित्र एक घर एक धारा: राज्यमन्त्री खड्का
दाङ, १५ माघ । खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई हठ त्यागी सहमतिको राजनीतिमा आउन आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन, दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री खड्काले लोकतन्त्रमा सबै पक्षको आवाज सुन्नुपर्ने र उचित माग पूरा हुने भएकाले पनि एमालेले मधेस र आदिवासीलगायतका कुरालाई सुन्नुपर्ने बताउनुभयो । एमाले जति कडा बन्दै जान्छ, मुलुक झनै अन्योलताको भूमरीमा पर्ने उहाँले बताउनुभयो । काँग्रेसका नेतासमेत रहनुभएका मन्त्री खड्काले समयमै लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । उहाँले मधेसी र आदिवासी जनजातिलगायतका कैयौँ समुदायहरु उत्पीडितमा रहेको र संविधान संशोधनमार्फत उनीहरुको माग सम्बोधन हुने भएकाले संशोधनमा लचकता अपनाउन एमालेलाई आग्रह गर्नुभयो । अर्को एक प्रसङ्गमा उहाँले सरकार निर्वाचनको घोषणाको तयारीमा जुटिसकेको बताउनुभयो । अब दलहरुसँग छलफल गरी तीनवटै निकायको निर्वाचन एक वर्षभित्र सम्पन्न हुने गरी मिति घोषणा हुने बताउनुभयो । मन्त्री खड्काले पिउने पानीलाई आधारभूत आवश्यकताका रुपमा सरकारले लिएको बताउँदै, अबको पाँच वर्षभित्र एक घर एक पानी धारा हुने जानकारी दिनुभयो । हाल एक वर्षभित्रै सम्पन्न हुने गरी देशभरमा पाँचहजार एकसय खानेपानीका योजना सञ्चालन भइरहेको जानकारीसमेत दिनुभयो । राज्यमन्त्री खड्काले नेपालमा आधारभूत खानेपानी ८५ प्रतिशत र आधारभूत सरसफाइ ८६ प्रतिशत जनतामा पुगिसकेको बताउँदै आगामी एक वर्षभित्रै सबैको पहुँचमा सेवा पु¥याउन सरकार लागिपरेको बताउनुभयो । तराईका जनताले अझै पनि स्वच्छ पिउने पानी उपभोग गर्न नपाएको बताउँदै तराईमा डिपबोरिङको माध्यमबाट त्यहाँका जनतालाई स्वच्छ पिउने पानी र पहाडी क्षेत्रमा लिफ्ट सिस्टमबाट जनतालाई स्वच्छ पानी पु¥याउने योजना सरकारले अगाडि सारेको राज्यमन्त्री खड्काले बताउनुभयो । प्रेस युनियनका अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
श्रेष्ठले छोडे नयाँ शक्ति, विप्लव माओवादीका पूर्वी कमाण्ड इन्चार्ज पनि फर्के माओवादी केन्द्र
दोलखा, माघ १५ । नयाँ शक्ति नेपालका नेता तथा पूर्व सभासदले नयाँ शक्ति परित्याग गरेको घोषणा गरेका छन् । शनिवार एक कार्यक्रमबीच हेमवहादुर श्रेष्ठले नयाँ शक्ति नेपाल परित्याग गरी माओवादी केन्द्रमा फर्किएको घोषणा गरेका हुन् । उनी एक वर्ष अघि डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल प्रवेश गरेका थिए । उनी तत्कालिन नेकपा माओवादी दोलखाका सँस्थापक हुन् । नयाँ शक्ति पार्टी परित्याग गर्दै उनले भने– ‘बाबुरामले भनेको जस्तो समृद्धि माओवादीले पनि चाहेको छ, हामीले पनि चाहेका छौं,’ हाम्रो वर्गको उत्थान र समृद्धिका लागि मेरै वर्ग र मेरै सह योद्धाको साथमा उभिनुपर्छ भन्ने निर्णय गरेर फर्किए ।’ उनले जनयुद्धका बेला १० वर्ष सम्म जेल सजाएँ भोगेका थिए । यसैगरी नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीका युवा संगठनका पूर्वी कमाण्ड इन्चार्ज राम ढुँगेल पनि माओवादी केन्द्रमै फर्किएको घोषणा गरेका छन् । उनी दुवैलाई माओवादी केन्द्र दोलखाका नेताहरु गंगा कार्की (विश्व) शंकर लामा लगायतका नेताले माओवादी केन्द्र प्रवेश गराए । पार्टी प्रवेश कार्यक्रममा जिल्लाका मञ्चमा बसेका अन्य नेताहरु खुशी देखिन्थे । उनीहरुले दुवै नेतालाई अविर र खादाले स्वागत पनि गरे । स्थानीय पत्रकार लक्ष्मण खड्काको सहयोगमा
जिप दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
बझाङ माघ १५। जयपृथ्वी नगरपालिका– ६ कपडेमा एक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । चैनपुरबाट रुपातोला जान लागेको से १ ज ५६२ नम्बरको जिप सडकबाट झन्डै १५० मिटर तल सेती नदीको किनारमा खसेको थियो । मृत्यु हुनेमा रिलु गाविस– ८ का ४६ वर्षीय लालसिंह बोहरा रहेको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा मेलबिसौना गाविस– ५ का ३३ वर्षीय ललित सिंह, रिलु गाविस– ४ का ११ वर्षीय देव बोहरा र १४ वर्षीया सुशीला बोहरा तथा रिलु गाविस १ का १५ वर्षीया शिल्पा बोहरा घाइते भएका छन् । घाइते सबैको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए । जिप चालक देवराज बोहरा प्रहरी नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
बागमतीबाट निकालियो उन्नाइस मेट्रिक टन फोहोर
काठमाडौँ, माघ १५ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९४ औँ हप्तामा आज गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिनुभयो । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गर्नुभएको थियो । सफाइमा प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यलगायत अभियानकर्मीको उपस्थिति थियो । आजको सफाइमा भारतको हरिद्वारको विद्या आश्रमका चार कन्याको पनि सहभागिता थियो । ती कन्या बागमती सफाईमै सहभागी हुन नेपाल आउनुभएको आयोजना प्रमुख सिंहले बताउनुभयो । सफाईमा टेलिकमको वार्षिकोत्सवका अवसर पारेर कर्मचारीको पनि उल्लेख्य उपस्थिति थियो । सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सफाई महाअभियानलाई ३०० जोर बूट, ३०० जोर स्थायी पञ्जा, १०० ट्रयाक सुट, ५० डोको र ५० फलामको सुइरो हस्तान्तरण गर्नुभयो । सफाईसँगै यस क्षेत्रका घरदैलोमा पुगी जनचेतनामूलक अभियान सञ्चालन गर्ने क्रममा सुकुम्वासी बस्तीमा भगवती कार्कीका दुई अपाङ्ग छोराहरुलाई बाँधेर राखिएको अवस्थामा फेला पारेपछि उपचार एवम् शिक्षा दीक्षाका लागि रु एक लाख ३८ हजार ९६० सहयोग सङ्कलन भएको मुक्तिनाथ विकास बैंकका सञ्चालक नारायण श्रेष्ठले जानकारी दिनुभयो । “टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत रु एक लाख, बैंकले रु १० हजार र सफाईमा उपस्थितबाट रु २८ हजार ९६० सङ्कलन गरिएको, थप उपचार एवम् शिक्षा दीक्षाका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ”– उहाँले भन्नुभयो । रुद्रमती सफाईको १५३ औँ हप्तामा आज नीलोपुलदेखि गोपीकृष्ण पुलसम्मको क्षेत्रमा सफाई गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । सफाईमा काठमाडौँ महानगरपालिकाका वडा नं ४ र ७ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीहरु लगायतको सहभागिता थियो । सफाईको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो । अर्को शनिबार १५४ औँ हप्ताको रुद्रमती सफाई गोपीकृष्ण पुलदेखि भत्केको पुल क्षेत्रसम्म गरिने उपाध्यक्ष गिरीले बताउनुभयो । विष्णुमती सफाईको १२६ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाई गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाईमा स्थानीयवासीको कम सहभागिता जुटेको अभियानकर्मी बिजेन्द्र लामाले बताउनुभयो । धेरैजसोले सेफ्टी ट्याङ्की नबनाई सिधै खोलामा ढल हालेको पाइएको उहाँले जानकारी दिनुभयो । नख्खुखोला सफाईको ७० औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ फूलबारीमार्ग र फूलबारी बगैँचा सफाई गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरसफाई अभियानका संयोजक बलुदेव पाण्डेले बताउनुभयो । सङ्कलन गरिएको फोहर नेप्से म्याक प्रालिले व्यवस्थापन गर्नेछ । यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज लगायत संस्थाले सफाई गरेका छन् । रासस
खुम्जुङको तापक्रम माइनस ११ डिग्री
सोलुखुम्बु, माघ १५ । सोलुखुम्बुमा शुक्रबार राति अहिलेसम्मकै सबैभन्दा बढी हिमपात भएको छ । शुक्रबार बिहान१० बजेदेखि पर्न सुुरु भएको हिमपात राति निकै अबेरसम्म जारी रहेको थियो । जिल्लाको खुम्जुङलगायतको माथिल्लो बस्तीमा चार फिटभन्दा बढी हिउँ जमेको छ भने दूधकुण्ड नगरपालिकालगायतको क्षेत्रका डाँडापाखा पनि हिउँले सेताम्मे भएका छन् । यस वर्ष यसअघि पुस महिनाको दोस्रो हप्ता हिउँ परेको भए पनि त्यसबेलाको भन्दा यस पटक बढी हिउँ जमेको छ । हिमपातसँगै जिल्लामा चिसो पनि अत्यधिक बढेको छ । शनिबार बिहान ५ः३० बजे सदरमुकाम सल्लेरीको तापक्रम माइनस ७.२ डिग्री सेल्सियसमा झरेको सल्लेरीस्थित मौसम अवलोकन केन्द्रले जनाएको छ । यस्तै खुम्जुङ भ्यालीको तापक्रम माइनस ११ डिग्री सेल्सियसमा झरेको खुन्दे अस्पताल परिसरमा रहेको तापमापन केन्द्रले जनाएको छ । हिमपातसँगै जिल्लाको हिमाली बस्तीको जनजीवन कष्टकर बनेको छ । रातभर हिउँ परेको भए पनि बिहानैदेखि मौसम सफा भएर घाम लागेका कारण स्थानीय बासिन्दालाई राहत भएको छ । रासस
चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु
भक्तपुर, माघ १५ । विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । वि.