प्रधानाध्यापकले रकम हिनामिना गरेको रहस्य खुल्यो
कालीकोट, माघ २७ । जिल्लाको पञ्चकोट आधारभूत विद्यालय फुकोटका प्रधानाध्यापकले छ वर्षको रु.२१ लाख ४१ हजार ६१४ हिनामिना गरेको रहस्य खुलेको छ ।
स्थानीय अभिभावकले विद्यालयका बारेमा पटकपटक हिसाब किताब माग गरेपछि अटेर गरेका निवर्तमान प्रधानाध्यापक चन्दाखर सञ्ज्यालले विगत २०६६ सालदेखि ०७२ सम्मको विद्यालयको छात्रवृत्ति, दिवा खाजा, निजी स्रोतका शिक्षकको तलब, महिला तथा दलित छात्रवृत्तिलगायतको रकम हिनामिना गरेको विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जसी रोकायाले बताउनुभयो ।
स्थानीय अभिभावकले विद्यालयका तत्कालीन प्रअ चन्दाखर सञ्ज्यालको छ महिनासम्मको तलब रोक्का गरेपछि जिल्ला शिक्षा कार्यालय कालीकोटमा दिएको निवेदनअनुसार जिल्ला शिक्षा कार्यालय कालीकोटका स्रोत व्यक्ति इन्द्रप्रसाद न्यौपाने संयोजक रहेको छानबिन समितिको टोलीले गरेको लेखा परीक्षणबाट सो रकम हिनामिना भएको पुष्टि गरेको हो ।
लामो प्रयासपछि विद्यालयका बारेमा चासो राख्ने अभिभावकको पहलमा हिसाब किताब गरिएको शिक्षक अभिभावक सङ्घका अध्यक्ष कालीबहादुर महताराले बताउनुभयो । सञ्ज्यालले बेरुजु आएको रकम आफूले तलबबाट क्रमशः तिर्दै जाने सहमति भएको विद्यालयका प्रधानाध्यापक जयराज न्यौपानेले बताउनुभयो।
सो विद्यालयका निजी स्रोतका तीन जना शिक्षकले चार वर्षसम्म पाउनु पर्ने तलब नपाए र चाहिएको बेला समस्या टार्नका लागि मात्र रकम पाउने गरेको बताएका छन् । यसअघि अख्तिायार अनुसन्धान आयोगले जिल्लाका सामुदायिक विद्यालयको आम्दानी र खर्चको विवरण जिल्ला प्रहरी कार्यालयबाट सङ्कलन गरेको भए पनि हालसम्म सो नतिजा आउन नसकेको बताइएको छ ।
कालीकोट जिल्लामा शिक्षा क्षेत्रमा व्यापक लापर्बाही बढेकोप्रति अभिभावक जुर्मुराउन थालेको अखिल नेपाल शिक्षक सङ्गठनका जिल्ला अध्यक्ष देवराज चौलागाईंले बताउनुभयो ।
इलाममा एकलाख ९३ हजार मतदाता, तीनहजार नयाँ थपिए
इलाम, माघ २७ । इलाममा एक लाख ९३ हजार पाँचसय ४८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। यसमा ९९ हजार दुईसय सात पुरुष र ९४ हजार तीनसय ३९ महिला र दुईजना तेस्रोलिङ्गी छन्। कार्यालयले सञ्चालन गरेको एकमहिने मतदाता अद्यावधिक कार्यक्रममा दुईहजार नौसय ३९ जना मतदाता थपिएका हुन्। पुष पहिलो सातादेखि माघ दोस्रो सातासम्म सञ्चालन गरेको अद्यावधिक कार्यक्रममा एकहजार ६ सय ३८ पुरूष र एकहजार तीनसय एक महिला मतदाता थपिएको जिल्ला निर्वाचन अधिकृत प्रेमकुमार काफ्लेले जानकारी दिए। स्थानीय निकायको निर्वाचनको चर्चा चल्न थालेपछि छुटेका मतदाताले धमाधम नामावली दर्ता गराउन थालेपछि मतदाताको सङ्ख्या वृद्धि भएको हो। कार्यालयले पछिल्लो चरणमा जिल्लाका ४३ गाविस र तीन नगरपालिकामा मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो। जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र जिल्ला निर्वाचन कार्यालयबाट पनि नियमित नामावली दर्ता कार्य भइरहेको काफ्लेले जानकारी गराए। वैदेशिक रोजगारीमा गएका नागरिक मतदाता नामावली दर्ता गराउन छुटेका छन्। सरकारले निर्वाचन मिति घोषणा गर्ने चर्चा चलिरहेका बेला जिल्ला निर्वाचन कार्यालयले कर्मचारी व्यवस्थापनसँगै निर्वाचनको तयारीमा जुटेको समेत उनले बताए। । “आयोगले लिखितरूपमा पत्राचार र निर्देशन दिएपछि द्रुतगतिमा काम अघि बढ्छ”, जिल्ला निर्वाचन अधिकृत काफ्लेले भने, “अहिले पनि तयारीमा लागिरहेका छौँ।”
