छिट्टै स्थानीय तह कार्यान्वयनमा आउने मन्त्री पाण्डेको दावी

संसद सुचारु हुन्छ, संशोधन प्रक्रिया अघि बढ्छः मन्त्री नायक

लहान, पुस २२। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकले पुस २४ गते संसद सुचारुसँगै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका छन् । सिरहाको मिर्चैया नगरपालिकाको चौथो नगर परिषद्को बिहिबार उद्घाटन गर्दै मन्त्री नायकले सर्वाेच्च अदालतको फैसलापश्चात प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) संसद सुचारु गर्न मानसिकरुपमा तयार भइसकेकाले पुस २४ गते संसद सुचारु हुने र संविधान संशोधन प्रक्रिया तथा अन्य बिधेयकमा छलफल अघि बढ्ने बताए । संविधान संशोधन प्रक्रियाको पक्षमा सर्वाेच्च अदालतले फैसला गरेकोले अदालतको सबैले सम्मान गर्नुपर्ने बताउँदै मन्त्री नायकले संसद सुचारु भएपछि प्रतिपक्ष दललाई पनि विश्वासमा लिएर संविधान संशोधन प्रस्तावसँगै अन्य बिधेयकहरु सरकारले अघि बढाउने बताए । जनताको भावना र आकांक्षा पुरा गर्न तथा निर्वाचनको वातावरण बनाउन सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको उल्लेख गदै उनले भने–“ जनताको भावना र समयको माग अनुसार सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गराएको हो, यो पारित भएपछि निर्वाचनको माहौल बन्छ ।” संविधान संशोधन प्रस्ताव पारित गराउन र स्थानिय निकायको निर्वाचनमा सबैले चासो हुनु जरुरी छ, उनको कथन थियो । मिर्चैयास्थित मोहन उच्च माविमा आयोजित परिषद् उद्घाटन कार्यक्रममा मिर्चैया नगरपालिकाका कार्यकारी अधिकृत रमेश कुमार दासले आगामी आर्थिक बर्ष २०७४/०७५ का लागि रु. ११ करोड ३१ लाख २१ हजार ६ सय ८० को आयव्यय प्रस्ताव प्रस्तुत गरे । उनले नगरक्षेत्रको पूर्वाधार निर्माण, नगरक्षेत्रलाई खुल्ला दिसामुक्त बनाउने, समाजिक विकासका लागि लक्षित वर्गलाई लक्षित गरी कार्यक्रमहरु सञ्चालन गर्ने आगामी आर्थिक बर्ष २०७४/०७५ को बजेट बिनियोजन गरिएको जानकारी दिए । रासस  फाइल तस्वीर

ट्रकको ठक्करबाट चार वर्षे बालकको मृत्य, स्थानीय र प्रहरीबीच झडप

राजविराज, पुस २२ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खोजपुर–८ मा बिहिबार दिउँसो मालवाहक ट्रकको ठक्करबाट चार वर्षका एक बालकको मृत्यु भएको घटनाको विरोधमा स्थानीय र प्रहरीबीच झडपसमेत भएको छ । ट्रकको ठक्करबाट मृत्यु हुनेमा सप्तरी पन्सेरा–९ का लक्ष्मण रामको छोरा अर्जुनकुमार राम रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ ख ६१८० नम्बरको ट्रकले बाटो काट्ने क्रममा बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो । यसैबीच, घटनाको विरोधमा स्थानीवासीले राजमार्गमा चक्काजाम गरेर ठक्कर दिने ट्रकलाई आगोसमेत लगाएका छन् तर ट्रकमा आगो लगाएपछि तुरुन्त प्रहरीले निभाएको थियो । सोही क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । सो झडपका क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न १० राउण्ड अश्रुग्यास समेत गरेको छ । यता स्थानीयले फ्यालेको ढुङ्गाबाट केही प्रहरी घाइते भएको स्थानीयले बताएका छन् । झडपका कारण करिब तीन घन्टा राजमार्ग अवरुद्ध समेत भएको थियो । यता प्रहरीले बालकको शवलाई राजविराजस्थित गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पतालमा शव परीक्षणका लागि ल्याएको छ । ठक्कर दिने ट्रक प्रहरी कार्यालयमा राखिएको छ भने चालक फरार भएकाले खोजी भइरहेको इप्रका कल्याणपुरले जनाएको छ ।

प्रेरणालाई दिएको जग्गा सरकारको भएको सर्वोच्चको फैसला

काठमाडौं, पुस २१ । सर्वाेच्च अदालतले तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारको भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीस शुशीला कार्की र न्यायाधीसहरु दीपक कार्की र सपना मल्लको स‌ंयुक्त इजलासले बिहीबार सो निर्णय गरेको हो। प्रेरणा शाहको नाममा रहेको सम्पत्ती नेपाल सरकारको मातहतमा आउने गरी निर्णय भएको हो ।

