दृष्टिविहीन अमिटको सगरमाथा आरोहणका लागि सहयोग जुट्दै

म्याग्दी, माघ २६ । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा जुटेका एक दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिका लागि सहयोग जुट्न थालेको छ ।

अपाङ्गता भएका व्यक्तिले पनि समाज र राष्ट्रका लागि योगदान पुर्याउन सक्छन् भन्ने उदाहरण पेस गर्न बागलुङ जिल्ला सर्कुवा–२ का अमिट केसीले सगरमाथा आरोहण गर्न लागेका हुन् । आरोहणका लागि एकलाख अमेरिकी डलर अर्थात् करिब रु एक करोड खर्च हुने भएपछि केसी यति बेला विभिन्न सङ्घ संस्थामा सहयोगका लागि दौडधुपमा व्यस्त छन् ।

केसीको सहयोगार्थ मङ्गलबार बेनीमा जिल्ला प्रशासन कार्यालय र म्याग्दी उद्योग वाणिज्य सङ्घको पहलमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै सगरमाथा आरोहण गर्न लागेका दृष्टिविहीन केसीले सरकारले समेत आरोहणको लागि स्वीकृति दिइसकेको जानकारी गराउँदै आरोहणको लागि आवश्यक पर्ने खर्च जुटाउन सक्दो सहयोग गर्न आह्वान गर्नुभयो ।

उहाँले आगामी अप्रिल २ देखि जुन १० सम्ममा आरोहण गरिसक्ने गरी सरकारबाट आवश्यक प्रक्रिया पूरा गरी स्वीकृति लिइसकेको र आर्थिक सङ्कलनको लागि आफू सहयोगदाताको प्रतिक्षामा रहेको बताउनुभयो । केसीका अनुसार हालसम्म नेपाल सरकारले रु पाँच लाख सहयोग गरिसकेको छ भने लायन्स क्लबले समेत आवश्यक सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाइसकेको छ ।

केसीले सगरमाथा आरोहणको तयारीअन्तर्गत यस अघि २०७२ बैशाख ८ गते सोलुखुम्बु जिल्लामा रहेको आइसल्यान्ड पिक र २०७२ चैत ८ गते मेरापिक हिमाल आरोहण गरिसक्नुभएको छ । यसैबीच, केसीको सगरमाथा आरोहणमा सहयोग जुटाउनका लागि बेनीमा विभिन्न सरोकारवालालाई समावेश गरी एक समिति निर्माण गरिएको छ ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवनबहादुर विश्वकर्मा, लायन्स क्लबको तर्फबाट चन्द्रकुमार केसी, ठाकुरप्रसाद शर्मा, ओमकुमारी शान्ति कोषका उपाध्यक्ष हरिकृष्ण गौतम, प्राध्यापक रेखाकौशल रेग्मी, पत्रकार कमल खत्री र अपाङ्ग सङ्घ म्याग्दीका सचिव सुरेन्द्र केसी रहनुभएको समन्वय समितिले केसीको सहयोगार्थ आर्थिक सङ्कलनमा सहयोग गर्ने जनाइएको छ ।

सोही अन्तक्र्रिया कार्यक्रमकै अवसरमा रु ५५ हजार आर्थिक सङ्कलन समेत भइसकेको र विभिन्न क्षेत्रबाट आर्थिक सङ्कलन गरी केसीको सगरमाथा आरोहणमा सहयोग गरिने समितिले जनाएको छ ।

माओवादी नेता लोकेन्द्र विष्टले घर किन्न डेढ करोड उठाएको जनआस्थाको दावी

काठमाडौं, माघ २६ । माओवादी केन्द्रका नेता लोकेन्द विष्टले राजधानीमा घर तथा घडेरी जोड्न बिभिन्न व्यक्तिबाट डेढ करोड रुपैयाँ उठाएको जनआस्थाले दाबी गरेको छ । जन आस्था साप्ताहिकमा आज प्रकाशित समाचार अनुसार, नेता लोकेन्द्र विष्टले पेप्सीकोलामा घर किन्ने बेला नरेन्द्र गिरीसँग ३० लाख र अन्य व्यक्तिसँग गरी डेढ लाख उठाएका थिए । उनले घर किनेपछि पार्टीमा कुरा उठेपछि उनले पार्टी दक्षिणपन्थी भासमा जाकिएको भन्दै पार्टीबाट राजीनामा दिएको जनआस्थाको दाबी छ । पढ्नुस पुरै समाचार  

