म्याग्दीमा पनि फस्टाउँदै छ हाउजिङ

म्याग्दी, फागुन २२ । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दीमा हाउजिङ व्यवसाय फष्टाउँदै गएपछि सदरमुकाम बेनीबजार वरिपरिका खेतीयोग्य जमिन मासेरै प्लटिङ गर्ने क्रम बढेको छ ।

देशका अन्य सहरको तुलनामा म्याग्दीमा हाउजिङको विकास अझै भइनसके पनि त्यसको सम्भावना भने उच्च छ । जनसङ्ख्या र व्यावसायिक प्रतिष्ठाको क्रम बढ्दै गएपछि म्याग्दीमा पनि हाउजिङको आवश्यकता बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

सदरमुकाम बेनी बजारमा बसोवास गर्ने करिब २० हजार मानिसमध्ये १३ हजार भन्दा बढी व्यक्ति ग्रामीण क्षेत्रबाट बसाइँसराई गरी आएका हुन् । उनीहरुले सदरमुकाम बेनी र नजिकका ठाउँमा घडेरी किनेर घर बनाउन थालेपछि हाउजिङ संस्कृति फस्टाउँदै गएको म्याग्दी उद्योग वाणिज्य सङ्घका सदस्य सुवीन श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार बेनी बजारमा मात्रै एक हजार ८०६ घर रहेका छन् भने तिनमा रु चार करोडसम्मका भवन तथा कम्प्लेक्स निर्माण भइसकेका छन् ।
हप्ताका औसत तीनवटा घरका नक्सा पास हुने गरेको बेनी नगरपालिकाले जनाएको छ । दसैँ तिहारजस्ता चाडवाडको समय तथा भदौदेखि मङ्सिरसम्ममा घरका नक्सा बढी पास हुने गरेको बेनी नगरपालिका हुनुपूर्व बेनीबजारलाई समेटेको अथुङ्गे गाविसको तथ्याङ्कमा उल्लेख छ ।

अहिले बेनी बजार र नजिकका बगरफाँट, बौर, अथुङ्गे, खबरा, सिङ्गालगायतका ठाउँमा घर निर्माण गर्ने क्रम बढेर गएको छ ।

जनसङ्ख्या वृद्धि र अव्यवस्थित बसोवास नियन्त्रण नहुँदा यहाँका खेतीयोग्य जमिन मासिँदै जान थालेको छ । बेनी बजारमा भाडामा घरका पुरै लता लिने क्रम पनि बढ्दै गएको छ । ग्रहाकले पहिला घरका कोठामात्रै भाडामा लिने गरेकामा विगत दुई वर्षयता घरका तला नै लिने क्रम बढेको म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

कामकाजी व्यक्तिले कोठा  सट्टा तला नै लिन थालेपछि व्यवसायीहरुले पनि पाँच–छ तलाको घर बनाउन थालेका छन् ।

करिब पचास लाखको लागतमा सौर्य लिफ्टिङ खानेपानी निर्माण सुरु

स्याङ्जा, फागुन २२ । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम सुरु गरिएको हो । गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर गाउँमा रहेको ट्याङ्कीमा सङ्कलन गर्ने योजना बनाएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जमबहादुर गुरुङले बताए । पानीको सहजता भएपछि बुढाकोटका ३५ घरधुरी लाभान्वित हुनेछन् । २०७३ साल चैत मसान्तसम्म निर्माण कार्य सक्ने गरी सुरु गरिएको उक्त योजनाको रु ४९ लाख चार हजार एक सय लागत अनुमान गरिएको छ । खानेपानीको समस्या भएकै कारण यस ठाउँबाट बसाइँसराइ जाने गरेकामा अब भने गाउँमै खानेपानीको पहुँच पुग्ने भएपछि बसाइँसराइ रोकिने विश्वास लिएको समितिका कोषाध्यक्ष गुरुङले बताए । पिउने पानीका लागि त्यहाँका बासिन्दाले अहिले आधा घन्टादेखि एक घन्टासम्मको समय लगाएर एक गाग्री खानेपानीको जोहो गर्ने गरेका छन् ।

