नयाँ नेपालमा पुरानो मधेस हुनुहुँदैन– भारतीय पूर्वराजदूत
काठमाडौं, फागुन ६ । नेपालका लागि भारतीय पूर्वराजदूत शिवशंकर मुखर्जीले नयाँ नेपालमा मधेस पुरानै रहोस् भन्ने मान्यता व्याप्त रहेसम्म नेपालमा प्रजातन्त्र संस्थागत नहुने चेतावनी दिएका छन् ।
जनकपुरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वराजदूत मुखर्जीले अहिले नेपालको राजनीतिमा नयाँ नेपाल बनोस् भन्ने चाहना भए पनि मधेस पुरानै रहोस् भन्ने मानसिकता व्याप्त रहेको र त्यो कहिले सम्भव नहुने धारणा राखेका थिए ।
उनले वर्तमान राजनीतिप्रति इंगित गर्दै भने, ‘नेपालका जनतामा असन्तुष्टि व्याप्त छ । संविधानमा मधेसीमा मुद्दालाई सम्बोधन गरिएको छैन । यस्तो अवस्थामा नेपालमा लोकतन्त्र संस्थागत गर्न गाह्रो छ ।’
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि प्रमुख अतिथि र भारतीय राजदूत रञ्जित रेसमेत उपस्थित कार्यक्रमको आयोजना पृथकतावादी मधेस अभियानमा सक्रिय सीके राउत रिहाइका लागि लबिङ गर्दै आएका पूर्वराजदूत विजयलाल कर्णको संस्था जागृत नेपालले गरेको थियो ।
–अन्नपूर्ण पोस्ट दैनिकबाट
नेपालमा ह्वात्तै बढे यौनकर्मी
काठमाडौं, फागुन ५ । नेपालमा पछिल्ला ६ वर्षमा यौनकर्मी महिलाको संख्या ह्वात्तै बढेको देखिन्छ । सन् २०१० मा नेपालमा करिब २८ हजार यौनकर्मी महिला रहेकोमा अहिले झन्डै दोब्बरले वृद्धि भई उक्त संख्या ५४ हजारको हाराहारीमा पुगेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा विभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययन प्रतिवेदनमा दाबी गरिएको छ । विहीबार राजधानीमा प्रतिवेदन सार्वजनिक गर्दै महिला यौनकर्मी, तेस्रोलिंगी, पुरुष यौनकर्मी र समलिंगीहरुको संख्या बढेको दाबी गरियो । यस्तै, सुइबाट लागुपदार्थ लिने व्यक्तिहरुको संख्या पनि ३४ हजारको हाराहारीमा रहेको तथ्यांक केन्द्रले सार्वजनिक गरेको छ । देशका विभिन्न ४४ जिल्लामा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पन्तले यी सबै समूहका महिला, पुरुष तथा तेस्रो लिंगीहरु एचआइभी संक्रमणको उच्च जोखिममा रहेको बताए । अध्ययन प्रतिवेदनमा सबैभन्दा बढी यौनकर्मी महिला, पुरुष, तेस्रोलिंगी, सुइद्वारा लागुऔषध लिने व्यक्तिलगायतको समूह काठमाडौंमा रहेको देखाइएको छ । काठमाडौंपछि भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, बाँकेलगायतका जिल्लाहरुमा उनीहरुको संख्या बढी रहेको उल्लेख छ । राजनीतिक अस्थितारका कारण उब्जिएको बेरोजगारी समस्या, खुला सीमालगायतका कारणले यौनकर्मी महिला पुरुषको संख्या वृद्धि भएको निष्कर्ष अध्ययनको छ । कार्यक्रममा यस क्षेत्रसँग सम्बन्धित विज्ञहरुले यौनजन्य रोग सर्नेक्रमभन्दा यसबाट मृत्यु हुनेको संख्या दोब्बर रहेकोतर्फ सबैको ध्यानाकर्षण गराएका थिए ।
पश्चिमी वायुले बदली, तर पानी पर्दैन मौसमविद्
