पत्रकार महासङ्घ बर्दियामा धिताल सभापतिमा निर्वाचित
गुलरिया (बर्दिया), फागुन २१ । नेपाल पत्रकार महासङ्घ बर्दियाको ११ औँ जिल्ला अधिवेशनले राजेन्द्रप्रसाद धितालका अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा यादव आचार्य, महिला उपाध्यक्षमा मेनका चौधरी, सचिवमा भावुक योगी, सहसचिवमा प्रभु चौधरी र विष्णु अधिकारी तथा कोषाध्यक्षमा दीपक शर्मा चयन हुनुभएको छ । यसैगरी सदस्यमा सन्तोष पौडेल, लक्ष्मण ढुङ्गाना, शीतल थापा, दुर्गा आचार्य, दीपक श्रेष्ठ, कुसुम विक, ताराबहादुर सुनार, भीमउचै ठकुरी र सन्दीपकुमार वैश्य चयन हुनुभएको छ ।
अधिवेशनले केन्द्रीय सभासद्मा युवराज श्रेष्ठ, बद्री सिग्देल, कृष्णप्रसाद बस्याल (राकेश), विनयराज भण्डारी, मेघराज सिग्देल, निर्मल घिमिरे, सुशीला गिरी र गीता अधिकारी चयन गरेको निर्वाचन समितिका सदस्य सुभाष पोख्रेलले जनकारी दिनुभयो ।
यस्तै प्रदेश सभासद्मा कमल पन्थी, यज्ञ नेपाल, हरिवंश पाण्डे, मङ्गलराम चौधरी, अर्जुन आचार्य, यमनाथ घिमिरे, ज्योति पन्थी, विवेकराज भण्डारी, सञ्जय आचार्य र दिनेश यादव चयन हुनुभएको छ । रासस
स्थानीय चुनावमा होमियो माओवादी, झापा उम्मेदवारी घोषणा
काठमाडौं, फागुन २० । स्ववियु निर्वाचन सकिएलगत्तै नेकपा माओवादी केन्द्र भने स्थानीय तह निर्वाचनको तयारीतर्फ लागेको छ । स्थानीय तह निर्वाचनको तयारी स्वरुप माओवादी केन्द्र झापाले उम्मेद्वार घोषणा गरेको छ । मधेसी मोर्चाले निर्वाचनमा भाग नलिने बताइरहेको अवस्थामा माओवादी केन्द्रले भने उम्मेदवारी घोषणा गरिसकेको छ । वैशाख ३१ मा हुने निर्वाचनका लागि माओवादीले दमक नगरपालिका प्रमुखमा रेवतीराज पुरी ‘गगन’ र उपप्रमुखमा शान्ति धिमालको नाम अघि सारेको हो । ७० बुँदे प्रतिबद्धता सहित गगन र धिमालको नाम सर्वसम्मत रुपमा अघि सारिएको माओवादीले बताएको छ । आफ्नो प्रतिवद्धता जनाउँदै गगनले दमकलाई नेपालको सुन्दर र समृद्ध शहर बनाउने बताएका छन् ।
नयाँ शक्तिका संयोजक भट्टराई भारत जाँदै
नयाँ दिल्ली, फागुन २० । पूर्व प्रधानमन्त्री एवंम् नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई भारत जाने भएका छन् । उनी फागुन २९ गते भारतको नयाँ दिल्लीमा आउने कार्यक्रम तय भएको नयाँ शक्ति पार्टीले जनाएको छ । भारतमा भट्टराई दश दिन बस्ने कार्यक्रम रहेको छ । फागुन २९ देखि चैत ७ गतेसम्म बस्ने कार्यक्रम तय भएको अन्तराष्ट्रिय नेपाली समाज नयाँ दिल्ली राज्य एन सी आर संयोजक रमेश शर्माले जानकारी दिए । भट्टराईको भारत भ्रमणको उद्देश्य पार्टीको संगठन विस्तार रहेको संयोजक शर्माले बताए । यद्यपी नेपालमा स्थानीय तहको चुनाव मिति घोषणा भइसकेपछि दश दिनसम्म भारत रहनुलाई अर्थपूर्ण रुपमाहेरिएको छ । भट्टराई संयोजक रहेको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव अध्यक्ष रहेको संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकताको प्रसङ्ग