होलीको शुभारम्भमा आज बसन्तपुरमा चीर ठड्याइयो

काठमाडौं, फागुन २२ । आइतबार बिहान ७ बजेर ४७ मिनेटको शुभ साइतमा वसन्तरपुर डबलीमा होलीको चीर ठड्याइएसँगै उपत्यकामा विधिवत रुपमा होली सुरु भएको छ । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । वसन्त उत्सवका रुपमा समेत मानाइने रंगहरुको पर्व होलीको पौराणीक तथा सांस्कृतिक महत्व रहेको छ । धार्मिक ग्रन्थका अनुसार– हिरण्यकश्यपुले भगवान् विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा राखी आगो लगाइदिएका थिए । तर, आगोले विष्णुका भक्त मार्ने प्रयास गर्ने होलिका नै भष्म भइन् । आगोले प्रह्लादलाई छोएन । यसरी होलिकाको मृत्युको विजयोत्सवका रूपमा अबिर लगाएर होली खेल्ने गरिन्छ ।

स्याङ्जामा काँग्रेस, एमाले परित्याग गरी पचास जना माओवादीमा केन्द्रमा प्रवेश

स्याङ्जा, फागुन २२ । नेकपा माओवादी केन्द्र वालिङ कमिटीद्वारा आयोजित सहिद बेपत्ता सम्मान कार्यक्रम तथा कार्यकता प्रशिक्षण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । सहिद सप्ताहको अवसर पारेर स्याङ्जाको वालिङ सिटिहलमा आयोजीत कार्यक्रममा प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज रामराज रेग्मीले स्याङ्जामा विस्तारै माओवादी केन्द्रको गतिविधि बढ्दै गएकाले अवको स्थानीय चुनावमा चमत्कारीक जित माओवादीको हुने स्पष्ट पारे । उनले सम्पुर्ण उत्पीडित वर्ग, गरीब वर्ग र सर्वहारा वर्गको मुक्ति माओवादीबाट मात्र सम्भव भएकाले माओवादीलाइ साथ दिन सवैसंग अपिल गरे उनले स्थानीय चुनाव भनेकै मितिमा हुने भएकाले सवै नेता तथा कार्यकर्ताहरुलाइ चुनावी गतिविधिमा सरिक हुन आग्रह गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य लोकबहादुर थापाले माओवादी पार्टी परिर्वतनका लागि जन्मिएको पार्टी भएको स्मरण गराउदै माओवादीका कारण देशमा प्रमुख परिर्वतन भएको विचार व्यक्त गरे । उनले जनजातीको माघ माओवादीले मात्र सम्वोधन गर्न सक्ने ठोकुवा गर्दै सम्पुर्ण जनतातीहरु माओवादीमा गोल्वन्द हुनुको विकल्प नभएको उल्लेख गरे । कार्यक्रममा अर्का पोलिट्व्युरो सदस्य शैलेन्द्र घिमिरेले माओवादीमात्र जनताप्रति उत्तरदायी भएको पार्टी भएकाले माओवादी हुनुमा सबैले गर्व गर्नुपर्नेमा जोड दिए । उनले माओवादी पार्टी न्याय सत्य र समानताको पक्षमा रहेकाले सधैभरी माओवादी यी तीन चिज प्राप्तिका लागि लडिरहने विश्वास व्यक्त गरे । कार्यक्रममा पोलिट व्युरो सदस्य पारष सर्मा, अखिल नेकपा महिला संघ (क्रान्तिकारी) स्याङ्जाकी जिल्ला अध्यक्ष कल्पना अर्याल, सहिद परिवारका सदस्य डिल्लीराम रिजाल लगाएतले मन्तव्य राखेका थिए । सोही कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस र अन्य