राईलाई राष्ट्रिय विभूति घोषणा गरिने– प्रधानमन्त्री

काठमाडौँ, माघ ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता जनाएका छन्

शनिबार रामप्रसाद राई फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा ‘रामप्रसाद राइ’ नामक पुस्तकको विमोचन गर्दे उनले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमार्गलाई रामप्रसाद राई मार्ग घोषणाको पहल भइरहेको जानकारी दिए ।

प्रधानमन्त्रीले देश र जनताका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ्यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको बताए ।
स्व. राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेखेको ‘रामप्रसाद राई’ नामक कृति ४७२ पेजको रहेको छ ।

स्व. रामप्रसाद राई भोजपुर निवासी थिए । उनी १०४ वर्षे निरङ्कुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए ।

फाउन्डेसनका अध्यक्ष स्व. राइकी सुपुत्री लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व. राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

विद्युत् चुहावट गर्ने सात सय विद्युुत् प्राधिकरणको कारबाही

राजविराज, माघ ८ । नेपाल विद्युुत् प्राधिकरण, शाखा कार्यालय राजविराजले छ महिनामा विद्युत् हुुकिङ गरी चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि कारबाही गरेको छ । चुुहावट नियन्त्रण गर्ने अभियानअन्तर्गत नेपाल विद्युुत् प्राधिकरण शाखा कार्यालय राजविराजले विद्युुत्को पोलबाट हुुकिङ गरेर सिँचाइ तथा घरमा विद्युुत् चोरी गर्नेमाथि कारबाही गरेको प्राधिकरण केन्द्रका प्रमुुख रामउद्गार साहले बताए । केन्द्रका प्रमुख साहका अनुसार आव २०७३÷०७४ को साउनदेखि हालसम्म विद्युत् चोरी गर्ने ६९८ व्यक्ति तथा उपकरणमाथि विद्युत ऐनवमोजिम कारबाही गरिएको बताए । तीमध्ये ३८३ जना हुकिङ गर्ने मानिसलाई रु ५,००० जरिवाना र २३४ वटा सामान जफत गरिएको उनले जानकारी दिए । यस्तै, तीमध्ये मिटरबाट सिधै विद्युत् चुहावट गर्ने ८१ जनालाई समेत कारबाही गरिएको बताइएको छ । यता विद्युत् चुहावटको कारबाहीबाट रु ४६ लाख १६ हजार ६०० राजस्व सङ्कलन समेत गरिएको प्राधिकरण राजविराजले जनाएको छ । यसैबीच, विद्युत्को महसुल तिर्न बाँकी बक्यौता भएकाको लाइन काट्ने कार्य जारी राख्दै जिल्लामा भइरहेको व्यापक विद्युत् चुहावट नियन्त्रणका लागि समेत प्राधिकरणले चुहावट नियन्त्रण अभियानलाई जारी नै राखेको प्रमुख साहले बताए। रासस

मोर्चाको मागप्रति सरकार गम्भीर नभएको नेता ठाकुरको आरोप

उर्लाबारी (मोरङ), माघ ८ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुुरले मधेसी मोर्चाले उठाएको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाएका छन् । मधेस आन्दोलनका क्रममा मृत्युु भएकाको सम्झनामा शुक्रबार मोरङको रङ्गेलीमा आयोजित श्रद्धाञ्जलि सभालाई सम्बोधन गर्दै उनले मधेसी मोर्चाको सहयोगमा वर्तमान सरकार गठन भएकाले मधेसको माग पूरा गर्नेतर्फ सरकारको ध्यान जानुुपर्ने बताए । अध्यक्ष ठाकुुरले आफूुहरुको मागप्रति मुुख्य दल गम्भीर नभए मधेसी मोर्चा सशक्त आन्दोलनमा जाने चेतावनी समेत दिए । कार्यक्रममा सद्भावना पार्टीका केन्द्रीय सदस्य शङ्खर साह, सङ्घीय समाजवादी फोरम नेपाल मोरङका अध्यक्ष राजकुुमार यादव, मधेसी मोर्चाका स्थानीय नेता सिसुुपाल यादव, पन्नालाल मण्डल तथा दिलीप मण्डलले मधेसी मोर्चाको मागप्रति सरकारलाई गम्भीर हुुन आग्रह गरेका थिए । एक वर्षअघि मधेस आन्दोलनका क्रममा रङ्गेलीमा एक महिलासहित तीनजना मोर्चाका कार्यकर्ताको मृत्युु भएको थियो । रासस