फेरियो लाइसेन्स ट्रायलको नियम

काठमाडौं, पुस २१ । लाइसेन्सका लागि दिइदैँ आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत भएको छ । बिहिबारदेखि लागू हुने गरी यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्स लिनका लागि लिने ट्रायल परीक्षाको ढाँचा परिवर्तन गरेको हो । नयाँ ढाँचामा केही बढी परीक्षा पास गर्नुपर्ने भएको छ । यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने कार्यालयका प्रमुख तेजनायण यादवले बताए। ‘सेवाग्राहीको चापलाई ध्यानमा राखेर कार्यालयले यस्तो निर्णय गरेको हो,’ यादवले भने, ‘शुरुमा अंग्रेजी अङ्क आठ आकारमा ट्रायल लिँदा यसले धेरै समय लिने भएकोले सेवाग्राहीले धेरैबेर कुर्नुपर्ने भयो। तर, शुरुमा टी पार्किङबाट ट्रायल शुरु गर्ने हो भने त्यसमा कम समय लाग्ने र पास भएर जानेले मात्र आठ आकारमा ट्रायल दिन पाउने भएकोले सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न सहज हुन्छ।’ उनका अनुसार शुरूमै 8 अाकारमा परीक्षा लिँदा एक सेवाग्राहीलार्इ कम्तीमा पनि १० मिनेटसम्म अर्काे सेवाग्राहीले कुर्नु पर्ने हुन्थ्याे। तर, शुरूमा टी पार्किङकाे परीक्षा लिँदा एउटा सेवाग्राहीलार्इ ३ मिनेटभन्दा बढी समय लाग्दैन। र, टीमा पास हुनेले मात्र 8 मा जान पाउने भएकाेले चाप व्यवस्थापनमा सहयाेग मिल्न सक्छ।

झापामा विद्युत् चोरेको अभियोगमा २३ जना पक्राउ

झापा, पुस २१ । नेपाल विद्युत् प्राधिकरण अनारमनी वितरण केन्द्रले विद्युत् चोरीमा संलग्न भएको भनिएका तीन महिलासहित २३ जनालाई बुधबार राति विद्युतीय उपकरणसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा शरणामती, टेक्रा र सुरुङ्गा क्षेत्रका बासिन्दा छन्। विद्युत् प्रसारण लाइनमा तार जोडेर मोटर चलाइरहेको र घरमा जोडिएको मिटरबाट विद्युत् बाइपास गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरण अनारमनी केन्द्रका प्रमुख इ राजीवकुमार सिँहले जानकारी दिए। इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी सहितको टोलीले उनीहरुका साथबाट दुई र तीन हर्स पावरका दुई दुई वटा पानी तान्न प्रयोग गरिएका ठूला मोटर र घरमा जडित केही थान मिटरसमेत बरामद गरेको छ । अभियुक्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडको नियन्त्रणमा राखिएको छ । रातको समयमा विद्युत् चोरी गरी मकै र गहुँमा सिँचाइ गर्दागर्दै उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पछिल्लो समय प्राधिकरणले विद्युत् चोरीमा संलग्न एक सय सात जनालाई पक्राउ गरी कारबाही गरेको छ । अभियुक्तलाई विद्युत् चुहावट नियन्त्रण ऐन, २०४९ अनुसार कारबाही गरिने बताइएको छ । उनका अनुसार विद्युत् चोरीमा संलग्नमध्ये खपतको अवस्था हेरेर तीन हजारदेखि दुई लाख पाँच हजारसम्म जरिवाना हुने व्यवस्था छ । यसअघि विद्युत् चोरी गरेर राइसमिल सञ्चालन गर्ने खुदुनाबारीका एक व्यक्तिलाई दुई लाख पाँच हजार जरिवाना गरिएको प्राधिकरण प्रमुख सिंहले जानकारी दिए। रासस सांकेतिक तस्वीर

मोटरसाइकलको ठक्करबाट मृत्यु

दाङ, पुस २१ । दाङको सहिदगेटबाट चितवनतर्फ जाँदै गरेको लु.२८.प.८४७ नं.को मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १६ वर्षीय निमतुल्ला सिद्धिकीको मृत्यु भएको छ । उनको उपचारका क्रममा कोहलपुर अस्पतालमा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारत घर भएका सिद्धिकी घोराही नगरपालिका–११ मा बस्दै आएका थिए । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश सुनुवाई प्रक्रिया आज

