हार्ने डरले प्रेस चौतारी षडयन्त्र बुन्न लागेको आरोप
काठमाडौ, फाल्गुन २७ । चैत्र १ गते हुन गइरहेको ललितपुर पत्रकार महासंघको अधिवेशनको पूर्वसन्ध्यामा बिभिन्न राजनीतिक दल निकट पत्रकार संघहरुबीच चुनावमा जित हासिल गर्न छिनाझपटका घटनाहरु हुन थालेका छन् ।
यसैबीच प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन र प्रेस सोसाइटीले आज एक संयुक्त वक्तव्य निकाली एमाले निकट प्रेस चौतारी नेपालले चुनावमा आफूहरु हार्ने देखेपछि अमर्यादित षडयन्त्र गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा हिजो मात्रै प्रेस चौतारीले विप्लव निकट क्रान्तिकारी पत्रकार संगठनसँग मिलेर प्रेस युनियन र प्रेस सोसाइटीका प्रतिनिधिहरुलाई झुक्याएर नेपाल पत्रकार महासंघ ललितपुरबिरुद्ध वक्तव्यवाजी गराएको उल्लेख छ ।
प्रेस चौतारीको अगुवाइमा जारी हिजोको वक्तव्यमा ललितपुर पत्रकार महासंघका अध्यक्ष लेखनाथ न्यौपानेले थुप्रैलाई कीर्ते सदस्यता प्रदान गरेको आरोप लगाइएको छ । महासंघको विधि विधान अनुसार नै ललितपुरमा सदस्यता वितरण तथा नवीकरण गर्ने काम भएको हुँदाहुँदै पनि त्यस्तो वक्तव्य जारी गर्नु र महासंघको कार्यालयमा तालाबन्दी गर्नु नितान्त अधिवेशन बिथोल्ने प्रयास मात्र भएको प्रेस सेन्टर, प्रेस युनियन र प्रेस सोसाइटीका पदाधिकारीहरु बताउँदछन् ।
हिजो जारी वक्तव्य षडयन्त्रमूलक भएको कुरा आज प्रेस युनियन र प्रेस सोसाइटीका आधिकारिक प्रतिनिधिहरुले प्रेस सेन्टरसँग अर्को संयुक्त प्रेस वक्तव्य जारी गर्नुले पुस्टि मिलेको पत्रकारहरु माझ चर्चाको विषय बनेको छ । प्रेस सोसाइटीका गणेश आचार्यले उनलाई हिजो झुक्याएर वक्तव्यमा हस्ताक्षर गराएको कुरा आज बाहिर प्रचारमा ल्याएका छन् ।
यस्तै गरी काठमाडौं पत्रकार महासंघको कार्यालयमा पनि विवादका कारणले भइरहेको तालाबन्दी अहिलेसम्म खुलेको छैन ।पत्रकारजस्तो राज्यको चौथो अङ्गका वौद्धिकहरुले देखाएको यस्तो हर्कतले गलत राजनीतिक संस्कारको प्रभावलाई प्रदर्शित गरेको छ ।
भारतीय प्रहरीले नेपाली हत्या गरेकोबारे भारत सरकारसँग कुराकानी भइरहेको गृहमन्त्रीको दाबी
काठमाडौं, फागुन २७ । उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले कञ्चनपुरमा भारतीय सशस्त्र सिमा बल (एसएसबी)ले चलाएको गोलीले नेपाली मारिएको घटनाबारे भारतीय सरकारको ध्यानाकर्षण गराइएको दाबी गरेका छन् । शुक्रबार व्यबस्थापिका संसदको बैठकमा कञ्चनपुर घटनावारे सांसदहरुले जवाफ मागेपछि बोल्दै गृहमन्त्री निधिले गोलीकाण्डबारे आफु र परराष्ट्रमन्त्रीले भारतीय विदेशमन्त्री शुष्मा स्वराजसँग टेलिफोनमा कुराकानी गरेको जानकारी दिए । भारतीय पक्षले घटनाको अनुसन्धान गरेर जानकारी गराउने बताएको उनको भनाई छ । मन्त्री निधिले मृतकलाई शहिद घोषणा गरिसकेको भन्दै परिवारलाई १० लाख रुपैयाँ राहत उपलव्ध गराउने बताए । बिहिबार कञ्चनपुरको पुनर्वास ८ अानन्द बजारमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई गोली प्रहार गर्दा गोबिन्द गौतमको ज्यान गएको थियो ।
मनाङमा भारी हिमपात, जनजीवन प्रभावित
