दलित महिला कुट्नेलाई दुई लाख जरिवाना

कालीकोट, माघ १४ । जिल्ला सदरमुकाम मान्मामा दलित महिलालाई कुटपिट गर्ने एक महिलाले रु दुई लाख जरिवाना तिरेकी छिन् ।

थिर्पु– ९ निवासी जानकी वमले आर्थिक लेनदेनका क्रममा सोही गाविस–३ निवासी मालछिना लोहारलाई कुटपिट गर्दा गम्भीर घाइते भएकी लोहारको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटबाट मालछिना लोहारको ढाड र घाँटीमा गम्भीर चोट लागेको बताइएको छ । मालछिनाका पति करवीर लोहारले जिल्ला प्रशासन कार्यालयमा ज्यान मार्ने र छुवाछूतसम्बन्धी मुद्दा दायर गरेको १५ दिनपछि कार्यालयले उपचारखर्च तिराउनेगरी मिलापत्र गराएको थियो

प्रशासनले उपचार खर्चमात्र दिने नतोकेकामा दुबैपक्षका मध्यस्तकर्ताले रु दुई लाख उपचार खर्चस्वरुप पीडितलाई दिने सहमति भएको बताइएको छ ।

संविधान संशोधन नगरी निर्वाचन घोषणा गर्नुहुन्नः नेता राई

खोटाङ,  माघ १४ । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गर्न नहुने बताउनुभएको छ । स्थानीय तहको पुनःसंरचनाको विषयमा आदिवासी जनजाति, मधेसी लगायतको असहमति रहेको अवस्थामा निर्वाचनको मिति घोषणा गर्दा देश दुर्घटनामा फस्ने उहाँले दाबी गर्नुभयो । सङ्घीय समाजवादी फोरम खोटाङले बिहीबार साँझ दिक्तेलमा आयोजना गरेको पत्रकारसम्मेलनमा उहाँले निर्वाचनले नेपाली–नेपाली बीचको भिन्नतालाई बढाउने, असहमतिलाई बढाउने, द्वन्द्वलाई बढाउने अवस्था आउनु नहुने बताउनुभयो । “सबै समस्या समाधान गर्ने एउटै उपाय संविधानलाई सुझावसहित संशोधन गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चुनाव गरिहाल्नुपर्छ, संशोधनसम्बन्धी प्रक्रिया अघि बढ्दै गर्छ भन्नेमा सरकार लागेको छ भने, त्यो सरकारको कदम गलत हुनेछ । चुनाव विरोधी हामी होइनौँ । तर चुनाव सबैको सहभागिताका आधारमा गराउनुपर्छ ।” दिक्तेलस्थित पार्टी कार्यालयमा गरिएको पत्रकारसम्मेलननमा उहाँले पहिले संविधानलाई सुधारसहित पारित गरौँ, अनि त्यसपछि चुनावको मिति घोषणा गरौँ भनेर हामीले सरकारलाई सुझाव दिइरहेको पनि जानकारी गराउनुभयो । “जुन दिन संविधान संशोधन हुन्छ, उही दिन चुनावको मिति घोषणा गर्दा हुन्छ,” उहाँले भन्नुभयो । पत्रकारसम्मेलनमा उपाध्यक्ष रेणु यादवले संविधान संशोधनमा ठूला पार्टीका नेता गम्भीर नरहेको आरोप लगाउतुभयो । “देशलाई कता लैजाने भन्नेमा ठूला दलका नेता स्पष्ट देखिन्नन्”, उहाँले भन्नुभयो, “देशलाई दुर्घटना हुन नदिन सङ्घीय समाजवादी फोरमले सदन र सडकबाट खबरदारी गरिरहेको छ ।”

