घुसलिँदै गर्दा इन्जिनियर रंगेहात पक्राउ
नुवाकोट, माघ २४। भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।
जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई भूकम्पपीडितसँग लिएको रु दुई हजार घुससहित प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ का श्रीवास्तव सहरी तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटमा करार सेवामा कार्यरत इन्जिनियर हुन् । श्रीवास्तवले बेलकोट–३ का बद्री तिवारीसँग रु दुई हजार घुस लिएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।
तिवारीको निर्माणाधीन घर निजी आवास अनुदान कार्यविधिअनुसार नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले रु पाँच हजार घुस मागेका तर तिवारीले रु दुई हजारमात्र दिएको बताइएको छ ।
गाउँमा निर्माण हुने अधिकांश घर मापदण्डअनुसार निर्माण नभएको बताउँदै इन्जिनियर श्रीवास्तवले सोही वडामा निर्माण भइरहेका केही घरधनीसँग पनि रकम मागेको गाउँलेले बताएका छन् ।
कालीकोटमा १६ राजनीतिक दल दर्ता
कालीकोट, माघ २४। जिल्लामा क्रियाशील रहेका १६ वटा राजनीतिक दलले जिल्ला निर्वाचन कार्यालय कालीकोटमा दल दर्ता गराएका छन् । निर्वाचन आयोगले दिएको दल दर्ताको तोकिएको समयमा कालीकोट जिल्लामा १६ दलले दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख धनबहादुर रावलले बताउनुभएको छ । संविधानसभाको निर्वाचनताका विभिन्न दलले जिल्लामा गतिविधि बढाए पनि सक्रिय भएर लागेका दलहरु १६ वटामध्ये राष्ट्र सेवक लोकतान्त्रिक पार्टी नयाँ दर्ता भएको र समाजवादी पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता नभएको र देशभक्त पार्टीले अधुरो प्रक्रियामा आएकाले फिर्ता पठाइएको बताउँदै निमित्त प्रमुख रावलले १६ वटा राजनीतिक दलको विवरण आयोगमा पठाएको बताउनुभएको छ । उहाँले निर्वाचन आयोगको निर्देशनअनुसार सूचना जारी गर्दा जिल्लामा क्रियाशील दलले मात्र जिल्ला निर्वाचन कार्यालय, कालीकोटमा दल दर्ता गरेको बताउनुभएको हो । दल दर्ता गर्नेमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा नेपाल, मधेसी जनाधिकार लोकतान्त्रिक पार्टी नेपाललगायतका दल रहेका छन् । रासस
एमाले वडा सदस्य सहित १ सय बढी माओवादी केन्द्रमा प्रवेश
चितवन, माघ २४ । नेकपा माओवादी केन्द्र कालिका नगरपालिका नगरस्तरीय एकता भेला सम्पन्न भएको छ । माओवादी केन्द्रका प्रमुख स्थाई कमिटी सदस्य विश्वभक्त दुलाल (आहुती)को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो । सो अवसरमा बोल्दै आहुतीले आगामी चुनावका लागि सबै कार्यकर्ता तयारी अवस्थामा रहन निर्देशन दिए । नगर अध्यक्ष रामध्वज डल्लाकोटी (विवेक)को अध्यक्षतामा सम्पन्न भेलामा करिब १ सय बढी एमाले र काग्रेस परित्याग गरि आएका नयाँ कार्यकर्ताहरुलाई प्रमुख अतिथि आहुतीले रातो टिका लगाई प्रवेश गरेका थिए । कार्यक्रममा बाल्ने अधिकांश नवप्रवेशीहरुले देश निकासको एक मात्र विल्कप माओवादी रहेको भन्दै सबैलाई माओवादीमा समाहित गर्न आग्रह गरे । भेलामा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज ईश्वरी भट्टराई, जिल्ला अध्यक्ष यमबहादुर परियार, सह–ईन्चार्ज कञ्चन खनाल, जिल्ला सदस्य संगिता भट्टराई लगायतले बोलेका थिए । यस्तै पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १५ माधवपुरमा माओवादी केन्द्र प्रवेशको लहर चलेको छ । नेकपा एमाले वडा कमिटीका सदस्य जगतवहादुर विक, रमेश विखुसे, वलदिप बिसुखे लगायत ३० जना बढीलाई माओवादी केन्द्रका प्रमुख स्थाई कमिटी सदस्य विश्वभक्त दुलाल (आहुती)ले रातो टिका लगाई प्रवेश गराएका थिए । सो अवसरमा बोल्दै जगतवहादुर विकले एमाले राष्ट्रियताको पक्ष नभई देश विग्राने खेलमा लागेको भन्दै देश बनाउन माओवादी प्रवेश गरेको बताए । यसैविच माओवादी केन्द्र वडा १५ माधवपुरमा दिलबहादुर बुढाथोकीको संयोजकत्वमा २५ सदस्ययी नयाँ कार्य समिति चयन गरेको छ । जसको सह संयोजकमा सहसंयोजक चञ्चला घिमिरे र विनोद ढकाल रहेका छन् ।