मनाङ, फागुन २७ । नेपालकै महत्वपूर्ण मानिएको अन्नपूर्ण पदमार्ग यतिखेर पूरै सेताम्मे भएको छ। गत मङ्गलबारदेखि हिउँ पर्न सुरु भए पनि मनाङको एक दुई स्थानमा हल्का देखिएको थियो। तर बिहीबारको हल्का वर्षासँगै भएको हिमपातले आज मनाङ जिल्ला पूरै प्रभावित भएको छ। हिमपातका कारण यस क्षेत्रमा सवारी साधन चलेका छैनन् भने मानिस घरभित्रै बस्न बाध्य भएका छन्। यसरी निरन्तर रुपले हिमपात हुँदा आन्तरिक तथा बाह्य पर्यटकसमेत अलपत्र परेका छन्। रासस
फागुमा यस्तो छ ट्राफिक प्रहरीको रणनीति
काठमाडौँ, फागुन २७ । आइतबार उपत्यकाभित्र मनाइने फागुपूर्णिमा (होली) का लागि ट्राफिक प्रहरीले विशेषसुरक्षा योजना ल्याएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायब मिङमार लामाले भने फागुका दिन प्रहरीले सवारी दुर्घटना नियन्त्रण गर्न नयाँ रणनीति बनाएको छ । सवारी नियम उल्लङ्घन गर्नेका सवारी साधन नियन्त्रणमा लिइने तथा कागजात फिर्ता गर्नका लागि एक घन्टाको अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था बनाएको लामाले बताए। उपत्यकाका ५३ स्थानमा ट्राफिक प्रहरी अधिकृतको कमाण्डमा कम्तीमा तीन जना ट्राफिक प्रहरी खटाई जाँचको व्यवस्था मिलाइएको छ। होलीका दिन उपत्यकाभित्र जम्मा १२ सय १४ प्रहरी खटाइने छन्। मापसे गरी सवारी चलाउने, तीब्र गतिमा सवारी चलाउने, हेलमेट नलगाई दुईपाङ्ग्रे सवारी चलाउने, ओभरलोड वा मोटरसाइकलमा दुई जनाभन्दा बढी मानिस राखेर यात्रा गर्ने, ठूलो हर्न बजाउने, ठूलो आवाज निकालेर सवारी चलाउने, जिकज्याक गरी चलाउने, मोटरसाइकललाई मोडिफाई गरी चलाउने तथा अन्य गम्भीर खालका लापरबाही गरी सवारी चलाउने व्यक्तिलाई लक्षित गरेर अभियान सञ्चालन गरिएको डिआइजी लामाले बताए। गत वर्षको होलीमा ट्राफिक नियम उल्लङ्घन गरी चलाइएका १९ सय ३७ सवारीलाई नियन्त्रणमा लिइएको थियो।
गौतम हत्यामा भारतीय पक्षसँग क्षतिपूर्ति माग्नुपर्छः एमाले
काठमाडौँ, फागुन २७ । व्यवस्थापिका–संसद्को आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले आफ्नो पार्टीको सप्तरीमा भएको शान्तिपूर्ण कार्यक्रममा गरिएको सुरक्षा हस्तक्षेप र कञ्चनपुरमा भारतीय सुरक्षा बलबाट भएको गोली प्रहारका घटनाका सम्बन्धमा सरकारले सदनलाई स्पष्ट पार्न माग गरे । बैठकमा उपाध्यक्ष रावलले सरकारले नेपाली सीमामा सुरक्षा दिन नसकेको र विदेशी सुरक्षाकर्मीले आफ्ना नागरिकमाथि आक्रमण गर्दा सामान्य वक्तव्य दिएर लाचार प्रदर्शन गरेको आरोप लगाउँदै त्यस घटनामा भारतले क्षतिपूर्ति दिनुपर्छ भनेर सरकार बोल्न सक्नुपर्ने बताए । यही फागुन २६ गते कञ्चनपुरको आनन्दबजारस्थित सीमामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट नेपाली नागरिक गोविन्द गौतमको मृत्यु भएको थियो । उनले सो घटना भौगोलिक अखण्डता र सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको भन्दै शान्तिपूर्ण मेची महाकाली राष्ट्रिय अभियानका क्रममा फागुन २३ गते सप्तरीको राजविरामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताको विरोध हुनु र प्रहरीबाट बल प्रयोग गरिएकामा विरोध गरे । नेता रावलले आजबाट हेटौँडामा सुरु हुने पार्टीको अभियानमा कुनै वितण्डा नमच्चाउन र सुरक्षा दिन सरकारसँग माग गरे ।
