पुनमगर बाबुरामको नयाँ शक्तिमा प्रवेश
काठमाडौं, फागुन १ । संघीय समाजवादी पार्टीको वैकल्पिक केन्द्रीय सदस्य तथा संघीय प्रेस युनियनका कोषाध्यक्ष रहेका मनबहादुर पुनमगर नयाँ शक्तिमा प्रवेश गरेका छन् ।
पुनमगरलाई नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसहित नयाँ शक्तिका नेताहरु परशुराम तामाङ, खिमलाल देवकोटा, नवराज सुवेदीले पार्टी प्रवेश गराएका छन् ।
संघीय समाजवादी पार्टी स्थापनादेखि नै सक्रिय रुपमा कार्यरत रहेका मगरले अब पुराना राजनीतिक पार्टीहरुबाट देशको राजनीतिक परिवर्तन र आर्थिक समृद्धि संभव नहुने भन्दै नयाँ शक्तिमा प्रवेश गरेको नयाँ शकितका नेताले जानकारी दिएका छन् । ।
अब पुराना दलहरुबाट देशको विकास र समृद्धिको एजेण्डा अगाडि बढ्न नसक्ने ठहर गर्दै आफू नयाँ शक्तिमा समाहित भएको पुनमगरले शनिबार जारी गरेको प्रेस विज्ञप्ती उल्लेख छ ।
‘नेपाली समाजको बनावट अनुसारको राजनीतिक समावेशिता र आर्थिक समृद्धिको मुख्य एजेण्डामा अबको वैकल्पिक शक्तिका रुपमा स्थापित नयाँ शक्ति पार्टी नेपालले मात्र नेतृत्व गर्न सक्छ भन्ने विश्वासका साथ आजकै मितिदेखि संघीय समाजवादी पार्टीको सदस्यता समेत नरहेनगरी नयाँ शक्ति पार्टीमा प्रवेश गरेको घोषणा गर्दछु’ उनीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
बरियता मिच्ने देउबाको विशेषता, मोतिलालदेखि जयबहादुर चन्दसम्म
काठमाडौं, फागुन १ । अन्ततः नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाको चर्को दबाबमा तेश्रो बरियाताक्रमका जयबहादुर चन्द नेपाल प्रहरीको महानिरिक्षकमा नियुक्त भएका छन् । आइतबार बिहानै ८ बजे एकल एजेण्डा राखेर डाकिएको मन्त्रीपरिषदको बैठकमा प्रधानमन्त्रीको इच्छा र अडान विपरित चन्दको पक्षमा निर्णय भयो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीको समेत जोड बल चलेन र सत्ता गठबन्धनमा सहभागी नेपाली कांग्रेसका सभापतिको अडानले स्वीकृति पायो । नेपाल प्रहरीको प्रमुखको दौडमा अन्य तीन प्रहरी नायब महानिरीक्षकहरु नवराज सिलवाल, प्रकाश अर्याल र बम बहादुर भण्डारी पनि थिए। अहिलेको संयुक्त सरकार र चुनाव गराउनै पर्ने अवस्थालाई मध्यनजर गरेर मन्त्रिपरिषदले यो निर्णय गरेको हो । मन्त्रिपरिषदले नियुक्त गरेका चन्द चार दाबेदारहरु मध्ये वरिष्ठताका आधारमा तेश्रो स्थानमा थिए। अन्तिमसम्म प्रचण्डको अडान प्रधानमन्त्री प्रचण्डले भने सुरक्षा निकायलाई चुस्त दुरुस्त राख्न चेन अफ कमाण्ड र बरियताक्रमलाई मिच्न नहुने अडान राख्दै आएका थिए । प्रधानमन्त्रीले पहिलो वरियताक्रममा रहेका नवराज सिलवाललाई नै महानिरिक्षक बनाउनुपर्ने बताउँदै आएका थिए । नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रहेका विमलेन्द निधिले समेत सिलवाललाई नै बनाउनुपर्ने अडान लिएका थिए । तर क्षेत्रीय नाता राखेर शेर बहादुर देउबाले चन्दलाई नहटाए सरकारबाटै समर्थन फिर्ता लिनेसम्मको अडान लिएपछि नियम, कानुन र वरियताको स्खलन भएको हो । अझ अचम्म त के भयो भने यो विषयमा चन्दलाई आइजीपी बनाउन यति बिहानै मन्त्रीपरिषदको आकस्मिक बैठक डाकियो । सर्वोच्च अदालतमा अधिवक्ता कपिलदेव भट्टले रिट दायर भएको