पुनःनिर्माण कार्यलाई तीव्रता दिन मन्त्री पाण्डेको निर्देशन

गोरखा, माघ ७। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले पुनःनिर्माण कार्यलाई तीव्रताका साथ अघि बढाउन निर्देशन दिएका छन् । पुनःनिर्माण कामलाई सघाउन गठन भएको जिल्ला समन्वय समितिको आज गोरखा सदरमुकाममा बसेको बैठकमा उहाँले गोरखाका ५८ हजार लाभग्राहीमध्ये करिब ५४ हजारले पहिलो किस्ताको रकम बुझेपनि उनीहरु सबैले अहिलेसम्म घर नबनाएकोमा चिन्ता व्यक्त गर्दै समितिका सदस्य तथा स्थानीय प्रशासनलाई पुनःनिर्माण कार्यलाई गति दिने गरी काम अगाडी बढाउन निर्देशन दिएका हुन् । बैठकमा अहिलेसम्म पुनःनिर्माणका क्षेत्रमा भएका कामको समीक्षा गर्नुका साथै हिमालपारिका सिर्दिवास, बिही, चुम्चेत, छेकम्पार, प्रोक, ल्हो र सामागाउँमा अनुदान रकम कसरी र कहिले वितरण गर्न सकिन्छ तथा घरको डिपिसी सकेका लाभग्राहीलाई कसरी छिटो भन्दा छिटो दोस्रो किस्ताको रकम उपलब्ध गराउनेबारे निर्णय भएको गोरखाका स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले बताए । गोरखामा ५४ हजारले निजी आवास बनाउन रकम बुझेको भएपनि करिब तीन हजारको हाराहारीमा मात्रै घर बनाइरहेको बताइएको छ । रासस

मेलम्ची खानेपानी आयोजना द्रुत गतिमा निर्माण हुन्छ–मन्त्री सिंह

काठमाडौँ,  माघ ८ । खानेपानी तथा सरसफाइमन्त्री प्रेमबहादुर सिंहले मेलम्ची खानेपानी आयोजना द्रुत गतिमा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।रिपोर्टर्स क्लब नेपालले  आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सिंहले देशमा अझै पनि १५ प्रतिशत नागरिक खानेपानी सेवाबाट वञ्चित रहेको बताउँदै भेरी, गोरखा, हलेसीलगायतका विभिन्न ठाउँमा हेभी पम्पिङ परियोजना कार्यान्वयनमा ल्याउने बताए । तराईका २० जिल्लामा समेत तराई खानेपानी सुधार आयोजना सुरु गरिएको जानकारी दिँदै उहाँले १०६ आयोजना कार्यान्वयनमा आउने चरणमा रहेको जानकारी दिए । ज्येष्ठ नागरिकमैत्री केन्द्र गठन हुने त्यस्तै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री कुमार खड्काले मुलुकमा महिला हिंसा अन्त्य गर्नका लागि चाँडो प्रभावकारी योजना ल्याउने बताए । उनले ज्येष्ठ नागरिक तथा सडक बालबालिकाको हितमा समेत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्दै प्रत्येक टोलमा ज्येष्ठ नागरिकमैत्री केन्द्र गठन गर्ने बताए । मन्त्री खड्काले देशमा विद्यमान समस्या समाधानका लागि सबै दलबीचको सहमति र एकताबाट संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । रासस