देश टुक्रयाउन खोज्ने बिरुद्ध सरकारले कडा कदम चाल्नेः प्रधानमन्त्री

पर्वत, माघ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टुक्रयाउने विखण्डनकारी बिरुद्ध सरकारले कडा कदम चाल्ने बताएका छन् । पर्वतको कुष्मामा आयोजित पाँचौ पवर्त महोत्वसको उदघाटन गर्दै प्रचण्डले देश टुक्राउन सिके राउतजस्ता व्यक्ति सक्रिय भएकोतर्फ इंगित गर्दै प्रचण्डले देश टुक्राउने विखण्डनकारीलाई कारवाही गर्ने बताए यद्दपी प्रचण्डले कसैको नाम भने उल्लेख गरेनन । ” देश विखण्डन गर्न खोज्ने कसैलाई पनि सरकारले त्यस्ता गतिविधि गर्न दिदैँन, नेपालमा रहेका नेपाली जनतालाई विभेद गराउने, अधिकारबाट बञ्चित गराउन खोज्नेलाई सरकारले कार्वाही गर्छ” उनले भने । उनले तराईमा केही तत्व देश विखण्डन गर्न लागेको विषयमा सरकारले कडा कार्वाही गर्ने बताए । तराई विगठन गर्ने तत्व देखिएका छन् । त्यसलाई कठोर ढंगले नियन्त्रण गर्न तयारी भएको छ । कसैले भड़काऊँदैमा नेपाली बीचको एकता भत्काउन सक्दैन । नेपालका सबै जनता नेपाली हुन्,’ उनले भने । चुनाव नभए देश दुर्घटनामा उनले माघ ७ गतेसम्म तीन तहको निर्वाचन हुन नसके राजनीतिक संकट उत्पन्न हुने बताएका छन् । सोही कारण पनि माघ ७ गते नै स्थानीय, प्रदेश र केन्द्रको चुनाव गर्नुपर्ने बताए । प्रधानमन्त्रीले देश चुनावी माहोलमा होमिएको बताए । मूख्य तीनदलबीचमा चुनावमा जाने सहमति भइसकेको छ, अब छिट्टै चुनावको घोषणा हुन्छ । प्रधानमन्त्रीले बताए । प्रचण्ड माघ ७ सम्म तीन तहको निर्वाचन हुन नसके राजनीतिक संकट निम्तिने खतरा रहेको बताए । संविधानको स्वीकार्यतामा सहमत गरेर चुनावमा जान निरन्तर पहल भइरहेको भन्दै उनले संसदमा टेबल भएको संशोधन विधेयक पारित नभई चुनावको घोषणा गर्न नहूने निर्वाचन आयोगको सुझाव अनुसार यसै हप्ता स्थानीय निकायको मिति बैसाख मा गर्ने गरी घोषणा गर्न लागी परेको जानकारी दिए । मिति घोषणा गरेपछि निर्वाचन पर्ने हुन्छ । तर निर्वाचन हुन थारु मधेशी तराई सबैलाई विश्वासमा लिनु जरुरी छ,’ प्रधानमन्त्रीले भने । सबैलाई विश्वासमा लिएर गारिने निर्वाचनले मात्रै राष्ट्रीयता बलियो हुन्छ । नेपाल विखण्डन गर्ने तत्वहरूलाई कडा रूपमा नियन्त्रण गरिने, नेपालीहरूको एकता  संविधानको कार्यान्वयनबाट नै राष्ट्रियता बलियो हुने उनको भनाइ थियो । प्रधानमन्त्री ‘प्रचण्ड’ले कोरला नाका खोल्न सरकारले चिनसँग विशेष कुराकानी गर्न लागेको बताएका छन् । सशस्त्र प्रहरीले उपयोग गरेको चौर खेल मैदानका लागि विकास गर्न पहल गरिने प्रधानमन्त्रीले बताए । पर्वतको सडक कालोपत्रे गर्न भोली (शुक्रबार) क्याविनेट बैठकमा कुरा गर्ने बताए । कोरला नाका खुले पर्वत व्यापार हब को रूप मा विकाश हुने प्रधानमन्त्रीले बताए । प्रशोधन केन्द्रको विकासका लागी सरकारले जस्तो सुकै सहयोग गर्ने प्रतिवद्धता जनाए । समाजवादको यात्रा पर्वतबाट प्रधानमन्त्रीले समाजवादको यात्रा पर्वतबाट सुरु हुने बताए । आर्थिक समृद्धिबाट समाजवादतर्फ जाने बाटो विकास निर्माण हो । पर्वत जिल्ला यसको लागि सम्भावना बोकेको छ । तपाईहरू गतिशील हुनुस् हामी राज्यका तर्फबाट सहयोग गर्छौ, उनले भने । उद्योग वाणिज्य संघले सबै राजनीतिक दल सहित तैयार पारेको ४ बूँदे ज्ञापन बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले काली गण्डकी करिडोर निर्माण अघि बढेको जानकारी दिए । करिडोर निर्माण अघि बढेसँगै यसले पर्वत बिध्युत हब बन्ने भन्दै प्रधानमन्त्रीले बिध्युतको विकाशले हजारौं युवा रोजगारी पाउने र खाडीमा गएर पसिना बगाउने प्रवृत्तिको अन्त्य हुने विश्वास लिए । यसका लागि पर्वत उच्च सम्भावना बोकेको जिल्ला भएकाले सरकारले यस जिल्लालाई विशेषा रुपमा सहयोग गर्ने उनले बताए । कोरला नाका खुले पर्वत व्यापारिक हब हुने ‍उनले बताए । प्रधानमन्त्रीले कोरला नाका खोल्नका लागि सरकारले  चीनसँग विशेष कुराकानी गरिरहेका जानकारी दिए । उनले भने- सरकारले हामीले चीनसँग महत्वपूर्ण सीमा नाका खोल्नको लागि कुरा गरेका छौं । तस्वीर: प्रदीपराज वन्त