कारण देउबा आत्तिएको कतिपय श्रोतले बताउँछ । प्रचण्डले भने अन्तिमसम्म वरियताक्रम नमिच्न देउबासँग छलफल गरेका थिए । तर देउबा मानेनन । “देउबालाई यो विषयले सिँगो सुरक्षाबलको मनोबलमा नै असर गर्छ । प्रहरी संरचनामा नै असर पर्छ भनेर अध्यक्षले भन्नुभयो, तर देउबा टस न मस पनि भएनन् । उनको अडान एउटै थियो– जे सुकै होस् चन्दलाई बनाउनुस्” श्रोतले भन्यो । सत्ता साझेदार प्रमुख दलका सभापतिले यसरी अडान लिएपछि प्रधानमन्त्री प्रचण्डसँग समेत कुनै उपाय बाँकी रहेन । हतारमा मन्त्रीपरिषदको बैठक बोलाइयो र निर्णय गरियो । यतिसम्म कि यो विषयमा मन्त्रीपरिषदमा यो विषयमा कुनै छलफल समेत भएन । सोझै निर्णय गरियो । बरियता मिच्ने कलामा माहिर देउबा देउबाले नेपाल प्रहरीको संरचना भत्काएको यो पहिलोपटक भने होइन । उनले यसअघि पनि आफू गृहमन्त्री भएको बेला मोतिलाल बोहरालाई बरियताक्रम मिचेर नै महानिरिक्षक बनाएका थिए । पछि यी बोहरा छानबीनमा परे । ०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका गृहमन्त्री शेरबहादुर देउबाले सरकारले प्रहरी सेवा ऐन९ २०१२ माथि संशोधन गर्दै प्रहरी सेवाको अवधि ३० वर्ष वा सरकारले चाहेमा अर्को दुई वर्ष थप गर्नसक्ने प्रावधान बनायो । यही प्रावधानअनुरुप महानिरीक्षक रत्नसमशेर राणाको ३० वर्षे सेवाअवधि देखाएर उनलाई अवकाश दिइयो र मोतिलाल बोहोरालाई ०४९ सालको फागुनमा महानिरीक्षक नियुक्त गरियो । यही परम्परालाई पछि गृहमन्त्री वामदेव गौतमले पछ्याएका थिए । यसपछि ०६५ फागुनमा वरियताक्रम विपरीत रमेश चन्द ठकुरी महानिरीक्षक नियुक्त भए । यसका लागि समेत देउबाले नै मुख्य भूमिका निर्वाह गरेका थिए । चन्दमाथि पनि अख्तियारले छानबीन शुरु गर्यो र उनी भ्रष्टाचार मुद्दामा तानिए । शेरबहादुर देउबाले चन्दलाई वरियता मिचेर आइजिपी बनाउन दबाब दिएकोमा प्रहरी संगठनभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि चर्को आलोचना भइरहेको छ । नेपाली कांग्रेसभित्र समेत देउबाको निर्णय गलत भएको भन्दै आलोचना बढेको छ ।
शुरू भयो स्ववियु निर्वाचन प्रक्रिया
काठमाडौँ, १ फागुन । त्रिवि यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि निर्वाचन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन कार्यतालिकानुसार आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको त्रिविका शिक्षाध्यक्ष तथा स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका संयोजक प्रा डा सुधा त्रिपाठीले जानकारी गराउनुभयो । उहाँका अनुसार निर्वाचनका लागि आज देशभरका त्रिविका आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसले स्ववियु निर्वाचन मतदानमा सहभागी मतदाताको नाम प्रकाशन गर्ने छन् ।
धुर्मुस–सुन्तली फाउन्डेसनलाई १ लाख प्रदान
