‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन’

काठमाडौँ, फागुन १५ । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८ औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरिएको छ ।

समितिका पूर्व कार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राखेको हो ।

करिब एक वर्ष समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी ताम्राकारले कच्चा माटो र खेर गएको कपडाको प्रयोग गरेर फूलदानी निर्माण गरेकाे हो। अठ्ठाइसौँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा बुद्ध ह्यान्डीक्राफ्टको नामबाट स्टलमा आफ्ना उत्पादित वस्तु प्रदर्शनीमा राखेकी उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताअनुसार घरेलु उद्योग विभागमा आफ्नो कार्यकारी निर्देशक पद सकिएलगत्तै उद्योग दर्ता गरेर काम गर्दै आएका छन् ।

नेपाल घरेलु उद्योग महासङ्घको उपत्यका उपाध्यक्षसमेत रहनुभएकी ताम्राकारले ७५ वटै जिल्लाका उद्योगीलाई उद्योगसम्बन्धी परामर्शसमेत दिँदै आएकी छिन् ।

यस्तै मेलामा भोजपुरे खुकुरी पनि आकर्षण ढङ्गले राखिएको छ । हजुरबुबा सिङ्गावीर विश्वकर्माको पेसालाई निरन्तरता दिन उनका नाति पूर्णबहादुर विश्वकर्मा लागेका छन् । विस २०४२ देखि खुकुरी निर्माणमा लाग्नुभएका उहाँले भोजपुरे खुकुरी ह्यान्डीक्राफ्टमार्फत भोजपुरे खुकुरी बनाउँदै आएकी छ ।

विश्वकर्माले गत वर्ष मात्र रु एक लाख ११ हजार ११ मूल्य पर्ने खुकुरी प्रदर्शनमा राखेको थियो । सागदेखि मासुसम्म सजिलै काट्न सकिने खुकुरी बनाउने पेसा आफ्ना सन्ततिले निरन्तरता नदिने हुन् कि भन्ने चिन्ता उहाँमा छ ।

उनीले कच्चापदार्थको अभाव र जनशक्ति कम हुँदा खुकुरी बनाउने पेसा सङ्कटमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै नेपाली हतियारलाई सरकाले विशेष प्राथमिकता दिनुपर्ने बताए ।

यसैगरी मेलामा रुकुमका उद्यमी मङ्गलबहादुर वादीले मादल प्रदर्शन गरेका छन् । दसैँ, तिहार, तीज लगायतका महत्वपूर्ण चाडमा धेरै बिक्री हुँदै आउने मादल बेचेर उनीले २२ जनाको परिवार पाल्दै आएको छ ।

उनीको एउटा मादललाई रु एक हजार पाँच सयदेखि रु १० हजारमा बिक्री गर्दै आएको बताएका छन्।

मेलामा नमुना कलेक्सन अचार उद्योग इलामबाट बनाइएको अचार प्रदर्शनमा राखिएको छ । ओखलढुङ्गा औद्योगिक व्यापार मेलामा तेस्रो तथा विराटनगर औद्योगिक मेलामा दोस्रो भएको उक्त उद्योगबाट डल्लेखुर्सानी, मूला, कागती, आँप लगायका अचार प्रदर्शनमा राखिएका छन् । इलाम उद्योग वाणिज्य सङ्घको प्रेरणाअनुसार उद्योग सञ्चालन गरेकी कमला बाँस्कोटा (रिजाल) अचार बेचेर मासिक रु २० देखि ३० हजारसम्म आम्दानी हुने बताएका छन् । उनी भने- “म त एउटा सफल उद्यमी बनेँ मेरा दुई/चार जना महिला उद्यमीलाई रोजगार दिने उद्देश्य छ ।”

समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्याय देशको सुगम तथा दुर्गम क्षेत्रमा रहेका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गर्नका लागि मेला आयोजना गरिएको बताएका छन् ।

उनी भने, “स्वदेशी युवा शक्तिलाई विदेश जानबाट रोक्न र स्वदेशमै रोजगार प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो ।” उपाध्ययले घरेलु उद्योगलाई थप प्रोत्साहन गर्नका लागि मेला अवधिभर उद्यमीसँग घरेलु तथा साना उद्योगसम्बन्धी सम्बन्धित सङ्घसंस्थासँग अन्तक्र्रिया र छलफल गरेको बताए ।