काठमाडौं, पुस २१ । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित दुई जना न्यायाधीशको सुनुवाई प्रक्रिया आज बिहिबार गर्ने भएको छ । न्याय परिषद्को  बैठकले उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । परिषद्ले प्रस्तावित न्यायाधीशको सुनुवाई प्रक्रिया अगाडि बढाउन संसद सचिवालयलाई पत्रचार गरेको थियो ।  समितिको बैठक आजका लागि बोलाईएको छ। बिहान ११ बजेपछि बस्ने समितिको प्रारम्भिक बैठकमा उनीहरु बिरुद्ध उजुरी दिने समय तोकिने समिति सचिवालयले जनाएको छ ।

माइक छुँदा करेन्ट लागेर एक भारतीयको मृत्यु

राजविराज, पुस २१। सप्तरीको पातो गाविसमा बुधबार साँझ करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत विहार मधुवनी जिल्ला वसन्तपटी–७ का ५५ वर्षीय बेचन शर्मा रहेको प्रहरीले जनाएको छ । पातो गाविस–७ स्थित रामजानकी मन्दिरमा भइरहेको अष्टजाम पूजामा भजन गर्नेक्रममा करेन्ट प्रवाह भएको माइक छुँदा शर्मालाई करेन्ट लागेको थियो । रासस

नक्कली प्रमाणपत्र बनाउने साइबर सञ्चालक पक्राउ

काठमाडौँ, पुस २१। नक्कली प्रमाणपत्र बनाउने आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सामाखुसी रानीबारीस्थित ‘आइटी भेट टेक्नोलोजी’ नामक साइबरका सञ्चालक विकास रम्तेल र कामदार भगवान् भण्डारी रहेका छन् । वैदेशिक रोजागरीको ठगी उजुरी परेको ऐनबहादुर थापामगरलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गर्दा उनको साथबाट प्रवेशिका परिक्षाको नक्कली प्रमाणपत्र फेला पारेपछि सोधखोजका क्रममा सो साइबरबाट रु एक हजार तिरेर प्रमाणपत्र बनाएको खुलेको थियो । महाशाखाका प्रहरी टोलीले थापालाई साथै लिएर साइबरमा गई अर्को नक्कली प्रमाणपत्र बनाउन आग्रह गर्दा रु एक हजार लिई अर्को नक्कली प्रमाणपत्र बनाइदिएपछि प्रहरीले रङ्गेहात दुवैजनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानबाट उक्त कागजात वैदेशिक रोजगारीमा जान तथा अन्य प्रयोजनका लागि आउने व्यक्तिलाई आवश्यकताअनुसार प्रवेशिका, उच्च माध्यमिक र त्रिभुवन विश्वविद्यालयको स्नातकतहको मार्कसिट, ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र बनाउने गरेको खुलेको प्रहरीले जनाएको छ । साइवरबाट प्रहरीले उच्च माध्यमिक शिक्षा परिषद्को नक्कली चारित्रिक प्रमाणपत्र पाँच थान, त्रिविको ट्रान्सक्रिप्ट एक थान, नेपाल सरकारको लोगो भएको टोखा नगरपालिका लेटरप्याड एक थान, अधिकृतको छाप एक थान, विभिन्न दूतावासको लेटरप्याड बरामद गरेको छ । यसैबीच लागुऔषध नियन्त्रण ब्युरोको प्रहरी टोलीले लागुऔषध खैरो हेरोइन ५० ग्रामसहित कलङ्कीबाट आज तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा कलैया नगरपालिका बरगाछीका २८ वर्षीय मनिष साह सोनार, झापा जिल्ला मेची नगरपालिका–१० स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका बाफल बस्ने २५ वर्षीय सुमेर विश्व पौडेल र काठमाडाँै चन्द्रागिरि नगरपालिकाका २७ वर्षीय दिलीप शाही रहेको प्रहरीले जनाएको छ । रासस

प्रेस काउन्सिलको पत्रपत्रिकार वर्गीकरण नियोजित: प्रेस सेन्टर

काठमाडौं, पुस २० । प्रेस काउन्सिल नेपालले हालै सार्वजनिक गरेको पत्रपत्रिका वर्गीकरणमा नियोजित ढंगले व्यवहार गरेको ठहर गर्दै प्रेस सेन्टर नेपालले गम्भिर आपत्ति जनाएको छ । काउन्सिल जस्तो निश्पक्ष निकायले भनसुन र पूर्वाग्रहीका आधारमा वर्गीकरण गरेको भनि सेन्टरका महासचिव विष्णु प्रसाद सापकोटा ‘जुगल’ले बुधबार एक विज्ञप्ति जारी गर्दै वर्गीकरण तत्काल सच्चाउन चेतवानी दिएका छन् । ‘विभिन्न शहर, जिल्लाबाट नियमिति प्रकाशन भइरहेका दैनिक, साप्ताहिक, मासिक तथा साहित्यिक पत्रिपत्रिकाहरुलाई नियोजित ढंगले तल्लो श्रेणीमा राख्ने तथा अत्यन्तै पूर्वाग्रही भएर वर्गीकरण गरिएको हाम्रो ठहर छ’, विज्ञप्तिमा उल्लेख छ । विगतमा उपल्लो श्रेणीमा स्थापित कतिपय पत्रपत्रिकाहरुलाई छानिछानि तल्लो श्रेणीमा राखिएको सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ‘कतिपय नामै नसुनिएका र बजारमै नआएने पत्रिकालाई एकैचोटी दुई÷तीन श्रेणीमा उकास्ने कार्य समेत भएको छ’, विज्ञप्तिमा काउन्सिललाई चेतवानी दिंदै भनिएको छ– ‘हाम्रो संगठन विभेदपूर्ण ढंगले गरिएको पत्रपत्रिकाको वर्गीकरणको विरोध गर्दछ र यसलाई तत्काल सच्चाउन काउन्सिलको ध्यानाकर्षण गराउने चाहन्छ । अन्यथा यसबाट निस्कने परिणामको जिम्मेवार काउन्सिलले लिनु पर्ने चेतवानी दिन चाहन्छ ।’