टेरियालाई गृह जिल्लामा भव्य स्वागत

तिलोत्तमा (रुपन्देही),  माघ २६ । भारतीय टिभी च्यानलमा ‘झलक दिखला जा’को उपाधि प्राप्त गर्न सफल रुपन्देही रुद्रपुरकी टेरिया फौजामगरलाई मङ्गलबार गृह जिल्लामा भव्य स्वागत गरिएको छ । टेरिया मगर फाउन्डेसनले बुटवलमा गरेको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अघिकारी, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारीलगायतले उनको सम्मान गरेका हुन् । बुटवलको बागेश्वरी सङ्गीतालयमा नृत्य कक्षा सुरुवात गरेकी टेरियाले सन् २०१४ मा भारतीय च्यानल जी टिभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’को लिटिल मास्टर्स प्रतियोगितामा प्रथम भएकी थिइन् । उनले हालै मात्र कलर्स टिभीबाट प्रसारण भएको ‘झलक दिखला जा’ को उपाधि समेत प्राप्त गरेकी थिइन् । फाउन्डेसनका अध्यक्ष कृष्णबहादुर फौजामगरले टेरियाले उपाधि जित्दा स्वदेश तथा विदेशबाट नेपाली दाजुभाइ दिदीबहिनीले एसएमएस र अनलाइन भोट गरेर गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । सो अवसरमा रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नेपाल र नेपालीको इज्जत विदेशी भूमिमा पुगेर राखेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । उहाँले टेरियाको जित सबै नेपालीको गर्व र उपलब्धि रहेको बताउनुभयो । उहाँले नेपाली परम्पराका नृत्यलाई विदेशी भूमिबाट नृत्यको माध्यमबाट अझ प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा स्थानीय विकास अधिकारी युवराज सुवेदीले टेरिया फाउन्डेसनसँग आवश्यक परे सहकार्य गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले जिल्ला विकास समितिले आवश्यक परेमा फाउन्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । यसैगरी, रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले टेरियालाई बधाई दिँदै फाउन्डेसनसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । रासस

बाघको आक्रमणबाट प्रहरी निरीक्षकसहित आठ घाइते

पर्सा, माघ २५। पर्साको महुवन गाविसमा जङ्गलबाट आएको एक बाघले आक्रमण गर्दा एक प्रहरी निरीक्षकसहित आठ जना घाइते भएका छन् । खेतमा काम गरिरहेका बेला अचानक जङ्गलबाट आएको बाघले आक्रमण गरेको थियो । पर्सा लखनपृर गाविस–९ का मोतीलाल यादव, आसमान राउत कुर्मी तथा रामनगरी–७ का महिन्दर सहनीलाई आक्रमण गरेको हो । बाघले आक्रमण परेपछि स्थानीय बासिन्दाले पर्सा प्रहरीलाई जानकारी दिएपछि अस्थाई प्रहरी चौकी महुवनका इन्चार्ज अरुण झा र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चक्र शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बाघलाई धपाउन खोज्दा बाघले प्रहरी निरीक्षक शाह र अरुण झालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ । यसैबीच, मानव वस्तीमा प्रवेश गरी सर्वसाधारणमाथि आक्रमण गर्ने बाघलाई आज अपरान्ह प्रहरीले गोली हानेर मारेको छ । बाघको आक्रमणमाबाट गम्भिर घाइते बनेका प्रहरी उपरिक्षकसहित अन्यलाई थप उपचारका लागि काठमाडौ लगिने भएको छ ।