सं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि मूल मन्दिरका रहेका बहुमूूल्य र पुरातात्विक सामग्रीको अभिलेखीकरण सुरु भएको जानकारी दिँदै उहाँले मन्दिरको तल्लो भाग र छानोलाई एकै पटक जीर्णोद्धार गर्ने बताउनुभयो । भूकम्पले चाँगुनारायणको मूल मन्दिर नढले पनि नराम्ररी क्षति पुर्याएपछि टेकोमा अड्याइएको छ । चाँगुनारायण मन्दिर परिसरकै भत्किएको किलेश्वर मन्दिर यसअघि नै एक गैरसरकारी संस्थाले पुनःनिर्माण गरिसकेको छ । मन्दिर परिसरमै रहेको अन्य मन्दिर र चौघेरा सत्तल तथा अमात्य सत्तल भने पुनःनर्माण नै गर्नुपर्ने भएकाले केही समय अझै लाग्ने भएको छ । मन्दिरको जमिन तला र माथिल्लो तलामा परापूर्वकालदेखि रहेका पुरातात्विक वस्तुको जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, गुठी संस्थान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चाँगुनारायण नगरपालिका, पुजारी, भडेल र सरोकारवालासहितको टोलीले लगत उतार्ने काम सुरु गरेका छन् । लगत राखिएका सामान गुठी संस्थान भद्रकालीले वर्षांै पहिलो राखेको लगतसँग मेल खाए÷नखाएको रुजु गरी दुरुस्त भए त्यसको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नै खटाएर मन्दिर परिसरमै सुरक्षाको व्यवस्थासहित राखिने भएको छ । मन्दिर जीर्णोद्धारका लागि वरिष्ठ इन्जिनियर ओम धरानन्द राजोपाध्याय र स्ट्रक्चर इन्जिनियर छविराज घिमिरेले बुझाएको प्रतिवेदन अनुसार मन्दिरको जीर्णोद्धार गरिने भएको हो । श्रेष्ठले भन्नुभयो – “चाँगुनारायण मन्दिरको माथिल्लो तलाको छानो निकाल्ने र नयाँ निर्माण गर्ने तथा मन्दिरको तल्लो भागबाटै गाह्रोलाई बलियो बनाउँदै लगेर जीर्णोद्धार गरिने छ ।” जीर्णोद्धार कार्य २०७४ साल असार मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । जीर्णोद्धारका लागि कुल रु ९४ लाख ६५ हजार ८४८ मा ठेक्का प्रदान गरिएको छ । भूकम्पले भत्काएको चाँगुनारायण मन्दिर परिसरमै रहेको किलेश्वर मन्दिर भने यसअघि नै कल्चर हेरिटेज एन्ड इन्भारोमेन्ट फाउन्डेसनले पुनःनिर्माण गरिसकेको छ । मन्दिर परिसरको चौघेरा सत्तल, अमात्य सत्तल, पुजारी घर, शिव मन्दिर, लक्ष्मीनारायण मन्दिर पनि सोही फाउन्डेसनले निर्माण गरिदिने सहमति भए पनि ढिलाइ गरेपछि अब विभागले अब फाउन्डेसनलाई नपर्खने भएको छ । “विश्वसम्पदा सूचीमा रहेको सम्पदा निर्माणमा ढिलाइ गर्न नहुने अवस्थामा फाउन्डेसनलाई विभागले कुरेर बस्दैन, विभाग आफैँले यी मन्दिर एवम् सत्तलको पुनःनिर्माण सुरु गर्छ”– इन्जिनियर श्रेष्ठले भन्नुभयो । पुनःनिर्माण तथा जीर्णोद्धारमा काम लाग्ने इँटा तथा काठ पुरानै प्रयोग गर्ने जानकारी दिँदै उहाँले ७५ प्रतिशत सामग्री भने नयाँ प्रयोग गरिने बताउनुभयो ।
दामन सिमभञ्ज्याङमा ६ इंच बाक्लो हिमपात, यातायात अवरुद्ध
हेटौँडा, १५ माघ । त्रिभुवन राजपथको सिमभञ्ज्याङ, अघोर र दामनमा आज बिहान ४ बजे परेको हिउपातले हेटौँडा–काठमाडाँैबीचको यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । करिब ६ इन्च बाक्लो हिउँ पर्नाले यहाँको जनजीवन कष्टकर भएको स्थानीय सञ्चारकर्मी सुरेन्द्र प्रधानले बताउनुभएको छ । काठमाडाँै र हेटौँडाबाट गइरहेका सयौँ सवारीसाधन सिमभञ्ज्याङ र अघोरमा रोकिएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । अहिले क्षेत्रीय सडक डिभिजन कार्यालयको तर्फबाट सडक खुलाउन डोजर परिचालन गरिसकेको मकवानपुरका प्रजिअ नारायण शर्माले राससलाई जानकारी दिनुभयो । सिमभञ्ज्याङमा हिउँ परेपछि हेटौँडाबाट हिउँको दृश्य हेर्न सर्वसाधारणको भीड लागेको छ । रासस file photo
