पत्रकार महासङ्घ कञ्चनपुर अध्यक्षमा अवस्थी
कञ्चनपुर, फागुन २५ । नेपाल पत्रकार महासङ्घ, कञ्चनपुर शाखाको अध्यक्षमा विष्णुदत्त अवस्थी निर्वाचित भएका छन्। पत्रकार महासङ्घ कञ्चनपुरको नवौँँ जिल्ला अधिवेशन तथा १७औँ वार्षिक साधारणसभाबाट अध्यक्षमा अवस्थी निर्वाचित भएका हुन् ।
निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत लक्ष्मीराज जोशीद्वारा मङ्गलबार राति अबेर घोषित परिणामअनुसार अवस्थीले एकसय ३१ र उनका प्रतिद्वन्द्वी सुरेश सिंह धामीले एकसय चार मत ल्याएका छन्। मुख्य निर्वाचन अधिकृत जोशीका अनुसार उपाध्यक्षमा केशव सावद निर्वाचित हुनु भएको छ । महिला उपाध्यक्षमा दुर्गा उपाध्याय तथा सचिवमा अमरबहादुर चन्द निर्वाचित भएका छन् ।
यस्तै, खुल्ला सह–सचिवमा मोहन विष्ट, समावेशी सह–सचिवमा सङ्गीता शाही र कोषाध्यक्षमा चुडामणि अर्याल निर्वाचित भएका छन् ।
यस्तै, महिला सदस्यमा निर्मला बोहरा र दलित सदस्यमा सुरेन्द्र पाल्पाली निर्वाचित भएका छन्। खुल्ला सदस्यतर्फ ईश्वरदत्त बडू, कुन्दन पाण्डे, भाष्कर केसी, धनञ्जय अवस्थी, धर्मराज कठायत, रञ्जित लामा, वासुदेव धामी र वासुदेव भट्ट निर्वाचित भएका छन् ।
यसअघि समावेशी सदस्यमा पहिलाद राना र मधेसीमा रामदास राना निर्विरोध निर्वाचित भएका थिए । ३४ जना प्रदेश पार्षद पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ भने २० खुल्ला र ६ महिला केन्द्रीय पार्षदका लागि उम्मेदवारी दिएका ४५ जनामध्ये विजयी हुनेमा अधिकांश प्रेस सेन्टर नेपाल र प्रेस युनियनका उम्मेदवार रहेका छन् ।
निर्वाचनमा कुल दुईसय ६० मतदातामध्ये दुईसय ३७ ले सहभागिता जनाएका थिए ।
सप्तरी गोलीकाण्डमा मृत्यु हुनेकाे संख्या तीन पुग्याे
काठमाडौ, फागुन २३ । सप्तरीमा मधेसीमोर्चा र प्रहरीको झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोर्चाका कार्यकर्ता २१ वर्षीय सन्जन मेहताकाे घटनास्थलमै मृत्यु भएकाे हाे भने अन्य दुइ जना अानन्द साह र पिताम्बर यादवकाे भने उपचारका क्रममा मृत्यु भएकाे बताइएकाे छ । झडपमा अन्य तीन दर्जन भन्दा बढी घाइते भएका छन् । एमालेको मेची–महाकाली अभियानअन्तर्गत सप्तरीको राजविराजमा भएको कार्यक्रमलाई विथोल्ने उद्देश्यले मोर्चाका कार्यकर्ताले पेट्रोलबम प्रहार गरेको र सभास्थलमा अभद्र व्यवहार गर्दै प्रदर्शन गरेपछि स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीको भनाइ छ । त्यसक्रममा प्रहरीले केही सेल हवाई फायरसमेत गरेको थियो भने लाठीचार्ज पनि गरेको थियो । एमालेको अभियानलाई असफल बनाउनका लागि प्रदर्शनमा उत्रिएका मोर्चाका कार्यकर्ता र प्रहरीबीच विहानैदेखि झडप भइरहेको थियो । स्थिति विहानैदेखि तनावग्रस्त थियो । कार्यक्रम सकिएपछि उनीहरुबीच पुनः झडप भयो । सोही क्रममा प्रहरीले गोली चलाउँदा एककाे घटनास्थलमै र अन्य दुइकाे उपचारका क्रममा मृत्यु भएकाे हाे ।
राजविराजमा दुईको मृत्युपछि फोरम नेपालले डाक्याे आपतकालिन वैठक
काठमाडौं, फागुन २३ । राजविराजमा प्रहरीले चलाएको गोलीबाट दुईजना मधेसीमोर्चाका कार्यकर्ताको मृत्यु भएपछि संयुक्त लोकतान्त्रिक मधेसीमोर्चाले आपतकालिन वैठक डाकेकाे छ । काठमाडौको तीनकुनेस्थित संघीय समाजवादी फोरमको कार्यालय बैठक बस्न लागेको हो । एमालेको मेची–महाकाली अभियान अन्तरर्गत सप्तरीमा भएको कार्यक्रम विथोल्न उत्रिएका मधेसीमोर्चा र प्रहरीबीच भएको दोहोरो झडपमा रञ्जन मेहता र मलेठ-४ का पिताम्बर यादवको मृत्यु भएको हाे
