स्थानीय तह निर्वाचनको मतपत्र जनक शिक्षाले छाप्ने

बाबुरामको नयाँ शक्तिले भन्यो– ‘संविधान संशोधनपछि मात्र निर्वाचन’ !

काठमाडौँ, फागुन १३ । नयाँ शक्ति पार्टीले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने माग गरेको छ । स्थानीय निकायको टुङ्गो नलागेको र सम्झौताअनुसार संविधान संशोधन पनि नभएको अवस्थामा निर्वाचन हुन नसक्ने पार्टीले जनाएको छ । पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै निर्वाचनको आधार तयार पार्न सरकारसँग माग गरे । ‘देवकोटाले प्रश्न गर्दै भने– ‘संविधान संशोधन तथा स्थानीय निकायको टुङ्गो नलागी कसरी निर्वाचन हुन्छ ?’। राजनीति अत्यन्त तरल अवस्थामा पुगेको भन्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा उनको जोड दिए । यसअघि नै सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा संयुक्त प्रेस विज्ञप्तिमार्फत विरोध जनाएका थिए । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संविधानका त्रुटिलाई सच्याएर मात्र निर्वाचनमा जानुपर्ने बताएका थिए । प्रवक्ता देवकोटाले ७० वर्षदेखि निरन्तर लडेर भएको प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेको उल्लेख गर्दै भने– “करोडौँ रकम तिरेर लोकतन्त्र ल्याउने अवस्था छ, त्यसलाई बदल्न संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी बनाउनुपर्छ ।” नयाँ शक्ति निर्वाचनका लागि तयार भए पनि वातावरण नबनेको भन्दै उनले निर्वाचनको घोषणा निर्वाचन नगर्ने नियत वा सरकारको गठबन्धन लम्ब्याउने वा परिवर्तन गर्ने उद्देश्यले गरिएको आरोप लगाए । रासस

लागुऔषधसहित तीन पक्राउ

म्याग्दी, फागुन १३ । लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय अजय सेन्चुरी, २० वर्षीय राजु राना र पोखरा उप महानगरपालिका– १५ का २१ वर्षीय सोनम घताने रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए । गोप्य सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक धनबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले लागुऔषध डाइजेपाम, फेनोरागन र टाइजेसिक सातरसात गरी २१ एम्पुल तथा पाँच मिलिको निडिल सिरिङ्ज– ३ थान र नगद ६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट अपराधजन्य गतिविधिमा प्रयोग भएका तीन थान मोबाइलसमेत फेला पारेको प्रहरीले जनाएको छ । रासस

तरकारी खेती गररै वार्षिक आठ लाख आम्दानी

पाँचथर, फागुन १३ । फिदिम नगरपालिका–२ का भवानीप्रसाद काफ्लेलाई अहिले तरकारी खेती गर्न भ्याई नभ्याई छ । उनले बारीमा अहिले १४ हजार काउलीका बिरुवा लगाइसकेका छन् । बेमौसमी तरकारी स्क्वास, फर्सी, काँक्रा लगाउन उनलाई हतारो भएको छ । विसं २०४७ देखि कृषि पेसा गर्दै आएका काफ्ले कृषि क्षेत्रमै महत्वपूर्ण योगदान पु¥याएको भन्दै विभिन्न निकायबाट सम्मानित पनि भइसकेका छन । कृषि क्षेत्रको आम्दानीबाटै उनले पक्की घर, घडेरी जोडिसके । तरकारी खेतीबाट वार्षिक रु आठ लाखसम्म आम्दानी गर्ने गरेको उनले बताए । “सरकारले कृषकलाई यथेष्ट मात्रामा अनुदान दिनुपर्छ,” काफ्लेले भने– “व्यावसायिक रुपमा लागेका कृषकलाई उत्साहित गर्न कृषिसम्बन्धी तालिम, उपकरण प्रदान गरे राहत हुने थियो ।” काफ्ले परिवारले वार्षिक रु ३० हजारमा १० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेको छ । जिल्ला कृषि विकास कार्यालयले आवश्यक परामर्श, प्राविधिक सहयोग, औजारलगायत सामग्री उपलब्ध गराउँदै आएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले बताए ।