अदालतको आदेशको ठाडो उल्लङ्घन
इटहरी, माघ २४ । बराहक्षेत्र–४ का पुष्प बस्नेतले आठ वर्षअघि प्रेमविवाह गरेर विवाह गरी ल्याएको श्रीमती ममता कार्कीलाई घर प्रवेश गर्न नदिई अर्कै श्रीमती विवाह गरेको विषयमा जिल्ला अदालत सुनसरीले घर बस्न दिएको आदेशको बस्नेत परिवारले ठाडो उल्लङ्घन गरेका छन् । जिल्ला अदालत सुनसरीले गरेको निर्णय पालना गर्न प्रहरीलाई दिएको आदेशको समेत उचित व्यवस्थापन हुन नसकेपछि पीडित ममताले आफ्नो घरमा बस्नका लागि प्रयत्न गर्दा श्रीमान् पुष्प तथा उनको ससुरा यज्ञबहादुर बस्नेत, सासू र परिवारका अन्य सदस्यसमेत घरमा ताला लगाएर फरार भएका छन् । चतरा बयरवन बजारमा रहेको घरमा पारालिगलका महिला नेत्री तथा छरछिमेक सञ्चारकर्मी र प्रहरी समेतको टोली ममतालाई विवाह गर्ने बस्नेतको घर पुग्दा घरमा भित्रबाट छिड्किनी लगाएको अवस्था पाइएकाले पीडित ममताले बाहिरी ढोका खोलेर घर प्रवेश गरे पनि परिवारका आधिकारिक मानिस फेला नपरेपछि समाज र प्रहरीले समेत ममतालाई आधिकारिक रुपमा जिम्मा लगाउन नसकेको पीडित ममताले बताउनुभयो । अदालतको आदेश आउनुअघि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीले प्रतिमहिना १५ हजार खान लाउन दिनु भनेर कागजात गरी मिलापत्र गरेको र केही दिन प्रहरी हिरासतमा बसेर एकआपसमा मिल्ने सहमतिमा छाडिएका पुष्प बस्नेत लगायतका परिवारका मानिस अदालतको आदेशपछि घरमा ताला लगाएर भाग्नुले सो घटनामा बस्नेत परिवारले अदालतको आदेशलाई समेत चुनौती दिएर ममतालाई अन्याय गरेको स्थानीयवासीको भनाइ रहेको छ । उता इलाका प्रहरी कार्यालय चतराका प्रहरी नायब निरीक्षक रामदेव चौधरीले अदालतको आदेश भए पनि आफूहरुले कसैको घर तोडफोड गरेर मानिस बसाउन नमिल्ने बरु हामीले अदालतको आदेश मुताविक बस्नका लागि समाज राखेर छलफल गर्न सक्ने बताउनु भयो । एक वर्षको छोरीको आमासमेत भएकी ममतालाई पुष्प बस्नेतले विदेशबाट आएर काठमाडाँैमा २ वर्ष राखेर घर आएपछि घरमा बाबुआमाको दबाब झेल्न नसकेपछि कान्छी श्रीमती विवाह गरेको पाइएकाले यसमा परिवारका सबैको झालझेल रहेकाले यो घटनामा बस्नेत परिवारका सबै कानुनको दृष्टिमा कार्वाहीयोग्य रहेको पनि पारालिगलकी महिला नेत्री मीना राईले बताउनुभयो । रासस
पुराना गाडी गुडाउन पाउनुपर्ने माग !
काठमाडौँ । यही फागुन १७ गतेदेखि २० वर्ष पुराना यातायातका साधन राजधानीबाट हटाइने सरकारको निर्णयको राष्ट्रिय लोकतान्त्रिक ट्रेड युनियन महासङ्घले विरोध गरेको छ । महासङ्घले आज एक पत्रकार सम्मेलनको आयोजना गरी २० वर्ष पुराना यातायातका साधनमाथि रोक लगाउने सरकारी निर्णय मजदुरको हकमा नभएको जनाएको हो । कार्यक्रममा नेपाल मातृभूमि पार्टीका अध्यक्ष ओमप्रकाश विश्वकर्मा, नेपाल शिवसेना पार्टीका अध्यक्ष माधवप्रसाद भण्डारी, नेपाल यातायात महिला चालक समूहकी अध्यक्ष मीना चन्द ठकुरी लगायतले सरकारले गरेको निर्णयले मजदुरको गाँस खोस्ने, पुराना गाडी विस्थापित गरेर नयाँ गाडी खरिद गर्ने नाममा कमिशन कुम्ल्याउनतिर लागेको आरोप लगाए। महासङ्घले उठाएका मागमा हिन्दू सेना नेपाल, स्वरोजगार यातायात सङ्घ, हिन्दू जागरण युवा सङ्घलगायत संस्थाले ऐक्यबद्धता जनाएका छन् । रासस
सञ्चार ग्राममा बन्यो ‘पत्रकार स्मारक’
