कैलालीमा २६ दल दर्ता, घटे १० पार्टी
कैलाली, माघ १८। क्षेत्रीय निर्वाचन कार्यालय कैलालीमा दल दर्ता गर्ने अन्तिम म्याद सोमाबारसम्म २६ दल दर्ता भएका छन ।
स्थानीय निर्वाचनको चर्चा चलिरहेका बेला जिल्लामा यसपालि १० दल घटेको निर्वाचन कार्यालयले जनाएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा कैलालीमा प्रत्यक्ष निर्वाचनका लागि ३६ र समानुपातिकतर्फ धेरै दल सहभागी थिए ।
दल दर्ताको अन्तिम दिन नयाँ शक्ति नेपालले पनि क्षेत्रीय निर्वाचन कार्यालयमा दल दर्ता गराएको निर्वाचन कार्यालयले जनाएको छ ।
केन्द्रमा दर्ता भएका दलहरुले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा पनि विवरण राख्नका लागि दल दर्ता गराउनुपर्ने नियम छ । रासस
‘दलको एजेण्डा निर्वाचननै हुनुपर्ने’
काठमाडौं,माघ १८। लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक दलले निर्वाचनलाई अब आन्दोलनको एजेन्डाको रुपमा अघि बढाउनुपर्ने सुझाव दिइएको छ । गाविस महासङ्घद्वारा सोमबार आयोजित ‘स्थानीय लोकतन्त्र, निर्वाचन र सुशासन’ विषयक अन्तक्र्रियामा सहभागी वक्ताले स्थानीय निकायमा लामो समयदेखि निर्वाचन नहुँदा मुलुकमा सुशासन होइन, जनतामाथि शासन चलाउने प्रवृत्ति हाबी भएको बताउनुभयो । स्थानीय तहमा जनप्रतिनिधि नहुुनु, विकास निर्माणमा अति राजनीतिकरण हुनुले राज्यको नियन्त्रण प्रणाली निकै कमजोर भएको बताउँदै उहाँहरुले सुशासन भनेको जुलुस समेत काठमाडौंमा केन्द्रित नभई विकेन्द्रीकरण हुनु हो भन्ने पक्षलाई राजनीतिक दलहरुले बुझ्न जरुरी छ भन्नुभयो । स्थानीय निकायमा निर्वाचन नहुँदा राजनीतिक दलका कार्यकर्ताले सहकारी, उपभोक्ता समिति र विद्यालय व्यवस्थापन समितिनै कब्जा गरेर सुशासनकै धज्जी उडाएको पाटोलाई अन्त्य गर्न पनि स्थानीय निकायको निर्वाचन अब छिटो गर्नुको विकल्प नभएको उहाँहरुले बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रश्मीराज पाण्डेले स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा राजनीतिक दलकै हातखुट्टा भाँचिएको जस्तो अवस्था सिर्जना भएको छ भन्नुभयो । जिविस महासङ्घका पूर्व सभापति कृष्णप्रसाद सापकोटाले सार्वभौमसत्ता भनेको प्रतिनिधि मात्रै हुन् कि जनता पनि हुन् भनी प्रश्न गर्दै सङ्घीयता भनेको प्रदेश र सङ्घ मात्रै होइन स्थानीय तह पनि हो भन्ने बुझ्न आवश्यक छ भन्नुभयो । नेपाल पत्रकार महासङ्घका पूर्व सभापति तारानाथ दाहालले स्थानीय तहमा निर्वाचन नहुँदा राजनीतिक दलका डनले शासन चलाइरहेको र त्यहाँ गएको अनुदानमा व्यापक अनियमितता हुँदै आएको बताउनुभयो । गाविस महासङ्घका अध्यक्ष नवराज गेलालले स्थानीय तहको निर्वाचनको लागि देशव्यापी जागरणको आवश्यकतामा जोड दिनुभयो । रासस
यूएन क्षेत्रीय कार्यालय हट्ने