स्थानीय चुनाव हुने भएपछि गाविस सचिव उत्साहित

पोखरा, फागुन १३ । स्थानीय तह निर्वाचनको मिति घोषणा भएपछि कास्कीका अधिकाँश गाविस सचिव उत्साहित भएका छन् । झन्डै उन्नाइस वर्षपछि स्थानीय तहको निर्वाचन हुने भएपछि जनप्रतिनिधिको भूमिकासमेत निर्वाह गर्दै आएका गाविस सचिव अब आपूmहरुको जिम्मेवारीको बोझ हट्ने विश्वास लिएका छन् । विसं २०५४ मा स्थानीय निकायको निर्वाचन भएको र २०५९ मा म्याद सकिएपछि सबै स्थानीय निकाय जनप्रतिनिधिविहीन भएका थिए र ती निकायको जिम्मेवारी गाविस सचिवको काँधमा आइपरेको थियो । यही फागुन ९ गते बसेको मन्त्रिपरिषदको बैठकले आगामी वैशाख ३१ गतेका दिन स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि गाविस सचिवले अब आपूmहरुले बोक्दै आएको गरुङ्गो भारी बिसाउन थालेको भान भएको टिप्पणी गरेका छन् । पुरुन्चौर गाविसका सचिव हरिप्रसाद अधिकारीले स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधि निर्वाचित भएर आएमा गाविस सचिवको कार्यबोझ घट्ने बताए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि कामको जिम्मेवारी बाँडिन्छ, उनले भने– जनप्रतिनिधि आइसकेपछि गाविस सचिवले तोकेको जिम्मेवारीलाई सहज ढङ्गबाट अगाडी बढाउन सकिन्छ । कालिका गाविस सचिव शोभाखर ढकालले जनप्रतिनिधि निर्वाचित भएर आएपछि स्थानीय जनताले बढी सेवा सुविधा पाउन सक्ने बताउँदै जनप्रतिनिधि नभएको अवस्थामा सचिवले पनि जनतालाई सक्दो सेवा त पु¥याएकै थियो तर जनप्रतिनिधि र निजामती कर्मचारीले दिने सेवा सुविधामा फरक पर्छ भने । उनले जतिसक्दो छिटो स्थानीय तहको निर्वाचन हुनुपर्ने माग गाविस सचिवको रहेको बताए । ल्वाङघलेल गाविसका सचिव टीकाराम आचार्यले दुई दशकसम्म स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा जति विकास हुनुपर्ने हो, त्यो हुन नसकेको बताए । धम्पुस गाविसका सचिव विष्णुप्रसाद अधिकारीले पनि जतिसक्दो छिटो स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आउँदा राम्रो हुने उनको विचार थियो । जिल्ला निर्वाचन कार्यालय कास्कीले सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरेपछि यसका लागि आवश्यक तैयारीलाई तीव्र पारेको छ । निर्वाचनलाई नै मध्यनजर गरी कार्यालयले गत पुस १० गतेदेखि माघ १५ गतेसम्म फोटोसहितको नयाँ मतदाता नामावली सङ्कलन कार्य सम्पन्न गरेको छ । कार्यालयले जिल्लाका दुई नगरपालिका र ३२ गाविसमा ६ वटा मतदाता नामावली सङ्कलन टोली खटाएर चार हजार ३८३ जना थप मतदाताको नाम सङ्कलन गरेको कार्यालयका प्रमुख गङ्गालाल सुवेदीले जानकारी दिए । तीमध्ये दुई हजार ३१९ पुरुष र दुई हजार ६६ महिला छन् । मृत्यु भएका, दोहोरो नाम भएका, त्रुटी सच्चाउने र बसाइँसराइ भएका मतदाताको अद्यावधिक गर्ने काम पनि सुरु गरेको कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन प्रयोजनका लागि जिल्लाका राजनीतिक दललाई निर्वाचन कार्यालयमा दर्ता गराउन गरेको आह्वानअनुसार जिल्लामा २३ वटा राजनीतिक दलले नाम दर्ता गराएका छन् । स्थानीय तह पुनःसंरचना आयोगले पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका समेटेर पोखरा महानगरपालिका बनाउन तथा ३२ वटा गाविसलाई मिलाएर रुपा, मादी, माछापुच्छे र अन्नपूर्ण गाउँपालिका बनाउन सिफारिस गरिसकेको छ ।