संचालकसहित खालबाटै बीस जुवाडे पक्राउ

भक्तपुर, माघ ७। भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट जुवा खेलिरहेका २० जना जुवाडेलाई प्रहरीले खालबाटै पक्राउ गरेको छ । जुवा खेलाउने रिसोर्टका संचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो । जुवा खेलाउने रिसोर्टका सञ्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक दिलबहादुर सुवेदीका अनुसार पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको र अन्यमाथि भने अनुसन्धान सुरु गरिएकाे बताइएकाे छ ।

को हुन् बाबुरामको राजनीतिक सल्लाहकार बनेका डा. भाइराजा पाण्डे ?

काठमाडौं, माघ ७ । अन्तर्राष्ट्रिय कानून, द्वन्द्व व्यवस्थापन र राजनीतिमा लामो अनुभव बोकेका डा. भाइराजा पाण्डे डा. बाबुराम भट्टराईका राजनीतिक सल्लाकारमा नियुक्त भएका छन् । यसअघि विश्वका कतिपय द्वन्द्वग्रस्त देशहरुमा संयुक्त राष्ट्र संघको प्रतिनिधिका रुपमा कार्यकाल बिताएका भाइराजा धादिङ निवासी हुन । “बिदेशी आइडी लिएको नेपालीले देशको चिन्ता गर्नु जायज भए पनि कठोर टिप्पणी गर्ने अधिकार छैन” भन्ने मत राख्ने डा. पाण्डेलाई नयाँ शक्ति नेपालको बिहिबार बसेको बैठकले पार्टी संयोजक भट्टराईको राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको संगठन विभाग प्रमुख देबेन्द्र पौडेलले जानकारी दिए । कुनै समय डा.बाबुराम भट्टराईसँगै अस्कल पढेका पाण्डे काठमाडौंको रैथाने नेवार भाषाका राम्रो जानकार रहेको पौडेलले बताए । द्वन्द्वग्रस्त जनमानस र विशेषगरी शरणार्थीको राहतमा विशेषज्ञता हासिल गरेका पाण्डेले दिल्ली विश्वविद्यालयबाट कानुन पढेपछि काठमाडौंको नेपाल ल क्याम्पसमा अध्यापन गरेका थिए । अमेरिकाको प्रसिद्ध येल विश्वविद्यालयबाट ‘एलएलएम’ गरेलगत्तै उनी सन् १९८३ मा राष्ट्रसंघीय शरणार्थी नियोग युएनएचसीआरमा जागिरे भए । सुडान, सोमालिया, रुवान्डा, कम्बोडियो, रुसलगायत संसारका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा काम गरेर आफ्नो करिअरको अन्तिम ‘एसाइन्मेन्ट’ उनले बर्मामा पुरा गरे । युएनएचसीआरमा झ्ण्डै तीन दशक काम गर्दा विश्वका डरलाग्दा ‘हट स्पट’ मा खटिएका पाण्डे मुजाहिद्दीनले अफगानिस्तानमा सोभियत युनियन विरुद्ध लडाईं छेड्दा सन् १९८५ मा पेशावरमा थिए भने त्यसलगत्तै दुई वर्ष सोमालिया, एक वर्ष इरान अनि सिरिया र इजिप्टमा खटिए । पाण्डेले कङ्गो, लिविया, इजिप्ट, इथिओपिया र केन्यामा छरिएका ती शरणार्थीलाई गृहयुद्धको अन्त्यपछि घर फर्काउने कामको पनि अनुभव सँगालेका छन्

राजविराजमा शङ्कास्पद ग्रिनेड बम फेला

राजविराज, माघ ७ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । उक्त ठाउँमा बम फेला परेपछि त्यहाँको अवस्था तनावपूर्ण रहेको स्थानीयवासीले बताएका छन् । यसैबीच, बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। रासस