दुईसय २५ परिवारलाई कम्बल वितरण
गौशाला, माघ २७ । नेपाल–भारत महिलामैत्री समाज काठमाडौंले महोत्तरी जिल्लाको मटिहानी गाविसका २२५ परिवारलाई आज कम्बल वितरण गरेको छ। माघ अन्तिम साता लागिसक्दा पनि महोत्तरीमा जाडो कम नहुँदा जाडोबाट प्रभावित मटिहानीका २२५ विपन्न परिवारलाई समाजले कम्बल वितरण गरेको हो । मटिहानीस्थित राम उमाविको प्राङ्गणमा समाजकी केन्द्रीय अध्यक्ष श्रीमती चन्दा चौधरीले मटिहानी– १ देखि ९ सम्मका २२५ विपन्न परिवारलाई कम्बल वितरण गर्नुभएको हो । महोत्तरीमा अझै पनि कठ्याङ्ग्रिदो असहनीय जाडो भइरहेको बेला समाजले स्थानीयलाई कम्बल वितरण गरेकोमा स्थानीय खुसी देखिएका छन् ।
राप्रपाका अञ्चल सचिवसहित ६ जनाद्धारा पार्टी परित्याग
बिर्तामोड, माघ २६ । राप्रपा नेपाल समेतको एकीकरण भई बनेको पार्टी राप्रपाले प्रजातान्त्रिक मान्यताभन्दा बाहिर गएर काम गरेको भन्दै सो पार्टीको विभिन्न जिम्मेवारीमा रहेका झापाका छ जनाले पार्टी परित्याग गर्दै स्वतन्त्र बस्ने घोषणा गरेका छन् । सो पार्टीका मेची अञ्चल सचिव कुमार भट्टराई, झापा संगठन विभाग सचिव पदम प्रसाईं, पूर्व केन्द्रीय परिषद सदस्य तथा क्षेत्रीय सदस्य जगन्नाथ खनाल, झापा क्षेत्र नं. २ का उपाध्यक्ष रोशन विमली, जिल्ला सदस्य दुर्गा रिजाल, तेजबहादुर थापा र जिल्ला परिषद सदस्य खड्गप्रसाद ओडारीले बुधबार संयुक्त विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् । राप्रपाका पूर्व जिल्ला सभापति लक्ष्मीप्रसाद ओडारीले समेत यसअघि नै पार्टी परित्यागको घोषणा गरेको बताइएको छ । ‘राप्रपा नेपाल एकीकरणपछि राप्रपा भएको वर्तमान अवस्थामा पार्टीले राष्ट्र, राष्ट्रियता, हिन्दूत्व र प्रजातान्त्रिक मूल्य मान्यताभन्दा बाहिर गई काम गरेको हामीलाई महशुस भएको छ’– विज्ञप्तीमा भनिएको छ – ‘यस कुराले झापाका हामीसहित हजारौं इमान्दार कार्यकर्ता दुःखी भएका छौं ।’ उनीहरुले ०४६ सालदेखि राप्रपामा आबद्ध भई विभिन्न जिम्मेवारीमा रहेर राजनीतिक सक्रिय भएको बताएका छन् । दोस्रो जनआन्दोलनपछि राप्रपा नेपालमा आबद्ध हुँदै संविधानसभा सदस्य निर्वाचनदेखि पार्टीका हरेक गतिविधिमा इमान्दारीपूर्वक आफूहरुले अग्रणी र प्रभावकारी भूमिका निर्वाह गर्दै आएको अवस्थामा कार्यकर्ताको भावना विपरित पार्टी अघि बढेको उनीहरुको गुनासो छ ।
हराएकी सत्र वर्षीया युवती मृत फेला
खोटाङ, माघ २७ । जिल्लाको दक्षिणी गाविस लिच्किराम्चे–८ की १७ वर्षीया रीता तामाङ मृत फेला परेकी छन् । मङ्गलबार रातिदेखि हराएकी रीताको खोजी गर्ने क्रममा सिम्पानी–७ स्थित जङ्गलमा बुधबार दिउँसो मृत फेला परेकी हुन् । सिम्पानी बजारको एक होटलमा काम गर्दै आएकी रीता बेलुकी आफ्नो घर नफर्किएपछि खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । सिम्पानीस्थित शिव खड्काको होटलमा काम गर्दै आएकी रीता बिहान काम गर्न होटल जाने र बेलुकी आफ्नो घर फर्कने गरेको उनका बुबा वीरबहादुर तामाङले जानकारी दिनुभयो । हराएकी रीताको खोजी गर्दा जङ्गल मडारिएको ठाउँ भेटिएको र उक्त ठाउँबाट करिब ४० मिटर तल उनलाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताउनुभयो । “घटनाको प्रकृति हेर्दा सामूहिक बलात्कारपछि उनको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ”, उहाँले भन्नुभयो, “रहस्यमय घटना भएका कारण थप अनुसन्धान भइरहेको छ ।” रीता एक महिनाअघि देखि मात्र सो होटलमा काम गर्दै आएकी बुबा वीरबहादुरले जानकारी दिनुभयो । मृतक युवतीको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी लगिएको प्रहरीले जनाएको छ । यसअघि गत शनिबार यौनसम्पर्क गर्न नमान्दा भोजपुरकी एक अविवाहित महिलाको हत्या गर्नमा संलग्न खोटाङका विवाहित पुरुष पक्राउ परेका छन् । भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महतको हत्या गरेर फाल्ने चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परेका हुन् । रासस
