रेड पान्डाको छालासहित तीन पक्राउ
दाङ, चैत ३ । दुर्लभ वन्यजन्तु रेड पान्डाको छालासहित प्रहरीले दाङमा तीनजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उप–महानगरपालिका–३ निवासी २८ वर्षीय भरत चौधरी, तुलसीपुर उप–महानगरपालिका–१७ निवासी ३० वर्षीय प्रताप बुढाथोकी र रुकुम जिल्लाको काँकी–४ निवासी ६४ वर्षीय पुनराज पुनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक भूवनेश्वर तिवारीले जानकारी दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ र क्षेत्रीय अनुसन्धान टोली सुर्खेतबाट खटिएको विशेष प्रहरी टोलिले बुधबार राति उनीहरुलाई घोराही उप–महानगरपालिका–४ कटुवा खोला नजिकबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
वन्यजन्तुको चोरी–सिकारी छाला बिक्री–वितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
एसएसबीको गोली लागि मृत्यु भएको गौतमको पोष्टमार्टम रिपोर्ट सार्वजनिक, भारतले समेत मागेको थियो रिपोर्ट
भीमदत्तनगर, चैत २ । पाँच दिनअघि कञ्चनपुरको पुनर्वास नगरपालिका–८ आनन्द बजारका गोविन्द गौतमको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागेर अत्यधिक रक्तस्रावपछि निधन भएको शव परीक्षण रिपोर्टले देखाएको छ । कैलालीको धनगढीसित सेती अञ्चल अस्पतालमा गरिएको सहिद गौतमको शव परीक्षणमा शरीरको बायाँ भागमा गोलीले लागेर अत्यधिक रक्तस्राव भएकै कारण उहाँको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर स्रोतले जनाएको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरीनायब महानिरीक्षक रोमेन्द्र सिंह देउजाले मृतक गौतमको शरीरमै गोली भेटिएको बताउनुभयो । “शरीरमा भेटिएको गोली शव परीक्षणका क्रममा झिकेर प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ”, प्रहरीनायब महानिरीक्षक देउजाले भन्नुभयो–“विधिविज्ञान प्रयोगशालाबाट गोली कुन हतियारको हो भन्ने पत्ता लाग्छ ।” प्रहरी केन्द्रीय कार्यालयअन्तर्गत रहेको विधिविज्ञान प्रयोगशालाका एक प्रहरी अधिकारीले गौतम हत्याको गोली प्रयोगबारे रिपोर्ट बनाएर सुदूरपश्चिम पठाइसकेको जानकारी दिनुभयो । उहाँले प्रयोगशालाबाट रिपोर्ट सार्वजनिक गर्न नमिल्ने बताउनुभयो । शवपरीक्षण रिपोर्ट जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । त्यसैगरी, घटनाकै दिन गत बिहीबार नेपाल तथा भारतीय पक्षबीच आनन्द बजारको सीमाक्षेत्रमा भएको झडपका क्रममा नेपाल प्रहरीका अधिकारीको हराएको एक थान पेस्तोल र सात राउन्ड गोली अझै भेटिएको छैन । सीमाक्षेत्रमा भारतीय पक्षले लखेट्ने क्रममा प्रहरी सहायक निरीक्षकको साथमा रहेको लोडेड चाइनिज पेस्तोल भाग्ने क्रममा हराएको प्रहरी स्रोतले जनाएको छ । तर प्रहरीले हराएको पेस्तोलबारे बाहिर खुलाएको छैन । पेस्तोल खोज्न प्रहरी छानबिन टोली लै गठन गरी परिचालन गरिएको छ । घटनापछि कञ्चनपुरको गड्डाचौकी, बेलौरी, आनन्दबजार क्षेत्रका नेपाल–भारत आवत–जावत गर्न नाका सहज बन्न सकेका छैनन् । गौतमको हत्यासँगै दुई दिनसम्म यहाँको स्थिति तनावग्रस्त बन्नुका साथै नेपाली पक्षले भारतीय नम्बर प्लेटका सवारीसाधनमाथि आगजनी गर्न थालेपछि सीमानाकामा समेत आवागमनमा असहजता थपिएको थियो । स्थिति सामान्य बन्दै गइरहेको भएपनि भारतीय सुरक्षाकर्मीले सीमावर्ती भारतीय बनबासा बजारतर्फ नेपाली सवारीसाधन लैजान रोक लगाएका छन् भने भारतीय सवारीसाधन पनि भीमदत्तनगरतर्फ आउन सकेका छैनन् । गड्डाचौकी नाकामा भारतीय एसएसबीले सरसामान किनमेलका लागि नेपालीलाई साइकल र पैदलमा जान दिएको छ । सवारीसाधनमा रोक लगाएपछि दुवै देशका नागरिकलाई आवागमनमा असहज भएको छ । रासस
व्यक्तिगत कारणले बालुवाटार छोड्न पर्यो– तिमिल्सिना
काठमाडाैँ, चैत २ । प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयबाट राजीनामा दिएका मनहरी तिमिल्सिनाले व्यवहारिक जटिलताले बालुवाटार छोड्नुपरेको बताएका छन् । बालुवाटार छोडेको विषयमा बिभिन्न कोणबाट टिका टिप्पणी भएको भन्दै स्वकीय उपसचिव रहेका तिमिल्सिनाले यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित भएको बताएका छन् । बालुवाटार छोड्नुमा कसैका दोष छैन शीर्षकमा विज्ञप्ती जारी गर्दै तिमिल्सिनाले लेखेका छन्– फागुन २७ गते व्यवहारिक जटिलताको कारण दर्साउँदै मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । मैले राजीनामा पत्रमा लेखेको थिएँ, ‘प्रस्तुत सम्बन्धमा व्यवहारिक जटिलताका कारण मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयमा रहेर काम गर्न नसकेको कारण स्वकीय उपसचिव पदबाट राजीनामा दिएको छु । यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित दुवै छु । आशा छ, यहाँहरुले मेरो बाध्यता बुझिदिनु हुनेछ ।’ केही दिनयता अखबारबाहेक सामाजिक सञ्जाल र अनलाइन मीडिया हेरेको छैन । तर, साथीहरुबाट सुन्दैछु, ‘पारिवारिक कारणले मनहरिले स्वकीय सचिवालय छोड्यो, चुनावको उम्मेदवार हुने तयारीका लागि बालुवाटार छोड्यो, प्रकाश दाहाल लगायतको दवावका कारण सचिवालय छोड्यो, आदि इत्यादी । तर, मेरो राजीनामासँग माथि उल्लेखित कुनै पनि अनुमानहरुको सम्बन्ध छैन र उम्मेदवार हुने विषयमा पनि अन्तिम निर्णयमा पुगिसकेको छैन । अरु कुनै पनि कारण छैन भने किन छोडिस् त ? प्रश्न जरुर उठ्छ । बिना जानकारी सचिवालय छोड्नैपर्ने के बाध्यता आइलाग्यो ? के तँलाई व्यक्तिगत निर्णयका आधारमा जिम्मेवारी छोड्ने छुट छ ? यस्ता अनेकौं प्रश्नहरुको कठघरामा पक्कै पनि म छु र मैले त्यसको चित्तबुझदो जवाफ दिनैपर्छ । म पूर्ण विश्वस्त छु, ‘सम्पूर्ण व्यवहारद्वारा नै मैले आफूलाई सही सावित गर्न सक्नुपर्छ र सक्नेछु । अनि, राजनीति र सामाजिक कर्महरुद्वारा जीवनलाई थप गतिशील बनाउनेछु।’ व्यक्तिगत जीवनमा केही व्यवहारिक जटिलताहरु थिए । जटिलताहरुको सहज निरुपणका लागि मलाई केही समयको जरुरत पर्दथ्यो । व्यस्त राजनीतिक कार्यसूचिमा मैले लामो बिदा लिनु पक्कै पनि राम्रो हुने थिएन । मैले सोचें, ‘जिम्मेवारीमा रहेर आफ्नो कर्तव्य पुरा नगर्नुभन्दा जिम्मेवारी छोड्नु नै उचित हुन्छ ।’ मैले सल्लाहमै जिम्मेवारी छोड्न चाहन्थें । तर, मलाई सजिलै उम्कन दिने कामरेडहरुको मनसाय र चाहना छँदै थिएन । परिस्थितिले पनि मेरो आवश्यकताकै माग गर्दथ्यो । त्यसैले मैले जिम्मेवार साथीहरुलाई पनि जानकारी नदिई आफ्नो निर्णय लिएको थिएँ । विश्वासपूर्ण जिम्मेवारी छोड्नु मेरै लागि पनि सुखद् कुरा थिएन । मेरो व्यक्तिगत चाहना पनि पक्कै त्यस्तो थिएन । यद्यपि, परिस्थितिको दवाव झेल्न म चुकें । त्यतिबेलै मैले अनुभूत गरेको थिएँ, मैले भूल नै गर्दैछु । तर, भूलले नै आगामी गन्तव्य र प्रतिकूलतालाई छिचोल्न सक्छ भने एकपटक जाने बुझेरै भूल गर्छु । अनि, म राजनीतिक जीवनमै क्रियाशील हुने संकल्पसहित राजीनामा दिने निर्णयमा पुगें । म जति समय बालुवाटार बसें । व्यक्तिगत जीवनमा कसैसँग नराम्रो भएन । मैले पनि आफ्नो औकातले भ्याएसम्मको जिम्मेवारीमा रहेर काम गरें । सचिवालय परिवारमा सबै साथी र कामरेडहरुको मप्रति असीम माया नै थियो । मेरा साना, ठूला समस्या र जटिलताहरुमा मैले उहाँहरुको साथ पाइरहें । उहाँहरुको छत्रछायाँ र विश्वासकै कारण मैले आफ्नो जिम्मेवारीलाई सहजतापूर्वक पुरा गर्न सकेको थिएँ । जोखबहादुर महरा, प्रकाश दाहाल र रमेश मल्लहरु प्रमूख स्वकीय सचिव र स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँहरु सबैको मप्रति सधैं ममता, विश्वास र मित्रवत् सम्बन्ध रह्यो । मेरो आठ महिनाको सहकार्यले भन्छ, ‘जोखबहादुर महरा एक आदर्श नेताको नाम हो ।’ उहाँको हमेशा चिन्ता प्रधानमन्त्री प्रचण्डको कार्यकाल कसरी सफल पार्ने ? जिम्मेवारीमा रहेको बेला नमूनायोग्य काम कसरी गर्ने ? धेरै राम्रो गर्ने परिस्थिति नभएपनि नराम्रोबाट कसरी जोगिने ? महरा सरको हमेशा चिन्ता हुन्थ्यो । अनि, उहाँका प्रत्येक व्यवहारले भन्थे, ‘महरा निश्चित समर्पण र संकल्पका लागि बालुवाटार छ र रहनेछ ।’ प्रकाश दाहालसँग मेरो सम्बन्ध निकै आत्मीय थियो । मलाई हेक्का छ, ‘उहाँ मनहरिले बालुवाटार छोड्ने निर्णयमा पुगोस् भन्ने कदापी चाहनु हुन्थेन ।’ मप्रति कुनै आशंका वा अविश्वास रहन्थ्यो भने व्यक्तिगत जीवनका असाध्यै सामान्य कुरा पनि आदान प्रदान पक्कै गर्नु हुन्थेन । म उहाँको लागि साँच्चिकै भाइ थिएँ । मप्रतिको व्यवहार सधैं आत्मीय नै थियो । व्यक्तिगत जीवनका साना ठूला समस्यामा पनि उहाँको बलियो साथ थियो । उहाँ मेरो जीवनको एक उत्प्रेरक हुनुहुन्थ्यो । समयको क्रममा विगतमा प्रकाश दाहालका केही प्राविधिक त्रुटीहरु भए । ती नियतजन्य मनस्थितिका उपज थिए वा परिस्थितिजन्य जटिलता ? अनि, उहाँको जीवनमाथि राजनीति गर्ने नियत नराखेको भए समस्याहरु सहजै सल्टन सम्भव थिएन ? मेरो विचारमा पक्कै सल्टन्थे । आज पनि ठान्छु, ‘प्रकाश दाहालको प्राविधिक त्रुटीलाई हतियार बनाइयो र उनीमाथि प्रहार गरियो, जुन आजसम्म पनि रोकिएको छैन ।’ मैले चिन्दा प्रकाश दाहाल एक सफल स्वकीय सचिवको नाम हो । समयको व्यवस्थापन, मानिसहरुको मनोविज्ञान अनुसार बहस अन्तरक्रिया, समयको मूल्याङ्कनका सन्दर्भमा प्रकाश दाहालको क्षमता अब्बल नै छ । व्यक्तिका केही व्यक्तिगत विशेषताहरु हुन्छन्, ती विशेषता प्रकाश दाहालमा पनि छन् । तर, असल साथीका लागि ज्यान दिने उहाँको स्वाभाव हामीजस्ता पछिल्ला पिँडीका लागि निकै प्रेरणादायक छ र हुनेछ । कतिपयले ठान्छन्, ‘प्रचण्डले आफ्नै छोरालाई स्वकीय सचिव बनाए ।’ तर, मेरो आठ महिनाको अनुभवले भन्छ, ‘प्रकाश दाहाल सचिवालयमा नभएको भए प्रचण्डको दैनिकी नै अस्तव्यस्त हुन्थ्यो ।’ आफू नराम्रो भएरै भएपनि प्रधानमन्त्रीको छवि बचाउन हरदम प्रयत्न गर्ने प्रकाशको म सम्मान गर्छु र गरिरहनेछु । यो अवधिमा प्रकाश दाहाल मात्र नभएर बिना मगरसँग पनि सङ्गत गर्ने अवसर मिल्यो । प्रकाश र बिना मगरबारे जति चर्चा र प्रचार गर्ने गरिएको छ, वास्तविकता त्यसभन्दा बिलकूल फरक पाएँ । जिल्लामा हुने साना ठूला घटनामा पनि बिना मगरको चासो रहँन्थ्यो । विकास र समाज सेवाको हुटहुटी देख्दा लाग्थ्यो, बिना मगरजस्ता नेतृहरु हुने हो भने सामाजिक विकास र राजनीतिक जागरणले उचाई लिन्थ्यो । तर, उहाँहरु थोरै पनि उठ्न खोज्दा विरोधीहरु अनेकौं बहानामा निरन्तर आक्रमण गरिरहेका छन् । सायद सोच्दा हुन्, ‘यिनीहरुलाई आक्रमण गरेर सिध्याउन सकिन्छ ।’ तर, उहाँहरुको मनोबल सामान्य चूनौतिसामू झुक्ने खालको मैले देखिनँ । सल्लाहकार टिममा मूख्यतः गोविन्द आचार्य दाजुसँग सङ्गत गर्ने अवसर मिल्यो । गोविन्द आचार्य निकै मिलनसार स्वाभावको हुनुहुन्थ्यो, हरेक विषयमा अरुका कुरा सुन्ने उहाँको स्वाभावले मलाई निकै नै आकर्षित गथ्र्यो । बरु, म बेलाबखत रिसाउने गर्थें । तर, प्रकाश दाहाल, गोविन्द आचार्यहरु हाँसेर टार्नुहुन्थ्यो । उहाँहरुको प्रेरणा नै मेरो कार्यकालका लागि निकै राम्रो उर्जा र प्रेरणा बनिरह्यो । आठ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डको अनुहारमा कहिल्यै उन्माद देखिनँ । उहाँमा एक खालको गहिरो जिम्मेवारी बोध थियो । दुई अतिवादी प्रवृत्तिलाई सँगै लिएर संविधान कार्यान्वयनमा लाग्नु बाघ चराउनु बराबर थियो । तर, प्रचण्ड गल्नुभएन र थाक्नुभएन । उहाँको दैनिक व्यस्तता र कार्यसूचि देख्दा बरु हामी गल्थ्यौं । तर, उहाँले कुनै दिन सुस्केरा हालेको अनुभूति गरिनँ । यसपटकको कार्यकाल जसरी पनि फलदायी बनाउनुपर्छ भन्ने गहिरो जिम्मेवारी बोधसहित उहाँ खटिरहनु भएको छ । अनि, परिणाममा पनि सकारात्मक सङ्केतहरु देखा पर्दैछन् । माओवादी केन्द्र अहिले पहिलो पार्टीको रुपमा छैन । तर, देशलाई गति दिनसक्ने, जुनसुकै पात्र र प्रवृत्तिलाई मिलाएर राष्ट्रिय निकास दिनसक्ने नेता प्रचण्ड नै हो । राजनीतिक आस्था र संगठनमा बिमति होलान् । तर, विरोधीहरु पनि प्रचण्ड जत्तिको अर्को नेता नेपालमा छ भन्न सक्दैनन् । यहीँ संकल्प र गुणले म प्रधानमन्त्री प्रचण्डसँग प्रभावित छु । मेरो सहकार्यले भन्छ, ‘प्रचण्डको चेहरामा राजनीतिक निकास र आर्थिक विकासको संकल्प छ । अनि, आगामी पुस्ताले पुस्तौसम्म स्मरण गर्न योग्य काम गर्ने आकांक्षा छ ।’ मेरो राजीनामाको एक मात्र कारण म नै हुँ, अरु कुनै व्यक्ति वा संस्थामाथि आशङ्का र आरोपित गर्नु पूर्णतः निराधार छ । प्रष्ट रुपमा भन्न चाहन्छु, ‘मैले लिएको कदम मेरो रुचिको विषय पक्कै थिएन । त्यसमाथि स्वकीय सचिवालयबाट अलग रहँदैमा राजनीतिक जीवनबाट बिश्राम लिने वा सुस्ताउने पनि छैन । तर, व्यक्तिगत जीवनका जटिलताहरु निरुपण गर्न यसले सहजता पैदा गर्ने मेरो विश्वास हो, यसमा प्रगति हुने नै छ । म जहाँ रहेपनि माओवादी आन्दोलनमा छु । आफ्नो ठाउँबाट माओवादी आन्दोलन, यसको नेतृत्वको रक्षा गरी रहनेछु । माओवादी आन्दोलन र नेतृत्वको पक्षमा बोल्नेछु, लेख्नेछु र लड्नेछु । सचिवालयमा नभए पनि माओवादी आन्दोलनको निश्चित जिम्मेवारीमा छु र हुनेछु । आगामी जिम्मेवारी कसरी लिने ? आन्दोलनले ममाथि गरेको लगानीको कसरी सम्मान गर्ने ? त्यसमा गम्भीर छु र हुनेछु । अन्त्यमा, मेरो निर्णयको दोष कसैमाथि थोपर्ने, गलत प्रचारवाजी गर्ने कुरा भ्रामक हुन् । मेरो निर्णयको जिम्मेवारी मैले नै लिनुपर्छ र लिनेछु । अनि, माओवादी आन्दोलनलाई नयाँ उचाईमा उठाउन आफ्नो ठाउँबाट संकल्प गर्ने नै छु । २०७३।१२।०२
जेठ १६ गते नै बजेट खर्च गर्ने अख्तियारी