भवन भत्किएपछि पुस्तक र पत्रिकाहरु बाेराभित्र थन्किए

ललितपुर, पुस २० । हरिहर भवनस्थित नेपाल राष्टिय पुस्तकालयको भवन भत्किएपछि यहाँ रहेका एक लाख ५० हजार पुस्तक तथा पत्रपत्रिकाहरु अलपत्रमा परेका छन् । पत्रिका र पुस्तकहरु अहिले बोरामा खाँदेर राखिएको पुस्तकालयले बताएको छ । नयाँ भवन बन्नका लागि पूनःनिर्माण प्राधिकरणले रकम छुटाएपनि जग्गाको अभावमा काम अघि बढ्न सकेको छैन । पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले गत वर्षको भूकम्पपछि पुस्तकालय सेवाविहीन भएको बताए । उनले भने– ‘अहिले पुनःनिर्माणको काम नै सुरु भएको छैन, सुरु भएपछि पनि २÷३ वर्ष लाग्न सक्छ ।’ वैकल्पिक व्यवस्था गरेर पनि पुस्तकालय सञ्चालन गर्नुपर्ने उनको जोड छ ।  बोरामा राखिएका पुस्तक तथा पत्रिकाहरु केही खोलेपनि धेरै खोल्न नै बाँकी भएको पुस्तकालयका प्रकाशन प्रमुख यादवचन्द्र निरौलाले बताए। भूकम्पपछि पुस्तकालयका सामग्री पाँच हजारवटा बोरामा राखिएको छ । तीमध्ये तीन हजार बोरा मात्रै खोलिएको छ । उनले रासससँग भने– ‘जग्गा उपलब्ध भएमा चाँडो भवन बनाएर सर्न चाहन्छौं ।’ साठी वर्ष पुरानो यस पुस्तकालयमा ३०० वर्ष पुराना सामग्री रहेका छन् ।