दलबाट ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका छन भने जनयुद्धको क्रममा सहिद तथा वेपत्ता भएका परिवारका सदस्यहरुलाइ सम्मान गरिएको छ । यसभन्दा अघि प्रमुख अतिथीबाट वालिङ नगरपालिका भकुण्डेमा रहेको नेकपा माओवादी केन्द्र वालिङ नगरपालीकाको पार्टि कार्यलय उद्घाटन गरीएको थियो। सोही अवसरमा नारायण अस्यालको अध्यक्षतामा ५१ सदस्यी वाइसिएल वालिङ नगर किमिटी गठन गरिएको छ ।जसको उपाध्यक्षमा ओमराज गुरुङ, सचिवमा अनिता गहतराज, सह–सचिवमा रोशन श्रेष्ठ, कोषाध्यक्षमा दिपक गुरुङ र वाँकी सदस्यमा रहेका छन । त्यस्तै भगवती पराजुलीको अध्यक्षतामा २५ सदस्यीय अखिल नेपाल महिला संघ (क्रान्तिकारी) वालिङ नगर कमिटी गठन गठन गरिएको छ । जसको उपाध्यक्षमा जसमती गुरुङ, सचिवमा याम कला डुम्रे, सह–सचिवमा कल्पना पाराजुली, कोषाध्यक्षमा सुसिला डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यसैगरी श्याम विश्वकर्माको अध्यक्षतामा नेपाल दलित राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा गव बहादुर विश्वकर्मा, सचिवमा थमन विश्वकर्मा, सह–सचिवमा गिर वहादुर नेपाली, कोषाध्यक्षमा राम वहादुर सार्की र वाँकी सदस्यहरु रहेका छन । त्यस्तै, चित्रबहादुर रेग्मीको अध्यक्षतामा ३३ सदस्यी अखिल नेपाल किसान संघ (क्रान्तिकारी) वालिङ नगर कमिटी गठन गरिएको छ । जसको सचिवमा कमल न्यौपाने, कोषाध्यक्षमा कमलापति डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यसैगरी खगिसा भुसाल संयोजक रहने गरी १२ सदस्यीय सहिद परिवार समाज र ख्याम प्रसाद तमु संयोजक रहने गरि अखिल नेपाल भुतपुर्व सैनिक संगठन वालिङ नगर किमिटी गठन गरिएको छ । त्यस्तै चेतबहादुर गुरुङको अध्यक्षतामा २९ सदस्यी तमु राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा चित्रबहादुर गुरुङ, सचिवमा हुम वहादुर गुरुङ, सह–सचिवमा वेल वहादुर गुरुङ, कोषाध्यक्षमा जुन प्रसाद गुरुङ र वाँकी सदस्यहरु रहेका छन । सोही अवसरमा मणी प्रसाद पाठक अध्यक्ष रहने गरी २१ सदस्यीय एकिकृत अखिल नेपाल शिक्षक संगठन वालिङ नगर कमिटी गठन गरिएको छ । जसको सचिवमा लोकराज कोइराला, कोषाध्यक्षमा यज्ञ डुम्रे र वाँकी सदस्यमा रहेका छन । त्यस्तै, लक्ष्मी रानाको अध्यक्षतामा २९ सदस्य मगर राष्ट्रिय मुक्ति मोर्चा वालिङ नगर किमिटी गठन गरिएको छ भने चिरञ्जीवी सुवेदी संयोजक रहने गरी घाइते अपाङग समाज वालिङ नगर कमिटी गठन गरिएको छ । नेकपा माओवादी केन्द्र वालिङ नगर कमिटिका सह–संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य वालिङ नगर कमिटीका सह–इन्चार्ज निन्यानन्द तिवारीले गरेका थिए भने सञ्चालन नेकपा माओवादी केन्द्र वालिङका संयोजक प्रकास न्यौपाने (किरण) ले गरेका थिए ।