स्ववियुमा ‘सिण्डिकेटको कब्जा, पूर्ण समानुपातिक प्रणाली आवश्यक– ७ विद्यार्थी संगठन
काठमाडौँ, माघ २६ । विभिन्न साना दलनिकट सात विद्यार्थी सङ्गठनले आशन्न स्ववियु निर्वाचनमा पूर्ण समानुपातिक प्रणाली लागू गर्न माग गरेका छन् । ती सङ्गठनले त्रिभुवन विश्वविद्यालयको निर्वाचन प्रणाली, सिनेटमा भइरहेको ‘सिण्डकेट’ को खारेजी, फर्जी विद्यार्थी भर्ना रद्दबारे आफूहरुले यही माघ २१ गते बुझाएको ज्ञापनपत्रको सुनुवाई नभएकाले निर्वाचनको उचित वातावरण नभएको जनाएका हुन् । आगामी फागुन १४ गते स्ववियु निर्वाचन तोकिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय प्रजातन्त्रिक विद्यार्थी सङ्गठन, नेपाल लोकतान्त्रिक विद्यार्थी फ्रन्ट, नेपाल विद्यार्थी मञ्च, अखिल क्रान्तिकारी, राष्ट्रवादी विद्यार्थी सङ्घले आज संयुक्त विज्ञप्ति प्रकाशित गरी सो माग गरेका हुन् । रासस
तिनदिने पत्रकारिता तालिम सम्पन्न
ललितपुर, माघ २६ । नेपाल पत्रकार महासङ्घ ललितपुरको आयोजनामा ललितपुरको पाटनढोकामा भएको तीनदिने पत्रकारिता तालिम सकिएको छ । माघ २४ गतेदेखि सुरु भएको उक्त तालिममा ५१ जनाले पत्रिकारिता तालिम लिएका थिए । तालिममा प्रशिक्षक उजिर मगरले फिचर लेखन, शिव गाउलेले खोज पत्रकारिताबारेमा तालिम दिएका थिए । तालिममा सचेन रोक्का, प्रभुनरायण बस्नेत, प्रबेश सुवेदी लगायतले पत्रकारिता आचार सहिता, अनलाइन पत्रकारिता र बिकास पत्रकारिता तालिम दिएका थिए । तालिमको तेस्रो दिन पत्रकार महासङ्घ ललितपुरका सस्थापक अध्यक्ष धर्मरत्न शाक्यले सहभागीहरुलाई प्रमाणपत्र बितरण गद गरेका थिए । तालिमले रिपोर्टिङ गर्न सघाउ पुर्याएको तालिममा सहभागी सीतामैया श्रेष्ठले बताइन् । त्यस्तै तालिमबाट खोज पत्रकारिता गर्न र फिचर लेखनमा धेरै कुरा जानकारी पाएको प्रशिक्षार्थी प्रतीक्षा आचार्यले बताइन् । पत्रकारलाई बेला बेला तालिम हुनुपर्ने आवश्यकता लाई महसङ्घ ललितपुरले सुरु गरेकोमा प्रशिक्षक शिरोमणि ढुंगानाले प्रशंसा गरे । बिकास पत्रकारितालाई नेपालका मिडियाले बुझ्न नसकेको उनले बताए । बिकास पत्रकारितालाई हामीले राजनीतिमा प्रयोग गर्ने कोसिस गरेनौ समस्या यहि रह्यो उनले भने । जिबिस ललितपुरको सहयोगमा भएको तालिमबाट सहभागीको क्षमता अभिबृद्दी हुने अध्यक्ष लेखनाथ न्यौपानेले बिश्वास लिए । ‘सिकेको कुरा ब्यबहारमा उतार्नु पर्छ । जानेको कुरा लेख्नै पर्छ तर पत्रकार तथ्य र सत्यको नजिक रहेर बिश्वशनिए पत्रकारिता गर्नुपर्छ’ प्रशिक्षक उजिर मगरले भने । ललितपुर जिल्ला उपत्यका भए पनि यसका दुर्गम गाउमा हुन नसकेको बिकास बारेमा समाचार बन्न नसकेकोमा उनले गुनासो गरे ।
अझै भुक्तानी भएन अपार्टमेन्टको बिमा दाबी