विश्वको ठूलो भैरवको मखुन्डो बन्दै

काठमाडौँ, माघ १३ । अग्रज परम्परागत मूर्तिकार राजकुमार शाक्य विश्वकै सबैभन्दा ठूलो भैरवको मखुन्डो बनाउन लाग्नुभएको छ । नेपाल ललितकला पत्रकार समाजले हरेक महिनाको दोस्रो बुधबार गर्दै आएको ‘कलाका कुरा’ को १५ औँ श्रृंखलामा शाक्यले धातुको पातामा भैरवको मूर्ति कुँदिने बताउनुभयो । “त्यसले नेपाललाई विश्वमै चिनाउन मद्दत गर्ने छ” उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली कलाको इतिहास दुई हजार वर्ष लामो रहेको र त्यसले हामीलाई आफ्नो पहिचान दिन सकेको बताउँदै उहाँले भन्नुभयो – “नेपाली मूर्तिकलाको मौलिकताले हामीलाई समृद्ध र वैभवशाली बनाएको छ । हाम्रा पुर्खाको सीप र क्षमताले हामीलाई विश्वमै परिचित गराउन सकेको छ ।” उहाँले नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासबाट यसले प्राचीनकालदेखि नै आर्थिक विकासमा योगदान दिएको बताउनुभयो । परम्परागत रुपमा पारिवारिक पृष्ठभूमिबाटै यस क्षेत्रमा लाग्ने अवस्था अहिले अन्त्य भएको छ । अचेल अन्य समुदायबाट पनि परम्परागत कलाका क्षेत्रमा लाग्नेहरुको सङ्ख्या बढ्दै गएको छ । यसले सबैमा यसको पहुँच पु¥याउन सहयोग गरेको र आर्थिक विकासमा समेत मद्दत पु¥याएको छ । राज्यले थोरै मात्र चासो राखेमा नेपाली कलाले विश्वमा आफ्नो प्रभुत्व जमाउनेमा उहाँ विश्वस्त हुनुहुन्छ । “अहिले पनि कलाकारलाई अर्डर बमोजिम काम गर्न भ्याइनभ्याई छ । राज्यले यो कलालाई पनि उच्च शिक्षाको घेरामा ल्याएमा नयाँ पुस्ताको आकर्षण र रोजगारी अझै बढ्छ”, शाक्यले भन्नुभयोे।  “नेपाली परम्परागत कलाको सीप र कालिगढी क्षमता विश्वमै विशिष्ट रहेको छ । नेपाली कलाकारको माग लिच्छविकालदेखि नै अन्तर्राष्ट्रिय रुपमै रहेको थियो, जुन आजसम्म कायम छ”, शाक्यले भन्नुभयो। नेपाली कला परम्परामा धातुको पातामा सिधै मूर्ति बनाउने मूर्तिकारको छवि बनाउनुभएका शाक्यले भुटानमा एक सय २५ फिट अग्लो मूर्ति निर्माण गर्नुभएको छ । उहाँले नेपालका विभिन्न गुम्बा, स्तूप र मन्दिरमा आफ्नो कलाकृति बनाइसक्नुभएको छ भने भारतलगायत विश्वका विभिन्न स्थानमा आफ्ना सिर्जना पु¥याइसक्नुभएको छ । समाजमा धार्मिक र आर्थिक उपार्जन गर्नमा कलाको भूमिका अहम् रहनेमा उहाँले जोड दिनुभयो । कलाकारले बनाउने कलाले समाजका मानिसमा सकारात्मक प्रभाव पार्नेसमेत उहाँले बताउनुभयो । नेपाली परम्परागत कलाको विकासका साथै यसमा कलाकारको क्षमता अभिवृद्धिका विविध कार्यक्रम गर्ने उद्देश्यसहित स्थापित सुमेरु कलाग्रामका अध्यक्ष शाक्यले नेपालका साथै विश्वका विभिन्न स्थानमा आफ्ना कलाकृति प्रदर्शनी गरिसक्नुभएको छ । “संस्थागत रुपमा कला नबुझेका तर बुझ्न चाहनेलाई बुझाउने, कालीगढलाई कलाकार बन्न प्रेरित गर्ने र कलाकारलाई न्यायोचित स्थान दिनका लागि सुमेरुले काम गरिरहेको छ”– उहाँले भन्नुभयो । लिच्छविकाल, मल्लकालमै प्रगतिको चरममा पुगिसकेको नेपाली मूर्तिकलालाई पुनःजागृत गर्दै नेपाली कला विश्व सामु चिनाउने लक्ष्यका साथ नेपाली कलाकारले काम गरेको शाक्यले बताउनुभयो । नेपाली परम्परागत कला एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै आएको र त्यसले नेपाली मौलिक कलालाई बचाउन सकिएको बताउँदै शाक्यले भन्नुभयो – “बाबु बाजेबाट सिक्दै यहाँसम्म नेपाली कला आएको यसलाई अझ प्रभावकारी रुपमा विकास गर्दै समृद्ध नेपाल निर्माणमा लाग्नुपर्ने अवस्था आएको छ ।” कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गर्नुभएको थियो भने पत्रकार, कलाकार र कला अनुरागीले शाक्यसँग नेपाली परम्परागत कलाका बारेमा जिज्ञासा राख्नुभएको थियो ।