स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अाज सरकारलाई बुझाइने

काठमाडौं, फाल्गुन २२ । स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन अध्ययन गर्न गठित मन्त्रीस्तरीय कार्यदलले सरकारलाई आज प्रतिवेदन बुझाउँदै छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा साँझ ५ बजे बस्ने मन्त्रिपरिषद बैठकमा संघिय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे संयोजकत्वको टोलीले तयार पारेको प्रतिवेदन पेश हुने मन्त्री पाण्डेले जानकारी दिए । कार्यदलले ७ सय ३८ स्थानीय तहको सिफारिस गरेको छ । मन्त्रिपरिषद बैठकले स्थानीय तहको संख्या निर्धारण गर्न बनेको पुनरावलोकन समितीको प्रतिवेदनमाथि छलफल गर्दै आजै निर्णय गर्ने श्रोतले जनाएको छ । पुनरावलोकन कार्यदलले २ नम्वर प्रदेशका ८ र प्रदेश नम्वर १ र ४ का एकरएक जिल्लामा १९ तह थप गरि स्थानीय तहको संख्या ७ सय ३८ पुर्‍याउन सिफारिस गरेको हो । यद्यपी आयोगले तयार पारेको प्रतिवेदनमा सहमति जुट्ने सम्भावना भने कम छ । स्थानीय तहबारे आयोगको प्रतिवदेन सम्वन्धमा खोटाङ र नुवाकोट जिल्लामा देखिएको विवाद बारेपनि आजको मन्त्रीपरिषद बैठकले निर्णय गर्ने स्रोतले जनाएको छ ।

१६ लाख बढी बालबालिका खोप अधिकारबाट बञ्चित

काठमाडौं, फाल्गुन २२ । सरकारी स्वास्थ्यकर्मीको अवरोधका कारण राष्ट्रिय पोलियो खोप अभियान प्रभावित बनेको छ ।  काठमाडौं उपत्यकाका तीनसहित १५ जिल्लामा हिजोदेखि पोलियो थोपा खुवाउने २ दिने अभियान सुरु गरिएपनि सबै स्थानमा सहजरुपमा सञ्चालन हुन सकेको छैन । हिजो पोलियो थोपा खुवाउने कार्यक्रम सुरु नभएका र आंशिक रुपमा सञ्चालन भएका स्थानमा आज पनि पोलियो थोपा खुवाउने महाशाखाको अन्तर्गतको खोप शाखाका प्रमुख कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । खोप कार्यक्रम प्रभावित हुँदा १६ लाख बढी बालबालिका खोप अधिकारबाट वञ्चित भएका छन् । यसैबीच स्वास्थ्य मन्त्रालयले राष्ट्रिय पोलियो खोप अभियान प्रभावित पार्ने स्वास्थ्यकर्मीलाई कारबाही प्रक्रिया थालेको छ । स्वास्थ्यकर्मीको अवरोधका कारण हिजोबाट राष्ट्रिय पोलियो खोप अभियान प्रभावित भएपछि मन्त्रालयले सम्बन्धित जिल्लामा अवरोध गर्ने स्वास्थ्यकर्मीको सूची तयार गर्दै स्वास्थ्य सेवा ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडी वढेको स्वास्थ्य मन्त्री गगन थापालाई उदृत गर्दै उनका सहयोगी जीवन भण्डारीले जनाएका छन् ।मन्त्रालयले बिशेष रणनीतिका साथ लक्षित उपलब्धि हाशिल नभएसम्म आजदेखि खोप अभियान जारी राख्ने जनाएको छ । सम्बन्धित जिल्लामा स्वास्थ्यकर्मी काममा नफर्किएको खण्डमा बैकल्पिक स्वाथ्यकर्मीको व्यवस्था गरेर भएपनि खोप कार्यक्रम सफल बनाउने मन्त्रालयको तयारी मन्त्रालयको छ । हिजोदेखि काठमाण्डौ उपत्यकाका तीन सहित १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्य सुरु गरिएपनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन सकेन । कपिलवस्तु, काठमाडौँ ललितपुर र बर्दिया जिल्लामा भने सहजरुपमा कार्यक्रम सम्पन्न भएपनि अन्य जिल्लामा भने आंशिक रुपमा पोलियो खुवाइएको छ । स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सप्तरीमा भने खोप कार्यक्रम सुरु नै हुन नसकेको बालस्वास्थ्य महाशाखाले जनाएको छ । फागुन पहिलो साताका लागि तय अभियान स्वास्थ्यकर्मीको आन्दोलन र तालाबन्दीका कारण १५ दिनपछि सारिएको थियो ।