पत्रकारितामा नयाँ विश्वविद्यालय आवश्यकः सञ्चारमन्त्री कार्की

काठमाडौँ, माघ २५ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेशामा नयाँ विश्वविद्यालयको आवश्यकता रहेको बताएकाछन् । कलेज अफ जर्नानिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी)ले आयोजना गरेको आमसञ्चार पत्रकारिता विश्वविद्यालयको स्थापनार्थ अन्तक्र्रिया कार्यक्रममा नेता कार्कीले पत्रकारितामा जिम्मेवार र विशिष्ठ व्यक्ति सिर्जना गर्न नयाँ विश्वविद्यालय आवश्यक रहेको बताएका छन् । सञ्चारमन्त्री कार्कीले भने, “सञ्चार माध्यम विशिष्टीकृत बन्दै गएको छ, त्यसका लागि जिम्मेवार र विशिष्ठ व्यक्ति सिर्जना गर्न नयाँ विश्वविद्यालय आवश्यक छ ।” उनले विश्वविद्यालय स्थापना गरेर पत्रकारिता पेशालाई स्तरीय बनाउनुपर्नेमा जोड दिए । सञ्चारमन्त्री कार्कीले हुलाक सेवालाई सामुदायिक सूचना केन्द्रका रुपमा विकास गर्ने र त्यसमार्फत स्थानीय रेडियोको नवीकरण तथा अन्य सूचना सम्प्रेषणको काम गर्न सकिने बताएका छन् । प्रत्येक गाउँपालिकामा राम्रा पत्रकारको आवश्यकता रहेको उल्लेख गर्दै पत्रकारलाई आत्मरक्षाका विषयमा पोख्त बनाउनुपर्नेमा मन्त्री कार्कीको जोड थियो । उनले पत्रकारले विचार निर्माणका लागि महत्वपूर्ण कार्य गर्न सक्ने धारणा व्यक्त गरेका छन् । सञ्चारमन्त्री कार्कीले सञ्चार क्षेत्र पारदर्शी भएमात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गरेका छन् ।

पत्याउनुहुन्छ ! साउनकै पानी पिउँछन रैनादेवी माविका शिक्षक विद्यार्थी

पाल्पा, माघ २५ । असार साउनको आकाशे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला । पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकाशे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् । खानेपानीको चर्को समस्या रहेपछि आकाशे पानीमा निर्भर छन्, त्यहाँका शिक्षक र विधार्थी । वर्षाको पानी सकिएपछि चैत वैशाखपछि गाउँ चारेर ल्याएको एक ग्रागो पानी दिनभरी पिएर बस्नुपर्ने बाध्यता उनीहरुको छ । वर्षातको थोपा–थोपा पानी संकलन गर्न पाइने भएपछि यहाँका शिक्षक विद्यार्थी वर्षा हुन थालेपछि खुशी हुन्छन् । खानेपानीको चर्को समस्याका कारण विद्यालयले असार–साउनमा वर्षातको पानी संकलन नगरेमा उनीहरु पानी पिउनबाट वञ्चित हुन्छन् । विस २०२९ मा स्थापना भएको विद्यालयमा अहिले ४५० जना विद्यार्थी र १५ दरबन्दीका शिक्षक, एकजना बाल शिक्षिका, एक जना लेखापाल र एक जना परिचर लगायतले वर्षातमा सङ्कलन गरिएका पानी पिउँदै आएका छन् । कक्षा ८ मा अध्ययनरतले भुवनपोखरी गोखुङ्गाका सुरज नेपालीले विद्यालयमा वर्षातको समयमा सङ्कलित पानी पिउन बाध्य भएको बताउँछन् । पानीको मुहान नजिक नरहेपछि दैनिक पानी बोक्नुपर्ने बाध्यता हटेको छैन, पढाइ भन्दा पिउने पानीको समस्या यहाँ चर्को रहेको उनी बताउँछन् । आकासे पानी सङ्कलनका लागि विद्यालयले १५ हजार लिटरको ट्याङ्की राखिएका छन् । असार साउनमा सङ्कलित पानी फागुनमा आएर सकिन्छ । खानेपानीको समस्या बढ्दै गएपछि विधालयले अहिले दस हजार लिटरको ‘घँैटो’ निर्माण गर्न थालिएको छ । निर्माणाधिन घौंटो प्रयोगमा ल्याउन केहि महिना लाग्ने भएकाले यसपालि फागुनमा विद्यालयमा सङ्कलित पानी सकिनेछ, त्यसपछि पानीको चर्को अभाव हुने विद्यालयका प्राधानाध्यापक ऋषिराम पोखरेलले जानकारी दिए । विद्यालय नजिकको क्षेत्रमा खानेपानीको मुहान नहुनु र लिफ्ट मार्फत पानी तान्न नसक्दा विद्यालयमा वर्षाको थोपा थोपा पानी सङ्कलन गरी विद्यार्थीले पिउनुपर्ने अवस्था रहेको विद्यालयका प्राधानाध्यापक पोखरेलले बताए ।