चितवनमा माओवादी केन्द्रले सुरू गर्यो चुनावी अभियान

चितवन, माघ १३ । नेकपा माओवादी केन्द्र चितवनले जिल्ला जनलहर अभियान सुरु गर्ने भएको छ । जनताका अकांक्षा र भावना बुझ्ने देखि संगठन विस्तारका काम समेत जनलहर अभियानमा थालिने माओवादी केन्द्र चितवनका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । मुलुक संघिय संरचनामा अगाडी बढिरहेको अवस्थामा जनता घर घरमा पुगी माओवादी केन्द्र जनलहर अभियान सुरु गरेको हो उनले भने । अब हामी शिर्ष नेतासहित जनताका कुरा सुनी नयाँ रणनिति तर्फ अगाडी बढ्ने छौ । संघीय संरचना अनुसार जिल्लाको सात क्षेत्रमा जिम्मेवारी बाँडफोड समेत गरिएको छ । जस अनुसार भरतपुर महानगरमा जिल्ला अध्यक्ष यमबहादुर परियार (ईन्द्रजीत) रत्ननगर नगरपालिकामा जिल्ला सह ईन्चार्ज कञ्चन खनाल, खैरहनी नगरपालिकामा जगन्नाथ आचार्य राप्ती नगरपालिकामा सिंहबहादुर गोले, कालिका नगरपालिकामा रामध्वज डल्लाकोटी (विवेक), माडी नगरपालिकामा प्रभु महत्तो र ईच्छाकामना गाउँपालिकानमा प्रताप गुरुंगलाई ईन्चार्जको जिम्मेवारी तोकेको छ । यस्तै जिल्ला सह ईन्चार्ज ज्ञानु बस्नेतलाई जनवर्गीय संगठन ईन्चार्ज, मिडिया फ्याक्सन ईन्चार्जमा संगिता भट्टराई, ईच्छाकामना र महानगर केन्द्रबाट हेर्ने जिल्ला ईन्चार्ज घनश्याम दाहाललाई, जिल्ला सह ईन्चार्ज ठाकुर ढकाल सबै विभागिय काम र माडी हेर्ने जिम्मा, विद्यार्थीको फ्याक्सन ईन्चार्ज प्रकाश खनाल शैलेस र वाईसिएललाई स्वयम् जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई हेर्ने निर्णय भएको माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य सुर्य सुवेदी (पथिक)ले जानकारी दिए । केन्द्र यस्तै एक महिने अभियान नगर एकता सकिएपछि गर्ने भएको जिल्ला ईन्चार्ज भट्टराईले बताए । जिम्मेवारी वाडफाडमा अखिल नेपाल क्रान्तिकारी किसान महासंघका केन्द्रय अध्यक्ष चित्रबहादुर श्रेष्ठ लगायतको सहभागिता थियो ।

७६ वर्षमा १२ कक्षा उत्तीर्ण, स्नातक पनि पढ्ने

सोलुखुम्बु, माघ १३ । विसं २०६६ मा ६९ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेर चर्चा कमाएका पावै–६ सोलुखुम्बुका काजीबहादुर गिरीले ७६ वर्षको उमेरमा यस वर्ष कक्षा १२ उत्तीर्ण गरेका छन् । गाउँमा योजनाको उपभोक्ता समितिमा बस्दा समस्या भएपछि ‘पढाइ महत्वपूर्ण रहेछ जसरी पनि पढ्छु’ भन्दै २०६३ सालमा वीरेन्द्रज्योति उच्चमावि सोताङमा कक्षा ८ मा भर्ना हुनुभएका गिरीले त्यसपछि नियमित विद्यालय गएर २०६६ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । सुरुका दिनमा नातिनातिना उमेरका विद्यार्थीसँग पढ्दा असहज भएको भए पनि पछिल्ला दिनमा सहज भएको गिरीले बताए । एसएलसी उत्तीर्ण भएपछि उच्च शिक्षा हासिल गर्ने अभिलाषाका साथ कक्षा ११ मा भर्ना भएका गिरीले यस वर्ष उच्चमाध्यमिक तह उत्तीर्ण गरेको बताउनुभयो । वृद्धभत्ताको रकम खर्च गरेर उच्च शिक्षा पढेको बताउने गिरी सोताङ बहुमुखी क्याम्पसमा स्नातक तह अध्ययन गर्ने तयारीमा छन् । आफू पढ्न थालेपछि गाउँका थुप्रै बुहारीले पनि पढ्न उमेरले छेक्दैन भनेर कक्षा ११ मा भर्ना भएको उनी बताउँछन् । कक्षा ८ देखि १२ सम्म अध्ययन गर्दा गिरी कुनै दिनपनि गयल भएनन् ।