काठमाडौ,माघ १८ । संयुक्त राष्ट्रसंघले मार्चदेखि काठमाडौं उपत्यकाबाहिरका तीन क्षेत्रीय कार्यालय (फिल्ड अफिस) हटाउने भएको छ । नेपालको निरन्तरको ताकेतापछि राष्ट्रसंघले विराटनगर, नेपालगन्ज र धनगढीस्थित फिल्ड अफिस हटाउने निर्णय लिएको कूटनीतिक स्रोतले बताएको छ । ती कार्यालयले स्थानीय तहमा राजनीतिक गतिविधि गरेको सरकारको निष्कर्ष छ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय संयोजक भ्यालेरी जुलियान्डले परराष्ट्र मन्त्रालयलाई क्षेत्रीय कार्यालहरू बन्द गर्ने तयारी भइसकेको मौखिक जानकारी दिएकी छन् । ‘यस सम्बन्धमा लिखित जानकारी पनि राष्ट्रसंघले चाँडै गराउला’, जानकार स्रोतले भन्यो । परराष्ट्रका एक उच्च अधिकारीले राष्ट्रसंघका क्षेत्रीय कार्यालयहरू चाँडोभन्दा चाँडो हटाउन राष्ट्रसंघीय आवासीय संयोजकलाई आग्रह गरिएको जानकारी दिए । ‘राष्ट्रसंघीय राजनीतिक मिसन अनमिनको बहिर्गमनपछि पनि लामो समय ती फिल्ड अफिसहरू जिल्लामा राख्नुको औचित्यबारे हामीले पटकपटक सोधेका थियौं’, उनले भने । ती फिल्ड अफिसहरू कायमै राख्न सत्तारूढ दलका मधेसी नेता निकै सक्रिय रहेको स्रोतले बतायो । ‘तर अब राष्ट्रसंघीय मुख्यालयले ती कार्यालय राख्नु उचित नहुने निष्कर्ष निकालेर बन्द गर्ने निर्णय लिएको बुझ्न सकिन्छ’, जानकार अर्का सरकारी अधिकारीले भने । नेपालको शान्तिप्रक्रियालाई सघाउन आएको राष्ट्रसंघीय राजनीतिक मिसन (अनमिन) को स्थापनालगत्तै नेपालमा राष्ट्रसंघको कामलाई सहयोग गर्ने भन्दै विराटनगर, नेपालगन्ज, धनगढी, डँडेल्धुरा र हेटौंडामा ती फिल्ड अफिस खोलिएका थिए । ६ वर्षअघि नेपालबाट राष्ट्रसंघीय राजनीतिक मिसन बाहिरिएपछि राष्ट्रसंघले डँडेल्धुरा र हेटौंडास्थित फिल्ड अफिस बन्द गरेको थियो । तर बाँकी तीन स्थानमा भने फिल्ड अफिस कायमै थिए । पूर्वपरराष्ट्रसचिव एवं राष्ट्रसंघका लागि नेपालका पूर्वस्थायी प्रतिनिधि मधुरमण आचार्यले बिनाकुनै म्यान्डेट राष्ट्रसंघले क्षेत्रीय कार्यालय नेपालभर राख्नु औचित्यपूर्ण नरहेको बताए । ‘राष्ट्रसंघले नेपालको विकास निर्माणसँग सम्बन्धित मुद्दामा सरकारलाई सघाउनेमात्र हो’, उनले भने । यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
तातोपानी कुण्ड तीनदिनका लागि बन्द
बेनी (म्याग्दी),माघ १८ । प्राकृतिक उपचारस्थलका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–१३ तातोपानी कुण्डमा सोमबार दिउँसो २ बजेपछि तीनदिनका लागि बन्द गरिएको छ । गत बिहीबारदेखि सरस्वती माध्यमिक विद्यालयमा शैक्षिक तथा भौतिक पू्र्वाधारमा सहयोग जुटाउने उद्देश्यले आयोजित महायज्ञको प्रवचनमा बिरामीले चासो देखाएपछि तीन दिनसम्मलाई बन्द गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । महायज्ञ अवधिभर २ बजे पछाडि कुण्डमा स्नान गर्न आएका बिरामी महायज्ञस्थलमा जाने गरेका छन् । कुण्डकी कर्मचारी मेखी