काठमाडौँ, माघ २६ । भुइँचालोबाट भएको क्षतिको दाबी भुक्तानी नपाउँदा बिमितहरुलाई समस्या भइरहेको छ । प्राकृतिक विपत्तिबाट क्षति भएको २२ महिना बितिसक्दा पनि अपार्टमेन्टका बिमितले दाबी भुक्तानी पाएका छैनन् । काठमाडौँ उपत्यकाका ५१ वटा अपार्टमेन्टमध्ये अधिकांशमा भूकम्पले क्षति पु¥याएको थियो । बिमा समितिका अनुसार निर्जीवनतर्फ रु १६ अर्ब ८२ करोडको दाबी परेकामा रु १२ अर्ब ७२ करोड भुक्तानी भएको छ । यो सबै व्यक्तिगत दाबी हो । बहुतले (अपार्टमेन्ट) घरमा बस्दै आएका व्यक्तिले भने पाएका छैनन् । अझै रु.चार अर्ब १० करोड भुक्तानी हुन बाँकी छ । बिमा समितिले विपत्तिमा परेका अपार्टमेन्टको बिमा भुक्तानी दिन नसकिएको स्वीकार गरेको छ । बिमा कम्पनी र बिमितबीचको सहमति महत्वपूर्ण भएको बिमा समितिका पूर्व अध्यक्ष प्रा डा फत्तबहादुर केसीले बताउनुभयो । बसुन्धराको पार्क भ्यू होराइजन, डिल्ली बजारको अपार्टमेन्ट, सानेपाको स्टाटस इन भिलेज, झम्सिखेलको अपार्टमेन्ट, सिटी भ्यू अपार्टमेन्ट, ओरियन्टललगायतका अपार्टमेन्टमा भुइँचालोले क्षति पुर्याएको छ । तीमध्ये केही मर्मत भइसकेका छन् भने केहीले पुनःसञ्चालनको अनुमति लिएका छन् । एउटै अपार्टमेन्टले फरक फरक बिमा कम्पनीसँग बिमा गरेको पाइएको र बिमा कम्पनीअनुसार फरक नीति हुने भएकाले पनि भुक्तानीमा समस्या देखिएको बुझिएको छ । बिमित भुक्तानी पाउन नसक्नुमा कम्पनी र बिमितबीचमा केही अप्ठ्यारा रहेको बताउनुहुन्छ, पूर्व अध्यक्ष केसी । उनीहरुबीच सहमति भएपछि सबै समस्याको हल हुन्छ । निर्जीवनतर्फको व्यक्तिगत सबै दाबीको भुक्तानी भइसकेको तर अपार्टमेन्टका केही जटिलता भएकाले बाँकी रहेको बुझिएको छ । विशालनगर पार्क भ्यूको शिखर इन्स्योरेन्सले बिमा गरेको थियो । भुइँचालोमा क्षति भएको उक्त अपार्टमेन्टको बिमा दाबी शिखरले सबै भुक्तानी गरिसकेको जनाएको छ । भुइँचालोबाट भएको क्षतिको भुक्तानीको युनाइटेड इन्स्योरेन्स कम्पनीबाट भने चुक्ता हुन बाँकी भएको जनाइएको छ । निर्जीवन बिमा गर्ने १७ मध्ये अधिकांशले कुनै न कुनै अपार्टमेन्टको बिमा गरेका छन् । सरकारले भुइँचालोपछि रातो र हरियो स्टिकर टाँस्दाका बखत ध्यान नपुग्दा पनि समस्या भएको हो । अपार्टमेन्टको बिमा गर्दा एक भाग एक कम्पनी र अर्को भाग अर्को कम्पनीसँग गर्ने गरेकाले पनि त्यसमा समस्या आएको हो । त्यसलाई सुल्झाउन आवश्यक छ । बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंका अनुसार बिमा समितिले विपत्तिको समयमा भएका क्षतिका भुक्तानीलाई प्राथमिकता दिँदैआएको छ । सोहीअनुसार अधिकांश बिमितले भुक्तानी पाइसकेका छन् । निर्जीवन बिमालाई ग्रामीण जनता र भौतिक संरचनासम्म पु¥याउनुपर्ने उहाँको धारणा छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भुइँचालोबाट क्षति भएका सबै दाबीको भुक्तानी भइसकेको जानकारी दिनुभयो । उक्त कम्पनीमा ४६ वटा दाबी परेको थियो । दाबीको रु दुई करोड ४३ लाख भुक्तानी भइसकेको छ । बिमा क्षेत्र यतिका धेरै हुँदा पनि बिमक बढ्न नसक्नुका कारणबारे झा भन्नुहुन्छ, “बिमाका विषयमा आमजनतालाई बुझाउन सकिएन ।” हाल नौवटा जीवन बिमा कम्पनी र १७ वटा निर्जीवन बिमा कम्पनी सञ्चालनमा रहेका छन् । मुलुकको कुल जीवन बिमाको सात प्रतिशत र निर्जीवन बिमाको विविधीकरण हुन सकेको छैन । भुइँचालोसँग सम्बन्धित ३८० वटा बिमा दाबी परेको थियो । ती सबैले भुक्तानी पाइसकेका छन् । जीवन बिमा गर्नेको सङ्ख्या नै न्यून हुनु अहिलेको समस्या हो । बिमासम्बन्धी जनचेतना विस्तार गर्न नसकिएका कारण पनि यस क्षेत्रको विस्तार हुन सकेको छैन । सनराइज टावर धोवीघाट अपार्टमेन्टमा बस्न रुचाउने नेपालको पहिलो हेयर स्टाइलिस्ट नीलडेबिट कटुवाल भुइँचालोपछि आफ्नै घर बनाएर सर्नुभयो । उहाँले भन्नुभयो – “त्यो विपद्को समयमा मलाई धेरै त्रास भयो, त्यसपछि मेरो छोरा अपार्टमेन्टमा जान मानेन ।” भुइँचालोपछि अपार्टमेन्टको प्रयोगमा कमी आएको देखिएको छ ।