शिक्षकको यातनाले विद्यार्थी अस्पताल भर्ना

पाल्पा,माघ १३ । भैरवस्थान गाविसको भैरव जनता माविका शिक्षकबाट यातना पाएका एक विद्यार्थीले चार दिन युनाइटेड मिसन अस्पतालमा भर्ना हुनु पर्यो । मावि तहका शिक्षक चिरञ्जीवी बास्तोलाले बिदामा दिएको गृहकार्य नगरेको भनेर कक्षा ६ मा अध्ययनरत बाह्र वर्षीया दलित छात्रा सुस्मिता रुचाललाई सजायस्वरुप कुखुरा बनाउँदा उनी बेहोस बन्न पुगेकी थिइन् । विद्यालय हाजिर नभएको बेलाको गृहकार्य नगरेको बताए पनि आफूलाई एक घन्टासम्म कुखुरा बनाएको पीडित विद्यार्थीको भनाइ छ । रुचालले अस्पतालको श्ययाबाट भनिन्, “कुखुरा बनेर बेन्चमा बस्न थाल्दा रिङ्गटा लागेर बेहोस भएँ ।” रुचालसँगै पेसा व्यवसाय पढाउने शिक्षकले अर्का विद्यार्थी मनिषा थापालाई समेत एक घन्टा कुखुरा बनाएर यातना दिएका थिए । उनको उपचार पाल्पामा सम्भव नभएकाले काठमाडौँ लैजानुपर्ने सुझाव अस्पतालले दिएको आफन्तले बताएका छन् । रुचालका काका सुमित रुचालका अनुसार शिक्षकले कुखुरा बनाएपछि मात्र पहिलोपटक बेहोस बनेको र त्योभन्दा अघि कुनै पनि समस्या देखिएको थिएन । रुचाल घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै पनि उजुरी परेको छैन । आफन्तलाई उजुरी नदिन विद्यालय प्रशासनबाट दबाब आएको पीडित पक्षको भनाइ छ । अखिल क्रान्तिकारीका नेता विशाल ओलीका अनुसार विद्यार्थी अस्पतालमा उपचाररत हुँदा शिक्षकले राजनीति गरेर दोषीलाई संरक्षण गरेको आरोप लगमए । जिशिका पाल्पाले बिहीबार विद्यार्थी सङ्गठनका प्रमुख, विद्यालयका प्रअ र शिक्षकसहित जिल्ला शिक्षा कार्यालयमा बैठक बसेर दोषीमाथि कारबाही गर्ने जानकारी दिएको छ । जिशिका शाखा अधिकृत रेशम न्यौपानेले घटनाको छानबिन गरी दोषीलाई कारबाही हुने बताए । विद्यालयका प्रअ नारायण कुँवरलाई मोबाइलमा सम्पर्क गरी घटनाका बारेमा जानकारी लिन खोज्दा उनले प्रतिक्रिया दिन चाहनुभएन । गत वर्ष पनि दुई दलित विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेको घटना सार्वजनिक भएको थियो । रासस

कसरी मापन गरिन्छ त हिमालय पर्वतहरुको उचाईं ?

काठमाडौं, भारत सरकारले हिमालयको उचाई नाप्नका लागि टीम गठन गरेको समाचारले अहिले चर्चा पाएको छ । नेपालको सगरमाथाको उचाई भारतीय पक्षले नाप्ने विषयमा दुबै देशबीच कुनै सम्झौता भने भएको छैन । यो समाचारले हिमालयहरुको उचाई कसरी नापिन्छ त भन्ने जिज्ञासा समेत जन्माएको छ । संसारको सबैभन्दा अग्लो मानिने एभरेष्टको उचाई ८ हजार ८ सय ४८ मीटर रहेको छ । गत वर्षको भूकम्पले भूगर्भभित्र भएको परिवर्तनका कारण सगरमाथाको उचाईमा समेत केही फरक परेको भए त्यसको मापन गर्ने भारतीय टिमले जनाएको छ। कसरी नापिन्छ त हिमालयको उचाई ? विविसीमा प्रकाशित आलेख अनुसार, संसारमा कैयन् यस्ता पर्वतहरु अझै पनि नाप्न बाँकी रहेका छन् । पुरानो पद्दतीले मापन गरिएका यी पर्वत र हिमालयहरुको उचाई नयाँ जिपिएस पद्दतीले मापन गर्दा फरक तथ्य देखिएको आलेखमा उल्लेख छ । हालैमात्र ब्रिटेनको सबैभन्दा अग्लो पर्वत बेन नेभिसलाई नयाँ ढंगले नापिदा यसको उचाई ५२७ मीटर बढी पाइएको थियो । सन् १९४९मा यो पर्वतको उचाई १३४४ मिटर रहेको सार्वजनिक भएको थियो । यो पर्वतलाई ब्रिटिश सर्भेयर मार्क ग्रीव्सले कैयन् सेटेलाइट र जिपिएस सिष्टमका आधारमा नापेका थिए । बेन नेभिस पर्वतमा एउटा जिपिएस ट्रयाकर राखिएको थियो । यो ट्रयाकरको सोझो सम्बन्ध अन्तरिक्षमा चक्कर काटिरहेको नेभिगेसन सेटेलाइटसँग थियो । यो सेटेलाइटले अलग अलग कोणबाट यो पर्वतको उचाईँ मापन गरेको थियो । करीब दुई घण्टाको यो प्रयासमा १२ सेटेलाइटको प्रयोग गरिएको थियो । यो अवधिमा करिब ४लाख बाइट्सको डाटा पृथ्वीमा रहेका स्याटेलाइट कन्ट्रोल सिष्टममा पठाइएको थियो । बीस हजार किलोमीटरको दूरीबाट सिग्नल पठाउने स्याटेलाइटहरुले आकाशबाट बेन नेभिस पहाडलाई हरेक कोणबाट नापिरहेका थिए । यसरी प्राप्त भएका सिग्नलहरुबाट एउटा थ्रि डी मोडेल बनाइएको थियो । त्यति सजिलो छैन उचाई नाप्न तर यो जिपिएसले मापन गर्ने कुरा पनि त्यति सजिलो भने छैन । कतिपय अवस्थामा पहाडको चुचुरोमा पुग्न पर्ने कठिनाई, स्याटेलाइट र पहाडमा राखिने कन्ट्रोलबीच सम्पर्कमा देखिने समस्या आदिले पनि प्रभाव पार्छ । गत वर्ष बर्मामाको काकुबोराजी पर्वतलाई नाप्न धेरै समस्या देखा पर्यो । पर्वतमा आरोहण गरिरहेकाहरु मिशन टोलीका सदस्यहरु नसकेर फर्किए । पुरानो र नयाँ तरिकाले नाप्दा फरक आउने विविसीले जनाएको छ । इशियाको उलुघ मुटैग पर्वतको उचाईं ७७२३ मीटर मानिन्थ्यो, तर हालै मात्र अमेरिका र चीनको साझा मिशनले यसको उचाई ६९७३ मीटर भएको पत्ता लगायो । कैयन यस्ता अन्य पहाड छन् जस्तो कि तिब्बतमा पर्ने लाबुचे काङ थ्री । यसमा अहिलेसम्म कोही चढेको छैन् । दस्तावेजमा यसको उचाईं ७२०० मीटर रहेको बताइन्छ । एभरेष्टको उचाईंका बारेमा समेत नेपाल र चीनबीच विवाद कायमै छ । नेपालले ६२ वर्ष अघि गरेको सर्भेका आधारमा यसमा जमेको हिउँलाई समेत जोडेर ८८४८ मीटर उचाई मानेको छ भने चीनले चार मीटर घटाउने पर्ने तर्क दिँदै आएको छ । यो पृष्ठभूमिमा भारतीय टीमले सगरमाथाको उचाईँ नाप्न खोजेको कुराले चर्चा पाएको हो । सगरमाथाको उचाई मुख्यतः नेपाल र चीनसँग जोडिएको भएपनि भारतको चासो किन त? भन्ने प्रश्न पनि यसमा जोडिएको छ । भारतले भने दुई महिना लगाएर यसको उचाई नाप्ने तयारी गरिसकेको छ । भलै नेपाल र भारतबीच यसबारेमा कुनै सहमति नै भएको छैन । भारतले अनुमति लिएको छैन–नेपाल भारतको केन्द्रीय नक्शांकन एजेन्सी सर्भे अफ इण्डियाले नेपाल सरकारसँग मिलेर सगरमाथाको उचाई नाप्ने बताएपनि नेपालले भने यस विषयमा भारतसँग कुनै कुरा नभएको स्पष्ट पारेको छ । सर्भे विभागका उप प्रमुख गणेश भट्टले विविसीलाई बताए अनुसार भारतसँग सगरमाथाको उचाई नाप्न कुनै सम्झौता भएको छैन । नेपाल आफैले सगरमाथाको उचाई नाप्ने योजना बनाइरहेको छ । एजेन्सीहरुमा प्रकाशित आलेखको आधारमा