बर्दिवास, १ फागुन । महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पु¥याउन होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गर्नुभएको छ । होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भन्नुभयो – “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।” बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट रु ६५ लाख सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भन्नुभयो – “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदैछौँ ।” गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । अब ६५ प्रतिशत कामका लागि आवश्यक आर्थिक भार पनि सहयोगी मनबाटै पूरा हुने कार्यस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले बताउनुभयो । रु चार करोड ७८ लाखको लागतमा ५० घर मुसहरका लागि शौचालय, खानेपानी धारा सुविधासहितको ५० घर, बालोद्यान, सामूहिक घर, मुसहरका कुलदेवता दिनभद्री मन्दिर र दुई सार्वजनिक शौचालय बन्ने काम अहिले धमाधम छ । सडक, बिजुली, खानेपानीसहितको सो निर्माणाधीन बस्ती अपाङ्गता र बालमैत्री हुने फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताउनुभयो । हालसम्म झन्डै रु दुई करोडभन्दा बढी रकम सङ्कलन भए पनि बस्ती निर्माणका लागि अझै रु दुई करोड ५० लाख रकम अपुग रहेकाले तराई मधेसका उद्योगी, व्यापारी, समाजसेवीसहितका समाजका सबै तहतप्काका सहयोगी मनसँग फाउन्डेसनले सहयोगका लागि अनुरोध गरेको छ । रासस
पत्रकार महासंघ ललितपुरले यसवर्षदेखि पत्रकारिता पुरस्कार दिने
ललितपुर, माघ २९ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले पत्रकार अक्षयकोष स्थापना गरेको छ । अक्षयकोषबाट एक जनालाई पुरस्कृत गरिने महासंघले जनाएको छ । महासंघको शनिबार कार्यालयमा बसेको बैठकले पत्रकारहरुको स्वास्थ्य उपचारका सहयोग गर्ने उद्देश्यले १ लाख रुपैयाको ‘पत्रकार अक्षय कोष’ स्थापना गरेको हो । कोषमा हरेक बर्ष रकम थप गर्दै १० लाख पुर्याउने लक्ष्य रहेको शाखा अध्यक्ष लेखनाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार सो रकमको ब्याजबाट बिरामी पत्रकारहरुलाई सहयोग गरिने छ । ‘श्रमजीवी पत्रकारहरु बिरामी पर्दा जिल्ला शाखाबाट पनि केही सहयोग गर्ने उदेश्यले यो कोष स्थापना गरिएको हो ’ उनले भने ‘अक्षय कोषको रकम मुद्धती खातामा राखिने छ, त्यसको ब्याजबाट बिरामी पत्रकारलाई सहयोग गरिने छ ।’ शाखाको बैठकले ‘ललितपुर पत्रकारिता पुरस्कार’ स्थापना गर्ने पनि निर्णय गरेको छ । पत्रकार महासंघ ललितपुरमा सस्थागत योगदान पुर्याउने पत्रकारलाई पुरस्कृत गर्न १५ हजार रुपैया राशीको पुरस्कार स्थापना गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए । पुरस्कार जिल्लाको हरेक अधिवेशनमा बितरण गरिने छ ।
बागमतीमा फोहोर फाल्ने र जग्गा मिच्नेलाई ड्रोन क्यामेराले हेर्ने
काठमाडौँ, माघ २९ । बागमती सफाइ महाअभियान सुरु भएको १९६ औँ हप्ता बित्दा समेत सोचेअनुरुप नदी सफाइ हुन नसकेपछि ड्रोन क्यामेराले नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदीको जग्गा मिच्नेको तस्बिर खिच्न थालिएको छ। दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएको ड्रोन क्यामेरासहितको समूहले आजदेखि गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तस्बिर खिची फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख उतार्ने अभियन्ता उमेश बोहराले बताए। “गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म र काठमाडौँ महानगरपालिकाकै टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म गरी तीन समूहमा विभाजन गरी नदीमा फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको अभिलेख तस्बिर मार्फत उतार्न सरकारसँग स्वीकृति लिइएको छ”–उनले भने। ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आवश्यक कारबाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित महानगरपालिका, उपमहानगरपािलका र नगरपालिकामा बुझाइने भएको छ । ड्रोन क्यामेराले खिचेको तस्बिरसहितको प्रतिवेदन आउन चार दिन लाग्ने सफाइ महाअभियानले जनाएको छ । ड्रोन क्यामेराबाट तस्बिरसहितको प्रतिवेदन लिन दक्षिण कोरियाबाटै पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूह काठमाडौँ आएको छ । प्रत्येक हप्ताको शनिबार झैँ आज पनि उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९६ औँ हप्तामा आज मीनभवन पुल क्षेत्रमा सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको बागमती सफाइका अभियन्ता उमेश बोहराले बताए। सफाइमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी ५०० बढी व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि पूर्व नेपाली राजदूत डा महेश मास्के, जीवन विज्ञान नेपालका एलपी भानु शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराईलगायतले गरेका थिए। सफाइसँगै एक समूहले घर दैलोमा गई जनचेतामूलक अभियान सञ्चालन गर्ने क्रममा मीनभवन क्षेत्रको सडक किनारमा फोहर फाल्नेबाट १५ हजार रुपैयाँ जरिवानास्वरुप उठाइयो । रुद्रमती सफाइको १५६ औँ हप्तामा आज भत्केको पुलदेखि कालो पुलसम्मको क्षेत्रमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए। सफाइमा काठमाडौँ महानगरपालिकाका वडा नं ४, ५, ७, ९ र ३३ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारी लगायतको सहभागिता थियो । सफाइमा समाज, वातावरण संरक्षण अभियान, नेपाल प्रहरी, सामुदायिक प्रहरी, विपद् व्यवस्थापन प्रहरी, नेप्से म्याक प्रालिलगायतको सहभागिता थियो । सो अवसरमा प्रसिद्धि कला समूहले जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो । विष्णुमती सफाइको १२८ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाइ गरी पाँच मेट्रिक टन फोहर व्यवस्थापन गरियो । महादेव खोलाको सफाइमा स्थानीयवासी उल्लेख्य सहभागी भएको अभियानकर्मी विजेन्द्र लामाले बताए। स्थानीय वृद्धको समूहले भजनसहितको जनचेतनामूलक कार्यक्रम पनि आयोजना गरेका थिए । तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीको नेतृत्वमा सफाइ सञ्चालन गरिएको थियो । नख्खु खोला सफाइको ७१ औँ हप्तामा आज नख्खु पुल वारिपारि सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी बलुदेव पाण्डेले बताए। यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरापाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गते शनिबारदेखि बागमती सफाइ महाअभियान सुरु भएको थियो । बागमती सफाइ महाअभियान सुरु भएपछि अन्य सहायक नदी र उपत्यका बाहिरका नदी सफाइ गर्न समेत स्थानीयवासी जुटेका छन् ।
विना मगरले प्यानलै जितेको सरस्वती क्याम्पसमा रानाभाटले पाए टिकट