९९ किलो चरेससहित दुई भारतीय पक्राउ
चितवन, फागुन २३ । नारायणगढ–मुग्लिन सडकखन्डअन्तर्गत् चितवनको कविलासबाट प्रहरीले झण्डै एक क्वीन्टल चरेससहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । भारतीय नम्बरको टाटासुमो गाडीमा राखेर लगिँदै गरेको ९९ किलो चरेस चितवन प्रहरीले पक्राउ गरेको हो । जुगेडीमा गाडी चेकजाँचका क्रममा उक्त चरेस फेलापरेको चितवन जिल्ला प्रहरी कार्यालयका उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । पक्राउ पर्नेमा भारत, कठियामठियाका गाडीचालक सुधन साह र रक्सौल कोईरियाका आदित्य साह रहेका छन् । उनीहरुलाई सोमबारै पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुका साथै जिल्ला अदालतबाट अनुसन्धानका लागि ७ दिनको म्याद लिइएको छ । विशेष सुराकीको आधारमा उक्त चरेस नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
८६ वर्षीय मिनबहादुरले सगरमाथा चढ्ने
काठमाडौँ, फागुन २३ । विश्व कीर्तिमान कायम राख्न ८६ वर्षीय मीनबहादुर शेरचन सगरमाथा चढ्न लागेका छन् । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ले आज एक पत्रकार सम्मेलनको आयोजना गर्दै सो जानकारी गराएका हुन् । सम्मेलनमा अभियानका संयोजक जीतबहादुर घर्तीमगरले हिमाल चढेर विश्व कीर्तिमान कायम राख्न शेरचन सगरमाथा आरोहण गर्न लागेको बताएका छन् । सन् २०१५ मा सगरमाथा आरोहण गर्न लाग्दा भूकम्पका कारण असफल भएका थिए त्यसपछि हाल उनलाई सगरमाथा आरोहणका लागि पठाउन लागिएको संयोजक घर्तीमगरले जानकारी दिए । आरोही शेरचनले विश्व शान्ति र पृथ्वी आमाको रक्षाका लागि आफू विश्वकै सर्वोच्च शिखर सगरमाथा जान लागेको बताएका छन् । उनले भने, “म बुढो भए पनि मेरो आँट बुढो भएको छैन म सगरमाथा चढेरै छाड्छु ।” यसअघि शेरचनले ७६ वर्षको उमेरमा सन् २००८ मा सगरमाथा चढेका थिए । सगरमाथा आरोहण गर्नका लागि उनलाई म्याग्दी प्रवासी नेपाली सङ्घ बेलायत, गैरआवासीय नेपाली सङ्घ बेलायत, थकाली समाज बेलायत, मगर समाज बेलायतलगायत सङ्घ संस्थाको सहयोग रहेको छ ।
स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ, फागुन २३ । स्थानीय तहको संख्या बढाउने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता चिरञ्जीवी रिजालले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। स्थानीय तह पुनर्संरचना आयोगले निर्धारण गरेको ७ सय १९ संख्या नै कायम गर्न माग गर्दै रिजालले सोमबार सर्वौच्चमा रिट हालेका हुन्। संवैधानिक आयोगलाई दिइएको क्षेत्राधिकार मिचेर सरकारले निर्णय गरेको उनले रिटमा उल्लेख गरेका छन् । आइतबार राति ढिला बसेको मन्त्रिपरिषद् बैठकले बालानन्द पौडेल अध्यक्ष रहेको स्थानीय तह पुनर्संरचना सम्बन्धी आयोग स्थानीय तहको संख्या बढाएर ७ सय ४४ बनाउने निर्णय गरेको थियो ।
जनजाति महासंघको आन्दोलनमा गठबन्धनले सहयोग गर्ने
