व्यक्तिगत कारणले बालुवाटार छोड्न पर्यो– तिमिल्सिना
काठमाडाैँ, चैत २ । प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिवालयबाट राजीनामा दिएका मनहरी तिमिल्सिनाले व्यवहारिक जटिलताले बालुवाटार छोड्नुपरेको बताएका छन् ।
बालुवाटार छोडेको विषयमा बिभिन्न कोणबाट टिका टिप्पणी भएको भन्दै स्वकीय उपसचिव रहेका तिमिल्सिनाले यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित भएको बताएका छन् ।
बालुवाटार छोड्नुमा कसैका दोष छैन शीर्षकमा विज्ञप्ती जारी गर्दै तिमिल्सिनाले लेखेका छन्–
फागुन २७ गते व्यवहारिक जटिलताको कारण दर्साउँदै मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएको थिएँ । मैले राजीनामा पत्रमा लेखेको थिएँ, ‘प्रस्तुत सम्बन्धमा व्यवहारिक जटिलताका कारण मैले सम्माननीय प्रधानमन्त्रीज्यूको स्वकीय सचिवालयमा रहेर काम गर्न नसकेको कारण स्वकीय उपसचिव पदबाट राजीनामा दिएको छु । यहाँहरुको विश्वासअनुरुप आफ्नो जिम्मेवारी पुरा गर्न नसकेकोमा दुखी र लज्जित दुवै छु । आशा छ, यहाँहरुले मेरो बाध्यता बुझिदिनु हुनेछ ।’
केही दिनयता अखबारबाहेक सामाजिक सञ्जाल र अनलाइन मीडिया हेरेको छैन । तर, साथीहरुबाट सुन्दैछु, ‘पारिवारिक कारणले मनहरिले स्वकीय सचिवालय छोड्यो, चुनावको उम्मेदवार हुने तयारीका लागि बालुवाटार छोड्यो, प्रकाश दाहाल लगायतको दवावका कारण सचिवालय छोड्यो, आदि इत्यादी । तर, मेरो राजीनामासँग माथि उल्लेखित कुनै पनि अनुमानहरुको सम्बन्ध छैन र उम्मेदवार हुने विषयमा पनि अन्तिम निर्णयमा पुगिसकेको छैन ।
अरु कुनै पनि कारण छैन भने किन छोडिस् त ? प्रश्न जरुर उठ्छ । बिना जानकारी सचिवालय छोड्नैपर्ने के बाध्यता आइलाग्यो ? के तँलाई व्यक्तिगत निर्णयका आधारमा जिम्मेवारी छोड्ने छुट छ ? यस्ता अनेकौं प्रश्नहरुको कठघरामा पक्कै पनि म छु र मैले त्यसको चित्तबुझदो जवाफ दिनैपर्छ । म पूर्ण विश्वस्त छु, ‘सम्पूर्ण व्यवहारद्वारा नै मैले आफूलाई सही सावित गर्न सक्नुपर्छ र सक्नेछु । अनि, राजनीति र सामाजिक कर्महरुद्वारा जीवनलाई थप गतिशील बनाउनेछु।’
व्यक्तिगत जीवनमा केही व्यवहारिक जटिलताहरु थिए । जटिलताहरुको सहज निरुपणका लागि मलाई केही समयको जरुरत पर्दथ्यो । व्यस्त राजनीतिक कार्यसूचिमा मैले लामो बिदा लिनु पक्कै पनि राम्रो हुने थिएन । मैले सोचें, ‘जिम्मेवारीमा रहेर आफ्नो कर्तव्य पुरा नगर्नुभन्दा जिम्मेवारी छोड्नु नै उचित हुन्छ ।’ मैले सल्लाहमै जिम्मेवारी छोड्न चाहन्थें । तर, मलाई सजिलै उम्कन दिने कामरेडहरुको मनसाय र चाहना छँदै थिएन । परिस्थितिले पनि मेरो आवश्यकताकै माग गर्दथ्यो । त्यसैले मैले जिम्मेवार साथीहरुलाई पनि जानकारी नदिई आफ्नो निर्णय लिएको थिएँ ।
विश्वासपूर्ण जिम्मेवारी छोड्नु मेरै लागि पनि सुखद् कुरा थिएन । मेरो व्यक्तिगत चाहना पनि पक्कै त्यस्तो थिएन । यद्यपि, परिस्थितिको दवाव झेल्न म चुकें । त्यतिबेलै मैले अनुभूत गरेको थिएँ, मैले भूल नै गर्दैछु । तर, भूलले नै आगामी गन्तव्य र प्रतिकूलतालाई छिचोल्न सक्छ भने एकपटक जाने बुझेरै भूल गर्छु । अनि, म राजनीतिक जीवनमै क्रियाशील हुने संकल्पसहित राजीनामा दिने निर्णयमा पुगें ।