मेलामा प्रत्येक जिल्लामा कम्तीमा दुई स्टल नघटाईकन तीन सयभन्दा बढी स्टल राखिएको छ ।

चैतलो पर्व सम्पन्न

हुम्ला, फागुन १५ । जिल्लाको पूर्वमा पर्ने सिमीकोट, ठेहे र स्याँडामा यस वर्षको चैतलो पर्व सम्पन्न भएको छ । यही फागुन १२ गतेदेखि १५ गते दौडा नाच, महाकालु देवताको पूजा, केटाकेटीले ढालतरबार नाच, लोकदोहोरी गर्दैछन् । काला सिद्ध धामी छोबन रोकायाले पूजाआजा गर्नुभयो ।

बिजुली ल्याउन पहल

हुम्ला, फागुन १५ । यहाँको दिनप्रतिदिन विद्युतभार कटौती भइरहेको छ । यहाँका बासिन्दा सल्लाको दियो बाल्न बाध्य भएका छन् । हिर्दुम जलविद्युत् आयोजनामा खराबी आएकाले बिजुली बलेको छैन । स्थानीय बासिन्दाको मर्का बुझी हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङ्मेल तामाङले ह्याक्पाखोला र डोजङखोलाबाट बिजुली ल्याउन पहल भइरहेको जानकारी गराए।

बम निष्क्रिय

रौतहट, फागुन १५ । नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९:३० बजे निष्क्रिय गरेको छ । सरमुज्वा गाविस–८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताए । बम किन कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ । बजारको पेट्रोल पम्पमा बम राखिएको खबरले स्थानीय व्यापारी त्रसित भएको स्थानीयवासी राजन जैसवालले बताए ।

घोषित मितिमै चुनाव गर्न त्रिविद्वारा संशोधित तालिका प्रकाशन, उम्मेदवारी दर्ता सोमबारसम्म थप

काठमाडौं, फागुन १५ । । त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनाव गर्नेगरी संशोधित कार्यतालिका प्रकाशन गरेको छ । शनिबारलाई तोकिएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया १६ गते विहान १० वजेसम्म गर्न पाइने त्रिविले जनाएको छ । तर, त्रिविले विभिन्न विद्यार्थी संगठनको विरोधका बाबजुद पनि फागुन १८ गते स्ववियु चुनाव गर्ने स्पष्ट पारेको छ । स्ववियु चुनावका लागि फागुन १४ गते सवै क्याम्पसहरुमा हुनुपर्ने उमेद्वारी दर्ता विद्यार्थी संगठनको अवरोधका कारण हुन नसकेपछि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति त्रिवि किर्तिपुरले आइतबार एक विज्ञप्ति जारी गर्दै स्ववियु चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न सवै क्याम्पसहरुलाई परिपत्र जारी गरेको छ । त्रिविले यसअघि विभिन्न अवरोध भई तालिका अनुसार काम नभएका क्याम्पसहरुमा पनि फागुन १८ मै निर्वाचन सम्पन्न गर्नेगरी तालिका मिलाई अघि बढ्न सवै क्याम्पसहरुलाई परिपत्र जारी गरेको छ ।

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग

कञ्चनपुर, फागुन १५ । चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् । दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् । माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताए । विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उनले भने– “उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन् ।” उनले भने– “भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन् ।” खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गर्नुभएको छ । भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको रु १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताए । विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उनले भने– “विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ ।”