काठमाडौँ, माघ २३ । प्रेस काउन्सिल नेपालले सञ्चार ग्रामस्थित आफ्नो कार्यालय भवन अगाडि ‘पत्रकार स्मारक’ स्थापना गर्ने भएको छ । कलम चलाएर पत्रकार वर्गले समाज र राष्ट्रलाई पु¥याएको विशिष्ट योगदानको कदर गर्दै यस्तो स्मारक निर्माण गर्न लागिएको हो । यसले दिवङ्गत पत्रकारप्रति सम्मान र सङ्घर्षशील पत्रकारलाई प्रोत्साहन गर्ने काउन्सिलको भनाइ छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले भने– “सामाजिक रुपान्तरणका लागि पत्रकारले निभाएको भूमिकालाई झल्काउन पत्रकारले प्रयोग गर्ने डायरी, कलम र सहिद पत्रकारको टाउकाको प्रतिकृतिसहित स्मारक बनाइँदै छ ।” सोही स्थानमा २०६८ सालमा पनि पत्रकार स्मारक थियो । पहिला काठको र त्यसभित्र कागज हालेर कलम, डायरी र सहिद पत्रकारका टाउकाको प्रतिमूर्तिसहितको स्मारक बनाइएको थियो । सो स्मारक पुरानो भएर ढलेपछि पुनः स्टेनलेस स्टिलको स्मारक निर्माण गर्न लागिएको हो । स्मारकको निर्माण यही पुस पहिलो सातादेखि थालिएको हो र फागुनको पहिलो सातासम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्मारकको सम्पूर्ण बनोट स्टेनलेस स्टिलको हुनेछ । स्टिलको यस्तो स्मारक (स्तम्भ) नेपालमै पहिलो भएको मूर्तिकार राजु पिठाकोटेको दाबी छ । “सामान्य अर्थमा यो स्मारकले एक पत्रकारको मृत्यु भएपनि सयौँ पत्रकारको जन्म हुन्छ भन्ने सन्देश दिन्छ तर, यसलाई सञ्चार जगत्ले आ–आफ्नै ढङ्गले बुझ्न सक्छ”– मूर्तिकार पिठाकोटेले भने । ते¥ह फिट उचाइ, ९ फिट लम्बाइ र ५ फिट चौडाइमा निर्माण भइरहेको उक्त स्मारकको अगाडितर्फ प्रेस काउन्सिलको लोगो राखिएको छ । स्मारकको तौल सात सय केजी रहेको छ । स्मारक निर्माणमा करिब पाँच लाख लाग्ने अनुमान गरिएको छ । बुटवल, पोखरा, हेटौँडालगायत मुलुकका विभिन्न स्थानमा पिठाकोटेले मूर्तिहरु बनाइसकेका छन् । पत्रकार स्मारक रहेको काउन्सिल कार्यालयको अगाडिपट्टि कवि शिरोमणि लेखनाथ पौडेल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका मूर्ति रहेका छन् । “यो स्मारकले एक पत्रकार मरे हजारौँ पत्रकार जन्मिन्छन् र निरन्तर लेख्न सक्छन् भन्ने पनि हो”–काउन्सिलका अधिकृत दीपक खनालले भने ।
२३ लाखले हेरे नारायणहिटी दरवार
काठमाडौँ, माघ २३ । नारायणहिटी दरबार सङ्ग्रहालयमा हालसम्म २३ लाख १५ हजार सात सय सात स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गरेका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय विसं २०६५ फागुन १४ गतेदेखि सर्वसाधारणका लागि खुलेपछि हालसम्म त्यहाँ अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक गरी २३ लाख १५ हजार सात सय सात जनाले उक्त संग्राहलयको अवलोकन गरिएको बताइएको छ । हरेक हप्ताको मङ्गलबार, बुधबार तथा सार्वजनिक बिदामा बन्द रहने यस सङ्ग्रहालयमा हालसम्म ११ लाख ३४ हजार सात सय ४६ सर्वसाधारण, नौ लाख ९५ हजार पाँच सय ४९ विद्यार्थी, एक लाख ३० हजार एक सय ८८ सार्क तथा चिनियाँ नागरिक र ५५ हजार दुई सय २४ तेस्रो मुलुकका पर्यटकले अवलोकन गरेको सङ्ग्रहालयका प्रमुख रोहितकुमार ढुङ्गानाले जानकारी दिएका छन् । स्वदेशी तथा विदेशी पर्यटकबाट सङ्ग्रहालयले हालसम्म रु १९ करोड ४७ लाख ८२ हजार नौ सय ८५ आम्दानीसमेत गरेको छ । सङ्ग्रहालय घुम्न आउने विद्यार्थीका लागि रु २०, नेपाली नागरिकका लागि रु १००, सार्क र चिनियाँ नागरिकका लागि रु दुई सय ५० र तेस्रो मुलुकका लागि रु पाँच सय शुल्क तोकिएको छ । सङ्ग्रहालयमा चालु आर्थिक वर्षको पुुस मसान्तसम्म मात्र १४ लाख आठ हजार आठ सय ३४ ले अवलोकन गरेकामा सर्वसाधारण ७७ हजार आठ सय आठ, विद्यार्थी ६० हजार चार सय ३४, सार्क तथा चिनियाँ पर्यटक ६ हजार सात सय ३४ र तेस्रो मुलुकका तीन हजार आठ सय ५८ रहेका छन् ।
२०७४ सालको पात्रो सार्वजानिक बिदा नराखी प्रकाशन हुने