काठमाडौं, फागुन २३ । संघीय गठबन्धनले नेपाल आदिवासी जनजाति महासंघले ५ बुँदे माग राख्दै सुरु गरेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै महासंघको आन्दोलनलाई सक्रियताका साथ सहयोग गर्ने भएको छ । गठबन्धनका प्रवक्ता डा.ओम गुरुङले आइतबार चार बुँदे प्रेस विज्ञप्ती जारी गर्दै महासंघको आन्दोलनमा गठबन्धनको सहयोग हुने जनाएको हुन् । गठबन्धनले तराई मधेसमा जारी पहिचान र संघीयताविरोधी खबरदारी अभियान र भण्डाफोर आन्दोलनमा सहभागी हुन आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, थारु लगायत समुदायसँग अपिल समेत गरेको छ । गठबन्धनले काठमाडौंको शंखरापुर नगरपालिका कायम हुनुपर्ने पक्षमा महिनौंदेखि भइरहेको आन्दोलनमा पनि ऐक्यवद्धता जनाएको छ । गठबन्धनले छिटै अर्को बैठक बसी आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने उल्लेख गरेको छ ।
एक सय बढी टहरा भत्काइयो
गौशाला, फागुन २३ । महोत्तरीको जलेश्वर नगरपालिकाले आइतबार जिल्ला सदरमुकाम जलेश्वरभित्रका १०० बढी घरटहरा भत्काएको छ । नगरभित्रको बाटो फराकिलो बनाउन नगरपालिकाको जग्गा अतिक्रमण गरी बनाइएको १०० पसल हटाएको हो । यता नगरपालिकाका कार्यकारी अधिकृत भानुभक्त बरालले जिल्ला प्रशासन कार्यालयको निर्णयअनुसार नगरभित्रको अतिक्रमित जग्गा खाली गराएको बताए । यसरी नगरपालिकाले एकाएक व्यापारीको संरचना भत्काउन थालेपछि व्यापारीले नगरपालिकाको स्काभेटरलाई नगरपालिका कार्यालयकै अगाडि घेरेर सामान्य ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । व्यापारीले स्काभेटरमा तोडफोड गर्दा स्थिति तनावग्रस्त बनेपछि आईतबार साँझ सर्वदलीय समितिले नगरपालिका कार्यालय प्रमुख भानुभक्त बरालसँग वार्ता गरेका थिए । तर सो वार्ता निष्कर्षविहीन भयो । रासस
मदिरा सेवन गरेका बोहोराको लडेर मृत्यु
बागलुङ्ग फागुन २३ । बागलुङ्गको बुर्तिबाङ्गमा हिड्ने क्रममा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बुर्तिबाङ्गको वडा नं.६ पुर्कोटका ५० वर्षीय मनबहादुर बोहोराको बाटोबाट २३ मिटर तल खसेर कटुसको बोटमा अल्झिएको अबस्था सव भेटिएको प्रहरीले जनाएको छ । हिजो राति आफ्नो घरभन्दा झण्डै एक किलोमिटरमाथि पर्ने छिमेकी गोपाल कुँवरको घरमा श्रीमतीसँगै गएका बोहोरा राति अबेरसम्म खानपिन गरेर घर फर्किने क्रममा लडेका ईलाका प्रहरी कार्यालय बुर्तिबाङ्गका प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले जानकारी दिए । अबेरसम्म बसेर मदिरासमेत पिएका उनी राति २ बजे श्रीमतीसँगै फर्किने क्रममा श्रीमती अघिअघि र उनी पछिपछि भएको अवस्थामा छोडिएका र अँध्यारोमा गोरेटो बाटो छोडेर बुर्तिबाङ्ग पुर्कोट सडकतिर लागेर अचानक लडेको हुनसक्ने प्रहरीको अनुमान छ । राति घर नपुगेका बोहोरालाई खोजी गर्ने क्रममा दिउसो लडकेको अबस्थामा सव देखेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । उनको सव पोष्टमार्टमको लागि बुर्तिबाङ्ग प्रथमिक स्वास्थ्य केन्द्रिमा राखिएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
विद्युत् हुकिङ गर्दा करेन्ट लागेर मृत्यु
राजविराज, फागुन २३ । सप्तरीको खोजपुर गाविस–७ मा विद्युत् हुकिङ गर्ने क्रममा करेन्ट लागेर गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको बनरझुला गाविस–३ बस्ने ४५ वर्षीय मोहमद जियाउल मिया रहेको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । खोजपुर–७ मा रहेको उनको आफ्नै आँपको बगैँचामा ११ हजार भोल्ट भएको विद्युत्मा हुकिङ गरी बिजुली तान्ने क्रममा करेन्ट लागेको थियो । सो क्रममा गम्भीर घाइते भएका उनको राजविराजथस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस
गर्नुस् निर्वाचन एमाले तयार छ : नेता नेपाल