चलिरहेका बेला लामो समय उनी भारत रहने भएका छन् । नेपालमा संविधान स्रशोधनको विधेयक प्रक्रियामा लगेपनि त्यसबारे निर्णय भइसकेको छैन यस्तो बेला भट्टराई भारतबसाई अर्थपूर्ण रहने विश्लेषण गरिएको छ । नयाँ शक्ति स्थापना भएपछि भट्टराईको यो पहिलो भारत भ्रमण हो । यद्दपी मंसिर २६ मा आउने तय भएपनि अन्तिम समयमा उनी आएका थिएनन् । भारत भ्रमणलाई सफल बनाउन भट्टराईले पार्टीका विदेश विभाग प्रमुख नवराज सुबेदी र अन्तर्राष्ट्रिय केन्द्रीय परिषदका सदस्य कृष्ण राज गैरेसँग छलफल गरिसकेका छन् ।
भारतले स्थानीय चुनावको विरोध गरेको छैन, चुनाव हुनुपर्छ-राजदूत उपाध्याय
काठमाडौं, फागुन २० । भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायले नेपालको चुनावलाई लिएर भारतको कुनै पनि असन्तुष्टि नरहेकोे स्पष्ट पारेका छन्।शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राजदूत उपाध्यायले भने,‘भारतले चुनावको कुनैपनि विरोध गरेको छैन । नेपालको संसद र मन्त्रिपरिषदले गरेको निर्णयलाई अरुलाई दोष दिएर हामी उम्कन मिल्दैन। त्यसैले अरुलाई दोष लगाउने बानीबाट नेपाल मुक्त हुनुपर्छ र स्थानीय तहको निर्वाचन हुनैपर्छ। भारतले नेपालमा हुन लागेको चुनावको अहिलेसम्म कुनै विरोध गरेको छैन र म सँगपनि कुनै असहमति व्यक्त गरेको छैन।’ उनले लोकतन्त्रको सुन्दर पक्ष भनेको नै चुनाव भएको जिकिर गर्दै भने-‘अब चुनाव हुनुपर्छ। त्यो आफैंले गर्ने हो। भारतलाई दोष दिएर हामी उम्कन मिल्दैन।’ साक्षात्कारमा बोल्दै राजदूत उपाध्यायले राष्ट्रपति विद्या भण्डारीको भारत भ्रमणपनि छिट्टै हुने विश्वास दिलाए। उनले भने– ‘राष्ट्रपतिको भारत भ्रमणको लागि दुवै तर्फ प्रयत्नशील छौं। गृहकार्य अन्तिम चरणमा पुगेको छ, भ्रमण मिति छिट्टै घोषणा हुन्छ।’ नेपाल–भारत सम्बन्धमा अहिले कुनैपनि समस्याहरु नरहेको स्पष्ट पारे। उनले भने,‘सबै खाले चूनौतिहरु समाधान भैरहेको छन्। यो सकारात्मक कुरा हो।’ उनले नेपालमा लोडेसेडिङ अहिले नहुनुमा पनि भारतको ठूलो हात रहेको स्पष्ट पारे। उनले अन्तरदेशीय प्रशारण लाईन निर्माण भैसकेकोले भारतबाट ल्याईएको विजुली काठमाडौंसम्म ल्याउन सकिएको बताउँदै यसले लोडसेडिङ कमी गर्न ठूलो भूमिका निर्वाह गरेको विश्वास दिलाए। उनले भने-‘अन्तरदेशीय प्रशारण लाईन निर्माण भएकोले हामीले विजुली पाएका छौं। अहिले हामीले थप १२० मेगावाट विजलुी माँगेका छौं।’ उनले विजुली उपलब्ध गराएकोमा मित्रराष्ट्र भारतलाई धन्यवाद दिनुपर्ने बताए। उनले अघि थपे,‘भारतकै कारणले नेपालमा लोडसेडिङ अन्त्य हुँदै गैरहेको छ। यो कुरा सबैलाई थाहा छ।’ त्यस्तै उनले नेपालमा ग्यास तथा पेट्रोलियम पदार्थ लाईन बसेर लिने झन्झटलाई मध्यनजर गर्दै आईओसी र एनओसीवीच सम्झौता हुन गइरहेको पनि बताए। उनले भने,‘प्रबन्धन त हामीले गर्ने हो नि।’
राजविराज विमानस्थल असारमै सञ्चालनमा आउने