किसानका घरघरमा पोखरी
डोल्पा, माघ २६ । सिँचाइ सुविधा उपलब्ध गराउन किसानका घर घरमा पोखरी निर्माण गरिने भएको छ । जिल्ला कृषि विकास कार्यालयले केही हदसम्म भए पनि किसानको सिँचाइको समस्या कम गर्न उनीहरुलाई पोखरी निर्माणका लागि अनुदान दिन लागेको कार्यालयका योजना अधिकृत भानुभक्त भट्टराईले जानकारी दिनुभयो । सो कार्यक्रमअन्तर्गत पोखरी निर्माण गरेर वर्षादकोे पानी जम्मा गरी सिँचाइको सुविधा दिइने छ । यसवर्ष ७५ किसानलाई नमुनाको रुपमा प्रतिपोखरी रु १५ हजारका दरले रकम वितरण गरिने भट्टराईले बताउनुभयो । यहाँको कुल खेतीयोग्य जमिनको २० प्रतिशतमा मात्र सिँचाइको पहँुच पु¥याउन सकिएको कार्यालयले जनाएको छ ।
हात्ती पीडित किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन सिफारिस
कञ्चनपुर, माघ २६ । जङ्गली हात्तीको समूहले क्षति पुर्याएका कञ्चनपुरका ९८ किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन सिफारिस गरिएको छ । कञ्चनपुर जिल्ला वन कार्यालयले उखु र गहुँबालीमा हात्तीले क्षति पु¥याएका पुनर्वासका ६८ र बेदकोट नगरपालिकाका ३० किसानलाई चालु आवमा क्षतिपूर्ति रकम उपलब्ध गराउन धनगढीस्थित क्षेत्रीय वन निर्देशनालयमा सिफारिस पठाएको हो । पुनर्वासका ६८ जनालाई क्षतिको मूल्याङ्नका आधारमा रु एक हजारदेखि रु १० हजारसम्म उपलब्ध गराउने गरी रु पाँच लाख ९८ हजार र बेदकोट नगरपालिकाका ३०० जनालाई रु तीन लाख क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि सिफारिस गरिएको कार्यालयका नायब सुब्बा ईश्वरीदत्त पाण्डेयले बताउनुभयो । क्षतिपूर्तिका लागि कार्यालयमा अझै १३३ जनाले दिएको निवेदनमाथि छानबिन भइरहेको जानकारी दिंदै उहाँले आव २०७२/७३ मा पुनर्वास नगरपालिकाको धानबालीमा हात्तीले क्षति पु¥याएका ६४ जना किसानलाई क्षतिपूर्तिबापत रु तीन लाख ९३ हजार र आव २०७२/७३ मा सोही नगरपालिकाका उखु र गहुँ बलीमा हात्तीले नोक्सानी गरेका ४५ जना किसानलाई रु तीन लाख नौ हजार ३०० क्षतिपूर्ति रकम उपलब्ध गराइएको थियो । कृषि सेवा कार्यालय, सामुदायिक वन र प्रहरीको मुचुल्काका आधारमा राहत सिफारिस वितरण समितिले क्षतिपूर्तिको मूल्याङ्कन गरी किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । यसैगरी, आव २०७२/७३ मा हात्तीको आक्रमणमा परी ज्यान गुमाएका परासन–६ का गर्भुराम चौधरीका परिवारलाई रु तीन लाख २३ हजार र आव २०७३/७४ मा हात्तीकै आक्रमणमा परी ज्यान गुमाएका सुन्दरीदेवी डगौराका परिवारलाई क्षतिपूर्तिबापत रु पाँच लाख रकम जिल्ला वन कार्यालयले उपलब्ध गराएको छ । भारतीय दूधुवा नेसनल पार्कबाट नेपाली बस्तीमा छिर्ने जङ्गली हात्तीको समूहले बर्सेनि यहाँका किसानको जीउधन र अन्नबालीको नोक्सानी गर्दै आएको छ । वन कार्यालयले ठाउँ ठाउँमा हात्ती भगाउनका लागि साइरन जडान गर्ने कार्यसँगै इलाका वन कार्यालयमार्फत जनचेतना फैलाउने कार्यसमेत अगाडि बढाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा वन कार्यालयले स्थानीय बासिन्दाको जीउधन र खेतीको सुरक्षाका लागि हात्ती भगाउने कार्यसमेत गर्दै आएको छ ।
चार हजारभन्दा बढीले पुनःनिर्माण अनुदान नपाउने