डडेलधूरामा पानीको संकट, एउटै धारामा ४१ परिवार निर्भर
डडेल्धुरा, १५ माघ । लामो समयदेखि आकाशको पानी पर्याप्त मात्रामा नपर्दा पानीका मूल सुक्न गई यहाँका ग्रामीण जनता खोलाको फोहर पानी पिउन बाध्य बनेका छन् । डडेल्धुराका विभिन्न गाउँठाउँमा असोज महिनायता पुस महिनामा हल्का वर्षा भएको भएपनि उक्त पानीले मूल नफुटेपछि समस्या उत्पन्न भएको गाउँलेको भनाइ छ । मष्टामडौँ–९ गौली गाउँमा एउटै धाराबाट ४१ परिवारले पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको भएपनि पानी मूलबाट नै कम आउन थालेपछि झनै समस्या भएको छ । ती परिवारले बस्ती नजिक रहेको खोलमा गएर पिउने पानी ल्याउने गरेका छन् । “पानीका लागि घन्टाँै लाममा बस्नुपर्छ घरको काम अधुरै छोडी पानीका लागि रातिदेखि नै लाममा लाग्न बाध्य छौं,” गौली गाउँकी हरिना विष्टले भन्नुभयो । “पहिले पानी दिनभर उपभोग गरेर पनि करेसा बारीमा सिँचाइ गर्न पुग्थ्यो हिउँदमै पानीका मूल सुकेर खानेपानी आपूर्ति गर्न धौधौ भइरहेको छ,” लामिकाडे खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्ल बताउनुभयो । पहाडी जिल्लामा धेरै वर्षा नभएको तीन महिनाभन्द बढी भइसकेको छ । लामो खडेरीले गर्दा महाभारत पर्वत शृङ्खलामा रहेका पानीका अधिकांश मूल सुकिसकेका छन् भने मध्य पहाडी क्षेत्रमा खानेपानीको स्रोतका रुपमा बग्ने खोला समेत सुक्न थालेको अध्यक्ष मल्लको भनाइ रहेको छ । डडेल्धुराका विभिन्न चिपुर, भद्रपुर, देवल, कोटेली, भागेश्वर मणिलेक र नगरपालिकाको विभिन्न ग्रामीण बस्तीमा पानीको सङ्कट देखिएको छ । “गाउँ गाउँमा खानेपानीका योजना धेरै छन् र सरकारी तथा गैरसरकारी क्षेत्रवाट बर्सेनि ठूलो रकम खानेपानी क्षेत्रमा खर्च हुन्छ तर निर्माण सम्पन्न भएका योजनामा पनि अर्को वर्ष पानी आउँदैन,” कोटेली–३ का स्थानीयबासी रुद्रप्रसाद भट्टले जानकारी गराउनुभयो । खानेपानी क्षेत्रमा काम गर्ने निकायले योजनासँगै खानेपानीका स्रोत संरक्षणका लागि समेत काम गर्नुपर्ने भट्टको सुझाव छ । खडेरीले गर्दा जमिनमुनि पानी ‘रिचार्ज’ हुन नसक्दा हिउँद नसकिँदै यस्तो समस्या उत्पन्न भएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका कार्यक्रम संयोजक रामदत्त जोशीले बताउनुभयो । जमिनमुनि पानीको मात्रा पनि घट्दै जानु र ‘रिचार्ज’ हुने क्षमता पनि सकिँदै जानु जस्ता कारण मध्य पहाडी क्षेत्र गम्भीर समस्या उत्पन्न हुन सक्ने उहाँले आँैल्याउनुभयो । हिउँद नसकिँदै यस्तो सङ्कट देखिनुले खडेरी अझै बढ्ने र गर्मीयाममा खानेपानीको झन् बढी सङ्कट हुनसक्ने खानेपानी डिभिजन कार्यालय डडेल्धुराका प्रमुख सुरजकुमार कैजुले बताउनुभयो । लामो खडेरीले गर्दा मुहान र स्रोत सुकेर समस्या उत्पन्न भएको कैजु बताउनुहुन्छ । पानीको चक्रीय प्रणालीअनुसार हरेक पाँच वर्षमा खडेरीको मात्रा बढ्ने र पानीको समस्या उत्पन्न हुने भएकाले मूलको सरंक्षण र सम्बद्र्धन गर्न खानेपानी कार्यालय डडेल्धुराले आग्रह गरेको छ । file photo