आर्थिक अभावका कारण बालबालिकालाई सहयोग

नेपालगन्ज, माघ १२ । पारिवारिक समस्याले विचल्लीमा परेका विद्यालय अध्ययनरत चार बालबालिकालाई बागेश्वरी असल शासन क्लबले शैक्षिक तथा आर्थिक सहयोग उपलब्ध गराएको छ । क्लबले बाँके जिल्ला टिटिहिरिया गाविसस्थित श्री माध्यमिक विद्यालयको कक्षा ३ र ४ मा अध्ययनरत नवराज थारु र कृष्ण थारुलाई विद्यालय ब्याग, रु पाँच हजार बराबरको स्टेशनरी तथा नगद रु तीन हजार उपलब्ध गराएको छ । त्यसैगरी, नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा मागेर जीविकोपार्जन गर्ने रामशिला विकका छोरा राजकुमार विक र बिनिता विकको अध्ययनका लागि नगद रु ६ हजार उपलब्ध गराएको छ । सो सहयोग क्लबका कार्यकारी निर्देशक नमस्कार शाह र कार्यक्रम संयोजक विनाद शर्माले प्रदान गर्नुभएको हो ।

राप्रपाका अध्यक्ष थापा वडास्तरको सदस्यमा निर्विरोध

हेटौँडा, माघ १२  । राप्रपाका अध्यक्ष कमल थापा हेटौँडा उपनगरपालिका–६ मा पार्टी वडास्तरको सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् । आगामी फागुन दोस्रो साता हुने पार्टीको राष्ट्रिय महाधिवेशनमा आफू अध्यक्ष पदको उम्मेदवार हुने र पार्टीका सम्पूर्ण मतदाता साथीहरुको आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय पार्षद्का लागि पार्टीको तल्लो तह वडाको सदस्यमा निर्वाचित भएपछि मात्र पार्टीको अध्यक्ष र केन्द्रीय सदस्यहरुका लागि निर्वाचित हुनुपर्ने प्रावधान रहेको पार्टीका सहप्रवक्ता राजाराम बर्र्ताैलाले  जानकारी दिए । रासस