चुनाव घोषणापछि पाल्पामा उत्साह

रामपुर (पाल्पा), फागुन १३ । सरकारले स्थानीय तहको चुनावको मिति घोषणा गरेसँगै जिल्ला सदरमुकाम तानसेनसँगै गाउँगाउँका जनता खुसी भएका छन् । सरकारले आउँदो वैशाख ३१ गतेका लागि स्थानीय तहको चुनावको मिति घोषणा गरेलगत्तै यहाँका जनता उत्साहित भएका हुन् । गाउँदेखि जिल्ला सदरमुकाम तहसम्म चुनावको मिति घोषणा भएपछि खुसियाली छाएको छ । स्थानीय निकायको चुनाव भएपछि गाउँका विकास निर्माण तथा विभिन्न समस्याको अन्त्य हुनेमा यहाँका जनता आशावादी रहेका छन् । अहिले गाउँ, बजार, नगर, सदरमुकाम लगायतका स्थानमा चुनावको विषयमा चर्चा चल्न थालेको नेपाली काँग्रेसका जिल्ला कार्यसमिति सचिव झपेन्द्र गहिरेले बताउनुभयो । अब हुने स्थानीय निकायको चुनावमा जनताले असल, कुशल, राजनीतिक व्यक्तिको छनौट हुने आशा लिएको रामपुरका स्थानीय बासिन्दा ओमप्रकाश रेग्मी बताउनुहुन्छ । तोकिएको समयमा जनताले असल नेतृत्वदायी व्यक्तिलाई छनौट गर्न पाउनुपर्ने र जिल्लामा क्रियाशील सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवी, सरोकारवाला निकाय, जनताले यो चुनावलाई राम्रोसँग सम्पन्न गर्न राजनीतिकर्मीले आग्रहसमेत गर्न थालेका छन् । राजनीतिक चलखेल नभई तोकिएको मितिमा नै स्थानीय निकायको चुनाव सम्पन्न गर्न यहाँका जनताले अनुरोध गरेको सामाजिक व्यक्तित्व लेखनाथ शर्मा मरासिनी बताउनुहुन्छ । रासस

दुई बृद्ध साढे ८ वर्ष जेल बसेपछि निर्दाेष ठहर

सोलुखुम्बु, फागुन १३। आफ्नो गल्ती बिना कसैले वर्षौंको जेल सजाय भोग्नुपर्यो भने उसले कस्तो महसुस गर्ला ? वर्ष हैन बिनाकसुर एकाध दिन जेल सजाय पाएमा पनि उसका लागि त्यो ठूलो घात हुन्छ । यस्तै घात सहिरहेका छन्, सोलुखुम्बु सोताङका दुई वृद्धहरु ७३ वर्षीय भूपध्वज बस्नेत र ६३ वर्षीय नइन्द्रबहादुर राईले । विसं २०६५ असोज १३ गते सोलुखुम्बुको सोताङमा लोकबहादुर विश्वकर्माको गोली हानी हत्या गरेकोे आरोपमा जेलमा रहेका उनीहरु गत बुधबार सर्वोच्च अदालतले निर्दोष रहेको फैसला गरेपछि बिहीबार जेलमुक्त भएका छन् । बिहीबार जेलमुक्त भएपछि दुई वृद्धले हत्यासँग कुनै सम्बन्धसमेत नभएका आफूहरुलाई अनाहकमा साढे ८ वर्ष जेल राखेको भन्दै दुखेसो गरे । कर्तव्य ज्यानको कसुरमा २०६५ साल कात्तिक ७ गते जिल्ला अदालत सोलुखुम्बुको आदेशमा दोषी ठहर्दै सोताङका दीपेन्द्र नाछिरिङ, केदार नाछिरिङसँगै भूपध्वज बस्नेत र नइन्द्रबहादुर राई पनि जेल चलान भए । दीपेन्द्र र केदार अदालतको आदेशमा मौन रहेपनि २० वर्ष कैद सजाय पाएका ७३ वर्षीय भूपध्वज र ६३ वर्षीय नइन्द्र राई न्यायका लागि पुनरावेदन अदालत राजविराज गए । पुनरावेदन अदालतले पनि भूपध्वजलाई ज्येष्ठ नागरिक भएबापत ५ वर्ष सजाय कम गर्नेबाहेक जिल्ला अदालतकै फैसलालाई सदर ग¥यो । पुनरावेदनबाट पनि न्याय नपाएको महसुस गरे । भरुवा बन्दुक प्रयोग गरी कर्तव्य गरिएको कसुरमा आफ्नो कुनै संलग्नता नरहेको भए पनि सजाय भोग्नुपर्दा छट्पटिएका भूपध्वज र नइन्द्र न्यायका लागि अन्तिम बिन्दु सर्वाेच्च अदालतको शरणमा पुगे । उनीहरुले सर्वाेच्च धाएको ४ वर्षपछि बुधबार फैसला भयो । सर्वाेच्चले निर्दाेष रहेको ठहर गरेपछि उनीहरु ८ वर्ष ६ महिना अनाहकमा जेल जीवन बिताएर बिहीबार बाहिरिएका छन् । सर्वाेच्चबाट न्याय पाएपछि खुसी हुँदै कारागारबाट बाहिरिँदा सोताङ–३ देउरालीका ७३ वर्षीय भूपध्वज बस्नेतले भन्नुभयो, “नखाएको विष लाग्यो, तैपनि नगरीकन भोग्नु परेको पापको छिटा जिउँदै हुँदा मेटिँदा खुसी छु ।” बस्नेतसँगै जेल परेका ६३ वर्षीय नइन्द्रबहादुर राइले गुमेको खुसी सर्वाेच्चले फेरि फर्काइदिएको बताउनुभयो । परिवारसँग बसेर आरामसाथ जीवन जिउने बेलामा अनाहक जेलको चिसो सहनु मात्र हैन अदालत धाउँदा रु १२ लाख सकिएको भन्दै भूपध्वजले प्रश्न गर्नुभयो, “हामीले अनाहकमा जेल बसेको र लागेको खर्च कसले बेहोर्छ ?” रासस