सप्तरी, फागुन २० । राजविराज विमानस्थल निर्माण हुने म्याद आगामी मङ्सिरसम्म रहे पनि असारभित्रै तयार हुने भएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले बिहीबार राजविराज विमानस्थलकै सभाहलमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बनाउने समयसीमा मङ्सिरसम्म भए पनि असारभित्रै विमानस्थलको रनवे तयार भइसक्ने जानकारी गराइयो । समितिका सभापति प्रभु साहको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विमानस्थल निर्माण कार्यका प्रमुख रामएकवाल महतोले असारभित्रै जहाज उड्ने योग्य विमानस्थल बनाइसक्ने जानकारी दिए । अहिले द्रुत गतिमा काम भइरहेको बताउँदै उनले असारसम्म परीक्षण उडान गरिसक्ने बताए । विमानस्थलको १५ सय मिटर लामो र ३० मिटर चौडाइ भएको रनवे निर्माण कार्य भइरहेको बताउँदै उनले यो विमानस्थल विराटनगरको जस्तै रहने बताए। ३० करोड ३० लाख रुपैयाँमा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै विमानस्थललाई सञ्चालन गराउनका निम्ति बजेटको कुनै अभाव नरहने विश्वास पनि उनले व्यक्त गरे । समितिका सभापति प्रभु साहले आफू नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको बताउँदै बजेटको कुनै अभाव हुन नदिने बताए । उनले विमानस्थल निर्माण भए पनि विमानस्थलसँगै रहेको कुनौली सडक र हुलाकी सडक चार लेनको बनाउन पनि आग्रह गरे । कार्यक्रममा सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जितेन्द्रनारायण देवसहित अधिकांश सदस्य सांसदको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफूहरुबाट सक्दो सहयोग गरिने बताए ।
नयाँ शक्तिमा ठूलो विद्रोह, ७० जना केन्द्रीय नेताहरु समानान्तर पार्टी गठन गर्दै
काठमाडौं, फागुन २० । अन्य राजनीतिक पार्टीहरुले केही गर्न सकेनन् भन्दै वैकल्पिक शक्तिको दावीका साथ स्थापना भएको नयाँ शक्ति नेपालमा ठूलो विद्रोह हुने भएको छ । पार्टीको संगठनात्मक र वैचारिक कार्यशैली र पद्धतीसँग असन्तुष्ट भएका देशभरीका नेता तथा कार्यकर्ताहरुले पार्टी छोड्ने तयारी गरेका छन् । नयाँ शक्ति समानान्तर पार्टी कमिटिका नामबाट उनीहरुले नयाँ शक्ति छोडेर वैकल्पिक शक्ति निर्माण गर्ने भएका छन् । “बाबुरामजीले पार्टीलाई पुरानै कम्युनिष्ट शैलीमा चलाउन खोज्नुभयो, हरेक कुरामा केन्द्रीकरण भयो ।” नयाँ शक्ति नेपालका अन्तरिम परिषद सदस्य चन्द्रदेव ओझाले एभरेष्टदैनिकडटकमसँग भने, “अहिले आएर स्थानीय निर्वाचनको समेत बिरोध गर्न थालेपछि हामीले पार्टी छोड्ने निर्णय गरेका हौं ।” असन्तुष्ट परिषद सदस्यहरुले लोकतन्त्रलाई मजबूत पार्न स्थानीय निकायको चुनाव गर्नुपर्ने धारणा राखेका छन् । “चुनाव भनेको लोकतन्त्रको मुख्य आधार हो, बिभिन्न पक्षका असन्तुष्टि संविधान संशोधनमार्फत हल गर्न सकिन्छ, त्यसका लागि समय पनि छ ।” ओझाले भने, “तर बाबुरामजी चुनाव भाँड्ने र देशलाई अराजकतातर्फ लैजाने योजनामा हिँड्नुभयो । संगठनात्मक कार्यशैलीमा त पहिलादेखि