पर्यटकीय क्षेत्रको सरसफाइ

रसुवा, फागुन १२ । सेना दिवसका अवसरमा यहाँको पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ ।

हिमाली क्षेत्रको जैविक विविधता संरक्षणका लागि यहाँ स्थित नेपाली सेना नारायणदल गणको अगुवाइमा धुन्चे बजार र आसपासका क्षेत्रमा सरसफाइ गरिएको हो ।

सरसफाइबाट दुई टनभन्दा बढी फोहर सङ्कलन गरी व्यवस्थापन गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

सरसफाइ कार्यक्रममा सांसद, प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षक, विद्यार्थी र नागरिक समाजका अगुवालगायतका सहभागिता थियो ।

पर्यटक आगमन हुने मुख्य समयमा भएको विशेष सरसफाइ कार्यक्रमले वातावरणमा सहजता आएको स्थानीयवासीले बताएका छन् ।

थारू संस्कृति जगेर्ना गर्न सङ्ग्रहालय स्थापना गरिने

कञ्चनपुर, फागुन १२। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बाँनियाले थारू संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बर्दिया र कञ्चनपुरमा सङ्ग्रहालय स्थापना गर्न लागिएको बताउनुभएको छ । बुधबार कञ्चनपुरको झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको शुक्लाफाँटा क्षेत्रीय औद्योगिक व्यापार मेलाको उद्घाटन गर्नुहँुदै उहाँले थारू समुदायको लोप हँुदै गएका कला, संस्कृति, रहनसहन, भाषा, वेशभूषा र गहना संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिने बताउनुभयो । उहाँले बर्दियामा चौधरी डगौरा थारूको सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ५० लाख र कञ्चनपुरमा राना थारू समुदायको सङ्ग्रहालय निर्माणका लागि रु एक करोड ५० लाख बजेट मन्त्रालयले विनियोजन गरिसकेको बताउनुभयो । स्थानीय कला संस्कृतिको जगेर्ना गर्न सके मात्रै पर्यटकलाई भित्र्याउन सकिने भएकाले सबैले कला, संस्कृति जोगाउनका लागि लाग्नुपर्ने उहाँले बताउनुभयो । पर्यटन व्यवसायलाई विस्तार गर्नका लागि शुक्लाफाँटा आरक्षलाई निकुञ्जमा परिणत गरिएको उहाँले बताउनुभयो । पुरातात्विक महत्वका मठमन्दिर र प्राचीन इतिहास बोकेका क्षेत्रको संरक्षणका लागिसमेत कार्यक्रम अगाडि बढाइएको उहाँँले बताउनुभयो । स्थानीय निकायको निर्वाचन १९ वर्षपछि हुन लागेकाले देशले धेरै समयपछि जनप्रतिनिधि पाउने राज्यमन्त्री बाँनियाले बताउनुभयो । संसद्मा पेस गरिएको संशोधन प्रस्ताव संसद्बाटै पास गरेर निर्वाचनका कार्य अगाडि बढ्ने दृढता पनि उहाँले व्यक्त गर्नुभयो । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नारायणप्रकाश साउदले विकास निर्माणका कार्यलाई अगाडि बढाई कञ्चनपुरलाई समृद्ध बनाउनका लागि कटिबद्ध भएको बताउनुभयो । उहाँले बेलौरी राजमार्ग, जिल्लाको दक्षिणी क्षेत्रको हुलाकी राजमार्ग र दैजी–जोगबुढा सडक कालोपत्रका लागि कार्य अगाडि बढिसकेकाले निर्माणपश्चात् यस क्षेत्रले फड्को मार्ने बताउनुभयो । कार्यक्रममा व्यवस्थापिका–संसद्का सांसद बहादुर सिंह थापा, अब्दुल रज्जाक, पूर्वसंविधान सभाका सभासद् टेकेन्द्रप्रसाद भट्ट लगायतले मेलाको सफलताको कामना गर्नुभएको थियो । “कृषि, पर्यटन संस्कृति हाम्रो शान, व्यापार प्रवद्र्धन आर्थिक समृद्धिको अभियान’ भन्ने नारासहित झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घले बुधबार देखि २१ गते सम्म सञ्चालन गर्ने मेलामा सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने सामग्री, सांस्कृतिक पहिरन, गहना, नृत्य, गीतका साथै हस्तकलाका सामान, कृषिसँग सम्बन्धित औजार, उपकरण, उत्पादन, व्यापारिक वस्तुहरु र मौलिक परिकार राखिएका छन् । “मुख्य पर्यटकीय क्षेत्रका रुपमा रहेका बेदकोट, मुडका, सुनदेवी, घटाल थान, शुक्लाफाँटा, झिलमिला, लालझाडी, मोहना धार्मिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रको प्रचारप्रसार र पर्यटकलाई यहाँसम्म पु¥याउने उद्देश्य लिई मेलाको आयोजना गरेका छौँ”, झलारी पिपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्र भण्डारीले भन्नुभयो । दुई लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको मेलामा दुईसय ५० स्टल राखिनेछन् । मेला आयोजनाका लागि सङ्घले रु ३९ लाख ८१ हजार पाँचसय ५० खर्च लाग्ने अनुमान गरेको छ । रासस