पत्रकार महासंघको चुनावका लागि ५ संगठनवीच कार्यगत एकता

बिर्तामोड, माघ २५। नेपाल पत्रकार महासंघ झापा शाखाको आसन्न १२ औं अधिवेशनको चुनावी मैदानमा जिल्लाका पत्रकारहरुको पाँचवटा क्रियाशील संगठनले कार्यगत एकता गर्ने घोषणा गरेका छन् । फागुन ७ गते हु्ने निर्वाचनका लागि पाँच संगठनबीच कार्यगत एकता गरी ‘व्यवसायिक पत्रकारको संयुक्त समावेशी प्यानल’ निर्माण गर्ने सहमति भएको आज सोमबार जारी संयुक्त विज्ञप्ति मार्फत् जनाइएको छ । नेपाल प्रेस युनियन झापाका अध्यक्ष कृष्ण हुमागाईं, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष टिकाराम उप्रेती, मिडिया नेपाल झापाका अध्यक्ष रञ्जित प्रसाईं, संघीय प्रेस फोरम नेपालका केन्द्रीय सदस्य डिकेश लामा र आदिवासी पत्रकार संघ झापाका अध्यक्ष पुकार राजवंशीले ती संगठनहरुवीच कार्यगत एकता गर्ने सहमति गर्दै हस्ताक्षर गरेका छन् । स्वतन्त्र पत्रकारहरुको समूहले समेत उक्त वृहत प्यानलसंग कार्यगत एकता गरेको छ । उक्त पाँच वाहेक बाँकी रहेका पत्रकारका दुई संगठन प्रेस चौतारी र फोनिजलाई पनि कार्यगत एकताका लागि आह्वान गरिएको छ । ती दुई संगठनबीच पनि कार्यगत एकता भए झापामा यो पटक महासंघको नेतृत्व सर्वसम्मत चयन हुने प्रेस युनियन झापाका कृष्ण हुमागाईंले बताए । तीन वर्षअघि प्रेस युनियन, प्रेस सेन्टर, आदिवासी पत्रकार संघ र स्वतन्त्र पत्रकारको प्यानलमा यस वर्ष मिडिया नेपाल र संघीय प्रेस फोरम समेत समावेश भई बृहत एकता कायम भएको हो । सवै संगठनले उक्त प्यानलबाट उठाउने अधिकांश उमेद्वारको नाम टुंगो लगाइसकेको र एक÷दुई दिनमै नाम घोषणा गरिने बताएका छन् । तीन वर्षअघि निर्वाचित उक्त संयुक्त प्यानलको नेतृत्वले महासंघ झापा शाखामा रहेर पत्रकारको हितमा काम गर्दै पत्रकार महासंघको गरिमा र मर्यादा उच्च राख्न निर्वाह गरेको भूमिका सबै झापाली पत्रकारले उच्च मूल्यांकन गरेको विज्ञप्तिमा जनाइएको छ । तीन वर्षअघि गरिएका महत्वपूर्ण कार्यलाई निरन्तरता दिंदै थप उन्नत र नविनतम् कार्यका लागि बृहत संयुक्त प्यानल बनाइएको प्रेस सेन्टरका अध्यक्ष टिकाराम उप्रेती बताउँछन् । पत्रकार महासंघलाई साझा र समावेशी मात्र होइन, व्यवसायिक पत्रकारको क्षमता वृद्धि, पत्रकारको सुरक्षा प्रत्याभूति, श्रमजीवि ऐनको कार्यान्वयन, झापाका सञ्चार संस्थाको विकासमा सहकार्य गर्ने उद्देश्यले संयुक्त प्यानल निर्माण गरिएको बताइएको छ ।