काठमाडौँ, चैत २ । राष्ट्रिय योजना आयोगले नयाँ आर्थिक वर्षको नीति तथा योजना एवं बजेट कार्यान्वयन गर्न जेठ १६ गते नै खर्च गर्न अख्तियारी दिने भएको छ। संविधानमा जेठ १५ गते संसदमा बजेट प्रस्तुत गर्नुपर्ने बाध्यकारी प्रावधान रहेको छ । पुँजीगत खर्चमा सुधार ल्याउन आयोगले सो प्रावधान पहिलो पटक कार्यान्वयनमा ल्याउन लागेको हो । व्यवस्थापिका–संसद्, विकास समितिको आजको बैठकमा आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले सो जानकारी दिँदै मन्त्रालयका पुँजीगत खर्च ९५ प्रतिशतसम्म माथि पु¥याउन जेठ १६ मा नै बजेट खर्च गर्न अख्तियारी दिने प्रावधान ल्याउने बताए । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि चुनिई स्थानीय तह सञ्चालन हुने हुँदा आयोगले अति महत्वाकाङ्क्षी रुपमा सो पुँजीगत खर्च हुने प्रक्षेपण गरेको हो । उनले भने, “मन्त्रालयका पुँजीगत खर्च गर्ने क्षमता बिस्तारै सुधारोन्मुख छ, अहिले नै आत्तिनुपर्ने छैन, विगत वर्षको भन्दा धेरै राम्रो छ ।” भूकम्प एवम् नाकाबन्दीका कारण गत वर्ष सरकारको पुँजीगत खर्च अत्यन्तै खराब देखिएको थियो । उपाध्यक्ष डा.श्रेष्ठले राष्ट्रिय गौरव र जलाशययुक्त जलविद्युत् आयोजनामा खर्च वृद्धि गराउन आयोगले समन्वयात्मकरुपमा काम गरिरहेको जानकारी दिए । सो अवसरमा समितिका सभापति रवीन्द्र अधिकारीले योजना आयोगले खुद्रा–मसिना योजनामा भन्दा दूरगामी प्रभाव पार्ने योजना तयार तथा कार्यान्वयनमा ध्यान दिन आग्रह गरे । उनले भएका योजनाको कार्यान्वयन पक्ष अत्यन्त फितलो रहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै निरन्तर अनुगमनको खाँचोसमेत औँल्याए । सांसद गणेश पहाडीले पहुँचको भरमा योजना छनौट नगर्न र जनताका आवश्यकताबाट छनौट भई आएका योजनालाई योजना बैंक स्थापना गरी क्रमशः कार्यान्वयन गर्न सुझाव दिए । सांसद रामकुमार भट्टराईले प्रधानमन्त्री, मन्त्री र पहुँचवालाको भरमा योजना आयोगले योजना छनौट गर्दा कार्यान्वयन पक्ष फितलो बनेको हो भने । सांसद रामचन्द्र पोखरेलले सङ्घीयतामा योजना आयोगको भूमिका कस्तो रहने हो भन्ने प्रश्न गर्दै स्थानीय तह, प्रदेश र केन्द्रीय तहमा आयोगको संरचना तयार गर्न सुझाव दिए । सांसद सीता गिरी ओलीले सम्पन्न गर्न रु पाँच करोड लाग्ने योजनालाई बर्सेनि पाँच लाख विनियोजन गर्ने आयोगको परम्परा विकासमा बाधक बनेको बताए । सांसद प्रकाश शर्मा पौडेल र चीनकाजी श्रेष्ठले ठूला योजनामा बजेट खर्च हुन नसकेका कारण साना योजना अधुरो बनेको हो भने । सांसद शान्ता मानवीले योजनाका लागि योजना र अनुगमनका लागि अनुगमन बन्ने परम्परालाई अन्त्य गर्न जोड दिए भने सांसद रञ्जना सरकारले प्रदेशमा बजेट तयार गर्दा विस्तृत अध्ययन गर्न सुझाव दिए ।
कर्मचारी युनियनको अध्यक्षमा धौभडेल
भक्तपुर, चैत २ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) जिल्ला कार्यसमिति भक्तपुरको मंगलबार भएको सातौं जिल्ला अधिवेशनबाट विजयप्रसाद धौभडेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । समितिको उपाध्यक्षमा टेकेन्द्रप्रसाद ढकाल, महिला उपाध्यक्षमा मुना कोइराला, समावेशी उपाध्यक्षमा राधेश्याम कर्माचार्य, सचिवमा सूर्य पौडेल, सहसचिवमा जगदीश थापा, कोषाध्यक्षमा नेत्रबहादुर कटुवाल र सदस्यमा विष्णुप्रसाद हुमागाईं, धनञ्जय अर्याल, अशोककुमार पन्त, नातिभाइ नायजु, केदार गिरी, बटु खड्का, कविता भण्डारी र सम्झना न्यौपानेलाई चयन गरेको छ । यसैगरी समितिको केन्द्रीय सभासदमा पार्वती आले, युगलकिशोर न्यौपाने, यादवप्रसाद मिश्र र श्रीराम लम्साल चयन भएका छन् भने कार्यसमितिका थप दुईजना सदस्य पछि मनोनयन गर्ने नवनिर्वाचित अध्यक्ष धौभडेलले बताए । यसअघि जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता कमला पन्तले स्थानीय निर्वाचन तोकिएकै मितिमा हुने भएकाले निर्वाचनलाई सफल पार्न सबै लाग्नुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, नेता गणेशमान चक्रधर, युनियनका महासचिब जितबहादुर भडेल, केन्द्रीय सदस्य शान्ता अर्याल, युनियन (सङ्घ) का निवर्तमान जिल्ला अध्यक्ष श्रीराम लम्साल लगायतले निर्वाचनलाई सफल पार्न नेपाली काँग्रेस अग्रसर रहेको बताएको थियो ।
स्थानीय तह निर्वाचनका लागि करिब २१ हजार मतदान केन्द्र
काठमाडौँ, चैत २ । निर्वाचन आयोगले आगामी वैशाख ३१ गते हुनगइरहेको स्थानीय तहको निर्वाचन गराउन करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले निर्वाचन गराउनका लागि अहिले मतदान केन्द्र छनोट कार्य भइरहेकाले करिब २१ हजार मतदान केन्द्र राख्ने तयारी भएको बताए । उनले प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, जिल्लास्थित सुरक्षाप्रमुख, जिल्ला निर्वाचन कार्यालय, सम्बन्धित नगरपालिका तथा गाउँपालिकाका प्रमुख र राजनीतिक दलका प्रतिनिधिलाई मतदान निर्धारण गर्न दिएको बताए । ‘अहिले जिल्लामा मतदान केन्द्र निर्धारण गर्ने कार्य भइरहेको छ’ उनले भने– ‘यही १० गतेसम्म सबै निर्वाचन कार्यालयलाई मतदान केन्द्र निर्धारण गरेर हामीलाई पठाउन भनेका छौ ।’ उनका अनुसार मतदातालाई पायक पर्ने, भीड नहुने र सुरक्षित ठाउँलाई मतदान केन्द्र निर्धारण गर्न आयोगले निर्देशन दिएको छ । सरकारले स्थानीय तहको सङ्ख्या निर्धारण गरेपनि आयोगले मतदान गर्नका लागि मतदान केन्द्र तोक्न निर्देशन दिएको हो । स्थानीय तहको निर्वाचन बिहान– ७ बजेदेखि साँझ ५ बजेसम्म हुने आयोगका सहसचिव समेत रहनुभएका शर्माले जानकारी गराए ।