पुनःनिर्माणमा राजनीति घुस्योः सभापति अधिकारी

काठमाडौँ,फागुन १२् । व्यवस्थापिका–संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा राजनीति घुसेको आरोप लगाउनुभएको छ । धादिङको सलाङ–५ मैदानमा अवस्थित पञ्चमुखी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अधिकारीले सो आरोप लगाउनुभएको हो । उहाँले भूकम्पपछि क्षतिग्रस्त विद्यालयहरुको पुनःनिर्माणका गठन भएको निकायले प्रभावकारी काम गर्न नसकेको गुनासो गर्दै विद्यालय पुनःनिर्माणमा दाताहरुको मात्र मुख ताक्ने प्रवृत्ति त्याग्न विद्यालय सञ्चालकलाई सुझाव दिनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री इटनीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय भवन निर्माणमा सहयोग जुटाउने जापानी संस्था किताक्यूसु वाइएमसीएका महासचिव केनिचिरो ओगावाले जापानमाा एक÷एक रुपैयाँ गरेर सङ्कलन गरिएको रकमको सदुपयोग भएको बताउनुभयो । रासस

तीनै तहको निर्वाचन सम्पन्न गर्न सर्वोच्चको ध्यानाकर्षण

काठमाडौँ, फागुन १२। सर्वोच्च अदातलले नेपालको संविधानको पूर्ण कार्यान्वयनका लागि २०७४ साल माघ ७ गतेसम्ममा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न गर्न ध्यानाकर्षण गराएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संयुक्त इजलासले सो ध्यानाकर्षण गराएको हो । स्थानीय तहको पुनःसंरचना नहुन्जेलसम्म स्थानीय निकायको निर्वाचन र स्थानीय तहको पुनःसंरचना भएपछि स्थानीय तहको निर्वाचन गर्न परमादेशको आदेश जारी गरी पाउँ भनी रिट निवेदन परेको थियो । अधिवक्ता डा चन्द्रकान्त ज्ञवाली, पर्शुराम उपाध्याय, विमल ज्ञवाली, लीलाधर उपाध्याय, विजय गौतम र शशिकुमार कार्कीले हालेको रिट निवेदनको सुनुवाइपछि सो ध्यानाकर्षण गराउँदै रिट खारेज गरिएको हो । “स्थानीय तहको निर्वाचन नभई केन्द्रीय तहको निर्वाचनका लागि निर्वाचन मन्चले पूर्णता नपाउने अवस्था रहेको भयबाट पनि स्थानीय तहको निर्वाचन थप अपरिहार्य बनेको छ”– आदेशमा भनिएको छ । विसं २०७४ माघ ७ गतेभित्रमा सङ्क्रमणकालको सुनिश्चितता गरिनुपर्ने सरकारको दायित्व भएको हुँदा त्योभन्दाबाहेक अन्यथा कुनै परिकल्पना गरियो भने संविधानप्रतिको जालझेल र बेइमानी हुनेसमेत आदेशमा भनिएको छ । आदेशमा भनिएको छ– “संविधानद्वारा निर्धारित समयसीमाभित्र सबै तहको निर्वाचन कार्य सम्पन्न गर्न सघन र सार्थक प्रयास अगाडि बढाउने कुरा नै सर्वाधिक प्राथमिकताको विषय बन्नुपर्ने सरकारको संवैधानिक जिम्मेवारी हरहालतमा पूरा गरिने वान्छनीय देखिएको छ ।” रासस