काठमाडौँ, फागुन ५ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा आंशिक बदली भएको छ । उक्त वायुले बदली गराए पनि वर्षात् हुने सम्भावना नरहेको मौसमविद् सुभाष रिमालले राससलाई जानकारी दिए । “बुधबारदेखि सुरु भएको पश्चिमी वायुले दिउँसोको तापक्रममा कमी ल्याउनेछ, यो प्रणाली अझै दुई÷तीन दिन जारी रहन्छ” -उनले भने । मौसमविद् रिमालका अनुसार पश्चिमी वायुमा जलवाष्पको मात्रा कम भएकाले वर्षा गराउने सम्भावना नरहे पनि पहाडी भेगका केही स्थानमा छिटफुट वर्षात् हुने सम्भावना रहेको छ । भूमध्य सागरबाट विकसित भएको ठूलो वर्षा गराउने खालको यो बादल प्रणालीले अफगानिस्तान र पाकिस्तानमा प्रभाव पार्ने देखिए पनि नेपालमा आइपुग्ने टुक्राटाक्री बादलले वर्षा नपार्ने बताइएको छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम पाँच र अधिकतम तापक्रम २२ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोलुमा पाँच करोडको लागतमा बन्नेभयो बुद्धपार्क
सोलुखुम्बु, फागुन ५ । दृष्यावलोकनका लागि प्रख्यात सोलुखुम्बुको पत्तालेमा निर्माण गरिने बुद्धपार्क पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले शिलान्यास गरेका छन् । केरुङ गाविसमा पर्ने पत्तालेमा बुद्धको मुर्ति स्थापनाका साथै बुद्धधर्म सम्बन्धि अन्य संरचना निर्माण गरी धार्मिक पर्यटक भित्र्याउने लक्ष्यका साथ निर्माण सुरु सो योजनाका लागि करिव रु.पाँच करोड लाग्ने पार्क व्यवस्थापन समितिले जनाएको छ । पूर्वमन्त्री केसीले सो पार्क तल्लो सोलुमा पर्यटक ल्याउन कोसेढुङ्गा सावित हुने उल्लेख गर्दै पार्कसँगै पत्तालेमा भ्यू टावर निर्माण, स्थानीय परिकार खुवाउने, शेर्पा संस्कृतिअनुसार स्वागत सत्कार गर्नेजस्ता कार्यक्रम गर्न सुझाव दिए । बुद्धपार्क निर्माण गर्न लागिएको पत्ताले क्षेत्रमा प्रसिद्ध गौरीटाप, चाँगेस्थान मन्दिर तथा दृष्यावलोकनका लागि प्रसिद्ध थालेडाँडा अवस्थित छ । थालेडाँडाबाट सगरमाथा गौरीशङ्करलगायत एक दर्जन बढी हिमाल प्रस्ट देख्न सकिन्छ । काठमाडौँबाट २४० किमी लामो सडक पार गर्न सकिने पत्तालेमा हिउँदमा बाक्लो हिमपातसमेत हुने भएकाले हिउँदमा हिउँ खेल्ने पर्यटकको समेत घुइँचो लाग्ने गरेको छ ।
चितुवाको आक्रमणबाट चार जना घाइते
मोरङ, फागुन ५ । मोरङ राजघाटमा आज चितुवाको आक्रमणबाट वन कार्यालयका दुईजना कर्मचारीसहित चारजना घाइते भएका छन्। घाइते हुनेमा राजघाट–१ अठियाबारीका ६२ वर्षीय टंकलाल धिमाल र ५० वर्षीय खुसीलाल धिमाल तथा सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेका कर्मचारी ३५ वर्षीय हेमसागर न्यौपाने र ४६ वर्षीय वीरबहादुर कटवाल रहेका छन् । राजघाट–१ अठियाबारीस्थित नगेन्द्र लिम्बूको सिसौघारीमा लुकेर बसेको चितुवाले एक्कासी आक्रमणगर्दा उनीहरु घाइते भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । हलो जोतेर डोरी लिन जाँदा चितुवाले आफूलाई एक्कासी आक्रमण गरेको घाइते टंकलालले बताए । टंकलाललाई चितुवाले टोकेको खबर पाएपछि घटनास्थल पुगेका खुसीलाललाई पनि चितुवाले आक्रमण गरेका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। चितुवालाई नियन्त्रणमा लिन सेक्टर वन कार्यालय उर्लाबारी मङ्गलबारेबाट घटनास्थलमा पुगेका कर्मचारीद्वय न्यौपाने र कटवाललाईसमेत चितुवाले आक्रमण गरेर समान्य घाइते बनाएको प्रहरीले जनाएको छ । अहिले चितुवालाई मानववस्तीमा पस्न नदिनका लागि सुरक्षाकर्मीको टोलीले सुरक्षाघेरा बनाएका छन् भने विशेषज्ञसहितको वनरक्षक टोलीले उक्त चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेको प्रहरी निरीक्षक थापाले बताए ।
हुम्लावासीलाई बंगलादेशले दिएको खाद्यान्न कसले पार्यो गायब !