नै हाम्रो असन्तुष्टि थियो, अहिले कार्यदिशा र वैचारिक कुरामा पनि असहमति भयो ।” असन्तुष्ट अन्तरिम सदस्यहरुले संयोजक बाबुरामसँग यसबारेमा पटकपटक कुरा गरेपनि बाबुरामले सच्चिन नमानेपछि नयाँ पार्टी गठन गर्ने निश्कर्षमा पुगेको ओझाले बताए । ओझासँगै निर्मल भट्टराईलगायतले नयाँ पार्टीभित्रका सबै जिल्ला समितिहरुमा छलफल गरेर समानान्तर पार्टी निर्माण गर्ने अभियान थालेका हुन । उनीहरुले दावी गरे अनुसार, अहिले २० प्रतिशत भन्दा बढी अन्तरिम सदस्यहरु नयाँ पार्टीमा सहभागी हुने छन् । नयाँ पार्टीले चुनावका लागि मिल्न सक्ने पक्षहरुसँग वैचारिक छलफल चलाउने तर कुनै पार्टीमा विलय या एकता भने नगर्ने ओझाले बताए । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा ३ सय ७५ जना अन्तरिम परिषद सदस्य रहेका छन् । बाबुराम भट्टराईले संविधान संशोधन नगरी चुनाव गर्नु हुँदैन भनेर सघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग मिलेर प्रेस विज्ञप्ती जारी गरेपछि पछिल्लो विवाद चुलिएको थियो । फोरमसँग पार्टीको विधानविपरित विज्ञप्ती जारी गर्नु, चुनावको आवश्यकता रहेको बेला यादवको बोलीमा बोली मिलाएर बाबुराम हिँड्नु पार्टीको मूल वैचारिक र सांगठिनक लाइन विपरित भएको भन्दै असन्तुष्टहरुले बिरोध गरेका थिए । यसअघि पनि बाबुरामसँग असहमति राख्दै नौ जना केन्द्रीय सदस्यहरु (अन्तरिम परिषद सदस्य)हरुले बाबुरामलाई पत्र बुझाएका थिए । पार्टी नेतृत्वले बारम्बार खबरदारी गर्दा पनि स्वेच्छिक ढंगले हिँडन खोजेपछि पार्टी नै छोड्नुको विकल्प नरहेको भन्दै असन्तुष्टहरुले देशैभरी छलफल चलाएरु पार्टी गठन गर्न खोजेको बताएका छन् । “हामीले यही २६ गतेभित्र समानान्तर नयाँ शक्ति पार्टीको राष्ट्रिय भेला राजधानीमा आयोजना गर्दैछौं ।” ओझाले भने, “त्यसअघि सबै जिल्लामा छलफल चलाइरहेका छौं । अधिकांश साथीहरु बाबुरामको कार्यशैलीको बिरोधमा छन् । सबैलाई समेटेर वैकल्पिक शक्तिको रुपमा अघि बढ्छौं ।”
रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु
रोल्पा, फागुन २० । रोल्पामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । मृत्यु हुनेमा कोटगाउँ–७ रोल्पाका आइतेसिंह विक रहेका छन् । बिहीबार रोल्पाको घर्तीगाउँबाट माडिचौर आउँदै गरेको ना.३ त ६९८८ नंको ट्याक्टर कोर्चाबाङ–५ सिमखेतमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी घाइते भएका विकको प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले पुष्टि गरे । शव परीक्षणका लागि जिल्ला अस्पताल रोल्पामा राखिएको उनले बताए । प्रनाउ घर्तीमगरका अनुसार दुर्घटनामा परेको ट्र्याक्टर बाटोदेखि करिब ५० मिटर तल खसेको थियो । ट्याक्टरमा सवार सहचालक भने सकुसल रहेका छन् । अहिले ट्याक्टर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ । रासस
सासंदहरुद्वारा राजविराज विमानस्थलको निरीक्षण
