पर्वतबाट ९८ हजार मतदाता निर्वाचनमा सहभागी हुने

पर्वत, फागुन ११ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाबाट ९८ हजार मतदाताले सहभागिता जनाउने भएका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार हालसम्म ९८ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् । गत असोज मसान्तसम्ममा जिल्लामा ९७ हजार ३९३ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् भने ६ सय जनाभन्दा बढीले अन्य जिल्लामा नाम लेखाएकाले ९८ हजारभन्दा बढीले मतदानमा सहभागिता जनाउन पाउने भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए ।

जिल्लामा संकलन भएका ९७ हजार ३९३ जना मतदातामध्ये ४६ हजार १८६ पुरुष र ५१ हजार २०७ महिला रहेका छन् । पुरुष बढी मात्रामा वैदेशिक रोजगारीका लागि मुलुक बाहिर भएकाले पनि महिलाहरुको सङ्ख्या बढी भएको हो ।

मतदाता नामावलीमा नाम लेखाएका मध्ये दुईहजार ९३० जनाले भने मतदानमा सहभागी हुन नपाउने भएका छन् । उनीहरु फागुन मसान्तसम्म १८ वर्षभन्दा कम उमेर समूहका हुने भएकाले उनीहरुले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन नपाउने निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

सरकारले सोमबार आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मंगलबारदेखि नै मतदाता नामावली सङ्कलन कार्य रोकिएको छ । सोमबारसम्म जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय, हुवासबाट समेत मतदाता नामावली संकलन हुँदै आएकोमा मंगलबारदेखि सबैठाउँमा रोकिएको हो । उनका अनुसार स्थानीय तहको निर्वाचनसम्म मतदाता नामावली संकलनको कार्य हुँदैन ।

विदेशमा भएका वा अन्य कुनै कारणले छुटेकाहरुले स्थानीय निर्वाचनपछि मात्र पुनः मतदाता नामावलीमा नाम लेखाउन पाउने भएका छन् । निर्वाचन कार्यालयले २०७० सालको सविधान सभा निर्वाचन अघिदेखिनै मतदाता नामावली सङ्कलन गर्दै आएको थियो ।

उक्त अभियानबाट हालसम्म ९९ हजार १३० जनाले नाम लेखाएको भएपनि दुई हजार ९३० जना १८ वर्षभन्दा कम उमेर समूहका रहेकाले मतदान गर्नका लागि अयोग्य रहेको कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय पर्वतले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सबैजसो तयारी सुरु गर्न थालेको जनाएको छ ।

अलपत्र छोडिएको विद्यालय भवन नेपाली सेनाले बनायो

रसुवा, फागुन १० । नेपाली सेनाले धुन्चेस्थित रसुवा माविको अधुरो भवन बनाउन आजदेखि सुरु गरेको छ । प्रअ तेम्पारिसाङ घलेका अनुसार- ‘भूकम्पअगावै थाम उठाई ढलान भएपनि विविध कठिनाइले दुई तलासम्म बनाइसकिएको विद्यालय भवन अधुरै रहेकाले लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गणले निर्माणको काम सुरु गरेको हो ।’ लाङ्टाङ निकुञ्जको जैविक संरक्षणका साथसाथै सामाजिक कार्यमा समेत योगदान पु¥याउँदै आएको नारायणदल गणले भूकम्पले जीर्ण बनाएको धुन्चेस्थित शिव मन्दिर पुनःनिर्माण, धुन्चे–४ भिमली प्राविमा चारकोठे शौचालय निर्माण गर्नाका साथै धुन्चे प्रवेशद्वार नजिक प्राकृतिक स्रोतलाई संरक्षण गर्दै पानीट्याङ्की तथा धारा पनि बनाएको छ ।

सर्लाहीमा ट्रयाक्टर दुर्घटना, चालकको ज्यान गयो

काठमाडौं, फागुन १० । सर्लाहीको रामनगर–९ मा गएराति ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । ना ४ त १७७ नम्बरको ट्रयाक्टर गएराति साढे ११ बजे सडकबाट झण्डै १० मिटर तल खसेको इलाका प्रहरी कार्यालय गडहियाले जानकारी दिएको छ । दुर्घटनामा ट्रयाक्टर चालक रामनगर बहुअर्वाका इन्द्रजित यादवको ज्यान गएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