हुम्ला, फागुन ५ । सदरमुकाम सिमिकोटदेखि दक्षिण भेगका बराई, रेडिकोट, मेल्छाम, सर्किदेउ, श्रमस्ग, दर्मा र मिमी गाविसमा बासिन्दालाई दिने भनिएको कामका लागि खाद्यान्न अझैसम्म पाएका छैनन् । गत वर्ष परेको खडेरीका कारण बङ्गलादेश सरकारबाट नेपाल सरकारलाई राहत स्वरुप आएको सो खाद्यान्न कर्णाली अञ्चलका केही जिल्लामा बितरण गरिएपनि ती गाविसका बासिन्दालाई भने वितरण गरिएको छैन । मिमि गाविसका कृषक लक्ष्मीप्रसाद चौलागाईंले गुनासो गर्दै भने- ‘अाफूहरुले विद्युत् बाटोघाटोसमेतको कार्य सम्पन्न गरिसक्दा पनि अहिलेसम्म केही खाद्यान्न पाइएको छैन ।’ नेपाल खाद्य संस्थान हुम्ला शाखाका प्रमुख नारायणसिंह केसीले सो भेगका लागि अहिलेसम्म खाद्यान्न नआएको र आएपछि मात्र वितरण गर्ने जानकारी दिए । जडीबुटीबाट औषधि बनाइ उपचारमा व्यस्त अजवीर शाही हुम्ला जिल्लाको दक्षिणी भेगमा पर्ने मेल्छाम गाविस–७ बस्ने अजवीर शाहीले जडीबुटीबाट औषधि बनाई मानिस र पशु समेतको औषधि तयार गरी उपचार गर्दै आउनुभएको छ । उनले कमलपित्त, दम, खोकी, टाउको दुख्ने, हात खुट्टाको भाँचिए पनि हुम्लामै निःशुल्क उपचार गराउँदै आएको राससलाई बताए । खाद्यान्नका लागि भीड खाद्यान्नका लागि गत मङ्गलबारदेखि कर्मचारी, शिक्षक, विद्यार्थी, सङ्घ संस्था समेतका पदाधिकारीको बिहानदेखि जिल्ला प्रशासन कार्यालयमा खाद्यान्न सिफारिसको लागि घुइँचो लागेको छ । हुम्लामा खाद्यान्न मौज्जात रहे पनि कर्मचारीले बाहिरबाट आएको मैदाका साथै स्थानीय खाद्यान्न जुटाई गुजारा गर्न बाध्य भएका छन् । हिमपात नहुँदा विद्युत् भार कटौती बढ्यो यस वर्ष पर्याप्त मात्रामा हिमपात नहुँदा जिल्लाको सदरमुकाम सिमिकोट हिल्दुम साना जलविद्युत् वितरण केन्द्रको पानीको मुहान सुकेकाले अधिकांश समय विद्युत् भार कटौती हुन थालेको छ । विद्युतभार कटौतिका करण पहिलेकै जस्तो सल्लाको दियालो बाल्न बाध्य स्थनीय पीडित व्यक्तिले यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सोही अवसरमा नजिकिदै गरेकोे प्रवेशिका परीक्षाको तयारी गरिरहेका विद्यार्थी पनि प्रभावित भएको निवासी छात्रा विमला सिंहले दुखेसो पोखे ।
कोरियामा प्रेस सेन्टर शाखा गठन
सोल, फागुन नेकपा माओवादी केन्द्र समर्थित पत्रकारहरुको छाता संगठन प्रेस सेन्टरले दक्षिण कोरियामा पनि शाखा गठन विस्तार गरेको छ । सोलमा आयोजित पहिलो भेलाबाट भोज रानाको नेतृत्वमा १२ सदस्यीय प्रेस सेन्टर कोरियाको गठन गरिएको हो । उपाध्यक्षमा पुरुषोत्म गौतम र सचिवमा कृष्ण भट्टराई चयन भएका छन् । सेन्टरले कोरियामा चाँडै आफ्नो छुट्टै मिडिया सञ्चालन गर्ने जानकारी समेत गराइएको छ । सेन्टरले कोरियाका सामाजिक समस्यासँग हातेमालो गर्दै मजदुरहरुको पक्षमा कलम चलाउने प्रतिबद्धता अध्यक्ष रानाले गरे । भेलामा नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाका अध्यक्ष खगेन्द्र बुढामगर, वरिष्ठ उपाध्यक्ष इश्वर कुमार कठायत, महासचिव गोविन्द गौतम लगायत मञ्चका संरक्षक र सल्लाहाकारको उपस्थितिमा सेन्टरको नेतृत्व चयन गरिएको थियो ।