काठमाडौँ, माघ २३ । नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो ९पञ्चाङ्ग० विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएको छ । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ । समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई दिनुभएको जानकारीअनुसार गृह मन्त्रालयले विसं २०७४ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको हो । नयाँ सालको नयाँ पात्रो यही माघ मसान्त सम्ममा प्रकाशन भइसक्ने छ । उहाँले भन्नुभयो, “यस वर्षका पञ्चाङ्गमा पनि मन्त्रालयले सार्वजनिक बिदाको सूची उपलब्ध गराउन ढिला गरेका कारण समितिले बिदा समावेश गरेको छैन, सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरेबमोजिम हुनेछ भन्ने सूचना राखिन्छ ।” समितिमा सरकारले नियुक्त गरेका विद्वान्को समूहले २०७४ सालमा पर्ने चाडपर्वको निर्णय गरेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कारबाहीका लागि गृह र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ । संस्कृति मन्त्रालय अन्तर्गतको समितिले प्रत्येक वर्ष प्रकाशन हुने पञ्चाङ्गको मस्यौदा हेरी स्वीकृत गर्ने गरेको छ । पञ्चाङ्गमा तिथि, बार, योग, करण र नक्षत्र गरी पाँच अङ्ग समावेश हुन्छन् । विसं २०७४ को संवत्सर साधारण नामको रहेको समितिले जनाएको छ । मन्त्रिपरिषद्को पुस अन्तिम साताको बैठकले सार्वजनिक बिदासम्बन्धी निर्णय गर्न समिति गठन गरेको छ । रासस
बन्दुक चलाउने हातले माटो छुँदैन’भन्नेहरू नै माटोमा रमाउन थाले
‘काठमाडौं – ‘बन्दुक चलाउने हातले माटो छुँदैन’ सेवा निवृत्त सैनिक कर्मचारीमा केही वर्ष पहिलेसम्म यस्तै भ्रम थियो। अवकाशपछि उनीहरूको पहिलो रोजाइ वैदेशिक रोजगारीमा सुरक्षागार्ड नै हुन्थ्यो । पेन्सन भएसँगै धेरैजसो राजीनामा दिएर विदेश जाने गर्थे तर तीन वर्षयता भने उनीहरूको जीवनमा निकै परिवर्तन आएको छ। अवकाश तथा पेन्सनपछि राजीनामा दिएर विदेश जान चाहनेभन्दा स्वदेशमै स्वरोजगार गर्नेहरूको सङ्ख्या बढेको छ । नेपाली सेना कल्याणकारी बोर्डले नेपाल इन्भेस्टमेन्ट बैङ्कसँगको सहकार्यमा २०७० सालबाट लघुकर्जा कार्यक्रम सञ्चालनमा ल्याएपछि भूपू सैनिकको जीवन शैलीमा परिवर्तन आएको हो । यो खबर आजको गोरखापत्रमा छ। ‘बन्दुक चलाउने हातले माटो छुँदैन’ भन्नेहरू नै माटोमा रमाउन थालेका छन् । सुर्खेत पातलगङ्गास्थित नेसनल फ्रेस हाउसका सञ्चालक जब्बर श्रेष्ठले भने, “पहिला बङ्गुर भन्नेबित्तिकै घिन लाग्थ्यो तर अहिले जिल्लाका लागि नै बङ्गुरविज्ञ जस्तै भएको छु। ” करिब २० वर्ष हतियारसँग रमाएका श्रेष्ठ अहिले भने बङ्गुरसँग रमाइरहेका छन् । लघुकर्जा कार्यक्रम अन्तर्गत चार प्रतिशत ब्याजदरमा ऋण लिएर कृषि व्यवसाय अन्तर्गत तरकारी खेती, भैंसी, बाख्रा, कुखुरा, बङ्गुर र हाँसपालन, रेस्टुराँ, किराना पसल, ब्युटीपार्लर सञ्चालन र विभिन्न घरेलु उद्योग व्यवसाय सञ्चालन गर्ने पूर्व सैनिकको सङ्ख्या साढे १२ हजार पुगेको छ । बैङ्कले लघुकर्जा कार्यक्रम अन्तर्गत भूपू सैनिकको आयआर्जनका लागि सहुलियत ब्याजमा एक लाख (व्यक्तिगत)देखि एक करोड (सामूहिक) रुपियाँसम्म ऋण उपलब्ध गराएपछि विदेशमा रहेका भूपू सैनिक पनि स्वदेशै फर्केर कृषि तथा व्यापार व्यवसाय गर्न थालेको कल्याणकारी बोर्ड लघुकर्जा कार्यक्रमका समन्वयकर्ता पूर्वउपरथी धनीदास कार्कीले बताए । मुलुकभर नेपाली सेनाबाट निवृत्त सैनिक कर्मचारीको सङ्ख्या करिब ६८ हजार र बहालवाला सैनिकको सङ्ख्या ९६ हजार छ। बहालवाला र पूर्व सैनिक कर्मचारीका परिवारको सङ्ख्या करिब आठ लाख रहेको सेनाले जनाएको छ ।
निर्वाचनकाे मिति चाँडाे घोषणा गर्नुपर्याे : नेम्वाङ