कलङ्की–कोटेश्वरका चार पुल निर्माण अन्तिम चरणमा

ललितपुर,माघ ७  । निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने चारवटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ । यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेलिङ राख्ने, फुटपाथ बनाउनेलगायतका काम मात्रै बाँकी छ ।’ कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारीमा मनोहरा खोलामा गरेर चार स्थानमा पुल निर्माणको काम भइरहेको छ । सडक जस्तै पुल पनि आठलेनको बनाउन लागिएको हो । मुख्य लेन चार र साइड लेन दुई÷दुई गरेर आठ लेनको बाटो पुलमा निर्माण भइरहेको छ । पहिले मोटर गुड्ने पुल भएका यी स्थानमा छेउ–छेउबाट थप गरेर आठ लेन गुड्ने बनाउन लागिएको दृष्टि बताउँछन् । उनले भने, ‘आठलेन गुड्ने भएपछि पुलमा पनि सडकमा जस्तै जाम हुने छैन ।’ चिनियाँ सहयोगमा निर्माणाधीन चक्रपथको कलङ्की–कोटेश्वर सडकको कुल लागत तीनसय १२ मिलियन युयान रहेको छ । १०.३९ किलोमिटर सडकमा ५ किलोमिटर सडक यो वर्ष र बाँकी ५.३९ किलोमिटर सडक अबको दुई वर्षभित्रमा सम्पन्न हुनेछ । रासस फाइल तस्वीर

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पुनरवलोकन गर्नुपर्छः देउवा

चितवन, माघ ७ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तह पुनःसंरचना आयोगले पेस गरेको प्रतिवेदनको पुनरवलोकन गर्नुपर्ने बताएका छन् । काँग्रेस क्षेत्र नं ५ चितवनले आज पश्चिम चितवनको जगतपुरमा आयोजना गरेको आमसभा एवम् प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले चितवनसहित विभिन्न जिल्लाबाट स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनमाथि विमति आइरहेकाले पुनरवलोकनका लागि काँग्रेसले संस्थागत निर्णय गर्ने जानकारी दिए । स्थानीय तह जनतालाई सहजताका लागि भएकाले उल्टो दुःख भयो भने जनतालाई मान्य नहुने बताउँदै उनले भने“दुई/तीन दिन लगाएर सेवा लिन जानुपर्ने कत्तिको जायज छ ।” मधेसी जनताको भावनालाई ध्यानमा राखेर संविधान संशोधनको प्रस्ताव पेस गरिएको बताउँदै उनले पहाडी र मधेसीको बीचमा दरार पैदा गर्ने तत्वलाई चिरेर यो समस्याको समाधान गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्री देउवाले भने, “झुटो कुरामा लागेर आन्दोलन गर्नुभन्दा संविधान संशोधन प्रस्ताव पास गराउन एमाले लाग्नुपर्छ । त्यसबाट नै देशमा स्थायी शान्ति हुन्छ ।” कार्यक्रममा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले कूटनीतिक विषयलाई आन्तरिक राजनीतिसँग जोडेर अन्तर्राष्ट्रिय जगत्मा नराम्रो सन्देश प्रवाह भइरहेको बताउँदै जायज विषय तर्कसँगत ढङ्गले राख्न सकेमा विदेशीलाई विश्वस्त पार्न सकिन्छ भने । काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले अर्काे साल माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्नका लागि आवश्यक पर्ने विधेयक संसदमा पेस गर्ने काम द्रुतगतिमा भइरहेको बताए । काँग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र गोविन्द भट्टराईले काँग्रेसमाथि छरिएका भ्रम चिर्दै असल राष्ट्रवादी काँग्रेस हो भन्ने कुरा जनमानसमा पुर्याउनुपर्ने बताए । सोही अवसरमा केन्द्रीय सदस्य गुरुराज घिमिरेले तराई र दशगजामा रहेका नेपालीले स्वामित्व खोज्नुलाई अनर्थ लिन नहुने बताए भने प्रदीप पौडेलले संविधान संशोधन नेपाली कांग्रेसको पनि सम्झौता भएको बताए । सो अवसरमा काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेपाल महिला सङ्घ, नेपाल तरुण दल र नेविसङ्घका अध्यक्ष उमा रेग्मी, जितजङ्ग बस्नेत, नैनसिंह महरलगायतले अब आउने निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर संविधान कार्यान्वयन सहज बनाउन अनुरोध गरे । तीनदिने प्रशिक्षणमा काँग्रेसका क्षेत्रीय समिति, नगर समिति, वडा समितिलगायतका पदाधिकारी तथा सदस्य गरी तीन सय जनाको सहभागिता रहने काँग्रेस क्षेत्र नं ५ का सभापति लालबहादुर दवाडीले बताउनुभयो । सहभागीलाई पुरुषोत्तम दाहाल, देवराज चालिसेलगायतले प्रशिक्षण दिनेछन् । रासस