सहिद स्मृति दिवसमा रक्तदान

काठमाडौं, फागुन ९ । जन–आन्दोलनका शहिद कृष्णप्रसाद पौडेलको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ढोरेली सेवा समाजले वनस्थलीस्थित राष्टि«य मृगौला केन्द्रमा सो बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल सरकारका सचिव विष्णु प्रसाद लम्सालको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा उपस्थित वक्ताहरुले शहिदले परिवर्तका लागि दिएको वलिदान संविधानको सफल कार्यन्वयन गरी राष्ट्रको संमृद्धीबाट मात्र सार्थक हुने बताएका थिए । समाजका तर्फबाट अध्यक्ष युवाराज थापाले रक्तदान जिवन जस्तो उत्कृष्ट मानवीय सेवा गरी शहिदको उच्च सम्मान गरेको बताए । तत्कालिन विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहने शहिद कृष्ण प्रसाद पौडेल तत्कालिन राज्य प्रहरीले कार्यक्रम स्थलबाट तितरबितर पार्ने क्रममा २०४६–११–५ गते पक्राउ गरी यातना दिएर तीनदिनपछि उपचारका क्रममा मृत्यु भएको थियो । साथै कार्यकम्रको सह–आयोजक रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रले निशुल्क मृगौला चेकको अवसर प्रदान गरेको थियो । कार्यक्रमस्थलमा मा ९५ जनाले निशल्क मृगौला चेकअप गराएका थिए भने ६२ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई समाजले प्रशंसा–पत्र प्रदान गरेको थियो ।

विद्यार्थीको रहस्यमय मृत्युपछि स्थिती तनाव

बनेपा, फागुन ९ । बनेपाको ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि घटनाले उग्र रुपमा लिएको छ । घटनाबारे सत्यतथ्य छानविन गर्नु पर्ने भन्दै दोषीलाई कारवाहीको गर्नुपर्ने माग राख्दै उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाइ फायर समेत गरेको छ । आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरी र स्थानीयवीच दोहोरो झडप समेत भएको थियो । झडपमा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ । विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षका कृष्णराम पुर्कोटी (प्रमोद)को रहस्यमय ढङ्गले ज्यान गएको छ । कक्षा १० मा अध्ययनरत पुर्काेटीको विद्यालय व्यवस्थापनको लापर्वाहीका कारण मृत्यु भएको परिवारजनको आरोप छ । प्रहरीले भने अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जनाएको छ । मृतकका फुपू सारिका पुर्कोटीले मृतकको शरीर र घाँटीमा नीलडाम भएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरेकी छिन् । जनजीवन सामान्य भएपनि पीडितका आफन्तले अहिले पनि प्रहरी कार्यालय बनेपामा घेराउ गरिरहेका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थी पुर्कोटी प्रवेशिका परिक्षाको तयारी थिए । प्रहरीले कृष्णरामको कोठामा सुतेका विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

बालविवाह गराउने चारजना प्रहरी हिरासतमा

गुल्मी, फागुन ९ । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ । हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा रु १० हजार जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । जिल्लामा बालविवाह सम्बन्धीे घटनामा प्रहरीसमक्ष धेरै कम उजुरी आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँच वर्षको अवधिमा बालविवाहको कसुरमा उजुरी दर्ता भएको यो दोस्रो पटक हो ।