इलाम, माघ २२। पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले स्थानीय निकायको निर्वाचनका लागि तत्काल मिति घोषणा गर्न सरकारसँग आग्रह गरेका छन् । नेकपा (एमाले) साकफारा गाउँ कमिटीको पाँचौँ गाउँ अधिवेशनको उद्घाटन गर्दै नेम्वाङले सरकारले अनेक बहाना बनाउँदै निर्वाचनको मिति घोषणा गर्न नसकेको बताउँदै तत्काल मिति घोषणा माग गरेका छन् । नेता नेम्वाङले भने, “अहिलेको आवश्यकता संविधान संशोधन होइन, संविधान कार्यान्वयन हो ।” संविधान संशोधन किन र कसका लागि भन्ने प्रश्न समेत उनले गरेका छन् । दुई तिहाइ भन्दा बढीले हस्ताक्षर गरेको संविधान कार्यान्वयन गरेर अघि बढ्न वर्तमान सरकारलाई आग्रहसमेत गरे । सरकारको गठबन्धनमा रहेका नेकपा (माओवादी केन्द्र) र काँग्रेसले आफ्नो निहित स्वार्थका लागि मात्र संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गराएको बताउँदै उनले संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने विचार व्यक्त गरे । सबै राजनीतिक दलको सहमतिमा तीनै तहको निर्वाचन गरेर मुलुकलाई निकास दिनुपर्नेमा उनले जोड दिए ।
‘निर्वाचनका लागि नयाँ शक्ति तयार’
काठमाडौं, माघ २२ । नयाँ शक्ति पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्ति पार्टी तीनवटै निर्वाच्नका लागि तयार रहेको बताएका छन् । काठमाडौंमा शनिबार प्रस्तावित २ नं. प्रदेशको काठमाडौं सम्पर्क संयन्त्रको प्रथम भेलालाई सम्बोधन गर्दै उनले समग्र राजनीतिक मुद्दाहरु हल गरेर देशलाई समृद्धिको बाटोमा हिंडाउनुपर्ने भएकोले सबै आदिवासी, जनजाति, मधेशी, थारुलगायत सबै उत्पीडित समुदायहरुको हक, अधिकार सुनिश्चित हुनेगरी चुनावको मिति घोषणा गरेर देशलाई राजनीतिक निकास दिनुपर्ने बताए । नयाँ शक्ति पार्टीले तराई, मधेश, पहाड र हिमाल जोडेर मुलुकको राष्ट्रियता बलियो बनाउने बताउँदै उनले भने, ‘अब मधेश, तराई, पहाड, हिमालको एकतालाई कसैले तोड्न सक्दैन किनकि यो देशमा नयाँ शक्ति जन्मिइसकेको छ । यदि कसैले त्यो एकता ताड्न खोज्छ भने त्यो अब संभव छैन ।’ उनले पार्टी घोषणाको ७ महिनामा नै ७५ वटै जिल्लाहरुमा संगठन विस्तार गर्न नयाँ शक्ति सफल भएको पनि दाबी गरे । नयाँ शक्ति पार्टीका प्रदेश नं. २ का सहसंयोजक रामरिझन यादवले मधेशी समुदायलाई चकलेट र आइसक्रिम खुवाए जस्तो गरी व्यवहार नगर्न पुराना दलहरुलाई चेतावनी दिंदै मधेश र तराईको परिभाषा गर्न नसक्ने मान्छे देशको सरकारी हाकिम, मन्त्री, प्रधानमन्त्री बन्ने दुर्भाग्यको अन्त्य हुनुपर्ने बताए । त्यस्तै २ नं। प्रदेशकै संयोजक महेन्द्र पासवानले उत्पीडित समुदायको हक, अधिकारका लागि १० वर्ष जनयुद्ध लड्दासमेत धोका पाएको बताउँदै मधेशको मुक्तिका लागि स्वशासन र स्वायत्तता अनिवार्य रहेको बताए । उनले यो देश बन्नुमा मधेशको पनि उत्तिकै योगदान रहेको बताउँदै सबै जाति, वर्ग र समुदायको प्रतिनिधित्वका लागि नयाँ शक्तिले अवलम्बन गरेको तीन क्लस्टरको धारणा नै सबैभन्दा उत्तम भएको जिकीर गरे । नयाँ शक्ति पार्टीका ३ नम्बर प्रदेशका संयोजक गंगा नारायण श्रेष्ठले नयाँ शक्ति वर्तमानमा एउटा पार्टी मात्र नभएकोले यो समग्र देशको अवस्था परिवर्तनका लागि निर्माण भएको वैकल्पिक राजनीतिक शक्ति भएको बताए । उनले नयाँ शक्तिले अरु पार्टी र नेताहरुलाई गाली र आलोचना गरेर कसैको विज्ञापन नगर्ने भन्दै सिर्जनात्मक र सकारात्मक काम गरेर आफूलाई स्थापित गर्ने अभियानमा नयाँ शक्ति लागेको बताए । कार्यक्रममा नयाँ शक्तिका कार्यकारी समिति सदस्य विरेन्द्र पोखरेल, बाल्मिकी ठाकुर, कृष्ण कुमार गुप्तालगायतले बोल्दै नयाँ शक्तिले नै मुलुकलाई समृद्ध बनाउने बताए । २ नम्बर प्रदेश काठमाडौं सम्पर्क संयन्त्रको प्रथम भेलाले कृष्ण कुमार गुप्ताको संयोजकत्वमा १ सय ५१ सदस्यीय अन्तरिम प्रादेशिक परिषद् गठन गरेको छ ।
सगरमाथा क्षेत्रमा समस्या बन्दै मानिसको मलमूत्र