देशभरी ४५ हजार सौर्य सडक बत्ती जडान गरिँदै, एघार सय किमी सडक उज्यालो हुने

अशोक घिमिरे काठमाडौँ, २० पुस । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले लागत जनसहभागितामा आधारित रहेर हरेक नगरपालिकामा सडक सौर्य बत्ती जडान गर्न आवश्यक बजेट विनियोजन गरेको छ । मन्त्रालयले मुलुकभरका २१७ नगरपालिकामध्ये एक सय ४३ नगरपालिकालाई सौर्य सडक बत्ती जडान गर्न रु ५० करोड विनियोजन गरेको हो । मन्त्रालयले जनहसभागितामा आधारित रहेर सौर्य सडकबत्ती जडान गर्न दुई सय १७ नगरपालिकासँग प्रस्ताव आह्वान गरेको थियो भने तीमध्ये एक सय ४३ नगरपालिकाले मात्र आफ्ना नगर क्षेत्रमा सौर्य सडकबत्ती जडान गर्न प्रस्ताव पेस गरेका थिए । सौर्य सडकबत्ती जडानका लागि मन्त्रालयले विनियोजन गरेको कूल रु ५० करोड बजेटमध्ये पहिलो चरणमा विभिन्न नगरपालिकालाई रु ४७ करोड ७२ लाख ५३ हजार अनुदान रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ । यस्तै दोस्रो चरणमा सौर्य सडकबत्ती जडान गर्न विभिन्न २१ वटा नगरपालिकाले प्रस्ताव पेस गरेका र तीन नगरपालिकालाई रु दुई करोड अनुदान निकासा गरिएको छ । मन्त्रालयअन्तर्गतको नगरपालिका शाखाका उपसचिव नरहरि शर्मा भण्डारीले एक सय ४३ नगरपालिकालाई कुल ४५ हजार ३०८ वटा सडकबत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको बताउनुभयो । नगर क्षेत्रमा सौर्य सडकबत्ती जडान गर्न मन्त्रलालयले ६५ प्रतिशत अनुदान दिनेछ । त्यस्तै प्रत्येक नगरपालिकाले २० प्रतिशत र उपभोक्ता समितिले १५ प्रतिशत रकम व्यहोर्नुपर्ने हुन्छ । एघार सय किमी सडक उज्यालो हुँदै चालु आवमा करिब ४५ हजार ३०८ थान सौर्य सडकबत्ती जडान भएपछि नगर क्षेत्रका करिब एक हजार १०० किलोमिटर सडक उज्याला हुनेछन् । सरकार, स्थानीय निकाय र जनसहभागिताबाट सञ्चालन गरिने यस कार्यक्रममार्फत् चालु आवमा देशभरका करिब ५० हजार सडकबत्ती विस्थापन गरिने मन्त्रालयको योजना छ । सौर्य सडकबत्ती जडान गरिएपछि सडकबत्ती बालेबापत नेपाल विद्युत् प्राधिकरणलाई तिर्दै आएको महसुलमा कमी आई नगरपालिकालाई आर्थिक व्ययभार कम पर्नेछ । यसअघि सडकबत्ती बालेबापत महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाले अर्बौँ रकम विद्युत् प्राधिकरणलाई तिर्दै आएका छन् । त्यस्तै सौर्य सडकबत्ती जडानसँगै राष्ट्रिय रुपमा विद्युत् खपतमा कमी आउने र सरकारको विद्युत्भार कटौती अभियानलाई पनि महत्वपूर्ण सहयोग पुग्ने उपसचिव भण्डारीको भनाइ छ । सौर्य सडकबत्ती जडान भएपछि नगरक्षेत्रमा हुने आपराधिक घटनामा कमी आउने र सुरक्षा व्यवस्था चुस्त राख्न सहयोग पुग्नुका साथै सडकमा रातिको समयमा हिँडडुल गर्न सहज हुने उहाँको भनाइ छ । उपत्यकामा १९ हजार सौर्य सडक बत्ती मन्त्रालयले उपत्यकाका २२ वटा नगरपालिकामध्ये १८ वटा नगरपालिकालाई सौर्य सडकबत्ती जडान गर्न अनुदान निकासा गरिसकेको छ । काठमाडौँ महानगरपालिकालाई चालु आवमा २५२ आयोजनाअन्तर्गत आठ हजार पाँच सय ४१ वटा सौर्य सडकबत्ती जडान गर्न रु पाँच करोड ९६ लाख ८६ हजार अनुदान उपलब्ध गराइएको छ । त्यस्तै ललितपुर उपमहानगरपालिकालाई दुई हजार एक सय ८८, गोकर्णेश्वर नगरपालिकालाई एक हजार पाँच सय ३२, मध्यपुर ठिमी नगरपालिकालाई एक हजार दुई सय ६३, कागेश्वरी नगरपालिकालाई सात सय ६९, भक्तपुर नगरपालिकालाई सात सय ५९ र कार्यविनायक नगरपालिकालाई ६६० वटा सौर्य सडकबत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको छ । त्यस्तै तारकेश्वर नगरपालिकालाई ६४४, बूढानीलकण्ठ नगरपालिकालाई पाँच सय ५६, नागर्जुन नगरपालिकालाई चार सय ४६, चन्द्रागिरि नगरपालिकालाई तीन सय ९४, अनन्तलिङ्गेश्वर नगरपालिकालाई दुई सय ७५, महालक्ष्मी नगरपालिकालाई दुई सय ७०, कीर्तिपुर नगरपालिकालाई २०७, दक्षिणकाली नगरपालिकालाई एक सय ५५, नगरकोट नगरपालिकालाई ५०, शङ्खरापुर नगरपालिकालाई ३५ र सूर्यविनायक नगरपालिकालाई आठवटा सौर्य सडकबत्ती जडान गर्न अनुदान उपलब्ध गराइएको छ । यस्तै विराटनगर उपमहानगरपालिकाले दुई हजार ६४६, वीरगन्ज उपमहानगरपालिकाले एक हजार ५५०, भरतपुर उपमहानगरपालिकाले पाँच सय १५, बुटवल उपमहानगरपालिकाले ४६८, हेटौँडा उपमहानगरपालिकाले ३९४, इटहरी उपमहानगरपालिकाले तीन सय ३७, धरान उपमहानगरपालिकाले तीन सय ३६, धनगढी उपमहानगरपालिकाले २९९ र नेपालगन्ज उपमहानगरपालिकाले २०० वटा सौर्य सडकबत्ती जडान गर्न मन्त्रालयबाट अनुदान पाएका छन् । मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले तोकेको मापदण्ड अनुसार स्वीकृति प्राप्त सोलार कम्पनीबाट सौर्य सडकबत्ती जडान सकिने जनाएको छ । केन्द्रको मापदण्डमा सोलार प्यानलमा २० वर्ष, ब्याट्रीमा पाँच वर्ष र सौर्य बत्तीमा दुई वर्षको ग्यारेन्टी हुनुपर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले यही पुस २५ गतेभित्र सबै नगरपालिकालाई बोलपत्र प्रक्रिया सकेर काम सुरु गर्न दिर्नेशन दिएको छ । रासस