सुनसरी, फागुन २२ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले समयमा स्थानीय तहको निर्वाचन गराउन खुट्टा नकमाउन सरकारसँग आग्रह गरेका छन् । संविधान र निर्वाचनका लागि सो पार्टीको मेची महाकाली राष्ट्रिय अभियानअन्तर्गत इटहरीमा आयोजित जनसभामा नेता नेपालले लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकको आर्थिक विकासका लागि तीनै तहको निर्वाचन आवश्यक भएको भन्दै संविधानमा असन्तुष्ट दललाई पनि निर्वाचनमा माग लिएर जनतामा आफ्ना एजेन्डा राख्न आग्रह गरे । नेता नेपालले भने, “तराई मधेसका मुद्दा बोक्छु भन्ने दलले निर्वाचनमा भाग लिएर एमालेलाई पराजित गर्दा हुन्छ, हामी पराजित भएमा विजयीलाई माला र अबीर लगाउन तयार छौँ, हामीले जितेमा उनीहरुले माला लगाएर मैदान छाडिदिनुपर्छ ।” एमालेको सो अभियानले हिमाल, पहाड र तराईका जनतालाई भावनात्मक रुपमा जोड्ने र राष्ट्रिय एकतालाई बलियो बनाउने जनाउँदै उनले आफ्नो पार्टीको नेतृत्वका सरकारले तराईमा विकास र सामाजिक विभेद विरोधी कार्यक्रम अघि सारेका उदाहरण प्रस्तुत गरे । एमाले नेता सुवास नेम्बाङले संविधान संशोधनको माग गर्ने मधेसी मोर्चाका सांसद सात जना मात्र भएको दाबी गर्दै मधेसमा जनमत लिएका काँग्रेस, एमाले र माओवादी केन्द्रका ९० प्रतिशतभन्दा बढी सभासद्ले हस्ताक्षर गरेको संविधानमा राष्ट्रियतालाई आँच पुग्ने गरी गर्न खोजिएको संशोधन प्रस्तान अस्वीकार्य भएको बताए । सभामा पार्टीका अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल, महासचिव ईश्वर पोखरेल, सचिवहरु प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य नेम्बाङ, सत्यनारायण मण्डलगायतका नेता अभियानमा सहभागी थिए । झापाको काँकडभिट्टाबाट शनिबार सुरु भएको अभियानका नेता कार्यकर्ता ¥यालीसहित विराटचोकमा जनसभा गरी सुनसरीको इटहरी आएका थिए । सोमबार सुनसरीकै इनरुवा र सप्तरीको राजविराज र कञ्चनपुरमा कार्यक्रम हुनेछ । संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि, स्वाभिमान, राष्ट्रिय एकताका र सामाजिक सद्भावका लागि गरिएको एमालेको मेची महाकाली राष्ट्रिय अभियान १५ दिन चल्नेछ ।
बसन्तपुरमा होलीको चीर डठ्याइयो, होली पर्व सुरु
काठमाडौं, फागुन २२ । काठमाडौंको बसन्तपुर डबलीमा आज होलीको चीर ठड्याएसँगै उपत्यकामा होली पर्व सुरु भएको छ । आज विहान आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा उक्त चीर ठड्याएसँगै सांस्कृतिक एवं परम्परागत पर्व होली विधिवतरुपमा होली सुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरु यही फागुन २९ गते तथा तराईका जिल्लाहरुमा फागुन ३० गते होली पर्व मनाईंदै छ । आज ठड्याइएको चिर एक हप्तापछि ढलाएर टुंडिखेलमा पुर्याई सेलाउने गरिन्छ ।
मधेस जान समस्या भएको भन्दै ओलीले गरे गृहमन्त्रीलाई फोन