शनिबारदेखि धुम्मिएको आकाश आज दिनभर रहने, भिजिविलिटी ह्वात्तै घट्यो

काठमाडौँ, फागुन १५ । भारतको जम्मु कश्मिरबाट मुलुकको पश्चिमी भाग हुँदै भित्रिएको मौसमी प्रणालीका कारण शनिबार रातिदेखि नै देशभरको आकाश धुम्मिएको छ । ‘अकस्मात कश्मिरबाट शनिबार राति आएको डिस्ट्रबेन्सले वायुमण्डल धुम्मिएको हो,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने– ‘यो आज दिनभरी नै रहने देखिन्छ ।’ बाक्लो बादलसंगै उपत्यकाको वायुमण्डल र तल्लो तहमा तुँवालो लागेका कारण ‘भिजिबिलिटि’ पनि ह्वात्तै घटेको मौसमविद्ले बताएका छन् । श्रेष्ठका अनुसार कश्मिरमा विकसित भएको प्रणाली सूदूरपश्चिमको डडेलधुरा, धनगढी हुँदै शनिबार राति काठमाडौंको वायुमण्डलमा आएको हो । ‘मनसुनमा बाहेक सबैजसो मौसमी प्रणाली पश्चिमबाट भित्रिने भएकाले बेलाबेलामा यस्तो गडबडी आइरहन्छ,’ उनले भने । महाशाखाका अर्का मौसमविद् सुवास रिमालले मध्य नेपाल र पूर्वी पहाडीक्षेत्रमा देखा परेको ‘लो प्रेशर सिस्टम’ का कारण पनि मौसममा बदली भएको हो । ‘आकाशमा बादल र तल बाक्लो तुवाँलोका कारण अँध्यारो छाएको छ,’ मौसमविद् रिमालले भने, ‘पानी नपरुन्जेल र उच्च गतीको हावा नआउन्जेज बिहान यस्तो खालको तुवाँलो (हेज) रहिरहन्छ ।’ दिउँसो भने घाम लागेसंगै केही खुल्दै जाने उनले बताए । आगामी सोमबार पश्चिमी क्षेत्रमा अर्को मौसमी प्रणाली विकसित हुने देखिएकाले त्यस क्षेत्रमा भने वर्षा हुने महाशाखाले अनुमान गरेको छ । मुलुकभर भने अहिले नै वर्षाको संकेत नदेखिएको रिमालले बताए ।

वनतरुल खन्दा बम भेटियो, ३ दिनदेखि पुगेन डिस्पोजल टोली

रुकुम, फागुन १५ । रुकुममा बनतरुल खन्दा बम भेटिएको छ । चौरजहारी नगरपालिका–८, घर्तीकाँडामा जयप्रकाश बोहराले वनतरुल खन्ने क्रममा दुईवटा बम फेला पारेका हुन् । गत शुक्रबार तरुल खन्दा बम भेटिनेवितिक्कै उनले प्रहरीलाई खबर गरेका थिए । एउटा बमको केही भाग देखिएको छ भने अर्को प्लाष्टिक भित्र राखेको अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । बम डिस्पोजल टोली आइनपुगेका कारण प्रहरी चौकी सर्केनाले तीनदिनदेखि बमको पहरा दिएर बसेको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक अंगुर जिसीले उक्त बम सशस्त्र युद्धको क्रममा गाडेको हुन सक्ने बताए । बम डिस्पोजल प्रहरीले गर्न नमिल्ने भएकाले तीनदिनदेखि पहरा दिइरहेको उनको भनाइ छ । नेपालगञ्जबाट बम डिस्पोजल टोली बोलाइएको र डिस्पोजको तयारी भइरहेको उनले बताए । ठूलो प्लास्टिक भएकाले अरु धेरै बमहरु पनि मुनि हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । बम भेटिएलगत्तै प्रहरीले ज्वालादल गणलाई खबर गरेर जानकारी गराएको थियो । चौरजहारीमा रहेको व्यारेकबाट नेपाली सेना आएर बम हेरेर डिस्पोजल सोही दिन नै टोली बोलाउने भन्दै फर्किएको थियो । तर तीनदिन वितिसक्दा पनि डिस्पोजल हुन सकेको छैन ।

ट्रकको पछाडी मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक गम्भीर

खोटाङ, फागुन १४ । ट्रकको पछाडीपट्टी मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका एक जनाको मृत्यु भएको छ भने अर्का एक जना भने गम्भिर घाइते भएका छन् । शनिबार हलेसीबाट जयरामतर्फ जाँदै गरेको बा २ ख ५२०८ नम्बरको ट्रक र सोही दिशामा आइरहेको स ४ प ४८६१ नम्बरको मोटरसाइकल ट्रकको पछाडीपट्टि ठोक्किएको थियो । दुर्घटनापछि मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–२ का कमल राईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बाहुनीडाँडा–५ कदुवाको रातोडाँडामा भएको दुर्घटनामा राईकी श्रीमती पबि राई गम्भीर घाइते भएकी छन् । घाइतेको आस्था मेडिकल हल हर्कपुर ओखलढुंगामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए । मोटरसाइकल चाकलले लगाएको हेल्मेट समेत ट्रकमा ठोक्किएर फुटेको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