अव्यवस्थित फुटपाथ व्यवसायले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

चितवन, माघ २५ । चितवनमा अव्यवस्थित फुटपाथ व्यवसायका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । मुख्यगरी नारायणगढ बजार क्षेत्रमा अव्यवस्थित रुपमा फुटपाथ व्यवसाय सञ्चालन गर्दा पैदल हिँड्ने यात्रुसमेत प्रभावित भएको हालै गरिएको एक अध्ययनले देखाएको छ । जिल्लाको बजार तथा ट्राफिक व्यवस्थापनमा देखिएको समस्याबारे अध्ययनका लागि गठित कार्यदलले भरतपुर र नारायणगढ बजारमा अध्ययनमा क्रममा यस्तो समस्या बढेको जनाएको हो । कार्यदलका संयोजक तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष पन्तले भन्नुभयो– ‘दुर्इवटै बजारका फुटपाथे व्यवसायले पैदलयात्रीमात्र होइन समग्र ट्राफिक व्यवस्थापनलाई नै असर परेको छ ।’ यही माघ १२ गते सरोकारवाला प्रतिनिधिको सहभागितामा पन्तकै नेतृत्वमा सो कार्यदल गठन गरिएको थियो । कार्यदलले स्थलगत रुपमा गरेको अनुगमनपछि प्रस्तुत गरेको प्रतिवेदन कार्यान्वयनका लागि प्रचारप्रसारसँगै सहभागितामूलक कार्यक्रम गरेर बजार व्यवस्थापन गर्न प्रहरी तथा स्थानीयवासी सक्रिय भएका छन् । जसअनुसार सडकपेटीको हकमा पैदल यात्रीलाई बाधा पर्ने कुनै पनि व्यापार–व्यवसाय गर्न नदिने, पसल बाहिरसमेत सामान राखेर बिक्री गर्ने कार्यमा रोक लगाउने, फलफूल तथा तरकारी बजारलाई व्यवस्थित गर्ने, सडकपेटीको अतिक्रमण हटाउने निर्णय भएको प्रहरी उपरीक्षक दीपक थापाले बताउनुभयो । ट्राफिक व्यवस्थापनका लागि आजैदेखि अभियान सुरु भएको समेत उहाँले जानकारी दिनुभयो । यस्तै बजारक्षेत्रमा बैंक, बित्तीय संस्था र स्थानीय व्यवसायीकै सवारी साधन लामो समयसम्म पार्किङले समस्या भएको प्रतिवेदनमा उल्लेख छ ।

नयाँ सदस्यता सूचि लुकाइएको भन्दै पत्रकार महासंघका ३ जना केन्द्रीय सदस्यद्वारा बिरोध

काठमाडौं, माघ २३ । नेपाल पत्रकार महासंघमा नयाँ थपिएका सदस्यहरुका बारेमा केन्द्रीय सदस्यहरुलाई जानकारी नदिएको भन्दै तीनजना केन्द्रीय सदस्यले सार्वजनिक वक्तव्य जारी गर्दै बिरोध गरेका छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य, दीपेन्द्र कुँवर, रोशन पुरी र माधव दुलालले संंयुक्त विज्ञप्ती जारी गर्दै नयाँ थपिएका सदस्यहरुको सूचि केन्द्रीय समितिको बैठकबाट पारित गराउनुपर्नेमा लुकाउन खोजिएको आरोप लगाएका छन् । ‘सामाजिक सञ्जालदेखि मञ्चहरुमा पत्रकार महासंघको सदस्यता गैर पत्रकार र गैर नेपालीले समेत पाएको भनेर चर्चा चलेको बेला यो विषय पारदर्शी ढंगले अघि बढ्नुपर्नेमा नेपाल पत्रकार महासंघको केन्द्रमा समेत यसलाई अपारदर्शी ढंगले भागबण्डाका रुपमा अगाडि बढाउने काम भैरहेको उनीहरुको आरोप छ ।’ छ । संयक्त विज्ञप्तीमा भनिएको छ– “को सदस्य बन्दैछ रु त्यो सिंगो केन्द्रीय समितिलाई थाहा छैन । सामान्यतः नयाँ बन्ने सदस्यको सूचि केन्द्रीय समितिमा पेश भएर पारित हुनुपर्ने हो । तर त्यो काम अहिलेसम्म पनि भएको छैन । र, यो पुरै नियोजित छ ।” नेपाल पत्रकार महासंघको अधिवेशन पूर्व हुन लागेका जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पनि सदस्यताबारे केन्द्रीय सदस्यलाई जानकारी नदिनु गलत भएको भन्दै उनहिरुले तत्कालै नयाँ सदस्यबारे सबैलाई सार्वजनिक जानकारी दिन माग गरेका छन् । पुष २७ गतेको बैठकले नयाँ सदस्यताबारे सचिवालयमा छलफल गरी उपलब्ध केन्द्रीय समितिमा छलफल गर्ने निर्णय गरेको भएपनि त्यसको कार्यान्वयन नभएको संयुक्त वक्तव्यमा भनिएको छ, “समय घर्काउँदै हामीलाई असहमति राख्ने अधिकार पनि नदिने, सूचि पनि नदिने बरु चुनावको मिति नजिक ल्याएर थकाउने योजना बनाएको हाम्रो बुझाई छ उनीहरुले भनेका छन्– गैरले सदस्यता नपाओस, श्रमजीवी पत्रकार बाहिर नपरोस, काम पारदर्शी ढंगले होस ।