मुआब्जा माग्दै मध्यपहाडी सडक विस्तारमा अवरुद्ध
त्रिशूली, चैत २ । पुष्पलाल मध्यपहाडी लोकमार्गको नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म विस्तारको क्रममा मुआब्जा नदिएको भन्दै स्थानीयवासीले अवरोध पुर्याएका छन् । सडक विस्तारको क्रममा मुआब्जा नदिई सडक छेउका बस्ती हटाउन लागेको भन्दै स्थानीयवासी सङ्घर्ष समिति गठन गरी विरोधमा उत्रिएका छन् । सडक विस्तारले १०० भन्दा बढी घरपरिवार सुकुम्बासी हुने भन्दै मध्यपहाडी लोकमार्गलाई वैकल्पिक स्थान हुँदै विस्तार गर्नुपर्ने सङ्घर्ष समितिका संयोजक नारायण अधिकारीले बताए । “विनाशकारी भूकम्पबाट पीडित बासिन्दामध्ये पहाडी सडक विस्तारले पीडित मात्र नभई सुकुम्बासी हुने भएका छन् ।” सङ्घर्ष समितिका संयोजक अधिकारीले भने– “भएको जग्गा सडकको अतिक्रमणमा परी विस्थापित हुन लागेकाले बाध्य भएर आफ्नो सम्पत्तिमा अधिकार र हक सुनिश्चित गर्न सडक विस्तारलाई अवरोध पुर्याएका हौं ।” पुष्पलाल–मध्यपहाडी लोकमार्गको विस्तारको क्रममा नुवाकोटको ढिकुरेदेखि गङ्गटेसम्म सडकको लागि छुट्टाउनुपर्ने जग्गा समेत अन्योल रहेको अधिकारीको गुनासो छ । सडकको दायाँबायाको क्षेत्रफल १५ मिटर वा २१ मिटर तथा २५ मिटरसम्मको चर्चा चलेको र सम्बन्धित कार्यालयबाट आधिकारिक सूचना जारी नहुँदा सडक छेउका बासिन्दा आवास निर्माण गर्न अन्योल भएको संघर्ष समितिले जनाएको छ । जिल्लाको गङ्गटेदेखि ढिकुरेसम्मको मध्यपहाडी सडक क्षेत्रमा पर्ने स्थानीयवासी मिलेर गठन गरेको सङ्घर्ष समितिले फागुन दोस्रो साता नुवाकोटका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेललाई ज्ञापनपत्र बुझाएर समस्या समाधानको लागि पहल गर्न आग्रह गरे पनि बेवास्था गरेको गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा सडक विस्तारले पीडित हुने बासिन्दाले आयोजना विस्तारमा वैकल्पिक स्थान खोज्नुपर्ने, विस्तार नै गर्नुपर्ने भएमा मुआब्जा दिनुपर्ने भन्दै माग सम्बोधनको गर्न गरेको आग्रहको बेवास्ता भएकाले सडक विस्तारमा अवरोध गर्न बाध्य भएको संघर्ष समितिका सदस्य प्रकाश अधिकारीले बताए । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सडकको साविकको विदुर नगरपालिका, सामरी, कल्याणपुर, खानीगाउँ, थानसिङ, महाकाली, सूर्यमतिलगायतका गाविसमा सीमाङ्कन अझै अन्योल रहेको छ । सिन्धुपाल्चोकबाट नुवाकोट हुँदै धादिङतर्फ जाने मध्यपहाडी सडकले नुवाकोटको साविकको एक नगरपालिका र १२ गाविस हुँदै सञ्चालन हुने बताए पनि त्यो प्रारम्भिक अध्यनन भनेर उल्लेख गरिएको छ । अहिलेको योजना अनुसार जिल्लाको तलाखु, लिखु, महाकाली, भदु्रटार, सुनखानी, थानापति, थानसिङ, सूर्यमति, खानीगाउँ, चारघरे, विदुर नगरपालिका, कल्याणपुर र सामरी गाविस हुँदै धादिङ प्रवेश गर्ने बताइएको छ ।
राज्यमन्त्री खड्काद्वारा मेलम्चीको प्रगतिबारे रातारात अनुगमन
काठमाडौँ,चैत २। खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे रातारात अनुगमन गर्नुभएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय–२ लाई उपत्यकाभित्र खोपानीको पाइप बिच्छ्याउने काम दिए पनि तीव्र गतिमा काम गर्न नसकेको जनगुनासो आएपछि राज्यमन्त्री खड्का मङ्गलबार राति १० बजेदेखि ११ः३० बजेसम्म अनुगमनमा निस्कनुभएको हो । राज्यमन्त्री खड्काले कान्तिपथ, लाजिम्पाट र पानीपोखरीमा भइरहेको मेलम्ची खानेपानीको कामको बारेमा जानकारी लिनुभएको थियो । कान्तिपथको कालोपत्र गर्ने जिम्मा रमन कन्टक्सननलाई दिइएको छ भने पानीपोखरीको पाइप बिच्छ्याउने काम आयोजना आफैँले गरिरहेको छ । मेलम्चीले भत्काएको बाटो समयमा कालोपत्र नहुँदा उपत्यकाको धुलोको मात्रा अत्याधिक बढेको भन्दै उहाँले चाँडो कालोपत्र गर्र्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “दसैँ अगाडि नै काठमाडौँवासीलाई पानी खुवाउँछौँ भनेर मन्त्रालय लागिरहेको छ तपाईंहरु चाँडो काम गर्नुहोस् ।” हालसम्म मेलम्चीको टनेल खन्ने काम २७ किलोमिटरमध्ये २३ किलोमिटर, मुख्य पाइप बिच्छ्याउने काम ६१ किलोमिटरमध्ये ४१ किलोमिटर र शाखा पाइप बिच्छ्याउने काम ६७० किलोमिटरमध्ये ५५० किलोमिटर बिच्छ्याइसकिएको आयोजनाका प्रमुख तिरेशकुमार खत्रीले जानकारी दिनुभयो । रासस