परराष्ट्रमन्त्री डा. महत नेपाल फर्किए

काठमाडौँ, फागुन २१। स्विट्जरल्यान्डको जेनेभामा आयोजित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ३४औँ सत्रमा सहभागी पश्चात परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत आज नेपाल फर्किएका छन् । सो सत्रमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री मन्त्री डा. महत यही फागुन १४ गते जेनेभा प्रस्थान गरेका थिए । मन्त्री महतले जेनेभामा उक्त सत्रलाई सम्बोधन गर्नुका साथै त्यहाँ पाँच दिनसम्म रहँदा विभिन्न देशका विदेशमन्त्री, मन्त्रीका साथै संयुक्त राष्ट्रसङ्घीय उच्च अधिकारीहरुसँग भेटवार्ता गरेको परराष्ट्रमन्त्रीका प्रेस संयोजक एकराज पाठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई बताएका छन् । नेपालले आगामी सन् २०१८ देखि २०२० सम्मका लागि राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा उम्मेदवारी दिएको छ । त्यहाँ रहँदा उनले मानवअधिकारको संरक्षण र सम्मानमा नेपालको प्रतिबद्धता रहेको जानकारी गराउँदै सो पदमा मतदानका लागि विश्व समुदायसँग आग्रह गरेको उनले जानकारी दिए । नेता महतले स्विस विदेशमन्त्री डिडियर बुर्खाल्टरसँगको भेटवार्ताका क्रममा नेपाललाई पुनःनिर्माणका साथै अन्य क्षेत्रमा आर्थिक सहयोगका लागि आग्रह गरे । त्यसैगरी हङ्गेरीका विदेशमन्त्री पिटर सिजार्तोले नेपाललाई जलविद्युत् उत्पादनका क्षेत्रमा रु एघार अर्बभन्दा बढी सहयोग गर्ने र प्रत्येक वर्ष १० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिने बताए ।

बर्डफ्लुको संक्रमण भएका हाँस कुखुरा भेटिए

पोखरा, फागुन २१ । पोखरा उपमहानगरपालिका वडा नं १८ खाल्टेमसिनामा दीपेन्द्र केसीले पालेका कुखुरामा पनि बर्डफ्लुको जिवाणु भेटिएको छ । यसअघि झण्डै एक हप्ताअघि साेही ठाउँमा मीना परियारको घरमा पालेको हाँसमा बर्डफ्लुको संक्रमण भेटिएको थियाे । एक साताभित्रै पोखराकै दुई स्थानमा बर्डफ्लुको संक्रमण भेटिएपछि पोखराको १ देखि १८ नम्बर वडाभित्र पंक्षी र पंक्षीजन्य पदार्थ ओसारपसारमा रोक लगाइएको छ । पशु सेवा कार्यालयले आज देखि १० दिन अर्थात आगामी फागुन ३० गतेसम्मका लागि ओसारपसारमा रोक लगाएको छ । जिल्ला एभियन ईन्फ्लुएन्जा प्राविधिक समितिको आज बसेको बैठकले संक्रमित क्षेत्रको चार किल्ला निर्धारण गरेपछि कार्यालयले सो क्षेत्रमा पंक्षीजन्य वस्तु ओसारपसारमा रोक लगाएको विज्ञप्ती मार्फत जनाएको छ ।

हत्या गरी पुरेको अवस्थामा युवतीको शव फेला

भक्तपुर, फागुन २१। नगरकोट नगरपालिका–११ मुहान पोखरीमा पुरेको अवस्थामा एक युवतीको शव फेला परेको छ । अन्दाजी २० वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरेको शवको हात देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए । अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान सुरु गरेको जानकारी दिएका छन् । उनले युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने बताए ।

