प्रहरीमाथि जाइलाग्ने कांग्रेस नेता पक्राउ

नेपालगन्ज, फागुन १७ । बाँकेको बागेश्वरी बहुमुखी क्याम्पसमा मदिरा रक्सी खाएर आई प्रहरीमाथि नै जाइलाग्न खोज्दा कांग्रेसका एक नेता पक्राउ गरेका छन् ।

क्याम्पसमा सञ्चालक समितिको बैठक चलिरहेका बेला नेपाली कांग्रेसका नेता कृष्ण कार्कीले मदिरा सेवन गरी आई त्यहाँ होहल्ला गरेको र प्रहरीमाथि पनि हातपात गर्न खोज्ने खोजेपछि इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो ।

सञ्चालक समितिका सदस्यसमेत रहेका कार्की रक्सी खाएर बैठककक्षमा सहभागी भएपछि विवाद उत्पन्न भएको थियो । उनी कांग्रेसको तर्फबाट कोहलपुर नगर विकास प्रमुखसमेत बनिसकेका छन् । उनी अहिले कांग्रेस अनुगमन तथा मूल्याङ्कन विभागमा छन् ।

कार्कीले क्याम्पसका प्राध्यापकलाई थर्काउन थालेपछि प्रहरीले बाहिर निकाल्न लाग्दा प्रहरीमाथी नै हातपात गरेपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रको नाममा सम्बोधन गर्ने

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेका छन् । मंगलबार साँझ ५ बजे सिंहदरबारबाट प्रधानमन्त्री प्रचण्डले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । पछिल्लो राजनीति अवस्था, राजनीतिक गतिरोधबारे सरकारले चालेको भूमिका, स्थानीय निकायको निर्वाचन लगायतका विषयमा विशेष पत्रकार सम्मेलन मार्फद सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीसँग भारतीय राजदूतको बिदाइ भेट

काठमाडौं, फागुन १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत रञ्जित रायले बिदाइ भेट गरेका छन् । आफ्नो कार्यकाल पुरा गरी दिल्ली फर्कन लागेका रायले बालुवाटारमा प्रधानमन्त्रीसँग औपचारिक बिदाइ भेट गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले राजदूत रायको कार्यकाल प्रभावकारी र सन्तुलित रहेकोमा धन्यवाद दिँदै नेपाल र भारत बीचको सम्बन्ध थप गाढा र घनिष्ठ बन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले रायको कार्यकालमा नेपालमा सञ्चालित विकास आयोजनाहरुको तिव्रता, दुई देशीय अनुगमन संयन्त्रको कार्यसम्पादनमा प्रभावकारिता, दुई देशबीच उच्चस्तरीय भ्रमण भएको बताउँदै आगामी दिन यसले थप तिब्रता पाउने विश्वास व्यक्त गरे । भेटमा राजदूत रायले आफ्नो कार्यकालमा नेपाल सरकार र नेपाली जनताबाट सकारात्मक सहयोग पाएकोमा खुसी व्यक्त गर्दै त्यसका लागि नेपाललाई धन्यवाद दिए । भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा। ऋषिराज अधिकारी, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना लगायत उपस्थित थिए ।

सिँजा बहुमुखी क्याम्पसको सभापतिमा खत्री निर्विरोध

जुम्ला,  फागुन १७ । जुम्लाको सिँजास्थित सिँजा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेवि सङ्घका अमरसिंह खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । सम्पूर्ण विद्यार्थी सङ्गठनको सहमतिका आधारमा सोमबार खत्री सभापतिमा निर्वाचित हुनुभएको स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत नवीन शर्माले जानकारी दिनुभयो । त्यसैगरी, उपाध्यक्षमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका रवि बडुवाल र सचिवमा अखिल क्रान्तिकारीका तीर्थ तिरुवा निर्वाचित हुनुभएको अधिकृत शर्माले बताउनुभयो । यसैगरी, कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सविता आचार्य, सहसचिवमा भुपिनन्द जैसी र सदस्य धनमान रोकाया र गोविन्द रोकाया निर्वाचित भएको स्ववियु निर्वाचन समितिले जनाएको छ । विसं २०६५ मा स्थापना भएको सिंजा बहुमुखी क्याम्पसमा ७७ जना विद्यार्थी रहेका थिए । खत्री सिंजा बहुमुखी क्याम्पस स्थापनाकालको पहिलो स्ववियु सभापतिमा निर्वाचित हुनुभएको छ । नवनिर्वाचित सभापति खत्रीले जनशक्ति र भौतिक पूर्वाधारको समस्या भएको यो क्याम्पसको उचित व्यवस्थापनका लागि पहल गर्ने बताउनुभएको छ । जुम्ला बहुमुखी क्याम्पसमा भने विद्यार्थी सङ्गठनको विवादका कारण आजका दिनसम्म चुनाव हुने वा नहुने भन्ने यकिन हुन सकेको छैन । रासस