महिलाले खने गाउँसम्म पुग्ने मोटरबाटो
बेनी (म्याग्दी), चैत २ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् । घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ नं वडादेखि ४ नं सम्म पुग्ने एक किलोमिटर मोटरबाटो निर्माण गरेका हुन् । एक महिनासम्म ६० जनाभन्दा बढी महिलाले श्रमदान गरेर मोटरबाटो निर्माण गरिएको समूहकी अध्यक्ष याममाया पुनले बताउनुभयो । एक जनाले रु एक लाखबराबरको श्रमदान गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । मोटरबाटो निर्माण भएपछि घारका २०० घरधुरी लाभान्वित भएका छन् । अवसर पाए महिलाले पनि सामाजिक क्षेत्रमा योगदान गर्न सक्ने उदाहरण घारका महिलाले प्रस्तुत गरेको स्थानीयवासीले बताएका छन् । पूर्व विद्यार्थीद्वारा छात्रवृत्ति कोष स्थापना महेन्द्ररत्न मावि बरङ्जाबाट मावि तह उत्तीर्ण गरेका विद्यार्थीले रु चार लाखको छात्रवृत्ति कोष स्थापना गरेका छन् । महेन्द्ररत्न उमावि पूर्व विद्यार्थी सङ्घका अध्यक्ष लोकेश पुनमगरले गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले छात्रवृत्ति कोष स्थापना गरिएको जानकारी दिनुभयो । पुनका अनुसार कोषलाई बढाएर रु १० लाख पु¥याउने लक्ष्य रहेको छ । कोषमा जम्मा भएको रकमको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेछ । यसरी छात्रवृत्ति पाउनेमा कक्षा ६ देखि कक्षा १२ सम्मका गरिब, दलित, जेहेन्दार र जनजाति विद्यार्थी रहने पूर्वविद्यार्थी सङ्घका अध्यक्ष पुनले जानकारी दिनुभयो । पुनमगरले आफ्नी स्व बहिनी ओमकुमारी पुन (शान्ति)को सम्झनामा रु एक लाख रुपैयाँको अक्षयकोष समेत स्थापना गरिदिनुभएको छ । यस विद्यालयबाट एक हजार ५०० भन्दा बढी विद्यार्थीले एसएलसी र २००भन्दा बढीले दसजोड दुई उत्तीर्ण गरिसकेका विद्यालयले जनाएको छ । रासस
आजबाट नयाँ स्मार्ट लाइसेन्स वितरण
भक्तपुर, फागुन ३०। यातायात व्यवस्था विभाग भक्तपुरको जगाती कार्यालयले आजबाट नयाँ ‘स्मार्ट लाइसेन्स’ वितरण गरेको छ । गत माघ २ गतदेखि संचालन गरिएको यस कार्यालयले आजबाट ‘स्मार्ट लाइसेन्स’ अर्थात् सवारी चालक प्रमाणपत्र वितरण सेवा सुरु गरेको हो । आजदेखि नयाँ लाइसेन्सका लागि दरखास्त लिन सुरु गरिएको बताउँदै कार्यालय प्रमुख अनोज घिमिरेले आगामी शुक्रबार बिहान ७ बजे आफ्नै कार्यालयमा लिखित परीक्षा सञ्चालन गरी शनिबार ट्रायल (प्रयोगात्मक) परीक्षा लिइने जानकारी दिएका छन् । सर्वोच्च अदालतले निजी ट्रायल सेन्टरमा कार्यालयले ट्रायल लिन नपाउने आदेश दिएपछि विभागले आफ्नै सेन्टरमा सञ्चालन गर्ने भएको छ । घिमिरेलेका अनुसार तत्कालका लागि यातायात अनुमतिपत्रको ट्रायल परीक्षा दुई पाङ्ग्रेको हकमा यातायात व्यवस्था विभागको आफ्नै ट्रायल सेन्टरमा र चार पाङ्ग्रेका लागि नेसनल टे«डिङ पुतलीसडकको ट्रायल सेन्टरमा व्यवस्था गरेको बताएका छन् ।
गृहमन्त्री भारत प्रस्थान
काठमाडौँ, फागुन ३०। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गरेका छन् । इन्डिया फाउन्डेसनले आयोजना आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपालका तर्फबाट मन्त्री निधी भारत प्रस्थान गरेका हुन् । यही मार्च १४ देखि १६ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने उक्त सम्मेलनमा भाग लिएर उनी शुक्रवार स्वदेश फर्किनेछन् । भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री निधिले नेपाल सबै किसिमको आतङ्कवादका विरुद्धमा रहेको उल्लेख गर्दै आतङ्कवादका विरुद्धमा एकअर्काको सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने बताएका छन् ।
हिउँ परेपछि यातायात सञ्चालन गर्दै सेना प्रहरी