म जति समय बालुवाटार बसें । व्यक्तिगत जीवनमा कसैसँग नराम्रो भएन । मैले पनि आफ्नो औकातले भ्याएसम्मको जिम्मेवारीमा रहेर काम गरें । सचिवालय परिवारमा सबै साथी र कामरेडहरुको मप्रति असीम माया नै थियो । मेरा साना, ठूला समस्या र जटिलताहरुमा मैले उहाँहरुको साथ पाइरहें । उहाँहरुको छत्रछायाँ र विश्वासकै कारण मैले आफ्नो जिम्मेवारीलाई सहजतापूर्वक पुरा गर्न सकेको थिएँ ।
जोखबहादुर महरा, प्रकाश दाहाल र रमेश मल्लहरु प्रमूख स्वकीय सचिव र स्वकीय सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । उहाँहरु सबैको मप्रति सधैं ममता, विश्वास र मित्रवत् सम्बन्ध रह्यो । मेरो आठ महिनाको सहकार्यले भन्छ, ‘जोखबहादुर महरा एक आदर्श नेताको नाम हो ।’ उहाँको हमेशा चिन्ता प्रधानमन्त्री प्रचण्डको कार्यकाल कसरी सफल पार्ने ? जिम्मेवारीमा रहेको बेला नमूनायोग्य काम कसरी गर्ने ? धेरै राम्रो गर्ने परिस्थिति नभएपनि नराम्रोबाट कसरी जोगिने ? महरा सरको हमेशा चिन्ता हुन्थ्यो । अनि, उहाँका प्रत्येक व्यवहारले भन्थे, ‘महरा निश्चित समर्पण र संकल्पका लागि बालुवाटार छ र रहनेछ ।’
प्रकाश दाहालसँग मेरो सम्बन्ध निकै आत्मीय थियो । मलाई हेक्का छ, ‘उहाँ मनहरिले बालुवाटार छोड्ने निर्णयमा पुगोस् भन्ने कदापी चाहनु हुन्थेन ।’ मप्रति कुनै आशंका वा अविश्वास रहन्थ्यो भने व्यक्तिगत जीवनका असाध्यै सामान्य कुरा पनि आदान प्रदान पक्कै गर्नु हुन्थेन । म उहाँको लागि साँच्चिकै भाइ थिएँ । मप्रतिको व्यवहार सधैं आत्मीय नै थियो । व्यक्तिगत जीवनका साना ठूला समस्यामा पनि उहाँको बलियो साथ थियो । उहाँ मेरो जीवनको एक उत्प्रेरक हुनुहुन्थ्यो ।
समयको क्रममा विगतमा प्रकाश दाहालका केही प्राविधिक त्रुटीहरु भए । ती नियतजन्य मनस्थितिका उपज थिए वा परिस्थितिजन्य जटिलता ? अनि, उहाँको जीवनमाथि राजनीति गर्ने नियत नराखेको भए समस्याहरु सहजै सल्टन सम्भव थिएन ? मेरो विचारमा पक्कै सल्टन्थे । आज पनि ठान्छु, ‘प्रकाश दाहालको प्राविधिक त्रुटीलाई हतियार बनाइयो र उनीमाथि प्रहार गरियो, जुन आजसम्म पनि रोकिएको छैन ।’
मैले चिन्दा प्रकाश दाहाल एक सफल स्वकीय सचिवको नाम हो । समयको व्यवस्थापन, मानिसहरुको मनोविज्ञान अनुसार बहस अन्तरक्रिया, समयको मूल्याङ्कनका सन्दर्भमा प्रकाश दाहालको क्षमता अब्बल नै छ । व्यक्तिका केही व्यक्तिगत विशेषताहरु हुन्छन्, ती विशेषता प्रकाश दाहालमा पनि छन् । तर, असल साथीका लागि ज्यान दिने उहाँको स्वाभाव हामीजस्ता पछिल्ला पिँडीका लागि निकै प्रेरणादायक छ र हुनेछ । कतिपयले ठान्छन्, ‘प्रचण्डले आफ्नै छोरालाई स्वकीय सचिव बनाए ।’ तर, मेरो आठ महिनाको अनुभवले भन्छ, ‘प्रकाश दाहाल सचिवालयमा नभएको भए प्रचण्डको दैनिकी नै अस्तव्यस्त हुन्थ्यो ।’ आफू नराम्रो भएरै भएपनि प्रधानमन्त्रीको छवि बचाउन हरदम प्रयत्न गर्ने प्रकाशको म सम्मान गर्छु र गरिरहनेछु ।
यो अवधिमा प्रकाश दाहाल मात्र नभएर बिना मगरसँग पनि सङ्गत गर्ने अवसर मिल्यो । प्रकाश र बिना मगरबारे जति चर्चा र प्रचार गर्ने गरिएको छ, वास्तविकता त्यसभन्दा बिलकूल फरक पाएँ । जिल्लामा हुने साना ठूला घटनामा पनि बिना मगरको चासो रहँन्थ्यो । विकास र समाज सेवाको हुटहुटी देख्दा लाग्थ्यो, बिना मगरजस्ता नेतृहरु हुने हो भने सामाजिक विकास र राजनीतिक जागरणले उचाई लिन्थ्यो । तर, उहाँहरु थोरै पनि उठ्न खोज्दा विरोधीहरु अनेकौं बहानामा निरन्तर आक्रमण गरिरहेका छन् । सायद सोच्दा हुन्, ‘यिनीहरुलाई आक्रमण गरेर सिध्याउन सकिन्छ ।’ तर, उहाँहरुको मनोबल सामान्य चूनौतिसामू झुक्ने खालको मैले देखिनँ ।