नेकपा एमालेद्वारा ५५ जनालाई सम्मान

इलाम, माघ १२ । नेकपा एमाले इलामले एकतप्पा गाविसका ५५ जना वृद्धवृद्धा तथा एकल महिलालाई सम्मान गरेको छ । नेकपा एमालेले सञ्चालन गरेको संविधान कार्यान्वयनसम्वन्धी चारमहिने अभियानअन्तर्गत मङ्गलबार गाविसको कार्यालयमा आयोजित कार्यक्रममा ५५ जनालाई सम्मान गरेको हो । नेकपा एमाले इलामका अध्यक्ष राम राना, पार्टी सचिव महेश बस्नेतले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो । सो अवसरमा अध्यक्ष रानाले आफ्नो पार्टी सरकारमा भएका समयमा वृद्धवृद्धा, एकल महिला, अपाङ्गता भएका व्यक्तिलाई भत्ता दिन सुरुवात गरेको र बर्सेनि भत्ता वृद्धि गर्दै लगेको बताउनुभयो । बालबालिकालाई ज्याकेट वितरण यसैबीच, सामाजिक क्षेत्रमा अग्रसर बन्दै आएको इलाम सोसियल इनिसिएटिभ (क्लोथ बैंक)ले देउमाई नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न परिवारका बालबालिकालाई कोरियन ज्याकेट वितरण गरेको छ । क्लोथ बैंकले जाडोको समयमा विद्यालय जान समस्या भोगिरहेका विपन्न बालबालिकालाई मङ्गलबार ज्याकेट वितरण गरेको हो । देउमाई नगरपालिकाको मङ्गलबारेमा आयोजना गरेको ज्याकेट वितरणमा उक्त नगर क्षेत्रका नौवटा विद्यालयका करिब ९० जना बालबालिकालाई ज्याकेट वितरण गरेको संस्थाका सचिव विभूषण राईले जानकारी दिनुभयो । स्थानीय नगर बाल संरक्षण तथा संवद्र्धन उपसमितिको संयोजनमा गरिएको ज्याकेट वितरणमा लक्ष्मी, जनकल्याण, नागेश्वरी, सुर्के आधारभूत विद्यालय, भगवती माविलगायत नौवटा विद्यालयका विद्यार्थी रहेका छन् ।

महावाणिज्य दूतावासले एम्बुलेन्स र स्कुल बस दिने

पर्सा, माघ १२। नेपालका लागि वीरगन्जमा रहेको भारतीय महावाणिज्य दूतावासले विभिन्न नेपाली स्वास्थ्य तथा शैक्षिक संस्थालाई दुईवटा एम्बुलेन्स र दुईवटा स्कुल बस निःशुल्क सहयोग दिने घोषणा गरेको छ । भारतको ६८औँ गणतन्त्र दिवसका अवसरमा यही माघ १३ गते वीरगन्जमा आयोजना हुने एक कार्यक्रमबीच एम्बुलेन्स र स्कुल बस वितरण गर्ने महावाणिज्य दूतावासले घोषणा गरेको हो । महावाणिज्य दूतावासले मङ्गलबार वीरगन्जमा आयोजना गरेको पत्रकारसम्मेलनलाई सम्बोधन गर्दै महावाणिज्यदूत वैष्णोचरण प्रधान (बिसी प्रधान) ले २६ जनवरीका अवसरमा आयोजना हुने कार्यक्रममा एम्बुलेन्स र स्कुल बसको कागजात तथा साँचो वितरण गर्ने जानकारी दिए । उनले प्रत्येक वर्षझैँ यस वर्ष पनि जानकी मेडिकल कलेज, जनकपुर र नेपाल रेडक्रस सोसाइटी, पथरैया, सर्लाहीलाई एक–एक थान एम्बुलेन्स हस्तान्तरण गरिने बताए । त्यस्तै, श्री झमकेश्वरी सेकेन्डरी स्कुल, पालुङ, मकवानपुर र जनकपुर नर्सिङ क्याम्पस, धनुषालाई स्कुल बस वितरण गर्ने निर्णय गरेको महावाणिज्यदूत प्रधानले जानकारी दिए । महावाणिज्यदूत प्रधानले नेपालको उद्योग व्यवसायलाई फस्टाउनमा मद्दत गर्न भारत सधैँ प्रयासरत रहेको बताए । उनले नेपाल सरकारको पहलमा भारत सरकारले बारा–पर्सा औद्योगिक कोरिडोरलाई विद्युत्भार कटौतीमुक्त गर्न रक्सौल–परवानीपुर ५० मेगावाट प्रसारणलाईन तयार पारिरहेकोे जानकारी दिए। रक्सौलबाट आयात गरिएको ५० मेगावाट विद्युत्ले बारा–पर्सा औद्योगिक कोरिडोर विद्युत्भार कटौतीमुक्त भएपछि यस भेगको उद्योग व्यापार फस्टाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । पत्रकारसम्म्मेलनमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै प्रधानले नेपालमा लगानी भित्र्याउन वाणिज्य दूतावासले भारतीय उद्योगपतिमाझ पहल गरेको र यसको सकारात्मक प्रभाव चाँडै देखिने दाबी गरे । उनले तराईको विकास र तराईवासीको जीवनस्तरलाई उकास्न भारत सरकारले स्वास्थ्य, शिक्षा, सडक तथा पूर्वाधार विकासमा आर्थिक सहयोग गर्दै आएको बताउनुभयो । रासस