१३ लाख भक्तजनले पूजा गर्ने गरी पशुपतिनाथमा महाशिवरात्री तयारी
काठमाडौँ, फागुन ५। यही आउँदो फागुन १३ गते महाशिवरात्रीको पावन अवसरमा श्री पशुपतिनाथ क्षेत्रमा विशेष तयारीका लागि उपसमिति गठन गरिएको छ । यस दिन पशुपति क्षेत्र विकास कोषअन्तर्गत श्रीपशुपतिनाथको दर्शनका लागि देश–विदेशबाट आउने भक्तजनहरुको लागि आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त तथा धार्मिक र अर्थ उपसमिति गठन गरी तयारी सुरु गरिएको सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए । विगतका वर्षमा मूल समारोह समिति गठन गर्ने गरिए पनि यस वर्ष कोषले मुख्य व्यवस्थापनको काम गर्र्ने गरी उपसमिति गठन गरिएको हो । महाशिवरात्रिका लागि देशका विभिन्न भाग र भारतबाट समेत गत माघ २७ गतेदेखि नै साधुसन्त आउन थालेका छन् । ‘ यस वर्ष १३ लाख भक्तजनले पूजा एवम् दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिँदैछ, गत वर्ष १२ लाख भक्तजनले महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गरेका थिए’– उनले भने । यसवर्ष फागुन १३ गते शुक्रबार महाशिवरात्रि पर्व परेको छ । रासस
आजदेखि निर्वाचन आयोगले पायो पूर्णता
काठमाडौँ, फागुन ५ । प्रमुख दलहरुबीच जेठभित्रै चुनाव गराउने तयारी भइरहेका बेला निर्वाचन आयोगले आज पुर्णता पाएको छ । संवैधानिक परिषदले सिफारिस गरेका तीन जना आयुक्तहरुले आज पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पुर्णता पाएको हो । राष्ट्रपति भवन शीतल निवासमा बिहान ११ बजे बिशेष कार्यक्रमबीच आयुक्तमा नियुक्त भएका ईश्वरीप्रसाद पौडेल, नरेन्द्र दाहाल र सुधीरकुमार साहले पद तथा गोपनियताको सपथ लिए । तीनैजनाले आजै पदभार सम्हाल्नेछन् । दलीय भागबण्डाका आधारमा संवैधानिक परिषद्ले गत माघ १४ गते उहाँहरुको नाम आयुक्तमा सिफारिस गरेको थियो । पौडेल कांग्रेस, दाहाल एमाले र शाह नेकपा माओवादी केन्द्रको सिफारिसमा आयुक्त नियुक्त भएका हुन् । संसदीय सुनुवाई समितिले तीनै जनालाई निर्वाचन आयुक्तमा गत मंगलवार सर्वसम्मत अनुमोदन गरेको थियो । आयोगमा यसअघि प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्मामात्र कार्यरत थिए । आयोगमा प्रमुख निर्वाचन आयुक्तसहित ५ जना पदाधिकारी रहने संवैधानिक व्यवस्था छ । आयोगले मतदानका लागि आगामी जेठ १ र २१ गतेको मिति तोक्न सरकारलाई सिफारिस गरेको छ । सरकारले यसअघि नै जेठमा निर्वाचन गर्ने गरी तयारी थाल्न आयोगलाई लिखित पत्राचार गरेपनि मिति भने घोषणा भएको छैन ।
त्रिवि सेवा आयोगमा अख्तियारको छापा