शिवरात्रिमा पशुपति दर्शनका लागि सजिलो बाटो

काठमाडौं, फागुन ११ । यस वर्ष महाशिवरात्रिमा पशुपतिमा दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटाको व्यवस्था गरिएको छ । बत्तिसपुतली–गौशालाबाट पिङ्गलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट, एयरपोर्टतर्फबाट तिलगङ्गा–राममन्दिर हुँदै वाग्मती तरी पूर्वढोकाबाट, मित्रपार्क गौरीघाटबाट उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–बासुकी हुँदै उत्तर ढोकाबाट र जय वागेश्वरीबाट भुवनेश्वरी हुँदै पश्चिमतर्पmको सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी जुन लाइनबाट गएको हो सोही लाइनबाट फर्कने व्यवस्था मिलाइएको कोषका सदस्य सचिव डा गोविन्द टण्डनले बताए । ‘पश्चिम ढोकाबाट बाहिर निस्केपछि वनकाली हुँदै गौशालातर्फ र दक्षिणामूर्ति हुँदै मित्रपार्कबाट बाहिर जाने व्यवस्था गरिएको छ, तोकिएको प्रवेश बाटोबाट दर्शन गर्न जाँदा जुत्ता–चप्पल कक्षमा जुत्ता राख्ने र दर्शनपश्चात् तोकिएको बाटोबाट फर्की जुत्ता–चप्पल लिने व्यवस्था मिलाइएको छ’ उनले भने । दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिनेछ । आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगङ्गा, वनकाली, कैलाश, राम मन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको छ । पशुपति मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखनमा नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर काठमाडौँबाट सार्वजनिक सूचना प्रकाशन गरिएको छ । महाशिवरात्रिका अवसरमा बिहीबार, शुक्रबार र शनिबार पशुपति क्षेत्रमा विशेष सुरक्षा व्यवस्था मिलाइने छ । मेलाका अवसरमा तिलगङ्गामा तीर्थयात्री–दर्शनार्थी र पर्यटक, कोषको कार्यालय बाहिर तथा प्रहरीवृत्त गौशालामा गाडी पास वाहक र सरकारी, सिफलमा अर्चक उपासक, पास वाला सवारीसाधन र स्थानीय दर्शनार्थी एवम् गुह्येश्वरी पारि गोठाटार, जोरपाटी, बौद्धतर्फबाट आउने तीर्थयात्रीको वाहन राख्ने व्यवस्था मिलाइनेछ । मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयम्सेवक परिचालन गरिनेछ । यस वर्ष मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था गरिएको छैन । मन्दिरभित्र सुरक्षाकर्मी र कोषले खटाएको कर्मचारी मात्र रहने व्यवस्था हुने छ । दर्शनार्थी र भक्तजनको सुविधाका लागि गौशाला, मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, जयबागेश्वरी र तिलगङ्गामा पशुपतिनाथको चन्दन वितरण गरिनेछ । महाशिवरात्रि पर्वका अवसरमा सूचनाको सहज सम्प्रेषणका लागि कोषले अडियो नोटिस बोर्ड नं १६१८०१४४७०५७५ मा सुन्न सकिने व्यवस्था गरेको छ ।