विपद् जोखिम न्यूनीकरणको लागि सडक नाटक

मेलम्ची, माघ २५ । विपद् जोखिम न्यूनीकरणका लागि अहिले मेलम्चीमा सचेतनामूलक सडक नाटक हुन थालेका छन् । मापदण्ड विपरित बनेका र निर्माण चरणमा रहेका भौतिक संरचनाले निम्त्याउन सक्ने क्षति र यसको न्यूनीकरण गर्नका लागि अपनाउनुपर्ने उपायका सम्बन्धमा सिन्धुपाल्चोक जिल्लाका विभिन्न गाविसमा सरकारी तथा गैरसरकारी सामाजिक सङ्घसंस्थाले अहिले सडक नाटकमार्फत सचेतना ल्याउने अभियानमा जुटेका छन् । भौतिक संरचना निर्माण गर्दा ‘भूकम्पप्रतिरोधी भवन निर्माण आचारसंहिता लागू गर्नुपर्ने विषयमा सबैलाई जानकारीका लागि उनीहरुले सडक नाटक कार्यक्रमलाई अभियानका रुपमा अगाडी बढाएका छन् । यसैक्रममा कारितास जर्मनी र कारितास नेपालको समन्वयमा जनहित ग्रामीण सेवा समितिले जिल्लाका बतासे, स्याउले, सिम्पाल काभ्रेलगायतका विकट गाउँमा यस सम्बन्धी सडक नाटक सञ्चालन गरेका छन् । अहिले गाउँघरमा आफू खुशीले घर बन्न थालिसकेका छन् । सरकारको मापदण्ड एकातिर छ त्यसलाई अनुशरण गरेर घर बनाउने व्यक्ति गाउँमा धेरै कम मात्रामा फेला पर्छन् । तर, यसतर्फ सरकारको ध्यान पुग्न नसकेकाले भूकम्प प्रतिरोधी भवन निर्माण आचारसंहिताअनुरुप भवन निर्माण गर्नका लागि जनचेतना जगाउन सडक नाटक अभियान सुरु गरिएको जनहित ग्रामीण सेवा समितिले जनाएको छ । २०७२ को विनाशकारी भूकम्पमा सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोकको अवस्था भूकम्पको २१ महिना बित्नै लाग्दा पनि चिन्ताजनक देखिन्छ । सरकारी अनुदान पाउने प्रक्रिया पीडितका लागि झन्झटिलो भएको गुनासो पीडित छ । एकमुष्ट रकम वितरण गर्न नसक्दा पीडितले अहिलेसम्म स्थायी आवस निमार्ण गर्नसकेका छैनन् । यस्तो अवस्थाले भविष्यमा झन् ठूलो विपत्ति निम्त्याउन सक्ने दावी स्थानीयको छ । सडक नाटकमार्फत चेतना जगाउनाले पीडितको मानसिकतामा सकरात्मक प्रभाव पर्ने संस्थाको दाबी छ । नाटक हेर्न विभिन्न गाउँबाट सयौंँको सङ्ख्यामा स्थानीयवासी भेला हुने गर्छन् । नाटकमा विपतका प्रकार र विपत् आइहालेमा त्यसको लागि के-के तयारी अपनाउनुपर्छ भन्ने विषयवस्तु समेटिएको समितिले जनाएको छ ।