बनेपा, माघ २६ । काभ्रेपलाञ्चोकमा चार हजार १३३ परिवारले सरकारले उपलब्ध गराउने आवास पुनःनिर्माण अनुदान नपाउने भएका छन् । साविकको घर बस्नयोग्य भएको र अन्य ठाउँमा पनि सुरक्षित बासस्थान भएकाले उनीहरुले आवास पुनःनिर्माण अनुदान नपाउने भएको जिल्ला विकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । यो पहिलो चरणमा आएको तथ्याङ्क हो अन्य पनि क्रमशः आउँछन् उहाँले भन्नुभयो । विसं २०७२ मा गएको भूकम्पका कारण घर क्षति भएको र पुनःनिर्माण प्राधिकरणले प्रकाशन गरेको सूचीमा नाम नपरेको भन्दै २१ हजार ९१९ जनाले गुनासो फारम भरेका थिए । तीमध्ये पहिलो चरणमा आठ हजार ३२८ जनाको गुनासो सम्बोधन भएको छ । सम्बोधन भएको गुनासोमध्ये जिल्लाको बनेपा, पनौती नगरपालिका र अन्य विभिन्न ३४ वटा गाविसको भएको जानकारी दिँदै अधिकृत ढकालले पुनःनिर्माणका लागि भूकम्पपीडितलाई दोस्रो किस्ताको रकम वितरणको तयारी भइरहेको बताउनुभयो । प्राधिकरणले आठ हजार ३२८ मध्ये दुई हजार १५८ जानको तथ्याङ्क नभेटिएको भन्दै पुनःसर्वेक्षण गर्नुपर्ने, एक हजार ६१४ जनाको बहुस्वामित्वमा रहेको र पुनरावलोकनबाट लाभग्राहीको सूचीमा नाम समावेश गरिएको ४२३ जनाको नाम बेमेल तथा अपूरो सूचना भएकाले स्थलगत निरीक्षण गर्नुपर्ने भन्दै जिल्ला विकास समितिलाई पत्राचार गरेको छ ।
सिमसारमा डुबेर एक वृद्वको मृत्यु
मोरङ, माघ २६ । मोरङको उर्लाबारी–७ स्थित बेतेनी सिमसारमा डुबेर आज दिउँसो एक वृद्धको मृत्यु भएको छ । मादक पदार्थ सेवन गरेर सिमसारको पोखरीमा पौडी खेल्न पसेका उर्लाबारी–७ कै ६३ वर्षीय वृद्ध रत्नबहादुर भण्डारीको मृत्यु भएको हो । मृतक भण्डारीको शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।
ताकमवासी घरघरमा खानेपानी पुर्याउने अभियानमा
म्याग्दी, माघ २६ । ताकम गाविसका सबै बस्तीमा सडक सञ्जाल विस्तार भएपछि यहाँका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा उपलब्ध गराउन जुटेका छन् । जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा रु दुई करोड ६७ लाख ८८ हजार ५५५ को लागतमा कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा ल्याउन लागिएको हो । आगामी वर्ष २०७४ चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ताकमको ३, ४, ५, ६ र ९ नं वडाका ३५६ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । यसैगरी खानेपानी तथा सरसफाइ सवडिजिभन कार्यालयले ७ र ८ नं वडाका लागि यसवर्ष रु ७० लाखको ताकम खानेपानी आयोजना सञ्चालन गरेको छ । वडा नं १ र २ मा पर्ने धारापानीमा पनि यस वर्षदेखि नयाँ आयोजना सञ्चालन हुने कार्यालयले जनाएको छ । आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको तीनवटै आयोजनामार्फत मिटरसहितको निजी धाराबाट खानेपानी वितरण हुने जनाइएको छ । पर्याप्त स्रोत र व्यवस्थित संरचनाको अभावमा खानेपानीको समस्या झेल्दै आएका ताकमका बासिन्दा छिटो आयोजना सम्पन्न गर्नका लागि श्रमदानमा जुटेका छन् । एउटा घरबाट ६५ दिनका दरले श्रमदान गर्दैछौं’, उपभोक्ता गोपाल आचार्यले भन्नुभयो– ‘खानेपानी अभावको समस्या समाधानका लागि आयोजना लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीमा छौं ।’ देवीस्थान र ताकम गाविसको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमूलको मुहानबाट प्रतिसेकेन्ड चार लिटरका दरले पानी आपूर्ति गर्ने लक्ष्य रहेको कोतखोला तेस्रो आयोजनाको हालसम्म १५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । आयोजनाको १३ मध्ये सातवटा रिजर्भ ट्यांकी निर्माण र पाइपलाइन खन्ने काम तीव्र पारिएको परियोजनाका असिस्टेन्ट सव–इञ्जिनियर यामबहादुर हर्मेलले बताउनुभयो ।
कहाँ कहाँ छन् रामदेवका उद्योग र जग्गा–जमिन ?