काठमाडौ, फागुन ५। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा छापा मारि विभिन्न परिक्षा सम्वन्धि सामाग्रीहरु तथा उत्तर पुस्तिकाहरु नियन्त्रणमा लिएको छ । वुधवार त्रिभुवन विश्वविद्यालयमा गएको अख्तियारको टोलीले त्रिविवि सेवा आयोगले विभिन्न समयमा लिएको उपप्राध्यापकको परिक्षाका उत्तर पुस्तिका लगायतका सामाग्रीहरु जफत गरेको हो । अख्तियारको टोलीले विभिन्न २२ वटा विषयमा भएको परिक्षाको उत्तर पुस्तिका लगायतका सवै फाइलहरु जफत गरि छानवीन थालेको हो । अख्तियारका प्रवक्ता सहसचिव जीवराज कोइरालाले त्रिविवि सेवा आयोग वाट लिइएका उपप्रध्यापकका परिक्षा सम्वन्धि विभिन्न डकुमेन्टहरु नियन्त्रणमा लिइएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लोकसेवा आयोगको सिद्धान्त विपरित परिक्षा सञ्चालन गरेको र परिक्षा सञ्चालन गरेपछि परिक्षाको कापी परिक्षण गर्दा तथा परिक्षा सञ्चालन गर्दा समेत अनियमितता गरेको भन्दै छानवीनको माग गर्दै अख्तियारमा उजुरी परेको थियो । राष्ट्रिय सर्तकता केन्द्रले समेत त्रिवि सेवा आयोगले परिक्षा सञ्चालन गर्दा अनियमितता गरेको पाइएकाले आवश्यक छानवीन गर्न अख्तियारमा पत्राचार गरेको थियो । सर्तकता केन्द्रको पत्राचार र अन्य उजुरीको आधारमा अख्तियारले त्रिविवि सेवा आयोग माथि छानविन थालेको हो । अख्तियारका प्रवक्ता कोइरालाले त्रिविवि सेवा आयोगले परिक्षा सञ्चालन गर्दा अनियमितता गरेको भन्ने उजुरी आएकाले छानवीन थालिएको र छानवीनका क्रममा परिक्षा सम्वन्धि सम्पुर्ण सामाग्रीहरु नियन्त्रणमा लिईएको वताए । ‘परिक्षामा गम्भीर अनियमितता भएको भन्ने गुनासाहरु समेत आएकाले त्यस माथि गहन छानवीन र अनुसन्धान थालिएको प्रवक्ता कोइरालाले जानकारी दिए । अख्तियारमा शिक्षा हेर्ने उपसचिव रामप्रसाद सुवेदीको नेतृत्वमा गएको अख्तियारको टोलीले आयोगका छापा मारेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिविविको परिक्षामा अनियमितता भएको भन्ने प्रारम्भिक प्रमाणहरु देखिएकाले आयोगले केहि दिन अघि मात्रै छानवीन गर्ने निर्णय गरेको थियो । आयोगले औपचारिक रुपमा छानवीन गर्ने निर्णय गरे लगत्तै अख्तियारको टोली वुधवार त्यहा छापा मार्न पुगेको हो । अख्तियारका अनुसार जफत गरेर ल्याइएका कापीहरु मध्ये केहि परिक्षण हुन समेत वाकी रहेका छन् । आधा भन्दा वढि कपी भने परिक्षण भइसकेका छन् । ती सवै कपीहरु अख्तियारको विज्ञ टोलीले पुन जाच गर्ने जनाइएको छ । अख्तियारले छापा मारेर ल्याएका केहि फाइलहरु भने त्रिविवि सेवा आयोगले परिक्षा लिएर अन्तर्वाता समेत लिएर अन्तिम नाम प्रकाशन भइसकेका अवस्थाका छन् । अख्तियारले लगेका २२ विषय मध्ये आधा जति विषयको भने रिजल्ट निकाल्न वाकी नै रहेको छ । अख्तियारले परिक्षा सम्वन्धि सवै फाइल लगेपछि त्रिविवि सेवा आयोगको परिक्षा तथा नतीजा निकाल्ने सवै कामहरु रोकिएको छ । यस अघि कपी परिक्षण गरेर लिखित तथा