आडाम्स ठिमीको २१ औँ वार्षिकोत्सव सम्पन्न

भक्तपुर, फागुन ११ । मध्यपुरठिमी नगरपालिका–९ स्थित स‌‌‌गम कोलोनीमा रहेका बासिन्दाले यसक्षेत्रको विकास एवम् संवद्र्धनका लागि स्थापना गरेको आडाम्स ठिमीको २१ आँै वार्षिकोत्सव समारोह यहाँ सम्पन्न भएको छ । समारोहको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता एवम् सांसद रामेश्वर ढुङ्गेलले देशको विकासमा आफै‌ जुट्ने परम्परालाई सङ्गम कोलोनीका बासिन्दाले चरितार्थ गरेको र यस्तो कार्यलाई अरुले पनि अनुशरण गर्नुपर्ने बताए । काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले समाजको विकासबाटै देशको विकास हुने भएकाले आफ्नो गाउँ र समाजको विकासमा लाग्नुपर्नेमा जोड दिए । आडाम्सका पूर्वअध्यक्ष डा अशोक महासेठले “सबैका लागि विकास, सबै विकासका लागि” भन्ने मूलनाराका साथ स्थापना भएको यस संस्थाले स्थानीय बासिन्दाबीच सद्भाव कायम गर्दै सामाजिक विकासका लागि अग्रसर हुँदै आएको बताए । समारोहमा ३७ जनाले रक्तदान गरेका थिए भने ७५ वर्ष भन्दा माथिका ३५ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सो अवसरमा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय ३८ जनाको स्वास्थ्य परीक्षण गरी औषधिसमेत वितरण गरिएको संस्थाका अध्यक्ष इन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

नेपाल सद्भावना पार्टी असन्तुष्ट

काठमाडौँ, फागुन ११ । संविधान संशोधन नगरी यथास्थितिमा स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएकोमा नेपाल सद्भावना  पार्टीले सरकारप्रति असन्तुिष्ट व्यक्त गरेका छन् । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष अनिलकुमार झाले संविधान संशोधन नगरी यथास्थितिमा संविधान कार्यान्वयनका लागि घोषणा गरिएको स्थानीय तहको निर्वाचन जनताको चाहाना विपरीत रहेको आरोप लगाए । सरकारले देशको शोषित, पीडित उपेक्षित जनताको भवना चाहाना र अपेक्षामाथि कुठाराघात गर्दै एकल जातीय एवम् वर्गीय स्वार्थबाट प्रेरित भएर स्थानीय तह निर्वाचनको मिति घोषणा गरिएको भन्दै पार्टीले त्यसको विरोध जनाएको सम्मेलनमा पार्टीका प्रवक्ता डा डिम्पल कुमारी झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पार्टीको २८ औँ स्थापना दिवस आगामी वैशाख ३ गते गरिने पनि उल्लेख छ । लामो समयपछि हुन लागिएको स्ववियु निर्वाचन पनि मनोमानी ढङ्गले त्रिभुवन विश्व विद्यालयको मर्यादा विपरीत गर्न लागिएको आरोप पनि विज्ञप्तिमार्फत सो पार्टीले लगाइएको छ ।

मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिए

विराटनगर, फागुन ११ । मोरङमा चौंध हजारभन्दा बढी मतदाता थपिएका छ । यस जिल्लाको ५० गाविस र ८ नगरपालिकाको १५५ इकाइबाट १४ हजार ३७४ मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालय, विराटनगरले जनाएको छ । मोरङको वयरवन गाविसमा सबैभन्दा बढी ६०७ जना नयाँ मतदाता र उर्लाबारी नगरपालिका– ७ मा एकजना पनि नयाँ मतदाता नथपिएको सो कार्यालयले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालयबाट मतदाता नामावली सङ्कलनका लागि १५५ इकाइ अर्थात वडामा टोली खटिएका थिए । मतदाता सङ्कलन गत सोमबारदेखि बन्द भइसकेको र अब फागुन १७ गतेदेखि २० गतेसम्म नाम सच्चयाउन, दाबी विरोध गर्नका लागि मतदाताको नामावली क्षेत्रीय कार्यालय, विराटनगरमा सार्वजनिक गरिने र २१ गते अन्तिम नामावली सार्वजनिक गर्ने सो कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराए ।