खत्रीका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८–१०, १०–१२ र १२–२ बजेसम्म महिला र पुरुषले स्नान गर्ने गरेका छन् । अत्यधिक चाप रहेको कुण्डमा पुरुष र महिलाको स्नान गर्ने समय समेत निर्धारण गरिएको छ । महायज्ञलाई कुण्डमा स्नान गर्ने बिरामीले समेत आफ्नो क्षमताअनुसार सहयोग गरिरहेका छन् । वार्षिक रु १८ हजारको हाराहारीले स्नान गर्ने कुण्डमा नियमित स्नान गरेर ग्यास्ट्रिक, बाथरोथ (युरिक एसिड), ढाड दुख्ने, छालासम्बन्धी विविध रोग, सुन्निएको, बज्रिएर चोट लागेको, मर्किएको, पेट सुन्निने, गलगाँड र एसाइटिसलगायत रोग निको भएको पाइन्छ । यहाँ वीरेनुन र गन्धक (सल्फर) तत्वसहितको ४५ देखि ५७ डिग्री सेल्सियसको तातोपानी निस्कने मुहान रहेको छ । रासस
कहाँ हराए गृहमन्त्री ?
काठमाडौं, १८ माघ । व्यवस्थापिका संसद्को सोमबारको बैठकको पहिलो कार्यसूचीमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको निर्वाचन (कसुर तथा सजाय) बिधेयक छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम थियो। दिउँसो १ बजेका लागि बोलाइएको संसद्को बैठक १५ मिनेट ढिलो शुरु भएपनि गृहमन्त्री निधि त्यहाँ थिएनन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ– निर्वाचनको मिति घोषणा गर्न सरोकारवाला निकायहरुसँग सहमति जुटाउने प्रयास गरिरहेको सरकारका गृहमन्त्री निधि निर्वाचन सम्बन्धी बिधेयक संसद्मा पेश गर्ने आफनो कार्यसूची भुलिदिन्छन र उनी त्यतिधेरै उदासिन बनिदिन्छन भन्ने कसैले अनुमान लगाएका थिएनन्। सांसदहरु कार्यसूची अनुसार संसद्को कारबाही अगाडि बढने अपेक्षा गरिरहेका थिए। शुन्य समयमा १० जना र विशेष समयमा सात जना साँसदले बोलिसक्दा पनि गृहमन्त्री निधि बैठकमा नपुगेको कुरा सभामुख ओनसरी घर्ती,उनको सचिवालयका कर्मचारी र केहि साँसद बाहेक अधिकाँश सांसद अनविज्ञ थिए। बैठकमा गृहमन्त्री निधि आइनपुगेको थाहापाएपछि सभामुख घर्तीले कार्यसूचीमा रहेको बिषयलाई हटाइएको जानकारी गराएर बैठक नै स्थगित गर्ने निधो गरिन्। सभामुख घर्तीले निर्वाचन बिधेयकलाई कार्यसूचीबाट नै हटाएको सुनेपछि सांसदहरु आश्चर्यचकित भए। बैठकमा गृहमन्त्री निधि नरहेको सांसदहरुलाई थाहा थिएन। शुन्य र बिशेष समयमा सांसदहरुले बोलिसक्दा गृहमन्त्री निधि आइपुग्ने अपेक्षा गरेकी सभामुख घर्तीसँग सो बिधेयकलाई कार्यसूचीबाट हटाउनुको बिकल्प पनि थिएन्। कार्यसूचीमा रहेका बाँकी बिषय सकेर बैठक स्थगित गरेकी थिइन्। आधा घण्टाका लागि बैठक स्थगित गरेर सभामुख घर्तीले गृहमन्त्री निधिलाई खोज्न आफनो सचिवालयका कर्मचारीलाई अह्राइन्। बैठक स्थगित भएको केहिवेरमा गृहमन्त्री निधि संसद्मा प्रवेश गरे। त्यसपछि फेरी २ बजेर ४० मिनेटमा दोस्रो बैठक सुरु भयो। दोस्रो बैठकमा गृहमन्त्री निधिले निर्वाचन कसुर तथा सजाय बिधेयक संसद्मा पेश