इलाममा वाइसिएल एकता भेला

इलाम, फागुन १४। योङ कम्युनिष्ट लिग नेपाल (वाइसिएल) इलामको जिल्ला एकता भेला सम्पन्न भएको छ । माओवादी केन्द्रका पोलिटव्युरो सदस्य धिरेन्द्र शर्मा रमणको आतिथ्यमा सम्पन्न एकता भेलाले प्रविण तिम्सिना इन्र्चाज रहने गरी जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ । समितिको सह–इन्र्चाजमा अग्नी तामाङ, राम राई, नरेश तामाङ, ताराबाबु सुवेदी रहेका छन् । त्यसै गरी पुर्नसंरचना अनुरुप अब बन्ने नगरपालिका र गाँउपालिकाहरुको सम्मेलन सम्पन्न गर्नका लागि संयोजकहरु पनि तोकिएका छन् । माइ नगरपालिकाको लागि दिनेश राई, देउमाइ नगरपालिकाका लागि भुपाल लिम्बु, इलाम नगरपालिकाका लागि बिक्रम लिम्बु, सुर्योदय नगरपालिकाका लागि सुवास ढकाल, चुलाचुली गाँउपालिका सन्तोष राई, फाकफोकथुम गाँउपालिकाका लागि इमराज लिम्बु, माङसेवुङ गाँउपालिका राजकुमार राई, रोङ्ग गाँउपालिका निर्मल तामाङलाई संयोजक तोकिएको छ । सन्दकपुर गाँउपालिकाको लागि भने संयोजक तोकिएको छैन । भेलाले आगामी चैत्र १० गतेभित्र सबै नगरपालिका र गाँउपालिकाको सम्मेलन सकेर चैत्र १९ गते जिल्ला सम्मेलन सक्ने निर्णय गरेको छ ।

भूण्कम्पपीडितको लागत सङ्कलन कार्य तीव्र

चितवन, फागुन १४ । चितवनमा करिब डेढ महिनाको अवधिमा आठ हजार ५०० भूकम्पपीडितको लागत सङ्कलन भएको छ । भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि सुरु भएको पुनः लागत सङ्कलनका क्रममा आजसम्म जिल्लामा करिब आधा काम सकिएको जिल्ला लागत सङ्कलन तथा व्यवस्थापन कार्यालय चितवनका संयोजक जीवनाथ आचार्यले जानकारी दिए । ‘डेढ महिनाको अवधिमा हामीले करिब आठ हजार ५०० को लगत सङ्कलन गरेका छौँं, आचार्यले भने- ‘पहाडी गाविसमा करिब करिब सकिएको छ, अब नगरक्षेत्रमा सङ्कलनलाई तीव्रता दिएका छौं ।’ त्यसमध्ये साँढे सात हजारको नामावली भने प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको उनले जानकारी दिए । चितवनको पहाडी– ८ गाविस र भरतपुर उपमहानगर तथा अन्य सात नगरपालिकामा लगत सङ्कलन भइरहेको छ । माघको पहिलो साताबाट यहाँ पीडितको नामावली सङ्कलन थालिएको थियो । फोटोसहितको विवरण सङ्कलन गर्न इन्जिनियर र सामाजिक परिचालकको टोली गाउँगाउँमा छन् । चितवनमा सबैभन्दा बढी भूकम्प प्रभावित क्षेत्र दारेचोक, काउले, चण्डिभञ्याङ र लोथर हो । टोलीले कम्युटरमा नै फर्म भर्ने, घरको र मानिसको समेत फोटो लिने र घरको अवस्थाको मूल्याङ्कन गरेर नामावली सङ्कलन गरिरहेको छ । इन्टरनेटको डिभाइससमेत उपलव्ध गराइएकाले हरेक दिनको प्रगति सिधैँ सिंहदरवार पठाउने व्यवस्था मिलाइएको आचार्यले जानकारी दिए । विवाद आए पनि सल्ट्याउन सहज हुने भएकाले प्रत्येक घरको फोटोसहितको विवरण सङ्कलन गरिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनका सूचना अधिकारी बलराम लुइँटेलले बताए । चितवन जिल्लामा १८ हजार ७५२ परिवारले भूकम्पपीडित भनेर राहतका लागि निवेदन दर्ता गराएका छन् । पहिलो चरणमा सरकारबाट रु १५ हजार पाएका र दोस्रोचरणमा न्यानो कपडाका लागि रु १० हजार पाएकाको प्रमाण एवम् रातो कार्डको आधारमा नामावली सङ्कलन हुन्छ । अझै एक महिना सङ्कलन गर्न लाग्ने र चैतमा अन्तिम नामावली प्रकाशित गरिने जनाइएको छ । त्यसपछि सरकारले रु तीन लाखको राहत प्याकेज दिने छ ।