विश्वभाषा क्याम्पसमा क्रान्तिकारीवाट प्रकाश थापाको जित्ने दावी

काठमाडौं, फागुन ११ । विश्वका विभिन्न प्रख्यात १५ वटा भाषा पढाइ हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसमा अखिल क्रान्तिकारीले प्रकाश थापालाई स्ववियु सभापतिको उम्मेदवारमा अघि सारेको छ। उम्मेदवार वने लगत्तै थापाले प्रचार अभियानलाई तिब्र पारेका छन्। क्रान्तिकारीको विश्वभाषा क्याम्पस समितिका अध्यक्ष समेत रहेका थापा विद्यार्थी माझ अत्यन्तै लोकप्रिय र सक्रिय रहेकाले उनलाई सर्वसम्मत रुपमा स्ववियु सभापतिमा उठाइएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जनाए। यसपटकको स्ववियु निर्वाचनमा उम्मेदवार वन्न २८ वर्षे उमेरहद लगाइएकाले पाल्पा पालुङमैनादी -५ का २७ वर्षीय थापा उम्मेदवार वनेका हुन्। थापाले विद्यार्थी माझ सरल,जुझारु र इमानदार विद्यार्थी नेताको छवि वनाएका छन्। उम्मेदवार वने लगत्तै अखिल क्रान्तिकारीको बलियो पकड मानिने विश्वभाषा क्याम्पसमा आफ्नो विजय सुनिश्चित रहेको थापाले दावी गरे।

साढे पाँच करोड सहयोग प्राप्त

पोखरा, फागुन ११  । कास्कीको पर्यटकीयस्थल पुम्दीकोटमा सुरु भएको महाशिवपुराण महायज्ञको आठौँ दिनसम्म रु पाँच करोड ५० लाख सहयोग प्राप्त भएको छ । विशाल महादेवको मूर्तिलगायतका संरचना निर्माण गर्ने उद्देश्यका साथ सो महायज्ञ भइरहेको छ । पुम्दीकोटलाई धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यका साथ १०८ फिटको महादेव मूर्तिसहित कोट मन्दिर, सङ्ग्रहालय, सहिद स्मृति पार्कजस्ता संरचना निर्माण गर्न लागिएको महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रकान्त बरालले जानकारी दिए । महायज्ञको आठौँ दिन मङ्गलबार मात्र रु ५७ लाख सहयोग सङ्कलन भएको महायज्ञ प्रचारप्रसार उपसमितिका संयोजक माधव रेग्मीले जानकारी दिए । उहाँका अनुसार मङ्गलबार श्री कृष्ण भजन मण्डली तथा लुकुन्स्वाँरा, लैसिबोट आमा समूह, पोखराबाट रु २५ लाख ९३ हजार, धनिराम बरालबाट रु दुई लाख ५१ हजार ५०१, गङ्गाप्रसाद सुवेदीबाट रु दुई लाख २५ हजार पाँच, बिएनबि हाउजिङ पोखराबाट रु दुई लाख २५ हजार ५२५, टाईगर ग्रुप पोखराबाट रु दुई लाख २५ हजार, पश्चिमाञ्चल होटल व्यवसायी सङ्घबाट रु दुई लाख २५ हजार, नन्दप्रसाद आचार्यबाट रु दुई लाख २५ हजार ५५५ र नासु सिंहबहादुर गुरुङबाट रु दुई लाख २५ हजार १५५ सहयोग प्राप्त भएको छ । त्यस्तै बिन्दु कुमार र ध्रुवबहादुर थापाबाट रु एक लाख ८६ हजार २२२, श्रीबहादुर रानाभाटबाट रु एक लाख एक हजार १११, निमराज पौडेलबाट रु एक लाख एक हजार १११, ईश्वर थापाबाट रु एक लाख ११ हजार १०८, टीकाराम बरालबाट रु एक लाख ११ हजार १११, ज्ञानेन्द्रप्रसाद सिग्देलबाट रु एक लाख एक र नरपति देवकोटाबाट रु एक लाख एक हजार ५५५ सहयोग प्राप्त भएको मूल आयोजक समितिले जनाएको छ ।