बालबालिकाहरु विद्यालयका पढाई छोडेर गिट्टी कुट्दै

दाङ, फागुन ९ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् । स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन् । छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट्टी कुटन आएको बालबालिकाको भनाइ छ । गिट्टी कुट्दा आम्दानी धेरै हुने र लगानी नपर्ने बालक सुरेन्द्र परियार बताए । पातुखोलामा आठ वर्षदेखि १५÷१६ वर्ष उमेरका बालबलिका गिट्टी कुट्नमा व्यस्त हुन्छन् । आय स्रोत नभएको र बाबु आमाको कमाइले मात्र बिहान बेलुकाको छाक टार्न नसक्ने हुँदा आफू पनि गिट्टी कुट्न बाध्य भएको बालिका अन्जु विक उल्लेख गर्छिन् । विद्यालय जाने चाहना हँुदा हुँदै पनि गरिबीका कारण मजदुरी गर्नु परेको बालबालिकाहरुको भनाइ छ । ‘मलाई स्कुल जाने रहर छ तर मेरो आमा बुबा यहाँ हुनुहुन्न म मामाघरको हजुरआमासँग बस्छु बालक रिदम परियारले भने । पारिवारिक अवस्था र आमा बुबाको लापर्बाही र जनचेतनाको अभावले हातमा कापी कलम लिएर विद्यालय जाने उमेरमा ढुङ्गा गिट्टी कुटेर बस्नुपर्ने परिस्थिति आएको महिला स्वास्थ्य स्वयम्सेविका यमुना परियारले बताए । शिक्षामा पहुँच पु¥याउनका लागि श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरेका बालबालिका धेरै छन् तर तुलसीपुरका बालबालिका भन्दा अन्य जिल्लाबाट आएका बढी भएकाले तुलसीपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्र्न चुनौतीको विषय भएको नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले बताए । तुलसीपुर बजार राप्ती अञ्चलकै व्यापारिक केन्द्र भएकाले यो क्षेत्र बालबालिका र अभिभावकको रोजगार थलो बनेको हो ।

खुकुरी प्रहारबाट एकको मृत्य

डडेल्धुरा, फागुन ९ । खानेपानीको विषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन् । खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । एउटै स्थानमा तल र माथि घर भएका दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेकाले सो सम्बन्धी पटक पटक विवाद हुँदै आएकोस्थानीयवासीको भनाइ रहेको छ । मृतक साउद कोटेली गाविसस्थित मानवअधिकार निगरानी समूहका अध्यक्ष समेत रहेको थियो ।

दुव्र्यसनीविरुद्ध आमाहरु अभियान सुरु हुने

बागलुङ, फागुन ९ । बागलुङमा दुव्र्यसनीविरुद्ध आमाहरु अभियान सुरु हुने भएको छ । आदर्श सञ्चार सहकारी नामक गैरसरकारी संस्थाले लागुऔषध दुव्र्यसनका बारेमा सचेतना बढाउन यो अभियान सुरु गर्न लागेको हो । युवालाई दुव्र्यसनबाट जोगाउन र दुव्र्यसनीको पहिचान एव्म रोकथाममा टेवा पुग्ने लक्ष्य अभियानले लिइएको सहकारीका अध्यक्ष अमर थापाले बर्ताए । अध्यक्ष थापाका अनुसार यो वर्ष जिल्लाका २० स्थानमा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको छ । ‘युवायुवती दुव्र्यसनमा लाग्दा त्यसको पीडा सबैभन्दा बढी उनीहरुको आमाले भोग्नुपर्ने हुन्छ’, अध्यक्ष थापाले भने– ‘आमाहरुलाई पहिले सचेत बनाउन सकेमा दुव्र्यसनी न्यूनीकरण गर्न सकिन्छ ।’ सहकारीले यसका लागि समुदायस्तरमा पुगेर आमाहरुसँग छलफल, अन्तक्र्रिया गर्ने गरेको छ । अभियान चलाउन जिल्ला प्रहरी कार्यालय, बागलुङसँग सहकार्य गरिएको छ । नगरपालिकाका ११ वटै वडा र सहकारीका बढी सदस्य भएका पाला, भीमापोखरा, धम्जा, रेश, सिगाना, तित्याङ र रायडाँडा गाविसमा यो अभियान सुरु गरिने योजना छ । लागुऔषधको प्रयोग, ओसारपसार र बिक्री वितरणबाट युवापुस्तालाई जोगाउन अभियान प्रभावकारी हुने दावी सहकारीको छ । समुदायस्तरमा दुव्र्यसनीविरुद्धको अभियान सुरु हुन थालेपछि गाउँका आमासमेत खुसी भएकी छिन् । बानपा–८ की सरस्वती किसानले यो अभियानले आफूलाई दुव्र्यसनबिरुद्ध सजग र सचेत बनाएकोमा खुसी व्यक्त गरे । ‘यो अभियान हाम्रै लागि हो भन्ने लाग्छ, बालबच्चालाई दुव्र्यसनीबाट जोगाउन सबै सचेत हुनुपर्छ” किसानले भने— ‘लागुऔषध दुव्र्यसनीमा फसिसकेका व्यक्तिलाई निरुत्साहित गर्न पनि यसले ठूलो सहयोग गर्ने छ । सहकारीका सात सिद्धान्तमध्ये ‘समुदायप्रति चासो’ अन्तर्गत यो अभियान सुरु गरिएको हो । दुई वर्षअघि विद्यालयमा सहकारी शिक्षा अभियान चलाएको सहकारीले गत वर्षदेखि महिलाले महिनावारी हुँदा प्रयोग गर्ने घरेलु विधिको ‘प्याड’ बनाउने तालिम पनि चलाउँदै आएको अध्यक्ष थापाले बताए ।

निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा अखिल क्रान्तिकारीको ईकाई समिति गठन

कृष्ण कँडेल/बागलुङ, फागुन ९ । निसीभुजी जनता क्याम्पस बुर्तिबाङमा सम्पन्न क्रान्तिकारी विद्यार्थीहरुको भेलाले अखिल क्रान्तिकारी मुलईकाई समिति गठन गरेको छ । भेलामा अनेरास्ववियु क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस बागलुङका मुल ईकाई समिति अध्यक्ष किसोर घर्तीले क्रान्तिकारी विद्यार्थीहरु एकजुट भएर गुणस्तरिय र व्यवहारिक शिक्षाका पक्षमा अभियान चलाउनुपर्ने बताए । उनले आसन्न स्ववियु निर्वाचनमा आफ्नो नेतृत्व स्थापित गर्ने गरि संगठनलाई समावेशी बनाएर लैजान आग्रह गरे । घर्तीले स्ववियुमा २८ बर्षे उमेर हद, समानुपातिक समावेशी स्ववियुका लागि मिश्रीत निर्वाचन प्रणाली जस्ता प्रगतिशिल मुद्धा अखिल क्रान्तिकारीले स्थापित गरेको भन्दै त्यसको कार्यान्वयनको नेतृत्व पनि क्रान्तिकारीले नै गर्ने दावि गरे । कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका उपाध्यक्ष नगेन्द्र खरेल, अखिल क्रान्तिकारी धौलागिरी बहुमुखि क्याम्पस मुलईकाई समितिका उपाध्यक्ष विकास कँडेल र एकीकृत अखिल नेपाल शिक्षक संगठन बागलुङका पुर्ण अर्यालले मन्तव्य राखेका थिए । भेलाले प्रतिभा पौडेलको अध्यक्षतामा १५ सदस्यीय मुलईकाई समिति गठन गरेको छ । समितिको सचिव अञ्जना अर्याल र कोषाध्यक्ष ओममायाँ बुढा मनोनित भएका छन् । सदस्यमा मनिसा गुरुङ, खिमा कुँवर, होमकुमारी अदै, रेखा थापा, हरिमला सुवेदी, लक्ष्मी भण्डारी, लिला पाण्डे र लोकमायाँ पाण्डे रहेका छन् । उपाध्यक्ष, सहसचिव र बाँकी सदस्य पछि थप गरिने क्रान्तिकारीले जनाएको छ । भेलाले यहि फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि क्याम्पसमा अखिल क्रान्तिकारीको संगठन दर्ता गर्ने निर्णय गरेको अध्यक्ष प्रतिभा पौडेलले जानकारी दिए । प्रतिभा पौडेलको अध्यक्षता, टंक पौडेलको स्वागत मन्तव्य र अनिल कुमार विश्वकर्माको सञ्चालनमा भेला सम्पन्न भएको थियो ।

ट्रक दुर्घटनामा आठ घाइते, दुईको अवस्था गम्भीर

इलाम, फागुन ९ । मेची राजमार्गअन्तर्गत इलामको कोल्बुङ–२ मा आज बिहान ६ बजे ट्रक दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । झापाको विर्तामोडबाट इलामको पशुपतिनगरतर्फ गोलिया लिन गइरहेको को.३.प. ६०६० नंको ट्रक राजमार्गबाट करिब सय मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा कन्काई नगरपालिका–८ निवासी २६ वर्षीय विनोद तामाङ, सोही स्थानका २१ वर्षीय प्रवीण पौडेल, धाइजन–६ का १७ वर्षीय राजीव विक, कन्काई नपा–२ का ३३ वर्षीय राजेश राई, धाइजन–४ का २१ वर्षीय विवेक सुब्बा, कन्काई नपा–८ कै २६ वर्षीय सुमन पौडेल सामान्य घाइते र झापा बुधवारे–४ का २४ वर्षीय सविन धिमाल र कन्काई नपा–८ कै ४२ वर्षीय दीपक राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए । घाइतेलाई उपचारका लागि झापाको विर्तामोडस्थित बी एन्ड सीमा लगिएको छ । ट्रक अचानक अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोर्चा र प्रधानमन्त्रीबीच छलफल हुँदै