काठमाडौँ, माघ २९ । अखिल क्रान्तिकारीले काठमाडौंको सरस्वती वहुमुखी क्याम्पसको स्ववियु अध्यक्षमा केन्द्रीय सदस्य सन्तोष रानाभाटलाई उठाउने निर्णय गरेको छ । शनिबार बसेको क्रान्तिकारीको क्याम्पस समितिको वैठकवाट आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको अध्यक्ष उम्मेदवार बनाइएको क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष दिपक देवकोटाले जानकारी दिए । गत स्ववियु निर्वाचनमा सरस्वती क्याम्पसवाट विना मगरको नेतृत्वमा अखिल(क्रान्तिकारी)ले प्यानलै जितेको थियोे ।त्यतिबेला अखिल,नेविसंघ सहितको गठवन्धनलाई क्रान्तिकारी एक्लैले पराजित गरेको थियो । यसपटक पनि सरस्वती क्याम्पसमा आफ्नो जीत सुनिश्चित रहेको अखिल (क्रान्तिकारी)का नेता डिवि साउदले दावी गरे। बिनाले सभापति जितेपछि क्याम्पसको लागि धेरै विकास गरेको कारण विद्यार्थीले अाफूलाई मतदान गर्ने विश्वास क्रान्तिकारी लिएको छ । चितवन निवासी रानाभाट सरस्वती क्याम्पसका नियमित विद्यार्थी हुन्। अध्यक्षको उम्मेदवार घोषणा भएपछि रानाभाटले आफूले जितेमा क्याम्पसलाई आधुनिक क्याम्पस बनाउने दाबी गरे । उनले भने– सरस्वती क्याम्पसमा धेरै सम्भावनाहरु छन्, यस क्याम्पसको पढाइमा गुणस्तरीया ल्याउने, र विद्यार्थीलाई प्रयोगात्मक पढाई सहित आधुनिक र नयाँ क्याम्पस वनाउनेछौं।’
अस्पतालमा पानीको अभाव
सल्यान, माघ २९ । जिल्ला अस्पतालमा खानेपानीको अभाव भएको छ । २४ सै घन्टा पानीको आवश्यक हुने अस्पतालमा पानीको अभाव भएपछि सरसफाइमा समेत समस्या देखिएको छ । दिनहुँजसो हुने शल्यक्रिया तथा अन्य सरसफाइका लागि पानीको अभाव भएपछि अस्पतालमा रहेको शौचालय समेत दुर्गन्धित भएको अस्पतालले जनाएको छ । हप्तामा एक दुई २ पटक दुई घन्टा मात्र आपूर्ति हुने खानेपानीले अस्पतालको मागको १० प्रतिशतसम्म पनि धान्न नसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा मनिषा रावलले जानकारी दिनुभयो । अस्पताल जस्तो अति संवेदनशिल संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको डा रावलले बताउनुभयो । ‘अस्पतालमा अहिले दैनिकजसो शल्यक्रिया हुन्छ । शल्यक्रियापछि सरसफाइका लागि पनि धेरै पानी चाहिन्छ, अरु त के अहिले सबैलाई पिउने पानी समेत पुग्दैन’, डा रावलले भन्नुभयो। शौचालय अति फोहोर हुनामा आफूले मात्र चासो नदिएर नभएको डा.रावलले जिकिर गर्नुभयो । ‘अस्पतालमा बिरामीले प्रयोग गर्ने शौचालय हामीले चासो नदिएर मात्र फोहोर हुँदैन, बिरामीको लापरबाहीले पनि भएको छ । बिरामीले शौचालयमा प्याड समेत फाल्ने गरेकाले फोहोर देखिएको हो’ डा रावलले भन्नुभयो । अस्पतालको शौचालयले दुर्गन्ध बाहिरसम्म फैलिएको छ । अस्पतालमा पानीको आपूर्ति सहज भएमा फोहोर व्यवस्थापन गर्न समस्या नहुने उहाँको भनाइ छ ।
स्वस्थानी व्रत साङ्गे
काठमाडौँ, माघ २८ । पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्रीस्वस्थानी व्रत कथाको आजबाट साँगे गरिएको छ । श्री स्वास्थानीको पूजाआजा गरी आजबाट स्वास्थानी साँगे गरिएको हो । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नुका साथै हरेक दिन स्वस्थानी कथावाचन र श्रवण गरेका थिए । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार बसी स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पार्वतीले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा सो कथा प्रचलित हुँदै आएको मानिन्छ । काठमाडौंको साँखुस्थित शालीनदीमा आज भक्तजनहरुको अत्याधिकै घुँइचो लागेको थियो ।