बेँसीसहर, फागुन ३०। मनाङ सडकमा हिमपातका कारण यातायात अवरुद्ध भएपछि त्यसलाई नेपाली सेना तथा प्रहरी परिचालन गरी संचालनमा ल्याउन लागिएको छ । सडकमा जमेको हिउँ फाल्नका लागि सेना तथा प्रहरी खटाइएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले जानकारी दिए । जिल्ला सुरक्षा समितिको बैठक बसी यातायात सञ्चालनलाई निरन्तरता दिन सेना तथा प्रहरी परिचालन गर्ने निर्णय गरिएको हो । बाक्लो हिमपातका कारण मनाङको तिमाङदेखि खाँङ्सारसम्म सडक पूरै अवरुद्ध भएको र अहिले चामेबाट सडक सफा गर्नेकाम सुरु भएको उनले बताए । सडकमा बाक्लो हिउँ जमेका कारण पैदलयात्रासमेत गर्न कठिनाइ भएको उल्लेख गर्दै सहायक प्रजिअ पन्तले सहज ठाउँमा सेना प्रहरी एवम् सरकारी कर्मचारीसमेत खटिएर हिउँ फाल्ने काम गरेको र अप्ठेरो ठाउँको हिउँ फाल्न सडक डिभिजन कार्यालयमा डोजर माग गरिएको जानकारी दिए । चामेस्थित अस्पताल, सरकारी कार्यालय, विद्यालयलगायतका ठाउँमा पुग्ने बाटो सफा गरिसकिएको र अब यातायात सञ्चालनको निम्ति सडक सफा गर्ने काम भइरहेको छ । मनाङमा यो वर्षकै धेरै हिउँ परेपछि जनजीवन प्रभावित भएको र अत्यधिक चिसोका कारण दुई दिनसम्म सञ्चारका साधन तथा विद्युत् पनि अवरुद्ध भएको थियो । मनाङमा भएको हिमपातले अन्नपूर्ण चक्रीय पदमार्गका पर्यटकलाई कठिनाइ परेको थियो । बाटो अवरुद्ध भएपछि केही पर्यटक फिर्तासमेत भएका थिए ।
हुम्लामा दुई फिट हिमपात
हुम्ला, फागुन ३०। जिल्लामा दुई फिट हिमपात भएको छ । गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा अत्यधिक चिसो बढेको छ । जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारी आगो बालेर बसिरहेका छन् । जाडो बढेपछि ती कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । उत्तरी भेगका बासिन्दा उपभोग्य सामग्री र नागरिकता लिन सिमीकोट आउन सकेका छैनन् । हिमपातका कारण बाटो अवरुद्ध भएको डाँडाफायास्थित कर्णाली प्रस्तावित मावि चौगनफायाका शिक्षक रामराज शाहीले टेलिफोनमा बताए । हिमपातका कारण हिल्दुम साना जलविद्युत् आयोजना गत फागुन २१ गतेदेखि बन्द भएको छ । आयोजना बन्द भएपछि दियालो बाल्न बाध्य भएको स्थानीय बासिन्दा तुला सिंहले जानकारी दिए । टेलिफोन सेवासमेत एक हप्तादेखि अवरुद्ध छ ।
पोखरा लेखनाथ महानगरपालिकाद्वारा कामको औपचारिकता
पोखरा, फागुन ३० । पोखरा लेखनाथ महानगरपालिका कार्यालयले आजदेखि औपचारिकरुपमा आफ्नो काम थालेको छ । सरकारको गत फागुन ११ गतेको निर्णयअनुसार स्थानीय निकायहरू स्थानीय तहमा रुपान्तरण भएपछि तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाका साथै कास्कीका गाविसमध्ये मौजा, चापाकोट, कास्कीकोट, पुरनचौर, भदौरे तामागीको ३ देखि ९ वडा, माभठानाको १ नं वडा र ४ देखि ९ वडा, कालिकाको १ देखि ५ वडा मिलाएर पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो । सरकारले यही फागुन २७ गतेदेखि स्थानीय निकाय भङ्ग गरी तह कार्यान्वयनमा ल्याएकामा आजदेखि पोखरा लेखनाथले महानगरका रुपमा काम थालेको हो । महानगरपालिकाका प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार कार्यालयले आजदेखि महानगरभित्रका ३३ वटै वडाका प्रमुख पदाधिकारीलाई वडा सचिवको जिम्मेवारी प्रदान गरी अभिमुखीकरण तालिम दिएको थियो । स्थानीय तहको शासन सञ्चालनका लागि जारी भएको आदेशअनुसार महानगरभित्रका वडामा काम सञ्चालन गर्न वडा सचिवहरूलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत फागुन २४ गते ७५ वटै स्थानीय विकास अधिकारीलाई पत्राचार गरी नेपालको संविधानको धारा २९५ को उपधारा ९३० बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका र संविधान बमोजिमका जिल्लासभामा निर्वाचित जनप्रतिनिधि वहाल नभएसम्म स्थानीय तहबाट प्रदान गरिने सेवालाई निरन्तरता दिन स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेशअनुसार काम गर्न निर्देशन दिएको थियो । पोखरा लेखनाथ महानगरपालिका घोषणासँगै महानगरका बासिन्दाले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । पूर्वाधारको उचित व्यवस्थापन भइनसकेको अवस्थामा महानगरपालिका घोषणा गरिनुले केवल करको दायरामात्र बढ्ने हो कि भन्ने चिन्ता यतिखेर सर्वसाधारणमाझ छाएको छ । पोखरा उपमहानगरपालिका भइरहेका अवस्थामा नै धेरै पूर्वाधार बन्न नसकेको अबस्थामा महानगरको घोषणाले जनतामा करमात्रै थोपरिने हो कि भन्ने विषयले चिन्तित बनाएको स्थानीय समाजसेवी तारा पाखे बताउनुहुन्छ । “पोखरा क्षेत्रभित्र अझै पूर्वाधार निर्माणका धेरै काम हुन सकेको छैन,” उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनलगायतका धेरै समस्या छन्, महानगरपालिकाले अब केवल पृथ्वीचोक, महेन्द्रपुल, लेकसाइडलगायतका क्षेत्रलाई मात्र हेरेर पुग्दैन ।” पानी बत्तीलगायतका धेरै कुरा व्यवस्थित बन्न नसकेको बताउँदै पाखेले योजना बन्ने तर कार्यान्वयनमा नआउने प्रवृत्तिका कारण समस्या समाधान हुन नसकेको अवस्थालाई गम्भीरताका साथ लिनु आवश्यक भएको उल्लेख गर्नुभयो । महानगर घोषणा भइसकेको पोखरा लेखनाथ क्षेत्रमा सार्वजनिक शौचालयसमेत व्यवस्थित बन्न नसकेको यथार्थतासँगै धेरै पूर्वाधारको विकास गर्नु आवश्यक रहेको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे बताउनुहुन्छ । “महानगर भएसँगै त्यही स्तरका सडक, खानेपानी, यातायात, विद्युत्लगायतका धेरै पूर्वाधार व्यवस्थित बन्नु आवश्यक छ,” उहाँले भन्नुभयो – “महानगर घोषणा पोखराका लागि गौरवको विषय हो, तर यहीअनुसारको संरचना निर्माण एवम् व्यवस्थापन चुनौतीपूर्ण छ ।” भोलिको अन्तर्राष्ट्रिय सहरका रुपमा पोखरालाई विकास गर्न त्यहीअनुरुपको दीर्घकालीन सोच अपरिहार्य भएको पालिखेको भनाइ छ । कास्की जिल्लाभित्र पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ«े, मादी र रुपा गाउँपालिका गरी पाँच स्थानीय तह छन् ।