उपत्यकाका नदीहरुबाट निकालियो ३२ मेट्रिक टन फोहर

काठमाडौँ, फागुन २१। उपत्यकाका प्रमुख नदी सफाइ गरी ३२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९९ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरदेखि मनोहरा नदी दोभानसम्म सफाइ गरी १६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी उमेश बोहराले जानकारी दिएका छन् । सफाइमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत संस्थाका गरी सात सय व्यक्तिको सहभागिता थियो । सफाइको नेतृत्व चीनका लागि नेपाली राजदूत एवम् पूर्वमुख्य सचिव लीलामणि पौडेलले गरेका थिए । सफाइमा पूर्वसचिव किशोर थापा, चीनका लागि पूर्वनेपाली राजदूत डा महेश मास्के, अधिकारसम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यहरु, गायत्री परिवारका डा राजु अधिकारी, एस ट्राभल्सका अर्जुन धरेललगायत अभियन्ताको सहभागिता थियो । फागुन २८ गते शनिबार बागमती सफाइको २००औँ हप्तालाई विशेष कार्यक्रमका रुपमा राजधानीको शंखमूलमा तयारी गरिएने भएको छ ।

निर्धारित मितिमै चुनाव हुन्छ

पोखरा, फागुन २१ । वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचनले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन् । शनिबार नेपाल वितरण महासङ्घको साधारण सभामा उनले सरकार निर्वाचनको सम्पूर्ण तयारीमा जुटिसकेको हुँदा निर्धारित मितिमै निर्वाचन हुने बताए । उनले देशका रुग्ण उद्योगलाई पुनः व्यवस्थित गर्दै बेरोजगारीका कारण विदेसिएका युवा शक्तिलाई स्वदेशमै रोजगारी दिने गरी सरकारले तयारी गरिरहेको छ भन्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले व्यापारीले केवल मुनाफामा मात्र केन्द्रित नभई सेवा एवम् जिम्मेवारीताको भावना राख्नुपर्ने बताए । करको दायरामा नजाने प्रवृत्तिले पछि स्वयम्लाई नै अप्ठेरो पार्नेतर्फ गम्भीर बन्न उनले व्यवसायीलाई आग्रह गरे । कार्यक्रममा नेपाल वितरण महासङ्घका अध्यक्ष डम्बर थापा, महासचिव हरिराज पन्त, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे, सिटी रेवानका अध्यक्ष केपी शर्मा लगायतले वाणिज्य क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए । साधारण सभामा मुलुकका ३२ जिल्लाका एक सय २० जना प्रतिनिधिको सहभागिता रहेको छ । रासस

चितवनमा लागुऔषध मुद्दामा ६१ जनालाई कारबाही

चितवन, फागुन २१ । चितवन लागुपदार्थ ओसारपसारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको छ । चितवनको बाटो हुँदै देशका विभिन्न जिल्ला र विदेशमा समेत लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको अनुसन्धानले समेत देखाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनको चालु आव २०७३र७४ को तथ्याङ्कमा उल्लेख भएका लागुऔषधसम्बन्धी मुद्दाबाट ठूलो परिमाणको लागुऔषध बरामद हुनुले चितवन लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट’ बनेको प्रस्टिन्छ। देशका सबै भूगोलमा सहज रुपमा आवागमन गर्न सकिने भएकाले चितवनमा लागुऔषधको कारोबार बढी हुने गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताए। चालू आवको माघ महिनासम्म चितवनमा करिब तीन सय ४९ किलो चरेस बरामद भएको छ । त्यसैगरी २६ किलो गाँजा र १४ लिटर कोरेक्स बरामद गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए। चालु आवको सात महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालय चितवनले डाइजापाम नौ सय ६० एम्पुल, ब्रुफिर्नोफिन नौ सय ४८ एम्पुल, फेनारगन नौ सय ३८ एम्पुल, खैरो हिरोइन १७ ग्राम, नाइट्राजेपाम दुई सय ४६ ट्याब्लेट, स्पास्मो प्रोक्यभोन ३२ क्याप्सुलजस्ता लागुऔषध बरामद गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए। लागूऔषध कारोबारमा संलग्न विभिन्न व्यक्तिलाईसमेत प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । चितवनमा २०७३ साल साउनदेखि माघ महिनासम्ममा लागुऔषधसम्बन्धी विभिन्न ३५ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६१ जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । लागूऔषधको कारोबारमा संलग्न सबैलाई लागुऔषध ओसारपसार तथा नियन्त्रण ऐनअन्तर्गत मुद्दा दायर भएर कारबाही चलाइएको छ । रासस