संरक्षण नहुँदा गिद्ध लोप हुँदै

विनोद सिंह विष्ट बैतडी, फागुन  ११ । प्रकृतिको कुचिकारको रुपमा रहेका लोपोन्मुख पंक्षी गिद्ध संरक्षण नहुँदा लोप हुँदै गएका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय बैतडीमा गिद्ध लोप हुँदै गएका हुन् । प्राय सिमलको रुखमा गुँड बनाउने गिद्धको लागि गुँड बनाउने ठुल्ठुला रुख नभएकाले लोप हुँदै गएका सामुदायिक वन उपभोक्ता महासङ्घ बैतडीका अध्यक्ष चक्रप्रसाद शर्माले बताए । उनले  भने, “खेतबारीमा अन्न उत्पादन कम भएको भन्दै स्थानीयले भएका ठूला रुख काट्न थालेपछि गुँड बनाउने रुख घट्दै गएका हुन् ।” नेपाल पन्छी संरक्षण सङ्घले बैतडीमा गत वर्ष १२ ओटा गुँड फेला परेको तथ्याङ्कले देखाएको छ । पछिल्लो समय गिद्ध संरक्षण नहुँदा घट्दै गएका छन् । गिद्ध संरक्षणका लागि कुनै पहल भएको छैन । सरकारी र स्थानीय तवरबाट पहल हुनसके लोप हँुदै गएका गिद्धको संरक्षण हुने अध्यक्ष शर्माको भनाई छ । गिद्ध संरक्षण गर्न वन कार्यालयले सिमलको रुख कटानीमा रोक्का गरी नयाँ वृक्षरोपणको अभियानमा सिमललाई प्राथमिकता दिनुपर्ने उनले बताए । गिद्धको सुरक्षित वासस्थल मानिने अग्ला सिमलका रुखहरु काटिनुले गिद्ध लोप हुने अवस्थामा पुगेको हो । पशुहरुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्धहरु लोप हुन थालेको जानकार बताउँछन् । पशुको जीउ दुख्ने र ज्वरो आउँदा प्रयोग हुने यो औषधि प्रयोगले गिद्धको विनासमा ठूलो भूमिका खेलेको चिकित्सकहरु बताउँछन् । डाइक्लोफेनक औषधि प्रयोग भएको पशुको सिनो खाने गिद्धको मिर्गौला खराब भई मृत्यु हुने गरेको पशु चिकित्सकको भनाई रहेको छ । स्थानीय किसानले पनि मरेको पशुको सिनो व्यवस्थापन गर्ने गर्दा भैँसी मरे मासु खाने अन्य गाईगोरु मर्दा खाडल खनेर पुर्न थालेपछि गिद्धले आहारा नपाएकाले घट्दै गएको जिल्ला पशु सेवा कार्यालय बैतडीका प्रमुख डा नवीन घिमिरेले बताए । “गिद्धले मरेको सिनो खाएर प्रकृति सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण जरुरी छ,” उनले भने । अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाइन्छन् । त्यसमध्ये दक्षिण एसियामा ९ र नेपालमा ८ प्रजातीका गिद्ध पाइन्छन् । नेपालमा पाइने ८ प्रजातीका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् । जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहाराको अभावमा पछिल्लो समय लोप हुँदै गएका गिद्धको संरक्षण गर्न जरुरी देखिएको छ ।