गरे। राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको निर्वाचन कसुर तथा सजाय बिधेयक माथि छलफल गरियोस भनी प्रस्ताव राखेपछि नेपाल मजदुर किसान पार्टीका साँसद प्रेम सुवालले आफना माग बिधेयकमा समेटन आग्रह गरे। सुवालले निर्वाचनमा गम्भीर कसुर गर्ने, भोजभतेर गर्ने,जागिर दिने आश्वसन बाँडने,मोबाइल तथा भौतिक सामग्री वितरण गर्ने,मतदान केन्द्र तोडफोड गर्ने दल र उम्मेदवार एवं कर्मचारीलाई कडा कार्वाही गर्ने व्यवस्था राख्न माग गरेका थिए। सुवालको माग सम्बोधन गर्दै गृहमन्त्री निधिले गैरकानुनी काम गर्ने राजनीतिक दल,उम्मेदवार तथा कर्मचारीलाई दण्डित गरिने विश्वास दिलाए। राज्य व्यवस्था समितिले दिएको सुझाव तथा परिमार्जनलाई बिधेयकमा समावेश गरी गैरकानुनी कार्य नियन्त्रण गर्ने व्यवस्था गरिएको गृहमन्त्री निधिले बताए। अन्त्यमा निर्वाचन कसुर तथा सजाय विधेयक २०७३ पारित गरियोस भन्ने गृहमन्त्री निधिको प्रस्ताव संसद्ले स्वीकृत गर्यो। राष्ट्रपति विद्यादेवी भण्डारीले सो बिधेयक प्रमाणित गरेपछि कानुनका रुपमा कार्यान्वयन हुनेछ । संसद्को अर्को बैठक बुधवार तीन बजे बस्ने गरी स्थगित भएको छ।
राणाकालिन ३१ दरबार पुनर्निर्माणमा किचलो
काठमाडौं – भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन । यो खबर आजको नेपाल समाचारपत्रमा छ । पुरातत्व विभागले अधिकांश दरबारको संरचना जस्ताको तस्तै हुने गरी बनाउने जनाए तापनि शहरी विकास तथा भवन निर्माण विभागले भत्काएर नयाँ बनाउने इस्टिमेट गर्दै आएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले केहि दरबार पुरानै अवस्थामा पुननिर्माण गर्ने र केहिलाइ भत्काएर स्वरुपमा परिवर्तन नहुने गरी तयार गर्ने तयारी भइरहेको बताउनुभयो । उहाँले भूकम्पको अति जोखिम रहेको उपत्यकाका सबै राणाकालीन दरबार सबै पुरानै सवरुपमा बनाउन सक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । तर पुरातत्वविद्हरुले नेपालको सम्पदाका रुपमा रहेका राणाकालीन दरबारलाई संरक्षण गर्नुपर्ने बताएका छन् । ”अहिले मैले सुनेको छ । केशर महल, सिंहमहल, ललिता भवन, बहादुर भवन, हरिहर भवन, श्री महललगायत दर्जानौं राणाकालिन दरबार भत्काएर आधुनिक बनाउने रे ?” संस्कृति एवं पुरातत्वविद् मुकुन्दराज अर्यालले भन्नुभयो ”सरकारको कस्तो तरिका नेपालको इतिहास मेटाएर बवन बनाउने ?” राणाकालीन दरबार ५ घण्टामा भत्काउन सकिन्छ तर कहिल्यै बनाउन सकिदैन । यस्तो गलत काम सरकारले कहिल्यै गर्नुहुदैन । इतिहासलाई अनन्तकालसम्म जोगाएर राख्नुपर्छ । अर्यालले बताउनुभयो ।
स्थानीय निर्वाचनका लागि बैतडीमा १२ दल दर्ता