संशोधन प्रस्ताव पास नभए पनि चुनाव हुने पूर्वगृहमन्त्री बस्नेतको दावी

जुम्ला, माघ ७ । नेकपा (माओवादी केन्द्र) ६ नं प्रदेशका इन्चार्ज तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नतेले संविधान संशोधन नभए पनि चुनाव हुने बताएका छन्। नेकपा (माओवादी केन्द्र) जुम्लाद्वारा आयोजित राजनीतिक वैचारिक प्रशिक्षण भेलालाई सम्बोधन गर्दै पूर्वगृहमन्त्री बस्नतेले चुनाव घोषणाको समय नजिकिँदै गएकाले जिल्लास्थित नेता कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए । मुलुकमा व्यवस्था बदलिए पनि मानव सोच र अवस्था सोचेअनुरुप नबद्लिएको भन्दै उनले माओवादी पार्टी युगको प्रमुख प्रतिनिधि बन्ने प्रयासका साथ अघि बढिरहेको बताए । कार्यक्रममा ६ नं प्रदेश कर्णालीका संयोजक मायाप्रसाद शर्माले मुलुकमा भौतिक विकासका साथै चेतनाको विकास अपरिहार्य रहेको औँल्याउँदै हरेक हार आफैँबाट जन्मने भन्दै जित पनि आफैबाट सुनिश्चित हुनुपर्ने संयोजक शर्माको भनाइ थियो । केन्द्रीय सदस्य नवराज न्यौपानेले जित सुनिश्चितताका लागि पार्टीको आन्तरिक सङ्गठन सुदृढीकरण हुन अपरिहार्य रहेको बताए । रासस