धादिङका तीनवटा क्याम्पसमा निर्वाचन भोलि

धादिङ, १३ फागुन । यही फागुन १८ गते स्ववियुको निर्वाचन हुने कार्यतालिका रहेकोमा धादिङमा निर्वाचन हुने आठवटा क्याम्पसमध्ये तीनवटा क्याम्पसमा फागुन १४ गते नै निर्वाचन हुनेभएको छ । यही फागुन १४ गते नै निर्वाचन गर्नेगरी विद्यार्थी सङ्गठनबीच सहमति भई निर्वाचन प्रक्रियालाई अगाडि बढाइएको र निर्वाचनका लागि तयारी पूरा गरिएको पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन समितिका संयोजक बद्री कोइरालाले बताए ।निर्वाचन हुने क्याम्पसमा धादिङबेसीस्थित नीलकण्ठ बहुमुखी क्याम्पस, गजुरीस्थित आदर्श बहुमुखी क्याम्पस र खानीखोलास्थित मच्छिन्द्र बहुमुखी क्याम्पस रहेका छन् । बाँकी पाँच क्याम्पसमा फागुन १८ गते नै निर्वाचन हुनेछ । संयोजक कोइरालाका अनुसार निर्वाचनमा नेवि सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनले प्रतिस्पर्धा गरिरहेको र नीलकण्ठ क्याम्पसमा सातसय ७९, आदर्श क्याम्पसमा एकसय २६ र मच्छिन्द्र क्याम्पसमा ६३ जना विद्यार्थी मतदाता रहेका छन् । File Photo

झापामा स्ववियु निर्वाचन शान्तिपूर्ण बनाउन ७ बुँदे प्रतिवद्धता

बिर्तामोड, फागुन १३। फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन झापाका क्याम्पसमा द्वन्द्वरहीत ढंगले सम्पन्न गर्न विद्यार्थी संगठनका नेताहरुले सात बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा विहीवार भएको छलफलमा विद्यार्थी संगठनका नेताहरुले स्ववियु निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने/गराउने, निर्वाचनका सन्दर्भमा गरिने प्रचारप्रसार तड्कभड्करहीत, कम खर्चिलो र स्वस्थ बनाउन समेत उनीहरुले प्रतिबद्धता जनाएका छन् । एकले अर्को संगठन तथा अर्को संगठनका विद्यार्थी नेता, कार्यकर्ताको सम्मान तथा सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले क्याम्पसका शिक्षक, प्रिन्सिपल, निर्वाचन समितिलाई निष्पक्ष र पारदर्शी व्यवहार गर्न आग्रह गरेका छन् । कनकाई क्याम्पस सुरुङ्गामा उत्पन्न समस्या सबै विद्यार्थी संगठन, क्याम्पस प्रशासन तथा सरोकारवालाहरुबीच संवाद गरी तत्काल शान्तिपूर्ण र सौहार्द रुपमा समाधान गर्ने प्रतिबद्धता समेत उनीहरुले जनाएका छन् । निर्वाचनका सन्दर्भमा कुनै विवाद, असमझदारी उत्पन्न भए आपसी छलफल र संवादका माध्यमबाट समस्या समाधान गर्ने र संवादलाई निरन्तरता दिने प्रतिबद्धता समेत उनीहरुले जनाएका छन् । स्थानीय शान्ति समिति झापाका संयोजक जयबहादुर श्रेष्ठ र संवाद समूह, सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले सहजीकरण गरेको छलफलमा उपस्थित विद्यार्थी संगठनका केन्द्रीय तथा जिल्ला नेताहरुले ७ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् । नेविसंघका केन्द्रीय सदस्य सन्तोष उप्रेती, झापा उपसभापति राजेन्द्र उप्रेती, अनेरास्ववियुका झापा अध्यक्ष रोशन सुवेदी, पूर्वअध्यक्ष नवीन ढुंगाना, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य अनिल सुवेदी, खगेन्द्र सुवेदी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय सदस्य राजु अधिकारी र संघीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य ज्वाला इम्बुङले स्ववियु निर्वाचनका बारेमा आफ्ना धारणासहित प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । शान्ति समितिका संयोजक श्रेष्ठले सबै विद्यार्थी नेता र संगठनलाई संयम बन्न आग्रह गरेका छन् ।

सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माण हुने

सोलुखुम्बु, फागुन १३ । करिब दुई वर्ष अघिको भूकम्पबाट क्षति भएका सोलुखुम्बुका ४८ वटा गुम्बा पुनर्निर्माणका लागि बजेट प्राप्त भएको छ । जिल्लामा भूकम्पबाट क्षति भएका गुम्बा पुनर्निर्माणका लागि जिविसमा पहिलो चरणमा रु दुई करोड २४ लाख प्राप्त भएको स्थानीय विकास अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । स्थानीय विकास अधिकारी शर्माका अनुसार भत्किएकामध्ये ४८ वटा गुम्बाको मर्मत तथा पुनर्निर्माणका लागि प्राप्त भएको बजेट सम्झौताको क्रम सुरु भएको छ । पहिलो चरणको प्राप्त भएको सो बजेट क्षतिका आधारमा सम्झौता भइरहेको र थप रकम मागसमेत गरिएको शर्माले बताउनुभयो । भूकम्पका कारण सोलुखुम्बुमा ७४ वटा गुम्बामा क्षति पुगेका थियो । भत्किएकामध्ये अधिकांश भवन अहिले पनि अलपत्र अवस्थामा रहेका छन् । केही गुम्बाको स्थानीयवासी आफैले मर्मत गरेको भए पनि गुम्बा निर्माणका लागि धेरै बजेट आवश्यक पर्ने तथा स्थानीयवासीको घर नै पुनर्निर्माण गर्न नसकिरहेको अवस्थामा गुम्बा प्राथामिकतामा पर्न नसकेको बौद्ध धर्मावलम्बीको भनाइ छ । रासस

एमालेले एक दिनको लागि मात्र संसद बैठक चल्न दिने

काठमाडौं, फागुन १२। प्रमुख प्रतिपक्षले नेकपा एमालेले अवरूद्ध पार्दै आएको संसदमा वैठक एक दिनका लागि भने सुचारु हुन दिएको छ । लगातार दुई दिन सुचना टाँस गरेर स्थगित भएको व्यवस्थापिका संसद बैठक बिहीबार एक दिनका लागि सुचारु भएको हो । एमालेका उपनेता सुवास नेम्वाङले प्रस्ताव देशहितविपरित भएपनि एमालेले आजको लागि संसद बैठक अवरोध नगर्ने बताएका हुन् । साथै एमाले मौन रुपमा संसदमा उपस्थित बसेको छ । निर्वाचनको बेला संशोधन अगाडी बढाएर जनता भाँडिने भन्दै आज मात्र संसद अबरोध नगर्ने बताएका हुन् । आज विहान सभामुख ओनसरी घर्तीसँग एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको छलफलमा एमालेले संशोधन प्रस्तावमाथि संसदमा छलफल गर्न दिने सहमति जनाएका थिए ।