स्थापना भएको १० वर्षमा एउटा कम्पनी संसारका ठूलाठूला कम्पनीहरुका लागि चुनौती बन्नसक्छ भन्ने कुरा कसैले सोचेका पनि थिएनन् होला । तर ९ वर्ष अघि स्थापना भएको पतञ्जली आयुर्वेद कम्पनी अहिले ठूला ठूला कम्पनीका लागि टाउको दुखाई बनेको छ । अहिले बिभिन्न टेलिभिजन कम्पनीहरुले योग गुरु रामदेवको ब्यानरदेखि उनका उत्पादनहरुको प्रचार गर्न थालेका छन् । रामदेवको कम्पनी सयौं हजार करोडको साम्राज्य बनाउन सफल भएको छ । सन् २०१५, १६ मा यो कम्पनीको कमाई ५ हजार करोड पुगेको थियो । सन् १६ मा यो झनै आकाशिएको अनुमान छ । वर्ष २०१६, १७ मा कम्पनीले १० हजार करोड कमाई गर्ने लक्ष बनाएको छ । विगत पाँच वर्षमा यो कम्पनीले कमाईमा दश गुणा छलाङ मारेको छ । यसका पछाडि कम्पनीको व्यापक बिस्तार गरिनु हो । कम्पनीले भारतका आसामदेखि उत्तराखण्ड र नेपालसम्म जग्गा लिएर उद्योग स्थापना गरेको छ । आसाम पतञ्जली आर्युवेदको आसामको तेजपुरमा हर्बर मेगा फूड पार्क रहेको छ । यसका लागि १ सय ५० एकड जमिन दिइएको छ । आसामका उद्योग मन्त्रीसँग रामदेवले थप ३३ एकड जमिनको माग गरेका छन् । १२ सय करोड रुपैयाँको यो पार्कमा वार्षिक १० लाख टन उत्पादन क्षमता हुने निर्माण संयन्त्र स्थापना गरिएको छ । यो यसैवर्ष मार्चमा पुरा हुने बताइन्छ । नोयडा उत्तर प्रदेश सरकारले गत वर्ष नोभेम्बरमा पतञ्जली आयुर्वेदलाई ग्रेटर नोयडामा २ हजार करोड रुपैयाको फूड पार्क बनाउने अनुमति दिएको थियो । यतिमात्रै होइन यो युनिटका लागि यमुन एक्सप्रेसमा ४ सय ५० एकड जमिन उपलब्ध गराउन समेत सरकार सहमत भएको छ । यो उद्योग पूर्ण क्षमतामा काम गर्न थालेपछि वार्षिक २५ हजार करोडको उत्पादन तयार गर्ने बताइन्छ । मध्य प्रदेश मध्य प्रदेशको धार जिल्लामा पतञ्जली आर्युवेदले ५ सय करोडको फूड प्रोसेसिङ यूनिट लगाइरहेका छ । यसका लागि शिवराज सिंह चौहानले उनलई ४ सय एकड जमिन दिन बताएका छन् । महाराष्ट्र नागपुरमा पतञ्जली मेगा फूड र हर्बल पार्कको आधारशील खडा गरिएका छ । यो फूड पार्क २ सय ३० एकडमा फैलिएको छ । पतञ्जली आयुर्वेदलाई मध्य र पश्चिमी भारतको बजारमा पुर्याउने यसको रणनीति छ । आन्ध्र प्रदेश पतञ्जलीले दक्षिण भारतको कृष्णापटनम पोर्ट वरिपरिको क्षेत्रमा उद्योग स्थापना गर्ने योजन बनाएको छ । यसका लागि नेल्लोर जिलाबाट कारोबार शुरु गरिने बताइएको छ । हालैमात्र रामदेव र बालकृष्ण उक्त औद्यौगिक क्षेत्रका निरिक्षण गरेर फर्किएका छन् । हरिद्वार अहिले भने सबैभन्दा ठूलो उद्योग इकाई हरिद्वारमा रहेको छ । पतञ्जली फूड एण्ड हर्बल पार्कमा बिभिन्न इकाईहरु काम गरिरहेका छन् । नेपाल नेपालमा समते पतञ्जलीले आफ्नो पाइला राखेको छ । हालैमात्र रामदेशले बारामा पतञ्जलीको उत्पादन हुने र सयौंले रोगजारी पाउने घोषणा गरेका थिए । स्कटल्याण्ड स्कटल्याण्डमा पतञ्जली योग ट्रष्टको एउटा आफ्नै आइल्याण्ड समेत रहेको छ । यूरोपमा यो कम्पनीको कारोबारलाई रेखदेख गर्न श्याम र सुनिता पोद्धारले लिटिल कम्ब्री आइल्याण्डलाई दान दिएका थिए । विविसीबाट
आयोग कार्यालय जिल्ला तहसम्म हुनुपर्ने माग
बाजुरा, माघ २६ । दलित आयोगको कार्यालय जिल्ला तहसम्म पनि हुनुपर्ने बाजुराका दलित अगुवाले माग गरेका छन् । दलित समुदायको सहज पुहँच र सहभागिता रहने गरी केन्द्र प्रदेश र जिल्ला तहमा दलित आयोगको कार्यालय राखिनुपर्नेमा उनीहरुले जोड दिएका छन् । व्यवस्थापिका-संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आयोजनामा मंगलबार सञ्चालन गरिएको राष्ट्रिय दलित आयोग विधेयक–२०७३ को छलफलमा सहभागीले सो कुरा बताएका हुन् । ऐन कानुन निर्माण भएपनि न्यायमा पहुँच अहिलेसम्म हुन नसकेकाले त्यसका लागि आयोगको कार्यालय जिल्ला तहमै राखिनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय दलित आयोग विधेयक-२०७३ निर्माण उपसमिति संयोजक दुलारी हरिजनको अगुवाइमा आएको सांसदको टोलीले दलित समुदायका समस्या, वर्तमान अवस्था