काठमाडौं, फागुन २२ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई जान समस्या भएको भन्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग सुरक्षा माग गरेका छन् । तराईँमा असुरक्षा बढ्दै गएपछि अध्यक्ष ओलीले गृहमन्त्री निधिसँग विहान फोन वार्ता गरेका हुन् । ओलीले सुरक्षा ग्यारेन्टी गर्न र मधेसमा सुरक्षा दिन आग्रह गरेका हुन् । तराईमा मेची–महाकाली अभियानको सुरुवात गरेको एमालेले अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा फागुन २३ गते राजविराजमा कार्यक्रम गर्न लागेको छ तर, सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला प्रवेश गर्नै नदिने अडान सहित आन्दोलन घोषणा गरेपछि अध्यक्ष ओलीले तराईँ जान समस्या भएको भन्दै गृहमन्त्रीसँग सुरक्षा व्यबस्थाबारे चासो लिएका हुन् । सप्तरीमा एमालेका अध्यक्षलाई जिल्ला प्रवेश गर्न नदिने भन्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । मोर्चाले कञ्चनपुरमा समेत लाठी जुलुस प्रदर्शन गरिने जनाएको छ । राजविराज लगायतका विभिन्न सहरमा विरोध प्रर्दशनका लागि मोर्चाले गाउँ-गाउँबाट कार्यकर्ताहरु ओसारिरहेको छ । एमालेको जनसभा हुने अघिल्लो दिन राजविराजमा मोर्चाका कार्यकर्ताले प्रदर्शन जारी राखेका छन् । मधेसी मोर्चाले दिएको जानकारीअनुसार सोमबार एमालेले सप्तरीमा गर्न लागेको सभालाई ध्यान दिँदै जिल्लाका विभिन्न स्थानमा लाठी जुलुसको आयोजना गरिएको छ । सुनसरीबाट सप्तरी जिल्लामा प्रवेश गर्ने सीमास्थलमा रहेको भारदहमा सोमबार बिहानै लाठी जुलुस प्रदर्शन गरिने मोर्चाले जनाएको छ । त्यस्तै रुपनीमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ । त्यसैगरी पूर्व–पश्चिम राजमार्गबाट राजविराजतर्फ मोडिने हनुमाननगरमा पनि लाठी जुलुस निकाल्ने मोर्चाको तयारी छ । एमालेले दिउँसो राजविरोधमा आयोजना गरेको जनसभालाई लक्षित गर्दै राजविराजमा समेत लाठी जुलुस निकालिने मोर्चाले जनाएको छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई रोक्नका लागि मधेसी मोर्चाले सोमबार बिहानैदेखि जिल्लाभर लाठी जुलुस प्रदर्शन गर्ने घोषणा गरेको हो । सम्भावित मुठभेडलाई मध्यनजर गर्दै एमालेले राजविराजको कार्यक्रमस्थल हेरफेर गरेको छ । एमाले मधेस र मधेसीविरोधी पार्टी भएकाले जनताले प्रतिकार गर्ने मोर्चाका नेताहरुको अभिव्यक्ति पछि प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष अोलीले सुरक्षा थ्रेट रहेको बताएका छन् । संविधान संशोधनको विरुद्धमा रहेको एमाले र अध्यक्ष अोलीलाई मोर्चाले राजविराजमा वा सप्तरीमा कुनै कार्यक्रम गर्न नदिने चेतावनी दिएका थिए । मधेसविरोधी ओलीलाई सप्तरीमा कार्यक्रम गर्न दिँदैनौं, निषेध, प्रतिकार जे जे गर्नुपर्छ गर्छौं भन्ने भनाइ सार्वजनिक भएपछि अोलीले गृहमन्त्रीसँग सुरक्षा माग गरेका हुन् । नेकपा एमालेले राजविराजको राज रंगशालामा सोमबार गर्ने भनेको जनसभा सारिएको छ । एमाले नेता गोविन्द न्यौपानेका अनुसार रंगशालाको कार्यक्रम सारेर औद्योगिक क्षेत्रभित्र गर्ने निर्णय भएको छ । मधेसी मोर्चाले राजविराजमा एमालेको मेचीमहाकाली अभियानअन्तर्गत घरदैलौ अभियानलाई विथोल्न लाठी जुलुस निकालेको थियो । आज अाइतबार पनि मोर्चाले लठ्ठी जुलुश प्रदर्शन गरेको छ । शनिबार मात्रै अभियानलाई सफल बनाउन हिडेका एमालेका नेतालई मोर्चाका कार्यकर्ताले कालोमोसो दलेका थिए ।
महिलाको आयमूलक व्यावसायिकतामा जोड दिइने