मधेसीसँग निहूँ नखाेज्न एमालेलाई मोर्चाको कडा चेतावनी

काठमाडौं, फागुन १२। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले घोषणा गरेको ‘मेची–महाकाली’ सुरु गर्न लाग्दा मधेसी मोर्चाले भने एमालेलाई कडा रुपमा चेतावनी दिएको छ । ‘एमाले नेताले मधेसी र मधेसीको विरोधमा अभिव्यक्ति दिने, अभियान सञ्चालन गर्ने त्यस्तो कार्य सम्भव छैन’– मधेसी मोर्चाका नेता तथा सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले भने ‘एमालेले अभियान संचालन गर्न खोजेको होइन, निहुँ खोजेको हो ।’ बुधबार जनकपुर पुगेका एमालेका उपाध्यक्ष वामदेव गौतमलाई मधेशी मोर्चाका कायकर्ताले घेराउ गरेपश्चात जनकपुरमा झडप भएको थियो । एकअर्काप्रति निकै अनुदार मानिएका मोर्चा र एमालेको यो चेतावनी धम्किकैबीच एमालेले पूर्वपश्चिम राजमार्गकेन्द्रित अभियान चलाउन लागिरहेको छ । मेची–महाकाली अभियान २१ फागुनमा झापाको काँकडभिडाबाट शुरु भएर ५ चैतमा सुर्खेतमा पुगेर समापन हुने कार्यक्रम छ । एमालेले स्थानीय स्तरबाटै तयारी तिब्ररुपमा गरिरहेको छ । मोर्चाले भने मधेशमा एमालेको अभियानको प्रतिकार गरिने बताएको छ ।

स्थानिय चुनाव रोक्न यादवसँग साँठगाँठमा नयाँ शक्ति

काठमाडौं, फागुन १२ । सरकारले स्थानीय निकायको मिति तय गरेसँगै मधेसीमोर्चाले विरोध गरिरहेका बेला नयाँ शक्ति पार्टी नेपालले पनि मधेसी मोर्चालाई साथ दिने भएको छ । मधेसी मोर्चाजस्तै स्थानिय निकायको चुनावको विरुद्दमा गएको नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँगको सयुक्त वक्तव्यमा सरकारले घोषणा गरेको स्थानिय निकायको चुनाव स्थगित गर्न माग गरिएको छ । यस्ताे छ संयुक्त प्रेस विज्ञप्ति नेपाल लामो समयदेखि सङ्क्रमणकालबाट गुज्रिरहेको छ । देशले राजनीतिक स्थीरता, शान्ति र आर्थिक समृद्धि हासिल गर्न सकेको छैन । समकालीन विश्वमा हाम्रा छिमेकी मुलुकहरूले एक पछि अर्को विकासका सिाढी चढ्दै गर्दा हामी भने अझै राजनीतिक गतिरोध समेत अन्त्य गर्न सकिरहेका छैनौा । देशमा राजनीतिक क्रान्तिले अझै पूर्णता प्राप्त गर्न सकेको छैन । देशमा पटक पटक भएको जनआन्दोलन, जनयुद्ध, मधेस जनविद्रोह, आदिवासी जनजाति, खस, शिल्पी लगायतका उत्पीडित समुदायले गरेको आन्दोलनको परिणाम स्वरूप केही महत्त्वपूर्ण परिवर्तनहरू भएका छन् । ती उपलब्धीहरूलाई संस्थागत गर्दै थप उपलब्धी हासिल गर्न हामी अग्रसर हुनु पर्दछ । यसरी मात्र हामीले राजनीतिक परिवर्तनलाई पूर्णता दिएर समृद्धिको दिशामा जान सक्दछौा । त्यसका लागि वर्तमान संविधान जारी भएदेखि देशमा देखा परेको राजनीतिक गतिरोधलाई अन्त्य गर्न संविधानका त्रुटीहरुलाई सच्याउने र मुद्दाहरुलाई सम्बोधन गरी संविधान संशोधन र परिमार्जनको माध्यमबाट यसलाई सर्वस्वीकार्य बनाउनु पर्दछ भन्ने कुरामा हामी दुई पार्टीको साझा धारणा रहेको छ । यसै सन्दर्भमा आन्दोलनरत पक्षसाग सहमतिको आधारमा सङ्घ र प्रदेशको निर्वाचन गराई आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्नु पर्दछ । तर वर्तमान सरकारले व्यवस्थापिका संसदमा आफैंले दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई समेत सहमतिका आधारमा परिमार्जन सहित पारित नगरी २०७४ साल बैशाख ३१ गते स्थानीय निर्वाचन घोषणा गरेको छ । यसले देशमा द्वन्द्व मात्र बढाएको नभई देशलाई झनै अस्थीरता र अनिश्चितताको दिशामा लगेको छ । हालै घोषणा गरिएको स्थानीय तहको निर्वाचनको अहिलेसम्म संरचना समेत बनेको छैन र ती संरचनाहरू कानुनी रूपमा अस्तित्वमा समेत आएको छैन । हालै गाउापालिका, नगरपालिका, विशेष क्षेत्र, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्रको सीमा तथा सङ्ख्या निर्धारण आयोगले बुझाएको प्रतिवेदनमा स्थानीय तहको मात्र सीमा र सङ्ख्या निर्धारण गरेको छ । त्यसले संविधानमा व्यवस्था भएको स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या र सीमा निर्धारण नै गरेको छैन । त्यसैले यो प्रतिवेदन अधुरो र अपुरो मात्र होइन अवैज्ञानिक र विभेदकारी समेत रहेको छ । यसका निम्ति सरकारले यथाशीघ्र निम्न कार्यहरू गर्नु पर्दछ: १.      व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्नु पर्दछ । २.      सङ्घीयता कार्यान्वयनका लागि सङ्घ र प्रदेशको निर्वाचन पहिला गराइनु पर्दछ । ३.      प्रदेश मातहत स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र र विशेष क्षेत्रको सङ्ख्या र सीमा निर्धारण गरी बााकी भूगोललाई जनसङ्ख्याको आधारमा स्थानीय तह बनाइनु पर्दछ । ४.      स्थानीय तह प्रदेश मातहत रहनु पर्दछ र यसको निर्वाचन प्रदेशले गराउने व्यवस्था गर्नु पर्दछ । राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति फिर्ता लिनु पर्दछ । ५.      देशमा राजनीतिक स्थीरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नु पर्दछ । सङ्घीय संसदको निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीका आधारमा गर्नु पर्दछ । ६.      राज्यका अंगहरुमा दलीय भागवण्डाका आधारमा नियुक्तिको प्रचलनलाई खारेज गर्नु पर्दछ र शिक्षा, स्वास्थ्य, सुरक्षाका अङ्ग, कुटनीतिक क्षेत्र जस्ता विषयहरूमा भागवण्डाको राजनीति अन्त्य गर्नु पर्दछ । उपरोक्त मान्यताहरूको आधारमा देशलाई अग्रगामी परिवर्तनको दिशामा लानका लागि सङ्घीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाद्वारा जारी आन्दोलनलाई समर्थन गर्दै संयुक्त राष्ट्रिय आन्दोलनको आवश्यकताको हामीले महसुस गरेका छौा । यसमा सहमत हुने सबै राजनीतिक दल तथा शक्तिहरूलाई सहकार्यका लागि हामी हार्दिक अनुरोध गर्दछौा । –––––––––––––––––––––––– उपेन्द यादव अध्यक्ष, सङ्घीय समाजवादी फोरम, नेपाल –––––––––––––––––––––––– डा. बाबुराम भट्टराई संयोजक, नयाँ शक्ति पार्टी, नेपाल