कन्सुलर सेवा अब अनलाइनबाट
काठमाडौं – परराष्ट्र मन्त्रालयको कन्सुलर विभागले आजदेखि विदेशमा हराएका नागरिकको खाजी, मृत्यु भएकाको शव झिकाउने कार्य तथा क्षतिपूर्तिका लागि अनलाइनबाटै निवेदन दिन सकिने व्यवस्था मिलाएको खबर आजको नयाँ पत्रिकामा छ । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले शुक्रबार त्रिपुरेश्वरस्थित विभागमा आयोजित कार्यक्रममा अनलाइन सेवाको उद्घाटन गरेको हुन् । सेवा सुरु भएपछि नागरिकको खोजतलास र उद्धार, विदेशमा मृत्यु भएकाको शव झिकाउने, मृतकका परिवार र घाइतेले पाउनुपर्ने क्षतिपूर्ति, अधिकृत वारेसनामाजस्ता सेवाका लागि अनलाइनबाटै आवेदन गर्न सकिने भएको छ । यस अघि भने यी कुनै पनि सेवा लिन कार्यालयमा उपस्थित नै हुनुपर्ने नियम थियो ।
चंद्रागिरि केबल कारमा शहीद परिवारलाई विशेष छूट
काठमाडौं, १५ माघ । चन्द्रागिरि हिल्सद्वारा प्रवर्द्धित चन्द्रागिरि केबलकारले सहिद दिवसका अवसरमा माघ १६ र १७ मा सहिद परिवारको परिचयप्राप्त सदस्यलाई ५० प्रतिशत छुटमा टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाएको छ । आजको नयाँ पत्रिकामा खबर छ– सहिदको त्याग, तपस्या र बलिदानको कदर स्वरुप सहिद परिवारका सदस्यलाई यस्तो व्यवस्था गरिएको कम्पनीले जनाएको छ । छुट व्यवस्थाअनुसार ७ सय पर्ने केबलकार टिकट ३ सय ५० मा प्राप्त गर्न सकिनेछ । टिकट खरिद गर्दा नेपाल सरकारबाट वितरण गरिउको सहिद परिवार सदस्य परिचयपत्र अनिवार्य रुपमा साथमै हुनुपर्ने कम्पनीले बताएको छ । सुविधा अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित काउन्टरबाट मात्र लिनुपर्नेछ ।
‘अयोग्य’ पूर्व माओवादी लडाकुका लागि विशेष कार्यक्रम
पोखरा, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले माअोवादी लडाकुका लागि विशेष कार्यक्रम ल्याउने भएको छ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले अयोग्य ठहरिएर बेरोजगार भएका माओवादी लडाकुका लागि कार्यक्रम ल्याउन लागेको बताउँदै उक्त कुराको खुलासा गरेका हुन् । अखण्ड नेपाल पार्टी कास्कीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अहिले त्यस्ता अयोग्य लडाकुको सङ्ख्या झन्डै दुई हजार २०० रहेको र उनीहरुका मागलाई सम्बोधन गर्न सकिएन भने फेरि हतियार उठाउन सक्ने भएकाले उनीहरुलाई रोजगारी दिने खालका कार्यक्रम ल्याउन पहल गर्ने जानकारी दिए । अल्पमत र बहुमतको खेललाई अन्त्य गरी सत्तापक्ष र प्रतिपक्ष एक भएर असन्तुष्ट पक्षले उठाएका मागलाई सम्बोधन गरी संविधान कार्यान्वयनका लागि सबै तहको निर्वाचनमा जानुपर्नेमा उनको जोड थियो । पार्टीका वरिष्ठ उपाध्यक्ष चतुराखर अधिकारीले विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक शक्तिसँग एक भएर पार्टी अघि बढ्ने धारणा राखे ।