सोलुखुम्बु, माघ २२ । धेरैजसो समय माइनसभन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ । हिमाल आरोहणका याममा बर्सेनि तीन हजारभन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधार शिविर आवत–जावत गर्छन् । उनीहरुले आधार शिविर तथा त्यसभन्दा माथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ । त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी)का अध्यक्ष आङदोर्जी शेर्पा पनि सगरमाथाको आधार शिविर र त्यसभन्दा माथिल्ला शिविरमा हुने दिसापिसाबको समस्या बन्दै गएको बताउँछन् । पाँच हजार ३०० मिटर उचाइमा रहेको आधार शिविरबाट एसपीसीसीले मानिसको मलमूत्र संकलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको छ । तर, त्यहाँ पनि फोहरको मात्रा बढेपछि अहिले डम्पिङ साइट लोबुचे छेउमा सारिएको छ । सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधार शिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहर फिर्ता ल्याउनुपर्ने नियम छ । उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहर फर्काउने गरेका छन् । आधार शिविरको मानव मलमूत्र भने एसपीसीसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ । गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ । मलमूत्र पानीका मुहानमा पुगेर इकोलाईलगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ । ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङमार शेर्पा बताउँछन् । सगरमाथाको आधार शिविरमा सन् २०१४ मा आठ हजार ९९८, सन् २०१५ मा पाँच हजार ९ सय र सन् २०१६ मा १० हजार ४२५ किलो मानव मलमूत्र संकलन गरेको एसपीसीसीको कार्यालय नाम्चेले जनाएको छ । योभन्दाअघिदेखिको मलमूत्र पनि गोरपशेप तथा लुबुचेमा थुपारिएको छ । चिसोका कारण वर्षौंसम्म नसड्ने, त्यहाँबाट आउने पानीका स्रोत तल्लो क्षेत्रका बस्तीसम्म पुग्ने तथा मलमूत्र थुर्पादा फोहरको मात्रा बढी देखिनेलगायतका समस्या अहिले देखिएका छन् । यस्तो फोहरलाई अझ तलको न्यानो क्षेत्रमा ल्याएर ग्यास प्लान्ट बनाउने तथा अरु विधिबाट सुरक्षित व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीले माग गर्न थालेका छन् ।
प्रमुख नदीबाट सोह्र मेट्रिक टन फोहर व्यवस्थापन
काठमाडौँ, २२ माघ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाई महाअभियानको १९५ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको जागृती टोलस्थित सुकुम्वासी बस्ती क्षेत्रमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले बताउनुभयो । सफाइमा अधिकार सम्पन्न वागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी पाँच सय व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि पूर्व नेपाली राजदूत डा महेश मास्केले गर्नुभएको थियो । सफाइमा अधिकार सम्पन्न वागमती समितिका सञ्चालक समिति सदस्यहरु, गायत्री परिवारका डा राजु अधिकारी, जीवन विज्ञान नेपालकी निर्मला केसीलगायत अभियानकर्मीको उपस्थिति थियो । रुद्रमती सफाइको १५४ औँ हप्तामा आज गोपीकृष्ण पुलदेखि भत्केको पुलसम्मको क्षेत्रमा सफाई गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरिले जानकारी दिनुभयो । सफाइमा काठमाडौँ महानगरपालिकाका वडा नं. ४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीहरुलगायतको सहभागिता थियो । सफाइको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो । विष्णुमती सफाइको १२७ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाइमा गत हप्ता स्थानीयवासीको कम सहभागिता जुटेकोमा आज उल्लेख्य सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो । तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा भएको सफाइमा निर्वाचन आयोगमा दर्ता भएको विवेकशील नेपाली राजनीतिक दलका अध्यक्ष उज्ज्वल थापा नेतृत्वको समूहसमेत सहभागी थियो । यसैगरी गुह्येश्वरीमाथिको वागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गते शनिबारदेखि वागमती सफाइ महाअभियान सुरु भएको थियो । वागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्न समेत स्थानीयवासी जुटेका छन् ।
एउटै व्यक्तिका चारथरी हस्ताक्षर गरेर कसले खाए भूकम्पपीडितका जस्तापाता ?