पत्रकार महासङ्घ सल्यानको अध्यक्षमा शर्मा

सल्यान, १४ फागुन । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रतीक इच्छुक शर्मा सर्वसम्मत चयन भएका छन् । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सल्यानको चौथो जिल्ला अधिवेशनबाट शर्मा निर्विरोध निर्र्वाचित भएका छन् । प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य समेत रहेका शर्मालाई जिल्लामा क्रियाशील चार पत्रकार सङ्गठनले स्वीकार गरेपछि उनी निर्वाचित भएका छन् । उनी गोरखापत्र दैनिकसँग आबद्ध रहेका छन् । यस्तै महासङ्घको उपाध्यक्षमा प्रेस युनियनबाट भरत बस्नेत, महिला उपाध्यक्षमा क्रान्तिकारी पत्रकार सङ्गठनबाट प्रगति गिरी, प्रेस चौतारीबाट सचिवमा शङ्कर केसीलाई निर्विरोध चयन गरिएको छ । यस्तै सहसचिवमा शिवलाल डाँगी, समावेशी सहसचिवमा भीमबहादुर परियार र कोषध्यक्षमा योगराज विश्वकर्मा निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत सिपी वलीले जानकारी दिए । यस्तै सदस्यमा खुल्लातर्फ भक्तबहादुर केसी, ईश्वरी केसी, वीरेन्द्र डिसी, टीका केसी, कृष्णबहादुर वली, पूर्णचन्द्र शर्मा चयन भएका छन् । यस्तै जनजाति सदस्यमा बुद्धिमान पुन, महिलातर्फ सरिता चलाउने, र अस्मिता गिरी सर्वसम्वत् चयन भएका छन् । अधिवेशनले केन्द्रीय पाषद्मा जीतप्रसाद आचार्य, चन्द्रकला बुढाथोकी, टेकराज शाही, रेशम डिसी, युवराज रेग्मी, सुरेश श्रेष्ठ, रमेश वली, जिकन विसी, डिल्लीराज रावत र पुरुषोत्तम गिरी चयन भएका छन् ।