अन्तर्वार्ता दुवैमा नाम निकाल्न सफल भएका भनिएकाहरुको समेत कापी पुन परिक्षण हुन सक्ने अख्तियार स्रोतले जानकारी दिएको छ । अख्तियारका एक अनुसन्धान अधिकृतका अनुसार अन्तिम रिजल्ट निकालिसकेका कपीमा अनिमितता भएको देखिए त्यस्ता रिजल्टहरु रद्ध हुने छन् भने कपी परिक्षण गर्नेहरु माथि समेत छानवीन हुन सक्छ । अख्तियारका प्रवक्ता कोइरालाले पनि त्रिविविमा अध्यापन गराउने विषय जस्तो संवेदनशील विषय भएकाले छानवीन र अनुसन्धानलाई नै विशेष किसिमले अघि वढाइने वताए । नयाँ पत्रिकाबाट साभार
मङ्सिरसम्म तीनवटै तहको निर्वाचन हुने देउवाको दावी
रामेछाप, फागुन ५। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी मङ्सिर महिनासम्म तीनवटै तहको निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । रामेछापको बेथानमा निर्माण गरिएको सहिद गोविन्द खड्काको शालिकको आज अनावरण गर्दै उहाँले आगामी वैशाखमा स्थानीय निकायको निर्वाचन गरी त्यसपछि मङ्सिरभित्र सङ्घीय र राष्ट्रिय निर्वाचन गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो । नेपाल अहिले पनि सङ्क्रमणकालमै रहेको बताउँदै सभापति देउवाले तीनवटै तहको निर्वाचन नसकी सङ्क्रमणकालको अन्त्य नहुने बताउनुभयो । कार्यक्रममा यातायात मन्त्री रमेश लेखकले वर्तमान सरकार निर्वाचन र संविधान कार्यान्वयनको दुईवटा एजेण्डा लिएर बनेको भन्दै त्यसलाई पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संविधानप्रति देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न संसदमा पेस भएको संशोधन विधेयक माथि छलफल गरी मतदान प्रक्रियालाई कसैले रोक्न नसक्ने पनि बताउनुभयो । सो अवसरमा सहिद परिवारलाई सम्मान गरिएको थियो । रासस
अन्ततः शंकाले श्रीमतीकाे हत्यारा बनायाे
कैलाली, फागुन ५ । धनगढी उपमहानगरपालिका–१२ जुगेडामा एक युवतीको शव हत्या गरेर घरनजिकैको खाल्टोमा पुरिएको अवस्थामा फेला परेको छ । यही माघ २७ गतेदेखि बेपत्ता भएको भनिएकी १६ वर्षीय अञ्जली सिंहलाई हत्या गरेर घरनजिकै खाल्टोमा पुरिएको अवस्थामा प्रहरी टोलीले हिजो फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिनुभएको छ । छ दिन अघिदेखि छोरी हराएकाले खोजी गरिदिन भनी अञ्जली पक्षबाट मङ्गलबार जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन परेको थियो भने त्यसको लगत्तै गरिएको अनुसन्धानबाट शव युवक हिक्मत सिंहको घर नजिकै खाल्डो खनेर घोप्टोे अवस्थामा फेला पारेकोे कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्दले बताउनुभएको छ । अञ्जली र हिक्मतबीच डेढ महिनाअघि मात्र प्रेम विवाह भएको थियो । तर अञ्जलीको समयमै महिनावारी नभएपछि हिक्मतले उनीमाथि शंका गरेका थिए । हिक्मतले सोध्दा उनले चार पाँच महिनाको अन्तरमा महिनावारी हुने जवाफ दिएकी थिइन् । तर, अञ्जलीको जवाफमा उनले विश्वास गर्न सकेनन् । उनले अञ्जलीको पेटमा अरु कसैको बच्चा हुर्किरहेको आशंकासमेत गरेका थिए । अन्ततः उनले अञ्जलीले आफूलाई धोका दिएको ठहरसहित हत्या गरे । घटनाको थप अनुसन्धानका लागि हिक्मत सिंहलाई प्रक्राउ गरेको प्रहरीले जनाएको छ । राजधानी दैनिकबाट