स्थानीय तहका लागि ३९० कर्मचारी माग
काठमाडौँ, फागुन ३० । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सङ्घीय संरचनाअनुसारका स्थानीय तहमा सञ्चालनका लागि सामान्य प्रशासन मन्त्रालयसँग ३९० कर्मचारी माग गरेको छ । सङ्घीय संरचनाअनुसार महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्नका लागि ३९० जना कर्मचारी माग गरिएको मन्त्रालयका सहप्रवक्ता मदन कोइरालाले जानकारी गराए । उहाँले अहिले भएका कर्मचारीले कार्यालय प्रमुख भई कार्यालय सञ्चालन गर्न नपुग भएकाले सामान्यसँग माग गरिएको बताए । अहिले स्थानीय तहका लागि मन्त्रालयसँग एक सहसचिव, ६३ उपसचिव र २९० शाखा अधिकृत रहेका छन् । स्थानीय मन्त्रालयका उपसचिव भरतकुमार शर्माका अनुसार माग गरिएका कर्मचारीमा सहसचिव तीन, उपसचिव १९६ र शाखा अधिकृत १९१ रहेका छन् । स्थानीय तहका लागि महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृत रहने व्यवस्था छ । उहाँका अनुसार नयाँ माग गरिएका कर्मचारीले आगामी बिहीबारदेखि स्थानीय तहमा नयाँ कार्यकारी प्रमुख नियुक्त हुनेछन् । उपसचिव शर्माले कार्यालय प्रमुख नभएका कार्यालयमा जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारीले अहिले भएकामध्ये वरिष्ठ कर्मचारीलाई कार्यालय सञ्चालन गर्नका लागि निमित्त तोकिएको जानकारी गराए । सामान्य मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेले तत्काल कार्यालय सञ्चालन गर्न र निर्वाचनका लागि ७५ उपसचिव र २९० शाखा अधिकृत स्थानीय मन्त्रालयलाई दिइसकेको जानकारी गराए । उनले बाँकी रहेका तीन सहसचिव र १२१ उपसचिवका पनि एक/दुई दिनमा पठाउने बताए । नयाँ संरचनाअनुसार चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका रहेका छन् ।
तीन लाख खर्च गरिसक्दा पनि तीन सन्तानले अाँखा देखेनन्
पाल्पा, फागुन ३० । चारजना सन्तानको आमा बनेकी रामपुर नगरपालिका भलायटारकी जमुना कुमाललाई तीन जना दृष्टिबिहिन अवस्थाले पिरोलिरहेको छ। उनका दुई छोरा र दुई छोरीमध्ये तीनजनाको आँखाले काम नगरेपछि कुमालको जीवनमा सुखको साटो पिडाको भार थापिएको छ । कान्छी छोरी भने सबलाङ्ग छिन् । चार सन्तानमध्ये जेठी छोरी अहिले १५ वर्ष पुगिन्, १० वर्षको उमेर पुगेपछि दाहिने आँखाले देख्न छाडेपछि आमा जमुनाले धेरै ठाउँमा औषधि उपचार गराएपनि निको भएन । उनी अहिले दृष्टिविहीनले अध्ययन गर्ने मदनपोखराको दमकडा माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्छिन् । जेठो छोरा र कान्छो छोराको पनि समस्या जेठी छोरीको जस्तै छ । यिनीहरुको पनि दाहिने आँखाले काम गर्दैन । कुमालले भने– “जन्मँदा केही समस्या थिएन राम्रैसँग देख्थे, धेरै पछि आएरमात्र यस्तो समस्या देखियो” – “उपचारका लागि तीनजनालाई दुःख गरेर रु तीन लाख जति खर्च गरेँ, निको भएन ।” “पारिवारिक सुखका लागि सन्तान जन्माए, सुख पाउनु त कहाँ हो कहाँ, चिन्ता र पिरको भारीले रातदिन सताएको छ”– उनले भने । कमजोर आर्थिक अवस्थाले ज्याला मजदुरी गर्नुपर्ने बाध्यताले थप उपचार गराउन नसकेको र उपचारमा सहयोगी हातहरु कतैबाट पनि नउठेको उहाँको गुनासो छ । जेठो छोरा विवश कुमाल अहिले १२ वर्षका भए, उनी पनि एक वर्षदेखि आँखाको समस्याले ग्रसित छन् । १० वर्षका कान्छो छोरा किरण कुमालको समस्या पनि छ । “जन्मँदा शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्त थिए, पछि एकाएक तीनैजनाको एउटै समस्या देखापर्यो”– आमा कुमालले भने । कान्छी छोरीमात्र तन्दुरुस्त देखिन्छिन् । “ऋण काढेर उपचार गर्दा पनि निको भएन, न त धन रह्यो न त सन्तानको अवस्थामा सुधार आयो”– कुमालले बिलौना गरे । छोराछोरीको उपचार खर्च र लालनपालनका लागि निकै समस्या परेपछि श्रीमान्लाई विदेश पठाएँ, श्रीमान्ले विदेशमा कमाएको रकम उपचारमै मात्र सीमित रह्यो । विदेशमा कम्पनी बन्द भएपछि श्रीमानले बीचमै घर फर्कनुपरेको पीडा पनि उनले पोखे ।


>