महासंघमा पत्रकारको आमरण अनशन तोडियो

काठमाडौँ,फागुन १७। नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा यही फागुन ११ गतेदेखि दुई पत्रकारले जारी राखेको आमरण अनशन सोमबारदेखि तोडिएको छ । महासङ्घको गतिविधि राजनीतितर्फ बढी भएको र क्रियाशील पत्रकारलाई छाडेर अन्यलाई बढी प्राथमिकता दिएको तथा पाँचथर तथा इलाममा भएको जिल्ला अधिवेशन पारदर्शी नभएको जनाउँदै पत्रकारद्वय लवदेव ढुङ्गाना र प्रेम अधिकारी आमरण अनशनमा बस्नुभएको थियो । महासङ्घका पूर्वसभापतिद्वय किशोर नेपाल र डा सुरेश आचार्यको उपस्थितिमा महासङ्घ पदाधिकारी र अनशनरत पक्षबीच सहमति भएपछि पत्रकारद्वयको अनशन समाप्त भएको हो । सहमतिपत्रमा महासङ्घका तर्फबाट सचिव धर्मेन्द्र कर्ण र अनशनरत पत्रकारद्वय ढुङ्गाना र अधिकारीले हस्ताक्षर गर्नुभएको छ । महासङ्घ पाँचथर शाखामा भएको नयाँ सदस्यता तथा नवीकरणका सम्बन्धमा शाखा कार्यसमितिले सिफारिस गरेबमोजिम नै केन्द्रले स्वीकृत गर्नुपर्ने, जिल्लामा व्यक्त असन्तुष्टिलाई सम्बोधन गर्नुपर्ने, इलाम शाखाको असन्तुष्टि सम्बोधन गर्न महासङ्घ केन्द्रले संयन्त्र बनाई समाधान गर्र्नुपर्ने, ताप्लेजुङ शाखाको महाधिवेशन प्रक्रियाका बारेमा पनि केन्द्रीय संयन्त्रले नै समस्याको समाधान गर्नुपर्ने दुई पक्षबीच सहमति भएको छ । रासस