त्रिविलाई उत्कृष्ट केन्द्र बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँं साधारण बैठक (सिनेट) लाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित स्ववियु निर्वाचन पनि गराउन आग्रह गरेको छ । उनले उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिविजस्तो इतिहास बोकेको संस्थाले सोच्नुपर्ने जनाउँदै यसको चुस्त शैक्षिक वातावरण निर्माणका पहल गर्न आग्रह गरे । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्रशासनिक र नीतिगत विषयमा आवश्यकताअनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न, उचित व्यवस्थापन गर्न पनि आग्रह गरे । उनले उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, कर्म र क्षेत्रको पहुँचमा पुर्याउन क्रमशः विकेन्द्रित र स्वायत्त बनाउनुपर्नेमा पनि जोड दिएको छ । प्रधानमन्त्रीले भने– ‘शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्छ र व्यवस्थापनमा विकेन्द्रिकरण र स्वायत्ततालाई क्रमिक अघि बढाइनु आवश्यक छ ।’ शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति धनीराम पौडेलले त्रिविको सुधार र विकासका लागि सरकारबाट गर्नुपर्ने सहयोगमा कमी नहुने विश्वास दिलाउँदै यसबाट उत्पादित प्रतिस्पर्धी विद्यार्थी विश्व बजारमा स्थान पाउन सकुन् भन्ने अपेक्षा व्यक्त गरे । उपकुलपति डा.तीर्थराज खनियाँले विश्वमा प्रचलित उत्कृष्ट गुणस्तर मानिएको सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने प्रक्रियामा त्रिवि रहेको जानकारी दिँदै त्रिविको सहमतिबिना आफ्ना क्याम्पस र भौतिक पूर्वाधारलाई अन्य विश्वविद्यालयमा हस्तान्तरण गर्ने सरकारी शैलीप्रति चिन्ता प्रकट गरेको छ । विश्वभरिका विश्वविद्यालयमध्ये त्रिवि हाल ४२४१ औं स्थानमा छ । त्रिविमा हरेक वर्ष दुई पटक यस्ता सभा बस्दै आएका छन् । बैठकमा त्रिविको ५५ औंँ वार्षिक प्रतिवेदन, त्रिविसम्बन्धी ऐन, नियमावलीमा परिवर्तन, संरचनात्मक सुधारका कार्यसूची छन् ।