कर्मचारीहरूको आन्दोलनका कारण सेवाग्राही मर्कामा
नुवाकोट, माघ २८ । स्थानीय निकायका कर्मचारीहरुले आन्दोलन गर्दा जिल्लाका जिविस र गाविसको काम प्रभावित भएको छ । स्थानीय निकाय संयुक्त आन्दोलन समितिका नाममा आज तीन घन्टा कलम बन्द गरेका छन् । बिहान १० बजेदेखि १ बजेसम्म कर्मचारीले काम रोकेको सेवाग्राही मारमा परे । कर्मचारीहरु सुशासन, स्थानीय तहको निर्वाचन र जनअपेक्षानुसारको सेवा प्रवाह गर्न सक्ने सक्षम साङ्गठनिक संरचनाको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सरकारले आफ्ना मागलाई सुनुवाइ नगरेका कारण बाध्य भएर काम नै ठप्प पारेर आन्दोलन गर्नुपरेको स्थानीय निकाय कर्मचारी सङ्घका केन्द्रीय सदस्य तथा जिविसका वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताउनुभयो । योजना सम्झौताका बेलामा गाविस र जिविसमा कर्मचारीको हड्ताल भएपछि सेवाग्राही समस्यामा परेका छन् ।
अस्कल क्याम्पसमा अनेरास्ववियु र क्रान्तिकारीबीच झडप, ९ विद्यार्थी घाइते
काठमाडौं, माघ २८ । भर्नाको विषयमा विबाद भएपछि लैनचौरस्थित अमृत साइन्स क्यामपस (अस्कल)मा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्र समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीबीच झडप भएको छ । झडपमा परी ९ विद्यार्थी घाइते भएका छन् । स्वतन्त्र विद्यार्थी युनियनको चुनावको मिति नजिकिँदै जाँदा विद्यार्थी अस्कल क्यामपसमा शुक्रबार विद्यार्थी भर्नाको विषयलाई लिएर सो झडप भएको हो । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले एमाले अखिलले क्याम्पसमा भर्ना मिति हुँदाहुँदै विद्यार्थी भर्नालाई रोकेपछि विवाद उत्पन्न भएको बताएका छन् । यता एमाले समर्थित विद्यार्थीहरुले भने विद्यार्थी भर्ना मिति २७ गते सम्म तोकिएकोमा कलेजले पुर्व सुचना बीना आफुखुसी भर्ना मिति बढाएर बिहीबारसम्म भर्ना लिए पछि झडपको स्थिति श्रृजना भएको बताए । क्याम्पस प्रमुख महाजुमाथि अखिलका विद्यार्थीहरुले हातपातको प्रयास गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको थियो । अखिलका विद्यार्थीहरुले भने प्रहरीलाई पनि ढंगामुढा गरेको सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्र सिंह राठौरले बताए ।
एमानसिंह राना पाटन क्याम्पसको स्ववियु अध्यक्षका उम्मेदवार
काठमाडौँ, माघ २८ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले पाटन संयुक्त क्याम्पसमा एमानसिंह रानालाई स्ववियु अध्यक्षको उम्मेदवार बनाएको छ । त्रिभुवन विश्वविद्यालयले उम्मेदवार वन्न २८ वर्षे उमेरहद लगाएपछि २५ वर्षीय राना उम्मेदवार वनेका हुन्। पाटन क्याम्पस स्नातकोत्तर तह (अंग्रेजी) प्रथम वर्षका नियमित विद्यार्थी रानालाई क्याम्पस समितिको वैठकवाट सर्वसम्मत रुपमा स्ववियु अध्यक्षको उम्मेदवार घोषणा गरिएको क्रान्तिकारी उपाध्यक्ष गंगाराम तिमल्सिनाले वताए। पाटन क्याम्पसका लोकप्रिय विद्यार्थी नेता राना दैलेख वेलपाटाका स्थायी वासिन्दा हुन् । अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य समेत रहेका रानाले पाटन क्याम्पसलाई नमुना क्याम्पस वनाउने आफ्नो मुल एजेण्डा भएको वताए। रानाले पाटनमा आफ्नो जीत सुनिश्चित रहेको दावी गरे।