काठमाडौं, फागुन ८ । निर्वाचनको मिति घोषणाको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग छलफल गर्दैछन् । आज विहान भएको नेपाली कांग्रेस र माओवादीबीचको छलफलपश्चात त्यस विषयमा जानकारी गराई निर्वाचनको मिति घोषणा गर्नका लागि अहिले प्रधानमन्त्री प्रचण्डले मधेसीमोर्चासँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय तह पुनर्संरचना र निर्वाचनबारे छलफल गर्न साँझ ७ बजे मोर्चा आवद्ध दलका अध्यक्षलाई बालुवाटार बोलाएका छन् । बैठकमा मधेशी मोर्चामा आवद्ध अध्यक्षलाई मात्र बोलाइएको छ । हाल प्रधानमन्त्रीले बोलाएको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा मधेशी मोर्चाको बैठक बसिरहेको छ । यसअघि हिजो विहान प्रधानमन्त्रीसँगको छलफलमा मोर्चाका नेताले संविधान संसोधन नगरी स्थानीय निर्वाचनको मिति घोषणा गरे आन्दोलनमा जाने बताएका थिए ।

खानेपानी विवादमा झगडा हुँदा एक युवकको ज्यान गयो

डडेल्धुरा, फागुन ८ । खानेपानीको विषय लिएर भएको झडपमा एक युवकको ज्यान गएको छ । डडेलधुरा न्वाघरमा भीम बहादुर भूल र शेरबहादुर साउदबीच खानेपानीको विषयलाई लिएर विवाद भएपछि विवादले उग्र रुप लिएको थियो । विवादले उग्र रुप लिएपछि स्थानीय ३७ वर्षिय शेरबहादुरमाथि भीम बहादुरले खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका साउदको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुरामा अमरगढी नगरपालिकासँग जोडिएको कोटली गाविसका धेरै वडाहरुमा खानेपानीको हाहाकार छ ।

करेन्ट लाग्दा मृत्यु

महोत्तरी, फागुन ८ । महोत्तरीको गौशालामा अवस्थित जल्पामाई मन्दिरमा करेन्ट लाग्दा सर्लाही श्रीनगरका ३७ वर्षीय सुशील साहको मृत्यु भएको छ । आज बिहान सो मन्दिरको परिसरमा रहेको पिपलको रुखमा चढेर पात काट्ने समयमा उहाँको ११ हजार भोल्टेजको बिजुलीको तारबाट करेन्ट प्रवाह भई मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए ।