त्रेतायुगमा ऐतिहासिक सीताकुण्ड ओझेलमा पर्दै

पाल्पा, पुस २० । रामपुर नगरपालिका ५ र ६ को सिमानामा पर्ने ऐतिहासिक सीताकुण्डलाई नेपालकै महत्वपूर्ण कुण्डका रुपमा लिइएको छ । त्रेतायुगमा भगवान राम र सीता वनबास जाँदाको पौराणिक कथनसँग जोडिएको नेपालकै पर्यटकीय, ऐतिहासिक र धार्मिक क्षेत्र सीताकुण्ड प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । भगवान राम वनबास जाने क्रममा रामपुर–८ स्थित कालीगण्डकी नदीको रामघाटमा बास बसेर दिनहुँ स्नान गरेको र सोही क्रममा उनकी धर्मपत्नी सीता रजस्वला भएपछि लुकाउनका लागि रामले रामघाटबाट वाण हानेर कुण्ड निर्माण गरेको किम्बदन्ती छ । सोही कुण्डमा सीताले रजस्वला भएका बखत नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको हो । नेपालका विभिन्न कुण्डमध्ये यस कुण्डलाई पनि एक महत्वपूर्ण कुण्डका रुपमा लिइएको छ । यसको ऐतिहासिक तथा धार्मिक महत्वको प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । यहाँका स्थानीयले ऐतिहासिक महत्व जोगाई राख्नका निम्ति तत्कालीन समयमा रामसीताको मन्दिर निर्माण गरेर नित्य पूजाआजा गर्दै आइरहेका छन् । पौराणिक कथनअनुसार सीताले नुहाएको यस कुण्डमा चामल फल्ने गरेको र सो चामल मन्दिरमा आउने उपासेले भोक लागेको समयमा थुतेर खाएपछि त्यस कुण्डमा धान फल्न थालेको जनविश्वास रहिआएको छ । यस कुण्डमा रहेको पानी कहिल्यै नसुक्ने र यहाँ वर्षेनी धान फल्ने र यही झर्ने गर्दछ । सीता रजस्वलाबाट बाहिर निस्किएपछि कुण्डभन्दा झन्डै २०० मिटर तल सीताको पाइला रहेको, खोलामा झर्ने क्रममा खुट्टा चिप्लिएर लडेपछि आरी आकार निर्माण भएको र सोही बाटो भएर झर्ने क्रममा भित्तामा हातले टेकेको छाप र भुइँमा चुल्ठो लत्रिएको आकार पनि देखिएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्र नेपालीले बताए । मन्दिर र पोखरी कम्पाउण्ड निर्माणका लागि पर्यटन तथा संस्कृति मन्त्रालयबाट रु एक लाख र टुनिभन्ज्याङमा प्रवेशद्वार निर्माणका लागि रु तीन लाख, रामपुर नगरपालिकाबाट मन्दिर मर्मत सम्भारका लागि रु ५० हजार र यहाँका स्थानीय आमा समूहले मन्दिरमा टिनको छानो सहयोग गरेपछि विगत तीन वर्षयता कुण्ड परिसरमा विकासको गति विस्तारै अगाडि बढेको सचिव नेपालीले बताए । यहाँ श्रीकृष्ण जन्माष्टमीका दिन, रामनवमीका दिन र सीता विवाह पञ्चमीका दिन विशेष मेला लाग्ने गर्दछ । यस कुण्डको अवलोकनमा पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, कास्की, गुल्मी, रुपन्देहीलगायतका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । बसाइँसराइ, गाउँमा दक्ष जनशक्तिको अभाव, कुण्ड सहरदेखि दुर्गम स्थानमा रहनु, कुण्डसम्म पुग्ने बाटो साँघुरो र कच्ची हुनु, प्रचारप्रसारको कमीका कारणले गर्दा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको यस सीताकुण्ड मन्दिर ओझेलमा परेको हो । प्रकृतिले नै सुन्दर मनोरम दृश्यले भरिपूर्ण ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोेकेको सीताकुण्ड भविष्यमा पर्यटकको आकर्षणको केन्द्र बन्ने सम्भावना रहेको छ ।

क–कसले पाए पत्रकार महासंघको शिक्षा पत्रकारिता पुरस्कार?