सामुदायिक वनमा काठ तस्करी बढ्यो

गौशाला, माघ २५ । महोत्तरी जिल्लाको सामुदायिक वनमा केही समययता काठ तस्करीमा बृद्धि भएको छ । समुदायलाई हस्तान्तरण गरिएको पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत उत्तरको प्राकृतिक वनमा साल, साखु, सिसौँलगायतका मूल्यवान प्रजातिका पुराना रुखको तस्करी निक्कै बढेको पाइएको छ । वन गस्तीका क्रममा रुख काटेर तस्करीका लागि लैजान ठिक पारेको अवस्थामा सयौं क्युफिट काठ फेला परेपछि यहाँबाट काठको तस्करी व्यापक हुने गरेको रहस्य खुलेका छन् । तस्करीका लागि राखिएका त्यस्ता बरामद गरिएका काठ जिल्लाको लक्ष्मिनियाँस्थित वन विभागको सेक्टर कार्यालय परिसरमा अहिले भरिएका छन् । वन गस्तीले खयरमारा– ५ स्थित बाँके मरहा साझेदारी वनबाट सोमबार एक सय ९ क्युफिट बराबरको सात गिन्डा साखु जातको काठ बरामद गरेको छ । काठ व्यवसायीकाअनुसार बरामद काठको बजार मूल्य करिब रु तीन लाख अनुमान गरिएको छ । बाँके मरहा साझेदारी वनका अध्यक्ष रामलला साहकाअनुसार यसअघि पनि सोही साझेदारी वनबाट हजार क्युफिट बराबरका काठ बरामद गरिएका थिए । जिल्लामा यो समेत तीन साझेदारी र सात भन्दा बढी सामुदायिक वन छन् । वन पदाधिकारीकाअनुसार काठ चोरी तस्करी नियन्त्रण हुननसक्दा सबै वनको अवस्था एकै जस्तो छ । सागरनाथ वन विकास परियोजनाले लोकमार्ग दक्षिणको वन अधिग्रहणपछि परियोजना मातहतका जङ्गलभर सडक निर्माण गरेकाले पनि काठ तस्करलाई सहज बनेको जनाइएको छ ।

६७५ केन्द्रीय प्रतिनिधि छान्न देशभर एकैसाथ राप्रपाको जिल्ला अधिवेशन

काठमाडौँ, माघ २५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि आज देशभर जिल्ला अधिवेशन भइरहेको छ । आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि प्रतिनिधि छान्न अधिवेशन भइरहेको हो । देशका ७५ जिल्लामा एकै दिनमा सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त अधिवेशनमा प्रत्येक जिल्लाबाट नौजनाको अनुपातमा देशभरबाट ६७५ केन्द्रीय प्रतिनिधि छनोट गरिने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए । अधिवेशनबाट एक अध्यक्षसहित ६५ प्रतिशत सदस्यको निर्वाचन गरिने र बाँकी ३५ प्रतिशत सदस्य तथा पदाधिकारी मनोनीत गरिने उनले बताए । एउटामात्र निर्वाचन क्षेत्र रहेको जिल्लाबाट २५ सदस्य तथा १० वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ६५ सदस्य जिल्ला प्रतिनिधिका रुपमा छनोट हुने छन् । महाधिवेशन प्रयोजनका लागि पार्टीले करिब २० लाख साधारण सदस्यता वितरण गरेको बताइएको छ । स्थानीय धुम्बाराहीमा भइरहेको पार्टीको काठमाडौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट गर्ने प्रयास हुने बताइन्छ ।