महासङ्घ दाङको अध्यक्षमा प्रियासन

दाङ्, फागुन १४ । नेपाल पत्रकार महासङ्घ दाङको निर्वाचनमा सविन प्रियासन विजयी भएका छन् । महासङ्घको १० आै‌ जिल्ला अधिवेशनबाट उनी गएराति विजय भएका छन् । कुल २४३ मतमध्ये एक सय ४९ मत पाएर उहाँ निर्वाचित हुनुभएको हो । पत्रकार महासङ्घको निर्वाचनमा प्रियासन नेतृत्वको संयुक्त प्यानललाई प्रेसयुनियन र प्रेस सेन्टरको साथ रहेको थियो । निर्वाचनबाट पदाधिकारीमा उहाँकै प्यानल विजयी भएका छन् । प्रियासन नेतृत्वको संयुक्त प्यानलबाट उपाध्यक्षमा डिल्ली मल्ल ९प्रेस सेन्टर०, महिला उपाध्यक्षमा लिला शाह (प्रेस युनियन) र र सचिवमा भूपेन्द्र प्रकाश ओली (प्रेस सेन्टर) निर्वाचित भएका छन् । सहसचिवमा गोकर्ण पौडेल (प्रेस चौतारी), महिला सहसचिवमा शर्मिला विसी ९प्रेस युनियन० र कोषाध्यक्षमा आरके शितल (प्रेस युनियन) निर्वाचित भएका छन्। त्यस्तै खुल्ला सदस्यमा जनक नेपाली, पाण्डवप्रसाद शर्मा, सुुवास डिसी, भरतराज शर्मा, दामोदर बस्नेत, लीलाधर वली, केशरमान विसी, नारायण भण्डारी विजय हुनुभएको छ । महिला सदस्यतर्फ सविता चौधरी, जनजाति तर्फ प्रेमबहादुर घर्ती, निर्वाचित हुनुभएको छ । त्यस्तै केन्द्रीय पाषद्मा विपुल पोख्रेल, सुदिप गौतम, अर्जुन गिरी, सुदर्शन रिजाल, सन्तोष सुवेदी, नारायणी रजौरे, केएल पीडित, सुनिलकुमार बस्नेत, हेमराज शर्मा, छविलाल कोपिला, जेएन सागर, देवीराम कुसारी, केपी घिमिरे, वंशीकुमार शर्मा, लक्ष्मी आचार्य, प्रकाश चौरी, सुलोचन गौतम, नरेन्द्र केसी, सुरेशसुमन डाँगी, उदय जिएम विजय हुनुभएको निर्वाचन अधिकृत सुशील गौतमले जानकारी दिएको छ ।

लुटपाट गर्न खोज्ने चार युवक पक्राउ

मोरङ, फागुन १४ । मोरङको भातिगन्ज– २ स्थित भित्री सडकमा गएराति मादक पदार्थ सेवन गरी लुटपाट गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भातिगन्ज– २ बस्ने ३० वर्षीय पशुपति राजवंशी, ३० वर्षकै धनिराम राजवंशी, ३३ वर्षीय रमेश राजवंशी र २० वर्षीय श्रीनन्दन राजवंशी रहेका छन्। उनीहरुलाई वडा प्रहरी कार्यालय विराटनगर हाटखोलाबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। सो समूहले विराटनगर –९ स्थित मेडिकल पसलबाट मोटरसाइकलमा घर फर्कने क्रममा भातिगन्ज– ४ बस्ने रोहित यादव र भरत यादवलाई लुटपाट गर्न खोजेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

विराट एक्स्पोअन्तर्गत माउन्टेन फ्लाइट सेवा

विराटनगर, फागुन १४ । पूर्वाञ्चलमा पहिलोपल्ट विराटनगरबाट माउन्टेन फ्लाइट सुरु भएको छ । उद्योग सङ्गठन मोरङद्वारा विराटनगरमा आयोजित विराट एक्स्पो–२०७३ अन्तर्गत हिमाली क्षेत्रको अवलोकन गराएर पर्यटक क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य उद्देश्यका साथ तीन दिनका लागि सो फ्लाइट सेवा आजबाट सुरु गरिएको हो । यति एयरलायन्सको विमानबाट सगरमाथा, मकालु, कञ्चनजङ्घा र गौरीशङ्कर हिमालको अवलोकन गराइने छ । उक्त विमानबाट दिनमा एकपल्ट १९ जना यात्रुले सो हिमाली क्षेत्रको अवलोकन गर्छन् । विराटनगर विमानस्थलबाट आज सुरु भएको पहिलो फ्लाइटबाट प्रजिअ यज्ञप्रसाद कोइराला, प्रहरी नायब महानिरीक्षक रमेश भट्टराई, पत्रकार महासङ्घ मोरङका अध्यक्षसहित १९ जना सहभागी भएका छन् । दिनमा एकपल्ट गरी तीन दिनसम्म जारी रहने सो सेवाका लागि प्रति यात्रुबाट रु नौ हजार रकम लिने गरिएको भविष्स श्रेष्ठले जानकारी गराए ।

राँगाको आक्रमणबाट महिलाको मृत्यु

लहान, फागुन १४  । राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ । छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यसैगरी सिरहाकै लहान नगरपालिका–१५ स्थित ढोढना खोलामा राँगाले आक्रमण गर्दा स्थानीय ४० वर्षीया अनिता चौधरी घाइते भएकी छन् । बजारबाट घर फर्कने क्रममा राँगोको आक्रमणबाट घाइते भएकी चौधरीको लहानस्थित फ्रेन्स मोडल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।