सप्तरी (राजविराज), फागुन २० । लामो समयपछि निर्माण कार्य सुरु भएको राजविराज विमानस्थलको व्यवस्थापिका–संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको एक टोलीले आज स्थलगत निरीक्षण गरेको छ । समितिका सभापति एवम् सभासद प्रभू शाहको नेतृत्वमा आएको टोलीले सप्तरीको रञ्जितपुरस्थित राजविराज विमानस्थलको अनुगमन एवम निरीक्षणपश्चात विमानस्थलको निर्माण र सञ्चालनबारे आवश्यक जानकारीसमेत लियो । सो अवसरमा विमानस्थल निर्माण कार्यका प्रमुख रामएकबाल महतोले असारभित्रै जहाज उड्न / अवतरण गर्नसक्ने बिमानस्थल बनाइने कार्य तीव्रगतिमा भइरहेको जानकारी दिनुभयो । उहाँले विमानस्थलको एक हजार ५०० मिटर लामो र ३० मिटर चौडा रनवे निर्माण कार्य भइरहेको बताउनुभयो । यो विमानस्थल विराटनगर जस्तै रहनेछ । रु ३० करोड ३० लाख मा रनवे बनाउने काम भइरहेको जानकारी गराउँदै उहाँले विमानस्थललाई सुचारु गराउनका निम्ति बजेटको कुनै अभाव नरहेको उल्लेख गर्नुभयो । समितिका सभापति एवम् सांसद साहले विमानस्थलको प्रतिवेदनसमेत सुनाउँदै आफ्नो नेतृत्वको समितिले राजविराज विमानस्थलको निर्माण कार्यलाई प्राथमिकतामा राखेको तथा त्यहाँ निर्माणमा बजेटको कुनै अभाव हुन नदिने बताउनुभयो । सगरमाथा अञ्चलको सदरमुकाम भएपनि राजविराजबाट जहाज नउड्नु बिडम्बना भएको बताउँदै आगामी वर्षदेखि यस विमानस्थलबाट जहाज उड्ने उहाँले दाबी गर्नुभयो । कार्यक्रममा समितिका सदस्य एवम् सप्तरी क्षेत्र नं २ का सांसद अमर मण्डल, क्षेत्र नं ३ का समानुपातिक सांसद जीतेन्द्रनारायण देवसहित अधिकांश सदस्यको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, व्यवसायी, सञ्चारकर्मीले कुनै पनि बहानामा विमानस्थलको निर्माण कार्य रोकिन नहुने भन्दै आफुहरुबाट सक्दो सहयोग गरिने बताउनुभयो । रासस
प्रभावकारी वन्दै चुरे संरक्षण कार्यक्रम
डडेल्धुरा,फागुन २० । डडेल्धुरामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी वन्दै गएको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा सात वर्षदेखि सञ्चालन भइरहेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा बाढीपहिरो नियन्त्रणदेखि बायो इन्जिनियरिङ, पानीका मुहान संरक्षण, सिँचाइका लागि पोखरी निर्माण गर्ने काम भइरहेको छ । जिल्ला भूसंरक्षण, जिल्ला वन, जिल्ला पशु सेवा कार्यालयले भित्री मधेसको परशुराम नगरपालिका र आलिताल गाविसमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम संचालन गर्दै आइरहेका छन् । भित्रिमधेस क्षेत्रका चुरे क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएपछि स्थानीयवासीलाई बाढीपहिरोको जोखिमबाट समेत राहत मिलेको जोगवुढा पुन्तुराका डम्बर कामीले बताउनुभयो । चुरे क्षेत्रमा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट सिँचाइका लागि पोखरी, कुलो मर्मत, खानेपानी निर्माण गर्ने काम भइरहेको छ । कबुलियती वन, बाँस खेती गरेर