काठमाडौँ, फागुन २२ । सरकारले प्रत्येक वर्षजस्तै यसवर्ष पनि प्रभावकारी तरिकाले एक सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवस (यस वर्ष फागुन २५) मनाउने तयारी गरेको छ । सो दिवसका अवसरमा मार्च ७ (फागुन २४) मा कपिलवस्तुबाट राष्ट्रपति महिला उत्थान कार्यक्रम शुभारम्भ गरिने छ । करिब रु २५ करोडको कार्यक्रमले महिलालाई आयमूलक सीप दिने जनाइएको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री कुमार खड्काले महिलाको आर्थिक सबलीकरण गर्नका लागि आयमूलक सीप जरुरी भएको बताए । मन्त्री खड्काले महिलाको आयमूलक व्यावसायिकतामा जोड दिने यस वर्षको लक्ष्य रहेको जानकारी दिए । यस वर्षको नारी दिवसको राष्ट्रिय नारा ‘महिला सम्मानको आधारः सीपयुक्त हात र स्वरोजगार’ भन्ने रहने छ । दिवस सफल पार्न मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालको अध्यक्षतामा मूल व्यवस्थापन समिति गठन भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहान भृकुटीमण्डपबाट पदयात्रा सुरु गरी सहिद ढोका हुँदै शान्तिबाटिका पुगेर समापन गरिनेछ ।
देशभित्रका खनिज उत्खनन गर्नुपर्ने
मोरङ, फागुन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजलाई एकताबद्ध हुन नदिने प्रयास भइरहेको बताएको छ । उर्लाबारी परोपकार सेवा केन्द्रको आज बिहान उद्घाटन गर्दै अध्यक्ष ओलीले केही तत्वले अहिले नेपाली समाजलाई एकता र विकासको गतिमा अघि बढ्न नदिने प्रयास गरेको बताए । पूर्वप्रधानमन्त्री ओलीले देशभित्रको खनिज पदार्थ छिमेकी रिसाउने डरले यसको उत्खनन हुन नसकेको बताउँदै अब यसको उत्खनन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । समाजसेवा देशका लागि गर्नुपर्नेमा जोड दिँदै नेता ओलीले विद्यालय, अस्पताल, वृद्धाश्रम निर्माणमा अब स्थानीयवासी नै अग्रसर हुनुपर्ने बताए । कार्यक्रममा सेवा केन्द्रको निर्माणमा योगदान पु¥याउने स्थानीय समाजसेवी र ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।
उपचारका क्रममा सुत्केरीको मृत्यु
पर्सा, फागुन २२ । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा आज बिहान एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । नगरदाहा गाविस–४ निवासी जवाहिर साह तुरहाकी २० वर्षीया श्रीमती चन्द्रज्योतिको उपचारका क्रममा मृत्यु भएको हो । उपक्षेत्रीय अस्पतालको प्रसूति केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको लापर्बाहीका कारण श्रीमतीको मृत्यु भएको श्रीमान् जवाहिरले आरोप लगाए । उहाँले राति करिब १ बजे श्रीमती चन्द्रज्योतिले पहिलो सन्तानका रुपमा घरमै छोरीलाई जन्म दिएको र सालनाल मात्र ननिस्किएका कारण नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा सञ्चालित एम्बुलेन्स मार्फत बिहान २ बजे उपक्षेत्रीय अस्पताल भर्ना गराइएपछि अस्पतालमा चिकित्सकको अनुपस्थितिले उपचार अभावमा उनकोे मृत्यु भएको जिकिर उनले गरे । “अस्पताल भर्ना गएको दुई घन्टासम्म चन्द्रज्योति पीडाले छट्पटिए पनि तत्काल कार्यरत स्वास्थ्यकर्मीले चिकित्सकलाई खबर नै नगरेका कारण उनको उपचार अभावमा मृत्यु भएको हो ” मृतकका आफन्तको भनाइ छ। उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरन्जन साहले चन्द्रज्योतिको अत्यधिक रक्तस्राबका कारण मृत्यु भएको जानकारी दिए । उनले घरमा प्रसवका बेला सुत्केरीको शरीरबाट अत्यधिक मात्रामा रगत बगेको र अस्पतालमा भर्ना हुँदाँ स्वास्थ्य अवस्था गम्भीर भएपछि काममा खटिएका चिकित्सकले उपचारमा अपनाउनुपर्ने सबै उपाय अपनाए पनि उनको बिहान ४ बजे मृत्यु भएको जिकिर गरे । शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । शव परिवारको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