३५ करोडकाे लाेभमा गुम्याे जीवनभरको कमाइ
काठमाडौं, फागुन ५ । डेढ करोड लगानी गर्दा ३५ करोड आम्दानी हुने प्रलोभनमा पोखराका बेलबहादुर गुरुङ लोभिए । तर, त्यो वास्तविकता नभई ठगको जालमात्र थियो भन्ने गुरुङले पत्तै पाएनन् । एक महिनामै ३५ करोड कमाउन खोज्दा उनले दुई करोडको घर गुमाएका छन् । दक्षिण कोरियामा १७ वर्षदेखि काम गर्दै आएका गुरुङले विदेशकै कमाइले पोखरामा घर किनेका थिए । तर, रातारात करोडौँ कमाउन खोज्दा एकैपटक उनको वर्षौँको कमाइ गुमेको हो । ८६ करोड रुपैयाँको चिट्ठा परेको भन्दै एक युवकले उनको एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । उनको दुई करोड पर्ने घरसमेत अर्कैको हातमा पुगेको छ । लमजुङ घर भई महाराजगन्ज बस्ने सोयम ‘यमराज’ गुरुङले आफूलाई ८६ करोडको चिट्ठा परेको र त्यसको ३५ करोड रुपैयाँ दिने भन्दै उनको घरसमेत बेच्न लगाएर एक करोड ४२ लाख रुपैयाँ ठगी गरेका हुन् । सोयमलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । वृत्तका प्रमुख डिएसपी गोविन्द पुरीका अनुसार सोयमले आफू अन्तर्राष्ट्रिय फेसन डिजाइनर भएको भन्दै भ्रममा पारेर ठगी गरेका हुन् । अमेरिकाको अन्तर्राष्ट्रिय फेसन डिजाइनसम्बन्धी प्रतिस्पर्धामा आफू प्रथम भएको र ८६ करोड रुपैयाँ आउने भन्दै सोयमले बेलबहादुरलाई झुक्याएका थिए । सो पैसा नेपाल ल्याउन आफूलाई खर्च अभाव भएको भन्दै नाटकीय शैलीमा सोयमले ठगी गरेका हुन् । सोयमले दुई करोड सहयोग गरे ३५ करोड रुपैयाँ दिने बताएपछि बेलबहादुर लोभिएका थिए । सोहीअनुसार पोखरास्थित दुई करोड पर्ने घर गत असोजमा बिक्री गरी बेलबहादुरले सोयमलाई पैसा दिएका थिए । तर, सोयमले चिट्ठा परेर फेसन डिजाइनको प्रतिस्पर्धा जितेको कुरा गलत भएको र पैसा पनि फिर्ता नगरेपछि उनले प्रहरीमा उजुरी दिएका हुन् । दुई साताअघि सोयमलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डिएसपी गोविन्द पुरीले बताए । –नयाँ पत्रिका दैनिकबाट
मानवतस्करीको ट्रान्जिट बन्दै दक्षिणपूर्वी एसिया
काठमाडौं, फागुन ५ । अमेरिका, क्यानडा, अष्ट्रेलिया, युरोपलगायत विकसित राष्ट्र पुर्याइदिने प्रलोभनमा पारी मानवतस्कर र गिरोहले मोटो रकम असुल्दै नेपालीलाई दक्षिणपूर्वी एसियाली राष्ट्र पुर्याएर अलपत्र छाड्ने गरेको भेटिएको छ । नेपालीलाई ती राष्ट्रसम्म पुर्याउन उनीहरुले दक्षिणपूर्वी एसियालाई ‘ट्रान्जिट’बनाइरहेको समेत खुलेको छ । दक्षिणपूर्वी थुप्रै एसियाली राष्ट्रले नेपाललाई सहज रुपमा ‘भिसा’दिँदै आएका छन् । दक्षिणपू्र्वी एसियाली केही