सल्लाहकार टिममा मूख्यतः गोविन्द आचार्य दाजुसँग सङ्गत गर्ने अवसर मिल्यो । गोविन्द आचार्य निकै मिलनसार स्वाभावको हुनुहुन्थ्यो, हरेक विषयमा अरुका कुरा सुन्ने उहाँको स्वाभावले मलाई निकै नै आकर्षित गथ्र्यो । बरु, म बेलाबखत रिसाउने गर्थें । तर, प्रकाश दाहाल, गोविन्द आचार्यहरु हाँसेर टार्नुहुन्थ्यो । उहाँहरुको प्रेरणा नै मेरो कार्यकालका लागि निकै राम्रो उर्जा र प्रेरणा बनिरह्यो ।
आठ महिनाको अवधिमा प्रधानमन्त्री प्रचण्डको अनुहारमा कहिल्यै उन्माद देखिनँ । उहाँमा एक खालको गहिरो जिम्मेवारी बोध थियो । दुई अतिवादी प्रवृत्तिलाई सँगै लिएर संविधान कार्यान्वयनमा लाग्नु बाघ चराउनु बराबर थियो । तर, प्रचण्ड गल्नुभएन र थाक्नुभएन । उहाँको दैनिक व्यस्तता र कार्यसूचि देख्दा बरु हामी गल्थ्यौं । तर, उहाँले कुनै दिन सुस्केरा हालेको अनुभूति गरिनँ । यसपटकको कार्यकाल जसरी पनि फलदायी बनाउनुपर्छ भन्ने गहिरो जिम्मेवारी बोधसहित उहाँ खटिरहनु भएको छ । अनि, परिणाममा पनि सकारात्मक सङ्केतहरु देखा पर्दैछन् ।
माओवादी केन्द्र अहिले पहिलो पार्टीको रुपमा छैन । तर, देशलाई गति दिनसक्ने, जुनसुकै पात्र र प्रवृत्तिलाई मिलाएर राष्ट्रिय निकास दिनसक्ने नेता प्रचण्ड नै हो । राजनीतिक आस्था र संगठनमा बिमति होलान् । तर, विरोधीहरु पनि प्रचण्ड जत्तिको अर्को नेता नेपालमा छ भन्न सक्दैनन् । यहीँ संकल्प र गुणले म प्रधानमन्त्री प्रचण्डसँग प्रभावित छु । मेरो सहकार्यले भन्छ, ‘प्रचण्डको चेहरामा राजनीतिक निकास र आर्थिक विकासको संकल्प छ । अनि, आगामी पुस्ताले पुस्तौसम्म स्मरण गर्न योग्य काम गर्ने आकांक्षा छ ।’
मेरो राजीनामाको एक मात्र कारण म नै हुँ, अरु कुनै व्यक्ति वा संस्थामाथि आशङ्का र आरोपित गर्नु पूर्णतः निराधार छ । प्रष्ट रुपमा भन्न चाहन्छु, ‘मैले लिएको कदम मेरो रुचिको विषय पक्कै थिएन । त्यसमाथि स्वकीय सचिवालयबाट अलग रहँदैमा राजनीतिक जीवनबाट बिश्राम लिने वा सुस्ताउने पनि छैन । तर, व्यक्तिगत जीवनका जटिलताहरु निरुपण गर्न यसले सहजता पैदा गर्ने मेरो विश्वास हो, यसमा प्रगति हुने नै छ ।
म जहाँ रहेपनि माओवादी आन्दोलनमा छु । आफ्नो ठाउँबाट माओवादी आन्दोलन, यसको नेतृत्वको रक्षा गरी रहनेछु । माओवादी आन्दोलन र नेतृत्वको पक्षमा बोल्नेछु, लेख्नेछु र लड्नेछु । सचिवालयमा नभए पनि माओवादी आन्दोलनको निश्चित जिम्मेवारीमा छु र हुनेछु । आगामी जिम्मेवारी कसरी लिने ? आन्दोलनले ममाथि गरेको लगानीको कसरी सम्मान गर्ने ? त्यसमा गम्भीर छु र हुनेछु । अन्त्यमा, मेरो निर्णयको दोष कसैमाथि थोपर्ने, गलत प्रचारवाजी गर्ने कुरा भ्रामक हुन् । मेरो निर्णयको जिम्मेवारी मैले नै लिनुपर्छ र लिनेछु । अनि, माओवादी आन्दोलनलाई नयाँ उचाईमा उठाउन आफ्नो ठाउँबाट संकल्प गर्ने नै छु ।
२०७३।१२।०२
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