मोरङमा बन्दको प्रभाव

विराटनगर, ११ फागुन । मधेसी मोर्चाको आह्वानमा गरिएको बन्दको प्रभाव मोरङमा देखापरेको छ । बन्दका कारण विराटनगरबाट छोटो तथा लामो दूरीका सार्वजनिक यातायातका सेवाहरु ठप्प रहेका छन् भने मोटरसाइकल र सिटी सफारीहरु फाटपूmट रुपका कुदिरहेका देखिन्छन् । सो बन्दको प्रभाव शिक्षण क्षेत्रमा पनि परेको छ । अधिकांश निजी विद्यालय बन्द रहेका छन् । यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले बन्दको क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ । मोर्चाले स्थानीय निर्वाचनको तिथि घोषणा भएको विरोधमा आज बन्दको आह्वान गरेको हो ।

मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो

गोरखा, फागुन ११ । बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने– अहिलेसम्म ९६ जनाको बैंकमा शून्य मौज्दातमा खाता खोलिसकिएको छ । बूढीगण्डकी प्रभावितमध्ये ४२ जनाको लालपुर्जा सरकारलाई प्राप्त भइसकेको र ती सबैको नाममा बैंकमा खाता पनि खोलिसकिएको छ” उनले भने, “केही दिनमा प्रभावितको खातामा रकम पठाउँछौँ ।” आयोजनाको सिउरेनीटारमा रहेको कार्यालयका कर्मचारीलाई जतिसक्दो छिटो प्रभावित बासिन्दाको लालपुर्जा सङ्कलन गर्न र बैंक खाता खोल्न पनि निर्देशन दिइसकिएको प्रजिअ बस्नेतले बताए । पहिलो चरणमा तीन गाविसका करिब एक हजार जनालाई मुआब्जा वितरण गर्ने तयारी सुरु गरेपनि ती मध्ये करिब दुई सय जनाले मात्र मुआब्जा पाउँ भन्दै निवेदन दिएका छन् । पुनर्वासको टुङ्गो नलाग्दा मुआब्जाका लागि निवेदन नदिएको बताइएको छ ।

महोत्सवको तयारी पूरा

पाल्पा, फागुन ११ । सदरमुकाम तानसेनमा आयोजना हुने पाल्पा महोत्सवको तयारी पूरा भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा हुने ११आँै संस्करणको सो महोत्सवको दुई लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने र करिब रु आठ करोड बराबरको कारोबारको लक्ष्य रहेको आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । महोत्सवको आम्दानीबाट संस्थाको बहुउद्देश्यीय भवन निर्माण तथा जिल्लाको विकास निर्माणमा गरिने छ । महोत्सवबाट करिब रु ७० लाख आम्दानी हुने अनुमान गरिएको छ । संघको बहुउद्देश्यीय भवन निर्माणका लागि ४० प्रतिशत, सचिवालय व्यवस्थापनमा ३०, पर्यटन प्रवद्र्धनमा १५, स्वर्ण महोत्सवका लागि १० तथा टुँडिखेलको स्तरोन्नतिका लागि ५ प्रतिशत खर्च गरिने समितिका प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताए । महोत्सवमा चार सय ६३ कक्ष रहने छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक, राउटेद्वारा निर्मित सामाग्रीको प्रदर्शनी, फोटो प्रदर्शनी तथा कृषिजन्य सामाग्रीको प्रदर्शनी रहनेछ । नेपाल उद्योग वाणिज्य महासङ्घ, सह–आयोजक जिल्ला विकास समिति, तानसेन नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि उद्यम केन्द्र र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवमा जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव फागुन १२ गतदेखि २२ गतेसम्म सदरमुकाम तानसेनमा आयोजना हुने छ ।