मापदण्ड लागू गर्ने सन्दर्भमा कुनै सम्झौता नगर्न मन्त्री पाण्डेको निर्देशन

काठमाडौँ,  माघ ६ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले दबाब र प्रभावमा परेर कुनै पनि निर्णय नगर्न उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरलाई निर्देशन दिएका छन् । भवन निर्माण मापदण्ड कडाइका साथ लागू गर्नेबारे मन्त्रालयले आज यहाँ आयोजना गरेको उपत्यकाका २२ वटै नगरपालिकाका कार्यकारी प्रमुख र इन्जिनियरसँगको छलफलमा उनले भवन निर्माण मापदण्डलाई वैज्ञानिक र व्यवस्थित गरिनुपर्ने बताउँदै मापदण्ड लागू गर्ने सन्दर्भमा कुनै सम्झौता नगर्न निर्देशन दिए । जनदबाब मात्र मुख्य विषयवस्तु भएको बताउँदै उनले भने– “नियममा लेखिएको, कानुनमा भएको विषयमात्र दबाब हो, राजनीतिक दबाब थेग्न सक्नुभएन भने देश बन्दैन ।” “नियम पालना गराउने सरकारी निकायले नै आफ्नो भवन नक्सापास नगरी बनाइरहेका त छैनन् ?”– प्रश्न गर्दै उनले भने– “हामी अरुलाई नियम पालना गर्नुपर्छ भन्ने तर आफैँ नियम पालना नगर्ने ? नगर क्षेत्रभित्र मापदण्ड पालना नगरी संरचना निर्माण गर्ने कार्यालयलाई आजै पत्र लेख्नुस् ।” मन्त्री पाण्डेले नगरपालिकाहरुले आफ्ना नगर क्षेत्रभित्रका सम्पूर्ण विषयको तथ्याङ्क चुस्तदुरुस्त राख्नुपर्ने बताए। कागजको संरचना र कार्यक्षेत्रमा निर्माण भएको संरचना फरक/फरक परेको पाइएको उल्लेख गर्दै उनले निरीक्षण, अनुगमन र अवलोकनलाई तीव्रता दिइनुपर्ने बताए। नगरपालिकाका प्रमुखले कार्ययोजना बनाएर आफ्नो नगर क्षेत्रको निरीक्षण भ्रमण गर्नुपर्ने उनको भनाइ थियो । प्रविधिको प्रयोग गरेर छिटोभन्दा छिटो जनताको काम सम्पन्न गर्न निर्देशन दिँदै उनले आफ्नो नगरपालिका क्षेत्रभित्र प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्ने बताए । नगरपालिकाका कार्यालयबाट जनताले सेवा पाउन झन्झट व्यहोर्दै आएको पाइएको भन्दै उनले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउन आफ्नो नगरपालिका कार्यालयमा ‘चुस्तता, पारदर्शीता र विनम्रता’ लाई लागू गर्न निर्देशन दिए । सार्वजनिक सम्पत्तिको संरक्षण र संवद्र्धनमा पनि ध्यान दिन उनले आग्रह गरे । मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले मापदण्डमा देखिएको असमझदारी कम गर्न नीतिगत निर्णय गर्नुपर्ने भएकाले पाँच दिनभित्र सबै नगरपालिकालाई सुझाव पेस गर्न आग्रह गरे । सो अवसरमा सहभागी कार्यकारी प्रमुख र इन्जिनियरहरुले भवन निर्माण मापदण्डमा एकरुपता भए कार्यान्वयन गर्न सहज हुने बताएका थिए । रासस