आयआर्जन गर्नमा सहयोग पुगेको परशुराम नगरपालिका, शीर्षका स्थानीयवासी निशा नाथले बताउनुभयो । रकम छरिएर आउँदा सोचेअनुसार कार्यक्रम सफलरुपमा कार्यान्वयन गर्न समस्या आउने गरेको सरकारी अधिकारीको भनाइ छ । चुरेमा थुप्रै बजेट छरिएर आउने कारणले पनि पहिरो र बाढीबाट बचाउने कार्यमा ढिलाइ भएको उनीहरुको भनाइ छ । यो आर्थिक वर्षमा मात्रै भित्री मधेसको चुरेक्षेत्रमा तटबन्ध निर्माणका साथै जैविक (बाँस र अन्य बिरुवा) को तटबन्ध लगाउने कार्यसमेत भएको र जैविक तटबन्धले बाढीपहिरोको जोखिम घटाई पानीका मूलसमेत सरंक्षण गर्ने कार्य भइरहेको जिल्ला वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत केशव पुडासैनीले जानकारी गराउनुभयो । पछिल्लो समयमा डडेल्धुरा जिल्लामा ३८ हजार चारसय ८९ हेक्टर क्षेत्रफलमा चुरे क्षेत्र फैलिएको समेत सहायक अधिकृत पुडासैनीले जनाउनुभएको छ । चुरे संरक्षणका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यका साथै बोटबिरुवा संरक्षण र नर्सरी बनाउने, मूलहरुको सदुपयोग गर्ने जस्ता कार्य तीव्रगतिमा भइरहेका छन् । रासस
घुस लिँदै गर्दा शाखा अधिकृत रंगेहात पक्राउ
काठमाडौं, फागुन १९ । यातायात व्यवस्था विभाग काठमाडौंका शाखा अधिकृत अर्जुनप्रसाद रिजाललाई घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको छ । महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि रिजालले घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । रिजाललाई २५ हजार रुपैयाँ नगद लिँदै गर्दा रंगे पक्राउ गरेको हो । रिजालमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
राजधानीसहित धेरै ठाउँमा हल्का वर्षा
काठमाडौं, फागुन १९ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहीबार बेलुका एक्कासी पानी प¥यो । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पानी परेको मौसमविदको भनाई छ । मार्च, अप्रिल र मेलाई प्रि–मनसुनको सिजन मानिने र आज परेको पानी पनि त्यही संकेत भएको मौसमविद मौसमविद सुवास रिमालले जानकारी दिएका छन् । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव तथा मध्य र पूर्वी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण पानी परेको उनले बताए । शुक्रबार पनि देशका धेरै ठाउँको मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको उनले बताए । शुक्रबार देशभर पश्चिमी वायुको प्रभाव परेपनि ठूलो पानी पर्ने सम्भावना भने नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्ववियु अध्यक्षमा हारेपछि ‘सुसाइड नोट’ लेखेर आत्महत्या