बैतडी, माघ १७ । स्थानीय निर्वाचनका लागि सहभागी हुन र तयारी गर्नका लागि बैतडीमा १२ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय, बैतडीमा दर्ता भएका छन्। निर्वाचन आयोगले आजसम्ममा सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार बैतडीमा आज अन्तिम दिनसम्म १२ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, बैतडीका निमित्त जिल्ला निर्वाचन अधिकारी जीतबहादुर रोकायाले जानकारी दिए। र्टीको विवरण बुझाएर दर्ता भएका दलमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, राष्ट्रिय जनमोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनाधिकार फोरम लोकतान्त्रिक रहेका छन् । यस्तै नेपाल जनजागरण पार्टी, बहुजन शक्ति पार्टी, नेपाल दलित पार्टी र युनाइटेड ग्रेन अर्गनाइजेसन पार्टीले पनि विवरण बुझाएर आधिकारिक रुपमा दर्ता गरेको निमित्त जिल्ला निर्वाचन अधिकारी रोकायाले बताए। बैतडीमा मधेसी जनाधिकार फोरम लोकतान्त्रिक, नयाँ शक्ति नेपाल पार्टी, नेपाल जनजागरण पार्टी, बहुजन शक्ति पार्टी, नेपाल दलित पार्टी र युनाइटेड ग्रेन अर्गनाइजेसन नयाँ पार्टीका रुपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। सरकारले स्थानीय तह निर्वाचन मिति घोषणाको तयारी गरिरहँदा केन्द्रमा र सम्बन्धित जिल्लामा पार्टी दर्ता गराएमात्र स्थानीय निर्वाचनमा सहभागी हुन पाउने प्रावधान रहेको छ।
मलेशियामा रिया र इकुको अश्लील नाचप्रति बिप्लव माओवादीको आपत्ति
काठमाडौँ- नेपाली कलाकार रिया श्रेष्ठ र सुलेमान शंकर ( इकु) ले मलेशियामा गरेको अश्लिल नाचप्रति बिप्लव माओवादीले आपत्ति जनाएको छ । बिप्लव माओवादी निकट अखिल नेपाल जन सांस्कृतिक महासंघको अन्तराष्ट्रिय विभागले ‘नेपालीको मौलिक सुन्दर संस्कृतीमा नै आच आउने गरेर नाच प्रस्तुत गरिएको’ बताएको छ । ‘अखिल नेपाल जन सांस्कृतिक महासंघ अन्तराष्ट्रिय विभागको गम्भीर आपत्ति रहेको छ ‘विभागका विवश कुमार सेजुवालले बताए । मलेशियाको पेनाङ्ग राज्यमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रममा रिया श्रेष्ठ र इकुले नाङ्गो डान्स प्रस्तुति गरेका थिए । उक्त कार्यक्रममा रिया श्रेष्ठले आफूले लगाएको कपडा नाच्दा नाच्दै खोलेर दर्शक सामु फालेकी थिइन् । ‘कला संस्कृतिलाई अन्तराष्ट्रिय गर्नुपर्छ तर त्यो अश्लिल तरिकाले होइन, सेजुवाल भन्छन्, विदेशमा आएर नेपालीको पहिचान चिनाउनुको सट्टा यस्तो कुसंस्कार को छाप छोडेर जाने कलाकारलाई कुनै पनि हालतमा कार्बाही गरिनु पर्छ ।
राजधानीका क्याम्पसमा नेबिसंघले गर्यो तालाबंदी
काठमाँडौ, माघ १७ । स्ववियु निर्वाचनमा उमेर हदबन्दी कायम गरिएपछि नेविसंघले राजधानीका मुख्य क्याम्पसमा तालाबंदी गरेको छ । त्रिभुवन बिश्वबिध्यालयले २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणाली अपनाउने निर्णय गरेपछि नेबिसंघले आन्दोलन गरेको हो । नेबिसंघले पद्मकन्या, आरआर, ल, पशुपति, त्रिचन्द्र, सरस्वती, पब्लिक युथ र शंकरदेव क्याम्पसमा सोमबार गरेको तालाबन्दीका कारण क्याम्पसको कामकाज प्रभावित भएको छ । यसै फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ
निर्वाचनसम्बन्धी एक विधेयक पारित, सरकारलाई चुनाव मिति घोषणा गर्न सहज
काठमाडौं, माघ १७ । व्यबस्थापिका संसदबाट निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक पारित भएको छ । सोमबार बसेको संसद बैठकले यो विधेयक पारित गरेको हो । यो सँगै चुनावका लागि ३ वटा विधेयक संसदबाट पारित भएका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पेश गर्नु भएको विधेयक संसदले पारित गरेको हो । अब चुनाव सम्बन्धी दुई वटा विधेयक संसदबाट पारित हुन बाँकी छ । ती दुई विधेयक समितिमा नै छलफलमा अड्किएका छन् । व्यवस्थापिका संसदको सोमबार एक बजेका लागि बोलाइएको बैठकमा विधेयक पेश गर्न मन्त्री निधि उपस्थित नभएपछि उहाँलाई बैठक रोकेर नै संसदमा बोलाइएको थियो ।
भक्तपुर अस्पतालमा आईसीयू सेवाको पहलमा जोड
भक्तपुर, माघ १७ । भक्तपुर अस्पतालले सघन उपचार कक्ष (आईसीयू) सेवा सञ्चालनमा ल्याउन पहल गर्ने भएको छ । अस्पतालका नवनियुक्त अध्यक्ष प्रेम खड्काले आज पदभार ग्रहण गर्दै अस्पतालमा आउने बिरामीलाई अन्यत्र पठाउन नपर्ने गरी गुणस्तरीय एवम् विश्वसनीय सेवा विस्तार गर्ने र आईसीयू सञ्चालनमा ल्याउने कार्यमा आफू लाग्ने बताउनुभयो । अस्पतालमा आइसियु सेवा सञ्चालनमा नआउँदा धेरै बिरामी बाहिर पठाउनुपर्ने अवस्था सिर्जना भएको आफूले पाएको बताउँदै उहाँले यस्ता समस्या समाधान गर्न आफू निरन्तर लागिरहने बताउनुभयो । उहाँलाई अस्पतालका सुपरिटेन्डेन्ट डा हरिबहादुर केसीलगायतका कर्मचारीले स्वागत गरेका थिए । डा.केसीले उहाँलाई अस्पतालले दिँदै आएको सेवा, सुविधा, अस्पतालको अवस्था, गर्नुपर्ने कामका बारेमा जानकारी गराउनुभएको थियो ।
आगलागीमा तीन करोडको क्षति
काठमाडौँ, १७ माघ । कुलेश्वरको नयाँबस्तीस्थित टहरामा गएराति भएको आगलागीबाट करिब रू तीन करोड २२ लाखको क्षति भएको छ । कालीमाटीस्थित महानगरीय प्रहरी वृत्तका अनुसार आगलागीबाट २७ वटा सटर जलेका छन् । सो बस्तीका घरवेटी ब्रम्ह् महर्जनले सटर बनाइ भाडामा सञ्चालन गर्नुभएको थियो । उक्त बजारमा १२ जनाले विभिन्न पसल सञ्चालन गरेका थिए । त्यस क्षेत्रमा खाद्यान्न्न, चमेना गृह, टेलरिङ, मासु, तरकारीजन्य पसल सञ्चालन गरिएको थियो । त्यहाँका केही पसल पूर्णरुपमा तथा केही आंशिक क्षति पाइएको छ । वृत्तका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले कस्मेटिक पसलबाट सुरु भएको आगो अन्य पसलमा समेत सल्किएको जानकारी दिँदै घटनाका बारेमा अनुसन्धान सुरु गरिएको बताउनुभयो । सुरक्षाकर्मी, दमकल, स्थानीयवासीलगायतको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।
चुनाव मिति घोषणा गर्न मधेसी मोर्चा सहमत, दुईदिनभित्र घोषणा गरिने