धाइजनको सहिदमार्ग पुनः सूचारु हुने

झापा, फागुन १६ । निर्माणाधिन अवस्थामै अलपत्र परेको झापाको दुहागढी—६ धाइजनमोडदेखि दुहागढी—१ जोडिने सहिदमार्ग पुनः सूचारु हुने भएको छ । नव सृजनशील युवा समाजले स्थानीयबासी, निर्माण समिति र सम्बन्धित ठेकेदारसँग सोमबार आयोजना गरेको ‘समस्या र त्यसको सामाधान’ विषयक छलफल ठेकेदारले प्रतिबद्धता जाहेर गरेपछि उक्त मार्ग मंगलबारबाट सुचारु हुने भएको हो । सहिदमार्ग निर्माण निपरन्तर नहुँदा धुँलो र धुवाका कारण आफूहरुलाई समस्या परेको भन्दै स्थानीयबासीले चाडो निर्माण गरिदिन ठेकेदारलाई ध्यानाकर्षण गराका थिए । सोही क्रममा ठेकेदार ‘दीवा झापाली जेभी व्लिडर्स’ का प्रबन्ध निर्देशक शेरबहादुर थापाले काम सूचारु गर्दा स्थानीयको सहयोग भए मंगलबारबाटै कालोपत्रको काम सूचारु गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । २०७३÷०७४ मा सहिदमार्गको स्तरोन्नतिका लागि क्षेत्र नम्बर २ का सभाषदको सांसद विकास कोष र स्थानीय निकायको गरी ३ करोड १५ लाख निकासा भएपछि ०७३ साल बैसाखबाट उक्त बाटोको निर्माण सुरु गरिएको थियो । एक चरणको कामपछि ठेकेदारले बाटो निर्माणमा ससाना समस्या आएको भन्दै ठेकेदारले निर्माण रोकेको थिए । ५ किलोमिटर २ सय मिटर लम्बाई र ४० फुट चौडाई रहेको उक्त सहिदमार्गमा ‘डबल वेस सकेस डेसिङ’ को कालोपत्रे गरिने ठेकेदार थापाले भनाई छ । उनले मंगलबारदेखि बाटो खन्ने काम सुरु गर्ने र ३० डिग्री सेल्सियस मौसम भएपछि कालोपत्रे गरिने बताए । कार्यक्रममा रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सर्वसाधारणले ठेकेदारप्रति देखाएको सहानुभूतिलाई ठेकेदारले अनुशरण गर्दै चाडो भन्दा चाडो निर्माण सूचारु गर्न आग्रह गरेका थिए । प्रतिउत्तरमा कम्पनीका साइड इन्चार्ज मौसम थापाले बाटो निर्माण गर्दा सुरुदेखिको अवस्थाका विषयमा प्रष्ट पारेका थिए । कार्यक्रममा निर्माण समिति र स्थानीय नव सृजनशील युवा समाजले बाटो रेखदेख तथा अनुगमन गर्ने समेत निर्णय भएको छ । नव सृजनशील युवा समाजका अध्यक्ष बद्री महतले समयमै बाटो निर्माण नहुँदा धुलोका कारण स्थानीयवासी आक्रान्त बनेको ध्यानाकषर्ण गराउँदै निर्माणमा कुनै पनि समस्या आए स्थानीयको तर्फबाट ठेकदारलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । त्यसैगरी अभिनारायण मैनाली, कृष्ण सुवेदी, गोपीराज मैनाली, सूर्य कडरिया, श्याम राजवंशीलगायतले समयमै बाटो निर्माण नहुँदा आफूहरु पीडित भएको भन्दै चाडो निर्माण गर्न ठेकदारलाई सुझाव दिएका थिए । बद्री महतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश उप्रेतीले गरेका थिए ।

प्रत्यक्ष राष्ट्रपति हुनुपर्ने भन्दै नयाँ शक्तिले गरायो ७५ हजारको हस्ताक्षर

ललितपुर, फागुन १६ । नयाँ शक्ति नेपाल पार्टीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थासहितको शासकीय स्वरुप हुनुपर्ने माग गर्दै सरकारलाई दबाब दिन ७५ हजार हस्ताक्षर संकलन गराएको छ । उक्त हस्ताक्षर फागुन २७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई बुझाइने नयाँ शक्ति नेपाल ललितपुरका संयोजक रोशन पोखरेलले जानकारी दिए । जिल्लामा माघ २ गतेदेखि शुरु भएको उक्त हस्ताक्षर अभियानको आज एक कार्यक्रमबीच लगनखेलमा समापन गरिएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक व्यवस्थापिका संसदको लागि दबाब दिन हस्ताक्षर अभियानमार्फद जनताको मत बुझ्ने काम भएको संयोजक पोखरेलले जानकारी दिए । एक महिना १४ दिनसम्म चलेको अभियान जिल्लाको सबै गाउँपालिका र नगर तथा उपमहानगरपालिकाको सबै वडाहरुमा गरिएको पोखरेलले बताए । उनले भने–‘आजसम्म ७५ हजार भन्दा बढी हस्ताक्षर सङ्कलन भैसकेको छ, फाल्गुन २७गते र्याली सहित गएर संकलन भएको उक्त हस्ताक्षर प्रधानमन्त्रीलाई बुझाउने तयारी गरेका छौं ।’ जिल्लाका दुर्गम गाउँदेखि शहरसम्मका जनता, सबै पार्टीका नेता, कार्यकर्ता सबैले आफ्नो पार्टीले उठाएको मागमा समर्थन जनाएको उनले दाबी गरे । विशेष गरेर युवाहरुले हाम्रो माग मन पराए ।