महाशिवरात्रिमा साधुसन्तलाई निःशुल्क भोजनलगायत तयारी पूरा

काठमाडाै‌, फागुन १३ । पशुपतिनाथमा पञ्चामृत स्नानसहित विशेष पूजा गरिनेछ । महाशिवरात्रि अवधिभर साधुसन्त, महात्मा, सन्यासीलाई धुनी बाल्न ३८ हजार किलो दाउरा व्यवस्था गरिएको छ । स्वदेश तथा विदेशबाट आएका साधुसन्त, महात्मालाई महाशिवरात्रिको अवसरमा संस्थानले निःशुल्क भोजनको व्यवस्था गरेको छ । पशुपति परिसरमा नागा साधुलाई बुधबार बेलुकीदेखि फागुन १५ गते आइतबार बिहानसम्म, आर्यघाटपारि राम मन्दिरमा वैष्णव साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म, गोरखनाथ मठ मृगस्थलीमा नाथ सम्प्रदायका साधुलाई बिहीबारदेखि फागुन १५ गते बिहानसम्म, भष्मेश्वर अखडामा उदासी सम्प्रदायका साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म र राजराजेश्वरी निर्मल अखडामा पनि उदासी सम्प्रदायका साधुलाई बिहीबारदेखि १५ गते बिहानसम्म निःशुल्क भोजनको व्यवस्था गरिएको छ । कालमोचनघाटको बैरागी अखडा, उदासी अखडा, सन्यासी अखडा र गोरखनाथ अखडामा पनि आजदेखि १५ गते आइतबार बिहानसम्म निःशुल्क भोजनको व्यवस्था भएको छ । महाशिवरात्रिका अवसरमा आएका साधुसन्त र महात्मालाई फागुन १५ गते आइतबार बिहान भोजनपछि दक्षिणा दिई बिदाइ गरिने छ । पशुपति मन्दिर परिसरभित्र नागाहरुको बिदाइ गर्दा दक्षिणासहित दुई सय ग्रामको पेडा वितरण गरिने र अन्य साधुलाई दक्षिणा दिएर बिदाइ गरिने परम्परा छ ।