र संसद्मा पेस भएको विधेयकमा छुटेका र समेट्नु पर्ने विषयबारे सुझाव सङ्कलन गर्न कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता महेश शाही, नेकपा (एमाले) का काशी विक, नेपाली काँग्रेसका वीरबहादुर विक, माओवादी केन्द्रका बिनिता विक, पत्रकार प्रेम विकलगायतले विधेयकमा थप्नुपर्ने विषयबारे सुझाव दिएका थिए भने अन्य सहभागीले दलित समुदायले भोग्नुपरेका समस्या, दलित भएरै पनि सामाजिक सुरक्षा भत्ता नपाएको विषयलाई जोडदार उठाएका थिए । दलित भएर दोस्रो दर्जाको नागरिकका रुपमा हेरिएको र राजनीतिक दलका नेताले पनि भोटका लागि मात्र प्रयोग गर्ने गरेको प्रतापे आउजीले गुनासो गर्नुभयो । सांसद कमला घिमिरे सुवेदी र सांसद नरबहादुर थापा मगरले कार्यक्रमको उद्देश्यबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । आठ पृष्ठ लामो विधेयक सांसद चम्पा खड्काले प्रस्तुत गर्नुभएको थियो । विधेयकबारे सुझाव लिन टोली सप्तरी र बाजुरामा आएको हो । दलित समुदायका पीडा र गुनासा बढी भएको र राज्यको नजरभन्दा टाढा परेको जिल्लालाई रोजेर कार्यक्रम गरिएको उपसमिति संयोजक दुलारी हरिजनले बताउनुभएको छ । कार्यक्रममा दलित समुदायलाई सामाजिक सुरक्षा भत्ता नदिएको, स्थानीय प्रशासन र जिल्ला विकास समितिले कमजोरी गरेको जस्ता गुनासा आएपछि सांसद खडक बस्यालले तत्काल आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई दिनुपर्ने सेवा सुविधा उपलब्ध गराउनु निर्देशन दिनुभएको छ । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी भीमबहादुर शाही र स्थानीय विकास अधिकारी प्रकाशराज पौडेलले आफ्नो तहबाट कुनै कमजोरी नभई माथिल्लो निकायले नै अख्तियारी नदिएकाले समस्या भएको, त्यो सहज भए आफूहरु जुनसुकै बेला पनि दिन तयार रहेको बताउनुभयो ।
त्रिचन्द्रमा गुण्डागर्दी र भ्रष्टाचार हटाउने रावलको दावी, गंगालाल छात्रवृत्तिको घोषणा
काठमाडौं, २५ माघ । राजधानीको त्रिचन्द्र क्याम्पसमा गरीब तथा जेहन्दार विद्यार्थीलाई सहयोग गर्न छात्रवृत्तिको स्थापना गरिएको छ । अखिल क्रान्तिकारी त्रिचन्द्र क्याम्पस समितिको आयोजनामा भएको एक कार्यक्रममा अखिल (क्रान्तिकारी)बाट स्ववियुमा अध्यक्ष घोषणा गर्नुभएका केशव रावलले छात्रवृत्ति कोषको उद्घाटन गरेका थिए । वीर सहिद गंगालालको कलेजमा गंगालाललाई बिर्सिदै गएको आभास भएकोले त्रिचन्द्र क्याम्पसमा पढ्ने गरिव तथा जेहन्दार विद्यार्थी लाई छात्रवृत्तिको निम्ति गंगालाल मेमोरियल स्कलरसिप फन्डको स्थापना गरिएको रावलले बताए । कार्यक्रममा बोल्दै सभापतिका उम्मेद्वार रावलले पुस्तकालय तथा प्रयोगशालाहरुको यावत् समस्या समाधान गर्दै त्रिचन्द्रलाई नमुना कलेजको रुपमा विकास गर्ने घोषणा समेत गरे । आफूलाई विजयी गराएमा त्रिचन्द्रबाट भ्रष्टाचार र गुन्डागर्दी अन्त्य गर्ने प्रतिवद्धता जनाएका छन् । त्रिचन्द्रमा व्याप्त भ्रष्टाचार र गुन्डागर्दी हटाउन आफ्नो उमेद्वारि रहेको रावलले स्पष्ट पारे । अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष क। मदन प्रभातको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रभातले अखिल (क्रान्तिकारी)ले त्रिचन्द्रमा आफ्नो झण्डा फरफराउने पक्का रहेको उद्घोष गरे । उक्त कार्यक्रममा बोल्दै बरिस्ठ साहित्यकार बलराम तिमल्सिनाले क्रान्तिकारी ले जिते मात्रै त्रिचन्द्र क्याम्पसको मुहार फेर्न सक्ने भएकोले केशव रावललाई अध्यक्षमा अत्याधिक बहुमतले बिजयी गराउन बिद्यार्थीलाई आग्रह गरेका थिए । अखिल (क्रान्तिकारी) को आयोजनामा भएको गजल प्रतियोगितामा ४७ जना गजलकारको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बरिस्ठ गजलकार तथा नाटककार पुरु लम्साल , उदयमान गजलकार कमल संघर्षले आफ्नो गजल सुनाएका थिए । गजल प्रतियोगितामा प्रथम, द्वितीय , तृतीय र सान्त्वना लाई क्रमशः ३,००० , २,००० , १,००० र ५०० को साथमा गजलका कितावहरु प्रदान गरिएको थियो ।।