स्थानीय निर्वाचनका लागि एमालेद्वारा दल दर्ता

काठमाडौं, फागुन १६ । स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगमा नेकपा एमालेले दल दर्ता गराएको छ । पार्टी कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा सोमबार गएको टोलीले आयोगमा दल दर्ता गराएको हो । सार्वजनिक विदाको दिन पनि निर्वाचन आयोगमा काम भइरहेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय चुनावको तयारीसँगै दल दर्ताको काम भइरहेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् । स्थानीय तहको चुनावमा भाग लिन राजनीतिक दलहरुका लागि आयोगले फागुन १८ गतेसम्मका लागि समय तोकेको छ ।

त्रिविले भन्यो-‘मनोनयन दर्ता भएका क्याम्पसमा मात्र स्ववियु निर्वाचन’

काठमाडौं फागुन १६ । त्रिभुवन विश्वविद्यालयले मोनयन दर्ता भएका क्याम्पसमा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने भएको छ । त्रिविका प्रवक्ता भोला ढकालका अनुसार आइतबारसम्म मनोनयन दर्ता भएका मुलुकभरका २५ वटा क्याम्पसमा त्रिविले तोकेकै समयमा चुनाव गराउने भएको हो । त्रिवि र विभिन्न विद्यार्थी संगठनबीच भएको सहमति अनुसार आज विहान साढे १० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिए पनि विद्यार्थी संगठनकै आपसी मतभेदका कारण थप क्याम्पसमा मनोनयन दर्ता हुन सकेन । मुलुकभरका ६० वटा क्याम्पस मध्ये २५ वटामा मात्र मनोनयन दर्ता भएको त्रिविले जनाएको छ । फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति फागुन १८ गतेलाई सारिए पनि सबै क्याम्पसमा निर्वाचनको वातावरण बन्न सकेको छैन । धेरै क्याम्पसमा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हासिल गरिसकेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । उनले भने-  ‘सोमबार विहान ११ बजेसम्म हामीले देशभरका १५ वटा क्याम्पसमा निर्विरोध र चुनावी प्रतिस्पर्धा गरेर विजयी भएका छौं ।’ एमाले अखिल बलियो रहेको भनिएका रत्नराज्य लक्ष्मी क्याम्पसको लेखा शाखामा अखिलकै व्यक्तिहरुको संम्लग्नतामा आइतबार आगजनी भएको छ भने नेविसंघ बलियो भनिएको त्रिचन्द्र क्याम्पसमा पनि उनीहरुले तालाबन्दी गरेका छन् ।

म्याग्दीको स्लेटखानी सञ्चालनमा ल्याउन माग

म्याग्दी, फागुन १६ । म्याग्दी जिल्लाको दुर्गम रुम गाविसमा रहेको स्लेट र छाउनी ढुङ्गाको खानीलाई सञ्चालनमा ल्याउन स्थानीयले सरकारसँग माग गरेका छन् । रुम गाउँको शिरानमा रहेको सो स्लेट खानीमा गुणस्तरीय स्लेट र छाउनी ढुङ्गा निकाल्न सकिने भए पनि प्रविधिको अभाव र लगानीको समस्याका कारण स्थानीयले थोरै मात्रामा खानीबाट स्लेट र छाउनी ढुङ्गा निकालेर बिक्री गर्दै आएका छन् । रुममा रहेको विशाल स्लेट खानीलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सक्ने हो भने दैनिक ३५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने र राज्यलाई वार्षिक लाखौँ राजस्व प्राप्त हुने सम्भावना रहँदारहँदै पनि सरकारी निकायबाट बेवास्ता गरिएको स्थानीय टेकबहादुर विश्वकर्माले बताए । यहाँको स्लेट र ढुङ्गा स्तरीय र चिल्लो भएको हुँदा पोखरा, बागलुङलगायतका ठाउँबाट पनि माग हुँदै आएको विश्वकर्माले जानकारी दिए । अहिले सो ढुङ्गा खानीको बाहिरी भागबाट निकालिएको ढुङ्गा बेचेर वार्षिक रु २५ लाखभन्दा बढी आम्दानी हुँदै आएको विश्वकर्माको भनाइ छ । ढुङ्गाखानीबाट भएको आम्दानीले रुमको राष्ट्रिय माविका शिक्षकलाई तलब खुवाउँदै आइएको छ ।

 अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य ससीधर जैशीको निधन

काठमाडौं, फागुन १६ । अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सदस्य ससीधर जैशीको निधन भएको छ । अखिल भारत नेपाली एकता मंच केन्द्रीय समितिका अध्यक्ष ईश्वरी भण्डारी र महासचिव चक्र बहादुर मलाती ले एक बिज्ञप्ति जारी गर्दै सदस्य ससीधरको मृत्युप्रति शोक व्यक्त गरेको छ । ५४ वर्षीय जैशीको मृगौला रोगका कारण निधन भएको समितिले जनाएको छ । विज्ञप्तिमा एउटा ईमानदार , लोकप्रिय , जुझारु , कर्मठ नेता गुमाएकोमा सिंगो संगठन स्तब्ध भएको उल्लेख छ । संगठनले जैशीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दे शोकाकुल परिवारजन प्रति गहिरो समवेदना प्रकट गरेको छ  । जैसी , भानु नगरपालिका १ , नेपाल ,घर भइ हाल  भारतको दिल्ली फरिदाबाद बस्दै आएका थिए ।  

प्रधानमन्त्रीले भने – दलितहरुको मुद्दालाई संयुक्त राष्ट्र संघमा प्रभावकारी रुपमा राख्छु

काठमाडौं, फागुन १६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलितहरुको मुद्दालाई संयुक्त राष्ट्र संघमा प्रभावकारी रुपमा राख्ने  प्रतिबद्धता व्यत्त गरेका छन् । सोमबार बिहान विश्व दलित संगठनका प्रतिनिधिहरुको भेटमा प्रधानमन्त्रीले विश्वव्यापी रुपमै संगठित भएर दलित अधिकारको पक्षमा आवाज उठाउनु स्वागतयोग्य रहेको भन्दै नेपाल सरकारले दलितहरुको मुद्दालाई संयुक्त राष्ट्र संघमा प्रभावकारी रुपमा राख्ने प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले दलित समुदाय राज्यबाट सबै हिसाबले उत्पीडनमा पारिएको समुदाय भएको र  राजतन्त्र र एकात्मक सत्ताले दलितहरुलाई विभेद गरेपनि  त्यसका विरुद्ध संघर्ष गर्दै आएको बताए ।  सबै जाति, क्षेत्र, वर्ग, लिंग र सीमान्तकृत समुदायको अधिकारका पक्षमा दलितहरु खुलेर लागेको बताउँदै प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्र र सबैको समान अधिकार आफ्नो सपना भएको बताए । साथै उनले आफ्नो सपनामा दलितहरुको राम्रो साथ रहेकोमा खुसी व्यक्त्त गरे । भेटमा दलित अगुवाहरुले सीमान्तकृत समुदाय र दलितहरुको पक्षमा प्रधानमन्त्रीले व्यक्तिगत र संस्थागत रुपमा गरेको संघर्ष र संविधानमा लिपिवद्ध अधिकारबारे आफूहरु अवगत रहेको जानकारी गराउँदै दलितका मुद्दाहरुलाई संयुक्त राष्ट्र संघसम्म लगेर नीतिगत परिमार्जनमा सहयोगका लागि आग्रह गरेका थिए ।

सप्तरीमा तीस दल दर्ता

सप्तरी, फागुन १६ । स्थानीय निकायको निर्वाचन घोषणा भइसकेको वर्तमान परिस्थितिमा सप्तरी जिल्लामा हालसम्म ३० वटा राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । निर्वाचन आयोगमा दर्ता रहेका १११ दलमध्ये ८१ वटा दलले दल दर्ता नगराएको बताइएको छ । मधेस केन्द्रित दल तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), थरुहट तराई पार्टी, चुरे भावर पार्टीलगायतका थुप्रै पार्टीले निधारित मितिमा दल दर्ता नगराएको कारण दल दर्ता म्याद नथपिएकाले र स्थानीय निकायमा भाग लिन नपाउने अवस्था सिर्जना भएको सो कार्यालयले जनाएको छ । निर्वाचन आयोगले गत माघ १७ गतेसम्म दल दर्ता गर्न दिएको म्यादभित्र दल दर्ता गराएका दलले मात्र स्थानीय निकाय तहको निर्वाचनमा सहभागी हुन पाउने जानकारी दिँदै कार्यालयका निर्वाचन अधिकारी महेश ठाकुरले दललाई सूचना जारी गरी जानकारी दिएको बताउनुभयो । धेरै पार्टीको स्थानीय तहमा कार्यालय नरहेको बताउँदै उहाँले जिल्लामा कार्यालय सम्पर्कमा रहेका पार्टीलाई पत्रमार्फत र टेलिफोनमार्फत जानकारी गराएको उल्लेख गर्नुभयो । कार्यालयले दलको ठेगाना सम्पर्क नम्बर कार्य समिति विवरण, पार्टीको छापसहितको विवरण भरेर दल दर्ताको लागि सूचना जारी गराइएको जानकारी दिएको छ । रासस