भूकम्प पीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता वितरण

सिन्धुली, माघ ६ । सिन्धुलीका ७३ जना भूकम्प पीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ता वितरण गरिएको छ । पहिलो किस्ता लिएर पहिलो चरणको निर्माण सम्पन्न गरेका भूकम्प पीडितलाई दोस्रो किस्ता दिइएको हो । दोस्रो किस्ताको कार्यविधि संशोधनमा ढिलाइ हुँदा ढिला गरी शीतलपाटी गाउँ विकास समितिका भूकम्प पीडितले दोस्रो किस्ता पाएको गाविसका सचिव कल्याण घिसिङले जानकारी दिए । जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी ताराबहादुर कार्कीले एक आवास निर्माणको पहिलो किस्ताको चरण पार गरेका ७३ घरलाई दोस्रो किस्ताबापतको रु एक लाख ५० हजारका दरले एकमुष्ट रु.एक करोड नौ लाख ५० हजारको चेक राष्ट्रिय वाणिज्य बैंक शाखा झागाझोली रातमाटालाई हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत सिन्धुलीको शीतलपाटी गाविसमा पुनःनिर्माणसहितको काम अगाडि बढाइएको छ । एक सय ४९ जनालाई डकर्मी तथा सिकर्मीको तालिम दिई लाभग्राहीको सूचीमा परेकालाई वितरण गरिएको छ । लाभग्राहीको सूचीमा समावेश भएका ८८० मध्ये ८५३ जना लाभग्राहीसँग अनुदान सम्झौता भएको र उनीहरुलाई भूकम्प प्रतिरोध घर निर्माण गर्न रेडक्रसले अगुवाइ गरेको छ । सिन्धुलीका दुई नगरपालिका र ५० गाविसमा अनुदान सम्झौता भए पनि दोस्रो किस्ताको रकम प्राप्त गर्न शीतलपाटीका लाभग्राही पहिलो भएका छन् । अन्य गाविस र नगरपालिकामा पुनःनिर्माण सन्तोषजनक नभएको बताइएको छ । तर सितलपाटी गाविसमा ‘हाल निजी आवास निर्माण १६४ जनाले गाविसमा सुरु गरेको र दोस्रो किस्ताका लागि ११६ जना योग्य भइसकेको रेडक्रस सिन्धुलीका सभापति अशोक श्रेष्ठले जानकारी दिए । उनका अनुसार ४८ जना लाभग्राहीले इन्जिनियरको प्रत्यक्ष निगरानीमा दोस्रो चरणको निर्माण कार्य सकिसकेकाले तेस्रो किस्ता दिनसमेत योग्य भइसकेका छन्। समुदायमा भूकम्पले क्षति पुर्याएको भौतिक संरचना निर्माणको साथमा खानेपानी तथा सरसफाइ, जीविकोपार्जन र स्वास्थ्य कार्यक्रम सञ्चालन गरिरहेको रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ । यता जिल्लाका राजनीतिक दलले भुइँतले १३ फिट अग्लोमात्र भएकाले बस्न लायक नहुने तर्क गरेका छन् । निर्माण धमाधम भइरहेका घरका भान्छा घरमात्र भएकाले त्यस्तो नभएर मानिसको सामान्य व्यवहार सञ्चालन गर्न मिल्ने गरी बनाउनुपर्ने दलहरुको भनाइ छ । माटोको घर एक तलाको १३ फिट उचाइको मात्र बनाउनुपर्ने मापदण्ड भएकाले सरकारको मापदण्डअनुसार नै निर्माण गरेको नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले जनाएको छ । कमलामाई नगरपालिकामा भूकम्प प्रतिरोधी आवास बनाउन तीन हजार ७१० लाभग्राहीले अनुदान सम्झौता गरेको भए पनि अहिलेसम्म ५० जनाले मात्र आवास निर्माणका लागि नगरपालिकासँग अनुमति लिएका छन् । सिन्धुलीमा २७ हजार ८०० लाभग्राहीसँग अनुदान सम्झौता भएपनि ७३ जनाले मात्र दोस्रो किस्ताबापतको रकम पाएको जिविस सिन्धुलीका डिजास्टर फोकल पर्सन बवीन्द्रलाल माझीले जानकारी दिए ।

नदीजन्य पदार्थ संकलन दैनिक चार लाख आम्दानी

महोत्तरी, माघ ६ । यहाँका महिला मरहा नदीबाट नदीजन्य सामग्री संकलन गर्न व्यस्त रहन्छन् । गौशाला नगरपालिका–७ स्थित मरहा नदीमा दिनहुँ बिहानदेखि साँझसम्म महिलाले सावल र बालुवा गिट्टी चाल्ने जाली लिएर नदीजन्य पदार्थ संकलन गर्ने गरेका छन् । गौशाला नगरपालिका–७ का ३५ वर्षीया कमलीदेवी साह दैनिक रु ‍चार सयभन्दा बढी आम्दानी गरेकी छिन् । कमली जस्तै गौशाला नगरपालिका–७ का ४० वर्षीया सुशीलादेवी महतोको अधिकांश समय नदीजन्य सामग्री संकलनमै वित्ने गरेको छ । उनी १३ वर्षको उमेरदेखि नै सो कार्यमा संलग्न रहँदै आएको हो । यहाँका अधिकांश महिलाले काम नपाउँदा साहुसँग ऋण गरेर खाने तर पछि खोलामा बालुवा चालेको आम्दानीबाट उक्त ऋण तिर्ने गरेका छन् । बालुवा छाने बापतको आम्दानीले यहाँका महिलाले घर खर्च चलाउँदै आएका छन् । बालुवा चाल्ने अधिकांश महिला गौशाला बजारमा घर भाडामा लिएर बस्दै आएका छन् । बालबालिका विद्यालय भर्ना भएपनि प्रायः बाआमासँगै अभिभावकका साथमा बालुवा चाल्न जाने गरेका छन् । गौशाला स्रोत केन्द्रका अनुसार सो क्षेत्रका ३५ वटा विद्यालयका करिब ६०० विद्यार्थी विद्यालय बाहिरै रहेका छन् । गौशाला वरपरका मुसहर, पासमान, साह, डोम समुदायका करिब १५० घरका महिला तथा बालबालिका नदीजन्य पदार्थ सङ्कलन गरेरै गुजारा चलाउँदै आएका छन् ।