काठमाडौं, माघ १७ । स्थानीय निकायको चुनावको मिति घोषणा गर्न मधेसी मोर्चा सहमत भएको छ । सोमबार बालुवाटारमा बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सत्तारुढ दल र मधेसी मोर्चाको बैठकमा दुईदिन भित्रमा चुनावको मिति घोषणा गरिने सहमति बनेको हो । तर मधेसी मोर्चाले चुनाव अघि संविधान संशोधन हुनुपर्ने बताएको छ । भरखरै सकिएको बैठकमा स्थानिय निकायको चुनाव, संविधान संशोधन र राज्यपुनर्संरचना आयोगको प्रतिवेदनमा छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाको सहमति विना चुनावको मिति घोषणा नगर्ने प्रतिवद्धता जनाएका छन् । ‘म अहिलेको गठनबन्धन कायम राख्दै अगाडी बढ्ने पक्षमा छु ’ प्रधानमन्त्रीको भनाई उदृत गर्दै सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णले भने, ‘तपाईको सहमतिका आधारमा नै चुनाव हुन्छ त्यसकै आधारमा म चुनावको मिति घोषणा गर्छु तर तपाईहरुले सहज वातावरण बनाउन सहयोग गर्नुपर्यो ।’ चुनावको मिति घोषणा गर्न मोर्चाले दुईदिनको समय मागेको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले स्थानीय निकायको चुनावमा जाने विषयमा मधेसी मोर्चा सहमत भएपनि पहिले संविधान संशोधन गर्नेपर्ने बताएकाले प्रतिपक्ष दलसँग समेत छलफल गरेर दुईदिनमा सहमति खोज्ने सहमति भएको बताए । ‘चुनावका विषयमा मधेसी मोर्चापनि सकारात्मक छ ’ श्रेष्ठले भने । बालुवाटार सम्बद्ध स्रोतका अनुसार प्रधानमन्त्री संविधान संशोधन प्रस्तावलाई अघि बढाएर चुनाव मिति घोषणा गर्ने तयारीमा छन् । मोर्चा चुनावमा जान तयार भए संविधान संशोधन विधेयकमा पुरक संशोधन प्रस्ताव ल्याउन पनि तयार रहेको विषयमा पनि प्रधानमन्त्रीले प्रस्ताव गरेका छन् । पूरक संशोधन प्रस्तावमा मोर्चा पनि सकारात्मक छ। बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, अर्थमन्त्री कृष्णबहादुर महरा, कांग्रेस नेताहरु प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो लगायतका शीर्ष नेताहरु सहभागी थिए ।
राईको आफ्नै साथीले हत्या गरे
पाँचथर, माघ १७ । अत्याधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन् । मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय रहेका छन् । आइतबार प्राङबुङ–८ मा रहेको स्थानीय हाट बजार भर्न आएका उनीहरु अत्याधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन मगरले अजय राईको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सो झगडामा गम्भीर घाइते भएका मगरको प्रहरीको निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक विष्णु खड्काले जानकारी दिए ।
खानेपानीको अभावले बाहुनडाँडाका विद्यार्थी विद्यालय जानै छाडे