तस्करीहरू पेसा परिवर्तन गर्दै !

विराटनगर, फागुन १५ । मोरङ प्रहरीले सीमावर्ती क्षेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कारबाही थालेपछि उनीहरु पेसा परिवर्तन गर्न बाध्य भएका हुन् । तस्करहरूले नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्स एवं दैनिक तथा अन्य प्रतिबन्धित सामग्री आसपासका विभिन्न क्षेत्रबाट तस्करी गर्दै आएका थिए । प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरु विभिन्न व्यापार व्यवसायमा लागेका छन् । तस्करी छाडेर सिटी रिक्सा सुरु गरेका विराटनगर– १९ का समशेर आलमले भने, “सामान किनेर ल्याउँदा आफ्नो पनि खुब पैसा लागेको हुन्छ । प्रहरीले माल खोस्छ, अनि कारबाही पनि गर्छ । यस्तो लफडामा किन लाग्नू भनेर रिक्साको काम सुरु गरेंँ । धेरै साथीहरुले वारपारको काम छाडिसके ।” राजस्व चुहावट तथा लागुऔषध ओसारपसार रोक्नका लागि गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।” विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य हुन्थ्यो, अब हामीले अपराधीलाई पनि कारबाहीको दायरामा ल्याउन थालेका छौंँ”, प्रहरी निरीक्षक सन्दीप भण्डारीले बताए ।

स्ववियु निर्वाचनमा विद्यार्थीको प्रतिवद्धता

भद्रपुर, फागुन १५ । स्ववियुको यही फागुन १८ गते हुने निर्वाचनलाई द्वन्द्वरहित ढङ्गले सम्पन्न गर्न विद्यार्थी सङ्गठनका नेताहरुले सातबुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा भएको छलफलमा विद्यार्थी सङ्गठनका नेताहरुले स्ववियु निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचनमा आचारसंहिता पूर्ण पालना गर्ने÷गराउने तथा निर्वाचनका सन्दर्भमा गरिने प्रचारप्रसार तडकभडक रहित, कम खर्चिलो र स्वस्थ बनाउन समेत सहमति जनाएका छन् । एकले अर्को सङ्गठन तथा अर्को सङ्गठनका विद्यार्थी नेता, कार्यकर्ताको सम्मान तथा सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले क्याम्पसका शिक्षक, प्रिन्सिपल र निर्वाचन समितिलाई निष्पक्ष र पारदर्शी व्यवहार गर्न आग्रह गरेका छन् । स्थानीय शान्ति समिति झापाका संयोजक जयबहादुर श्रेष्ठ र संवाद समूह सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले सहजीकरण गरेको छलफलमा नेविसङ्घका केन्द्रीय सदस्य सन्तोष उप्रेती र झापाका उपसभापति राजेन्द्र उप्रेती, अनेरास्ववियुका झापा अध्यक्ष रोशन सुवेदी र पूर्वअध्यक्ष नवीन ढुङ्गाना, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अनिल सुवेदी र खगेन्द्र सुवेदी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य राजु अधिकारी तथा सङ्घीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य ज्वाला इम्बुङले स्ववियु निर्वाचनका बारेमा आफ्ना धारणासहित प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन’