स्थानीयवासीले लगाए गौशाला नगरपालिकामा ताला

महोत्तरी, माघ २५ । स्थानीयवासीले महोत्तरीको गौशाला नगरपालिकामा तालाबन्दी गरेका छन् । कार्यकारी अधिकृतले मनपर्दी ढङ्गले कार्यालय सञ्चालन गरेको भन्दै उनीहरुले तीन बुँदे माग राख्दै कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन् । गत माघ २० गते नगरपालिकाले निकालिएको बोलपत्रआह्वानको नतिजा पुनः परादर्शी ढङ्गले निकाल्नुपर्ने, प्रत्येक वडामा कार्यालय स्थापना गरी वडा सचिव खटाउनुपर्ने र कार्यालय प्रमुखले नियमित रुपमा कार्यालयमा उपस्थित हुनुपर्ने माग स्थानीयवासीको छ । कार्यकारी अधिकृतसंग यी समस्या समाधानका लागि पटक पटक आग्रह गर्दापनि त्यसलाई बेवास्ता गरेकाले बाध्य भएर कार्यालयमा तालाबन्दी गर्नुपरेको नागरिक वडामञ्चका पूर्वअध्यक्ष नवीनकुमार साहले बताए । नगरपालिकाको मूलढोकामा तालाबन्दी भएपछि सेवाग्राही मर्कामा परेका छन् ।

पत्रकार बोहराकी पत्नीलाई सहयोग

बाजुरा, माघ २५ । नेपाल पत्रकार महासङ्घ बाजुराले पत्रकार कर्णबहादुर बोहराकी श्रीमती ममताको उपचारका लागि रु १० हजार सहयोग गरेको छ । महासङ्घ सुदूरपश्चिम समन्वय समितिले जारी गरेको अभियानबाट सो सहयोग गरिएको महासङ्घ बाजुराका अध्यक्ष मदनराज जोशीले बताउनुभयो । ममताका दुवै मिर्गाैलाले काम नगर्ने भएपछि उपचारका लागि अभियान सुरु गरिएको सुदूरपश्चिम क्षेत्रीय संयोजक प्रकाशविक्रम शाहले जानकारी दिनुभयो । बोहराको उपचारका लागि हालसम्म रु चार लाख २३ हजार सहयोग जुटेको छ । रासस

गोठमा आगलागी, दुई बालबालिको मृत्यु

बागलुङ, माघ २५ । जिल्लाको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा सोमबार एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ । मृत्यु हुनेमा सात वर्षीय यमलाल विक र तीन वर्षीया सम्झना विक रहेका छन् । चुल्होमा बलिरहेको आगो एक्कासी खरले छाएको गोठमा सल्किँदा आगलागी भएको प्रहरीले जनाएको छ । अभिभावक नभएका बेला गोठभित्र बसिरहेका दुवै बालबालिका जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । मृतकका आमा पारु विक बिहानै घाँस काट्न बारीमा गएका बेला उक्त घटना भएको जनाइएको छ । विकका श्रीमान् ओमबहादुर विक भने रोजगारीका लागि विदेशमा रहेका छन् । विक बालबच्चासहित अस्थायी रुपमा उक्त गोठमा बस्दै आउनुभएको थियो । घटना भएको ठाउँ नजिकै बस्ती नभएकाले बालबालिकाको समयमै उद्धार हुन नसकेको जनाइएको छ । मृतक दुवै बालबालिकाको शव परीक्षणका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरीले जनाएको छ । रासस

म महिलालाई सहयोग गर्छु : नेता सिंह

काठमाडौँ, माघ २४ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले महिला सशक्तीकरणका आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् । सांसद राज्यलक्ष्मी श्रेष्ठको सहयोगमा दक्ष जनशक्ति विकास केन्द्रले आयोजना गरेको दुईदिने महिला नेतृत्व विकास प्रशिक्षणको उद्घाटन गर्दै उनले सम्पूर्ण महिलालाई स्थानीय निकाय निर्वाचनमा होमिन आह्वान गर्दै गरेका हुन् । महिला वर्गलाई नेतृत्व तहमा पु¥याउन हरेक पुरुषले सहयोग गर्नुपर्नेमा जोड दिँदै उनले उनीहरुलाई क्षमताअनुसार नेतृत्व दिन सक्नुपर्ने बताए । सांसद श्रेष्ठले सांसद विकास कोषबाट प्राप्त रकम महिला नेतृत्व विकासमा खर्चेको जानकारी दिँदै अवसरको खोजीमा रहेका नारीलाई आफूले सघाउने सन्दर्भमा कुनै कन्जुस्याईं नगर्ने प्रतिबद्धता व्यक्त गरे ।