दशवर्षे जनयुद्धमा क्षतिग्रस्त भएका प्रहरी चौकी पुनःनिर्माण हुँदै

गोरखा, फागुन ८ । दशवर्षे द्वन्द्वको समयमा क्षतिग्रस्त भएका गोरखाका विभिन्न इलाका प्रहरी कार्यालय र प्रहरी चौकी धमाधम पुनःनिर्माण भएका छन् । नेपाल सरकार शान्ति तथा पुनःनिर्माण मन्त्रालय, शान्ति कोषको सचिवालयले पठाएको बजेटले पहिलो चरणमा इलाका प्रहरी कार्यालय आरुघाट, दोस्रो चरणमा इलाका प्रहरी कार्यालय जौवारी र तेस्रो चरणमा प्रहरी चौकी ताङ्लीचोकका भवन पुनःनिर्माण गरिएका हुन् । इप्रका आरुघाट र इप्रका जौवारीका भवन यसअघि नै निर्माण सम्पन्न भई प्रयोगमा छन् भने प्रहरी चौकी ताङ्लीचोक, भच्चेक र गाँखु नयाँ साँघुको शनिबार उद्घाटन गरिएको छ । रु ९३ लाख ३४ हजारको लगानीमा निर्माण भएको हंशपुरस्थित प्रहरी चौकी भच्चेकको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले उद्घाटन गर्नुभएको हो । कार्यालय, महिला÷पुरुष थुनुवा कक्ष, भान्सा घर, आवासलगायत भूकम्प प्रतिरोधी सुविधा सम्पन्न भवन निर्माण भएको छ । रु एक करोड २५ लाखको लगानीमा निर्माण सम्पन्न भएको प्रहरी चौकी ताङ्लीचोकको भवन पनि प्रनाम बमले उद्घाटन गर्नुभएको छ । रु दश लाखको लगानीमा निर्माण भएको प्रहरी चौकी भवन गाँखु नयाँ साँघुको पनि प्रनाम बमले उद्घाटन गरे । प्रहरी प्रधान कार्यालयबाट नियमित कार्यक्रमतर्फ प्राप्त भएको बजेटले भवन निर्माण गरिएको हो । भवन निर्माण भएपछि हातहतियार सुरक्षित राख्न र डियुटी गर्न सहज भएको प्रहरी जवानले जनाएका छन् । स्थानीयवासीको सहयोगमा रु पाँच लाख लगानीमा निर्माणाधीन गाँखु प्रहरी चौकी भवन भत्केपछि प्रहरी डेढ वर्षदेखि त्रिपाल, टेण्टमा कष्टकर तवरले बस्दै आएका थिए । प्रहरी चौकीको नाउँमा जग्गा नहुँदा केहि स्थानमा भवन निर्माण प्रक्रिया अघि बढाउन नसकिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले जानकारी दिए । प्रहरी चौकी गाँखु भवन निर्माणमा सहयोगी भूमिका निर्वाह गरेका स्थानीयवासी बाबुराम बोगटीले दरबन्दी अनुसार प्रहरी नहुँदा एकै समयमा भिन्नभिन्न ठाउँमा घटना घट्दा तत्काल प्रहरी जान सक्ने अवस्था नरहेको बताए । चौकीमा रहने गरी कम्तीमा मोटरसाइकल उपलब्ध गराउन उनको आग्रह छ ।

३५ हजार घरधुरीमा परम्परागत चुलो

इलाम, फागुन ८ । इलामलाई सन् २०१७ सम्ममा घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्य लिइएपनि हालसम्म २२ हजार घरधुरीमा मात्र सुधारिएको चुलो निर्माण भएको छ।  जिल्ला विकास समितिको २१ औं जिल्ला परिषद्ले जिल्लालाई नै घरभित्रको धुवाँ प्रदूषणमुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ सुधारिएको चुलो निर्माण कार्यलाई तीव्र रूपमा अघि बढाउने निर्णय गरेको थियो । जिविसले लक्ष्य निर्धारण गरे पनि ६४ हजार ५०२ घरधुरीमध्ये अझै पनि ३५ हजार ७०० घरधुरीले परम्परागत चुलोनै प्रयोग गरिरहेका छन् । जिल्लाका प्याङ, गोर्खे, सिद्धिथुम्का, लुम्दे, सोयाङ, नामसालिङ, साँखेजुङ, जीतपुर, माबु, शान्तिडाडाँ र माइमझुवा गाविसलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस घोषणा गरिसकिएको नामसालिङ सामुदायिक विकास केन्द्रका जिल्ला चुलो संयोजक प्रकाश खतिवडाले जानकारी दिए । यही वर्षभित्र गजुरमुखी, इभाङ, आमचोक, माइमझुवा, नयाँबजार र बरबोटेलाई घरभित्रको धुवाँ प्रदूषण मुक्त गाविस बनाउने लक्ष्य लिइएको छ । फलाम र माटोको गरी इलामका २२ हजार घरमा सुधारिएको चुलो निर्माण भएको छ । जिल्लामा चार हजार ७७५ परिवारले एलपी ग्यास र ३५ हजार ७०० घरधुरीमा परम्परागत चुलो प्रयोग गरिरहेका छन् । परम्परागत चुलोका कारण भान्सामा काम गर्ने गृहिणी, बालबच्चालाई विभिन्न रोग लाग्ने गरेको छ । करिब रु दुई हजारमा सुधारिएको चुलो निर्माण हुन्छ । इलाममा ५०० जनाले सुधारिएको चुलो निर्माणसम्बन्धी तालिम लिएका छन् । तीमध्ये १५० जना चुलो प्रवर्तकले मात्रै अहिले चुलो निर्माण गरिरहेका छन् ।