पुनर्वासमा फेरी दोहोरो झडप, एसएसबीले गोली चलाएपछि नेपाल प्रहरीबाट जवाफी फायर
कन्चनपुर, फागुन २७ । कन्चनपुरको पुनर्वास क्षेत्र फेरी तनावग्रस्त बनेको छ । भारतीय सीमा सुरक्षा बलको गोली प्रहारबाट बिहिबार नेपालीको हत्या भएको बिरोधमा सर्वसाधारणहरुको बिरोध प्रदर्शनमाथि भारतीय प्रहरीले आज शुक्रबार समेत गोली प्रहार गरेपछि अवस्था झनै तनावपूर्ण बनेको हो । बिहानैदेखि हजारौं संख्यामा सीमाक्षेत्रमा जम्मा भएका नेपालीहरुले भारतीय ज्यादतीका विरुद्ध प्रदर्शन गरेपनि एसएसबीले ७ राउण्ड फायर गरेका थिए । नेपालीहरुलाई लक्षित गर्दै फायर गरेपछि सशस्त्र प्रहरीले समेत जवाफी फायर गरेको स्थानीय प्रेमसिंहले बताए । यसअघि बिहान भन्सार कार्यालयको ब्यारियर भत्काउँदै नेपालीहरुले भारतीय सीमा क्षेत्रमा प्रवेश गर्न खोज्दा झडप भएको थियो । बिहिबारको घटनाको बिरोध गर्दै माओवादी केन्द्रले ७ नं. प्रदेश बन्दको घोषणा गरेको छ । “भारतीय ज्यादतीविरुद्ध स्थानीय जनताहरुमा निकै आक्रोश देखिन्छ” माओवादी नेता रमेश भट्टले भने, “अवस्था जतिखेर पनि नियन्त्रणबाहिर जानसक्छ” भट्टका अनुसार सीमापारी रहेका भारतीय सुरक्षा बल नेपाली भूमिमा आएका छन् । बिहिबारको घटनापछि भारतको लखिमपुर खिरीका र कञ्चनपुर जिल्ला प्रशासनका अधिकारीबीच उक्त क्षेत्रमा देखिएको कल्भर्ट सम्बन्धी विवाद साम्य गर्नवार्ता भएपनि सथानीय जनताले बिरोध जारी नै राखेका छन् । उता भारतीय विदेश मन्त्रालयले भने घटना दुखद भएको भन्दै गोली प्रहारको विषयमा एसएसबीसँग जवाफ मागिएको बताएको छ ।
सीआईएन प्रतिष्ठान शाखामा पहिलो महिला अध्यक्ष
नेपाल पत्रकार महासंघ अन्तर्गत सीआईएन प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन भएको छ । बिहिबार भएको शाखाको साधारणसभाले लक्ष्मी बस्नेतको अध्यक्षतामा ९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा उषा केसी, महिला उपाध्यक्ष गंगा तिमिल्सिना, सचिवमा राजन रुचाल, सहसचिवमा सुनिल राजभारत आउनु भएको छ । त्यस्तै कोषाध्यक्षमा संगीता रसाइली सर्वसम्मत हुनुभएको छ भने सदस्यहरुमा बाबुराम खड्का, ज्योति श्रेष्ठ, सूजना ढकाल, पवन शाही सदस्य हुनुहुन्छ । यस्तै साधारणसभाले सीआईएन शाखाबाट गोविन्द खड्का र लिलप्रकाश चन्द केन्द्रीय पार्षद चयन हुनुभएको छ भने प्रदेश पार्षदमा दीपक आचार्य र गीता चिमोरिया चयन हुनभएको छ । नेपाल पत्रकार महासंघ, प्रतिष्ठान शाखा संयोजक सुरज आचार्य र केन्द्रीय सदस्य रोशन पुरीको उपस्थितिमा कार्यसमिति चयन गरिएको हो । संयोजक आचार्यले यो पटक प्रतिष्ठान शाखामा बस्नेत पहिलो महिला अध्यक्ष भएको बताउनुभयो । यसअघि इलाम जिल्ला शाखामा कोकिला ढकाल पहिलो जिल्ला अध्यक्ष बन्नुभएको छ ।
मोर्चाले सप्तरीमा ज्यान गुमाउने चार जनाको शवयात्रा गर्ने
सप्तरी, काठमाडौं, फागुन २७ । संघीय गठबन्धन सहितको मधेसी मोर्चाले सप्तरीको मलेठमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका चार जनाको शवयात्रा गर्ने भएका छन् । गत सोमबार नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा भएको आमसभा विथोल्न खोजेको आरोपमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका चार जनाको शवयात्रा गर्ने मोर्चाले जानकारी दिएको छ । धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा राखिएको चारै जनाको शवलाई अपरान्ह सप्तरी हुँदै जनकपुरसम्म शवयात्रा गरिने सद्भावनाका केन्द्रीय सदस्य योगेन्द्र यादवले जानकारी दिए। शवयात्रापछि अन्त्यष्टी गर्ने मोर्चाले तयारी गरेको छ । सप्तरी घटनामो विरोधमा मोर्चाले आज नेपाल बन्दको आयोजना गरेको छ । बन्दका कारण तराईका जिल्ला प्रभावित भएका छन् ।