पाल्पामा स्थानीय निर्वाचनका लागि ११ दल दर्ता
पाल्पा, माघ २८ । स्थानीय निर्वाचनमा सहभागी हुनका लागि पाल्पामा ११ राजनीतिक दल जिल्ला निर्वाचन कार्यालय पाल्पामा दर्ता भएका छन् । स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगले सबै राजनीतिक दलको विवरण पेस गर्नुपर्ने निर्देशनअनुसार जिल्लामा ११ राजनीतिक दलले पार्टीको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय, पाल्पाले जनाएको छ । निर्वाचन कार्यालयमा दर्ता भएका दलहरुमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), राष्ट्रिय जनमुक्ति पार्टी रहेका छन् । त्यसैगरी नेकपा (माले) जनसमाजवादी, सङ्घीय समाजवादी फोरम नेपाल, नेकपा (माक्र्सवादी) र नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी रहेका छन् । यी दर्ता भएका दलले मात्र स्थानीय निकायको निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था रहेको छ । अहिले पनि विभिन्न पार्टीले दल दर्ताका लागि कार्यालयमा अनुरोध गरेपनि दर्ता समय सकिएकाले दर्ता प्रक्रिया रोकिएको छ । फाइल तस्वीर
हिमालय एयरलायन्सको काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु
काठमाडौँ, माघ २८। निजी क्षेत्रको विमान सेवा हिमालय एअरलायन्सले आजदेखि काठमाडौँ–क्वालालम्पुर सिधा उडान सुरु गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले प्रथम उडान सेवाको शुभारम्भ गर्नुभयो । नेपाल–चीन संयुक्त लगानीको उक्त विमान सेवाले एअरबस–३२० विमानबाट उडान थालेको हो । आजको उडानमा विमानका सबै सिट भरिएका उक्त एअरलाइन्सले जनाएको छ । क्वालालम्पुरको प्रथम उडानबाट मन्त्री शाही, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, यहाँस्थित मलेसियाली राजदूतावासका कार्यवाहक प्रमुख फादिल इस्माइललगायत २० जनाको उच्चस्तरीय प्रतिनिधिमण्डल मलेसियाली राजधानीतर्फ प्रस्थान गरेको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एअरलाइन्स र नेपाली प्रतिनिधिमण्डललाई टुरिजम मलेसियाका विशिष्ट पदाधिकारी तथा पर्यटन व्यवसायीले आजै विशेष स्वागत गर्ने कार्यक्रम रहेको उक्त एअरलाइन्सले जनाएको छ । मन्त्री शाहीले आफ्ना मलेसियाली समकक्षीका साथै त्यहाँका उच्च अधिकारीहरुसँग द्विपक्षीय हित तथा पर्यटन प्रवद्र्धनबारे छलफल गर्नुहुनेछ । मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातलगायत नेपाली प्रतिनिधिमण्डलले आजै साँझ क्वालालम्पुरमा आयोजना हुने विशेष समारोहमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवद्र्धनका सम्बन्धमा जानकारी दिने कार्यक्रम छ । प्रथम उडानका अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उक्त एअरलाइन्सका उपाध्यक्ष (प्रशासन) विजय श्रेष्ठले मङ्गलबार र शनिबारबाहेक सातामा पाँच दिन काठमाडौँ–क्वालालम्पुर उडान हुने जानकारी दिँदै त्यसबाट नेपाल र मलेसियाबीचको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । काठमाडौँ–क्वालालम्पुर दुईतर्फी उडानमा यात्रीले करबाहेक रु २५ हजार तीनसय ७५ मा टिकट खरिद गर्न सक्नेछन् । उक्त विमान सेवाले कतारको दोहा, श्रीलङ्काको कोलम्बो उडान थालिसकेको छ भने आगामी फागुन १३ गतेदेखि म्यान्माको पुरानो राजधानी याङ्गुनलाई पनि काठमाडौँसँग सिधा उडानबाट जोड्नेछ । रासस