बस भित्रै जलेर एक जनाको मृत्यु

दाङ, फागुन २१ । दाङको घोराहीमा एकजना व्यक्तिको बस भित्रै जलेर ज्यान गएको छ । घोराही–१० स्वर्गद्वारी टोलमा पार्किङ गरी राखिएको ना ३ ख ९०२२ नम्बरको बसमा शुक्रबार राति आगलागी हुँदा बसभित्र रहेका एकजनाको जलेर ज्यान गएको दाङका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिए । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । आगलागी हुँदा बस भित्रै सुतिरहेका ती व्यक्ति जलेर ज्यान गएको हुन सक्ने अनुमान प्रहरीको छ । ज्यान जानेमा अन्दाजी २५ वर्षीय व्यक्ति रहेका छन् । उहाँको अनुहार, हातखुट्टा एवम् शरीरका विभिन्न भाग जलेकाले पहिचान गर्न समस्या भएको प्रहरीले जनाएको छ । उनको शव स्वस्थ्य परीक्षणका लागि राप्ती उप–क्षेत्रीय अस्पताल घोराहीमा लगिएको छ । आगो लागेको बस भने घोराही–११ रतनपुर निवासी लक्ष्मण डिसीको रहेको प्रहरीले जनाएको छ । रासस

शनिबारदेखि क्यान्सरका बिरामी र कुरुवालाई निःशुल्क बस (रुटसहित)

भक्तपुर, फागुन २१ । क्यान्सरका रोगको परीक्षण एवं उपचारका लागि अस्पताल आउन सहज बनाउने उदेश्यले भक्तपुर क्यान्सर अस्पतालले शनिबारदेखि क्यान्सरका बिरामी तथा कुरुवाका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । अस्पतालले दुईवटा बसबाट बिहान साढे पाँच बजेदेखि राति साढे ८ बजेसम्म बिरामीका लागि सेवा दिने अस्पताल प्रशासन प्रमुख राजाराम तजलेले जानकारी दिए । बस सेवा लिन बिरामी वा बिरामीका कुरुवाले अस्पतालको कार्ड भने अनिवार्य रुपमा साथमा लिनु पर्नेछ । भक्तपुर क्यान्सर अस्पतालबाट जाने बस सल्लाघारी हुँदै ठिमी, जडिबुटी, कोटेश्वर मुनीभैरव मन्दिर अगाडिबाट फर्केर फेरि अस्पताल फर्कनेछ । त्यसैगरी अर्को बस भक्तपुर क्यान्सर अस्पतालबाट ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, माईतीघर, थापाथली, त्रिपुरेश्वर, टेकु, कालीमाटी, फेरि टेकु फर्केर त्रिपुरेश्वर, वीर अस्पताल, लैनचौर, लाजिम्पाट, टिचिङ्ग अस्पताल, चक्रपथ, नारायणगोपाल चोक, चाहविल, मित्रपार्क, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर, जडिबुटी, ठिमी, सल्लाघारी हुँदै अस्पताल आइपुग्नेछ । फाइल तस्वीर