काठमाडौं, पुस २० ।  नेपाल पत्रकार महासंघले २०७२ सालको शिक्षा पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार वितरण गरेको छ । मंगलबार महासंघ केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमका बीच शिक्षा राज्यमन्त्री धनमाया विक, महासंघका अध्यक्ष डा. महेन्द्र विष्ट, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले पुरस्कृत पत्रकार तथा सञ्चारमाध्यमलाई पुरस्कार प्रदान गरेका हुन् । जसअनुसार रु. ७५ हजार राशीको ‘राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ अन्नपूर्ण पोष्ट दैनिकका सूर्यप्रसाद पाण्डे (काठमाडौं) र कान्तिपुर दैनिकका मकर श्रेष्ठ (काठमाडौं) लाई संयुक्तरुपमा प्रदान गरिएको छ भने उपत्यकासहित ६ क्षेत्रलाई प्रदान गरिने रु २५ हजार राशीको क्षेत्रीय शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ पूर्वाञ्चलबाट कोकिला ढकाल (राजधानी दैनिक–इलाम) र अम्मर खड्का (नागरिक दैनिक–सुनसरी), मध्यमाञ्चलबाट दिवाकर भण्डारी (अन्नपूर्ण पोष्ट–बारा) र ध्रुव दंगाल (नागरिक दैनिक–सिन्धुपाल्चोक), पश्चिमाञ्चलबाट बसन्त गिरी (गोरखापत्र–कपिलवस्तु) र कृष्ण खनाल (बुटवल टुडे दैनिक–रुपन्देही), मध्यपश्चिमाञ्चलबाट लक्ष्मण केसी (आजको शिक्षा साप्ताहिक–रुकुम) र गिरु भण्डारी (कान्तिपुर दैनिक–प्युठान) र सुदूरपश्चिमाञ्चलबाट भवानी भट्ट (कान्तिपुर दैनिक–कञ्चनपुर) र कृष्ण ओली (नागरिक दैनिक–बाजुरा) गरी ५ क्षेत्रमा सुयक्तरूपमा र उपत्यकाबाट लिलप्रसाद चन्द (सामुदायिक सूचना नेटवर्क–काठमाडौं) लाई प्रदान गरिएको छ । उपत्यकासहित ६ क्षेत्रका २/२ जना पत्रकारलाई प्रदान गरिने रु. १५ हजार राशीको ‘शिक्षा लेखनवृत्ति–२०७२’ पूर्वाञ्चलबाट शेखर ढकाल (रेडियो नेपाल–सुनसरी) र सरिता राई (रासस–भोजपुर), मध्यमाञ्चलबाट मायामितु न्यौपाने (रेडियो वीरगञ्ज–पर्सा) र मनिका झा (अन्नपूर्ण पोष्ट दैनिक–धनुषा), उपत्यकाबाट गोपाल संग्रौला (कारोबार दैनिक–काठमाडौं) र आस्था केसी (रातोपाटी डटकम–काठमाडौं), पश्चिमाञ्चलबाट वीरेन्द्र केसी (कान्तिपुर–अर्घाखाँची),  लक्ष्मण पोखरेल (दैनिकपत्र दैनिक– रुपन्देही), सन्तोष गौतम (नवविकल्प साप्ताहिक–म्याग्दी), मध्यपश्चिमाञ्चलबाट गोविन्द केसी (नागरिक दैनिक–दैलेख), दीपबहादुर घर्ती (कमाण्डरपोष्ट दैनिक–जाजरकोट) र ईश्वर अधिकारी (काक्रेविहार दैनिक–सुर्खेत) र सुदूरपश्चिमाञ्चलबाट बसन्तप्रताप सिंह (कान्तिपुर दैनिक–बझाङ), शेरबहादुर ऐर (अनुमोदन दैनिक–कैलाली) र टंकबहादुर कुँवर (विन्तीपत्र साप्ताहिक–कैलाली) लाई संयुक्तरुपमा प्रदान गरिएको छ । यसैगरी ‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७२’ तर्फ पुर्वाञ्चलबाट पूर्वेली एफएम (मोरङ) र रेडियो मकालु (धनकुटा), मध्यमाञ्चलबाट रेडियो मकवानपुर (मकवानपुर) र रेडियो रसुवा (रसुवा) लाई संयुक्तरुपमा र उपत्यकाबाट रेडियो सगरमाथा १०२.४ (ललितपुर), पश्चिमाञ्चलबाट रेडियो सारथी १०७.४ (बाग्लुङ), मध्यपश्चिमाञ्चलबाट रुबरु एफएम (बाँके) र सुदूरपश्चिमाञ्चलबाट संयुक्तरुपमा रेडियो धनगढी ९०.५ (कैलाली) र रेडियो अमरगढी ९७.४ (डडेलधुरा) लाई प्रदान गरिएको छ । उपत्यकासहित ६ क्षेत्रका एफएम रेडियोलाई प्रदान गरिएको यो पुरस्कारको राशी रु. २० हजार रहेको छ भने राष्ट्रिय स्तरका पत्रपत्रिका र टेलिभिजनलाई छुट्टाछुट्टै रूपमा प्रदान गरिने रु. ४० हजार राशीको यो पुरस्कार पत्रपत्रिकातर्फ युगबोध दैनिक (दाङ) र आजको शिक्षा साप्ताहिक (काठमाडौं) लाई संयुक्त रुपमा र टेलिभिजनतर्फ हिमशिखर टेलिभिजन (झापा) लाई प्रदान गरिएको छ । पुरस्कार वितरण कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री धनमाया विकले पुरस्कृत पत्रकारहरू बधाई तथा शुभकामना दिँदै सकारात्मक कामको सकारात्मक ढंगबाट समाचार संप्रेषण गरी जनतालाई सत्यतथ्य सूचना प्रदान गर्न जोड दिए । कार्यक्रममा महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले पुरस्कृत पत्रकारहरू बधाई दिँदै शिक्षा पत्रकारितामा अझ डटेर लाग्न शुभकामना दिए । उनले अव दिनमा पत्रकारहरूले सबै कुरामा जानकारमात्र नभई सम्बन्धित विषय ज्ञाता हुनुपर्ने कुरामा जोड दिए । साथै, कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ, शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेललगायतले पुरस्कृत पत्रकारहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा शिक्षा पत्रकारिता क्षेत्रमा अझ सक्रियताका साथ लाग्न जोड दिए। पुरस्कृत पत्रकारहरूका तर्फबाट बोल्दै राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार विजेता मकर श्रेष्ठले यो पुरस्कारले पत्रकारलाई शिक्षा क्षेत्रमा कलम चलाउने थप प्रेरित गरेको बताए । महासंघ र शिक्षा विभागले शिक्षा क्षेत्रको विकासका लागि समाचार, सूचना र विचार प्रवाह गर्ने पत्रकार, एफएम रेडियो, पत्रपत्रिका र टेलिभिजनलाई प्रतिष्पर्धाका आधारमा प्रत्येक वर्ष यी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको घोषणा महासंघ र शिक्षा विभागद्वारा गठित मूल्याङ्कन तथा छनोट समितिले गरेको सिफारिसका आधारमा शिक्षा पत्रकारिता पुरस्कार छनौट मूल समितिको बैठक निर्णयद्वारा भएको हो ।