कञ्चनपुरमा भारतीय नम्बर प्लेटका गाडी चलाउन प्रतिबन्ध
कञ्चनपुर, फागुन २७ । कञ्चनपुरमा स्थानीय प्रशासनले भारतीय नम्बर प्लेटका गाडी चलाउन रोक लगाएको छ । बिहिबार कञ्चनपुरको पुनर्वासमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको ज्यान गएपछि स्थिति तनावग्रस्त भएको भन्दै प्रशहासन भारतीय नम्बर प्लेटका गाडी चलाउन प्रतिबन्ध लगाएको हो । भारतीय पक्षसँग आक्रोशित स्थानीय बासिन्दाले बिहीबार भारतीय नम्बर प्लेटका गाडीमा तोडफोड तथा आगजनी गरेपछि स्थानीय प्रशासनले स्थिति सामान्य नहुँदासम्म भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाएको हो । स्थानीय बासिन्दाले भारतीय नम्बर प्लेटका यूके ०४एफ ५६०९ र यूके ०६ डब्लु ००६२ नम्बरको मोटरसाइकल तथा डिएल ९ जी ४४६३ नम्बरको गाडीमा तोडफोड तथा आगजनी गरेकाले बिहीबार रातिदेखि नै भारतीय नम्बर प्लेटका गाडीमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नैनसिंह कार्कीले जानकारी दिए । यस्तै, भारतीय एसएसबीको ज्यादतीको विरोधमा शुक्रबार नेकपा माओवादी केन्द्रले ७ नम्बर प्रदेश बन्दको आह्वान गरेको छ । बन्दका कारण यातायात, कलकारखाना तथा शैक्षिक संस्था ठप्प भएका छन् ।
विवाह गर्ने कुरा नमिलेपछि सामूहिक आत्महत्या
बर्दिया, फागुन २६। विवाह गर्न नपाएको झोकमा बर्दियाका एक जोडी किशोरकिशोरीले सामूहिक आत्महत्या गरेका छन् । बर्दियाको धधवार गाविस–७ का शत्रुधन थारु र सोही स्थान की १३ वर्षीय शर्मिला चौधरीले आज घर भित्रै विष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरतबहादुर बोहराले बताउनुभयो । घर बाहिर केटा र केटी पक्षका आफन्तबीच छलफल भइरहेका बेला घरभित्र रहेका उनीहरुले विष सेवन गरेको बोहराले बताउनुभयो । रासस
एमालेले २७ गतेदेखि पुनः यात्रा सुरु गर्ने
काठमाडौं, फागुन २५ । सप्तरी घटनाका कारण आकस्मिक वैठक बसी स्थगित गरेको नेकपा एमालेले पार्टीको मेची–महाकाली यात्रा २७ गतेदेखि पुनः सुरु गर्ने बताएको छ । अभियानका लागि आवश्यक सुरक्षा दिन एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरुले सप्तरीमा भएको घटनाको जानकारी गराउँदै सुरक्षाको माग गरेका हुन् । मधेसी मोर्चाका कार्यकर्ताले एमाले कार्यालयमा आगजनी गरेको, कार्यकर्तालाई कुटपिट गरी अभियान बिथोल्ने प्रयास गरेको भन्दै एमाले नेताहरुले प्रधानमन्त्रीसहित गृहमन्त्री विमलेन्द्र निधिलगायतको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलपछि एमाले उपाध्यक्ष बामदेव गौतमले स्थानीय निकायको निर्वाचन कुनैपनि हालतमा रोक्न नहुने भन्दै पार्टीको गतिविधिको सुरक्षा हुनुपर्ने बताए ।
रामचन्द्रले भने : दलहरु देशका लागि होइन, सत्ताकै लागि सहमतिमा आउँछन्