रामपुर (पाल्पा), माघ १७ । खानेपानीको अभाव हुन थालेपछि संयुक्त प्राथमिक विद्यालय रामपुर नगरपालिका–१० बाहुनडाँडाका विद्यार्थीले विद्यालय छाड्न बाध्य भएका छन् । नगरपालिकाको केन्द्रदेखि दुई घन्टाको पैदलमा यस विद्यालय रहेको छ । दुर्गम र पहाडी भेगमा रहेको यस विद्यालयमा खानेपानीको चरम समस्याले गर्दा विद्यार्थी सङ्ख्या दिन प्रतिदिन घट्दो छ । विसं २०४६ मा स्थापना भएको यस विद्यालयमा कक्षा एकदेखि चारसम्म पठनपाठन हुने गर्दछ । हाल कक्षा एकमा ११ जना, कक्षा दुईमा पाँच जना, कक्षा तीनमा पाँच जना, कक्षा चारमा पाँच जना गरी जम्मा २६ जना विद्यार्थी रहेका छन् । दुई जना दरबन्दी र एक जना निजी स्रोतमा कार्यरत शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक टेकबहादुर आलेले बताउनुभयो । गाउँमा कुनै पनि पानीको स्रोत नभएपछि खानेपानीको समस्याले गर्दा विद्यालयमा विद्यार्थी सङ्ख्यामा न्यून आएको प्रअ आलेले भन्नुभयो । गाउँभरि नै पानीको समस्या बिहानभरि विद्यार्थी पानीको जोहो गर्दा विद्यालयमा पनि नियमित उपस्थित नभएपछि विद्यालय जानु र नजानुको कुनै महत्व नभएको पूर्व शिक्षक मिनु सिंजालीले बताउनुभयो । “१० बजे विद्यालय पुग्यो, विद्यार्थी पढ्न आउँलान् भनेको गाग्री बोकेर पानी खोज्न जान्छन्”– “पानीको जोहो नगर भनौँ त गाउँभरि नै हाहाकार छ, अर्कोतिर विद्यार्थीको भविष्य अन्धकारमय बन्यो, न्यून विद्यार्थी सङ्ख्या भएको कक्षाकोठामा बसेर पढाउनुको सट्टा समय बिताउन पनि गाह्रो भएपछि जागिर नै छाडिदिएको हुँ” उहाँले भन्नुभयो । विद्यालय स्थापना भएको २७ वर्ष बिते पनि शैक्षिक गुणस्तर वृद्धि र भौतिक सेवा सुविधामा विद्यालयले कुनै फड्को मार्न नसकेको स्थानीय सूर्यप्रसाद रेग्मीले बताउनुभयो । पानीको अभावले बस्ती नै पातलिँदै गएपछि यहाँको शैक्षिक गुणस्तर विकास हुन नसकेको स्थानीय बताउँछन् । पानीको चरम अभाव अर्कोतिर विद्यालयको स्तरोन्नति हुन नसक्नु, बिजुली, सडकको समस्याले पनि विद्यार्थी सङ्ख्या पातलिँदै गएको हो । रासस
दलहरुबीच सहमतिको विकल्प छैनः महामन्त्री कोइराला
नवलपरासी, माघ १७ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधान कार्यान्वयनका लागि दलहरुबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आइतबार नवलपरासीमा नेपाली काँग्रेस गैँडाकोट नगर समितिद्वारा आयोजित कार्यक्रममा महामन्त्री डा कोइरालाले यस्तो विचार व्यक्त गर्नुभएको हो । उहाँले मुलुक अझै पनि संविधान कार्यान्वयनको दिशामा अघि बढ्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै वर्तमान सङ्कटको निकास खोज्न सबै दलबीच सहमति हुनुपर्ने विचार राख्नुभयो । उहाँले संविधान जारी गर्दा एक ठाउँमा उभिएका तीन शीर्ष दल संविधान संशोधनमा पनि एकै ठाउँमा उभिनु आजको आवश्यकता भएकाले एमालेलाई साथमा लिएर संविधान संशोधन गर्नुपर्छ भन्नुभयो । नवलपरासी निर्वाचन क्षेत्र नं १ का सांसद समेत रहनुभएका डा कोइरालाले सहिदले देखाएको बाटोमा अघि बढ्न सके मात्रै मुलुकले सही निकास पाउने बताउनुभयो ।