राष्ट्रिय युवा नायक अवार्ड पाए थापाले

प्रकाश पन्थी जापान, फागुन ११ । विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन् । सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलो पटक नेपाली युवा ३७ वर्षका जिज्ञानकुमार थापा सम्मानित भएका हुन् । नेपाली नागरिक भएर पनि जापानबाट सामाजिक काममा उष्कृष्ट योगदान पुर्याएको भन्दै थापासहित अन्य चार जना जापानी नागरिकलाई मंगलबार टोकियोको सहायक पर्यटकीय व्यापारिक केन्द्र मानिने रोप्पोंगीमा एक कार्यक्रमका बीच युवानायक अवार्ड प्रदान गरिएको थियोे । सन् २००० मा अध्ययनका लागि काठमाडौँबाट जापान आएका थापा गैरआवासीय नेपाली सङ्घको सल्लाहकार र नेपाल जापानको सम्बन्ध विकासमा सहयोगी तथा भूकम्प प्रभावित नेपाली बालबालिकालाई कुखुराको फुल कार्यक्रम चलाउँदै आएको छ । ‘सामाजिक काममा उष्कृष्ट योगदान पुर्याएको’ लेखिएको अवार्ड पाएपछि थापाले सामाजिक दायित्वमा जिम्मेवारी थपिएको अनुभव भएको भन्दै सम्मानले नेपाल र नेपालीको हौसला बढेको बताएको छ । सम्मानित भएपछि जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्ट, गैरआवासीय नेपाली सङ्घ, जापानका अध्यक्ष सुदन थापासहित जापानस्थित विभिन्न संघसंस्थाले बधाई दिएका छन् । विगत सात वर्षदेखि प्रदान गर्दै आएको राष्ट्रिय युवा अवार्ड ८ औँ वर्षमा आउँदा प्रदान गरिने विधालाई परिमार्जन गरी पहिलोपटक नेपाली युवा थापासहित अपाङ्ग भएर पनि सबलाङ्ग सरह योगदान पुर्याएको भन्दै ३६ वर्षीय स्थानीय महिला ओदा युरिको योउइची सम्मानित हुँदा धेरैजना अचम्मित भएका थिए । जापानको युवा विकास संघ नामक संस्थाले स्थापना गरेको अवार्ड ७ वर्षसम्म अनौठो मानिएको विवाहित जोडी र विदेशी नागरिकलाई सम्झना गरिएको थिएन । अनौठो विवाहितजोडिलाई अपाङ्ग भएर पनि विचारमार्फत समाज परिवर्तनमा सफल रहेको भनिएको थियो । सम्मानित भएकी योउइची आफूले एक्लै खान, पिउन तथा कपडा लगाउन र हिँडडुल गर्न सक्दिनन् । युवा नायक अवार्ड वितरण कार्यक्रममा प्राप्त गरेको अवार्ड र माइक समाउन पतिलाई सहायक बनाएकी थिइन् । केही गर्न नसक्ने मलाई माया गर्ने सबलाङ्ग पतिलाई मञ्चबाटै खोज्न आग्रह गर्दा धेरै मानिस भावुक पनि देखिएका थिए । बाँच्नका लागि गरेको योउइचीको साहस र नेपाली युवाको जागर तथा अन्य विधामा उत्कृष्टताका आधारमा ३४ वर्षका हानायागी कोतोओमी, ४० बर्षका फुजीसावा रेचु र ४२ वर्षीय इवाफु युकालाई पनि युवानायक अवार्ड प्रदान गरिएपछि जापानी सामाजिक सञ्जालमा धेरैले बधाई दिएका छन् ।

दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा चारको मृत्यु

लहान, फागुन ११ । सिरहाका छुट्टाछुट्टै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिरहाको पिप्रा प्र.पि.–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ । रुपेश र हरेरामको घटनास्थलमै तथा नितेशको उपचारका क्रममा सिरहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त ३२४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी मोहनती यादवको मृत्यु भएको छ । राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोहनतीको लहानस्थित रामप्रसाद उमादेवी स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।