पारिवारिक घटना दर्तासम्बन्धी जनचेतनामुलका प्रदर्शनी

ललितपुर, फागुन २१ । जनचेतनाका अभावमा परिवारिक घटनाको दर्ता नगराउँदा सर्वसाधारणहरु राज्यले दिने सेवा सुविधाबाट वञ्जित हुनुपरेका घटनाहरु गाँउघरमा धेरै भेटिन्छ । यही पारिवारिक घटनाको दर्ताका बारेमा जनचेतना जगाउने उद्देश्यले मानव अधिकारका लागि महिला एकल महिला (डब्लुएचआर)ले जिल्लाको चौघरे गाविसमा जनचेतनामुलक एक दिने प्रदर्शनी सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै चौघरे गाविसका सचिव चित्रध्वज खड्काले सर्वसाधरणमा जनचेतनाको कमी हुँदा पारिवारिक घटना दर्ता नहुने गरेको बताए । उनका अनुसार मानिसहरु आवश्यक पर्दा मात्र घटना दर्ता गर्न आउने गरेको बताए । स्थानीय समुदायमा बालविवाह हुँदा समयमै विवाह दर्ता गर्न कानुनी जटिलता हुने र यसले दीर्घकालिन असर पर्ने उनले बताए ‘सानैमा विवाह दर्ता हुन्छ । कानुनले बालविवाहलाई मान्यता दिएको छैन्’, उनले भने, ‘विवाह दर्ता नहुँदा नागरिकता बन्दैन्, नागरिकता नबन्दा उनीहरुबाट जन्मिने सन्तानको जन्मदर्तामा समेत समस्या उत्पन्न हुने गरेको छ ।’ कानुनी प्रक्रिया नबुझ्दा समेत समस्या थप जटिल बन्ने गरेको उनले बताए । ‘हामीकहाँ विवाह दर्ता गर्न बच्चा जन्मिएपछि आउँछन्, त्यो पनि महिला एक्लै’, उनले भने, ‘श्रीमान विदेशमा हुन्छन्, महिला एक्लै विवाह दर्ता गर्न आँउदा कानुनले हामीलाई रोक लगाउँछ, त्यसपति बच्चाको पनि जन्मदर्ता हुँदैन् ।’ यो समस्याले बालबालिका विद्यालयमा भर्ना हुन समेत नपाउने गरेको उनको भनाई छ । कार्यक्रममा बोल्दै महिला बालबालिका कार्यालय ललितपुरकी अधिकृत शारदा विजुक्छेले समयमै पारिवारिक घटना दर्ता गराएर राज्यले दिने सुविधाको उपयोग गर्न आग्रह गरिन् । कार्यालयले एकल महिलाहरुका लागि रकम विनियोजित गरे पनि पारिवारिक घटना दर्ता तथा स्थानीय स्तरमा जनचेतना नहुँदा रकम खर्च हुन नसकेको बताइन् । कार्यक्रममा बोल्दै डब्लुएचआरकी कार्यक्रम प्रवन्धक उपाश्ना राणाले पारिवारिक घटना दर्ताको महत्त्व बुझाउनकै लागि डब्लुएचआरले गाँउ गाउँमा जनचेतनामुलक प्रदर्शनी गर्दै आएको जानकारी दिइन् । अक्सफार्मको सहयोगमा साझेदार संस्थाहरु डिप्रोक्स नेपाल, एनफो ‘वातावरण र स्वास्थ्य’को सहकार्यमा डब्लुएचआरले चौघरे गाविसमा एक दिने जनचेतना मुलक प्रदर्शनी गरेको हो । प्रदर्शनीमा स्थानीय महिला तथा विद्यालयका बालबालिकाहरुले प्रदर्शनीको अवलोकन गरेका थिए । प्रदर्शनीमा जनचेतना मुलक नाटक अनागरिक समेत देखाइएको थियो ।

चैत १ गते नेविसंघको अनसनपछि आयुर्वेद क्याम्पसमा स्ववियु निर्वाचन हुने

काठमाडौं, फागुन २१ । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको आयुर्वेद क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन चैत १ हुने भएको छ। शुक्रबार क्याम्पसमा ५ विद्यार्थी सङ्गठनहरु बीच भएको छलफलबाट निर्वाचनको मिति पूनस् घोषणा भएको हो । फागुन १८ गते नै संचालन हुनुपर्ने स्ववियु निर्वाचनको कार्यक्रममा आफ्नो असन्तुष्टि व्यक्त गर्दै अनेरास्ववियु (नयाँ शक्ति) क्रान्तिकारी लगायतको प्यानलले फागुन १७ गते दिउँसो निर्वाचन समितिको कार्यलयको कोठामा तालाबन्दी गरेको थियो । नेपाल विद्यार्थी संघका समर्थित विद्यार्थीहरु प्रशन्न नेपाल र सुशान्त भण्डारी बिहानै देखि रिले अनसनमा बसेका थिए। निर्वाचनको मिति सार्वजनिक भए पश्चात् अनसन तोड्दै अनसनकर्ता प्रशन्न नेपालले स्ववियु निर्वाचन रोकिएका अन्य क्याम्पसहरुमा पनि पुनः निर्वाचन संचालन गर्न आह्वान समेत गरेका छन्।