राष्ट्रले नेपालीलाई सुशल्क‘अनअराइभल’ भिसा दिँदै आएका छन् त केहीले निःशुल्क । मानवतस्करले यही सुविधाको फाइदा उठाउँदै नेपालीलाई सहज रुपमा ती देश पुर्याइ मोटो रकम असुलेर अलपत्र छाड्ने गरेको पाइएको छ । ‘मानवतस्करले कैयौ नेपालीलाई पर्यटक भिसामा दक्षिणपूर्वी एसियाली राष्ट्र ल्याई अमेरिका,अष्ट्रेलिया,क्यानडा,दक्षिण कोरिया,जापान,युरोप लगायत देशको भिसा लगाई ती राष्ट्रमा पठाइदिने प्रलोभनमा पाी ठग्दै आएको देखिएको छ ।’ थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले भने,‘तस्करहरुले दक्षिणपूर्वी एसियालाई ट्रान्जिट बनाएको देखिन्छ जसका कारण धेरै नेपाली यहाँ आइपुगेर ठगिने र अलपत्र पर्ने क्रम बढिरेहेको छ ।’ तस्करहरुले नेपालीसँग ८ देखि २० लाख रुपैयाँसम्म असुल्ने गरेका छन् । मोटो रकम असुलेपछि भने अलपत्र छाडेर तस्करहरु भाग्ने गरेका छन् । नागरिक दैनिकबाट
१७ गतेदेखि पुराना गाडी चलाउन नपाइने
काठमाडौं, फाल्गुन ४ । फागुन १७ देखि सरकारले मुलुकभरबाट २० वर्षे पुराना ५ हजारभन्दा बढी सार्वजनिक सवारी साधनलाई हटाउने भएको छ । जसअनुसार उपत्यकाभित्रैैत्राट २५ सय र बाहिर त्यति नै संख्यामा सार्वजनिक गाडी विस्थापित हुने यातायात व्यवस्था विभागले जनाएको छ । विभागले २० वर्षे पुराना गाडी सडकमा गुडे र नगुडेको निगरानी गर्न विभागका निर्देशक चन्द्र फुँयालको संयोजकत्वमा ट्राफिक प्रहरीसमेत सम्मिलित १४ सदस्यीय निरीक्षण तथा अनुगमन समिति गठन गरेको छ । प्रत्येक क्षेत्रको यातायात अंचल कार्यालयलाई मापदण्डविपरीत चल्ने गाडीको निगरानी तथा अनुगमन गर्न निर्देशन दिइसकेको विभागका प्रवक्ता टोकराज पाण्डेले बताए । २०७१ फागुन १८ मा राजपत्रमा प्रकाशित गरी सरकारले आगामी फागुन १७ देखि २० वर्ष पुराना सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।
प्रेम प्रस्ताव अस्वीकार गर्दा छतबाट हामफालेर आत्महत्या
चितवन, फागुन ४ । प्रेम प्रस्ताव अस्वीकार गर्दा चितवनमा एक युवाले घरको छतबाट हामफालेर आत्महत्या गरेका छन् । प्रणय दिवसका दिन बेलुका फूल लिएर एक युवतीलाई प्रेम प्रस्ताव राख्दा उनले युवतीले प्रस्ताव अस्वीकार गरेपछि सुनसरी घर भई भरतपुर १० ओमशान्ति चोक बस्दै आएका २० वर्षीय विकल चौधरीले आत्महत्या गरेका हुन् । ‘कक्षा ९ मा पढ्दै आएकी ती किशोरी बसेको घरमा पुगेर प्रेम प्रस्ताव राखेको र उनले प्रस्ताव अस्वीकार गरेपछि तीनतले घरको छतबाटै हामफालेर आत्महत्या गरेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताएका छन् । उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । घटना मङ्गलबार बेलुकाको भए पनि अहिलेसम्म शव अस्पतालमै रहेको र दुई पक्षबीच छलफल गरेर शव परिवारलाई बुझाइने बताइएको छ । अर्जुन श्रेष्ठको घरमा डेरा गरेर बस्दै आएकी ती किशोरी भेट्न विकल त्यहीँ पुगेका थिए ।


>
>