चितवन, फाल्गुन २५ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दलहरु देशका लागि होइन, सत्ताकै लागि सहमतिमा आउने गरेको बताएका छन् । मुलुकमा देखिएको समस्या समाधान गर्न हिमाल, पहाड, तराइ, मधेस चारवटै पक्षको बीचमा एउटा सहमतिको आवश्यकता रहेको औंल्याउँदै आफूले सहमतिका लागि व्यवस्थापन गरौं, सत्ताका लागि होइनभन्दा पनि दलहरु बीच सत्ताकै लागि सहमति हुने गरेको आरोप लगाए । जिविस महासंघ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको बुधबार भरतपुरमा लोकार्पण गर्दै नेता पौडेलले सप्तरी घटना प्रति दुस्ख व्यक्त गरे । उक्त परिस्थिती किन आयो र त्यसको जडमा पुगेर समस्या समाधान गर्नुपर्ने उनले बताए । हिमाल, पहाड, तराइ, मधेसको एकतामा नै राष्ट्रियता रहेको बताउँदै उनले एकता खलबलिने गरेर उत्तेजनात्मक कुरा गर्दैमा राष्ट्रवाद नहुने उनले बताए । उनले कुनै राजनितिक पार्टी देशको भू– भागमा जानै नपाउने र कार्यक्रम नै गर्न नपाउने स्थिति सिर्जना हुनु राम्रो नभएको बताएका छन् । उनले स्थानीय तहको चुनाव नजिक आइसके पनि मुलुकको अवस्था झनै अन्योलपूर्ण बन्दै गएको बताएका छन् ।
चिडियाघरमा बर्डफ्लु भेटियाे
इटहरी, फागुन २५ । पर्यटकीय क्षेत्र तालतलैयाको बाल उद्यान क्षेत्रभित्र रहेको चिडियाघरमा राखिएका पक्षीमा बर्डफ्लुको सङ्क्रमण भेटिएको छ । क्षेत्रीय प्रयोगशाला विराटनगर र केन्द्रीय प्रयोगशालामा मरेका पक्षीको परीक्षणबाट बर्डफ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला पशु कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका प्रमुख शिवनारायण महतोले यही फागुन २३ केन्द्रीय प्रयोगशालाले बर्डफ्लु भएको प्रमाणित गरेपछि सतर्कता अपनाइएको बताए । सङ्क्रमण मानिसमा सर्नबाट रोक्न कम्तिमा एक महिनाका लागि चिडियाघर बन्द गरिएको छ । मरेका पक्षीलाई सुरक्षित रुपमा गाड्ने काम पनि भइरहेको उनले जानकारी दिएका छन् । एक सातादेखि लगातार चरा मर्न थालेपछि बर्डफ्लुको आशङ्कामा बालउद्यान बन्द गरिएको थियो । संरक्षण समितिले चरा मर्न थालेपछि जिल्ला पशुसेवा कार्यालयमार्फत मरेका पक्षी परीक्षणका लागि यही फागुन १९ गते क्षेत्रीय र केन्द्रीय प्रयोगशाला पठाएको थियो । तालतलैया विकास तथा संरक्षण समितिका महासचिव रमेश अधिकारीका अनुसार एक साताभित्र संरक्षित टर्की, मयुर, हुँचिल, राजहाँस, चरी बाघ, वन बिरालो र गिनी पिङ मरेका छन् । उक्त चिडियाघरमा दुर्लभ पक्षीसहित २२ प्रजातिका पक्षी संरक्षण गरेर राखिएको छ । तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर लिम्बूले भने आफूहरुलाई पशु कार्यालयले बर्डफ्लु प्रमाणित भएको जानकारी नदिएको बताएका छन् ।
किशोरी हत्याको छानबिनमा अब सीआइबी
खोटाङ, फागुन २५ । तीन साताअघि लिच्कीराम्चे–८ की १७ वर्षीया किशोरी रीता तामाङको हत्यामा संलग्न दोषी पत्ता लाग्न नसकेपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट टोली मगाइएको छ । गत माघ २६ गते छिमेकी गाविस सिम्पानी–७ स्थित कुसेऔंसी जंगलमा वीभत्स हत्या गरिएको अवस्थामा फेलापरेकी किशोरीको हत्यामा संलग्न दोषी अहिलेसम्म पत्ता नलागेपछि जिल्ला प्रहरी कार्यालय खोटाङले सीआइबीको टोली मगाएको हो । अहिलेसम्मको