सबै राजनीतिक दल एकजुट हुन आवश्यकः अध्यक्ष थापा

हेटौँडा,माघ १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक विवादमा धेरै समय बर्बाद भएकाले अब सबै राजनीतिक दलले एक जुट भई आर्थिक विकासमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् । । मकवानपुरको आमभञ्जाङ–३ सामरी खोलामा निर्माण हुने पुलको शिलान्यास गर्दै उनले नेपालले जलस्रोतको भरपुर उपयोग गर्न सके देशले पूर्वाधारको क्षेत्रमा विकासको फड्र्को मार्न सक्ने बताए । राजनीतिक स्थिरताका लागि संविधान कार्यान्वयन गर्न स्थानीय निकाय, प्रदेश, संसद्को चुनाव गर्नु पर्नेमा उनको जोड थियो । आमभञ्जाङ गाविस र मकवानपुर गढी गाविस जोड्ने पक्की पुल निर्माण यही माघदेखि सुरु हुँदैछ । केन्द्रीय योजनाको ११२ मिटर लम्बाइको प्रिस्टे«स प्रविधिको पुल २०७४ चैतमा सम्पन्न गर्ने गरी जिविस मकवानपुरअन्र्तगत निर्माण सुरु भएको हो । उक्त पुलको निर्माणपछि मकवानपुर गढी गाविसका जनतालाई आमभञ्जाङ गाविसमा अध्ययन तथा दूध र तरकारी हेटौँडासम्म पु¥याउन सुविधा पुग्नेछ । उक्त पुलको लागत रु पाँच करोड ३८ लाख रहेको छ । यसैगरी राप्रपा हेटौँडा उपहानगरपालिका–६ को वडा भेलामा अध्यक्ष थापाले संविधान कार्यान्वयनका लागि स्थानीय, प्रदेश, संसद्को चनाव गराउन माग गरे । रासस

नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वलाई साट्न आतुर छौं–प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, माघ ११। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको शान्ति प्रक्रियाबाट प्राप्त उपलब्धी संस्थागत गर्दै संविधान कार्यान्वयनको चरणमा रहेको वताएका छन् । मोरिससका पूर्वराष्ट्रपति कासाम उत्तिमसँगको भेटवार्तामा नेपालको शान्ति प्रक्रियाको अनुभव विश्वकै लागि उदाहरणीय भएकाले यसका अनुभव अन्तराष्ट्रियरुपमै आदान प्रदान गर्न आफूहरु इच्छुक रहेको बताएका थिए । मंगलवार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्र्रिय समुदायको सदभावप्रति आभार व्यक्त गरे । पूर्व राष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया मौलिकढंगले पूरा भएको तथा नयाँ राजनीतिक प्रक्रियामा नेपाल सहभागी भएकोमा सह्रा गर्नुभएको थियो ।

झापामा फेरी हात्तीको आक्रमण, एक बालिकाको मृत्यु

सुरुङ्गा (झापा), माघ ११ । जङ्गली हात्तीको आक्रमणमा परीे एक बालिकासहित दुईजनाले ज्यान गुमाएसँगै झापाको भद्रपुर नगरपालिका–२ अहिले शोकमग्न भएको छ । आइतबार जङ्गली हात्तीको आक्रमणमा परी भद्रपुर–२ निवासी ४१ वर्षीया पालमाया सुब्बाको मृत्यु भएको थियो भने सोमबार सोही ठाउँ निवासी अर्की १३ वर्षीया बालिका शर्मिला लिम्बूले पनि ज्यान गुमाएसँगै भद्रपुर शोकमग्न भएको हो । आइतबार मायालु सामुदायिक वनमा घाँस काट्न गएका उनीहरुलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए । हात्तीको आक्रमणमा परी पालमायाको आइतबार नै मृत्यु भएको अवस्थामा शव फेला परेको थियो । यता आइतबारदेखि नै बेपत्ता बनेकी शर्मिलाको सोमबार मात्रै शव फेला परेको छ । हराएकी बालिकालाई सोमबार स्थानीयवासी, प्रहरी र जिल्ला वन कार्यालय झापाको टोलीले मृत अवस्थामा फेला पारेका थिए । रासस

काउसो दलेर लुटपाट

खजुरा (बाँके), माघ ११ । नेपालगन्जमा सोमबार अपराह्न एक व्यक्तिका साथबाट रु साढे तीन लाखभन्दा बढी रकम लुटिएको छ । धम्बोजीस्थित सिद्धार्थ बैंकबाट रकम निकालेर फर्किँदै गरेका खजुराका दिनेश कँडेलको रु तीन लाख ६५ हजार भएको झोला लुटेराले लगेका हुन् । लुटेराले कँडेलका शरीरमा काउसो दलेर पैसासहितको झोला लुटेका हुन् । मोटरसाइकल चलाउने बेला एक्कासि घाँटी र टाउको चिलाउन थालेपछि आफू रकमसहितको झोला छाडेर बैंकको शौचालय गएको र फर्कँदा झोला हराएको कँडेलले बताए । वागेश्वरी ह्युम पाइप कम्पनीमा कार्यरत कँडेलले कार्यालय प्रयोजनका लागि झिकेको रु दुई लाख ६५ हजार र आफूसंँग झोलामा भएको रु एक लाख लुटिएको जिकिर गरे । घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए । रासस