चरिकोट, २२ माघ । भूकम्पपीडितलाई जस्ता वितरण गर्दा पटक पटक विवादमा आएको प्लान नेपाल भर्खरै दोलखाको शैलुङ्गेश्वरमा फेरि जस्ता विवादमा तानिएको छ । एक वर्षअघि प्लान नेपालले दोलखाका भूकम्पपीडितलाई वितरण गरेको जस्ता कमसल र गुणस्तरहीन भएको भन्दै चौतर्फी विरोध भएपछि विदेशमा रहेको मुख्य कार्यालयले छानविन गरेको घटना सेलाउन नपाउँदै शैलुङ्गेश्वर गाविस लगायतका क्षेत्रमा बाँडेको जस्ता तथा अन्य राहत सामग्रीमा गम्भीर लापर्वाही भएको तथ्य सार्वजनिक भएको छ । दोलखाको शैलुङ्गेश्वर गाविसमा प्लान नेपाल आफंैले ठेकेदारमार्फत बाँडेको जस्तामा १८ प्रति जस्तापाताको हस्ताक्षर गराएर १४ प्रति जस्तापाता मात्रै स्थानीय भूकम्पपीडित जनतालाई बाँडेसँगै प्लान नेपालले गरेको भ्रष्टाचारको तथ्य सार्वजनिक भएको हो । स्थानीय शिव थपलियाका अनुसार प्लान नेपालले शैलुङ्गेश्वर गाविस वडा नं ८ का २५ घरपरिवारलाई १८ पाता जस्ता दिएको भनी हस्ताक्षर गर्न लगाएर १६ पाताजस्ता मात्रै दिएको भेटिएको छ । सोही गाविस वडा नं २ का ५६ परिवारलाई १८ पाता जस्ता बुझेको हस्ताक्षर गर्न लगाई १४ पातामात्रै जस्ता दिएपछि स्थानीय जनता जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन आउने भएका छन् । प्लान नेपालले गाउँमा नभएका व्यक्तिहरुको पनि नाम टिप्दै किर्ते हस्ताक्षर गरी राहत सामग्रीमा अनियमितता गरेको भन्दै स्थानीयवासीले सरोकारवाला निकायमा उजुरी गर्ने बताएका छन् । प्लानले दोलखाको १६ गाविसलाई कार्यक्षेत्र बनाई कार्य गरिरहेको छ । प्लानले शैलुङ्गेश्वर गाविसमा बाँस, त्रिपाल, चामल, लत्ताकपडा र जस्ता वितरण गरेको थियो । स्थानीय समाजसेवी अरुण उपे्रती भन्नुहुन्छ, “दिउँसो सामान बाँड्ने भनेर राति बोलाइन्छ । सामान ढुवानी गर्ने भन्दै स्थानीयवासीहरुबाट पनि पाँच सय देखि सातसयका दरले रकम उठाएका छन् । प्लान नेपालले ठेकेदारलाई ढुवानीसम्मको रकम उपलब्ध गराएको हुन्छ, तर प्लानका कर्मचारीले यो सिधासिधा भूकम्पपीडित ठग्ने खेल गरे ।” जस्ता खरिद गरेका संखुवासभाका जस्ता सप्लायर्स कम्पनीका भानुभक्त कलादीले आफूले जस्ता खरिद मात्रै गरेको र वितरण र नपुगकाबारेमा प्लान नेपालका कर्मचारीलाई सोध्न आग्रह गरे । यता, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले प्लान नेपालले गरेको गल्ती पुष्टि भए कानुनी कारबाही गरिने बताउनुभएको छ । शैलुङ्गेश्वर वडा नं ८ का कुमार थपलियाले आफूलाई १८ पाता जस्तामा हस्ताक्षर गराएर १६ पातामात्रै जस्ता दिएको बताएका छन् । त्यस्तै, शैलुङ्गेश्वर वडा नं ८ का खड्गबहादुर थपलियाले पनि १८ पाता जस्तामा हस्ताक्षर गर्न लगाएर १६ पाता मात्रै दिन लागेपछि जस्ता नबुझेको बताउँछन् । उनी भन्छन् – पैसा पनि तिर्नु, जस्ता पनि कम पाउनु । त्यसैले मैले जस्ता बुझिनँ । स्थानीयवासी शिव थपलियाले प्लानको चरिकोट कार्यालयमा सूचना मागेर भरपाई अध्ययन गर्दा प्लान नेपालले राहत सामग्री बाँड्दा एउटै व्यक्तिलाई चार थरी सामान दिँदा चार थरीकै हस्ताक्षर भेटिएको तथ्य बाहिर आएको बताए । प्लान नेपालका अनुसार दसैं अगावै जस्ता स्थानीय जनतालाई बाँड्नुपर्ने जस्ता प्रतिकूल मौसम र बाटोको समस्याले गर्दा बाँड्न नसकिएको स्वीकारेको छ । वितरणमा केही त्रुटि भएको पनि उसले बताएको छ । यस विषयमा सोध्न खोज्दा प्लान नेपाल क्षेत्रीय कार्यालय चरिकोटका संयोजक चन्द्र कायस्थ टेलिफोन सम्पर्कमा आउन चाहनुभएन । प्लान नेपालका एक कर्मचारीले नाम नलेख्ने सर्तमा ठेकेदार र वडा नागरिक मञ्चको रोहबरमा विभिन्न राहत सामग्री बाँडिएको र स्थानीयवासीकै सहमतिमा पाँचसय देखि सातसयसम्मको ढुवानी रकम उठाएको बताएका छन् । प्लानले शैलुङ्गेश्वर गाविसमा मात्रै ४९९ परिवारलाई जस्ता वितरण गरेको बताएको छ । गोकर्णप्रसाद भण्डारी, रासस