हाते ट्र्याक्टर सञ्चालनमा रोक

पोखरा, १२ फागुन । यातायात व्यवस्थापन समितिले स्थानीय अमरसिंहचोकदेखि सिर्जनाचोक र नालामुखदेखि विरौटाचोकसम्मको सडकमा यही फागुन १८ गतेदेखि हाते ट्र्याक्टर संचालनमा रोक लगाउने निर्णय गरेको छ । ती सडकमा विस्तारै चल्ने गाडीले गर्दा ट्राफिक जाम भई सवारी साधन आवागमनमा बाधा पारेकाले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म हाते ट्र्याक्टर चल्न निषेध गरिएको कास्की जिल्ला ट्राफिक कार्यालयका प्रमुख विश्वराज अधिकारीले जानकारी दिए ।

भादा खोला झोलुङ्गे पुलको उद्घाटन

बर्दिया, फागुन १२ । बर्दियाको गाविसस्थित बैदी गाउँमा रहेको भादा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बुधबार उद्घाटन गरिएको छ । कुल ९१ मी लम्बाइ भएको झोलुङ्गे पुल विधिवत् रुपमा उद्घाटन गरिएको छ । एकहजार सातसय ५३ घरधुरी रहेको वडा नं ४, ५ र ९ का गाउँ र श्री जनसेवा मावि तथा जनसेवा बहुमुखी क्याम्पस जोड्ने पुल नहुँदा बर्खायाममा स्थानीय तथा विद्यार्थीलाई निकै समस्या थियो । पुल निर्माण भएपछि सम्पूर्णमा खुसियाली छाएको छ । विशेषगरी विद्यालय जाने/आउने विद्यार्थीलाई झोलुङ्गे पुल नहुँदा समयमै विद्यालय आवतजावतमा निकै समस्या परेको थियो । एकसयभन्दा बढी विद्यार्थीले साइकल खोला पारि नै राख्ने गरेका थिए । पुल निर्माण भएपछि स–साना बालबालिकालाई पनि विद्यालय आउन÷जान सहज भएको अभिभावक बताउँछन्। पुल क्षेत्रगत कार्यक्रमको स्थानीयवासी योगदानअन्तर्गत जिविसबाट रु एकलाख ४७ हजार, गाविसबाट रु एकलाख ४७ हजार, ९८ हजार एकसय ३४ बराबरको समुदायको श्रमदान र झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमको केन्द्रीय योगदानबाट रु ४२ लाख ३३ हजार र वस्तुगत अनुदान दुईलाख ८० हजार गरी कुल ४९ लाख ६ हजार सातसय १० मा पुल निर्माण कार्य अवधिभन्दा चार महिनाअगावै सम्पन्न भएको छ । पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष चक्रबहादुर बिष्टको अध्यक्षतामा भएको पुलको उद्घाटन कार्यक्रममा प्रसिद्ध फेनापति मन्दिरका पुजारी गङ्गाराम उपाध्यायले मन्त्रोच्चारण गरी पुलको पूजापाठ गर्नुभएको भएको थियो भने बर्दिया क्षेत्र नं २ का सांसद सञ्जयकुमार गौतमले रिबन काटेर पुलको उद्घाटन गरेका थिए । कार्यक्रममा सांसद गौतमले पुल निर्माण कार्यमा सहयोग गर्नेलाई धन्यवाद ज्ञापन गर्नुका साथै सबै एकजुट भएमा विकास तीव्र र दिगो हुने पनि बताए । कार्यक्रममा विज्डम क्वालिटी बोर्डिंग स्कुलका प्रिन्सिपल तथा संस्थापक एवम् यस क्षेत्रका युवा समाजसेवी दीपक लम्सालले विकास निर्माणका कार्यमा युवाको सक्रियता अपरिहार्य रहेको बताए ।