अनुसन्धानबाट दोषी पत्ता लगाउने लक्ष्य पूरा हुने सम्भावना कम देखिएकाले सीआइबीको टोली पठाइदिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । घटनास्थलमा मडारिएको, घस्रिएको पाइएकाले किशोरीलाई सामूहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । हत्यामा संलग्न दोषीलाई प्रहरीले पत्ता लगाउन नसकेको गुनासो बढ्दै गएपछि मानवअधिकार आयोगको टोलीलेसमेत स्थलगत अनुसन्धान थालेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा माघ २७ गते पाँचजना स्थानीयवासीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्लास्थित अन्तरपार्टी महिला सञ्जाल तथा महिला अधिकारकर्मीले अहिलेसम्म दोषी पत्ता नलाग्नुमा प्रहरीकोसमेत मिलेमतो रहेको आरोप लगाएका छन् ।
दाइजो कम ल्याएपछि बोक्सीको आरोपमा घर निकाला
काठमाडौँ, फागुन २५ । राजधनीकै गोकर्णेश्वरमा एक युवतीलाई विवाहमा दाइजो कम ल्याएपछि बोक्सीको आरोपमा परिवारले घरबाट निकाला गरिदिएका छन् । यही फागुन १२ गते मात्रै वैवाहिक बन्धनमा बाँधिएकी गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह गएको दुई सातापनि वित्न नपाउँदै उनका परिवारले घरबाट निकालिदिएका हुन् । सोही नगरपालिकाको वडा नं १५ बेँसीगाउँमा दिनेश केसीसँग विवाह बन्धनमा बाँधिएकी भण्डारीलाई परिवारले दाइजो कम ल्याएको निहुँमा उनलाई बोक्सीको आरोप लगाई घर निकाला गरेका हुन् । भण्डारीले आज महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएको प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए । केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत छन् । दुवै पक्षलाई राखी आज वृत्त बौद्धमा छलफल गराइएको भएपनि दुवै पक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासु राधिका केसीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । मागी विवाह भएको दुई साता पनि नबित्दै राजधानीमै सेनामा कार्यरत उपसेनानी दर्जाका जिम्मेवार व्यक्तिले श्रीमतीलाई घर निकाला गर्नुलाई गम्भीर रुपमा लिइएको अधिवक्ता प्रदीप थापाले बताए ।
भारतबाट आउने हात्ती आतङ्कको चपेटामा स्थानीय
कपिलवस्तु, फागुन २५ । भारतीय जंगलबाट आउने हातीले आतङ्क मचाउँदा कपिलवस्तुवासी त्रसित बनेका छन् । कपिलवस्तुको गौतमबुद्ध साझेदारी वनमा आएको हात्तीले स्थानीय गुगौली, शिवगढी, गणेशपुरी, खुरुहुरिया, भगवानपुरलगायत गाविसका बासिन्दा त्रसित बनेका हुन् । हात्तीले गाउँ नजिकै आएर कराउने, किसानले लगाएको अन्नबाली नष्ट गर्ने गरेका करण स्थानीय बासिन्दा त्रसित भएको गौतमबुद्ध साझेदारी वनका अध्यक्ष जानकी यादवले जानकारी दिइन् । उनका अनुसार जङ्गलको छेउमा गरिएको तारबारसमेत तोडेर बच्चासहित आउने हात्तीले लाखौं मूल्य बराबरको धनमालको नोक्सान गर्ने गर्छन् । हात्ती गाउँमा पस्ने डरले गाउँलेले रातभर जाग्रम बस्ने गरेका छन् । बाँके राष्ट्रिय निकुञ्जबाट हात्ती आएको हुनसक्ने गौतम बुद्ध साझेदारी वनका वन रक्षकले बताएका छन् । भारतको जङ्गल हँुदै बच्चासहितको हात्ती आउने गरेकोे अनुमान छ । हात्तीको डरले घाँस दाउरा गर्नका लागिसमेत स्थानीयले जङ्गल जान छाडेको गुगौलीका हरिराम थारुले बताए ।