पाटन अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि विवाद
पाटन, माघ २२ । नवजात शिशुको मृत्यु भएपछि मृतकका आफन्त र अस्पताल प्रशासनबीच विवाद भएको छ । अस्पतालको लापरवाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न नमानेपछि पाटन अस्पतालमा विवाद जन्मिएको हो । कास्की पोखराकी प्रमा थकाली श्रेष्ठको नवजात शिशुको शुक्रबार मध्यराति अस्पतालमै मृत्यु भएको घोषणा अस्पतालले गरेको थियो । आफन्तहरुले भने अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै सत्यतथ्य छानबीन गर्न माग गरेपछि विवाद चर्किएको हो । आफन्तहरुले मृतकको शव अहिलेसम्म बुझेका छैनन् । मृतक नाबालककी हजुरआमा अनिता धितालले अस्पतालले सुत्केरी हुँदादेखि अहिलेसम्मको रिपोर्ट उपलब्ध गराउन अस्पतालले नमानेको बताइन । पोखरा घइ भई हाल बसुन्धारा बस्ने प्रमाले अस्पताल भर्ना भएको गत माघ १७ गते दुई छोरा जन्माएकी थिइन् । उनको दुई नाबालकमध्ये पहिले जन्मेका बच्चालाई अस्पतालले शुक्रबार राति मृत्यु भएको घोषणा गरेको थियो । बालकलाई भएको समस्याबारे अस्पतालले बताउन नचाहे पनि उनलाई आइसीयूमा राखेर उपचार गराइएको थियो । मृतकका आफन्तले एन्टिवायटिक औषधि बढी खुवाएका कारण नाबालकको मृत्यु भएको आरोप लगाएका छन् । उनीहरुका अनुसार बच्चा जन्मेको १७ घण्टापछि औषधि दिइएको थियो । सामान्य प्रसुतीबाट जन्मेको बच्चाको मृत्यु हुन पुगेकाले सत्यतथ्य छानबिन गर्न मृतक नवजात शिशुका बुबा आशिष श्रेष्ठले माग गरे । उनकाअनुसार प्रमा थकाली पाटन अस्पतालमै चार महिनादेखि निरन्तर स्वास्थ्य जाँचमा थिइन् ।
संविधान संशोधन भएमात्र देशले निकास पाउँछः अध्यक्ष गच्छदार
सप्तरी, २२ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपालका अध्यक्ष विजयकुमार गच्छदारले परिमार्जनसहितको संविधान संशोधन भए मात्र देशले निकास पाउने बताउनुभएको छ । फोरम लोकतान्त्रिक नेपाल सप्तरीद्वारा आज राजविराजमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “संविधान संशोधनविना निर्वाचन गर्न खोजिए मुलुकमा द्वन्द्व बढ्नसक्छ ।” अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव पारित नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन सम्भव छैन् भन्दै स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन परिमार्जन गरी मधेसी मोर्चालाईसमेत सहमतिमा ल्याएर निर्वाचनको मिति तोक्नुपर्ने बताउनुभयो । पूर्व मेचीदेखी पश्चिम महाकालीका जनताहरु अधिकारका लागि आन्दोलनरत छन्, उहाँले भन्नुभयो — संविधान कार्यान्यनका लागि ठूला दलले संविधान संशोधन पछि मात्र निर्वाचनको कुरा ल्याउनुपर्छ । अध्यक्ष गच्छदारले संविधान संशोधन नभए संविधान कार्यान्वन पनि नहुने बताउँदै तीन ठूला दलबीच देखिएको समन्वय अभाव र भेदभावले देश क्रमिक रुपमा द्वन्द्वमा फस्दै गएको तथा यसबाट आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत असर परेको धारणा व्यक्त गर्नुभयो ।