अनेरास्ववियु केन्द्रीय सदस्य राईको निधन
काठमाडौँ, माघ २८ । नेकपा एमाले निकट अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको बिहीबार निधन भएको छ । यही माघ २५ गते भक्तपुरमा सडक दुर्घटनामा पर्नुभएका २७ वर्षीय राईको उपचारका क्रममा बिहीबार वीर अस्पतालस्थित ट्रमा सेन्टरमा निधन भएको हो । खोटाङ स्थायी घर भएका राई सङ्गठनको खोटाङ जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्य हुनुभएको थियो । उहाँको पार्थिव शरीरलाई आज पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिने युवा सङ्घका प्रवक्ता प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो । रासस
प्रेस काउन्सिलले विधागत पत्रकारिताबारे नयाँ रणनीति ल्याउने
काठमाडौँँ, माघ २८ । प्रेस काउन्सिल नेपालले विधागत (बिट) पत्रकारितामा देखिएका समग्र समस्याको पहिचान गरी नयाँ नीति तय गर्ने भएको छ । काउन्सिलले बिहिबार आयोजना गरेको विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थाका पदाधिकारी र प्रतिनिधिसँगको अन्तक्र्रियामा काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले विधागत क्षेत्रमा रहेका पत्रकारको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति बनाएर अगाडि बढ्ने जानकारी दिनुभयो । खास गरी विधागत पत्रकारितालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन त्यससँग सम्बन्धित सरोकारवालासँग काउन्सिलले पहिलो पटक छलफल गरेको अध्यक्ष कार्कीले बताउनुभयो । कार्यक्रममा ‘नेपाल फोरम अफ साइन्स’ जर्नालिस्टका अध्यक्ष छत्र कार्की, वैैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल र शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहाल लगायतले विधागत पत्रकारितामा देखिएका विकृत्तिलाई हटाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कृषि पत्रकार समाजका उपाध्यक्ष धनबहादुर मगर, नेपाल साहित्यिक पत्रकार सङ्घका उपाध्यक्ष नवराज पुडासैनी र विकास पत्रकार मञ्चका सचिव चन्द्रमणि भट्टराई लगायतले विधागत पत्रकारितालाई थप व्यवस्थित र व्यावसायिक बनाउनुपर्ने आवश्यकता औल्याउनुभयो । ‘विधागत पत्रकारिता विशिष्ट आचारसंहिता’ बनाउनेसम्बन्धी काउन्सिलले छलफलसमेत अगाडि बढाउने भएको छ । कार्यक्रमका सहभागीले पत्रकारितामा अघोषित सिन्डिकेटको विकास भएको, उद्देश्य अनुरुप कार्यक्रम सञ्चालन गर्न नसकिएको, विधागत पत्रकारितामा विज्ञ व्यक्तिको अभाव, तालिमको अभाव, नयाँ नीति र समन्वयको अभावलगायतका समस्या रहेकाले त्यसको समाधानका लागि विधागत पत्रकारिता सम्बद्ध सङ्घ संस्थासंग समन्वय गरेर अगाडि बढ्न प्रेस काउन्सिल नेपाललाई सुझाव दिएका थिए । रासस


>
>