स्याङ्जा, फागुन १९ । स्ववियु अध्यक्षमा हारेपछि स्यांजामा एक विद्यार्थीले आत्महत्या गरेकी छिन् । स्याङ्जाको फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसकी छात्रा नेपाल विद्यार्थी संघकी नेतृले रिमा क्षेत्री ‘सोसाइड नोट’ लेखेर आत्महत्या गरेकी हुन् । अध्यक्ष पदमा उम्मेदवारी दिएकी २० वर्षीया रिमाले बुधबार भएको स्ववियु चुनावमा हार व्यहोरेपछि आफ्नै घरको माथिल्लो तलामा सलको पासो पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलबाट उनको ‘सुसाइड नोट’ फेला परेको बताएका छन् । उक्त नोटमा चुनावी हारका कारण आत्महत्या गरेको उल्लेख गरेको प्रहरीले जनाएको छ ।
फेसबुकबाट ठगिएला है ! चितवनमा ४७ लाख रुपैयाँ सहित ठगिइन न्यौपाने
चितवन, फागुन १९ । पछिल्लो समय निकै चलेको सामाजिक सञ्जाल फेसबुकले विश्वलाई साँघुरो घेरामा ल्याएको छ । तर, यसको दुरुपयोगका कारण धेरै नागरिक ठगिँदै पनि आएका छन् । कतिपय यसबाट नराम्रो गरी पीडितसमेत बनेका छन् । फेसबुककै कारण चितवनको सौराहाकी एक महिला ठगिएकी छन् । रत्ननगर नगरपालिका–१८ सौराहाकी विमला न्यौपानेले विगत ८ महिनाको अन्तरालमा रु ४७ लाख २८ हजार ठगिएको बताइन् । उनलाई ठगी गर्ने गिरोहका दुईजनालाई पक्राउ गर्न प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ठगी गरेको अभियोगमा कास्कीको ल्वांग गाविस–४ कि २६ वर्षीया कल्पना पौडेल र उनका श्रीमान् २७ वर्षीय इन्द्रप्रसाद पौडेललाई प्रहरीले पक्राउ गरेको हो । अन्य तुलसीपुर, धरान, काठमाडौं बस्दै पैसा ठगी गर्ने गिरोहको खोजी कार्य भइरहेको उनले बताए । पक्राउ परेका व्यक्तिको खातामा न्यौपानेले पहिलो चरणमा रु एक लाख ७६ हजार पठाएकी थिइन् । फेसबुक चलाउँदै आएकी न्यौपानेलाई फेसबुककै माध्यमबाट उनीहरुले ठगी गरेका हुन् । साथी बनिसकेपछि नाटकीय ढंगले उनलाई ठगी गरेको प्रहरीले जनाएको छ । न्यौपानेको श्रीमान व्यवसायी हुन् । त्यही आधारमा ठगले प्रपन्च रची ठग्न सफल भएको प्रहरीको अनुमान छ । पटक–पटक गरी भारत बस्दै आएका एक व्यक्तिले उनलाई ‘फेसबुकको चिट्ठामा १० लाख मिलियन डलर पर्यो’ भन्दै ठगेको प्रहरी प्रमुख थापाले जानकारी दिए । थापाकाअनुसार न्यौपानेले विभिन्न ६ चरणमा गरी उनलाई पैसा पठाएकी थिइन् । आफूलाई रिर्जव बैंक अफ इन्डियामा काम गर्ने बताउने उनले आफ्नो खातामा पैसा नमागी विभिन्न स्थानमा रहेका व्यक्तिको खातामा पैसा माग्ने गरेको प्रहरीले बताएको छ । पोखरा, तुलसीपुर, धरान, काठमाडौंमा रहेका विभिन्न व्यक्तिको नाममा पैसा पठाउन भन्दै उनले सो रकम ठगी गरेको थापाले बताए । ठगी गर्ने व्यक्तिले न्यौपानेलाई नक्कली डेबिट इन्टरनेसनल कार्डसमेत पठाएर रु ५० लाख दिइ सकेपछि मात्र कार्डले काम गर्ने र १० लाख मिलियन डलर पाउने बताएको थापाले बताए । कार्डमा चिप्स नभएको थाहा भएपछि उनी ठगिएको थाहा भएको प्रहरीले जनाएको छ । ठगी गर्ने व्यक्तिको नाममा महिलाले पठाएको रकममध्ये रु ३५ लाख पुगिसकेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार चालु आवको पछिल्लो तीन महिनामा ७९ ओटा लेनदेन तथा चेक वाउन्सका ठाडो उजुरी परेका छन् । जसमध्ये कमैमात्रको लेनदेन टुंगिएको छ । अधिकांश यस्ता कारोबार हुने गरेका विदेशमा बसेर आफन्तलाई वा साथी–भाइलाई विदेश लैजाने बाहनामा ठगी गर्ने गरेको प्रहरी उपरीक्षक थापाले बताए । यस्ता काममा संलग्नको खोजीलाई तीव्र पारिएको उनले बताए ।