काठमाडौँ, फागुन १५ । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८ औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरिएको छ । समितिका पूर्व कार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राखेको हो । करिब एक वर्ष समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी ताम्राकारले कच्चा माटो र खेर गएको कपडाको प्रयोग गरेर फूलदानी निर्माण गरेकाे हो। अठ्ठाइसौँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा बुद्ध ह्यान्डीक्राफ्टको नामबाट स्टलमा आफ्ना उत्पादित वस्तु प्रदर्शनीमा राखेकी उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताअनुसार घरेलु उद्योग विभागमा आफ्नो कार्यकारी निर्देशक पद सकिएलगत्तै उद्योग दर्ता गरेर काम गर्दै आएका छन् । नेपाल घरेलु उद्योग महासङ्घको उपत्यका उपाध्यक्षसमेत रहनुभएकी ताम्राकारले ७५ वटै जिल्लाका उद्योगीलाई उद्योगसम्बन्धी परामर्शसमेत दिँदै आएकी छिन् । यस्तै मेलामा भोजपुरे खुकुरी पनि आकर्षण ढङ्गले राखिएको छ । हजुरबुबा सिङ्गावीर विश्वकर्माको पेसालाई निरन्तरता दिन उनका नाति पूर्णबहादुर विश्वकर्मा लागेका छन् । विस २०४२ देखि खुकुरी निर्माणमा लाग्नुभएका उहाँले भोजपुरे खुकुरी ह्यान्डीक्राफ्टमार्फत भोजपुरे खुकुरी बनाउँदै आएकी छ । विश्वकर्माले गत वर्ष मात्र रु एक लाख ११ हजार ११ मूल्य पर्ने खुकुरी प्रदर्शनमा राखेको थियो । सागदेखि मासुसम्म सजिलै काट्न सकिने खुकुरी बनाउने पेसा आफ्ना सन्ततिले निरन्तरता नदिने हुन् कि भन्ने चिन्ता उहाँमा छ । उनीले कच्चापदार्थको अभाव र जनशक्ति कम हुँदा खुकुरी बनाउने पेसा सङ्कटमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै नेपाली हतियारलाई सरकाले विशेष प्राथमिकता दिनुपर्ने बताए । यसैगरी मेलामा रुकुमका उद्यमी मङ्गलबहादुर वादीले मादल प्रदर्शन गरेका छन् । दसैँ, तिहार, तीज लगायतका महत्वपूर्ण चाडमा धेरै बिक्री हुँदै आउने मादल बेचेर उनीले २२ जनाको परिवार पाल्दै आएको छ । उनीको एउटा मादललाई रु एक हजार पाँच सयदेखि रु १० हजारमा बिक्री गर्दै आएको बताएका छन्। मेलामा नमुना कलेक्सन अचार उद्योग इलामबाट बनाइएको अचार प्रदर्शनमा राखिएको छ । ओखलढुङ्गा औद्योगिक व्यापार मेलामा तेस्रो तथा विराटनगर औद्योगिक मेलामा दोस्रो भएको उक्त उद्योगबाट डल्लेखुर्सानी, मूला, कागती, आँप लगायका अचार प्रदर्शनमा राखिएका छन् । इलाम उद्योग वाणिज्य सङ्घको प्रेरणाअनुसार उद्योग सञ्चालन गरेकी कमला बाँस्कोटा (रिजाल) अचार बेचेर मासिक रु २० देखि ३० हजारसम्म आम्दानी हुने बताएका छन् । उनी भने- “म त एउटा सफल उद्यमी बनेँ मेरा दुई/चार जना महिला उद्यमीलाई रोजगार दिने उद्देश्य छ ।” समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्याय देशको सुगम तथा दुर्गम क्षेत्रमा रहेका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गर्नका लागि मेला आयोजना गरिएको बताएका छन् । उनी भने, “स्वदेशी युवा शक्तिलाई विदेश जानबाट रोक्न र स्वदेशमै रोजगार प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो ।” उपाध्ययले घरेलु उद्योगलाई थप प्रोत्साहन गर्नका लागि मेला अवधिभर उद्यमीसँग घरेलु तथा साना उद्योगसम्बन्धी सम्बन्धित सङ्घसंस्थासँग अन्तक्र्रिया र छलफल गरेको बताए । मेलामा प्रत्येक जिल्लामा कम्तीमा दुई स्टल नघटाईकन तीन सयभन्दा बढी स्टल राखिएको छ ।