एक करोडका ४४ वटा योजना सार्वजनिक

पोखरा, माघ ६ । कास्की जिल्लाबाट समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने सांसदद्वय तुलबहादुर गुरुङ र चूडामणि विश्वकर्मा जङ्गलीले सांसद क्षेत्र विकास कार्यक्रमअन्तर्गत आव २०७३/७४ का लागि विनियोजित रकम एवम् योजना एक कार्यक्रमका बीच सार्वजनिक गरेको छ । प्रेस चौतारी नेपाल कास्कीद्वारा बिहीबार यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटेर रु ५०/५० लाखका छुट्टाछुट्टै ४४ वटा विभिन्न योजना सार्वजनिक गरेको हो । नेकपा (एमाले) का तर्फबाट संसदमा प्रतिनिधित्व गर्ने सांसदद्वयले सार्वजनिक गरेका २२–२२ वटा योजनामा कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेटिएको छ । योजना सार्वजनिक गर्दै सांसद गुरुङले मुलुकमा स्थानीय तहको निर्वाचन गरी विकास निर्माणको काम सम्बन्धित निकायबाट गरिनुपर्ने बताए । अर्का सांसद विश्वकर्माले समाजका पछाडि परेको एवम् निर्देशिकामा व्यवस्था भएअनुरुप योजना छनोट तथा बजेट विनियोजन गरिएको बताए ।

सुजातालाई झापा–हङकङ मञ्चको सहयोग

दमक, माघ ६ । एप्लास्टिक एनेमिया रोगका कारण पीडित झापा पृथ्वीनगर गाविस–७ कि सुजता सुवेदीलाई करिब रु दुई लाख सहयोग प्राप्त भएको छ । काठमाडौँस्थित अल्का अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत सुवेदीलाई झापा–हङकङ सम्पर्क मञ्चले नगद रु.एक लाख ९२ हजार ३५ सहयोग गरेको हो । हङकङमा रहेका मञ्चका अध्यक्ष छत्र सुब्बाको पहलमा संकलन भएको सो सहयोग रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो । मञ्चले पठाइदिएको सहयोग रकम नारी एकता न्यायिक मञ्च दमककी सहसचिव लक्ष्मी सुब्बा, नेपाली कांग्रेस झापाका जिल्ला सदस्य विक्रम अधिकारी र नेपाल महिला सङ्घ झापा–७ नम्बर क्षेत्रीय सभापति रेगिना भट्टराईले संयुक्तरुपमा पीडित सुवेदीकी हजुरआमा कृष्णमाया सुवेदी र सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूलाई हस्तान्तरण गरेको थियो । सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूले स्वदेश तथा विदेशबाट सुजताको उपचारका लागि रु २५ लाख बढी सहयोग जुटेको बताए । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका २२ वर्षीया सुवेदी स्वास्थ सहायक अध्ययनरत हुनुहुन्थ्यो । उनलाई बचाउन स्थानीयवासीले अभियान सञ्चालन गरेर सहयोग संकलनमा जुटेको छ ।