हावा भर्ने ग्यास लिक हुँदा दुई बालक घाइते
डोटी, फागुन १९ । दिपायलमा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा खेलौनामा हावा भर्ने ग्यास लिक हुँदा दुई बालक घाइते भएका छन् । महोत्सवमा राखिएको स्टलमा खेलौनामा हावा भर्ने क्रममा आगो सल्केको र बालकको शरीरमा लाग्दा बालक घाइते भएका हुन् । घाईते हुनेमा ७ वर्षीय सन्तोस दमाई र ५ वर्षीय खगेन्द्र दमाई रहेको प्रहरीले जनाएको छ । घाईते दुवैको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । उक्त मेलामा केही दिनअघि मात्रै हावाले स्पिकर ढल्दा ६ वर्षीय निरज विक घाइते भएका थिए ।
भरतपुरमा पनि सञ्चालनमा अायाे फनपार्क
चितवन, फागुन १९ । जिल्लाको सहरी क्षेत्र कोलाहल बन्दै जाँदा यहाँका बासिन्दालाई फुर्सदको समयमा रमाउन सहयोग पुग्ने गरी निजी क्षेत्रबाट पहिलोपटक फनपार्क सञ्चालनमा ल्याइएको छ । भरतपुर उपमहानगरपालिका–९ शरदपुरमा पूजा फनपार्क सञ्चालनमा ल्याइएको हो । बालबालिका र युवालाई लक्षित गरेर फनपार्क सुरु गरिएको हो । करिब एक बिघा क्षेत्रफलमा रहेको फनपार्कमा महिला, पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै स्विमिङ पुलको व्यवस्था गरिएको छ। चितवनमा पार्कको अभाव भएकाले सबैको मनोरञ्जनका लागि फनपार्क सञ्चालन गरिएको सञ्चालक कृष्णप्रसाद देवकोटाले बताए । पार्कमा होटल, चिडियाघर, रेस्टुरेन्ट र रमणीय वातावरणको सुविधा रहेको छ । फनपार्कको आम्दानीको पाँच प्रतिशत भरतपुरमा रहेको आदर्श नारी गृहलाई सहयोग गर्ने देवकोटाले घोषणा गर्नुभयो । करिब रु चार करोडको लगानीमा फनपार्क सञ्चालन गरिएको उनले जानकारी दिए ।
विद्यालयमा अक्षयकोषका लागि युएईद्वारा पाँच लाख हस्तान्तरण
पाल्पा, फागुन १९ । पाल्पाली समाज युएईले विद्यालयमा अक्षयकोष स्थापनाका लागि पाँच लाख रुपैयाँ रकम हस्तान्तरण गरेको छ। गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न विद्यालयमा सो रकम अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरेको छ । समाजले एक गाविस एक विद्यालयमा अक्षयकोष स्थापना गर्ने अभियानको दोस्रो चरणमा २० विद्यालयका लागि २५ हजार रुपैयाँका दरले अक्षयकोष रकम हस्तान्तरण गरेको हो । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाको शैक्षिक विकासमा टेवा पु¥याउन जिल्लाका ६० गाविसका ६० विद्यालयमा अक्षयकोष स्थापना गर्ने लक्ष्यका साथ समाज अगाडि बढेको महासचिव वेदप्रसाद अर्यालले बताए । उनका अनुसार अहिलेसम्म २० गाविसका विद्यालयमा पुगेर अक्षयकोष रकम हस्तान्तरण गरि सकिएको छ । तीन चरणमा पूरा हुने गरी अक्षयकोष स्थापना अभियानमा प्रतिविद्यालय २५ हजारका दरले ६० विद्यालयमा १५ लाखको कोष स्थापना गर्ने समाजका खुमबहादुर आलेले बताए ।

